सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बगालको रेखदेख गर्ने गोठालाहरूलाई यहोवा तालिम दिनुहुन्छ

बगालको रेखदेख गर्ने गोठालाहरूलाई यहोवा तालिम दिनुहुन्छ

बगालको रेखदेख गर्ने गोठालाहरूलाई यहोवा तालिम दिनुहुन्छ

“बुद्धि दिने परमप्रभुनै हुनुहुन्छ, र ज्ञान र समझ-शक्‍ति उहाँबाटनै आउँछन्‌।” —हितोपदेश २:६.

१, २. मण्डलीमा थप जिम्मेवारी वहन गर्न बप्तिस्माप्राप्त भाइहरू अघि बढ्‌नुको कारण के हो?

 सात वर्षदेखि प्राचीनको रूपमा सेवा गर्दै आएका निक्‌ भन्छन्‌: “प्राचीन नियुक्‍त हुँदा मलाई साह्रै खुसी लागेको थियो। मैले यस सुअवसरलाई यहोवाको सेवा अझ बढी गर्ने मौका ठानें। यहोवाले मेरो निम्ति गर्नुभएका सबै कुराको लागि म अत्यन्त ऋणी छु भन्‍ने लाग्यो। अरू प्राचीनहरूले मलाई जसरी मदत गरे, त्यसरी नै म मण्डलीका भाइबहिनीलाई सक्दो धेरै मदत गर्न चाहन्थें।” हो, प्राचीन भएकोमा निक्‌ खुसी थिए तैपनि तिनलाई कता-कता डर लागिरहेको थियो। निक्‌ भन्दै जान्छन्‌, “प्राचीन नियुक्‍त हुँदा म ३० वर्ष पनि पुगेको थिइनँ। त्यसकारण, मण्डलीको राम्रोसँग रेखदेख गर्न चाहिने समझशक्‍ति र बुद्धिजस्ता खुबी ममा छैन कि जस्तो लागेको थियो।”

आफ्नो भेडाको रेखदेख गर्न यहोवाले नियुक्‍त गर्नुहुने गोठालाहरू आनन्दित हुनुपर्ने कारण धेरै छन्‌। येशूको भनाइ उद्धरण गर्दै प्रेरित पावलले एफिससका प्राचीनहरूलाई आनन्दित हुनुपर्ने एउटा कारण यसरी सम्झाए: “लिनुभन्दा दिनु अझ असल हो” अर्थात्‌ लिनुमा भन्दा दिनुमा अझ आनन्द छ। (प्रेरित २०:३५) सेवकाई सेवक वा प्राचीनको रूपमा सेवा गर्दा बप्तिस्माप्राप्त भाइहरूले विभिन्‍न तरिकामा यहोवा र मण्डलीलाई दिने मौका पाउँछन्‌। जस्तै—सेवकाई सेवकहरूले प्राचीनहरूसित मिलेर काम गर्छन्‌। उनीहरूले निकै समय खाने तर आवश्‍यक अरू कामकुरा पनि सम्हाल्छन्‌। सेवकाई सेवक भाइहरू परमेश्‍वर र छिमेकीप्रतिको प्रेमले गर्दा नै यस्तो अमूल्य सेवा गर्न जुर्मुरिन्छन्‌।—मत्ती १२:३०, ३१.

३. मण्डलीमा विभिन्‍न सुअवसरको लागि अघि बढ्‌न कसै-कसैले सङ्‌कोच मान्‍न सक्छन्‌, किन?

‘म योग्य छैनँ’ भन्‍ने भावनाले गर्दा सेवकाई सेवक र पछि प्राचीन बन्‍ने सुअवसरको लागि अघि बढ्‌न सङ्‌कोच मान्‍ने मसीही भाइबारे के भन्‍न सकिन्छ? निक्‌लाई जस्तै तिनलाई पनि निपुण गोठालामा हुनुपर्ने खुबी आफूमा छैन जस्तो लागेको हुन सक्छ। तपाईं बप्तिस्माप्राप्त भाइ हुनुहुन्छ भने, कतै तपाईंको सोचाइ पनि यस्तै पो छ कि? यसरी चिन्ता गर्नु एक किसिमले ठीकै हो। किनभने नियुक्‍त गोठालाहरूले बगाललाई कसरी व्यवहार गर्छन्‌, त्यसको लेखा यहोवाले लिनुहुनेछ। येशूले भन्‍नुभयो: “धेरै पाउने जुनसुकैबाट पनि धेरै लिइनेछ, औ धेरै सुम्पिएको जुनसुकैसँगबाट मानिसहरूले धेरै माग्नेछन्‌।”—लूका १२:४८.

४. बगालको रेखदेख गर्न आफूले नियुक्‍त गरेका व्यक्‍तिहरूलाई यहोवा कसरी मदत गर्नुहुन्छ?

के यहोवा आफूले नियुक्‍त गरेका सेवकाई सेवक तथा प्राचीनहरूले आफ्नो जिम्मेवारीको भार सकी नसकी आफै उठाओस्‌ भन्‍ने चाहनुहुन्छ? चाहनुहुन्‍न। उनीहरूले आफ्नो जिम्मेवारी सफलतापूर्वक वहन गर्न सकोस्‌ भनेर यहोवा व्यावहारिक मदत पनि दिनुहुन्छ। यहोवा उनीहरूलाई आफ्नो पवित्र आत्मा दिनुहुन्छ र यही पवित्र आत्माको फलले उनीहरूलाई बगालको मायालुपूर्वक रेखदेख गर्न मदत गर्छ भनेर अघिल्लो लेख छलफल गर्दा बुझेका थियौं। (प्रेरित २०:२८; गलाती ५:२२, २३) यति मात्र होइन, यहोवा उनीहरूलाई बुद्धि, ज्ञान र समझशक्‍ति पनि दिनुहुन्छ। (हितोपदेश २:६) तर कसरी? आउनुहोस्‌, बगालको रेखदेख गर्न आफूले नियुक्‍त गरेका व्यक्‍तिहरूलाई यहोवाले तालिम दिनुहुने तीनवटा तरिका चर्चा गरौं।

अनुभवी गोठालाहरूबाट तालिम पाएका

५. पत्रुस र यूहन्‍ना प्रभावकारी शिक्षक बन्‍न सक्नुको कारण के थियो?

प्रेरित पत्रुस र यूहन्‍ना महा सभामा हाजिर हुँदा, त्यस अदालतका बुद्धिमान्‌ भनौदा न्यायाधीशहरूले ती दुईलाई “अपठित र अजान” ठानेका थिए। तर खासमा पत्रुस र यूहन्‍ना लेखपढ गर्न सक्थे। त्यति हो, धर्मशास्त्र अध्ययन गर्ने विषयमा उनीहरूले रब्बीहरूबाट तालिमचाहिं लिएका थिएनन्‌। तरैपनि पत्रुस, यूहन्‍ना र अरू चेलाहरू प्रभावकारी शिक्षक बन्‍न सके। उनीहरूको सिकाउने तरिका अत्यन्तै राम्रो भएकोले उनीहरूको कुरा सुन्‍ने धेरैजसोले सच्चाइ स्वीकारे। ती साधारण चेलाहरू कसरी त्यत्तिका प्रभावकारी शिक्षक बन्‍न सके? पत्रुस र यूहन्‍नाको कुरा सुनेपछि अदातलले “यिनीहरू येशूको साथमा रहन्थे भनेर” थाह पायो। (प्रेरित ४:१-४, १३) हुन त हो, उनीहरूले पवित्र आत्मा पाएका थिए। (प्रेरित १:८) तर येशूले ती चेलाहरूलाई तालिम दिनुभएको थियो भनेर आध्यात्मिक कुराको मोल नगर्ने न्यायाधीशहरूलाई समेत थाह थियो। यस पृथ्वीमा छँदा येशूले आफ्ना चेलाहरूलाई भेडा खाले मानिस जम्मा गर्न मात्र होइन तर बगालको भाग भइसकेपछि तिनीहरूको राम्रोसँग रेखदेख गर्ने तरिका पनि सिकाउनुभयो।—मत्ती ११:२९; २०:२४-२८; १ पत्रुस ५:४.

६. अरूलाई तालिम दिने विषयमा येशू र पावलले कस्तो उदाहरण बसाले?

पुनरुत्थान भएपछि पनि येशूले नियुक्‍त गोठालाहरूलाई तालिम दिन छोड्‌नुभएन। (प्रकाश १:१; २:१–३:२२) उदाहरणको लागि, येशू आफैले पावललाई छान्‍नुभयो र तिनको तालिमको निरीक्षण पनि आफैले गर्नुभयो। (प्रेरित २२:६-१०) पावलले जे-जस्तो तालिम पाए, तिनले त्यसको खूबै कदर गरे र सिकेका कुरा अरू प्राचीनहरूलाई बताए। (प्रेरित २०:१७-३५) जस्तै—तिमोथीलाई परमेश्‍वरको सेवामा “शर्माउन नपर्ने खेताला” बनाउन तालिम दिनुपरेको थियो र त्यसको लागि पावलले निकै समय लगाएर मेहनत गरे। (२ तिमोथी २:१५) पावल र तिमोथीबीच सुमधुर सम्बन्ध कायम भयो। त्यसो त योभन्दा अघि पनि पावलले तिमोथीको बारेमा यसो भनेका थिए: “जसरी छोराले बाबुको सेवा गर्दछ, त्यसरीनै तिनले मसित सुसमाचार फैलाउने काममा सेवा गरे।” (फिलिप्पी २:२२) पावलले तिमोथी अथवा अरू कुनै पनि व्यक्‍तिलाई आफ्नो चेला बनाउन खोजेनन्‌। बरु, मसीही भाइबहिनीलाई ‘तिनी ख्रीष्टमा भएझैं तिनको देखा-सिकी गर्न लगाए।’—१ कोरिन्थी ११:१.

७, ८. (क) प्राचीनहरूले येशू र पावलको देखासिकी गर्दा परिणाम राम्रो हुन्छ भनेर कुन अनुभवले देखाउँछ? (ख) सेवकाई सेवक र प्राचीन बन्‍न सक्ने भाइहरूलाई प्राचीनहरूले कहिलेदेखि तालिम दिन थाल्नुपर्छ?

येशू र पावलको देखासिकी गर्दै अनुभवी गोठालाहरू पनि बप्तिस्माप्राप्त भाइहरूलाई तालिम दिन अग्रसर हुन्छन्‌ र परिणाम पनि राम्रै पाउँछन्‌। च्याड भन्‍ने भाइको अनुभव विचार गर्नुहोस्‌। तिनको परिवारका सदस्यहरू बेग्लाबेग्लै धर्म मान्थे तैपनि हालै तिनी प्राचीन नियुक्‍त भए। तिनी भन्छन्‌: “वर्षौंको दौडान थुप्रै अनुभवी प्राचीनले मलाई आध्यात्मिकतामा प्रगति गर्न मदत गर्नुभयो। मेरो बुबा अर्कै धर्म मान्‍नुहुन्थ्यो। त्यसकारण, मलाई विशेष ध्यान दिएर प्राचीनहरू मेरा आध्यात्मिक बुबाजस्तै बन्‍नुभयो। सेवकाईमा मलाई तालिम दिन उहाँहरूले समय निकाल्नुभयो र पछि एक जना प्राचीनले चाहिं मण्डलीका जिम्मेवारीहरू सम्हाल्न सिकाउनुभयो।”

च्याडको अनुभवले देखाएअनुसार समझदार गोठालाहरूले सेवकाई सेवक र प्राचीन बन्‍न सक्ने भाइहरूलाई यस सुअवसरको लागि योग्य हुनुभन्दा धेरै अघिदेखि तालिम दिन थाल्छन्‌। किन? किनभने सेवकाई सेवक र प्राचीनको रूपमा सेवा गर्नुभन्दा अघि नै उनीहरूको नैतिक तथा आध्यात्मिक स्तर उच्च भइसकेको हुनुपर्छ भनी बाइबल बताउँछ। “पहिले तिनीहरूको जाँच” हुनै पर्छ।—१ तिमोथी ३:१-१०, NRV.

९. परिपक्व गोठालाहरूको थाप्लोमा कस्तो जिम्मेवारी छ र किन?

बप्तिस्माप्राप्त भाइहरूको जाँच गर्ने हो भने, पहिला तालिम दिइसकेपछि मात्र उनीहरूको जाँच गर्नु उचित हुन्छ। उदाहरणको लागि, कुनै विद्यार्थीलाई गाह्रो विषयमा जाँच दिन लगायो तर शिक्षकहरूले त्यस विषयमा उसलाई केही सिकाएकै छैनन्‌ भने के विद्यार्थीले जाँच पास गर्ला? पास होइन, फेल हुने सम्भावनाचाहिं धेरै हुन्छ। त्यसैले त तालिम दिनै पर्छ भनेको। तर सचेत शिक्षकहरूले आफ्ना विद्यार्थीहरूलाई जाँच पास गर्न मात्र होइन तर सिकेको ज्ञानअनुसार चल्न पनि सिकाउँछन्‌। त्यसै गरी, लगनशील प्राचीनहरूले बप्तिस्माप्राप्त भाइहरूलाई विशेष तालिम दिएर नियुक्‍त पुरुषमा हुनुपर्ने गुणहरू खेती गर्न मदत गर्छन्‌। प्राचीनहरूले यस्तो तालिम दिनुको उद्देश्‍य भाइहरूलाई सेवकाई सेवक अथवा प्राचीन बन्‍न मदत गर्नु मात्र होइन तर बगालको राम्रोसँग रेखदेख गर्न सक्ने बनाउनु हो। (२ तिमोथी २:२) हुन त, सेवकाई सेवक अथवा प्राचीन नियुक्‍त हुन आवश्‍यक पर्ने योग्यताहरू पूरा गर्न बप्तिस्माप्राप्त भाइहरू आफैले पनि कोसिस गरिरहनुपर्छ र मेहनत गर्न छोड्‌नु हुँदैन। (तीतस १:५-९) तर मण्डलीमा विशेष सुअवसरको लागि अघि बढिरहेका भाइहरूलाई खुसीसाथ तालिम दिएर छिटो-छिटो प्रगति गर्न भने अनुभवी गोठालाहरूले मदत दिन सक्छन्‌।

१०, ११. थप सुअवसरका लागि गोठालाहरूले अरूलाई कसरी तालिम दिन सक्छन्‌?

१० भाइहरूलाई मण्डलीका जिम्मेवारीहरू सम्हाल्न सक्ने बनाउन अनुभवी गोठालाहरूले विशेष गरी कुन तरिका अपनाउन सक्छन्‌? सर्वप्रथम, मण्डलीका भाइहरूप्रति चासो देखाएर, क्षेत्र सेवकाईमा सँगसँगै नियमित रूपमा काम गरेर अनि “सत्यको वचनलाई ठीकसँग प्रयोग” गर्ने उनीहरूको क्षमता अझ बढाउन मदत गरेर। (२ तिमोथी २:१५) परिपक्व गोठालाहरू यस्ता भाइहरूसित अरूको सेवा गर्दा मिल्ने आनन्द अनि आध्यात्मिक लक्ष्य राखेर त्यसलाई प्राप्त गर्दा आफूले पाएको सन्तुष्टिबारे कुरा गर्छन्‌। ‘बगालको उदाहरण’ बन्‍न सुधार गर्नुपर्ने ठाउँहरू छन्‌ भने, उनीहरूले दयालुपूर्वक त्यसबारे तोकेरै सल्लाह पनि दिन्छन्‌।—१ पत्रुस ५:३, ५.

११ कुनै भाइ सेवकाई सेवक नियुक्‍त भइसकेपछि पनि बुद्धिमान्‌ गोठालाहरूले तिनलाई तालिम दिन छोड्‌दैनन्‌। करिब ५० वर्ष प्राचीनको रूपमा सेवा गरिसकेका ब्रुश भन्छन्‌: “मलाई, भर्खरै नियुक्‍त भएका सेवकाई सेवकसित सँगै बसेर विश्‍वासी र बुद्धिमान्‌ दासले दिएका निर्देशनहरू दोहोऱ्‍याएर पढ्‌न मनपर्छ। तिनले पाएको जिम्मेवारीसित सम्बन्धित कुनै निर्देशन छ भने, त्यो पनि सँगै पढ्‌ने गर्छौं र तिनी आफ्नो जिम्मेवारी राम्रोसँग पूरा गर्न सक्ने नहोउन्जेलसम्म म तिनलाई मदत गरिरहन्छु।” सेवकाई सेवक अनुभवी हुँदै गएपछि तिनलाई गोठालो भेट गर्ने क्षेत्रमा पनि तालिम दिन सकिन्छ। ब्रुश अझै भन्छन्‌, “सेवकाई सेवकलाई आफूसितै गोठालो भेटमा लैजाँदा म तिनलाई गोठालो भेट गर्न गइरहेको व्यक्‍ति वा परिवारलाई प्रोत्साहन र उत्साह दिने बाइबल पदहरू रोज्न लगाउँछु। सेवकाई सेवक प्रभावकारी गोठाला हुन चाहन्छन्‌ भने, तिनले भाइबहिनीको मन छुने ढङ्‌गमा बाइबल पदहरू चलाउन सिक्नु नितान्त जरुरी छ।”—हिब्रू ४:१२; ५:१४.

१२. अनुभवी गोठालाहरूले भर्खरै नियुक्‍त भएका प्राचीनहरूलाई कसरी तालिम दिन सक्छन्‌?

१२ भर्खरै नियुक्‍त भएका गोठालाहरूले पनि थप तालिमबाट धेरै लाभ उठाउन सक्छन्‌। सुरुमा चर्चा गरिएको निक्‌ भन्छन्‌: “दुई जना पाका निरीक्षकले दिनुभएको तालिमबाट मैले धेरै लाभ उठाएँ। ती दुई निरीक्षकलाई कुनै खास विषय कसरी सम्हालनुपर्छ भनेर राम्रोसँग थाह थियो। उहाँहरूले मेरो कुरा सधैं धैर्यपूर्वक सुन्‍नुभयो र मलाई लागेको कुरा उहाँहरूलाई त्यति चित्त नबुझे तापनि एक कानले सुनेर अर्को कानले उडाइदिने गर्नुभएन। मण्डलीका भाइबहिनीसित उहाँहरूले नम्र भई र आदरभावसाथ गर्नुभएको व्यवहारबाट मैले धेरै कुरा सिकें। समस्याहरू सुल्झाउन वा कसैलाई प्रोत्साहन दिन कौशलतासाथ बाइबल चलाउनुपर्छ भनेर पनि उहाँहरूले मलाई बुझाउनुभयो।”

परमेश्‍वरको वचनबाट तालिम पाएका

१३. (क) प्रभावकारी गोठाला बन्‍न मसीही भाइले के गर्नुपर्छ? (ख) येशूले किन “मेरो शिक्षा मेरै होइन” भन्‍नुभयो?

१३ हो, “हरेक सुकर्ममा पूर्णरूपले सुसज्जित” हुन गोठालालाई चाहिने नीतिनियम, सिद्धान्त तथा उदाहरणहरू परमेश्‍वरको वचन बाइबलमा पाइन्छ। (२ तिमोथी ३:१६, १७) कुनै भाइ निकै पढे-लेखेका होलान्‌ तर प्रभावकारी गोठाला बन्‍न तिनलाई आफ्नो पढाइले होइन, बाइबलको ज्ञान र त्यो ज्ञान प्रयोग गर्ने तिनको खुबीले मदत गर्छ। येशूको उदाहरण विचार गर्नुहोस्‌। आध्यात्मिक कुरामा डोऱ्‍याउने उहाँजस्तो ज्ञानी, विवेकी र बुद्धिमान्‌ गोठाला संसारमा अरू कोही थिएन। तैपनि, यहोवाको भेडालाई शिक्षा दिंदा उहाँ आफ्नै बुद्धिमा भर पर्नुभएन। उहाँले भन्‍नुभयो: “मेरो शिक्षा मेरै होइन, तर मलाई पठाउनेको हो।” येशूले स्वर्गमा हुनुहुने आफ्नो पितालाई श्रेय दिनुको कारण उहाँले यसरी खुलाउनुभयो: “जसले आफ्नैतर्फबाट बोल्दछ, उसले आफ्नै महिमा खोज्दछ।”—यूहन्‍ना ७:१६, १८.

१४. गोठालाहरू कसरी आफ्नै महिमा खोज्दैनन्‌?

१४ वफादार गोठालाहरू आफ्नै महिमा खोज्दैनन्‌। उनीहरू आफ्नो बुद्धिको भरमा होइन तर परमेश्‍वरको वचनअनुसार सल्लाह र प्रोत्साहन दिने गर्छन्‌। गोठालो काम गर्नु भनेको भेडालाई “ख्रीष्टको मन” जान्‍न मदत दिनु हो, प्राचीनहरूको मन जान्‍न होइन भनेर उनीहरूले बुझेका छन्‌। (१ कोरिन्थी २:१४-१६) उदाहरणको लागि, कुनै दम्पतीलाई वैवाहिक समस्या सुल्झाउने मदत दिंदा प्राचीनले बाइबल सिद्धान्त तथा ‘विश्‍वासी र बुद्धिमान्‌ दासले’ दिएको जानकारीअनुसार होइन तर आफ्नै भोगाइको आधारमा सल्लाह दियो भने के होला? (मत्ती २४:४५) पक्कै पनि तिनले समाजको परम्परा र आफूले जे देखेको, भोगेको छ त्यतिकै भरमा मात्र सल्लाह दिइरहेका हुन सक्छन्‌। हो, समाजका कतिपय परम्परा राम्रा हुन्छन्‌ र प्राचीनसित जीवनको रथ हाँक्ने अनुभव पनि होला। तर भेडाले धेरै लाभ उठाउने हो भने, गोठालाहरूले उनीहरूलाई मानिसको विचारधारा वा समाजको परम्पराभन्दा येशूको आवाज र परमेश्‍वरको वचन सुन्‍ने प्रोत्साहन दिनु जरुरी छ।—भजन १२:६; हितोपदेश ३:५, ६.

“विश्‍वासी र बुद्धिमान दास[बाट]” तालिम पाएका

१५. येशूले “विश्‍वासी र बुद्धिमान दास[लाई]” के काम अह्राउनुभयो र यस काममा दास वर्ग सफल हुनुको एउटा कारण के हो?

१५ प्रेरित पत्रुस, यूहन्‍ना र पावलजस्ता गोठाला येशूले “विश्‍वासी र बुद्धिमान दास” भनी सम्बोधन गर्नुभएको समूहका सदस्य थिए। पृथ्वीमा भएका येशूका आत्मा-अभिषिक्‍त भाइहरू मिलेर यो दास वर्ग बनेको छ र उनीहरूसित ख्रीष्टसँगै स्वर्गमा शासन गर्ने आशा छ। (प्रकाश ५:९, १०) यस रीतिरिवाजको आयु जति छोटिंदैछ, पृथ्वीमा बाँकी रहेका ख्रीष्टका यी आत्मा-अभिषिक्‍त भाइहरूको संख्या पनि उति नै घट्‌दै गइरहेको छ। तर येशूले उनीहरूलाई अह्राउनुभएको काम अर्थात्‌ अन्त आउनुअघि राज्यको सुसमाचार प्रचार गर्ने काम भने पहिलाभन्दा झनै व्यापक रूपमा गर्नुपरेको छ। तैपनि, आफूलाई सुम्पिइएको काम फत्ते गर्न दास वर्ग एकदमै सफल भएको छ! कसरी? यसको एउटा कारण हो, प्रचार गर्ने र सिकाउने काममा “अरू भेडा[का]” तालिमप्राप्त सदस्यहरूले उनीहरूलाई साथ दिइरहेका छन्‌। (यूहन्‍ना १०:१६; मत्ती २४:१४; २५:४०) आज, धेरैजसो काम अरू भेडाका यिनै वफादार समूहले रेखदेख गर्छ।

१६. दास वर्गले नियुक्‍त पुरुषहरूलाई कसरी तालिम दिन्छ?

१६ दास वर्गले कसरी यस्तो तालिम दिन्छ? प्रथम शताब्दीमा, दास वर्गका प्रतिनिधिहरूले मण्डलीका निरीक्षकहरूलाई तालिम दिने र निरीक्षकहरू नियुक्‍त गर्ने अधिकार पाएका थिए अनि ती निरीक्षकहरूले भेडाहरूलाई तालिम दिन्थे। (१ कोरिन्थी ४:१७) आज पनि यही सिद्धान्त लागू हुन्छ। अभिषिक्‍त प्राचीनहरूको सानो समूह परिचालक निकायले दास वर्गको प्रतिनिधित्व गर्छ। यिनै परिचालक निकायले आफ्ना प्रतिनिधिहरूलाई संसारभरिका हजारौं मण्डलीमा तालिम दिने र सेवकाई सेवक तथा प्राचीनहरू नियुक्‍त गर्ने अधिकार दिन्छ। साथै, भेडाको राम्रोसँग रेखदेख गर्ने विषयमा शाखा समितिका सदस्य, परिभ्रमण निरीक्षक, प्राचीन तथा सेवकाई सेवकहरूलाई तालिम दिन परिचालक निकायले विभिन्‍न स्कूलको आयोजना पनि गर्छ। चिठी, प्रहरीधरहरा-मा छापिएका लेख अनि अर्गनाइज्ड टु डु जेहोभाज्‌ विल a-जस्ता अरू प्रकाशनहरूमार्फत पनि थप निर्देशन दिने गरिन्छ।

१७. (क) दास वर्गमाथिको आफ्नो भरोसा येशूले कसरी देखाउनुभएको छ? (ख) दास वर्गमाथि भरोसा छ भनेर आध्यात्मिक कुरामा डोऱ्‍याउने गोठालाहरूले कसरी देखाउन सक्छन्‌?

१७ येशूले दास वर्गमाथि धेरै भरोसा गर्नुभएको छ। त्यसैकारण त उहाँले त्यस वर्गलाई “आफ्नो सारा सम्पत्तिमाथि” अर्थात्‌ पृथ्वीमा आफ्नो सबै आध्यात्मिक कामकुरा रेखदेख गर्न नियुक्‍त गर्नुभयो। (मत्ती २४:४७) दास वर्गमाथि भरोसा छ भनेर नियुक्‍त गोठालाहरूले पनि साबित गरेर देखाउँछन्‌। कसरी? परिचालक निकायले दिएको निर्देशनअनुसार चलेर। हो, गोठालाहरूले अरूलाई तालिम दिंदा, परमेश्‍वरको वचनले दिने तालिम स्वीकार्दा र दास वर्गले दिएको तालिमअनुसार चल्दा उनीहरूले बगालको एकतालाई अझ मजबुत पारिरहेका हुन्छन्‌। मसीही मण्डलीका हरेक सदस्यको अत्यन्तै ख्याल राख्ने पुरुषहरूलाई तालिम दिनुभएकोमा हामी यहोवालाई हृदयको गहिराइबाटै धन्यवाद दिन्छौं! (w06 5/1)

[फुटनोट]

a यहोवाका साक्षीहरूद्वारा प्रकाशित।

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• आध्यात्मिक कुरामा डोऱ्‍याउने परिपक्व गोठालाहरू कसरी अरूलाई तालिम दिन्छन्‌?

• गोठालाहरू किन आफ्नै विचारधाराको भरमा शिक्षा दिंदैनन्‌?

• दास वर्गमाथि भरोसा छ भनेर गोठालाहरूले कसरी देखाउँछन्‌ र यसरी भरोसा गर्नुको कारण के हो?

[प्रश्‍नहरू]

[पृष्ठ २५-मा भएका चित्रहरू]

मसीही प्राचीनहरू मण्डलीका जवान भाइहरूलाई तालिम दिन्छन्‌

[पृष्ठ २६-मा भएका चित्रहरू]

‘विश्‍वासी र बुद्धिमान दासले’ प्राचीनहरूलाई पर्याप्त तालिम दिन्छ