सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

‘गएर चेला बनाओ र बप्तिस्मा देओ’

‘गएर चेला बनाओ र बप्तिस्मा देओ’

‘गएर चेला बनाओ र बप्तिस्मा देओ’

“यसकारण गएर सबै देशका जातिहरूलाई चेला बनाओ, र . . . बप्तिस्मा देओ। जे जे मैले तिमीहरूलाई आज्ञा गरें, तिनीहरूलाई ती सबै गर्नलाई सिकाओ।” —मत्ती २८:१९, २०.

१. सीनै पर्वतको फेदमा इस्राएल राष्ट्रले कस्तो निर्णय गरेको थियो?

 लगभग ३,५०० वर्षअघि एउटा राष्ट्रले परमेश्‍वरसित वाचा बाँध्यो। सीनै पर्वतको फेदमा भेला भएका इस्राएलीहरूले सबैको अगाडि यसो भनेका थिए: “परमप्रभुले भन्‍नुभएका सबै कुराहरू हामी पालन गर्नेछौं।” त्यस बेलादेखि इस्राएलीहरू परमेश्‍वरप्रति समर्पित जाति अनि उहाँको “निज धन” भए। (प्रस्थान १९:५, ८; २४:३) तिनीहरूले “दूध र मह बग्ने देश[मा]” परमेश्‍वरको सुरक्षा पाउने र पुस्तौं पुस्तासम्म बाँच्ने आशा राखेका थिए।—लेवी २०:२४.

२. आज मानिसहरूले परमेश्‍वरसित कस्तो सम्बन्ध गाँस्न सक्छन्‌?

तर भजनहार आसापले मानिलिएझैं “तिनीहरूले परमेश्‍वरको करार पालन गरेनन्‌, र उहाँको व्यवस्थामा चल्न इन्कार गरे।” (भजन ७८:१०) आफ्ना पितापुर्खाले यहोवासित बाँधेको वाचा तिनीहरूले पूरा गरेनन्‌। पछि गएर त्यस राष्ट्रले परमेश्‍वरसितको अनमोल सम्बन्ध गुमायो। (उपदेशक ५:४; मत्ती २३:३७, ३८) त्यसकारण परमेश्‍वरले आफ्नो “नाउँको निम्ति अन्यजातिहरूबाट एक जाति लिनलाई कृपादृष्टि गर्नुभयो।” (प्रेरित १५:१४) यस आखिरी दिनमा “कसैले गन्‍न नसक्ने हरेक जातिबाटको र सबै कुलको र मानिसको, र भाषा भाषाहरूको एक ठूलो भीड” परमेश्‍वरले जम्मा गरिरहनुभएको छ। तिनीहरू खुसी हुँदै भन्छन्‌: “सिंहासनमा विराजमान हुनुहुने हाम्रा परमेश्‍वर र थुमामा मुक्‍ति छ।”—प्रकाश ७:९, १०.

३. परमेश्‍वरसित व्यक्‍तिगत सम्बन्ध गाँस्नुअघि कस्ता कदम चाल्नै पर्छ?

परमेश्‍वरसित यस्तो अनमोल सम्बन्ध गाँस्न चाहने व्यक्‍तिले यहोवालाई आफ्नो जीवन समर्पण गर्नै पर्छ अनि पानीमा बप्तिस्मा लिएर यस समर्पणबारे सबैलाई थाह दिनै पर्छ। यसो गर्नु येशूले आफ्ना चेलाहरूलाई दिनुभएको यो आज्ञाअनुरूप छ: “यसकारण गएर सबै देशका जातिहरूलाई चेला बनाओ, र पिता, पुत्र र पवित्र आत्माको नाउँमा बप्तिस्मा देओ। जे जे मैले तिमीहरूलाई आज्ञा गरें, तिनीहरूलाई ती सबै गर्नलाई सिकाओ।” (मत्ती २८:१९, २०) मोशाले “करारको पुस्तक” पढेर सुनाउँदा इस्राएलीहरूले ध्यान दिएर सुने। (प्रस्थान २४:३, ७, ८) त्यसरी सुनेपछि तिनीहरूले यहोवाप्रतिको आफ्नो दायित्व बुझ्न सके। त्यसरी नै, अहिले पनि परमेश्‍वरको वचन बाइबलमा बताइएको उहाँको उद्देश्‍यबारे सही ज्ञान लिएपछि मात्र बप्तिस्मा लिन सकिन्छ।

४. बप्तिस्माको लागि योग्य हुन के गर्नुपर्छ? (माथि दिइएको पेटीको कुरा पनि बताउनुहोस्‌।)

कुरा स्पष्ट छ, विश्‍वासको जग बलियो भइसकेपछि मात्र आफ्ना चेलाहरूले बप्तिस्मा लिएको येशू चाहनुहुन्थ्यो। उहाँले आफ्ना अनुयायीहरूलाई गएर चेला बनाओ मात्र भन्‍नुभएन तर ‘मैले आज्ञा गरेको सबै गर्न’ सिकाओ पनि भन्‍नुभयो। (मत्ती ७:२४, २५; एफिसी ३:१७-१९) यसैकारण त बप्तिस्मा लिन योग्य भएकाहरूले प्रायजसो केही महिना वा एक/दुई वर्ष बाइबल अध्ययन गरिसकेका हुन्छन्‌। यसरी समय लगाएर अध्ययन गरिसकेको हुँदा तिनीहरूको निर्णय हतारपतारमा र सबै कुरा राम्ररी नबुझिकनै गरिएको हुँदैन। बप्तिस्माको बेला दुइटा महत्त्वपूर्ण प्रश्‍न सोधिंदा तिनीहरूले त्यसको सकारात्मक जवाफ दिन्छन्‌। हाम्रो ‘हो भने, हो’ र ‘होइन भने, होइन’ हुनुपर्छ भनेर येशूले जोड दिनुभएको थियो। त्यसैले बप्तिस्माको बेला सोधिने यी दुई प्रश्‍नको महत्त्वलाई हामी सबैले ध्यान दिएर विचार गर्नु बेस हुनेछ।—मत्ती ५:३७.

पश्‍चात्ताप र समर्पण

५. बप्तिस्माको बेला सोधिने पहिलो प्रश्‍नले कुन दुइटा महत्त्वपूर्ण कदमलाई जोड दिन्छ?

बप्तिस्माको बेला सोधिने पहिलो प्रश्‍न यस्तो हुन्छ: के बप्तिस्मा लिन तयार व्यक्‍तिले आफ्नो पुरानो जीवनशैलीका तौरतरिकाहरू प्रायश्‍चित गरेर यहोवाको इच्छाअनुसार गर्न उहाँलाई आफ्नो जीवन समर्पण गरेको छ? यस प्रश्‍नले बप्तिस्मा लिनुअघि चाल्नुपर्ने दुइटा महत्त्वपूर्ण कदमलाई जोड दिन्छ। ती हुन्‌: पश्‍चात्ताप र समर्पण।

६, ७. (क) बप्तिस्मा लिन योग्य ठहरिएका सबैले पश्‍चात्ताप गर्नु किन आवश्‍यक छ? (ख) पश्‍चात्ताप गरेपछि कस्ता परिवर्तनहरू गर्नुपर्छ?

बप्तिस्मा लिनुअघि किन पश्‍चात्ताप गर्नै पर्छ? यस प्रश्‍नको जवाफ प्रेरित पावल यसरी दिन्छन्‌: “हामी पनि हाम्रो शरीर र मनको इच्छा पूरा गरेर आफ्नै शरीरको लालसामा एकपल्ट बसेका थियौं।” (एफिसी २:३) परमेश्‍वरको इच्छा के हो, त्यसबारे सही ज्ञान पाउनुअघि हामी संसारको तौरतरिका, मूल्यमान्यता र स्तरअनुसार जीवन बिताउँथ्यौं। हाम्रो जीवनशैली यस संसारको देव शैतानकै नियन्त्रणमा थियो। (२ कोरिन्थी ४:४) तर अब परमेश्‍वरको इच्छा बुझिसकेपछि भने “मानिसको अभिलाषामा होइन, तर परमेश्‍वरको इच्छा” गर्न हामी कटिबद्ध छौं।—१ पत्रुस ४:२.

यसरी परमेश्‍वरको इच्छाअनुसार जीवन बिताउँदा लाभै-लाभ हुन्छ। सबैभन्दा मुख्य कुरा त, यहोवासित अनमोल सम्बन्ध गाँस्ने बाटो खुल्छ। यसलाई दाऊदले परमेश्‍वरको “बासस्थान” र “पवित्र डाँडामा” प्रवेश गर्ने निम्तोसित तुलना गरे। यो साँच्चै ठूलो सम्मानको कुरा हो। (भजन १५:१) त्यसैकारण त यहोवा जसलाई पायो त्यसलाई निम्तो दिनुहुन्‍न। “जसको चाल निर्दोष छ, र जसले ठीक-ठीक काम गर्छ, र हृदयबाट सत्य बोल्छ” त्यस्ता व्यक्‍तिहरूलाई मात्र उहाँले निम्तो दिनुहुनेछ। (भजन १५:२, NRV) परमेश्‍वरको वचनको सच्चाइ सिक्नुअघि हाम्रो परिस्थिति बेग्लाबेग्लै थियो होला। त्यसकारण भजनको उक्‍त पदले भनेअनुसार चल्न हामीले आफ्नो आचरण र व्यक्‍तित्वमा केही न केही परिवर्तन गर्नै पर्ने हुन सक्छ। (१ कोरिन्थी ६:९-११; कलस्सी ३:५-१०) यस्तो परिवर्तन गर्न झकझकाउने मुख्य कुरा पश्‍चात्ताप हो। पश्‍चात्ताप भनेको आफ्नो पुरानो जीवनशैलीप्रति गहिरो पछुतो गर्नु र अब उप्रान्त यहोवा परमेश्‍वरलाई खुसी पार्ने दृढ संकल्प गर्नु हो। यस्तो पश्‍चात्तापले स्वार्थी र संसारअनुसारको जीवनशैली चटक्क त्यागेर परमेश्‍वरलाई मनपर्ने ढङ्‌गमा जीवन बिताउन मदत गर्छ।—प्रेरित ३:१९.

८. हामी कसरी समर्पण गर्छौं अनि बप्तिस्मासित यसको कस्तो सम्बन्ध छ?

बप्तिस्माको बेला सोधिने पहिलो प्रश्‍नको दोस्रो भाग यस्तो हुन्छ: के बप्तिस्मा लिन तयार व्यक्‍तिले यहोवाको इच्छा गर्न आफ्नो जीवन उहाँलाई समर्पण गरेको छ? समर्पण भनेको बप्तिस्मा लिनुअघि चाल्नुपर्ने अत्यावश्‍यक कदम हो। प्रार्थना गरेर समर्पण गरिन्छ। समर्पण गर्न प्रार्थना गर्दा ख्रीष्टमार्फत यहोवालाई आफ्नो जीवन अर्पण गर्ने उत्कट इच्छा व्यक्‍त गरिरहेका हुन्छौं। (रोमी १४:७, ८; २ कोरिन्थी ५:१५) हामीले आफ्नो जीवन यहोवालाई समर्पण गरेपछि उहाँ हाम्रो मालिक र स्वामी बन्‍नुहुन्छ अनि परमेश्‍वरको इच्छाबमोजिम गर्न हामी पनि येशूजस्तै प्रसन्‍न हुन्छौं। (भजन ४०:८; एफिसी ६:६) यहोवालाई आफ्नो जीवन समर्पण गर्ने यस्तो गम्भीर वाचा एक चोटि मात्र गरिन्छ। समर्पण भनेको परमेश्‍वर र तपाईंबीच मात्र हुने कुरा हो। त्यसैले, बप्तिस्मा लिने बेला सोधिने प्रश्‍नको जवाफ सबै मानिसको अगाडि दिंदा स्वर्गमा हुनुहुने पितालाई तपाईंले गर्नुभएको गम्भीर समर्पण सबैले थाह पाउनेछन्‌।—रोमी १०:१०.

९, १०. (क) परमेश्‍वरको इच्छाअनुसार जीवन बिताउन के-के गर्नुपर्छ? (ख) नाजी अफिसरहरूले समेत साक्षीहरूको समर्पणलाई कसरी मानिलिए?

येशूको उदाहरण पछ्याउँदै परमेश्‍वरको इच्छाअनुसार जीवन बिताउन के-के गर्नुपर्छ? येशूले आफ्ना चेलाहरूलाई यसो भन्‍नुभयो: “कोही मेरोपछि आउने इच्छा गर्दछ भने उसले आफूलाई इन्कार गरोस्‌ र आफ्नो क्रूस [“शासनाको खम्बा,” NW] उठाएर मेरोपछि लागोस्‌।” (मत्ती १६:२४) यस पदमा हामीले नगरी नहुने तीनवटा कुरा येशूले औंल्याउनुभयो। पहिलो, हामी आफूलाई “इन्कार” गर्छौं। अर्को शब्दमा भन्‍ने हो भने, हामी आफ्नो स्वार्थी, असिद्ध झुकावलाई तिरस्कार गर्छौं अनि परमेश्‍वरको सल्लाह र निर्देशन स्वीकार्छौं। दोस्रो, ‘आफ्नो शासनाको खम्बा उठाउँछौं।’ येशूको समयमा शासनाको खम्बाले लाज र दुःखकष्टलाई सङ्‌केत गर्थ्यो। हामी मसीहीहरू भएकोले सुसमाचारको खातिर दुःख भोग्न तयार हुन्छौं। (२ तिमोथी १:८) संसारले हामीलाई गिल्ला वा आलोचना गर्न सक्छ। तर ख्रीष्टजस्तै हामी पनि “शर्मलाई घिन” गर्छौं किनभने यसरी दुःख सहँदा परमेश्‍वरलाई खुसी तुल्याइरहेका हुन्छौं भनी जानेर रमाउँछौं। (हिब्रू १२:२) तेस्रो हो, हामी येशूको पछि ‘लागिरहन्छौं।’—भजन ७३:२६; ११९:४४; १४५:२.

१० रोचक कुरा के छ भने, परमेश्‍वरको मात्र सेवा गर्छौं भनेर यहोवाका साक्षीहरूले गरेको समर्पणलाई केही विरोधीहरूले समेत मानिलिएका छन्‌। उदाहरणका लागि, नाजी जर्मनीको बुखेनवाल्ड यातना शिविरमा आफ्नो विश्‍वास त्याग्न इन्कार गर्ने साक्षीहरूले यस्तो लेखिएको कागजमा हस्ताक्षर गर्नुपरेको थियो: “म अझै पनि एक समर्पित बाइबल स्टुडेन्ट हुँ र यहोवालाई दिएको वचन कहिल्यै तोड्‌नेछैनँ।” यसले यहोवाका समर्पित तथा वफादार सेवकहरूको मनोवृत्ति प्रस्ट पार्छ!—प्रेरित ५:३२.

यहोवाको साक्षी भनेर चिनाउने

११. बप्तिस्मा लिएपछि उसले कस्तो सुअवसर पाउँछ?

११ बप्तिस्मा लिन योग्य ठहरिएको व्यक्‍तिलाई सोधिने दोस्रो प्रश्‍न यस्तो हुन्छ: के बप्तिस्मा लिन तयार व्यक्‍तिले बप्तिस्मापछि ऊ यहोवाको साक्षी भनेर चिनिनेछ भन्‍ने कुरा बुझेको छ? बप्तिस्मा लिएपछि ऊ यहोवाको नाउँ वहन गर्ने नियुक्‍त सेवक बन्छ। यो एउटा ठूलो सुअवसरका साथै गहन जिम्मेवारी पनि हो। यहोवाप्रति वफादार रहिरहेको खण्डमा उसले अनन्त उद्धारको आशा राख्न सक्छन्‌।—मत्ती २४:१३.

१२. यहोवाको नाउँ वहन गर्ने सम्मान सँगसँगै कस्तो दायित्व पनि आइपर्छ?

१२ सर्वशक्‍तिमान्‌ परमेश्‍वर यहोवाको नाउँ वहन गर्न पाउनु चानचुने कुरा होइन। यो त ठूलो सम्मानको कुरा हो। अगमवक्‍ता मीकाले भनेका थिए: “सबै जातिका मानिसहरू चाहिं ता आफ्नो आफ्नो देवताको नाउँमा हिंडछन्‌, तर हामी चाहिं सदा सर्वदै परमप्रभु आफ्ना परमेश्‍वरको नाउँमा हिंड्‌नेछौं।” (मीका ४:५) यस सम्मान सँगसँगै हाम्रो काँधमा एउटा दायित्व पनि आइपर्छ। हामीले वहन गर्ने नाउँको आदर हुने गरी जीवन बिताउने प्रयास गर्नै पर्छ। पावलले रोमका मसीहीहरूलाई सम्झाएझैं परमेश्‍वरको अनादर हुने गरी चल्यौं भने उहाँको नाउँ “निन्दित” हुन्छ अर्थात्‌ बदनाम हुन्छ।—रोमी २:२१-२४.

१३. यहोवाका समर्पित सेवकहरूले उहाँबारे साक्षी दिने जिम्मेवारी पाउनुको कारण के हो?

१३ यहोवाको साक्षी बनेपछि उसले परमेश्‍वरबारे अरूलाई साक्षी दिने जिम्मेवारी पनि स्वीकार्छ। आफ्नो अनन्त शक्‍ति र ईश्‍वरीय स्वभाव पुष्टि गर्न यहोवाले समर्पित राष्ट्र इस्राएललाई उहाँको साक्षी बन्‍ने निम्तो दिनुभयो। (यशैया ४३:१०-१२, २१) तर इस्राएलीहरूले त्यो जिम्मेवारी पूरा गर्न सकेनन्‌। अनि पछि गएर तिनीहरूले यहोवाको अनुमोदन पूरै गुमाए। आज यहोवाको नाउँबारे अरूलाई साक्षी दिन पाएकोमा साँचो मसीहीहरू गर्व गर्छन्‌। हामी यस्तो गर्व गर्छौं किनभने हामी यहोवालाई प्रेम गर्छौं अनि उहाँको नाउँ पवित्र होस्‌ भन्‍ने तीव्र इच्छा गर्छौं। स्वर्गमा हुनुहुने हाम्रो पिता र उहाँको उद्देश्‍यबारे थाह पाइसकेपछि पनि हामी कसरी पो चुप लागेर बस्न सक्छौं र? हामी पनि प्रेरित पावलजस्तै महसुस गर्छौं जसले भनेका थिए: “मलाई करै लागेको छ, किनकि सुसमाचार सुनाइनँ भनेता मलाई धिक्कार छ।”—१ कोरिन्थी ९:१६.

१४, १५. (क) हाम्रो आध्यात्मिक प्रगतिमा यहोवाको संगठनको कस्तो भूमिका छ? (ख) हामीलाई आध्यात्मिक तवरमा मदत गर्न कस्ता प्रबन्धहरू गरिएका छन्‌?

१४ बप्तिस्माको बेला सोधिने दोस्रो प्रश्‍नले यहोवाको आत्मा-निर्देशित संगठन सँगसँगै मिलेर काम गर्नुपर्ने जिम्मेवारीबारे पनि सम्झाउँछ। हामी एकलकाँटे भएर यहोवाको सेवा गर्न सक्दैनौं। हामीलाई सारा “भाइ-बन्धुहरू[को]” मदत, सहयोग र प्रोत्साहन चाहिन्छ। (१ पत्रुस २:१७; १ कोरिन्थी १२:१२, १३) हाम्रो आध्यात्मिक प्रगतिमा परमेश्‍वरको संगठनको ठूलो भूमिका छ। संगठनले बाइबल आधारित प्रकाशनहरू प्रचुर मात्रामा प्रबन्ध गर्छ। यी प्रकाशनहरूले हाम्रो सही ज्ञान बढाउँदै लैजान, समस्याहरू आइपर्दा बुद्धिमानीपूर्वक चल्न अनि परमेश्‍वरसित अझ घनिष्ठ हुन मदत गर्छ। आफ्नो सन्तानको राम्रोसँग पालनपोषण गर्न एउटी आमा तल्लीन भएझैं “विश्‍वासी र बुद्धिमान दास[ले]” पनि हामीलाई आध्यात्मिकतामा अघि बढाउन समय सुहाउँदो आध्यात्मिक भोजन प्रशस्त मात्रामा उपलब्ध गराउँछ।—मत्ती २४:४५-४७; १ थिस्सलोनिकी २:७, ८.

१५ हरेक हप्ता हुने यहोवाका साक्षीहरूका सभाहरूले उहाँको जनलाई विश्‍वासी रहिरहन आवश्‍यक प्रशिक्षण र प्रोत्साहन दिन्छ। (हिब्रू १०:२४, २५) ईश्‍वरतान्त्रिक सेवकाई स्कूलले हामीलाई मानिसहरूको अगाडि बोल्न सिकाउँछ। सेवा सभाले चाहिं प्रभावकारी ढङ्‌गमा राज्यको सन्देश सुनाउन प्रशिक्षण दिन्छ। सभाहरू धायौं र बाइबल आधारित प्रकाशनहरूको व्यक्‍तिगत अध्ययन गऱ्‍यौं भने यहोवाले आफ्नो संगठनलाई पवित्र आत्माद्वारा डोऱ्‍याइरहनुभएको छ भनेर बुझ्न सक्छौं। नियमित रूपमा हुने यस्ता प्रबन्धहरूद्वारा यहोवा हामीलाई खतराहरूबारे सजग गराउनुहुन्छ, प्रभावकारी सेवकहरू बन्‍न प्रशिक्षण दिनुहुन्छ अनि आध्यात्मिक तवरमा जागा रहन मदत गर्नुहुन्छ।—भजन १९:७, ८, ११; १ थिस्सलोनिकी ५:६, ११; १ तिमोथी ४:१३.

बप्तिस्मा लिन उत्प्रेरित हुनुको कारण

१६. हामीले आफ्नो जीवन यहोवालाई समर्पण गर्न उत्प्रेरित हुनुको कारण के हो?

१६ बप्तिस्माको बेला सोधिने दुइटा प्रश्‍नले पानीको बप्तिस्माको महत्त्व अनि बप्तिस्मा सँगसँगै आउने जिम्मेवारीबारे सम्झाउँछ। त्यसोभए, बप्तिस्मा लिने निर्णय गर्नुको पछाडि कस्तो कारण हुनुपर्छ? कसैले जबरजस्ती गरेकोले होइन तर यहोवाले नै ‘खिच्नुभएकोले’ बप्तिस्मा लिएर हामी ख्रीष्टका चेला बन्छौं। (यूहन्‍ना ६:४४) “परमेश्‍वर प्रेम हुनुहुन्छ।” त्यसकारण प्रेमले ओतप्रोत भएर आज्ञा पालन गरेको यहोवा चाहनुहुन्छ, करकापले होइन। (१ यूहन्‍ना ४:८) यहोवाका राम्रा गुणहरू अनि हामीसित व्यवहार गर्नुहुने उहाँको तौरतरिकाले गर्दा हामी उहाँतिर खिचिन्छौं। यहोवाले आफ्नो एक मात्र पुत्र हाम्रो लागि दिनुभयो अनि हामीलाई उज्ज्वल भविष्य दिने प्रतिज्ञा पनि गर्नुभएको छ। (यूहन्‍ना ३:१६) यिनै कारणले गर्दा हामी आफ्नो जीवन उहाँलाई समर्पण अर्थात्‌ अर्पण गर्न उत्प्रेरित हुन्छौं।—हितोपदेश ३:९; २ कोरिन्थी ५:१४, १५.

१७. हामीले केका लागि समर्पण गरेका होइनौं?

१७ हामीले आफ्नो जीवन कुनै उद्देश्‍य वा कामको लागि नभई यहोवालाई नै अर्पण गरेका हौं। परमेश्‍वरले आफ्ना सेवकहरूलाई अह्राउनुहुने काम फरक-फरक हुन सक्छ। तर उहाँप्रति हाम्रो समर्पण कहिल्यै परिवर्तन हुँदैन। उदाहरणका लागि, उहाँले अब्राहामलाई अह्राउनुभएको काम र यर्मियालाई अह्राउनुभएको काम एकदमै फरक थियो। (उत्पत्ति १३:१७, १८; यर्मिया १:६, ७) तैपनि, तिनीहरू दुवैले परमेश्‍वरले जे काम अह्राउनुभएको थियो, त्यही गरे किनभने तिनीहरू यहोवालाई प्रेम गर्थे अनि विश्‍वासी भई उहाँको इच्छा गर्न चाहन्थे। यस अन्तको समयमा ख्रीष्टका सबै बप्तिस्माप्राप्त चेलाहरू परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्ने अनि चेला बनाउने ख्रीष्टको आज्ञा पालन गर्न सक्दो गर्छन्‌। (मत्ती २४:१४; २८:१९, २०) तनमनले प्रचारकार्यमा भाग लिनु भनेको स्वर्गमा हुनुहुने हाम्रो पितालाई साँच्चै प्रेम गर्छौं अनि उहाँप्रति साँच्चै समर्पित छौं भनेर देखाउने राम्रो तरिका हो।—१ यूहन्‍ना ५:३.

१८, १९. (क) बप्तिस्मा लिंदा सबैको अगाडि हामीले के भनिरहेका हुन्छौं? (ख) यसपछिको लेखमा कुन-कुन कुरा छलफल गरिनेछ?

१८ बप्तिस्मा लिएपछि थुप्रै आशिष्‌ वर्षिन्छ भन्‍ने कुरामा शङ्‌का नगरे हुन्छ तर बप्तिस्मालाई कदापि हल्कासित लिनुहुँदैन। (लूका १४:२६-३३) बप्तिस्मा लिंदा अरू सबै जिम्मेवारीभन्दा यसलाई महत्त्वपूर्ण ठानेका छौं भन्‍ने संकल्प देखिन्छ। (लूका ९:६२) बप्तिस्मा लिंदा वास्तवमा सबैको अगाडि हामीले यसो भनिरहेका हुन्छौं: “यही परमेश्‍वर सदा सर्वदा हाम्रा परमेश्‍वर हुनुहुन्छ। मृत्युसम्मै उहाँ हाम्रा अगुवा हुनुहुनेछ।”—भजन ४८:१४.

१९ बप्तिस्माबारे उठ्‌न सक्ने अरू प्रश्‍नहरू अर्को लेखमा छलफल गरिनेछ। कुनै व्यक्‍ति बप्तिस्मा लिनदेखि पछि हट्‌नुको के कुनै जायज कारण हुन सक्छ? के बप्तिस्मा लिने उमेर तोकिएको छ? बप्तिस्मा लिने समयलाई कसरी सबैले मर्यादित बनाउन सक्छन्‌? (w06 4/1)

के तपाईं बुझाउन सक्नुहुन्छ?

• बप्तिस्मा लिनुअघि किन सबै मसीहीहरूले पश्‍चात्ताप गर्नुपर्छ?

• परमेश्‍वरलाई समर्पण गर्नुमा कुन-कुन कुरा समावेश छ?

• यहोवाको नाउँ वहन गर्ने सम्मान सँगसँगै कस्तो जिम्मेवारी पनि आइपर्छ?

• बप्तिस्मा लिन हामी उत्प्रेरित हुनुको कारण के हो?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ २२-मा भएको पेटी/चित्र]

बप्तिस्माको बेला सोधिने दुइटा प्रश्‍न

येशू ख्रीष्टको बलिदानको आधारमा के तपाईंले आफ्नो पापको प्रायश्‍चित गरेर उहाँको इच्छा गर्न आफूलाई यहोवामा समर्पण गर्नुभएको छ?

तपाईंको समर्पण र बप्तिस्माले तपाईंलाई परमेश्‍वरको आत्मा-निर्देशित संगठनको एक जना यहोवाको साक्षीको रूपमा चिनाउँछ भन्‍ने कुरा बुझ्नुभएको छ?

[पृष्ठ २३-मा भएको चित्र]

समर्पण भनेको प्रार्थनामा यहोवासित बाँधिने गम्भीर वाचा हो

[पृष्ठ २५-मा भएको चित्र]

परमेश्‍वरलाई हामीले गरेको समर्पण प्रचारकार्यबाट देखिन्छ