सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“म तिमीहरूसँगै छु”

“म तिमीहरूसँगै छु”

“म तिमीहरूसँगै छु”

“परमप्रभुका दूत[ ले] . . . सुनाए, म तिमीहरूसँगै छु भनी परमप्रभु भन्‍नुहुन्छ।”—हाग्गै १:१३.

१. हाम्रो समयलाई सङ्‌केत गर्ने कुन भविष्यवाणीबारे येशूले बताउनुभयो?

 हामी इतिहासको अत्यन्तै महत्त्वपूर्ण घडीमा बाँचिरहेका छौं। बाइबल भविष्यवाणीको पूर्तिले देखाएअनुसार सन्‌ १९१४ देखि यता हामी “प्रभुको दिनमा” बाँचिरहेका छौं। (प्रकाश १:१०) ‘प्रभुको दिनबारे’ बताइएका भविष्यवाणीहरू तपाईंले अध्ययन गर्नुभएको होला। यसो हो भने, परमेश्‍वरको राज्य शक्‍तिमा ‘मानिसको पुत्रको दिनलाई’ येशूले ‘नूहको दिन’ र ‘लूतको दिनसित’ तुलना गर्नुभयो भनेर पनि थाह होला। (लूका १७:२६, २८) नूहको दिन र लूतको दिनमा जे-जस्तो घटना घट्यो, त्यो हाम्रो समयलाई सङ्‌केत गर्ने भविष्यवाणी हो भनेर बाइबल बताउँछ। तर हामीले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने अर्को एउटा मिल्दोजुल्दो भविष्यवाणी पनि छ।

२. यहोवाले हाग्गै र जकरियालाई के काम अह्राउनुभयो?

आउनुहोस्‌, हिब्रू अगमवक्‍ता हाग्गै र जकरियाको दिनमा घटेका घटनाहरू विचार गरौं। विशेष गरी हाम्रो समयका यहोवाका जनहरूलाई लागू हुने कस्तो सन्देश ती दुई विश्‍वासी अगमवक्‍ताले सुनाए? बाबेलको कैदबाट फर्केका यहूदीहरूको लागि हाग्गै र जकरिया ‘परमप्रभुका दूतहरू’ थिए। मन्दिर पुनर्निर्माण गर्ने काममा यहोवाको समर्थन छ भनेर इस्राएलीहरूलाई विश्‍वास दिलाउने जिम्मेवारी तिनीहरूले पाएका थिए। (हाग्गै १:१३; जकरिया ४:८, ९) हाग्गै र जकरियाका पुस्तकहरू साना भए तापनि यी दुवै “परमेश्‍वरबाट प्रेरणा भएको [अनि] . . . सो सिकाउनलाई, अर्ती दिनलाई, सच्याउनलाई, उचित जीवन यापन गर्नलाई उपयोगी” छन्‌।—२ तिमोथी ३:१६.

हाग्गै र जकरियाले गरेको भविष्यवाणीमा हामीले ध्यान दिनुपर्छ

३, ४. हाग्गै र जकरियाको सन्देशमा हामीले किन चासो राख्नुपर्छ?

निस्सन्देह, हाग्गै र जकरियाको सन्देश त्यतिबेलाका यहूदीहरूका लागि लाभदायी थियो र ती भविष्यवाणी केही हदसम्म पूरा पनि भए। यी दुई पुस्तकले बताउने कुरामा आज हामीले पनि ध्यान दिनुपर्छ भनेर कसरी पक्का हुन सक्छौं? यसको सङ्‌केत हामी हिब्रू १२:२६-२९ मा पाउँछौं। यी पदहरूमा प्रेरित पावलले हाग्गै २:६ का शब्दहरू उद्धरण गरेका छन्‌, जहाँ परमेश्‍वरले “पृथ्वी मात्र होइन, तर स्वर्गलाई समेत म हल्लाउनेछु” भन्‍नुभएको छ। यसरी हल्लाउँदा अन्तमा ‘राज्यहरूको गद्दी पल्टाइनेछ र जातिहरूको शक्‍तिलाई नाश पारिनेछ।’—हाग्गै २:२२.

हाग्गैको विवरण उद्धरण गर्दै प्रेरित पावल ‘जाति जातिहरूको राज्यलाई’ के हुनेछ भनी बताउँछन्‌ अनि अभिषिक्‍त मसीहीहरूले प्राप्त गर्ने, कसैले हल्लाउन नसक्ने उत्कृष्ट राज्यबारे प्रकाश पार्छन्‌। (हिब्रू १२:२८) हाग्गै र जकरियाका भविष्यवाणीहरूले हिब्रूको पुस्तक लेखिएको समय इस्वी संवत्‌ प्रथम शताब्दीभन्दा पछिको समयलाई सङ्‌केत गर्छ भनी पावलका यी शब्दहरूबाट बुझ्न सक्नुहुन्छ। अभिषिक्‍त मसीहीहरूका शेष जन पृथ्वीमा अझै बाँकी छन्‌। मसीही राज्यमा येशूका सहशासक भई काम गर्नेहरू उनीहरू नै हुन्‌। यसकारण, हाग्गै र जकरियाको भविष्यवाणी हाम्रो समयको लागि पनि अर्थपूर्ण छ।

५, ६. हाग्गै र जकरियाले भविष्यवाणी गर्नुअघि अवस्था कस्तो थियो?

एज्राको पुस्तकमा हाग्गै र जकरियाले भविष्यवाणी गर्नुभन्दा अघि घटेका घटनाहरू छन्‌। ईसापूर्व ५३७ मा यहूदीहरू बाबेलको कैदबाट मुक्‍त भएर फर्किएपछि, बडा हाकिम यरूबाबेल र प्रधान पूजाहारी यहोशूले (येशूअ पनि भनिन्छ) ईसापूर्व ५३६ मा नयाँ मन्दिरको जग हाल्ने कामको रेखदेख गरे। (एज्रा ३:८-१३; ५:१) जग हाल्ने काम सुरु हुँदा ठूलो रमाहट भए पनि केही समयपछि नै यहूदीहरूमाथि धम्की आउन थाल्यो। यस विषयमा एज्रा ४:४ यसो भन्छ: शत्रुहरू अर्थात्‌ “त्यस देशका मानिसहरूले यहूदीहरूको मन निराश गराइदिए, र त्यो भवन निर्माण गर्न त्रासमा पारिदिए।” ती शत्रुहरू, खास गरी सामरीहरूले यहूदीहरू विरुद्ध झूटा आरोप लगाए। मन्दिर बनाउन नदिन ती विरोधीहरूले फारसका राजालाई उक्साए।—एज्रा ४:१०-२१.

मन्दिर बनाउन सुरु गर्दा यहूदीहरूमा जुन जोस थियो, पछि त्यो जोस सेलायो। यहूदीहरू आ-आफ्नै कामकुरामा लाग्न थाले। तर मन्दिरको काम फेरि थाल्नको लागि मानिसहरूलाई उत्प्रेरित गर्न मन्दिरको जग हालेको १६ वर्षपछि ईसापूर्व ५२० मा यहोवाले हाग्गै र जकरियालाई खटाउनुभयो। (हाग्गै १:१; जकरिया १:१) परमेश्‍वरका सन्देशवाहकहरूले उत्प्रेरित गरेपछि र यहोवाको समर्थनको स्पष्ट प्रमाण पाएपछि यहूदीहरूले फेरि मन्दिर बनाउन थाले। फलत: ईसापूर्व ५१५ मा सम्पूर्ण निर्माणकार्य पूरा भयो।—एज्रा ६:१४, १५.

७. अगमवक्‍ता हाग्गै र जकरियाको समय र अहिलेको अवस्था कसरी मिल्दोजुल्दो छ?

के तपाईंलाई यी सबै घटनाको भविष्यसूचक महत्त्व थाह छ? हामीलाई “राज्यको . . . सुसमाचार” प्रचार गर्न अह्राइएको छ। (मत्ती २४:१४) प्रथम विश्‍वयुद्धपछि यस कामलाई विशेष महत्त्व दिन थालियो। पहिलेका यहूदीहरू साँच्चै नै बेबिलोनको बन्धनबाट मुक्‍त भएझैं अहिलेका यहोवाका जनहरू पनि झूटो धर्मको विश्‍व साम्राज्य, महान्‌ बेबिलोनको कैदबाट मुक्‍त भएका छन्‌। परमेश्‍वरका अभिषिक्‍त जनहरू प्रचार गर्ने, सिकाउने र मानिसहरूलाई साँचो उपासनातर्फ डोऱ्‍याउने काममा जोसिलो भएर लागे। त्यो काम आज हाम्रो समयसम्म पनि व्यापक रूपमा भइरहेको छ। तपाईंले पनि यस काममा भाग लिइरहनुभएको होला। यो काम गर्ने समय अहिल्यै हो किनभने दुष्ट रीतिरिवाजको अन्त नजिकै छ! ‘महा संकष्टमा’ यहोवा परमेश्‍वरले मानव गतिविधिमाथि हस्तक्षेप नगरुन्जेल परमेश्‍वरले अह्राउनुभएको यो काम चलिनै रहनेछ। (मत्ती २४:२१) तब परमेश्‍वरले दुष्टता हटाउनुहुनेछ अनि पृथ्वीभरि साँचो उपासना फस्टाउनेछ।

८. प्रचारको काममा परमेश्‍वरको समर्थन पाउने कुरामा हामी किन ढुक्क हुन सक्छौं?

हाग्गै र जकरियाको भविष्यवाणीले देखाएझैं पूर्ण हृदयले प्रचारको काममा भाग लिंदा यहोवाको समर्थन र आशिष्‌ पाउने कुरामा हामी ढुक्क हुन सक्छौं। कसै-कसैले परमेश्‍वरका सेवकहरूलाई दबाउन वा तिनीहरूको काममा प्रतिबन्ध लगाउन खोजे तापनि कुनै पनि सरकारले प्रचारको कामलाई अघि बढ्‌नदेखि रोक्न सकेको छैन। पहिलो विश्‍वयुद्धदेखि आज हाम्रो समयसम्मै राज्य गतिविधिमा वृद्धि गराउनुभएर यहोवाले कसरी आशिष्‌ दिइरहनुभएको छ, विचार गर्नुहोस्‌ त! तर गर्नुपर्ने काम अझै सिद्धिएको छैन।

९. प्राचीन समयको कस्तो अवस्थालाई हामीले ध्यान दिनुपर्छ र किन?

प्रचार गर्ने तथा सिकाउने परमेश्‍वरको आज्ञा पालन गर्न हामीलाई अझ उत्प्रेरित गर्ने केही कुरा हाग्गै र जकरियाको पुस्तकमा पाउन सकिन्छ, ती के-के हुन्‌? बाइबलका यी दुई पुस्तकबाट हामीले सिक्न सक्ने केही पाठ विचार गरौं। उदाहरणका लागि, आफ्नो मातृभूमि फर्केका यहूदीहरूले पूरा गर्नुपर्ने मन्दिर निर्माणकार्यसित सम्बन्धित केही विवरणलाई ध्यान दिनुहोस्‌। बाबेलबाट यरूशलेम फर्केका यहूदीहरूले मन्दिरको जग हालेपछि निर्माणकार्य रोके भनेर हामीले थाह पाइसकेका छौं। हो, जग हालेपछि तिनीहरू सुस्ताएका थिए। तिनीहरूमा कस्तो गलत दृष्टिकोण विकास भयो? अनि त्यसबाट हामी के सिक्न सक्छौं?

सही दृष्टिकोण राख्नुहोस्‌

१०. यहूदीहरूमा कस्तो गलत दृष्टिकोण विकास भयो र परिणाम के भयो?

१० आफ्नो मातृभूमि फर्केका यहूदीहरू यसो भन्दै थिए: “समय अझ आएको छैन।” (हाग्गै १:२) ईसापूर्व ५३६ मा मन्दिरको जग हालेर निर्माणकार्य सुरु गर्दा तिनीहरूले “समय अझ आएको छैन” भनेका थिएनन्‌। तर केही समयपछि नै छिमेकीहरूले निर्माणकार्यको विरोध गरे अनि सरकारले पनि अवरोध खडा गऱ्‍यो। त्यसपछि त यहूदीहरूले आफ्नो काम नै रोके। ती यहूदीहरू आफ्नै घर बनाउनतिर लागे र सुखसुविधा खोज्ने कुरामा बढी ध्यान दिन थाले। राम्रा-राम्रा काठले बनाइएका तिनीहरूका निजी घर र बीचैमा रोकिएको मन्दिरको कामलाई तुलना गर्दै यहोवाले प्रश्‍न गर्नुभयो: “यो भवन उजाड परिरहेको छँदा छँदै पनि के तिमीहरू आफूचाहिं छाना भएका घरमा बस्ने समय छ र?”—हाग्गै १:४.

११. हाग्गैको समयमा यहोवाले यहूदीहरूलाई किन सल्लाह दिनुपऱ्‍यो?

११ हो, यहूदीहरूले अर्कै कुरालाई प्राथमिकता दिन थाले। परमेश्‍वरका जनहरूले मन्दिर बनाउने यहोवाको उद्देश्‍यलाई प्राथमिकता दिनुको सट्टा आफ्नै कुरामा ध्यान दिए र आफ्नो लागि घर बनाउन थाले। परमेश्‍वरको उपासना गरिने घर बनाउने कामलाई बेवास्ता गरियो। हाग्गै १:५ मा लिपिबद्ध यहोवाको शब्दले यहूदीहरूलाई ‘आफ्ना आफ्ना चालको विचार गर्न’ प्रोत्साहन दियो। उहाँले तिनीहरूलाई एकैछिन रोकिएर आफूले गरिरहेको कामबारे मनन गर्न र मन्दिर बनाउने कामलाई आफ्नो जीवनमा पहिलो स्थान नदिंदा यसले तिनीहरूलाई कसरी असर गरिरहेको छ भनेर विचार गर्न आग्रह गरिरहनुभएको थियो।

१२, १३. हाग्गै १:६ मा यहूदीहरूको अवस्था कसरी वर्णन गरिएको छ अनि यस पदको अर्थ के हो?

१२ गलत कुरालाई प्राथमिकता दिंदा यहूदीहरूलाई व्यक्‍तिगत तवरमा कस्तो असर पऱ्‍यो, तपाईं कल्पना गर्न सक्नुहुन्छ। हाग्गै १:६ मा लिपिबद्ध परमेश्‍वरको दृष्टिकोणलाई ध्यान दिनुहोस्‌: “तिमीहरूले छर्न ता धेरैनै छरेका छौ, तर थोरै मात्र कटनी गरेका छौ। तिमीहरू खान ता खान्छौ, तर अघाउँदैनौ। तिमीहरू पिउन ता पिउँछौ, तर तिमीहरूको तिर्खा मर्दैन। तिमीहरू लुगा लाउन ता लाउँछौ, तर तिमीहरूमा कोही पनि न्यानो हुँदैनौ। कमाइ गर्नेले पनि कमाएर ल्याएको जत्ति छेंड परेको थैलीमा राख्तछौ।”

१३ परमेश्‍वरले दिनुभएको भूमिमा नै यहूदीहरू बसोबास गरिरहेका थिए। तैपनि तिनीहरूले चाहे जति अन्‍न उब्जनी भइरहेको थिएन। पहिल्यै चेतावनी दिनुभएझैं यहोवाले आशिष्‌ दिन छोड्‌नुभएको थियो। (व्यवस्था २८:३८-४८) तिनीहरू बीउ छर्न त छर्थे तर यहोवाको समर्थन नभएकोले गर्दा कटनी कम र अन्‍नको अभाव हुन्थ्यो। यहोवाको आशिष्‌ नभएकोले गर्दा तिनीहरू न्यानो लुगा लगाउन सक्ने अवस्थामा थिएनन्‌। तिनीहरूले मेहनत गरेर कमाएको पैसा प्वाल परेको थैलीमा राखेजस्तै थियो। अर्को शब्दमा भन्‍ने हो भने, तिनीहरूले कमाएको ज्यालाले केही गर्न पुग्दैनथ्यो।

१४, १५. हाग्गै १:६ बाट हामी कस्तो पाठ सिक्न सक्छौं?

१४ यी सबै कुराबाट हामीले घरको साजसज्जा वा सौन्दर्यबारे पाठ सिक्नुपर्छ भनेको होइन। इस्राएलका धनी व्यक्‍तिहरूको “हात्ती दाँतले बनाएका निवासस्थानहरू” थिए र तिनीहरू ‘हात्तीदाँतका पलङ्‌गमा सुत्थे।’ यहूदीहरू बाबेलमा निर्वासित हुनुभन्दा धेरैअघि अगमवक्‍ता आमोसले ती धनीहरूलाई हप्काइसकेका थिए। (आमोस ३:१५; ६:४) ती भव्य निवासस्थान तथा सुन्दर-सुन्दर फर्निचरहरू सधैंभरि तिनीहरूको हुन सकेन। तिनीहरूलाई आक्रमण गर्ने शत्रुहरूले ती सबै लुटेर लगे। सत्तरी वर्षसम्म निर्वासित जीवन बिताइसकेपछि पनि परमेश्‍वरका धेरैजसो मानिसहरूले पाठ सिकेका थिएनन्‌। हामी नि? हामी प्रत्येकले यी प्रश्‍नहरू सोध्नु मनासिब हुनेछ: ‘इमानदार भई भन्‍ने हो भने, म आफ्नो घर र यसको साजसज्जालाई कत्तिको महत्त्वपूर्ण ठान्छु? कुनै विशेष पेसामा लाग्न निकै वर्ष लगाएर हासिल गर्नुपर्ने थप शिक्षाको चाँजोपाँजो मिलाउने कुरा नि? यी कुराले गर्दा कतै आध्यात्मिक कामकुरालाई मैले ओझेलमा पो पारिरहेको छु कि?’—लूका १२:२०, २१; १ तिमोथी ६:१७-१९.

१५ जीवनमा हामीलाई परमेश्‍वरको आशिष्‌ नभई हुँदैन भनेर हाग्गै १:६ ले सोच्न लगाउनुपर्ने हो। परमेश्‍वरको आशिष्‌ नपाएको कारण यहूदीहरूले नराम्रो परिणाम भोग्नुपऱ्‍यो। हामीसित भौतिक कुरा प्रशस्त होस्‌ या नहोस्‌, यहोवाको आशिष्‌ पाएनौं भने उहाँसितको हाम्रो सम्बन्ध अवश्‍य बिग्रिनेछ। (मत्ती २५:३४-४०; २ कोरिन्थी ९:८-१२) त्यसोभए, हामी कसरी परमेश्‍वरको आशिष्‌ पाउन सक्छौं?

पवित्र आत्माद्वारा यहोवा मदत गर्नुहुन्छ

१६-१८. यहूदीहरूका लागि जकरिया ४:६ ले कस्तो अर्थ राख्यो?

१६ हाग्गैको समयका अर्का अगमवक्‍ता जकरिया थिए। त्यतिबेलाका यहूदीहरूलाई यहोवाले कुन कुराद्वारा उत्प्रेरित गर्नुभयो र आशिष्‌ दिनुभयो भनी बताउन जकरिया अग्रसर भए। यहोवाले तपाईंलाई पनि त्यसरी नै आशिष्‌ दिनुहुनेछ भनी यसले देखाउँछ। बाइबलमा यस्तो लेखिएको छ: “ ‘नता बलले, न शक्‍तिले, तर मेरो आत्माले’ भनी सेनाहरूका परमेश्‍वर भन्‍नुहुन्छ।” (जकरिया ४:६) यो पद तपाईंले धेरै चोटि सुन्‍नुभएको होला। तर हाग्गै र जकरियाको समयका यहूदीहरूलाई यसले कस्तो अर्थ राख्यो? अनि तपाईंलाई नि?

१७ हाग्गै र जकरियामार्फत यहोवाले भन्‍नुभएका कुराले त्यतिबेला असाध्यै राम्रो प्रभाव पाऱ्‍यो भन्‍ने कुरा नबिर्सनुहोस्‌। ती दुई अगमवक्‍ताले जे-जे भने, त्यसले विश्‍वासी यहूदीहरूलाई फेरि जोसिलो बनायो। ईसापूर्व ५२० को छैठौं महिनामा हाग्गैले भविष्यवाणी गर्न थाले। जकरियाले चाहिं त्यसै वर्षको आठौं महिनामा भविष्यवाणी गर्न सुरु गरे। (जकरिया १:१) त्यसै वर्षको नवौं महिनामा मन्दिरको जग हाल्ने काम फेरि जोडतोडले सुरु भयो भनेर हाग्गै २:१८ बाट थाह पाउन सक्नुहुन्छ। त्यसरी यहूदीहरू परमेश्‍वरको काम गर्न जुर्मुरिए अनि यहोवाले अवश्‍य मदत गर्नुहुन्छ भन्‍ने कुरामा ढुक्क हुँदै उहाँको आज्ञा पालन गरे। जकरिया ४:६ मा यहूदीहरूले परमेश्‍वरको मदत पाएको कुरा उल्लेख गरिएको छ।

१८ ईसापूर्व ५३७ मा यहूदीहरू आफ्नो मातृभूमि फर्कंदा तिनीहरूसित कुनै सैन्य शक्‍ति थिएन। तैपनि, बाबेलबाट फर्कंदा यात्राभरि यहोवाले तिनीहरूलाई जोगाउनुभयो र डोऱ्‍याउनुभयो। फर्केको केही समयपछि यहूदीहरूले मन्दिरको काम सुरु गर्दा उहाँले आफ्नो आत्माद्वारा तिनीहरूलाई डोऱ्‍याउनुभयो। पूर्ण हृदयले फेरि काम थालेपछि यहोवाले पवित्र आत्माद्वारा तिनीहरूलाई मदत दिनुहुने थियो।

१९. परमेश्‍वरको आत्माले कस्तो बाधाबिघ्न पन्छाउन मदत गऱ्‍यो?

१९ यहोवा आफ्ना जनहरूसित हुनुहुनेछ र तिनीहरूले मन्दिरको काम विश्‍वासीपूर्वक सम्पन्‍न गर्नेछन्‌ भनी एकपछि अर्को गर्दै आठवटा दर्शनद्वारा यहोवाले जकरियालाई आश्‍वासन दिनुभयो। मन्दिर बनाउने काम पूरा गर्ने यहूदीहरूको प्रयासमा भाँजो हाल्न शैतान लागिपरेको थियो भनी अध्याय ३ मा लिपिबद्ध चौथो दर्शनले देखाउँछ। (जकरिया ३:१) मानिसहरूको तर्फबाट प्रधान पूजाहारी यहोशूले नयाँ मन्दिरमा सेवा गरेको देख्दा शैतान पक्कै खुसी हुने थिएन। यहूदीहरूलाई मन्दिर बनाउन नदिन शैतान कम्मर कसेर लागेको भए तापनि बाधाबिघ्न पन्छाउन र मन्दिर नबनेसम्म काममा लागिरहनको लागि यहूदीहरूलाई बलियो बनाउन यहोवाको आत्माले महत्त्वपूर्ण भूमिका खेल्ने थियो।

२०. मन्दिर बनाउनू भनेर परमेश्‍वरले दिनुभएको आज्ञा पूरा गर्न पवित्र आत्माले यहूदीहरूलाई कसरी मदत गऱ्‍यो?

२० मन्दिर बनाउने काम रोक्न सफल भएका सरकारी अधिकारीहरूले पर्वतरूपी अवरोध खडा गरेझैं देखियो। तर हेर्दा “पर्वत” जस्तो देखिने त्यो अवरोध हटाइनेछ र “मैदान” हुनेछ भनी यहोवाले प्रतिज्ञा गर्नुभयो। (जकरिया ४:७) अनि हुन पनि त्यस्तै भयो! राजा दारा प्रथमले जाँचपडताल गर्दा राजा कोरेसले यहूदीहरूलाई मन्दिर बनाउन अख्तियार दिएको सक्कली उर्दी फेला पऱ्‍यो। त्यसकारण दारा राजाले प्रतिबन्ध फुकुवा गरे। मन्दिर बनाउँदा लाग्ने सम्पूर्ण खर्च यहूदीहरूलाई शाही कोशबाटै दिनू भनेर पनि राजाले हुकूम दिए। परिस्थितिमा कत्ति ठूलो परिवर्तन! के यसमा यहोवाको पवित्र आत्माले मदत गरेको थियो? अवश्‍य थियो भनेर हामी पक्का हुन सक्छौं। दारा प्रथमको शासनको छैठौं वर्ष, ईसापूर्व ५१५ मा मन्दिर बनाउने काम सिद्धियो।—एज्रा ६:१, १५.

२१. (क) प्राचीन समयमा परमेश्‍वरले कसरी ‘सबै जातिहरूलाई हल्लाउनुभयो’ अनि “जाति जातिका धन-सम्पत्तिहरू” कसरी जम्मा गर्नुभयो? (ख) आज यो काम कसरी पूरा भइरहेको छ?

२१ हाग्गै २:५ मा बताइएअनुसार सीनै पर्वतमा यहोवाले यहूदीहरूसित बाँध्नुभएको करारबारे अगमवक्‍ताले तिनीहरूलाई सम्झाए। त्यतिबेला ‘सारा पर्वत जोरसित काँपिरहेको थियो।’ (प्रस्थान १९:१८) पद ६ र ७ का लाक्षणिक शब्दहरूमा वर्णन गरिएअनुसार हाग्गै र जकरियाको समयमा पनि यहोवाले फेरि बेसरी हल्लाउन लाग्नुभएको थियो। फारस साम्राज्यमा गन्जागोल मच्चिने थियो तर मन्दिरको काम भने सुचारु रूपमा अघि बढेर पूरा हुने थियो। “जाति जातिका धन-सम्पत्तिहरू” अर्थात्‌ गैर-यहूदीहरूले यहूदीहरूसित मिलेर यहोवाको मन्दिरमा उहाँको महिमा गर्ने थिए। मसीहीहरूले गर्ने प्रचारकार्यद्वारा परमेश्‍वरले आज पनि ‘सबै जातिहरूलाई हल्लाउनुभएको छ।’ अनि “जाति जातिका धन-सम्पत्तिहरू” बाँकी रहेका अभिषिक्‍त जन सँगसँगै परमेश्‍वरको उपासना गर्न ओइरिएका छन्‌। हो, आज अभिषिक्‍त जन तथा अरू भेडाले यहोवाको भवनलाई महिमाले भरिरहेका छन्‌। यहोवाले अझ अर्कै अर्थमा ‘आकाश र पृथ्वीलाई हल्लाउनुहुने’ समय यी साँचो उपासकहरूले विश्‍वाससाथ पर्खिरहेका छन्‌। यहोवाले त्यसरी हल्लाउनुहुँदा सबै जाति शक्‍तिहीन र सर्वनाश हुनेछन्‌।—हाग्गै २:२२.

२२. जाति-जातिहरूलाई कसरी ‘हल्लाइँदैछ’ र परिणाम कस्तो भएको छ? अनि भविष्यमा के हुनेछ?

२२ हाग्गैको पुस्तकमा ‘आकाश, पृथ्वी, समुद्र र जमीनले’ सङ्‌केत गर्ने विभिन्‍न तत्त्वलाई हल्लाउने विषयमा चर्चा गरिएको छ। तीमध्ये एउटा ठूलो कुरा त, शैतान अर्थात्‌ दियाबल र त्यसका प्रेतहरू पृथ्वीमा फ्याँकिए। (प्रकाश १२:७-१२) साथै, परमेश्‍वरका अभिषिक्‍त जनहरूले नेतृत्व लिइरहेको प्रचारकार्यले मानव समाजलाई साँच्चै हल्लाएको छ। (प्रकाश ११:१८) तरैपनि सबै राष्ट्रका धन-सम्पत्तिहरूको “एक ठूलो भीड[ले]” आध्यात्मिक इस्राएलसित मिलेर यहोवाको सेवा गर्दैछ। (प्रकाश ७:९, १०) हो, अभिषिक्‍त मसीहीहरू सँगसँगै मिलेर ठूलो भीडले सुसमाचार प्रचार गर्दैछ। यो सुसमाचार, परमेश्‍वरले चाँडै आरमागेडोनमा जाति-जातिहरूलाई हल्लाउनुहुनेछ भन्‍ने सन्देश हो। यसपछि त पृथ्वीमा साँचो उपासना जस्तो हुनुपर्ने हो फेरि त्यस्तै हुने बाटो खुल्नेछ। (w06 4/15)

के तपाईंलाई याद छ?

• हाग्गै र जकरियाले कहिले र कस्तो अवस्थामा भविष्यवाणी गरे?

• हाग्गै र जकरियाको सन्देश तपाई कसरी लागू गर्न सक्नुहुन्छ?

जकरिया ४:६ तपाईंलाई किन प्रोत्साहनदायी लाग्छ?

[प्रश्‍नहरू]

[पृष्ठ ८-मा भएका चित्रहरू]

परमेश्‍वरले हामीलाई समर्थन गर्नुभएको छ भनेर हाग्गै र जकरियाको भविष्यवाणीले आश्‍वासन दिन्छ

[पृष्ठ ११-मा भएको चित्र]

“यो भवन उजाड परिरहेको छँदा छँदै पनि के तिमीहरू आफूचाहिं छाना भएका घरमा बस्ने समय छ र?”