सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तिमीहरूका हातहरू बलिया होऊन्‌

तिमीहरूका हातहरू बलिया होऊन्‌

तिमीहरूका हातहरू बलिया होऊन्‌

“अगमवक्‍ताहरूका मुखबाट तिमीहरू जसले यी दिनसम्म यी कुरा सुन्दै आएको छौ, तिमीहरूका हातहरू बलिया होऊन्‌।”—जकरिया ८:९.

१, २. हाग्गै र जकरियाको पुस्तकलाई हामीले किन ध्यान दिनुपर्छ?

 हाग्गै र जकरियाका भविष्यवाणीहरू लगभग २,५०० वर्षअघि लेखिएका थिए। तर ती भविष्यवाणीले तपाईंलाई पनि प्रत्यक्ष असर गर्छ। हाग्गै र जकरियाको पुस्तकमा पाइने बाइबल विवरणहरू इतिहास मात्र होइनन्‌। यी त ‘हाम्रो शिक्षाको निम्ति अघि नै लेखिएको कुराका’ भाग हुन्‌। (रोमी १५:४) यी पुस्तकहरूमा भएका प्रायजसो विवरणले सन्‌ १९१४ मा प्रभुको दिन सुरु भएदेखि यताको वास्तविक अवस्थाबारे हामीलाई सोच्न लगाउँछ।

धेरै पहिला परमेश्‍वरका जनहरूले अनुभव गरेका घटना तथा परिस्थितिलाई सङ्‌केत गर्दै प्रेरित पावलले यसो भने: “यी कुराहरू तिनीहरूलाई उदाहरणको रूपमा भएथे, र हाम्रो चेतावनीको निम्ति लेखिएका हुन्‌, जसमाथि पुस्ताहरूको अन्त हुनलागेको छ।” (१ कोरिन्थी १०:११) त्यसकारण, तपाईं सोच्नुहोला: ‘हाग्गै र जकरियाको पुस्तक हाम्रो समयको लागि किन महत्त्वपूर्ण छ?’

३. हाग्गै र जकरियाले कुन कुरामा ध्यान दिए?

अघिल्लो लेखमा छलफल गरेअनुसार, हाग्गै र जकरियाको भविष्यवाणीले यहूदीहरू बाबेलको कैदबाट मुक्‍त भएर मन्दिर पुनर्निर्माण गर्न परमेश्‍वरले दिनुभएको भूमिमा फर्केको समयबारे बताउँछ। ती दुवै अगमवक्‍ताले मन्दिरको पुनर्निर्माण कार्यलाई ध्यान दिए। ईसापूर्व ५३६ मा यहूदीहरूले मन्दिरको जग हाले। केही बूढापाकाले बितेका कुरालाई ध्यान दिए तापनि प्रायजसो भने “आनन्दले चर्को गरी” कराए। वास्तवमा भन्‍ने हो भने, हाम्रो समयमा त्योभन्दा अझ महत्त्वपूर्ण कुरा भएको छ। त्यो के हो?—एज्रा ३:३-१३.

४. पहिलो विश्‍वयुद्ध सकिए लगत्तै के भयो?

पहिलो विश्‍वयुद्ध सकिए लगत्तै यहोवाका अभिषिक्‍त जनहरू महान्‌ बेबिलोनको कैदबाट मुक्‍त भए। त्यसरी मुक्‍त हुनु तिनीहरूले यहोवाको समर्थन पाएको ठूलो सङ्‌केत थियो। त्योभन्दा अघि, धार्मिक नेता तथा तिनीहरूका राजनैतिक साझेदारहरूले बाइबल स्टुडेन्ट्‌सको प्रचार गर्ने तथा सिकाउने काम पूरै रोकिदिए जस्तो देखिन्थ्यो। (एज्रा ४:८, १३, २१-२४) तर राज्य प्रचार तथा चेला बनाउने काममा खडा भएको अवरोधलाई यहोवाले पन्छाइदिनुभयो। सन्‌ १९१९ देखि यता परमेश्‍वरको राज्यको काम फस्टाएको छ। साथै, प्रचार गर्ने तथा चेला बनाउने कामलाई अघि बढ्‌नदेखि कुनै कुराले रोक्न सकेको छैन।

५, ६. जकरिया ४:७ ले कस्तो महान्‌ पूर्तिलाई सङ्‌केत गर्छ?

यहोवाको मदत पाएर उहाँका आज्ञाकारी सेवकहरू अहिले पनि प्रचार गर्ने तथा सिकाउने काममा लागिरहनेछन्‌ भनेर हामी पनि पक्का हुन सक्छौं। जकरिया ४:७ मा यस्तो लेखिएको पाउँछौं: “ ‘अनुग्रह, अनुग्रह होस्‌’ भन्दै जयजयकारको साथ यरूबाबेलले शिर ढुङ्‌गा ल्याउनेछ।” यसले हाम्रो समयमा हुने कुन महान्‌ सफलतालाई देखाउँछ?

जकरिया ४:७ ले सार्वभौम परमेश्‍वरको उपासना उहाँको आध्यात्मिक मन्दिरको पार्थिव चोकमा जुन रूपमा हुनुपर्ने हो, त्यही अवस्थामा पुग्ने समयलाई सङ्‌केत गर्छ। यहोवाको आध्यात्मिक मन्दिर भनेको येशू ख्रीष्टले चढाउनुभएको प्रायश्‍चितको बलिदानको आधारमा यहोवाको उपासना गर्ने प्रबन्ध हो। हुन त महान्‌ आध्यात्मिक मन्दिर इस्वी संवत्‌ प्रथम शताब्दीदेखि नै अस्तित्वमा थियो। तर यस मन्दिरको पार्थिव चोकमा साँचो उपासना जुन रूपमा हुनुपर्ने हो, त्यही अवस्थामा पुग्न बाँकी नै छ। यस आध्यात्मिक मन्दिरको पार्थिव चोकमा लाखौं उपासकले सेवा गर्दैछन्‌। येशू ख्रीष्टको हजार वर्षे शासनकालमा यिनीहरू लगायत पुनरुत्थान हुने अरू लाखौं व्यक्‍तिलाई सिद्ध अवस्थामा पुऱ्‍याइनेछ। हजार वर्षको अन्तमा, परमेश्‍वरका साँचो उपासकहरू मात्र सफा पारिएको यस पृथ्वीमा हुनेछन्‌।

७. आज हाम्रो समयमा साँचो उपासना जुन रूपमा हुनुपर्ने हो, त्यही अवस्थामा फर्काउन येशूको भूमिका कस्तो छ र यो हाम्रो लागि किन प्रोत्साहनको कुरा हो?

ईसापूर्व ५१५ मा मन्दिर निर्माणकार्य पूरा भएको बडाहाकिम यरूबाबेल र प्रधान पूजाहारी यहोशूले आफ्नै आँखाले देखे। जकरिया ६:१२, १३ मा साँचो उपासना जुन रूपमा हुनुपर्ने हो, त्यही अवस्थामा फर्काउन येशूले निर्वाह गर्नुहुने त्यस्तै भूमिकाबारे भविष्यवाणी गरिएको छ। त्यहाँ यस्तो लेखिएको छ: “सेनाहरूका परमप्रभु यसो भन्‍नुहुन्छ, हेर, यो मानिस जसको नाउँ हाँगा हो, त्यो आफ्नो ठाउँमा बढ्‌नेछ, र परमप्रभुको मन्दिर त्यसले बनाउनेछ। . . . र त्यसले राजकीय मान पाउनेछ, र आफ्नो सिंहासनमा विराजमान भएर राज्य गर्नेछ। एउटा पूजाहारी त्यसको सिंहासनको नजीक हुनेछ।” आध्यात्मिक मन्दिरमा गरिने परमेश्‍वरको राज्यसम्बन्धी कामको पछाडि दाऊदको शाही घरानाबाट निस्किएको हाँगा अर्थात्‌ स्वर्गमा बस्नुहुने येशू स्वयम्‌ हुनुभएकोले यस कामलाई अघि बढ्‌नदेखि कसले रोक्न सक्ला? कसैले सक्दैन! के यसले हामीलाई दैनिक जीवनका फिक्रीहरूमा नअलमलीकन सेवकाईमा अघि बढ्‌न प्रोत्साहन दिंदैन र?

प्राथमिकता

८. आध्यात्मिक मन्दिरको कामलाई हामीले आफ्नो जीवनमा किन पहिलो स्थान दिनै पर्छ?

यहोवाको मदत र आशिष्‌ पाउन आध्यात्मिक मन्दिरको कामलाई हामीले आफ्नो जीवनमा पहिलो स्थान दिनै पर्छ। “समय अझ आएको छैन” भन्‍ने यहूदीहरूजस्तो नभई, हामी बाँचिरहेको समय “आखिरी दिन” हो भनेर बिर्सनु हुँदैन। (हाग्गै १:२; २ तिमोथी ३:१) आफ्ना विश्‍वासी अनुयायीहरूले राज्यको सुसमाचार प्रचार गर्नेछन्‌ र चेला बनाउनेछन्‌ भनी येशूले भविष्यवाणी गर्नुभयो। हामीले सेवा गर्ने जुन सुअवसर पाएका छौं, त्यसलाई बेवास्ता नगर्न हामी होसियार हुनै पर्छ। संसारबाट आएको विरोधको कारण केही समय बन्द भएको प्रचार गर्ने तथा सिकाउने काम सन्‌ १९१९ देखि फेरि सुरु भयो तर अहिलेसम्म सिद्धिएको छैन। तर यो काम पक्कै सिद्धिनेछ भनेर तपाईं ढुक्क हुनुभए हुन्छ!

९, १०. यहोवाको आशिष्‌ कुन कुरामा निर्भर छ र यसले हाम्रो लागि कस्तो अर्थ राख्छ?

यस काममा हामी जति गम्भीरतापूर्वक लाग्छौं, त्यति नै सामूहिक र व्यक्‍तिगत रूपमा आशिष्‌ पाउनेछौं। हामीले ढाडस पाउन सक्ने यहोवाको प्रतिज्ञालाई विचार गर्नुहोस्‌। यहूदीहरूले फेरि तनमनले यहोवाको उपासना गर्न र गम्भीरतापूर्वक मन्दिरको जग हाल्न थालेपछि यहोवाले यस्तो प्रतिज्ञा गर्नुभयो: “आजको दिनदेखि म तिमीहरूलाई आशिष्‌ दिनेछु।” (हाग्गै २:१९) तिनीहरूले पूर्णतया उहाँको अनुग्रह पाउने थिए। अब परमेश्‍वरको प्रतिज्ञामा पाइने आशिष्‌लाई विचार गर्नुहोस्‌: “शान्ति र फलिफाप हुनेछन्‌, दाखको बोटले फल दिनेछ, भूमिले उब्जनी बढाउनेछ, र आकाशले शीत झार्नेछ। औ म आफ्नो बाँचेको प्रजालाई यी सबै कुराको अधिकारी तुल्याउनेछु।”—जकरिया ८:९-१३.

१० यहोवाले ती यहूदीहरूलाई आध्यात्मिक तथा भौतिक रूपमा आशिष्‌ दिनुभएझैं यहोवाले खटाउनुभएको काम लगनशील भई खुसीसाथ गर्दा उहाँले हामीलाई पनि आशिष्‌ दिनुहुनेछ। जस्तै—हामीबीच शान्ति हुनेछ, आध्यात्मिक तवरमा हामी सुरक्षित, सफल र संवृद्ध हुनेछौं। तर हामीले परमेश्‍वरको आशिष्‌ निरन्तर पाउने कि नपाउने भन्‍ने कुरा आध्यात्मिक मन्दिरमा यहोवाको इच्छाअनुसार काम गर्छौं कि गर्दैनौं, त्यसैमा भर पर्छ।

११. हामी कसरी आफूलाई केलाउन सक्छौं?

११ हामीले ‘आ-आफ्नो चाल विचार गर्ने’ समय अहिल्यै हो। (हाग्गै १:५, ७) जीवनमा कुन कुरालाई प्राथमिकता दिइरहेका छौं, त्यसबारे केलाउन हामीले समय निकाल्नुपर्छ। आज यहोवाको आशिष्‌ पाउने कि नपाउने भन्‍ने कुरा हामीले कुन हदसम्म उहाँको नाउँको महिमा गरिरहेका छौं र उहाँको आध्यात्मिक मन्दिरको काममा खटिरहेका छौं, त्यसैमा निर्भर हुन्छ। आफूलाई यस्ता प्रश्‍नहरू सोध्न सक्नुहुन्छ: ‘के मैले सही कुरालाई प्राथमिकता दिइरहेको छु? बप्तिस्मा लिंदा यहोवा, उहाँको सत्य र उहाँले दिनुभएको कामप्रति मेरो जुन जोस थियो, के अहिले पनि त्यस्तै छ? आरामदायी जीवन बिताउने इच्छाले गर्दा यहोवा र उहाँको राज्यप्रति मेरो ध्यान कतै कम पो भइरहेको छ कि? मानिसको डर अर्थात्‌ अरूले के भन्ला भन्‍ने सोचाइले गर्दा कतै म पछि हटिरहेको छु कि?’—प्रकाश २:२-४.

१२. हाग्गै १:६, ९ मा यहूदीहरूको कस्तो अवस्थाबारे बताइएको छ?

१२ यहोवाको नाउँ महिमित गर्ने कामलाई बेवास्ता गरेको कारण उहाँले हामीलाई प्रचुर आशिष्‌ दिन छोड्‌नुभएको हामी चाहँदैनौं। नबिर्सनुहोस्‌, जोसका साथ मन्दिर बनाउन सुरु गरेपछि आफ्नो मातृमूभि फर्केका यहूदीहरू “आफ्ना आफ्ना घर बनाउनलाई दगुरादगुर” गरे भनी हाग्गै १:९ बताउँछ। तिनीहरू आफ्नो दैनिक आवश्‍यकता पूरा गर्न र दिनचर्यामै व्यस्त भए। यसकारण, तिनीहरूले “थोरै मात्र कटनी” गर्न सके अर्थात्‌ तिनीहरूसित अघाउने गरी खाने-पिउने कुरा थिएन अनि न्यानो लुगाको पनि अभाव थियो। (हाग्गै १:६) हो, यहोवाले तिनीहरूलाई आशिष्‌ दिन छोड्‌नुभएको थियो। त्यस घटनाबाट आज हामी कस्तो पाठ सिक्न सक्छौं?

१३, १४. हाग्गै १:६, ९ बाट सिक्न सकिने पाठ हामी कसरी व्यवहारमा उतार्न सक्छौं र यसो गर्नु किन महत्त्वपूर्ण छ?

१३ यहोवाको आशिष्‌ पाइरहन चाहन्छौं भने, हामीले यहोवाको महिमा गर्न छोडेर आफ्नै सुखसुविधा मात्र खोज्ने झुकाव हटाउनै पर्छ। के तपाईं यस कुरामा सहमत हुनुहुन्‍न र? आध्यात्मिक कुरालाई महत्त्व नदिएर आफ्नै सुखसुविधा मात्र खोज्नुमा यस रीतिरिवाजमा धनको पछि लाग्नु, रातारात धनी बन्‍ने योजनाहरूमा भाग लिनु, उच्च शिक्षा हासिल गर्ने महत्त्वाकाङ्‌क्षी लक्ष्य राख्नु वा व्यक्‍तिगत इच्छा पूरा गर्न दौडधूप गर्नु समावेश छ।

१४ यस्ता कुरा आफैमा गलत नहोला। तैपनि अनन्त जीवनलाई विचार गर्ने हो भने यी सब “मरेका कामहरू” हुन्‌, होइन र? (हिब्रू ९:१४, NRV ) कुन अर्थमा? यी काम आध्यात्मिक अर्थमा मरेका, व्यर्थ र बेकार हुन्‌। कुनै व्यक्‍ति यस्तो काममा लागिरह्‍यो भने ऊ आध्यात्मिक तवरमा मरेसरह हुन्छ। प्रेरितहरूको समयका केही अभिषिक्‍त मसीही यस्तो अवस्थामा पुगेका थिए। (फिलिप्पी ३:१७-१९) आज हाम्रो समयमा पनि कोही-कोही यस्तै अवस्थामा पुगेका छन्‌। केही भाइबहिनी मसीही गतिविधि र मण्डलीबाट बिस्तारै-बिस्तारै टाढिएको तपाईंले पनि देख्नुभएको होला। त्यसरी टाढिएपछि तिनीहरू यहोवाको सेवामा फेरि फर्कने कुनै चासो देखाउँदैनन्‌। आशा छ, यस्ता व्यक्‍तिहरू यहोवाकहाँ फेरि फर्कनेछन्‌। तर सत्य कुरा के हो भने, “मरेका कामहरूको” पछि लाग्दा यहोवाको अनुमोदन र आशिष्‌ गुम्न सक्छ। यस्तो अवस्थामा पुग्नु निकै दुःखलाग्दो कुरा हो। परमेश्‍वरको आत्माले उत्पन्‍न गर्ने आनन्द र शान्ति गुम्न हुन सक्छ। अनि न्यानो मसीही भाइचाराको भाग हुन नपाउँदा कत्ति नमज्जा हुनेछ, कल्पना गर्नुहोस्‌ त!—गलाती १:६; ५:७, १३, २२-२४.

१५. यहोवाको उपासना गर्नु गम्भीर कुरा हो भनेर हाग्गै २:१४ ले कसरी देखाउँछ?

१५ यो निकै गम्भीर कुरा हो। साँच्चै होस्‌ वा लाक्षणिक अर्थमा, आफ्नो घरमा छाना हाल्न बढ्‌तै ध्यान दिने तर यहोवाको उपासना गरिने घरलाई चाहिं बेवास्ता गर्ने यहूदीहरूलाई यहोवाले कुन दृष्टिले हेर्नुभयो भनी बुझ्न हाग्गै २:१४ को विवरण ध्यान दिनुहोस्‌। “मेरो सामने यो प्रजा, यो जाति त्यस्तै छ भनी परमप्रभु भन्‍नुहुन्छ। यिनीहरूका हातको हरेक काम पनि त्यस्तै छ। तिनीहरूले त्यहाँ चढाएको कुरो जे पनि अशुद्धै छ।” जबसम्म मानिसहरूले साँचो उपासनालाई बेवास्ता गरे, आधा मनका ती यहूदीहरूले यरूशलेममा भएको अस्थायी वेदीमा देखावटी बलिदान जतिसुकै चढाए तापनि यहोवाले त्यो स्वीकार्नुभएन।—एज्रा ३:३.

परमेश्‍वरको समर्थन पाउने ग्यारेन्टी

१६. जकरियाले देखेको दर्शनअनुसार यहूदीहरू कुन कुरामा पक्का हुन सक्थे?

१६ जकरियाले एकपछि अर्को गर्दै देखेका आठवटा दर्शनले परमेश्‍वरको मन्दिरको पुनर्निर्माण गरिरहेका आज्ञाकारी यहूदीहरूलाई यहोवाले मदत गर्नुहुनेछ भन्‍ने आश्‍वासन दियो। पहिलो दर्शनले, आज्ञाकारी भई यहूदीहरूले आफूलाई सुम्पिएको काम दत्तचित्त भई पूरा गरेमा मन्दिरको निर्माणकार्य पूरा हुने र यरूशलेम अनि यहूदा संवृद्ध हुने ग्यारेन्टी दियो। (जकरिया १:८-१७) दोस्रो दर्शनमा साँचो उपासनाको विरोध गर्ने सबै सरकारको अन्त गर्ने प्रतिज्ञा गरिएको थियो। (जकरिया १:१८-२१) अरू दर्शनमा चाहिं निर्माणकार्यमा परमेश्‍वरले सुरक्षा दिनुहुने, यहोवाको उपासना गरिने मन्दिरमा थुप्रै राष्ट्रका मानिस ओइरिने, साँचो शान्ति-सुरक्षा दिइने, परमेश्‍वरले अह्राउनुभएको काममा आइपर्ने पहाडरूपी अवरोध हटाइने, दुष्टता नामेट गर्ने अनि स्वर्गदूतले निरीक्षण र सुरक्षा दिने आश्‍वासन दिइएको थियो। (जकरिया २:५, ११; ३:१०; ४:७; ५:६-११; ६:१-८) परमेश्‍वरले मदत गर्नुहुनेछ भन्‍ने यस्तो ग्यारेन्टी पाएकै कारण आज्ञाकारी मानिसहरूले आफ्नो जीवनशैली छाँटकाँट गर्नुका साथै परमेश्‍वरले जुन कामको लागि तिनीहरूलाई बाबेलबाट छुटाउनुभएको थियो त्यसै काममा ध्यान केन्द्रित गर्नुको कारण बुझ्न सक्छौं।

१७. हामीलाई दिइएको ग्यारेन्टीलाई विचार गर्दा आफैलाई कस्ता प्रश्‍नहरू सोध्नुपर्छ?

१७ त्यसै गरी, साँचो उपासनाको निश्‍चय विजय हुनेछ भन्‍ने ग्यारेन्टीले यहोवाको उपासनासम्बन्धी कामकुरामा लाग्न र उहाँको उपासना गरिने घरबारे गम्भीरतापूर्वक सोच्न हामीलाई उत्प्रेरित गर्नुपर्छ। आफैलाई यी प्रश्‍नहरू सोध्नुहोस्‌: परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्ने र चेला बनाउने समय अहिल्यै हो भनेर विश्‍वास गर्छु भने, के मेरो लक्ष्य र जीवनशैली मेरो दृढ विश्‍वाससित मेल खान्छ? परमेश्‍वरको भविष्यसूचक वचन अध्ययन गर्न, यसलाई मेरो चासोको विषय बनाउन अनि सँगी मसीहीहरू र क्षेत्रमा भेटिने मानिसहरूसित यसबारे छलफल गर्न के म पर्याप्त समय बिताउँछु?

१८. जकरिया अध्याय १४ अनुसार भविष्यमा के हुनेछ?

१८ जकरियाले महान्‌ बेबिलोनको विनाश अनि त्यसपछि हुने आरमागेडोनको युद्धबारे बताए। तिनले यस्तो लेखे: “त्यो नित्य दिन रहनेछ, (जो परमप्रभुले जान्‍नुहुन्छ)—नता दिन न रात, तर साँझमा पनि उज्यालै रहनेछ।” हो, पृथ्वीमा भएका यहोवाका शत्रुहरूको लागि उहाँको दिन साँच्चै अन्धकारमय र कठोर हुनेछ! तर यहोवाका विश्‍वासी उपासकहरूले भने, निरन्तर उज्यालो र आशिष्‌ पाइरहनेछन्‌। नयाँ संसारमा सबैले यहोवाको पवित्रताबारे घोषणा गर्नेछन्‌ भनेर पनि जकरियाले वर्णन गरे। परमेश्‍वरको महान्‌ आध्यात्मिक मन्दिरमा गरिने साँचो उपासना मात्र पृथ्वीमा बाँकी रहनेछ। (जकरिया १४:७, १६-१९) कस्तो भरपर्दो ग्यारेन्टी! भविष्यवाणी गरिएका कुरा पूरा भएको अनि यहोवाको सार्वभौमिकता उच्च पारिएको हामी देख्नेछौं। यहोवाको यो दिन विशेष दिन हुनेछ!

सदाको लागि यहोवाको अनुमोदन र आशिष्‌

१९, २०. तपाईंलाई जकरिया १४:८, ९ किन प्रोत्साहनदायी लाग्छ?

१९ विस्मयकारी ढङ्‌गमा यहोवाको सार्वभौमिकता उच्च पारिएपछि शैतान र त्यसका प्रेतहरू अगाध खाँदमा फालिनेछन्‌ र निष्क्रिय अवस्थामा रहनेछन्‌। (प्रकाश २०:१-३, ७) ख्रीष्टले एक हजार वर्षसम्म शासन गर्नुहुँदा आशिष्‌को वर्षा हुनेछ। जकरिया १४:८, ९ यसो भन्छ: “त्यस दिन यरूशलेमबाट जिउँदो पानी फूटेर निस्कनेछ, आधा चाहिं पूर्वको समुद्रतिर औ आधा चाहिं पश्‍चिमको समुद्रतिर बगी निस्कनेछ—हिउँद बर्खा नित्य बगिरहनेछ। तब परमप्रभु समस्त पृथ्वीका राजा हुनुहुनेछ। त्यस दिन एकमात्र परमप्रभु हुनुहुनेछ र उहाँकै एउटै नाउँ मात्र लिइनेछ।”

२० अनन्त जीवन दिने यहोवाको प्रबन्धलाई चित्रण गर्ने “जिउँदो पानी” वा “जीवनको नदी” मसीही राज्यको सिंहासन अर्थात्‌ “स्वर्गीय यरूशलेम[बाट]” निरन्तर बगिरहनेछ। (प्रकाश २२:१, २) आरमागेडोनबाट बचेका यहोवाका उपासकहरूको ठूलो भीडले आदमबाट पाएको मृत्युको सजायबाट छुटकारा पाउनेछन्‌। मरिसकेका मानिसहरूको समेत पुनरुत्थान हुनेछ। त्यसपछि यहोवाले पृथ्वीमाथि शासन गर्न थाल्नुहुनेछ। सारा ब्रह्‍माण्डको सार्वभौम परमेश्‍वर यहोवा नै हुनुहुन्छ र उहाँको मात्र उपासना गर्नुपर्छ भनेर पृथ्वीका सबै मानिसहरूले स्वीकार्नेछन्‌।

२१. हामीले कस्तो संकल्प गर्नुपर्छ?

२१ हाग्गै र जकरियाका सबै भविष्यवाणी र ती पूरा भएको कुरा विचार गर्दा, यहोवाको आध्यात्मिक मन्दिरको पार्थिव चोकमा उहाँले हामीलाई अह्राउनुभएको काम गरिरहने हामीसित ठोस कारण छ। साँचो उपासना जुन रूपमा हुनुपर्ने हो, त्यही अवस्थामा नपुगेसम्म हामी सबैले परमेश्‍वरको राज्य गतिविधिलाई प्रथम स्थान दिने प्रयास गरिरहौं। जकरिया ८:९ हामीलाई यस्तो आग्रह गर्छ: “अगमवक्‍ताहरूका मुखबाट तिमीहरू जसले यी दिनसम्म यी कुरा सुन्दै आएको छौ, तिमीहरूका हातहरू बलिया होऊन्‌।” (w06 4/15)

के तपाईंलाई याद छ?

• कुन मिल्दोजुल्दो विवरणले गर्दा हाग्गै र जकरियाको पुस्तक आज हाम्रो समय सुहाउँदो छ?

• प्राथमिकता दिने विषयमा हाग्गै र जकरियाबाट हामी कस्तो पाठ सिक्न सक्छौं?

• हाग्गै र जकरियाको भविष्यवाणीलाई विचार गर्दा हामी भविष्यबारे ढुक्क हुन सक्छौं, किन?

[प्रश्‍नहरू]

[पृष्ठ १४-मा भएको चित्र]

हाग्गै र जकरियाले यहूदीहरूलाई पूरा तनमनले काम गर्न अनि आशिष्‌ पाउन प्रोत्साहन दिए

[पृष्ठ १५-मा भएका चित्रहरू]

तपाईं ‘आफ्नो घर बनाउन दगुरिरहनुभएको छ’ कि?