सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“सचेत रहो”

“सचेत रहो”

“सचेत रहो”

“बेवकूफ मानिसले जुनसुकै कुरा पत्याउँछ, तर समझदार मानिसले आफ्ना पाइलाहरू सतर्कसाथ चाल्छ।”—हितोपदेश १४:१५, NRV.

१, २. (क) लूतले सदोममा भोगेको विपत्तिबाट हामी कस्तो पाठ सिक्न सक्छौं? (ख) “सचेत रहो” भन्‍ने अभिव्यक्‍तिको अर्थ के हो?

 अब्राहामले पहिला लूतलाई ठाउँ रोज्न दिए। लूतले आँखा उठाएर हेरे र “परमप्रभुको बगैंचाजस्तै चारैतिर प्रशस्त पानीले भिजेको” ठाउँ तिनलाई मनपऱ्‍यो। लूतलाई त्यो ठाउँ आफ्नो परिवारको लागि एकदम ठीक लागेको हुनुपर्छ। त्यसैकारण त लूतले “यर्दनको जम्मै बेंसी” रोजे र आफ्नो पाल सदोमसम्मै सारे। तर लूतले रोजेको ठाउँ झट्ट हेर्दा अत्यन्त सुन्दर देखिए पनि नजिकै बस्ने “सदोमका मानिसहरू दुष्ट थिए, र परमप्रभुको विरुद्धमा साह्रै पाप गर्थे।” (उत्पत्ति १३:७-१३) समय बित्दै जाँदा लूत र तिनको परिवारमाथि सोच्दै नसोचेको विपत्ति आइलाग्यो। आखिरमा तिनी र तिनका छोरीहरू ओढारमा बस्नुपऱ्‍यो। (उत्पत्ति १९:१७, २३-२६, ३०) लूतलाई असाध्य मनपरेको ठाउँ त खतराले भरिएको ठाउँ पो रहेछ!

लूतले भोगेको विपत्तिबाट आज परमेश्‍वरका सेवकहरूले एउटा गतिलो पाठ सिक्न सक्छन्‌। निर्णय गर्नुअघि, आइपर्न सक्ने खतरालाई पनि ध्यानमा राख्नुपर्छ र एकै नजरमा कुनै कुराप्रति मोहित हुनुहुँदैन। त्यसैकारण त परमेश्‍वरको वचन हामीलाई यस्तो आग्रह गर्छ: “सचेत रहो।” (१ पत्रुस १:१३) “सचेत रहो” भनी अनुवाद गरिएको युनानी शब्दको शाब्दिक अर्थ “गम्भीर हुनु” हो। बाइबलविद्‌ रिचर्ड सी.एच. लेन्सकिको भनाइअनुसार गम्भीर हुनु भनेको “मनलाई शान्त र स्थिर बनाउनु हो। यस्तो मनले हामीलाई हरेक कुराको राम्रोसँग लेखाजोखा गर्न र सही अनुमान लगाएर ठीक निर्णय गर्न मदत गर्छ।” आउनुहोस्‌, गम्भीर अर्थात्‌ सचेत रहनुपर्ने केही अवस्थाबारे चर्चा गरौं।

व्यापारको प्रस्ताव लेखाजोखा गर्ने

३. व्यापारको प्रस्ताव लिएर कोही तपाईंकहाँ आयो भने होस पुऱ्‍याउनु खाँचो छ, किन?

मानिलिनुहोस्‌, राम्रो नाउँ चलेको कुनै व्यक्‍ति, अझ भनौं भने हाम्रै सँगी भाइ व्यापारको प्रस्ताव लिएर तपाईंकहाँ आयो। यस व्यापारबाट मालामाल हुने कुरामा तिनी ढुक्क छन्‌ र यस्तो सुनौलो मौका हातबाट जान नदिन तपाईंलाई फकाउँछन्‌। तिनको कुरा सुन्दै जाँदा तपाईं पनि आफू र आफ्नो परिवारले सुख पाएको कल्पना गर्न थाल्नुहुन्छ। साथै, मनमनै यस्तो तर्क पनि गर्नुहुन्छ, ‘व्यापार गरें भने त मसीही मण्डलीको कामकुरामा पनि धेरै समय दिन सक्नेछु।’ तर हितोपदेश १४:१५NRV] यस्तो चेतावनी दिन्छ: “बेवकूफ मानिसले जुनसुकै कुरा पत्याउँछ, तर समझदार मानिसले आफ्ना पाइलाहरू सतर्कसाथ चाल्छ।” नयाँ व्यापार सुरु गर्ने जोसमा व्यापारका जोखिम तथा खतराहरूप्रति अक्सर होस पुऱ्‍याइँदैन। भविष्यमा व्यापार डुब्न पनि सक्छ भन्‍नेतर्फ त ध्यानै जाँदैन भने पनि हुन्छ। (याकूब ४:१३, १४) यस्तो स्थितिमा सचेत रहेनौं भने के होला, सोच्नुहोस्‌ त!

४. व्यापारको प्रस्ताव लेखाजोखा गर्दा हामी कसरी “आफ्ना पाइलाहरू सतर्कसाथ” चाल्न सक्छौं?

निर्णय गर्नुअघि बुद्धिमान्‌ मानिसले व्यापारको प्रस्ताव होसियार भई जाँचपड्‌ताल गर्छ। (हितोपदेश २१:५) यसरी जाँचपड्‌ताल गर्दा झट्टै नदेखिने खतराहरू थाह लाग्न सक्छन्‌। उदाहरणको लागि एउटा अवस्था विचार गर्नुहोस्‌: एक जना व्यक्‍ति व्यापार सुरु गर्न तपाईंबाट पैसा सापट लिन चाहन्छ र सापट दिनुभयो भने पछि ग्वाम्मै नाफा दिने वचन दिन्छ। प्रस्ताव निकै लोभलाग्दो देखिएला तर जोखिमहरू नि? व्यापार सोचेजस्तो चलेन भने पनि तपाईंको पैसा फिर्ता गर्न के तिनी राजी छन्‌? अथवा तपाईंको पैसा फिर्ता आउने-नआउने कुरा कतै व्यापार चल्ने-नचल्ने कुरामा पो भर पर्ने हो कि? अर्को शब्दमा भन्‍नुपर्दा, व्यापार डुब्यो भने तपाईंको पैसा पनि डुब्ने त होइन? आफैलाई यस्तो प्रश्‍न पनि सोध्नुहोस्‌: “यी व्यक्‍तिले किन मसित पैसा माग्दैछन्‌? तिनले गर्न लागेको व्यापार डुब्ने सम्भावना देखेर पो बैंकहरूले ऋण नदिएको हो कि?” समय निकालेर यस्ता जोखिमहरू केलायौं भने व्यापारको प्रस्ताव होस पुऱ्‍याएर लेखाजोखा गर्न सक्नेछौं।—हितोपदेश १३:१६; २२:३.

५. (क) जमिन किनेपछि यर्मियाले कस्तो बुद्धिमानी कदम चाले? (ख) व्यापारिक कारोबारमा लेखापढी गर्दा कस्तो फाइदा हुन्छ?

अगमवक्‍ता यर्मियाको काकाको छोरा यहोवाका उपासक थिए। तिनीबाट जमिन किनेपछि यर्मियाले साक्षीहरूको अगाडि तमसुक बनाए। (यर्मिया ३२:९-१२) त्यस्तै गरी आज बुद्धिमान्‌ व्यक्‍तिले आफ्ना नातेदार वा सँगी विश्‍वासीहरूसित व्यापारिक कारोबार गर्दा लेखापढी गरेर राख्छन्‌। a स्पष्ट र राम्रोसँग तयार पारिएको यस्तो सम्झौतापत्र छ भने पछि मनमुटाव हुँदैन र आपसी सम्बन्ध पनि बिग्रिंदैन। तर सम्झौतापत्र नबनाउँदा यहोवाका साक्षीहरूमाझ व्यापारको कुरालाई लिएर अक्सर समस्या खडा हुने गरेको छ। दुःखको कुरा, यस्तो समस्याले गर्दा भाइबहिनीको मन दुखेको छ, सम्बन्ध बिग्रेको छ र आध्यात्मिकतामा पनि उनीहरू कमजोर भएर गएका छन्‌।

६. लोभ नगर्न हामी किन होसियार हुनै पर्छ?

लोभ नगर्न पनि हामी होसियार हुनै पर्छ। (लूका १२:१५) ग्वाम्म नाफा कमाउन खोज्ने व्यक्‍तिले त्यति भरपर्दो नदेखिने व्यापारमा लगानी गर्दा आफ्नो पैसा डुब्न पनि सक्छ भनेर फिटिक्क सोच्दैन। यहोवाको सेवामा विशेष सुअवसर पाएकाहरू समेत यस्तो पासोमा परेका छन्‌। त्यसैकारण त परमेश्‍वरको वचन हामीलाई खबरदार गर्छ: “रूपियाँ-पैसाको लोभबाट अलग बस। तिमीहरूसँग भएका कुरामा सन्तुष्ट रहो।” (हिब्रू १३:५) व्यापारको प्रस्तावबारे विचार गर्दा मसीहीहरूले आफैलाई सोध्नुपर्छ, ‘के मैले यो प्रस्ताव स्वीकार्नै पर्छ र?’ यहोवाको उपासनालाई जीवनकै महत्त्वपूर्ण कुरा बनाएर सरल जीवन बितायौं भने हामी “सबै किसिमका खराबी[बाट]” जोगिनेछौं।—१ तिमोथी ६:६-१०.

अविवाहित मसीहीले सामना गर्ने चुनौती

७. (क) थुप्रै अविवाहित मसीहीहरूले कस्तो चुनौती सामना गर्छन्‌? (ख) जीवनसाथी रोज्ने सन्दर्भमा परमेश्‍वरप्रतिको वफादारिता पनि मुछिएको छ, कसरी?

यहोवाका धेरै सेवकहरूलाई बिहे गर्ने रहर भए पनि सुहाउँदो जोडी जुर्न सकेको छैन। कुनै-कुनै मुलुकमा बिहे गर्न समाजले निकै दबाब दिने गर्छ। तर साक्षीहरूमाझ ठ्याक्क मिल्ने जोडी भेट्टाउन गाह्रो हुन सक्छ। (हितोपदेश १३:१२) तरैपनि “प्रभुमा मात्र” विवाह गर्नू भन्‍ने बाइबलको आज्ञा पालन गर्दा यहोवाप्रति वफादार भइरहेका हुन्छौं भनेर मसीहीहरूले बुझेका छन्‌। (१ कोरिन्थी ७:३९) दबाब र प्रलोभन आइपर्दा आफ्नो अडानमा दृढ रहन अविवाहित मसीहीहरू सचेत रहनै पर्छ।

८. शूलम्मेनी कन्याले कस्तो दबाब सामना गरिन्‌ र आज मसीही बहिनीहरूलाई पनि कसरी त्यस्तै किसिमको दबाब आइपर्न सक्छ?

श्रेष्ठगीत भन्‍ने बाइबलको पुस्तकमा राजा सुलेमानले एउटी सुकुमारी कन्या शूलम्मेनीलाई औधी मन पराएको विवरण छ। अर्कै केटासित ती कन्याको माया-प्रीति बसेको छ भनेर थाह हुँदाहुँदै पनि आफ्नो धन-दौलत, मान-सम्मान र रूप देखाएर राजाले तिनलाई फकाउन खोज्छन्‌। (श्रेष्ठगीत १:९-११; ३:७-१०; ६:८-१०, १३) तपाईं मसीही बहिनी हुनुहुन्छ भने, तपाईंले नचाहँदा-नचाहँदै पनि कसैले तपाईंमाथि आँखा गाड्‌न सक्छ। तपाईं काम गर्ने ठाउँको व्यक्‍ति, हुनसक्छ तपाईंको हाकिमले तपाईंको खुब तारिफ गर्लान्‌, तपाईंको केही काम गरिदेलान्‌ र तपाईंसित नजिकिने बहाना खोज्लान्‌। तर तपाईंलाई फुरुक्क पार्न गरिने यस्तो चालबाट होसियार! यस्ता व्यक्‍तिहरूको नियत सधैं रोमान्टिक अथवा अनैतिक नहुने भए तापनि ढुक्क नभइहाल्नुहोस्‌ किनभने मन कालो हुन के बेर! शूलम्मेनी कन्याजस्तै “पर्खाल” हुनुहोस्‌। (श्रेष्ठगीत ८:४, १०) कोही तपाईंसित नजिकिन खोज्दैछ भने दृढ भई सम्झाउनुहोस्‌। सँगै काम गर्ने साथीहरूलाई सुरुदेखि नै ‘म यहोवाको साक्षी हुँ’ भनी थाह दिनुहोस्‌ र मौका पाउनेबित्तिकै उनीहरूलाई साक्षी दिने गर्नुहोस्‌। यो तपाईंको लागि सुरक्षाकवच साबित हुनेछ।

९. चिन्दै नचिनेको व्यक्‍तिसित इन्टरनेटमा सम्बन्ध बढाउनुका खतराहरू के-के हुन्‌, बताउनुहोस्‌। (सँगैको पेटी पनि हेर्नुहोस्‌।)

अविवाहितहरूलाई सुहाउँदो जोडी खोज्न मदत गर्ने हेतुले तयार पारिएका इन्टरनेट वेब-साइटहरू दिन-दिनै लोकप्रिय बन्दैछन्‌। कोही-कोही भन्‍ने गर्छन्‌, ‘यस्तो वेब-साइटमा कहिल्यै भेट्‌न नसकिने व्यक्‍तिलाई भेट्‌ने मौका मिल्छ!’ तर चिन्दै नचिनेको व्यक्‍तिसित अन्धाधुन्ध सम्बन्ध गाँस्नु सरासर खतरा मोल्नु हो। इन्टरनेटमा के साँचो, के झूटो पक्का गर्नै मुस्किल पर्छ। (भजन २६:४) ‘म यहोवाको साक्षी हुँ’ भन्‍नेहरू सबै साक्षी हुँदैनन्‌। त्यति मात्र होइन, इन्टरनेटमार्फत डेटिङ गर्दा माया-प्रीति बस्न धेर समय लाग्दैन। त्यसो भएपछि सही ढङ्‌गमा सोच्ने क्षमता धमिलिन्छ। (हितोपदेश २८:२६) त्यसैले चाहे इन्टरनेटमार्फत होस्‌ वा अरू नै माध्यमद्वारा, चिन्दै नचिनेको व्यक्‍तिसित नजिकिन खोज्नु भनेको आफ्नै खुट्टामा बन्चरो हान्‍नु हो।—१ कोरिन्थी १५:३३.

१०. हामी कसरी अविवाहित मसीही भाइबहिनीलाई प्रोत्साहन दिन सक्छौं?

१० यहोवा आफ्ना सेवकहरूप्रति “टिठाइमा भरिपूर” हुनुहुन्छ। (याकूब ५:११) सुहाउँदो जोडी नजुरेको कारण विवाह नगरी बसेका मसीही भाइबहिनीलाई पाइला-पाइलामा गाह्रो हुन्छ र कहिलेकाहीं त उनीहरूको मनै खिन्‍न हुन्छ भनेर यहोवा जान्‍नुहुन्छ। यस्ता अविवाहित मसीहीहरूको वफादारितालाई उहाँ ठूलो मोल गर्नुहुन्छ। के उनीहरूलाई प्रोत्साहन दिने कुनै तरिका छ? किन नहुनु, पक्कै छ। यहोवाको आज्ञा पालन गरेकोमा र आत्मत्यागी मनोभाव देखाएकोमा हामीले उनीहरूको सराहना गरिरहनुपर्छ। (न्यायकर्त्ता ११:३९, ४०) उत्थानदायी जमघट गर्ने प्रबन्ध मिलाएको बेला उनीहरूलाई पनि बोलाउन सक्छौं। के तपाईंले हालै यसो गर्नुभयो? यसबाहेक, आध्यात्मिकतामा बलियो रही खुसीसाथ यहोवाको सेवा गरिरहन सकून्‌ भनेर हामी उनीहरूका लागि प्रार्थना गर्न सक्छौं। यहोवाले जस्तै हामी पनि यी वफादार मसीही भाइबहिनीलाई मूल्यवान्‌ ठान्छौं भन्‍ने कुरा आफ्नो निश्‍छल चासोद्वारा देखाऔं।—भजन ३७:२८.

बिमार हुँदा

११. सिकिस्त बिमार हुँदा कस्ता चुनौतीहरू आइपर्न सक्छन्‌?

११ हामी आफै अथवा नजिकको कोही मान्छे सिकिस्त बिमार भयो भने साह्रै पीर पर्छ। (यशैया ३८:१-३) हामी राम्रो उपचार चाहन्छौं तर ती उपचार बाइबल सिद्धान्त अनुरूप हुनै पर्छ। उदाहरणको लागि, रगतबाट अलग रहनू भन्‍ने बाइबलको आज्ञा पालन गर्न मसीहीहरू सजग हुन्छन्‌। साथै, तन्त्रमन्त्र गरेर रोग खुट्ट्याउने र उपचार गर्ने गरिन्छ भने पनि मसीहीहरूले त्यस्तो उपचारविधि स्वीकार्दैनन्‌। (प्रेरित १५:२८, २९; गलाती ५:१९-२१) तर चिकित्साबारे ज्ञान नभएका व्यक्‍तिलाई उपचारका विकल्पहरू थाह नहुन सक्छन्‌ र के गर्ने, कसो गर्ने भएर आत्तिन सक्छन्‌। यस्तो अवस्थामा सचेत रहन कुन कुराले हामीलाई मदत गर्न सक्छ?

१२. उपचारका विकल्पहरूबारे विचार गर्दा मसीहीहरू कसरी सन्तुलित हुन सक्छन्‌?

१२ बाइबल र मसीही प्रकाशनहरूमा खोजीनिती गरेर “समझदार मानिसले आफ्ना पाइलाहरू सतर्कसाथ चाल्छ।” (हितोपदेश १४:१५, NRV) संसारका कतिपय ठाउँमा डाक्टर र अस्पतालको त्यति सुविधा छैन। यस्ता ठाउँहरूमा जडीबुटीबाट तयार पारिएको परम्परागत औषधी मात्र उपलब्ध हुन सक्छ। यस्तो उपचारविधि अपनाउने विचार गर्दैछौं भने सोचौं: के यो परम्परागत उपचारविधिमा झारफुक पनि गरिन्छ? कतै यो उपचारविधि देवता (वा पितृहरूको आत्मा) रिसाएकोले अथवा बोक्सीविद्या खेलाउनेले बिगारेको कारण बिमार भएको वा मरेको हो भन्‍ने विश्‍वासमा त आधारित छैन? औषधी तयार पार्दा अथवा प्रयोग गर्दा बलि चढाइने, मन्त्र पढिने अथवा टुनामुना गरिन्छ कि? (व्यवस्था १८:१०-१२) यस प्रकार खोजीनिती गर्दा हामी बाइबलको यो सल्लाह पालन गरिरहेका हुनेछौं: “सबै कुराको जाँच गर, जुन असल छ, त्यसैमा लागिरहो।” b (१ थिस्सलोनिकी ५:२१) यस सल्लाहले हामीलाई सन्तुलित हुन मदत गर्नेछ।

१३, १४. (क) आफ्नो स्वास्थ्यको ख्याल राख्ने सन्दर्भमा हामी कसरी व्यावहारिक हुन सक्छौं? (ख) अरूसित स्वास्थ्य र उपचारबारे कुरा गर्दा किन व्यावहारिक हुनुपर्छ?

१३ स्वास्थ्यलगायत जीवनको हर क्षेत्रमा व्यावहारिक हुनु खाँचो छ। सन्तुलित हुँदै आफ्नो स्वास्थ्यको ख्याल राख्दा जीवनको मोल गरिरहेका हुन्छौं। बिमार हुँदा उपचार गरिहाल्नु ठीक हो। तर “जाति-जातिका मानिसहरूलाई निको” पार्ने परमेश्‍वरको समय नआउन्जेल एउटा न एउटा रोगले हामीलाई सताइरहनेछ। (प्रकाश २२:१, २) त्यसैले, आध्यात्मिकताजस्तो महत्त्वपूर्ण कुरा नै ओझेलमा पर्ने गरी स्वास्थ्यलाई मात्र अचाक्ली ध्यान नदिन हामी होसियार हुनै पर्छ।—मत्ती ५:३; फिलिप्पी १:१०, NW.

१४ स्वास्थ्य र उपचारबारे अरूसित कुरा गर्दा पनि सन्तुलित र व्यावहारिक हुनुपर्छ। मसीही सभा र सम्मेलनमा आध्यात्मिक सरसंगतिको लागि भेला हुँदा खाली यस्तै विषयमा मात्र कुरा गर्नु कदापि ठीक होइन। साथै, बाइबल सिद्धान्तहरू पछ्याउँदै, अन्तस्करणको आवाज सुन्दै अनि यहोवासितको आफ्नो सम्बन्ध विचार गर्दै उपचारसम्बन्धी निर्णयहरू गर्नुपर्ने हुन्छ। त्यसकारण आफूलाई ठीक लागेको उपचारविधि नै अपनाउनुपर्छ भनेर अरू भाइबहिनीलाई जबरजस्ती गर्नुहुँदैन। उनीहरूलाई आ-आफ्नो अन्तस्करण चलाएर निर्णय गर्न दिनुपर्छ। परेको बेला मण्डलीका परिपक्व भाइबहिनीको मदत माग्न सकिने भए पनि निर्णय गर्दा हरेक मसीहीले “आफ्नै निज भार” उठाउनै पर्छ र “हरेकले परमेश्‍वरलाई आफ्ना-आफ्ना लेखा” दिनै पर्छ।—गलाती ६:५; रोमी १४:१२, २२, २३.

तनावग्रस्त हुँदा

१५. बढी तनाव भयो भने के-के हुन सक्छ?

१५ बढी तनाव भयो भने यहोवाका वफादार सेवकहरूले समेत मुखमा जे आयो त्यै प्वाक्क बोल्न सक्छन्‌ अथवा गर्न नहुने काम उनीहरूबाट हुन सक्छ। (उपदेशक ७:७, NRV) अत्यन्तै गाह्रो अवस्थामा पर्दा अय्यूबले अलि टेंढो-टेंढो कुरा गरे र तिनलाई सच्याउनुपऱ्‍यो। (अय्यूब ३५:२, ३, NW; ४०:६-८) “मोशाचाहिं पृथ्वीभरिमा सबैभन्दा विनम्र व्यक्‍ति थिए” तरैपनि एक चोटि तिनले रिसको झोंकमा अनर्थ बोलिपठाए। (गन्ती १२:३; २०:७-१२; भजन १०६:३२, ३३) राजा शाऊललाई नमारेर दाऊदले साह्रै राम्रो आत्मसंयम देखाएका थिए तर नाबालले तिनको बेइज्जत गरेको र तिनका मानिसहरूलाई भक्कु गाली गरेको थाह पाएपछि दाऊद रिसले अन्धो भए र केही सोच्दै नसोची नाबालमाथि जाइलाग्न सुरिए। धन्‍न, ठीक समयमा अबिगेलले रोकेपछि मात्र दाऊद होसमा आए। नत्र त्यो दिन दाऊद र तिनका मानिसहरूले रगतको खोला बगाउने थिए। —१ शमूएल २४:२-७; २५:९-१३, ३२, ३३.

१६. हतारमा कुनै काम नगर्न केले हामीलाई मदत गर्न सक्छ?

१६ हामी पनि तनावग्रस्त हुन सक्छौं र यस्तो अवस्थामा हामीबाट मूर्ख काम हुन सक्छ। तर दाऊदले जस्तै अरूको कुरा बुझ्ने प्रयास गऱ्‍यौं भने हतारमा कुनै काम गर्नेछैनौं र पाप गर्नदेखि जोगिनेछौं। (हितोपदेश १९:२) परमेश्‍वरको वचनले पनि यस्तै सल्लाह दिन्छ: “रीस त गर, तर पापचाहिं नगर। तिमीहरूको ओछ्यानमा आफ्ना आफ्ना मनमा गुन, र चूपचाप रहो।” (भजन ४:४) अझ सकिन्छ भने त मन शान्त भएपछि मात्र कदम चाल्नु अथवा निर्णय गर्नु राम्रो हुन्छ। (हितोपदेश १४:१७, २९) हामी यहोवालाई व्यग्र प्रार्थना गर्न सक्छौं र “परमेश्‍वरको शान्तिले, जो सारा समझलाई माथ गर्छ, [हाम्रो] हृदय र [हाम्रो] विचारलाई येशूमा रक्षा गर्नेछ।” (फिलिप्पी ४:६, ७) हो, परमेश्‍वरको शान्तिले हामीलाई शान्त र सचेत रहन मदत गर्नेछ।

१७. सचेत रहन हामीले यहोवामाथि किन भरोसा राख्नै पर्छ?

१७ खतराहरूबाट जोगिने र सही ढङ्‌गमा काम गर्ने कोसिस गर्दागर्दै पनि हामी चुक्छौं। (याकूब ३:२) हामीबाट अनजानमै गम्भीर गल्ती हुन सक्छ। (भजन १९:१२, १३) यसबाहेक, हामी मानिससित आफ्नो पाइलालाई ठीक मार्गमा हिंडाउने न शक्‍ति छ न त अधिकार नै। यहोवासित मात्र यस्तो शक्‍ति र अधिकार छ। (यर्मिया १०:२३) त्यसकारण उहाँले हामीलाई यस्तो आश्‍वासन दिनुभएकोमा हामी औधी कृतज्ञ छौं: “म तँलाई शिक्षा दिनेछु, र तैंले कुन मार्गमा चल्नुपर्ने हो सो तँलाई सिकाउनेछु। तँमाथि नजर राखेर म तँलाई सल्लाह दिनेछु।” (भजन ३२:८) हो, यहोवाको मदतद्वारा हामी सचेत रहन सक्छौं। (w06 3/1)

[फुटनोटहरू]

a व्यापारिक कारोबार लिखित रूपमा गर्नुपर्छ अर्थात्‌ कारोबार गर्दा कबुलियतनामा बनाउनुपर्छ भन्‍ने विषयमा थप जानकारीको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित अगस्त १, १९९७ को प्रहरीधरहरा, पृष्ठ ३०-३१; नोभेम्बर १५, १९८६ को प्रहरीधरहरा (अंग्रेजी), पृष्ठ १६-१७ र फेब्रुअरी ८, १९८३ को ब्यूँझनुहोस्‌! (अंग्रेजी), पृष्ठ १३-१५ हेर्नुहोस्‌।

b विवादास्पद वैकल्पिक उपचारविधि अपनाउने विचार गरिरहेका व्यक्‍तिहरूलाई पनि यस सल्लाहले मदत गर्नेछ।

तपाईं कसरी जवाफ दिनुहुन्छ?

हामी कसरी सचेत रहन सक्छौं

• व्यापारको प्रस्ताव आउँदा?

• जीवनसाथी खोज्दा?

• बिमार हुँदा?

• तनावग्रस्त हुँदा?

[प्रश्‍नहरू]

[पृष्ठ २९-मा भएको पेटी]

अझै विश्‍वास गर्नुहुन्छ?

अविवाहितहरूलाई लक्षित गरेर तयार पारिएको वेब-साइटमा पहिल्यै यसो भनिदिएको हुन्छ:

“वेब-साइटमा नाउँ दर्ता गरेका व्यक्‍तिले आफ्नो बारेमा जे-जस्तो परिचय दिएको हुन्छ, त्यसबारे पक्का गर्ने सक्दो कोसिस त गरेका छौं तरैपनि त्यो शत-प्रतिशत ठीक हो भनेर चाहिं हामी ग्यारेन्टी दिन सक्दैनौं।”

“यस वेब-साइटमा पाइने कुनै पनि जानकारी सही, पूर्ण अथवा काम लाग्ने हुन्छ भनेर हामी ठोकुवा गर्न सक्दैनौं।”

“[यस] सेवामार्फत प्राप्त गर्न सकिने कुनै विचार, सल्लाह, वक्‍तव्य, प्रस्ताव अथवा अन्य जानकारी वा विषयवस्तु लेखकको आफ्नै विचार हुन्‌ . . . र ती भरपर्दा हुन्छन्‌ नै भन्‍ने छैन।”

[पृष्ठ २८-मा भएका चित्रहरू]

मसीही बहिनीहरूले कसरी शूलम्मेनी कन्याको उदाहरण अनुकरण गर्न सक्छन्‌?

[पृष्ठ ३०-मा भएको चित्र]

“सबै कुराको जाँच गर, जुन असल छ, त्यसैमा लागिरहो”