सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

स्फूर्ति दिने स्वस्थकर मनोरञ्जन

स्फूर्ति दिने स्वस्थकर मनोरञ्जन

स्फूर्ति दिने स्वस्थकर मनोरञ्जन

“चाहे तिमीहरू खाओ अथवा पिओ, अथवा तिमीहरू जेसुकै गर, सबै परमेश्‍वरकै महिमाको निम्ति गर।”—१ कोरिन्थी १०:३१.

१, २. जे काम गर्दा आनन्द लाग्छ, त्यसलाई किन “परमेश्‍वरको दान” मान्‍न सकिन्छ? तरैपनि बाइबलमा कस्तो स्पष्ट चेतावनी दिइएको छ?

 जे काम गर्दा आनन्द लाग्छ, त्यही गर्न मन लाग्नु ठीकै हो। हाम्रो आनन्दित परमेश्‍वर यहोवा पनि हामीले जीवनबाट भरपूर आनन्द उठाएको चाहनुहुन्छ र सबै चीज प्रशस्तसँग उपभोग गर्न दिनुहुन्छ। (१ तिमोथी १:११, NW; ६:१७) बुद्धिमान्‌ राजा सुलेमानले यस्तो लेखे: “सुखी हुनुबाहेक मानिसको निम्ति अरू केही कुरो असल छैन . . . त्यसबाहेक आफ्नो सारा परिश्रमको फलस्वरूप मानिसले खानु, पिउनु र आनन्द उपभोग गर्नुनै परमेश्‍वरको दान हो।”—उपदेशक ३:१२, १३.

आफूले जीवनमा गरेको परिश्रम सोचेर ल्याउँदा मात्र पनि खुसीले मनै गद्‌गद हुन्छ र यस्तो खुसीको क्षण कम्ती स्फूर्तिदायी हुँदैन! परिवार अथवा साथीभाइसित यस्तो विषयमा कुरा गर्नुको त झन्‌ मजा नै बेग्लै! यस्तो आनन्दलाई “परमेश्‍वरको दान” मान्‍न सकिन्छ। तर सृष्टिकर्ताले सबै चीज प्रशस्तसँग उपभोग गर्न दिनुभएको छ भन्दैमा मोजमजामै मस्त हुने छुट छैन हामीलाई। बाइबलले मतवाला, घिचुवा र अनैतिक काम गर्नेहरूको निन्दा गर्छ र यस्ता व्यक्‍तिहरू “परमेश्‍वरको राज्यको हकदार हुनेछैन” भनी चेतावनी दिन्छ।—१ कोरिन्थी ६:९, १०; हितोपदेश २३:२०, २१; १ पत्रुस ४:१-४.

३. आध्यात्मिक तवरमा जागा रहन र यहोवाको भयानक दिन नबिर्सन कुन कुराले हामीलाई मदत गर्नेछ?

समय झन्‌-झनै डरलाग्दो हुँदैछ। त्यसकारण संसारको भ्रष्ट चालढालअनुसार नचली बुद्धिमानीसाथ जीवन बिताउन मसीहीहरूलाई धेरै गाह्रो छ। (यूहन्‍ना १७:१५, १६) भविष्यवाणी गरिएझैं आजकलका मानिसहरू यतिबिघ्न “परमेश्‍वरभन्दा बरु सुख-विलास निको” मान्‍ने भएका छन्‌ कि उनीहरू “महा संकष्ट” आउनै लागेको छ भन्‍ने प्रमाण बेवास्ता गर्छन्‌ अर्थात्‌ “थाहै” नभएजस्तो गर्छन्‌। (२ तिमोथी ३:४, ५; मत्ती २४:२१, ३७-३९) येशूले आफ्ना अनुयायीहरूलाई यस्तो चेतावनी दिनुभयो: “तिमीहरू आफ्नो विषयमा होशियार रहो, नत्रता तिमीहरूका मन वाक्क-ब्याक्क, नशा र जीवनको फिक्रीले लट्टिएका हुनेछन्‌, औ त्यो दिन तिमीहरूमाथि एक्कासी पासोझैं आइपर्ला।” (लूका २१:३४, ३५) हामी परमेश्‍वरका सेवकहरू भएको कारण येशूले दिनुभएको चेतावनी अनुरूप चल्न कटिबद्ध छौं। आफू वरपरका खराब मानिसहरूजस्तो नभई आध्यात्मिक तवरमा जागा रहने र यहोवाको भयानक दिन नबिर्सने प्रयास गर्छौं।—सपन्याह ३:८; लूका २१:३६.

४. (क) उचित किसिमको मनोरञ्जन भेट्टाउन किन गाह्रो छ? (ख) एफिसी ५:१५, १६ मा पाइने कस्तो सल्लाह हामी लागू गर्न चाहन्छौं?

संसारका भ्रष्ट कुराबाट आफूलाई चोखो राख्न सजिलो छैन किनभने दियाबलले ती भ्रष्ट कुरालाई अत्यन्त रहरलाग्दो र सर्वसुलभ बनाइदिएको छ। मनोरञ्जनको कुरालाई नै लिनुहोस्‌, ती छान्‍न कत्ति गाह्रो छ! संसारमा पाइने धेरैजसो मनोरञ्जन “शारीरिक अभिलाषा” जगाउने खालका छन्‌। (१ पत्रुस २:११) हानिकारक मनोरञ्जन घरबाहिर मात्र होइन तर पुस्तक-पुस्तिका, टिभी, इन्टरनेट र भिडियोमार्फत घरभित्र पनि छिर्न सक्छ। त्यसैकारण परमेश्‍वरको वचन मसीहीहरूलाई यस्तो बुद्धिमानी सल्लाह दिन्छ: “कसरी हिंड्‌छौ ठीकसँग हेर, निर्बुद्धिजस्तो होइन, तर बुद्धिमान मानिसजस्तो, समयको अवसर विचार गरेर सम्झ, किनभने समय खराब छ।” (एफिसी ५:१५, १६) होसियार भई यो सल्लाह पालन गऱ्‍यौं भने मात्र हामी हानिकारक मनोरञ्जनको फन्दामा पर्नेछैनौं र यहोवासितको हाम्रो सम्बन्ध पनि चिसो हुनेछैन। यहोवासितको सम्बन्ध चिसिनुको अर्थ मृत्यु निम्त्याउनु हो भनेर नबिर्सौं!—याकूब १:१४, १५.

५. कुन कुराबाट हामी साँचो स्फूर्ति पाउन सक्छौं?

मसीहीहरू व्यस्त जीवन बिताउँछन्‌। त्यसकारण उनीहरूलाई कहिलेकाहीं रमाइलो गर्न मन लाग्नु स्वाभाविकै हो। उपदेशक ३:४ पनि यसै भन्छ, “हाँस्ने एउटा समय” छ र “नाच्ने एउटा समय।” त्यसैकारण त रमाइलो गर्नुलाई बाइबलमा समयको बरबादी भनिएको छैन। तर मनोरञ्जनबाट स्फूर्ति पाउनुपर्छ, हाम्रो आध्यात्मिकता नै खतरामा पर्नुहुँदैन र आध्यात्मिक गतिविधिमा पनि बाधा पुग्नुहुँदैन। दिनुमा असीम आनन्द छ भन्‍ने कुरा परिपक्व मसीहीहरूले जीवनको भोगाइबाट बुझेका छन्‌। यहोवाको इच्छा गर्नुलाई उनीहरू जीवनकै महत्त्वपूर्ण कुरा ठान्छन्‌ र येशू ख्रीष्टको सजिलो जुवा बोकेर साँचो “विश्राम [“स्फूर्ति,” NW]” पाउँछन्‌।—मत्ती ११:२९, ३०; प्रेरित २०:३५.

उचित प्रकारको मनोरञ्जन छान्‍नुहोस्‌

६, ७. कस्तो किसिमको मनोरञ्जन उचित छ/छैन भनेर निर्णय गर्न कुन कुराले तपाईंलाई मदत गर्न सक्छ?

उसोभए, कस्ता खाले मनोरञ्जन मसीहीहरूका लागि उचित छन्‌ त? यस विषयमा आमाबाबुले आफ्ना छोराछोरीलाई मदत गर्न सक्छन्‌। परेको बेला मदत गर्न प्राचीनहरू त छँदैछन्‌। साँच्चै भन्‍ने हो भने, कस्तो किसिमको पुस्तक-पुस्तिका, चलचित्र, खेलकुद र नाचगान उचित छ/छैन भनेर अरूले सम्झाइरहनु पर्दैन। किनभने पावलले भनेका छन्‌: “परिपक्व मानिसहरूका . . . मानसिक शक्‍ति निरन्तर अभ्यासद्वारा असल र खराब छुट्ट्याउन सक्ने भएको हुन्छ।” (हिब्रू ५:१४, NRV; १ कोरिन्थी १४:२०) साथै, बाइबल सिद्धान्तहरूले हामीलाई सही कुरा छनौट गर्न मदत गर्छ। परमेश्‍वरको वचनबाट राम्रोसँग तालिम पाएको आफ्नो अन्तस्करणले पनि तपाईंलाई मदत गर्नेछ। यति हो, तपाईंले आफ्नो अन्तस्करणको आवाज सुन्‍नुपर्छ।—१ तिमोथी १:१९.

“फलबाटै रूख चिनिन्छ” भनी येशूले बताउनुभयो। (मत्ती १२:३३) कुनै मनोरञ्जनले हामीलाई हिंसा, अनैतिकता अथवा तन्त्रमन्त्रजस्ता सडेको फल अर्थात्‌ खराब कुरातर्फ आकर्षित गर्छ भने त्यस्तो मनोरञ्जन छान्‍नै हुँदैन! ज्यानै जान सक्ने, गोजी रित्याउने वा निराश बनाउने र अरूलाई चोट पुऱ्‍याउने खालको मनोरञ्जन पनि उचित होइन। आफ्नो भाइको अन्तस्करणलाई चोट पुऱ्‍यायौं भने हामीले पाप गरिरहेका हुनेछौं भनी प्रेरित पावलले चेतावनी दिए। पावलले लेखे: “भाइहरूका विरुद्धमा पाप गर्दा र तिनीहरूका कमजोर अन्तस्करणलाई चोट लाउँदा तिमीहरू ख्रीष्टको विरुद्धमा पाप गर्दछौ। यसकारण खाने कुरोले मेरो भाइलाई बाधा पार्छ भने, म आफ्नो भाइलाई बाधा नपार्नलाई कहिल्यै मासु खानेछैनँ।”—१ कोरिन्थी ८:१२, १३.

८. भिडियो तथा कम्प्युटर गेम खेल्दा कस्ता खतराहरू हुन सक्छन्‌?

बजारमा भिडियो र कम्प्युटर गेम अनि चलचित्र रोजी-रोजी किन्‍न पाइन्छ। कुनै-कुनै गेम खेल्दा मज्जा आउन सक्छ र मन पनि बहलिन सक्छ। तर कतिपय गेमहरूमा बाइबलले निन्दा गर्ने थुप्रै कुरा हुन्छन्‌। कुनै-कुनै गेममा घाइते बनाउनुपर्ने, मार्नुपर्ने र घोर छाडा काम गर्नुपर्ने हुन्छ। यस्तो गेमले हानि गर्दैन भन्‍न सकिन्‍न! नबिर्सनुहोस्‌, “हिंसा रुचाउनेहरूलाई” यहोवा घृणा गर्नुहुन्छ। (भजन ११:५, NRV; हितोपदेश ३:३१; कलस्सी ३:५, ६) साथै, कुनै गेमले तपाईंलाई लोभी बनाउँछ, अरूमाथि जाइलाग्न सिकाउँछ, भावनात्मक रूपमा कमजोर बनाउँछ र तपाईंको अमूल्य समय खर्लप्पै खाइदिन्छ भने यस्तो गेमले पुऱ्‍याउन सक्ने आध्यात्मिक खतिबारे पनि होसियार हुनुहोस्‌ र यस्तो गेम खेल्ने गर्नुभएको छ भने खेल्न छोडिहाल्नुहोस्‌।—मत्ती १८:८, ९.

स्वस्थकर मनोरञ्जनबाट आनन्द उठाउनुहोस्‌

९, १०. मनोरञ्जन गर्नुपऱ्‍यो भने विवेकी व्यक्‍तिहरूले के गर्न सक्छन्‌?

कहिलेकाहीं मसीहीहरूको मनमा प्रश्‍न खेल्न सक्छ: “कस्तो मनोरञ्जनलाई उचित मान्‍ने त? संसारमा पाइने प्रायजसो मनोरञ्जन बाइबल स्तर अनुरूप छँदै छैन?” चिन्ता नगर्नुस्‌, सन्तोषजनक मनोरञ्जन पनि छ तर अलिकति मेहनत गर्नुपर्छ। यसको लागि विशेष गरी आमाबाबुले पहिल्यै विचार पुऱ्‍याएर राम्रो योजना बनाउनुपर्छ। धेरैलाई परिवारका सदस्य र मण्डलीका भाइबहिनीहरूसित बसेर रमाइलो गर्न मनपर्छ। आरामसित बसेर खाना खानु, दिनभरि के-के भयो त्यसबारे बताउनु, बाइबलको कुनै विषय छलफल गर्नु निकै रमाइलो र उत्थानदायी हुन्छ। वनभोज जाने, लुडो, चेस, फुटबल खेल्ने र चिडियाखाना वा पार्क घुम्न जाने प्रबन्ध पनि मिलाउन सकिन्छ। यस्तो स्वस्थकर मनोरञ्जनबाट धेरै आनन्द उठाउन सकिन्छ।

१० तीन जना छोराछोरी हुर्काइसकेका एक जना प्राचीन र तिनकी पत्नी यसो भन्छन्‌: “छोराछोरी सानो छँदादेखि नै हामीले छुट्टीमा घुम्न जाने ठाउँ उनीहरूलाई पनि रोज्न दियौं। तीनै जनाको साथीलाई पनि कहिलेकाहीं सँगै लैजान्थ्यौं। त्यसो गर्दा उनीहरू अझ बढी रमाउँथे। कुनै कुरामा हाम्रा छोराछोरी सफल हुँदा खुसियाली मनाउँथ्यौं। बेलाबखत हामी उनीहरूको चाहना अनुरूप मण्डलीका केही परिवार तथा साथीहरूलाई घरमा बोलाउँथ्यौं। अरू बेलाचाहिं हामी बाहिर कतै गएर खाना पकाएर खान्थ्यौं र खेलहरू खेल्थ्यौं। समय मिलेको बेला हामी ट्रेकिङ जान्थ्यौं। यसरी घुम्न जाँदा यहोवाको सृष्टिबारे धेरै कुरा सिक्थ्यौं।”

११, १२. (क) कहिलेकाहीं मनोरञ्जन गर्ने योजना बनाएको बेला अरूलाई पनि सामेल गर्न तपाईं के-के गर्न सक्नुहुन्छ? (ख) कस्तो प्रकारको जमघट थुप्रैका लागि मीठो सम्झना साबित भएको छ?

११ कहिलेकाहीं मनोरञ्जन गर्ने योजना बनाएको बेला अरूलाई पनि सामेल गर्न के तपाईं व्यक्‍तिगत रूपमा अथवा पारिवारिक रूपमा ठूलो मनको हुन सक्नुहुन्छ? विधवा, अविवाहित भाइ वा बहिनी, एक्लो बुबा वा आमालाई प्रोत्साहनको खाँचो परिरहेको हुन सक्छ। (लूका १४:१२-१४) नयाँ व्यक्‍तिलाई पनि बोलाउन सक्नुहुन्छ तर होसियार! ती नयाँ व्यक्‍ति अरूलाई नराम्रो छाप पार्ने खालको नहोस्‌। (२ तिमोथी २:२०, २१) अशक्‍त भाइ वा बहिनी घरबाट बाहिर निस्कन सक्दैनन्‌ भने, तिनकै घरमा खानेकुरा लिएर गई सँगै खाने प्रबन्ध मिलाउन सक्नुहुन्छ।—हिब्रू १३:१, २.

१२ भान्छामा जे-जस्तो पाकेको छ ती खाँदै पाहुनाहरूबाट उनीहरूले कसरी सच्चाइ सिके अनि अहिलेसम्म विश्‍वासी रहिरहन केले मदत गरेको छ भन्‍ने अनुभव सुन्‍नु थुप्रैका लागि मीठो सम्झना साबित भएको छ। यस्तो जमघटमा बाइबलका विभिन्‍न विषय छलफल गर्न सकिन्छ र छलफलमा केटाकेटीलगायत उपस्थित सबैलाई भाग लिन लगाए झनै रमाइलो हुन्छ। तर छलफल गर्दा उपस्थित भाइबहिनीलाई अपठ्यारोमा नपार्नुहोस्‌। यसो गर्नुभयो भने छलफलको बेला एक-आपसमा प्रोत्साहन आदनप्रदान हुनेछ।

१३. अतिथि-सत्कार देखाउने र स्वीकार्ने सन्दर्भमा येशू र पावलले कसरी उदाहरण बसाल्नुभयो?

१३ अरूलाई अतिथि-सत्कार देखाउने र स्वीकार्ने सन्दर्भमा येशूले उत्कृष्ट उदाहरण बसाल्नुभयो। यस्ता जमघटहरूमा उहाँले सधैं आध्यात्मिक कुरा बाँड्‌नुभयो। (लूका ५:२७-३९; १०:४२; १९:१-१०; २४:२८-३२) प्रथम शताब्दीका चेलाहरूले उहाँको अनुकरण गरे। (प्रेरित २:४६, ४७) प्रेरित पावलले यस्तो लेखे: “तिमीहरूलाई बलिया पार्नलाई केही आत्मिक वरदान तिमीहरूलाई दिन सकूँ भनेर म तिमीहरूलाई भेट्‌ने उत्कट इच्छा गर्दछु। यसरी तिमीहरूको र मेरो, हाम्रो पारस्परिक विश्‍वासबाट, हामी दुवैले एउटा अर्काबाट प्रोत्साहन पाउन सकौं।” (रोमी १:११, १२, NRV) हामीले आयोजना गर्ने जमघटको माहौल पनि प्रोत्साहन आदनप्रदान गर्ने खालको हुनुपर्छ।—रोमी १२:१३; १५:१, २.

याद राख्नुपर्ने कुरा

१४. धेरै ठूलो जमघट नगर्नुहोस्‌, किन?

१४ धेरै ठूलो जमघट नगर्नुहोस्‌ किनभने जमघट जति ठूलो भयो रेखदेख गर्न उतिनै गाह्रो हुन्छ। आध्यात्मिक कामकुरामा बाधा नपुग्ने गरी कहिलेकाहीं दुई/चार परिवार मिलेर वनभोज जान सक्छन्‌ अथवा प्रतिस्पर्धाको भावना नलिई कुनै खेल खेलेर रमाइलो गर्न सक्छन्‌। अझ केही प्राचीन, सेवकाई सेवक र अरू पाका भाइबहिनी पनि सामेल हुन सके जमघटको शोभा बढ्‌नेछ र जमघट झनै स्फूर्तिदायी हुनेछ।

१५. जमघट आयोजना गर्दा राम्रोसँग रेखदेख पनि गर्न सक्नुपर्छ, किन?

१५ जमघट आयोजना गर्ने व्यक्‍तिले राम्रोसँग रेखदेख पनि गर्न सक्नुपर्छ। तपाईंले अतिथि-सत्कार त देखाउनुभयो तर तपाईंको हेलचेक्र्‌याइँको कारण कुनै कुराले पाहुनालाई ठेस पुऱ्‍यायो भने कत्ति खल्लो लाग्छ, होइन? त्यसैले व्यवस्था २२:८ को सिद्धान्त विचार गर्नुहोस्‌। इस्राएलीहरूको समयमा पाहुनाहरूसित अक्सर घरको छतमा रमाइलो गर्ने चलन थियो। त्यसकारण नयाँ घर बनाउने इस्राएलीले आफ्नो घरको छतमा चारैतिर बार लगाउनुपर्थ्यो। किन? किनभने त्यसो गरेमा ‘त्यहाँबाट कोही मान्छे लोट्यो भने मृत्युको दोष तिनीहरूको घरलाई लाग्ने’ थिएन। त्यसै गरी, जमघट आयोजना गर्दा पाहुनाहरूको शारीरिक तथा आध्यात्मिक हितलाई पनि ध्यान दिनुहोस्‌। तर सुरक्षाको नाममा अरट्ठो नियमचाहिं नबनाउनुहोस्‌ नि।

१६. जमघटमा रक्सी राख्ने हो भने कस्तो सतर्कता अपनाउनु खाँचो छ?

१६ जमघटमा रक्सी राख्ने हो भने सतर्कता अपनाउनु खाँचो छ। पाहुनाहरूलाई कस्तो खालको मद्यपदार्थ दिने र कति दिने, आफैले रेखदेख गर्न सक्छन्‌ भने मात्र थुप्रै मसीहीहरू जमघटमा रक्सी राख्ने निधो गर्छन्‌। जमघटको बेला अरूलाई ठेस पुऱ्‍याउने काम गर्न दिनुहुँदैन अथवा पिउन बढ्‌तै कर गर्नुहुँदैन। (एफिसी ५:१८, १९) विभिन्‍न कारणवश केही पाहुनाले रक्सी छुँदै नछुने विचार गर्न सक्छन्‌। कतिपय मुलुकमा रक्सी पिउने उमेर कानुनले नै तोकेको हुन्छ। सरकारले तोकेको यस्तो नियम अचाक्ली कडा लागे तापनि मसीहीहरूले त्यो नियम पालन गर्नेछन्‌।—रोमी १३:५.

१७. (क) जमघटमा गीत बजाउने हो भने, जमघट आयोजना गर्ने मसीहीले गीत छान्दा किन होस पुऱ्‍याउनुपर्छ? (ख) जमघटमा नाच्ने कार्यक्रम पनि राख्ने हो भने कसरी शिष्टता देखाउन सकिन्छ?

१७ जमघटमा बजाइने गीत, नाचिने नाच अथवा अरू मनोरञ्जन मसीही सिद्धान्त अनुरूप छ कि छैन, जमघट आयोजना गर्ने मसीहीले पक्का गर्नुपर्छ। मान्छेअनुसार गीतको रुचि फरक-फरक हुन्छ। साथै, अचेल बजारमा थरीथरीको गीत पाउन थालेको छ। तर आजकल पाइने धेरैजसो गीतले विद्रोह गर्न, अनैतिक काम गर्न र हिंस्रक हुन उक्साउँछ। त्यसैले गीत छान्दा खुब होस पुऱ्‍याउनुपर्छ। राम्रो गीत भन्‍नेबित्तिकै गजल शैलीकै हुनुपर्छ भन्‍ने छैन तर हामीले छान्‍ने गीतका शब्दहरू अश्‍लील र चर्को आवाजमा डाङडाङ र डुङडुङ मात्र गर्ने पनि हुनु भएन। ठिक्कको आवाजमा गीत बजाउनुको महत्त्व नबुझेका व्यक्‍तिलाई गीत छान्‍न नदिनुहोस्‌। कामुक शैलीमा कम्मर र छाती हल्लाउँदै नाचिने नाच मसीहीहरूका लागि कदापि उचित होइन।—१ तिमोथी २:८-१०.

१८. आफ्ना छोराछोरीलाई बोलाइएको जमघटबारे खोजीनिती गरेर आमाबाबुले कसरी उनीहरूलाई जोगाउन सक्छन्‌?

१८ आफ्ना छोराछोरीलाई बोलाइएको जमघटमा के-कस्तो कार्यक्रम आयोजना गरिएको छ, मसीही आमाबाबुले पत्ता लगाउनुपर्छ अनि सकभर तिनीहरूसँगै त्यस जमघटमा उपस्थित हुनु बुद्धिमानी हुन्छ। बडो अफसोसको कुरा, केही आमाबाबुले आफ्ना छोराछोरीलाई राम्रोसँग रेखदेख नगरिएका पार्टीहरूमा जान दिएका छन्‌ र यस्तो पार्टीमा आउने धेरैजसो व्यक्‍ति अनैतिक वा त्यस्तै अरू निर्लज्ज काममा फसेका छन्‌। (एफिसी ६:१-४) युवा भाइबहिनीहरू १९/२० वर्षका भइसके होलान्‌ र उनीहरू भरपर्दा पनि होलान्‌ तर उनीहरूलाई अझै पनि “जवानीका अभिलाषाहरूबाट” भाग्न मदत दिनु खाँचो छ।—२ तिमोथी २:२२.

१९. ‘पहिले खोजी’ गर्नुपर्ने कुरामा ध्यानकेन्द्रित गर्न कस्तो यथार्थले हामीलाई मदत गर्न सक्छ?

१९ कहिलेकाहीं स्वास्थ्यकर र स्फूर्तिदायी मनोरञ्जनबाट आनन्द उठाउँदा जीवन अझ रमाइलो हुन्छ। हामी यस्तो मनोरञ्जनमा रम्दा यहोवा आपत्ति जनाउनुहुन्‍न। तरैपनि यस्तो मनोरञ्जनले हामीलाई स्वर्गमा आध्यात्मिक धनसम्पत्ति थुपार्न मदत गर्दैन भन्‍ने यथार्थलाई कहिल्यै भुल्नुहुँदैन। (मत्ती ६:१९-२१) “पहिले . . . राज्य र [परमेश्‍वरको] धार्मिकता खोजी” गर्नु जीवनको सर्वमहत्त्वपूर्ण कुरा हुनुपर्छ तर के खाउँला? कि के पिऔंला? कि के पहिरौंला? भनेर फिक्री गर्नु हुँदैन किनकि “अन्यजातिहरूले मात्र यी सब थोक खोज्दछन्‌” भनी येशूले आफ्ना चेलाहरूलाई सम्झाउनुभयो।—मत्ती ६:३१-३४.

२०. विश्‍वासी भई यहोवाको सेवा गर्नेहरूले महान्‌ प्रबन्धक यहोवाबाट कस्तो असल कुराको आशा गर्न सक्छन्‌?

२० हो, चाहे हामी ‘खाऔं, पिऔं, अथवा जेसुकै गरौं,’ “सबै परमेश्‍वरकै महिमाको निम्ति” गर्न सक्छौं। साथै, जुन-जुन कुराबाट हामी ठिक्क मात्रामा आनन्द उठाउँछौं त्यसको लागि महान्‌ प्रबन्धक यहोवालाई धन्यवाद दिनुपर्छ। (१ कोरिन्थी १०:३१) अब चाँडै यहोवाले यस पृथ्वीलाई प्रमोदवन बनाउनुहुँदा उहाँले मन खोलेर दिनुहुने कुराबाट आनन्द उठाउन सकिने अवसरहरू अनगन्ती हुनेछन्‌। त्यति मात्र होइन, यहोवाले तोक्नुभएका धार्मिक आवश्‍यकताहरू पूरा गर्ने व्यक्‍तिहरूको असल सरसंगतिबाट पनि अपार आनन्द उठाउन सक्नेछौं।—भजन १४५:१६; यशैया २५:६; २ कोरिन्थी ७:१. (w06 3/1)

के तपाईंले सम्झनुभएको छ?

• आज मसीहीहरूलाई स्वास्थ्यकर मनोरञ्जन भेट्टाउनै गाह्रो छ, किन?

• मसीही परिवारलाई सन्तोषजनक लागेका केही मनोरञ्जन के-के हुन्‌?

• स्वास्थ्यकर मनोरञ्जनबाट आनन्द उठाउँदा समेत कुन कुरा भुल्नुहुँदैन?

[प्रश्‍नहरू]

[पृष्ठ २४-मा भएको चित्र]

असल फल फलाउने मनोरञ्जन छान्‍नुहोस्‌

[पृष्ठ २५-मा भएका चित्रहरू]

कस्तो खाले मनोरञ्जन मसीहीहरूका लागि उचित छैनन्‌?