सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“बगालको उदाहरण” बन्‍ने गोठालाहरू

“बगालको उदाहरण” बन्‍ने गोठालाहरू

बगालको उदाहरण” बन्‍ने गोठालाहरू

“तिमीहरूका जिम्मामा रहेको परमेश्‍वरको बगालको गोठालो होओ। . . . खुशीसाथ . . . तयारी मनले, . . . बगालको उदाहरण होओ।”—१ पत्रुस ५:२, ३.

१, २. (क) येशूले प्रेरित पत्रुसलाई कस्तो जिम्मेवारी दिनुभयो र येशूले तिनीमाथि गर्नुभएको भरोसा किन बेकार गएन? (ख) नियुक्‍त गोठालाहरूलाई यहोवा कस्तो ठान्‍नुहुन्छ?

 कुरा इस्वी संवत्‌ ३३ पेन्तिकोसभन्दा केही समयअघिको हो। पत्रुस र अरू छ जना चेलाले गालीलको समुद्र किनारमा येशूले तयार पार्नुभएको बिहानको खाजा खाइरहेका थिए। पुनरुत्थान हुनुभएको येशूलाई पत्रुसले पहिला पनि देखिसकेका थिए र येशू जीवितै हुनुभएकोमा तिनलाई साह्रै खुसी लागेको थियो। तर पत्रुसलाई कता-कता डर पनि लागिरहेको हुनुपर्छ किनभने केही दिनअघि मात्र तिनले सबैको अगाडि ‘म येशूलाई चिन्दै चिन्दिनँ’ भनेका थिए। (लूका २२:५५-६०; २४:३४; यूहन्‍ना १८:२५-२७; २१:१-१४) विश्‍वासको कमी देखाएकोमा पत्रुसले पश्‍चात्ताप गरेपछि पनि के येशूले तिनलाई हकार्नुभयो? अहँ, हकार्नुभएन। बरु, येशूले पत्रुसलाई उहाँका पाठाहरू चराउने र तिनीहरूको हेरचाह गर्ने जिम्मेवारी दिनुभयो। (यूहन्‍ना २१:१५-१७) येशूले पत्रुसमाथि गर्नुभएको भरोसा बेकार गएन भन्‍ने कुरा प्रथम शताब्दीको मसीही मण्डलीसित सम्बन्धित बाइबल विवरण साक्षी छ। अरू प्रेरित तथा यरूशलेमका बूढा प्रधानहरूसित मिलेर पत्रुसले अत्यन्तै अप्ठ्यारो परिस्थितिमा र जोडतोडका साथ प्रगति भएको बेला मसीही मण्डलीको हेरचाह गरिरहे।—प्रेरित १:१५-२६; २:१४; १५:६-९.

आज पनि यहोवाले येशू ख्रीष्टमार्फत योग्य पुरुषहरू नियुक्‍त गर्नुभएको छ। मानव इतिहासकै सबभन्दा डरलाग्दो यस समयमा आफ्नो भेडालाई आध्यात्मिक कुरामा डोऱ्‍याउन यहोवाले यिनै नियुक्‍त पुरुषहरू चलाउनुहुन्छ। (एफिसी ४:११, १२; २ तिमोथी ३:१) के यहोवाले यस्ता पुरुषहरूमाथि गर्नुभएको भरोसा बेकार भएको छ? संसारभरिका मसीही भाइबहिनीबीच जुन आत्मीय सम्बन्ध छ, त्यसलाई विचार गर्दा यसमा शङ्‌का गर्ने ठाउँ नै छैन। हुन त हो, पत्रुसजस्तै यी गोठालाहरू पनि चुक्न सक्छन्‌। (गलाती २:११-१४; याकूब ३:२) तर, “आफ्नै [पुत्रको] रगतले किन्‍नुभएको” भेडाको उनीहरूले राम्रोसँग हेरचाह गर्नेछन्‌ भनेर यहोवालाई पूर्ण विश्‍वास छ। (प्रेरित २०:२८) यी पुरुषहरूलाई यहोवा असाध्यै माया गर्नुहुन्छ र उनीहरूलाई “दोहोरो आदरका योग्य” ठान्‍नुहुन्छ।—१ तिमोथी ५:१७.

३. आध्यात्मिक कुरामा डोऱ्‍याउने गोठालाहरू यहोवाको काममा कसरी सदा इच्छुक र उत्सुक भइरहन सक्छन्‌?

आध्यात्मिक कुरामा डोऱ्‍याउने गोठालाहरू कसरी यहोवाको काममा सदा इच्छुक र उत्सुक भइरहन सक्छन्‌ अनि बगालको उदाहरण बन्‍न सक्छन्‌? पत्रुसलगायत प्रथम शताब्दीका अरू गोठालाजस्तै उनीहरू पनि यहोवाको पवित्र आत्मामा भर पर्छन्‌। यही पवित्र आत्माले उनीहरूलाई आफ्नो जिम्मेवारीको भार उठाउन बल दिन्छ। (२ कोरिन्थी ४:७) पवित्र आत्माले उनीहरूमा प्रेम, आनन्द, शान्ति, धीरज, दया, भलाइ, विश्‍वस्तता, नम्रता र संयमजस्ता आत्माको फल फलाउन पनि मदत गर्छ। (गलाती ५:२२, २३) आफ्नो जिम्मामा रहेको परमेश्‍वरका बगालको रेखदेख गर्दा गोठालाहरूले कुन-कुन तरिकामा आत्माका यी फलहरू फलाएर उदाहरण बसाल्न सक्छन्‌, विचार गरौं।

प्राचीनहरूले बगाल र प्रत्येक भेडालाई माया गर्नै पर्छ

४, ५. (क) यहोवा र येशू आफ्नो बगाललाई कसरी प्रेम देखाउनुहुन्छ? (ख) आध्यात्मिक कुरामा डोऱ्‍याउने गोठालाहरूले बगाललाई माया गर्ने केही तरिका के-के हुन्‌?

परमेश्‍वरको आत्माले फलाउने सबैभन्दा प्रमुख फल प्रेम हो। आफ्नो बगालको लागि प्रशस्त आध्यात्मिक भोजन उपलब्ध गराएर यहोवा प्रेम देखाउनुहुन्छ। (यशैया ६५:१३, १४; मत्ती २४:४५-४७) तर उहाँ आफ्नो बगाललाई खुवाउने मात्र गर्नुहुन्‍न, एक-एक भेडाको फिक्री पनि गर्नुहुन्छ। (१ पत्रुस ५:६, ७) येशू पनि आफ्नो बगाललाई माया गर्नुहुन्छ। बगालकै लागि भनेर उहाँले आफ्नो ज्यान दिनुभयो। यसबाहेक, हरेक भेडाको “नाउँ” उहाँलाई थाह छ।—यूहन्‍ना १०:३, १४-१६.

आध्यात्मिक कुरामा डोऱ्‍याउने गोठालाहरू यहोवा र येशूको देखासिकी गर्छन्‌। मण्डलीलाई ‘शिक्षा दिएर’ उनीहरू बगाललाई माया गर्छन्‌। उनीहरूले दिने बाइबल आधारित भाषण बगालको निम्ति भोजन हो र यसले भेडाहरूको रक्षा गर्छ। यस विषयमा गोठालाहरूले गर्ने कडा परिश्रम सबैले देख्छन्‌। (१ तिमोथी ४:१३, १६) तर त्यति नदेखिने कुरा पनि हुन्छ। जस्तै—मण्डलीका सभाहरू लगायत अरू कामकुरा “शिष्ट रूपले र नियमपूर्वक” गर्नका लागि मण्डलीका रेकर्डहरू ठीक-ठीक राख्न, पत्राचार गर्न, तालिका बनाउन र अरू थुप्रै कुरा हेरविचार गर्न उनीहरूले बिताउने समय। (१ कोरिन्थी १४:४०) गोठालाहरूले गर्ने धेरैजसो यस्ता काम मण्डलीका भाइबहिनीलाई थाहै हुँदैन। त्यसकारण गोठालाले आफ्नो कामअनुसारको प्रशंसा नपाउन पनि सक्छन्‌। तरैपनि, बगालको मायाले गर्दा गोठालाहरू खटेर काम गर्छन्‌।—गलाती ५:१३.

६, ७. (क) गोठालाहरूले भेडालाई राम्रोसँग चिन्‍ने एउटा तरिका के हो? (ख) आफ्नो मनको कुरा कहिलेकाहीं प्राचीनहरूलाई बताउनु राम्रो हुन्छ, किन?

मायालु मसीही गोठालाहरूले मण्डलीको प्रत्येक भेडालाई व्यक्‍तिगत रूपमा चासो देखाउने कोसिस गर्छन्‌। (फिलिप्पी २:४) गोठालाहरूले प्रत्येक भेडालाई राम्रोसँग चिन्‍ने एउटा तरिका, प्रचारकार्यमा उनीहरूसँगै काम गरेर हो। प्रचारमा जाँदा येशूले आफ्ना चेलाहरूलाई पनि प्रायजसो सँगै लाने गर्नुहुन्थ्यो। यसरी सँगसँगै काम गरेको बेला उहाँले चेलाहरूलाई प्रोत्साहन दिनुहुन्थ्यो। (लूका ८:१) एक जना अनुभवी मसीही गोठाला भन्छन्‌: “कुनै भाइ वा बहिनीलाई राम्रोसँग चिन्‍ने र प्रोत्साहन दिने सर्वोत्तम तरिका उनीहरूसित क्षेत्र सेवकाईमा सँगै काम गर्नु हो भनेर थाह पाएको छु।” हालै तपाईंले क्षेत्र सेवकाईमा प्राचीनसित काम गर्ने मौका पाउनुभएको छैन भने, यसो गर्ने योजना छिट्टै बनाउनुस्‌ न, हुन्‍न?

आफ्ना चेलाहरूको सुख-दुःखमा साथ दिन येशूलाई प्रेमले घचघच्यायो। उदाहरणको लागि, ७० जना चेला प्रचारबाट रमाउँदै फर्किंदा येशू पनि अत्यन्तै ‘रमाउनुभयो।’ (लूका १०:१७-२१) तर लाजरसको मृत्युले गर्दा मार्था र तिनको परिवारजन तथा साथीसंगी शोकाकुल भएको देखेपछि “येशू रुनुभयो।” (यूहन्‍ना ११:३३-३५) त्यसै गरी, अरूको हेरविचार गर्न गहिरो चासो दिने गोठालाहरू पनि भेडाको सुख-दुःख बुझ्ने कोसिस गर्छन्‌। भेडाको मायाले उनीहरूलाई “आनन्द गर्नेहरूसँग आनन्द” गर्न अनि “रुनेहरूसँग” रुन लगाउँछ। (रोमी १२:१५) जीवनमा कहिले सुख हुन्छ त कहिले दुःख। तपाईं जुनसुकै अवस्थामा हुनुभए तापनि आफ्नो मनको कुरा मसीही गोठालाहरूलाई बताउन अप्ठ्यारो नमान्‍नुहोस्‌। तपाईं आनन्दित हुनुहुन्छ भन्‍ने थाह पाएमा उनीहरू प्रोत्साहित हुनेछन्‌। (रोमी १:११, १२) तपाईं गाह्रो अवस्थामा हुनुहुन्छ भन्‍ने थाह पाएमा तपाईंलाई बलियो पार्न र सान्त्वना दिन उनीहरू अघि सर्नेछन्‌।—१ थिस्सलोनिकी १:६; ३:१-३.

८, ९. (क) एक जना प्राचीनले आफ्नी श्रीमतीलाई कसरी माया देखाए? (ख) गोठालाले आफ्नो परिवारलाई माया गर्नु कत्तिको महत्त्वपूर्ण छ?

गोठालाले आफ्नो बगाललाई गर्ने माया विशेष गरी तिनले आफ्नो परिवारसित गर्ने व्यवहारमा झल्कन्छ। (१ तिमोथी ३:१, ४) यदि गोठाला विवाहित हो भने, तिनले आफ्नी श्रीमतीलाई देखाउने माया र आदर अरू श्रीमान्‌हरूका लागि उदाहरण बन्‍नेछ। (एफिसी ५:२५; १ पत्रुस ३:७) यस विषयमा लिन्डा नाउँकी मसीही बहिनीले के भनिन्‌, विचार गर्नुहोस्‌। मृत्यु हुनुभन्दा अघि तिनका श्रीमान्‌ले २० वर्षभन्दा बढी निरीक्षकको रूपमा सेवा गरेका थिए। लिन्डा भन्छिन्‌: “मण्डलीको कामले गर्दा उहाँलाई कहिल्यै फुर्सद हुँदैनथ्यो। तैपनि उहाँको काममा मैले पनि सघाइरहेकी छु भनेर महसुस गराउनुहुन्थ्यो। उहाँलाई साथ दिएकोमा अक्सर मेरो प्रशंसा गर्नुहुन्थ्यो र फुर्सद हुँदा मसित समय बिताउने गर्नुहुन्थ्यो। उहाँको त्यस्तो बानीले गर्दा मलाई माया नपाएजस्तो कहिल्यै लागेन र उहाँ मण्डलीका जिम्मेवारीहरू सम्हाल्नमै व्यस्त रहनुहुँदासमेत म ठुस्केर बसिनँ।”

छोराछोरी भएका मसीही गोठालाले आफ्ना लालाबालालाई मायालुपूर्वक अनुशासन दिंदा र उनीहरूको सधैं प्रशंसा गर्दा अरू आमाबाबुले पनि त्यसै गर्न सिक्छन्‌। (एफिसी ६:४) हो, गोठालाले आफ्नो परिवारलाई माया गर्नुपर्छ किनभने यसो गर्दा पवित्र आत्माद्वारा नियुक्‍त भएको बेला तिनीमाथि गरिएको भरोसाअनुसारै तिनले जीवन बिताइरहेका छन्‌ भन्‍ने प्रमाणित हुन्छ।—१ तिमोथी ३:४, ५.

कुराकानी गरेर वातावरण आनन्दमय र शान्तिमय बनाउनुहोस्‌

१०. (क) के भएन भने मण्डलीको आनन्द र शान्ति खलबल हुन बेर लाग्दैन? (ख) कुन विवादले गर्दा प्रथम शताब्दीको मण्डलीको शान्ति झन्डै खलबल भएको थियो तर त्यो विवाद कसरी सुल्झाइयो?

१० पवित्र आत्माले प्रत्येक मसीहीको मनमा, प्राचीनहरूको निकायमा र पूरै मण्डलीमा आनन्द र शान्ति उत्पन्‍न गर्न सक्छ। तर खुलस्त कुराकानी भएन भने यो आनन्द र शान्ति खलबल हुन बेर लाग्दैन। राजा सुलेमानले भने: “परामर्श विनाको योजना विफल हुन्छ।” (हितोपदेश १५:२२) अर्कोतर्फ, आदरभावसाथ र मन खोलेर कुराकानी गर्दा वातावरण आनन्दमय र शान्तिमय हुन्छ। उदाहरणको लागि, खतनासम्बन्धी विवादले गर्दा प्रथम शताब्दीको मण्डलीको शान्ति खलबल होला-होला जस्तो हुँदा यरूशलेममा भएको परिचालक निकायले पवित्र आत्माको डोऱ्‍याइ खोज्यो। परिचालक निकायका भाइहरूले खतनाको विषयमा आ-आफ्नो विचार पनि व्यक्‍त गरे। निकै तर्क-वितर्क गरेपछि भाइहरूले एउटा निर्णय गरे। सर्वसम्मतीले पारित गरेको त्यो निर्णय मण्डलीहरूमा सुनाउँदा त्यहाँका भाइहरू त्यस प्रोत्साहनदायी कुराले “खुशी भए।” (प्रेरित १५:६-२३, २५, ३१; १६:४, ५) फलस्वरूप, मण्डलीहरूमा आनन्द र शान्ति छायो।

११. प्राचीनहरूले मण्डलीको वातावरण कसरी आनन्दमय र शान्तिमय बनाउन सक्छन्‌?

११ यसै गरी, आज गोठालाहरूले पनि आपसमा खुलस्त कुराकानी गरेर मण्डलीको वातावरण आनन्दमय र शान्तिमय बनाउँछन्‌। समस्याहरूले मण्डलीको शान्ति खलबलाउन खोज्दा उनीहरू एकसाथ भेला हुन्छन्‌ र आ-आफ्नो विचार खुलेर व्यक्‍त गर्छन्‌। उनीहरू आदरभावसाथ सँगी गोठालाको कुरा सुन्छन्‌। (हितोपदेश १३:१०; १८:१३) पवित्र आत्माको लागि प्रार्थना गरेपछि उनीहरू बाइबल सिद्धान्त तथा “विश्‍वासी र बुद्धिमान्‌ दास[ले]” दिएका निर्देशनहरूको आधारमा निर्णयहरू गर्छन्‌। (मत्ती २४:४५-४७; १ कोरिन्थी ४:६) कुनै एक प्राचीनको विचार अरू प्राचीनहरूलाई स्वीकार्य नहुन सक्छ। तैपनि, बाइबललाई आधार मानेर प्राचीनहरूको निकायले निर्णय गरिसकेपछि, सर्वसम्मतीले पारित गरेको निर्णयलाई समर्थन गरेर प्रत्येक प्राचीनले पवित्र आत्माको डोऱ्‍याइ स्वीकार्छन्‌। बहुमतले पारित गरेको यस्तो निर्णयलाई नम्र भई समर्थन गर्दा मण्डलीमा आनन्द र शान्ति छाउँछ। यसबाहेक, परमेश्‍वरसित कसरी हिंड्‌नुपर्ने हो, भेडाहरूका लागि पनि राम्रो उदाहरण कायम हुन्छ। (मीका ६:८) आफ्नो मण्डलीका गोठालाहरूले गरेका बाइबल आधारित निर्णयहरू के तपाईं नम्र भई स्वीकार्दै हुनुहुन्छ?

सहनशील र दयालु हुनुहोस्‌

१२. आफ्ना प्रेरितहरूसित व्यवहार गर्दा येशू सहनशील र दयालु हुनुपऱ्‍यो, किन?

१२ येशूका प्रेरितहरूले घरीघरी गल्ती गरे। तैपनि येशूले उनीहरूको गल्ती सहनुका साथै दयालु व्यवहार गर्नुभयो। उदाहरणको लागि, येशूले उनीहरूलाई नम्र हुनुको महत्त्व बारम्बार सम्झाउने कोसिस गर्नुभयो। (मत्ती १८:१-४; २०:२५-२७) तर येशूले पृथ्वीमा बिताउनुभएको अन्तिम रात के भयो? हो, येशूले प्रेरितहरूको खुट्टा धोएर उनीहरूलाई नम्रताको पाठ सिकाएको केही छिनमै “तिनीहरूमध्ये को सबैभन्दा ठूलो गनिएको छ भनी तिनीहरूका बीचमा वाद विवाद हुनलाग्यो।” (लूका २२:२४; यूहन्‍ना १३:१-५) प्रेरितहरूको त्यस्तो ताल देखेर के येशूले उनीहरूलाई गाली गर्नुभयो? अहँ, गर्नुभएन। बरु, उनीहरूसित दयालु ढङ्‌गमा तर्क गर्दै भन्‍नुभयो: “कुन चाहिं ठूलो हो? खानामा बस्ने कि सेवा गर्ने? के खानामा बस्ने चाहिं होइन? तर म तिमीहरूका बीचमा सेवा गर्ने जस्तो छु।” (लूका २२:२७) येशूको सहनशीलता, दया र असल उदाहरण देखेर अन्ततः प्रेरितहरूको मन पग्लियो।

१३, १४. कस्तो अवस्थामा गोठालाहरू विशेष गरी दयालु हुनुपर्छ?

१३ त्यसै गरी, आध्यात्मिक कुरामा डोऱ्‍याउने गोठालाले कुनै भाइ वा बहिनीलाई उसको कमीकमजोरीबारे बारम्बार सल्लाह दिनुपर्ला। त्यो भाइ वा बहिनीले गोठालालाई धुरुक्कै पार्न सक्छ। तर ‘बेकायदासँग चल्नेलाई सम्झाउनुअघि’ गोठालो काम गर्ने प्राचीनले ‘मेरो पनि त कमीकमजोरी छ’ भनेर मानिलिंदा तिनले आफ्नो भाइ वा बहिनीको कमीकमजोरी सहन र तिनीसित दयालु व्यवहार गर्न सक्नेछन्‌। यस प्रकार तिनी येशू र यहोवाको देखासिकी गर्छन्‌, जसले गोठालाहरू लगायत सबै मसीहीलाई यस्तो गुण देखाउनुहुन्छ।—१ थिस्सलोनिकी ५:१४; याकूब २:१३.

१४ कहिलेकाहीं गोठालाहरूले गम्भीर गल्ती गर्नेलाई कडा सल्लाह दिनुपर्ने हुन सक्छ। गल्ती गर्ने व्यक्‍तिले पश्‍चात्ताप गर्दैन भने गोठालाहरूले उसलाई मण्डलीबाट हटाउनै पर्छ। (१ कोरिन्थी ५:११-१३) तैपनि, गल्ती गर्ने व्यक्‍तिसित गोठालाहरूले जुन तरिकामा व्यवहार गर्छन्‌, त्यसबाट उनीहरूले पापलाई घृणा गरेका हुन्‌, पाप गर्ने व्यक्‍तिलाई होइन भन्‍ने कुरा स्पष्ट हुनुपर्छ। (यहूदा २३) गोठालाहरूले यसरी दयालु तरिकामा व्यवहार गर्दा तर्केर गएका भेडालाई अन्तमा आफ्नो बगालमा फर्किआउन सजिलो हुन सक्छ।—लूका १५:११-२४.

विश्‍वासले असल काम गर्न घचघच्याउँछ

१५. गोठालाहरूले यहोवाको भलाइको देखासिकी गर्न सक्ने एउटा तरिका के हो र यसो गर्न उनीहरूलाई कुन कुराले घचघच्याउँछ?

१५ “परमप्रभु सबैमाथि भलो हुनुहुन्छ,” त्यस्ता व्यक्‍तिहरूमाथि पनि जसले यहोवाले गर्नुभएको उपकारको वास्ता गर्दैन। (भजन १४५:९; मत्ती ५:४५) यहोवाले आफ्ना जनहरूलाई “राज्यको . . . सुसमाचार” प्रचार गर्न पठाउनु नै उहाँ सबैको भलाइ चाहनुहुन्छ भन्‍ने प्रमाण हो। (मत्ती २४:१४) प्रचारकार्यमा नेतृत्व लिएर गोठालाहरू परमेश्‍वरको भलाइको देखासिकी गर्छन्‌। मेहनत गरिरहन गोठालाहरूलाई कुन कुराले घचघच्याउँछ? यहोवा र उहाँले गर्नुभएका प्रतिज्ञाहरूमाथिको बलियो विश्‍वासले।—रोमी १०:१०, १३, १४.

१६. गोठालाहरूले भेडाप्रति कसरी “भलाइको काम” गर्न सक्छन्‌?

१६ प्रचार गरेर “सबै मानिसतर्फ . . . भलाइको काम” गर्नु त छँदैछ, यसबाहेक गोठालाहरूको थाप्लोमा “खास गरेर [आफ्नो] विश्‍वासका घरानातर्फ” भलाइको काम गर्ने जिम्मेवारी पनि छ। (गलाती ६:१०) उनीहरूले यसो गर्ने एउटा तरिका प्रोत्साहनदायी गोठालो भेट गरेर हो। एक जना प्राचीन भन्छन्‌, “गोठालो भेट गर्न मलाई रमाइलो लाग्छ। किनभने यस अवसरमा म भाइबहिनीलाई उहाँहरूले गर्नुभएको प्रयासको प्रशंसा गर्ने मौका पाउँछु र उहाँहरूले गर्ने कडा परिश्रमको कदर गर्छौं भन्‍ने महसुस गराउँछु।” कहिलेकाहीं गोठालाहरूले यहोवाको सेवा अझ राम्रोसँग गर्ने तरिकाहरू बताइदिन सक्छन्‌। यसो गर्दा उनीहरूले प्रेरित पावलको देखासिकी गर्नु राम्रो हुन्छ। तिनले थिस्सलोनिकीका भाइहरूलाई आग्रह गरेको तरिका विचार गर्नुहोस्‌: “हामी जे जे कुराको आज्ञा दिन्छौं, ती तिमीहरू गर्छौ, र गर्नेछौ भन्‍ने हामी प्रभुमा दृढ विश्‍वास राख्तछौं।” (२ थिस्सलोनिकी ३:४) यस किसिमको दृढ विश्‍वास व्यक्‍त गर्दा चोखो मनसायले यहोवाको सेवा गर्न भाइबहिनी अझ उत्साहित हुनेछन्‌ र “अगुवाहरूको आज्ञापालन” गर्न पनि उनीहरूलाई सजिलो हुनेछ। (हिब्रू १३:१७, NRV) कुनै दिन प्राचीनहरू तपाईंलाई प्रोत्साहन दिन आउनुभयो भने, त्यसको लागि किन मूल्याङ्‌कन व्यक्‍त नगर्ने?

नम्र हुन आत्मसंयम चाहिन्छ

१७. येशूबाट पत्रुसले कस्तो पाठ सिके?

१७ कसैले रीस उठाएको बेलासमेत येशू नम्र हुन सक्नुभयो। (मत्ती ११:२९) धोकेबाजको कारण गिरफ्तार हुँदा उहाँले नम्रता र ठूलो आत्मसंयम देखाउनुभयो। येशू गिरफ्तार हुँदा केही सोच्दै नसोची स्वाट्ट तरवार थुतेर प्रतिकार गर्न पत्रुस अघि बढेका थिए। तर येशूले पत्रुसलाई सम्झाउनुभयो: “तिमी के ठान्दछौ, के म आफ्ना पितालाई बिन्ती गर्नसक्‍तिनँ, र के उहाँले मलाई बाह्र पल्टनभन्दा बढी स्वर्गदूतहरू अहिले जुटाइदिनुहुन्‍न र?” (मत्ती २६:५१-५३; यूहन्‍ना १८:१०) येशूबाट पत्रुसले गहन पाठ सिके र पछि अरू मसीहीहरूलाई यसो भनेर सम्झना दिलाए: “तिमीहरूले उहाँको पाइलामा टेकेर हिंड्‌नलाई एक उदाहरण तिमीहरूलाई दिएर ख्रीष्टले पनि तिमीहरूका निम्ति दुःख भोग्नुभयो, . . . जसले गाली खाएर आफूले फेरि गाली गर्नुभएन। दुःख भोगेर धम्काउनुभएन।”—१ पत्रुस २:२१-२३.

१८, १९. (क) विशेष गरी कस्तो अवस्थामा गोठालाहरूले नम्रता र आत्मसंयम देखाउनै पर्छ? (ख) अर्को लेखले कुन प्रश्‍नहरूको जवाफ दिनेछ?

१८ त्यसै गरी, कसैले चित्त नबुझ्ने व्यवहार गर्दासमेत प्रभावकारी गोठालाहरूले नम्रता देखाउँछन्‌। उदाहरणको लागि, उनीहरूले मण्डलीमा जसलाई मदत गर्न खोजेका हुन्‌, तिनीहरूले मदत नस्वीकार्न सक्छन्‌। मदत चाहिएको व्यक्‍ति आध्यात्मिकतामा कमजोर वा बिमार छ भने त झन्‌ सल्लाह दिंदा उल्टै जथाभावी बोलेर ‘तरवारले झैं’ घोच्न सक्छ। (हितोपदेश १२:१८) तर येशूले जस्तै गोठालाहरूले पनि मन दुखाउने कुरा गरेर अनि रूखो व्यवहार गरेर बदला लिने कोसिस गर्दैनन्‌। बरु, उनीहरू आत्मसंयम देखाउँछन्‌ र भाइबहिनीप्रति गर्नुपर्ने उचित व्यवहार गरिरहन्छन्‌। यस्तो व्यवहार, मदत चाहिएको व्यक्‍तिको लागि आशिष्‌ साबित हुन सक्छ। (१ पत्रुस ३:८, ९) के तपाईं प्राचीनहरूको उदाहरणबाट सिकेर सल्लाह पाउँदा नम्रता र आत्मसंयम देखाउनुहुन्छ?

१९ संसारभरि रहेका भेडाहरूको खुसीसाथ हेरविचार गर्न हजारौं गोठालाले गर्ने कडा मेहनतको यहोवा र येशू औधी मूल्याङ्‌कन गर्नुहुन्छ। “पवित्र जनहरूको सेवा” गर्न प्राचीनहरूलाई सहयोग गर्ने हजारौं सेवकाई सेवकलाई पनि यहोवा अनि उहाँको पुत्र अत्यन्तै माया गर्नुहुन्छ। (हिब्रू ६:१०) उसोभए, बप्तिस्मा लिइसकेका केही भाइहरू यस्तो ‘असल कामको’ लागि अघि बढ्‌न पनि किन धुकचुक मान्छन्‌? (१ तिमोथी ३:१) अनि आफूले गोठाला नियुक्‍त गरेकाहरूलाई यहोवा कसरी तालिम दिनुहुन्छ? अर्को लेखले यिनै प्रश्‍नहरूको जवाफ दिनेछ। (w06 5/1)

के तपाईंलाई याद छ?

• गोठालाहरूले बगाललाई माया देखाउने केही तरिका के-के हुन्‌?

• मण्डलीको वातावरण आनन्दमय र शान्तिमय बनाउन सबैले कसरी योगदान पुऱ्‍याउन सक्छन्‌?

• सल्लाह दिंदा गोठालाहरू सहनशील र दयालु हुनुपर्छ, किन?

• प्राचीनहरू कसरी भलाइ र विश्‍वास देखाउँछन्‌?

[प्रश्‍नहरू]

[पृष्ठ १८-मा भएको चित्र]

मण्डलीमा सेवा गर्न प्राचीनहरूलाई प्रेमले घचघच्याउँछ

[पृष्ठ १५-मा भएका चित्रहरू]

प्राचीनहरू आफ्नो परिवारसित रमाइलो गर्न . . .

. . . र सँगै प्रचारमा जान समय निकाल्छन्‌

[पृष्ठ २०-मा भएको चित्र]

प्राचीनहरूबीच खुलस्त कुराकानी भयो भने, मण्डलीको वातावरण आनन्दमय र शान्तिमय हुन्छ