सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

येशूको उदाहरण पछ्याउनुहोस्‌ र गरिबहरूलाई चासो देखाउनुहोस्‌

येशूको उदाहरण पछ्याउनुहोस्‌ र गरिबहरूलाई चासो देखाउनुहोस्‌

येशूको उदाहरण पछ्याउनुहोस्‌ र गरिबहरूलाई चासो देखाउनुहोस्‌

गरिबी र दमनको इतिहास झन्ड-झन्डै मानिसको सृष्टि जत्तिकै पुरानो छ। परमेश्‍वरले इस्राएलीहरूलाई दिनुभएको व्यवस्थाअनुसार गरिबहरूलाई सुरक्षा दिनुका साथै तिनीहरूको दुःखकष्ट कम गर्ने प्रयास गर्नुपर्थ्यो। तर त्यस व्यवस्थालाई त्यति वास्ता गरिएको थिएन। (आमोस २:६) गरिबहरूप्रति जुन किसिमको व्यवहार भइरहेको थियो, अगमवक्‍ता इजकिएलले त्यसको कडा आलोचना गरे। तिनले भने: “देशका प्रजाहरू चाहिं अत्याचारी डाँकू हुन्‌। तिनीहरूले गरीब र दरिद्रहरूमाथि थिचोमिचो गरेका छन्‌, र न्यायको वास्ता नगरेर विदेशीहरूका धन क्षतिपूर्ति नगरी खोसेका छन्‌।”—इजकिएल २२:२९.

येशू पृथ्वीमा छँदा पनि अवस्था त्यस्तै थियो। धर्मगुरुहरूले गरिब अनि अभावमा भएकाहरूलाई पटक्कै चासो देखाएका थिएनन्‌। ती धर्मगुरुहरू “धनका लोभी” थिए जसले ‘विधवाहरूका घर हडप्थे।’ साथै, तिनीहरू बूढाबूढी तथा अभावमा परेकाहरूको हेरचाह गर्नुभन्दा आफ्नै परम्परा जोगाउन तल्लीन थिए। (लूका १६:१४; २०:४७, NRV; मत्ती १५:५, ६) येशूले असल सामरीबारे बताउनुभएको दृष्टान्तमा रोचक कुरा के छ भने, घाइते मानिस लडिरहेको देखेपछि पूजाहारी र लेवी उसलाई मदत गर्नुको साटो अर्कैपट्टि तर्केर गए।—लूका १०:३०-३७.

येशूले गरिबहरूलाई चासो देखाउनुभयो

येशूको जीवनी लेखिएको सुसमाचारका चारवटा पुस्तक पढ्यौं भने, येशूले गरिबको दुःख राम्रोसँग बुझ्नुभयो र तिनीहरूको दुःख कम गर्न कदम पनि चाल्नुभयो भनेर थाह पाउँछौं। येशू पहिला स्वर्गमा बस्नुहुन्थ्यो। तर आफ्नो आत्मिक जीवन त्यागेर उहाँ मानिस बन्‍नुभयो अनि ‘हाम्रो खातिर दरिद्र हुनुभयो।’ (२ कोरिन्थी ८:९) भीडलाई देखेपछि येशूको हृदय “तिनीहरूका निम्ति दयाले भरियो। किनभने तिनीहरू गोठालो नभएका भेडाहरू जस्तै हैरान भई तितर-बितर भएका थिए।” (मत्ती ९:३६) धनीहरूले आफ्नो “प्रशस्तताबाट” दिएका ठूलठूला उपहारबाट होइन तर गरिब विधवाले चढाएको थोरै भेटीबाट येशू प्रभावित हुनुभयो भनेर गरिब विधवाबारे लेखिएको बाइबल विवरण बताउँछ। विधवाको भेटीले येशूको मन छोयो किनभने उनले “आफ्नो अपुगबाट आफ्ना सारा जीविकानै चढाएकी” थिइन्‌।—लूका २१:४.

येशूले गरिबहरूप्रति दया महसुस मात्र गर्नुभएन तर तिनीहरूको आवश्‍यकता पूरा गर्न व्यक्‍तिगत रूपमा चासो पनि देखाउनुभयो। येशू र उहाँका चेलाहरूको एउटा साझा थैली थियो। अभावमा भएका इस्राएलीहरूलाई त्यसैबाट सहयोग गरिन्थ्यो। (मत्ती २६:६-९; यूहन्‍ना १२:५-८; १३:२९) आफ्नो चेला बन्‍न चाहनेहरूलाई येशूले गरिबहरूलाई सहयोग गर्नुपर्ने दायित्वबारे सजग हुन प्रोत्साहन दिनुभयो। जवान धनी शासकलाई येशूले यसो भन्‍नुभयो: “तिमीसँग भएको जति सबै बेचेर गरीबहरूलाई बाँडिदेऊ, तिमीलाई स्वर्गमा धन हुनेछ, र आऊ, मेरोपछि लाग।” त्यस जवान मानिसले आफ्नो धनसम्पत्ति बाँड्‌न चाहेन। ऊ परमेश्‍वर र आफ्ना सहमानवहरूभन्दा आफ्नो धनसम्पत्तिलाई बढी प्रेम गर्थ्यो भन्‍ने कुरा त्यसबाट देखियो। येशूको चेला बन्‍न चाहिने गुण ऊसित थिएन।—लूका १८:२२, २३.

ख्रीष्टका चेलाहरू गरिबहरूलाई चासो देखाउँछन्‌

येशूको मृत्यु भएपछि पनि उहाँका चेला र अरू अनुयायीहरूले गरिबहरूलाई चासो देखाइरहे। प्रभु येशू ख्रीष्टले प्रेरित पावललाई सुसमाचार प्रचार गर्न अह्राउनुभएको थियो। त्यही प्रचारकार्यबारे सरसल्लाह गर्न पावल इस्वी संवत्‌ ४९ तिर याकूब, पत्रुस र यूहन्‍नालाई भेट्‌न गए। पावल र वर्णाबासले अब “अन्यजातिका” मानिसहरूलाई प्रचार गर्नुपर्ने कुरामा तिनीहरू सहमत भए। साथै, याकूब र तिनका सँगीहरूले पावल र वर्णाबासलाई ‘गरीबको सम्झना’ गर्न पनि आग्रह गरे। पावल पनि त्यसै गर्न “उत्सुक” भए।—गलाती २:७-१०.

सम्राट्‌ क्लौडियसको शासनकालमा रोमी साम्राज्यको विभिन्‍न ठाउँमा घोर अनिकाल पऱ्‍यो। त्यो थाह पाएपछि एन्टिओकका मसीहीहरू “हरेकले आफ्ना आफ्ना औकातअनुसार यहूदियामा बस्ने भाइहरूका निम्ति सहायता पठाउने निश्‍चय गरे। तिनीहरूले आफ्ना दान वर्णाबास र शावलका हातमा धर्म-गुरूहरूकहाँ पठाइदिए।”—प्रेरित ११:२८-३०.

येशूका चेलाहरूले विशेष गरी गरिब र अभावमा भएका सँगी मसीहीहरूलाई चासो देखाउनै पर्छ भनेर आजका साँचो मसीहीहरूले पनि बुझेका छन्‌। (गलाती ६:१०) यसकारण, जीवनका आधारभूत आवश्‍यकता जुटाउन संघर्ष गरिरहेकाहरूलाई उनीहरू साँचो चासो देखाउँछन्‌। उदाहरणका लागि, सन्‌ १९९८ मा ब्राजिलको उत्तरपूर्वी क्षेत्रको प्रायजसो भागमा ठूलो खडेरी परेको थियो। खडेरीले धान, कोसेबाली र मकै सखाप पारेकोले जताततै अनिकाल पऱ्‍यो। विगत १५ वर्षको अवधिमा त्यो सबैभन्दा भयावह अनिकाल थियो। कुनै-कुनै ठाउँमा त पिउने पानीको पनि हाहाकार मच्चियो। ब्राजिलको अरू ठाउँका साक्षीहरूले तुरुन्तै उद्धार समितिहरू गठन गरे अनि छोटो समयमै टनका टन खानेकुरा जम्मा गर्नुका साथै ती ढुवानी गर्ने खर्च बेहोरिदिए।

त्यस उद्धार कार्यमा सहयोग गरेका साक्षीहरूले लेखे: “आफ्ना भाइबहिनीहरूलाई सहयोग गर्न पाएकोमा हामी एकदमै खुसी छौं किनभने हाम्रो कामले यहोवाको हृदयलाई आनन्दित तुल्याएको छ भनेर हामीलाई थाह छ। याकूब २:१५, १६ मा दिइएको यो सल्लाह हामी कहिल्यै बिर्संदैनौं: “यदि कोही भाइ या बहिनी झुत्रे-झाम्रे छ, र त्यसलाई दिनहुँको खानलाई अपुग छ र तिमीहरूमध्ये कसैले तिनीहरूलाई ‘शान्तिसँग जाओ, तातो भएर पेटभरि खाओ’ भनेर मात्र भन्दछ, तर त्यसको शरीरलाई चाहिने कुराहरू चाहिं तिमीहरू दिंदैनौ भने यसबाट के लाभ छ?”

साओ पावलो सहरका यहोवाका साक्षीहरूको एउटा मण्डलीमा एउटी बहिनी नम्र र जोसिलो छिन्‌। तर उनी गरिब छिन्‌। हातमुख जोर्न उनलाई धौ-धौ पर्छ। उनी भन्छिन्‌: “म गरिब छु तर बाइबलको कुरा बुझेकी हुँदा मेरो जीवन साँच्चै अर्थपूर्ण भएको छ। साक्षी भाइबहिनीहरूबाट मदत नपाएकी भए मेरो हालत कस्तो हुन्थ्यो होला, कुन्‍नि!” केही समयअघि ती मेहनती मसीही बहिनीको अप्रेसन गर्नुपर्ने भयो तर उनी अस्पतालको खर्च बेहोर्न सक्ने अवस्थामा थिइनन्‌। तर मण्डलीका अरू भाइबहिनीले त्यस बहिनीको अप्रेसन खर्च जुटाउन सहयोग गरे। अभावमा भएका सँगी भाइबहिनीलाई संसारभरिका सबै साँचो मसीहीहरूले यसरी नै सहयोग गरिरहेका छन्‌।

हो, यस्ता अनुभवहरूले हाम्रो मन छुन्छ। तर यस प्रकारको निष्कपट प्रयासले मात्रै गरिबी निर्मूल हुँदैन भन्‍ने कुरा स्पष्ट छ। शक्‍तिशाली सरकार तथा ठूलठूला अन्तरराष्ट्रिय दातृ निकायहरू केही हदसम्म गरिबी कम गर्न सफल भए तापनि धेरै पुरानो यस समस्यालाई निर्मूल पार्न भने असफल भएका छन्‌। यसकारण प्रश्‍न उठ्‌छ: मानिसलाई पिरोल्ने गरिबी र अरू समस्याहरूको स्थायी समाधान के हो त?

बाइबलको शिक्षाले सदाको लागि फाइदा गर्छ

सुसमाचारका चारवटा पुस्तकमा बताइएअनुसार गरिब तथा खाँचोमा परेकाहरूको लागि येशू ख्रीष्टले सधैं राम्रो काम गर्नुभयो। (मत्ती १४:१४-२१) तर उहाँको लागि सबैभन्दा महत्त्वपूर्ण काम के थियो? अभावमा भएकाहरूलाई मदत गर्न केही समय बिताइसक्नुभएपछि उहाँले आफ्ना चेलाहरूलाई एक चोटि यसो भन्‍नुभयो: “आओ, हामीहरू अन्त कहीं आसपासका शहरहरूमा जाऔं, र त्यहाँ पनि म प्रचार गरूँ।” बिरामी अनि अभावमा भएकाहरूको लागि गर्नुभएको असल कामलाई बीचैमा रोकेर उहाँ किन प्रचार गर्नतिर लाग्नुभयो? कारण खुलाउँदै उहाँले यसो भन्‍नुभयो: “यसैको निम्ति [अर्थात्‌ प्रचार गर्न] म निस्किआएको हुँ।” (मर्कूस १:३८, ३९; लूका ४:४३) हो, अभावमा भएकाहरूको निम्ति असल काम गर्नु महत्त्वपूर्ण भए तापनि परमेश्‍वरको राज्यबारे प्रचार गर्नु उहाँको प्रमुख काम थियो।—मर्कूस १:१४.

मसीहीहरूलाई “[येशूको] पाइलामा टेकेर हिंड्‌न” बाइबल आग्रह गर्छ। त्यसकारण, अरूलाई मदत दिंदा पनि प्राथमिकता तय गर्न मसीहीहरूलाई सुस्पष्ट निर्देशन दिइएको छ। (१ पत्रुस २:२१) येशूले जस्तै मसीहीहरू पनि खाँचोमा परेकाहरूलाई मदत गर्छन्‌। तर परमेश्‍वरको राज्यको सुसमाचारसम्बन्धी बाइबलको सन्देश अरूलाई सुनाउने कामलाई उनीहरू येशूले जस्तै सबैभन्दा महत्त्वपूर्ण काम ठान्छन्‌। (मत्ती ५:१४-१६; २४:१४; २८:१९, २०) मानिसहरूलाई मदत गर्ने सबैभन्दा प्रमुख तरिका परमेश्‍वरको वचनमा भएको सन्देश प्रचार गर्नु हो, तर किन?

संसारका विभिन्‍न ठाउँबाट प्राप्त अनुभवहरूले के देखाउँछ भने, बाइबलको व्यावहारिक सल्लाह बुझेर त्यसअनुसार जीवन बिताउँदा, मानिसहरूले गरिबीलगायत दैनिक जीवनका अरू समस्याहरू सामना गर्न सक्छन्‌। साथै, यहोवाका साक्षीहरूले प्रचार गर्ने बाइबलको सन्देशले मानिसहरूलाई उज्ज्वल भविष्यको आशा दिन्छ। यस आशाले एकदमै कठिन अवस्थामा समेत जीवनलाई अर्थपूर्ण बनाइराख्न मदत गर्छ। (१ तिमोथी ४:८) यो कस्तो आशा हो?

हाम्रो भविष्यबारे परमेश्‍वरको वचन यस्तो आश्‍वासन दिन्छ: “[परमेश्‍वरको] प्रतिज्ञाबमोजिम हामी नयाँ स्वर्ग र नयाँ पृथ्वीको बाटो हेर्छौं, जसमा धार्मिकताले बास गर्छ।” (२ पत्रुस ३:१३) बाइबलमा प्रयोग भएको “पृथ्वी” शब्दले कुनै-कुनै सन्दर्भमा पृथ्वीमा बस्ने मानिसहरूलाई बुझाउँछ। (उत्पत्ति ११:१) त्यसैले, प्रतिज्ञा गरिएको धार्मिक “नयाँ पृथ्वी” भनेको परमेश्‍वरको अनुमोदन पाएका मानिसहरूको समाज हो। परमेश्‍वरको वचन यस्तो प्रतिज्ञा पनि गर्छ: ख्रीष्टको शासनको अधीनमा बस्ने अनि परमेश्‍वरबाट अनुमोदन पाएका व्यक्‍तिहरूले पाउने इनाम अनन्त जीवन हो। साथै, प्रमोदवनमा परिणत भएको पृथ्वीमा तिनीहरूले सन्तोषजनक जीवन बिताउनेछन्‌। (मर्कूस १०:३०) गरिबलगायत सबैको लागि उज्जवल भविष्यको आशा छ। त्यस ‘नयाँ पृथ्वीमा’ गरिबीको समस्या सदाको लागि समाधान हुनेछ। (w06 5/1)

[पृष्ठ ७-मा भएको पेटी/चित्र]

येशूले ‘दरिद्रहरूलाई छुटकारा’ दिनुहुनेछ, कसरी?—भजन ७२:१२

न्याय: “प्रजाहरूका दुःखी-दाखीलाई उसले इन्साफ गर्नेछ, उसले दरिद्रहरूको सन्तानलाई बचाउनेछ। र अत्याचारीहरूलाई टुक्रा-टुक्रा पार्नेछ।” (भजन ७२:४) पृथ्वीमाथि ख्रीष्टले शासन गर्दा सबैले न्याय पाउनेछन्‌। भ्रष्टाचार पटक्कै हुनेछैन। भ्रष्टाचार धमिराजस्तै हो जसले धनी बन्‍न सक्ने देशलाई समेत खोक्रो बनाइदिन्छ।

शान्ति: “उसको दिनमा धर्मात्माहरूको फलिफाप हुनेछ। र जून रहुञ्जेल प्रशस्त शान्ति रहनेछ।” (भजन ७२:७) अहिले संसारमा गरिबी मौलाउनुको मुख्य कारण मानिसहरूबीचको द्वन्द्व र युद्ध हो। ख्रीष्टले सारा पृथ्वीमा शान्ति ल्याउनुहुनेछ। यसरी उहाँले गरिबीको एउटा मूल कारण हटाउनुहुनेछ।

दया: “कमजोर र दरिद्रलाई उसले टिठाउनेछ, र दरिद्रहरूको प्राण उसले बचाउनेछ। अत्याचार र थिचोमिचोबाट उसले तिनीहरूको प्राण मोल तिरेर छुटाउनेछ। र उसको दृष्टिमा तिनीहरूको रगत बहुमूल्य हुनेछ।” (भजन ७२:१२-१४) दरिद्र र थिचोमिचोमा परेकाहरू सुखी मानव परिवारको भाग बन्‍नेछन्‌ र राजा येशू ख्रीष्टको अधीनमा एकताबद्ध भई बस्नेछन्‌।

संवृद्धि: “पृथ्वीमा . . . प्रशस्तगरी अन्‍न हुनेछ।” (भजन ७२:१६) ख्रीष्टको शासनकालमा भौतिक संवृद्धि हुनेछ र कुनै कुराको अभाव हुनेछैन। अहिले मानिसलाई पिरोलिरहने खाद्यान्‍न अभाव र अनिकाल कहिल्यै हुनेछैन।

[पृष्ठ ५-मा भएको चित्र]

येशूले गरिबहरूलाई व्यक्‍तिगत रूपमा चासो देखाउनुभयो

[पृष्ठ ६-मा भएको चित्र]

बाइबलको सन्देशले साँचो आशा दिन्छ