सीधै सामग्रीमा जाने

“प्रतीकात्मक अर्थ” बोकेको विवरण

“प्रतीकात्मक अर्थ” बोकेको विवरण

“प्रतीकात्मक अर्थ” बोकेको विवरण

बाइबलमा पाइने ऐतिहासिक विवरणहरू हामी सरसरती पढ्‌नेबित्तिकै बुझिहाल्छौँ। तर कुनै-कुनै विवरणमा भने गहिरो अर्थ लुकेको हुन्छ र त्यो बुझ्न बाइबलका अन्य भागहरूले मदत दिन्छ। त्यसको एउटा उदाहरण हागार र सारासित सम्बन्धित विवरण हो। त्यस विवरणको “प्रतीकात्मक अर्थ” छ भनेर पावलले बताएका छन्‌।—गलाती ४:२४.

यहोवाको अनुमोदन चाहने सबैले त्यस विवरणको प्रतीकात्मक अर्थ बुझ्नु एकदमै महत्त्वपूर्ण छ। आउनुहोस्‌, त्यसको कारण बुझौँ। तर त्यसअघि पावलले यस विवरणको प्रतीकात्मक अर्थ किन बुझाउनुपरेको थियो, बुझौँ।

गलातियाको मण्डलीमा एउटा समस्या थियो। त्यस मण्डलीका कसै-कसैले मोसाको व्यवस्था पालन गर्दै “तिथि, महिना, ऋतु र वर्षहरू एउटै नछुटाई” मनाइरहेका थिए। तिनीहरू परमेश्‍वरको अनुमोदन पाउन मोसाको व्यवस्थाका सबै नियम पालन गर्नुपर्छ भन्थे। (गलाती ४:१०; ५:२, ३) तर पावललाई ख्रिष्टियनहरूले त्यस्ता नियमहरू पालन गर्नु पर्दैन भनेर थाह थियो। यो कुरा बुझाउन तिनले यहुदी पृष्ठभूमिबाट आएका जो-कोहीलाई पनि थाह भएको एउटा विवरण उल्लेख गरे।

पावलले गलातियाका ख्रिष्टियनहरूलाई यहुदी राष्ट्रका बुबा अब्राहामको इस्माएल र इसहाक नाम गरेका दुई जना छोरा थिए भनेर बताए। इस्माएल दासी हागारबाट जन्मिएका थिए भने इसहाक स्वतन्त्र स्त्री साराबाट जन्मिएका थिए। सारा सुरुमा बाँझी थिइन्‌ र पछि आफ्नो लागि सन्तान जन्माउन उनले आफ्नी दासी हागार अब्राहामकी पत्नी हुनलाई दिएकी थिइन्‌। गलातियामा मोसाको व्यवस्था पालन गर्नै पर्छ भनिरहेका ख्रिष्टियनहरूलाई यो कुरा थाह थियो। हागार गर्भवती भएपछि तिनले सारालाई हेप्न थालेको कुरा पनि तिनीहरूलाई थाह भएको हुनुपर्छ। तर पछि परमेश्‍वरको प्रतिज्ञाअनुसारै साराले बुढेसकालमा इसहाकलाई जन्म दिइन्‌। इस्माएलले इसहाकलाई दुर्व्यवहार गर्न थालेपछि अब्राहामले हागार र इस्माएललाई घरबाट निकालिदिए।—उत्पत्ति १६:१-४; १७:१५-१७; २१:१-१४; गलाती ४:२२, २३.

दुई स्त्री, दुई करार

पावलले यस विवरणका पात्रहरूले कसलाई बुझाउँछ भनेर बताए। तिनले यसो भने: “यी स्त्रीहरूको अर्थ दुई वटा करार हो, एउटा सिनै डाँडामा पाएको करार, जो हागार हो र जसले दासत्वको लागि छोराछोरी जन्माउँछ। . . . तिनलाई आजको यरुसलेमसित तुलना गर्न सकिन्छ किनकि यरुसलेम आफ्ना छोराछोरीसँगै दासत्वमा छिन्‌।” (गलाती ४:२४, २५) हागारले साँच्चैको इस्राएललाई बुझाउँथ्यो, जसको राजधानी यरुसलेम थियो। यहुदी राष्ट्र यहोवाले सिनै डाँडामा इस्राएलीहरूसँग गर्नुभएको व्यवस्थाको करारको अधीनमा थियो। व्यवस्थाको करारले इस्राएलीहरूलाई तिनीहरू पापको दासत्वमा छन्‌ र तिनीहरूलाई छुटकारा चाहिन्छ भनेर बारम्बार सम्झाउँथ्यो।—यर्मिया ३१:३१, ३२; रोमी ७:१४-२४.

त्यसोभए “स्वतन्त्र स्त्री” सारा र तिनका छोरा इसहाकले कसलाई बुझाउँछ? सारा जसलाई “बाँझी स्त्री” पनि भनिएको छ, तिनले परमेश्‍वरकी पत्नी अर्थात्‌ उहाँको सङ्‌गठनको स्वर्गमा रहेको भागलाई बुझाउँछ भनेर पावलले सङ्‌केत गरे। परमेश्‍वरकी पत्नीलाई कुन अर्थमा बाँझी भन्‍न सकिन्छ? येसु आउनुअघि पृथ्वीमा ती स्त्रीको पवित्र शक्‍तिद्वारा अभिषेक गरिएका कुनै “छोराछोरी” थिएनन्‌। (गलाती ४:२७; यसैया ५४:१-६) तर इस्वी संवत्‌ ३३ पेन्तिकोसमा केही पुरुष र स्त्रीहरूमाथि पवित्र शक्‍ति खन्याइयो। यसरी तिनीहरू परमेश्‍वरकी पत्नीको छोराछोरीको रूपमा जन्मिए। ती छोराछोरीलाई परमेश्‍वरको धर्मपुत्र बनाइयो। साथै तिनीहरू नयाँ करारमा बाँधिएकोले येसु ख्रिष्टको सङ्‌गी उत्तराधिकारी भए। (रोमी ८:१५-१७) त्यसैले ती छोराछोरीहरूमध्ये एक प्रेषित पावलले यसो भन्‍न सके: “माथिको यरुसलेम स्वतन्त्र छिन्‌ र उनी हाम्री आमा हुन्‌।”—गलाती ४:२६

दुई स्त्रीका छोराछोरी

इस्माएलले इसहाकको खेदो गरेजस्तै प्रथम शताब्दीमा पनि दासत्वमा परेको यरुसलेमका सन्तानले माथिको यरुसलेमका सन्तानको खिसी गरे र खेदो गरे। यसबारे पावलले यसो भने: “त्यतिखेर जो स्वाभाविक तरिकामा जन्मेको थियो, उसले [इस्माएलले] पवित्र शक्‍तिद्वारा जन्मेकोलाई [इसहाकलाई] खेदो गर्न थाल्यो, अहिले पनि अवस्था त्यस्तै छ।” (गलाती ४:२९) जसरी हागारको छोरा इस्माएलले अब्राहामको साँचो उत्तराधिकारी इसहाकलाई दुर्व्यवहार गरेका थिए, त्यसरी नै येसु पृथ्वीमा आउनुभएर परमेश्‍वरको राज्यको सुसमाचार सुनाउन थाल्नुहुँदा यहुदी धर्मगुरुहरूले उहाँलाई दुर्व्यवहार गरे। तिनीहरूले आफूलाई अब्राहामको जायज उत्तराधिकारीको रूपमा हेर्थे र येसुको त्यसमा कुनै अधिकार छैन भन्ठान्थे। त्यसैले तिनीहरूले येसु ख्रिष्टको खिसी गरे र खेदो गरे।

इस्राएल राष्ट्रका शासकहरूले येसुलाई मृत्युदण्ड दिनुभन्दा केही समयअघि उहाँले यसो भन्‍नुभएको थियो: “यरुसलेम, हे यरुसलेम, तँ जसले भविष्यवक्‍ताहरूलाई मारिस्‌ र आफूकहाँ पठाइएकाहरूलाई ढुङ्‌गाले हानिस्‌! कुखुरीले आफ्ना चल्लाहरूलाई पखेटामुनि बटुलेझैँ मैले तेरा छोराछोरीलाई कत्ति पटक बटुल्न चाहेँ! तर तिमीहरूले मानेनौ। हेर! परमेश्‍वरले तिमीहरूको घरलाई त्याग्नुभएको छ।”—मत्ति २३:३७, ३८.

हागारले चित्रण गर्ने इस्राएल राष्ट्रबाट जन्मिएका सन्तानहरू स्वतः येसुको सङ्‌गी उत्तराधिकारी भएनन्‌। यहुदीहरू आफूसित जन्मजातै त्यस्तो अधिकार छ भनेर घमन्ड गर्थे तर यहोवाले तिनीहरूलाई त्याग्नुभययो। हुनत केही यहुदीले ख्रिष्टको सङ्‌गी उत्तराधिकारी हुने सुअवसर पाए तर तिनीहरूले त्यो सुअवसर जन्मजात इस्राएली भएकोले होइन बरु येसुमा विश्‍वास गरेकोले पाएका थिए।

इस्वी संवत्‌ ३३ पेन्तिकोसमा केही पुरुष र स्त्रीहरू येसुको सङ्‌गी उत्तराधिकारी भए अनि समय बित्दै जाँदा माथिको यरुसलेमको सन्तानको रूपमा अरू पनि रोजिए।

नयाँ करार व्यवस्थाको करारभन्दा उत्कृष्ट छ भन्‍ने कुरा बुझाउन पावलले दुई स्त्रीसम्बन्धी विवरणको “प्रतीकात्मक अर्थ”-बारे बताएका थिए। मोसाको व्यवस्था पालन गरेर कसैले पनि परमेश्‍वरको अनुमोदन पाउन सक्दैनथ्यो किनभने व्यवस्थाले मानिसहरू त्रुटिपूर्ण छन्‌ र पापको दासत्वमा छन्‌ भन्‍ने कुरालाई मात्र जोड दिन्थ्यो। तर पावलले भनेझैँ येसु “व्यवस्थाको अधीनमा भएकाहरूलाई किनेर छुटाउन” आउनुभयो। (गलाती ४:४, ५) त्यसैले येसुको बलिदानमा विश्‍वास गर्नेहरूले मात्र पापबाट स्वतन्त्रता पाउनेछन्‌।—गलाती ५:१-६.

यस विवरणले हाम्रो लागि कस्तो अर्थ राख्छ?

पावलले परमेश्‍वरको प्रेरणा पाएर दुई स्त्रीसम्बन्धी विवरणको प्रतीकात्मक अर्थ खुलाए र यसमा हामीले पनि चासो लिनुपर्छ। किन? किनभने पावलको व्याख्याले गर्दा नै हामीले यस विवरणलाई अझ स्पष्टसँग बुझ्न सकेका छौँ। अनि बाइबलका कुराहरू आपसमा बाझिएका छैनन्‌ भनेर पनि विश्‍वस्त हुन सकेका छौँ।—१ थिस्सलोनिकी २:१३.

साथै यस विवरणमा बताइएका कुराहरू वास्तविकतामा परिणत हुँदा त्यसले हामीलाई पनि प्रत्यक्ष असर गर्नेछ। माथिको यरुसलेमका “सन्तान”-हरू देखा नपरेको भए हामी सदाको लागि पाप र मृत्युको दासत्वमा हुने थियौँ। तर ख्रिष्ट र उहाँका सङ्‌गी उत्तराधिकारीहरूले मायालुपूर्वक शासन गर्दा “पृथ्वीका सबै जातिले आशिष्‌ पाउनेछन्‌।” (उत्पत्ति २२:१८) मानिसहरूले सदाको लागि पाप, त्रुटिपूर्ण अवस्था, दुःख र मृत्युबाट छुटकारा पाउनेछन्‌। (यसैया २५:८, ९) त्यो समय कत्ति रोमाञ्चक हुनेछ!

[चित्र]

व्यवस्थाको करार सिनै डाँडामा दिइएको थियो

[स्रोत]

Pictorial Archive (Near Eastern History) Est.

[चित्र]

प्रेषित पावलले उल्लेख गरेका दुई स्त्रीसम्बन्धी विवरणको प्रतीकात्मक अर्थ बुझ्नु किन महत्त्वपूर्ण छ?