सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

झूटो उपासनादेखि अलग हुनुहोस्‌

झूटो उपासनादेखि अलग हुनुहोस्‌

झूटो उपासनादेखि अलग हुनुहोस्‌

“ ‘तिनीहरूका बीचबाट निस्केर आओ, र तिमीहरू अलग होओ।’ परमप्रभु भन्‍नुहुन्छ, ‘औ अशुद्ध कुरो नछोओ।’ ”—२ कोरिन्थी ६:१७.

१. सफा मन भएका धेरैलाई कुन कुरा थाह छैन?

 सफा मन भएका धेरैलाई साँचो परमेश्‍वर को हुनुहुन्छ र भविष्यमा मानिसलाई के हुने हो, केही थाह छैन। यस्तो गहिरो कुरा जान्‍न मनमा जति नै छटपटी भए पनि के गर्नु, उनीहरू अन्योलमा छन्‌ र वास्तविक कुरा अलिकति पनि थाह छैन। वास्तविक कुरा थाह नभएकोले नै करोडौं मानिस हाम्रो सृष्टिकर्तालाई दुःखी बनाउने अन्धविश्‍वास, नचाहिंदो रीतिथिति र चाडपर्व मनाउँछन्‌ र बेकारमा दुःख पाउँछन्‌। सायद तपाईंको छिमेकी र नातेदार पनि नरककुण्ड, त्रिएक परमेश्‍वर, अमर आत्मा अथवा यस्तै-यस्तै अरू झूटो शिक्षामा विश्‍वास गर्छन्‌ होला।

२. धर्मगुरुहरूले के गरेका छन्‌ र परिणाम कस्तो भएको छ?

के कारण मानिसहरूलाई साँचो परमेश्‍वरबारे केही थाह नभएको? धर्मले गर्दा! यसो भन्दा तपाईं जिब्रो टोक्नुहोला तर साँचो कुरा यही नै हो। खासमा, धार्मिक संगठन र धर्मगुरुहरूले परमेश्‍वरको विचारसित मिल्दै नमिल्ने कुरा सिकाएकोले यस्तो स्थिति आइलागेको हो। (मर्कूस ७:७, ८) त्यसैको परिणाम आज मानिसहरू साँचो परमेश्‍वरको उपासना गरिरहेको छु भन्‍ने भ्रममा छन्‌ तर कुरा नलुकाई भन्‍नुपर्दा उनीहरूले परमेश्‍वरको मन दुखाउने काम गरिरहेका छन्‌। त्यसकारण यस्तो दुःखलाग्दो स्थिति आइलाग्नुको मुख्य दोष झूटो धर्ममाथि खन्याउनु मिल्छ।

३. झूटो धर्मलाई मलजल गर्ने प्रमुख व्यक्‍ति को हो र त्यसको विषयमा बाइबल के भन्छ?

झूटो धर्म मौलाउनुको पछाडि एउटा अदृश्‍य व्यक्‍तिको हात छ। त्यही व्यक्‍तिलाई सङ्‌केत गर्दै प्रेरित पावलले भने: “जसमा ख्रीष्ट, जो परमेश्‍वरको रूप हुनुहुन्छ, उहाँको महिमाको सुसमाचार तिनीहरूमाथि नचम्कोस्‌ भनेर यस संसारको देवले अविश्‍वासीहरूको समझशक्‍तिलाई अन्धा तुल्याइदिएको छ।” (२ कोरिन्थी ४:४) “यस संसारको देव” अरू कोही नभई शैतान अर्थात्‌ दियाबल हो। झूटो धर्मलाई मलजल गर्ने प्रमुख व्यक्‍ति पनि त्यही शैतान हो। पावलले लेखे: “शैतान पनि आफैलाई ज्योतिर्मय स्वर्गदूतहरूको भेषमा परिवर्तन गर्दछ। त्यसका सेवकहरूले पनि आफैलाई धर्मका सेवकहरूको भेषमा परिवर्तन गर्दछन्‌ भने, यो केही ठूलो कुरो होइन।” (२ कोरिन्थी ११:१४, १५) नराम्रो कुरालाई राम्रो देखाउन शैतान खप्पीस छ र छल गरेर मानिसहरूलाई झूटो कुरा पत्याउन लगाउँछ।

४. परमेश्‍वरको व्यवस्थाले प्राचीन इस्राएललाई झूटा अगमवक्‍ताहरूबारे के भनेको थियो?

त्यसैकारण त बाइबलले कडा शब्दमा झूटो धर्मको निन्दा गर्छ। उदाहरणको लागि, परमेश्‍वरले छान्‍नुभएका मानिसहरूलाई झूटा अगमवक्‍ताहरूदेखि होसियार रहन मोशाको व्यवस्थाले किटेरै खबरदारी गरेको थियो। झूटो शिक्षा सिकाउने र झूटा देवीदेवताको पूजाआजा गर्न लगाउने जोसुकैलाई यहोवाको ‘विद्रोह गरेकोमा मार्नुपर्थ्यो।’ इस्राएलीहरूलाई यस्तो आदेश दिइएको थियो: “आफ्नो बीचबाट . . . खराबी निकालिदिनू।” (व्यवस्था १३:१-५) हो, झूटो धर्मलाई यहोवा खराबी ठान्‍नुहुन्छ।—इजकिएल १३:३.

५. आज हामीले कस्ता चेतावनीहरूमा ध्यान दिनु जरुरी छ?

यहोवालाई झूटो धर्म घिन लाग्छ भन्‍ने कुरा येशू ख्रीष्ट र उहाँका प्रेरितहरूको कामले पनि देखायो। येशूले आफ्ना चेलाहरूलाई यसो भनेर सतर्क गराउनुभयो: “झूटा अगमवक्‍ताहरूदेखि होशियार रह, जो तिमीहरूकहाँ भेडाका भेषमा आउँछन्‌, तर भित्रपट्टि चाहिं लुटाहा ब्वाँसाहरू जस्ता हुन्छन्‌।” (मत्ती ७:१५; मर्कूस १३:२२, २३) पावलले पनि यस्तो लेखे: “सत्यतालाई अधर्ममा दबाइराख्ने मानिसहरूका सारा भक्‍तिहीनता र अधर्मको विरूद्धमा स्वर्गबाट परमेश्‍वरको क्रोध प्रकट भएको छ।” (रोमी १:१८) त्यसकारण साँचो मसीहीहरूले यी चेतावनी पालन गर्नु र परमेश्‍वरको वचनको सत्य दबाइराख्ने अथवा झूटो शिक्षा फैलाउने व्यक्‍तिहरूदेखि आफूलाई अलग राख्नु नितान्त जरुरी छ।—१ यूहन्‍ना ४:१.

‘महान्‌ बेबिलोनबाट’ निस्केर आऊ

६. बाइबलमा ‘महान्‌ बेबिलोनलाई’ कसरी चित्रण गरिएको छ?

बाइबलको प्रकाशको पुस्तकमा झूटो धर्मबारे के भनिएको छ, विचार गर्नुहोस्‌। यसलाई थुप्रै राज्य अनि त्यसका मानिसहरूमाथि शासन गर्ने मात्तिएकी वेश्‍याको रूपमा चित्रण गरिएको छ। यस लाक्षणिक स्त्रीले थुप्रै राजासित व्यभिचार गर्छे र परमेश्‍वरका साँचो उपासकहरूको रगत पिएर मात्तिएकी छे। (प्रकाश १७:१, २, ६, १८) त्यसको निधारमा आफ्नो अश्‍लील र घिनलाग्दो आचरणसित ठ्याक्क सुहाउने यस्तो नाउँ लेखिएको छ: “पृथ्वीका वेश्‍याहरू र घृणित कुराहरूकी आमा, ‘महान्‌ बेबिलोन!’ ”—प्रकाश १७:५.

७, ८. झूटो धर्मले कसरी आफूलाई वेश्‍या बनाएको छ र त्यसको परिणाम कस्तो भएको छ?

बाइबलमा महान्‌ बेबिलोनबारे जे-जस्तो वर्णन गरिएको छ, त्यो विवरण संसारका सबै झूटो धर्मलाई ट्‌वाक्क सुहाउँछ। हुन त हो, धर्महरू हजारौं किसिमका छन्‌ र यसो हेर्दा यिनीहरू एउटै संगठनजस्तो देखिंदैन तर यिनीहरूको उद्देश्‍य र कामबीचको सम्बन्ध भने नङमासुको जस्तो छ। प्रकाशको पुस्तकमा वेश्‍या स्त्रीसित दाँजिएको झूटो धर्मले सांसारिक सरकारहरूमाथि भयङ्‌कर प्रभाव पारेको छ। आफ्नो विवाह वाचा अनुरूप जीवन नबिताउने स्त्रीजस्तै झूटो धर्मले पनि एकपछि अर्को राजनीतिक शक्‍तिहरूसित साठगाँठ गरेर आफूलाई वेश्‍या बनाएको छ। चेला याकूबले लेखे: “हे व्यभिचारी हो, संसारसँगको मित्रता परमेश्‍वरसँगको दुश्‍मनी हो भन्‍ने कुरा के तिमीहरूलाई थाह छैन? यसकारण जो संसारसँग मित्र हुन चाहन्छ त्यसले आफैलाई परमेश्‍वरको शत्रु बनाउँछ।”—याकूब ४:४.

झूटो धर्म र राजनीतिक शक्‍तिहरूबीचको यस्तो मिलेमतोले गर्दा मानिसहरू कष्टको जाँतोमा पिसिएका छन्‌। अफ्रिकी राजनीतिक विश्‍लेषक डा. ओनेना माङगुको भनाइअनुसार “विश्‍व इतिहास खोतल्यौं भने, धर्म र राजनीतिबीच मिलेमतो भएपछि कैयौं निर्दोष मानिसले बित्थामा ज्यान गुमाएको उदाहरण कति पाउँछौं कति!” हालसालै एउटा खबरपत्रिकामा यस्तो लेखिएको थियो: “हिजोआज जति पनि रक्‍तपातपूर्ण र भयानक भिडन्त हुन्छ, . . . ती सब धर्मकै नाममा हुने गर्छ।” धर्मले भड्‌काएको दङ्‌गामा करोडौं मानिस मरिसकेका छन्‌। महान्‌ बेबिलोनले परमेश्‍वरका साँचो सेवकहरूलाई सताएको मात्र होइन, मारेको पनि छ र लाक्षणिक अर्थमा तिनीहरूको रगत पिएर मात्तिएको छ।—प्रकाश १८:२४.

९. यहोवालाई झूटो उपासना घिन लाग्छ भन्‍ने कुरा प्रकाशको पुस्तकमा कसरी वर्णन गरिएको छ?

महान्‌ बेबिलोनको दुर्गतिबारे बाइबलमा जे भनिएको छ, त्यसबाट यहोवालाई झूटो उपासना घिन लाग्छ भन्‍ने कुरा छर्लङ्‌ग हुन्छ। प्रकाश १७:१६ भन्छ: “तिमीले देखेका ती दश सीङ र त्यस जानवरले त्यस वेश्‍यासँग दुश्‍मनी गर्नेछन्‌, र त्यसलाई उजाड र नाङ्‌गो पार्नेछन्‌। औ त्यसको मासु खानेछन्‌, र त्यसलाई आगोमा भस्म पारिदिनेछन्‌।” सबैभन्दा पहिला, त्यस डरलाग्दो जनावरले वेश्‍यालाई लुछाचुँड गरेर मार्नेछ र त्यसको मासु खानेछ। अनि जे-जति बाँकी रहन्छ त्यसलाई चाहिं आगोमा भस्म पारिनेछ। अब छिट्टै संसारका सरकारहरूले झूटो धर्म विरुद्ध यस्तै कदम चाल्नेछन्‌। परमेश्‍वरले नै यस्तो हुन दिनुहुनेछ। (प्रकाश १७:१७) झूटो धर्मको विश्‍व साम्रज्य महान्‌ बेबिलोन सर्वनाश हुनै लागेको छ! त्यो “फेरि कहिल्यै पाइनेछैन।”—प्रकाश १८:२१.

१०. झूटो धर्मलाई हामीले कस्तो ठान्‍नुपर्छ?

१० साँचो परमेश्‍वरका उपासकहरूले महान्‌ बेबिलोनलाई कस्तो ठान्‍नुपर्छ? बाइबलमा यस्तो स्पष्ट आग्रह गरिएको छ: “हे मेरा मानिस हो, त्यसबाट निस्केर आओ। त्यसका पापसँग तिमीहरूको केही संगत हुन नपाओस्‌। त्यसका विपत्तिहरू तिमीहरूले भोग्न नपरोस्‌।” (प्रकाश १८:४) बच्न चाहनेहरू समय छँदै झूटो धर्मबाट तुरुन्त निस्किहाल्नुपर्छ। आखिरी दिनमा धेरैले मेरो पछि लागेको दाबी गर्नेछन्‌ भनेर पृथ्वीमा छँदा येशू ख्रीष्टले भन्‍नुभएको थियो। (मत्ती २४:३-५) यस्ता व्यक्‍तिहरूलाई येशू भन्‍नुहुन्छ: “मैले तिमीहरूलाई कहिले चिनेकै छैनँ। ए अधम काम गर्ने हो, मबाट दूर होओ।” (मत्ती ७:२३) अहिले स्वर्गमा राजा भइसक्नुभएका येशू ख्रीष्टलाई पनि झूटो धर्मको नाउँ सुन्‍नासाथ घिन लागेर आउँछ।

झूटो उपासनादेखि अलग हुने—कसरी?

११. झूटो उपासनादेखि अलग रहन के गर्नुपर्छ?

११ झूटा धार्मिक शिक्षाहरूलाई तिरस्कार गरेर साँचो मसीहीहरू झूटो उपासनादेखि अलग रहन्छन्‌। भन्‍नुको मतलब के भने, परमेश्‍वर र उहाँको वचन बाइबलबारे झूटो कुरा फैलाउने कार्यक्रम हामी रेडियोमा सुन्दैनौं र टेलिभिजनमा हेर्दैनौं। साथै, धार्मिक पत्रपत्रिका र पुस्तक-पुस्तिकामा पनि यस्तो कुरा पढ्‌दैनौं। (भजन ११९:३७) झूटो धर्मसित सम्बन्धित संगठनले प्रायोजन गरेको सामाजिक जमघट र मनोरञ्जनका कार्यक्रमहरूमा पनि भाग नलिएकै जाती। यसबाहेक हामी कुनै पनि तरिकामा झूटो उपासनालाई समर्थन गर्दैनौं। (१ कोरिन्थी १०:२१) यस्ता कुरादेखि अलग बस्यौं भने “ख्रीष्टअनुसारको होइन, तर मानिसहरूको कुलाचार, संसारको अनुसारका तत्त्वज्ञान, र फोस्रो छलले . . . शिकार” बनाउन खोज्ने व्यक्‍तिको फन्दामा पर्नदेखि जोगिनेछौं।”—कलस्सी २:८.

१२. झूटो धार्मिक संगठनसितको सम्बन्ध कसरी तोड्‌न सकिन्छ?

१२ यहोवाको साक्षी बन्‍न चाहने व्यक्‍तिले अझै पनि झूटो धार्मिक संगठनबाट आफ्नो नाउँ हटाएको छैन भने नि? साधारणतया, यस्तो व्यक्‍तिले राजीनामा पत्र बुझाउन सक्छन्‌ किनभने यसो गर्दा तिनी अबदेखि त्यस झूटो धर्मको सदस्य हुन नचाहेको कुरा प्रस्ट हुन्छ। यस्तो व्यक्‍तिले विशेष गरी झूटो धर्मसित सम्बन्धित हरेक कुराबाट आफूलाई निष्कलङ्‌क राख्न निर्णायक कदम चाल्नै पर्छ। यहोवाको साक्षी बन्‍न चाहने व्यक्‍तिले चाल्ने कदमबाट झूटो धर्मसित अब तिनको कुनै सम्बन्ध छैन भनेर तिनको पहिलेको धार्मिक संगठन र अरू मानिसहरूले स्पष्टसँग थाह पाउनुपर्छ।

१३. झूटो उपासनादेखि अलग रहने विषयमा बाइबल कस्तो सल्लाह दिन्छ?

१३ प्रेरित पावलले लेखे: “विश्‍वास नगर्नेहरूसँग समान भएर एउटै हलोमा नजोतियौ, किनकि धर्म र अधर्मको के संसर्ग हुन्छ? कि अँध्यारोसित उज्यालोको के संगति? औ ख्रीष्टको शैतानसित के सहमत? कि विश्‍वास गर्नेको विश्‍वास नगर्नेसित के हिस्सा? औ मूर्तिहरूसित परमेश्‍वरको मन्दिरको के सम्बन्ध? . . . यसकारण, ‘तिनीहरूका बीचबाट निस्केर आओ, र तिमीहरू अलग होओ।’ परमप्रभु भन्‍नुहुन्छ, ‘औ अशुद्ध कुरो नछोओ।’ ” (२ कोरिन्थी ६:१४-१७) झूटो उपासनादेखि अलग रहेर हामी यो आदेश पालन गर्छौं। के पावलको भनाइको मतलब हामी पनि झूटा देवीदेवताको पूजाआजा गर्ने मानिसहरूदेखि अलग रहनुपर्छ भनेको हो?

“बुद्धिमानीसाथ चल”

१४. के झूटा देवीदेवताको पूजाआजा गर्ने मानिसहरूलाई भेट्‌नै हुँदैन, उनीहरूसित बोल्नै हुँदैन? व्याख्या गर्नुहोस्‌।

१४ के साँचो परमेश्‍वरका उपासकहरूले झूटा देवीदेवताको पूजाआजा गर्ने मानिसहरूलाई भेट्‌नै हुँदैन, उनीहरूसित बोल्नै हुँदैन? आफ्नो जस्तै विश्‍वास नभएका मानिसहरूलाई वास्तै गर्नु हुँदैन? त्यसो भन्‍न खोजेको होइन। किनभने येशूले भन्‍नुभएको दोस्रो सबैभन्दा ठूलो आज्ञामा यसो भनिएको छ: “तैंले आफ्ना छिमेकीलाई आफैलाई जस्तै प्रेम गर्नू।” (मत्ती २२:३९) आफ्ना छिमेकीहरूलाई राज्यको सुसमाचार सुनाउँदा हामी उनीहरूलाई प्रेम गरिरहेका हुन्छौं। उनीहरूसित बाइबल अध्ययन गर्दा र उनीहरूलाई झूटो उपासनादेखि अलग रहनुको महत्त्व बुझाउँदा पनि हाम्रो प्रेम प्रकट हुन्छ।

१५. ‘यस संसारको भाग नहुनुको’ अर्थ के हो?

१५ छिमेकीहरूलाई प्रचार गरे पनि येशूका अनुयायीहरू भएकाले हामी ‘यस संसारका भाग होइनौ।’ (यूहन्‍ना १५:१९) यहाँ प्रयोग भएको “संसार” शब्दले परमेश्‍वरबाट तर्किएको मानव समाजलाई बुझाउँछ। (एफिसी ४:१७-१९; १ यूहन्‍ना ५:१९) यहोवालाई मन नपर्ने मनोवृत्ति, बोलीवचन र आचरण हामी त्याग्छौं। यस अर्थमा हामी संसारबाट अलग रहन्छौं। (१ यूहन्‍ना २:१५-१७) यसबाहेक, “खराब संगतले भला चाल-चलनलाई बिगार्दछ” भन्‍ने सिद्धान्त मनमा राख्दै मसीही स्तर अनुरूप नचल्नेहरूसित बढी नै घनिष्ठ हुँदैनौं। (१ कोरिन्थी १५:३३) यस संसारको भाग नहुनु भनेको “आफूलाई दुनियाँबाट निष्कलङ्‌क राख्नु” हो। (याकूब १:२७) त्यसकारण, यस संसारबाट अलग हुनुको अर्थ अरू मानिसहरूलाई भेट्‌नै हुँदैन, उनीहरूसित बोल्नै हुँदैन भनेको होइन।—यूहन्‍ना १७:१५, १६; १ कोरिन्थी ५:९, १०.

१६, १७. बाइबल सच्चाइ थाह नभएका मानिसहरूसित मसीहीहरूले कस्तो व्यवहार गर्नुपर्छ?

१६ उसोभए, बाइबल सच्चाइ थाह नभएका मानिसहरूसित कस्तो व्यवहार गर्ने? कलस्सीको मण्डलीलाई लेखेको पत्रमा पावलले भनेका थिए: “समयको अवसर विचार गरेर बाहिर रहेकाहरूतर्फ पनि बुद्धिमानीसाथ चल। हरेकलाई कसरी जवाफ दिनुपर्छ, सो जान्‍नालाई तिमीहरूको वचन नूनले स्वादिलो पारेको जस्तै अनुग्रहसहितको होस्‌।” (कलस्सी ४:५, ६) प्रेरित पत्रुसले पनि यस्तो लेखे: “ख्रीष्टलाई प्रभु मानेर तिम्रो हृदयमा उहाँको श्रद्धा गर। तिमीहरूमा भएका आशाको विषय कसैले सोधपूछ गरे त्यसको जवाफ दिन सधैं तत्पर बस, तर त्यो काम नम्रता र श्रद्धासाथ गर।” (१ पत्रुस ३:१५, NRV) पावलले मसीहीहरूलाई “कसैको बदनाम नगर्नू, कल्याहा नहुनू, सबै मानिसलाई नम्र चाल देखाएर विनयी हुनू” भन्‍ने सल्लाह दिए।—तीतस ३:२.

१७ हामी यहोवाका साक्षीहरू भएकाले अरूसित रूखो व्यवहार गर्दैनौं अथवा अरूलाई हेप्दैनौं। अरू धर्मका मानिसहरूको इज्जतमा दाग लाग्ने शब्द प्रयोग गर्दैनौं। बरु घरधनी, छिमेकी अथवा सँगै काम गर्ने व्यक्‍तिले नराम्रो व्यवहार गरे पनि वा गाली नै गरे तापनि हामी होस पुऱ्‍याएर कुरा गर्छौं।—कलस्सी ४:६; २ तिमोथी २:२४.

“पक्का कुराहरूको नमुना पक्रीराख”

१८. फेरि झूटो उपासनामै फर्किने व्यक्‍तिको आध्यात्मिक अवस्था कति दयनीय हुनेछ?

१८ कुनै व्यक्‍ति बाइबल सच्चाइ सिकिसकेपछि पनि फेरि झूटो उपासनामै फर्क्यो भने कत्ति दुःखलाग्दो हुनेछ! यसो गर्दा हुने दयनीय अवस्थाबारे बाइबल यसो भन्छ: “हाम्रा प्रभु र मुक्‍तिदाता येशू ख्रीष्टलाई चिन्‍ने ज्ञानद्वारा यस संसारको अशुद्धपनाबाट उम्केपछि तिनीहरू फेरि तिनैमा अल्झिएर पराजित हुन्छन्‌ भनेता तिनीहरूका निम्ति पछाडिको अवस्था अगाडिको भन्दा झन्‌ खराब हुन्छ। . . . यो सत्य उखानअनुसारै तिनीहरूलाई यो भएको छ, ‘कुकुर आफ्नै बान्तामा फर्की आउँछ, र नुहाइदिएको भुनी हिलैमा लडबडी खेल्छ।’ ”—२ पत्रुस २:२०-२२.

१९. हाम्रो आध्यात्मिकतालाई खतरामा पार्ने सब कुरादेखि होसियार बस्नै पर्छ, किन?

१९ हाम्रो आध्यात्मिकतालाई खतरामा पार्ने सब कुरादेखि होसियार बस्नै पर्छ। खतरालाई कहिल्यै हल्कासित लिनु हुँदैन। प्रेरित पावल यस्तो चेतावनी दिन्छन्‌: “पवित्र आत्मा प्रष्टै भन्‍नुहुन्छ, कि पछि आउने समयमा बहकाउने आत्मा र भूतात्माहरूका सिद्धान्ततिर मन लाएर कोही-कोही विश्‍वासबाट पतित हुनेछन्‌।” (१ तिमोथी ४:१) हामी त्यही “पछि आउने समयमा” बाँचिरहेका छौं। झूटो धर्मबाट अलग नरहनेहरू “भ्रमको धूर्त कारवाहीहरूअनुसार छलमा मानिसहरूको धूर्तताले सिद्धान्तको प्रत्येक बतासबाट ओल्ट्याङ-पल्ट्याङ पारिएर यताउता हुर्रिने[छन्‌]।”—एफिसी ४:१३, १४.

२०. हामी कसरी झूटो धर्मको हानिकारक प्रभावबाट बच्न सक्छौं?

२० हामी कसरी झूटो धर्मको हानिकारक प्रभावबाट बच्न सक्छौं? हाम्रो लागि यहोवाले गर्नुभएका सबै प्रबन्ध विचार गर्नुहोस्‌। हामीसित परमेश्‍वरको वचन बाइबल छ। (२ तिमोथी ३:१६, १७) यहोवाले “विश्‍वासी र बुद्धिमान दास[मार्फत]” हाम्रोसामु आध्यात्मिक भोजन छेलोखेलो पस्किदिनुभएको छ। (मत्ती २४:४५) सच्चाइमा प्रगति गर्दै गएपछि, के हामीले परिपक्व अर्थात्‌ ‘पूरा बढेका मानिसहरूले खाने खँदिलो खानेकुराप्रतिको’ रुचि र आध्यात्मिक कुरा सिक्न एकसाथ भेला हुने इच्छा पनि बढाउनुपर्दैन र? (हिब्रू ५:१३, १४; भजन २६:८) यहोवाले जे-जस्तो प्रबन्ध मिलाउनुभएको छ ती सबको भरपूर लाभ उठाउने अठोट गरौं। यसो गऱ्‍यौं भने, “जे सुनेका छौं, ती पक्का कुराहरूको नमुना” पक्रिराख्न सक्नेछौं। (२ तिमोथी १:१३) यसरी हामी झूटो उपासनादेखि अलग रहन सक्छौं। (w06 3/15)

के सिक्नुभयो?

• “महान्‌ बेबिलोन” के हो?

• झूटो धर्मदेखि अलग रहन हामीले के गर्नै पर्छ?

• हाम्रो आध्यात्मिकतालाई खतरामा पार्ने कस्ता कुरादेखि होसियार बस्नै पर्छ?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ १४-मा भएको चित्र]

‘महान्‌ बेबिलोनलाई’ वेश्‍या स्त्रीको रूपमा चित्रण गर्नुको कारण थाह छ?

[पृष्ठ १५-मा भएको चित्र]

“महान्‌ बेबिलोन” सर्वनाश हुनै लागेको छ!

[पृष्ठ १७-मा भएको चित्र]

हाम्रो जस्तै विश्‍वास नभएकाहरूप्रति हामी “नम्रता र श्रद्धा” देखाउँछौं