सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

वफादार भई राजा येशू ख्रीष्टको सेवा गर्ने

वफादार भई राजा येशू ख्रीष्टको सेवा गर्ने

वफादार भई राजा येशू ख्रीष्टको सेवा गर्ने

“विभिन्‍न भाषा बोल्ने सबै जातिका मानिसहरूले उहाँको सेवा गरून्‌ भनेर उहाँलाई सर्वाधिकार, महिमा र राज्याधिकार दिइयो।”—दानियल ७:१४.

१, २. इस्वी संवत्‌ ३३ मा ख्रीष्टले पूर्ण रूपमा राज्य गर्न थाल्नुभएन भनेर कसरी थाह पाउन सक्छौं?

 को होला यस्तो शासक, जो आफ्नो प्रजाको खातिर मरेर पनि राजा भई शासन गर्न फेरि बाँच्न सक्छ? पृथ्वीमा कुनचाहिं यस्तो राजा होला, जसले आफ्नो वफादार प्रजाको भरोसा जितेर स्वर्गबाट शासन गर्न सक्छ? यसो गर्न सक्ने, अझ भनौं योभन्दा धेरै गर्न सक्ने एक मात्र व्यक्‍तिको नाउँ हो—येशू ख्रीष्ट। (लूका १:३२, ३३) ख्रीष्ट मरेर पुनरुत्थान हुनुभएपछि अनि स्वर्ग उक्लनुभएपछि इस्वी संवत्‌ ३३ पेन्तिकोसको दिन परमेश्‍वरले “उहाँलाई सबै कुराको शिर हुनलाई मण्डलीलाई दिनुभयो।” (एफिसी १:२०-२२; प्रेरित २:३२-३६) त्यस प्रकार ख्रीष्टले आंशिक रूपमा राज्य गर्न थाल्नुभयो। सबैभन्दा पहिला उहाँले आत्मा-अभिषिक्‍त मसीहीहरूमाथि राज्य गर्नुभयो। तिनै मसीहीहरू मिलेर आध्यात्मिक इस्राएल अर्थात्‌ “परमेश्‍वरका इस्राएल” बनेको थियो।—गलाती ६:१६; कलस्सी १:१३.

ख्रीष्टले शासन गर्ने पूर्ण अधिकार पाइसक्नुभएको छैन तर “परमेश्‍वरको दाहिने बाहुलीतर्फ बस्नुभयो, यसपछि उहाँका शत्रुहरू उहाँको पाउदान नहोउञ्जेल उहाँ पर्खिरहनुहुन्छ” भनेर इस्वी संवत्‌ ३३ पेन्तिकोसको करिब ३० वर्षपछि प्रेरित पावलले पुष्टि गरे। (हिब्रू १०:१२, १३) त्यसपछि इस्वी संवत्‌ प्रथम शताब्दीको अन्ततिर वृद्ध प्रेरित यूहन्‍नाले ब्रह्‍माण्डकै सर्वोच्च यहोवाले येशू ख्रीष्टलाई भर्खर स्थापित स्वर्गीय राज्यको राजा नियुक्‍त गर्नुभएको दर्शन देखे। (प्रकाश ११:१५; १२:१-५) इतिहासको यस मोडमा आएर हेर्दा, सन्‌ १९१४ देखि येशू ख्रीष्टले मसीही राजा भएर स्वर्गमा राज्य गर्न थाल्नुभयो भन्‍ने सशक्‍त प्रमाण देख्न सक्छौं। a

३. (क) सन्‌ १९१४ देखि यता राज्यको सुसमाचारमा कस्तो नयाँ रोचक कुरा थपिएको छ? (ख) कस्ता प्रश्‍नहरू हामी आफैलाई सोध्न सक्छौं?

हो, सन्‌ १९१४ देखि यता राज्यको सुसमाचारमा एउटा नयाँ रोचक कुरा थपिएको छ। त्यो हो—“[आफ्ना] शत्रुहरूको बीचमा” नै भए पनि ख्रीष्टले परमेश्‍वरको स्वर्गीय राज्यको राजा बनेर सक्रियपूर्वक शासन गरिरहनुभएको छ। (भजन ११०:१, २; मत्ती २४:१४; प्रकाश १२:७-१२) यति मात्र होइन, मानव इतिहासकै सबभन्दा बृहत्‌ विश्‍वव्यापी बाइबल शैक्षिक कार्यमा भाग लिएर संसारभरका उहाँका वफादार प्रजाहरूले ख्रीष्टको अख्तियार स्वीकार्न आफू उत्सुक भएको देखाइरहेका छन्‌। (दानियल ७:१३, १४; मत्ती २८:१८) “राज्यका सन्तान” अर्थात्‌ आत्मा-अभिषिक्‍त मसीहीहरू “ख्रीष्टको पक्षमा . . . राजदूत” भएर काम गर्छन्‌। परमेश्‍वरको राज्यका प्रतिनिधिहरू भएर काम गर्ने ख्रीष्टका “अरू भेडा[को]” बढ्‌दो भीडले चाहिं उनीहरूलाई वफादारपूर्वक सहयोग गरिरहेका छन्‌। (मत्ती १३:३८; २ कोरिन्थी ५:२०; यूहन्‍ना १०:१६) तैपनि, हामी हरेकले ‘म ख्रीष्टको अख्तियारलाई साँच्चै स्वीकार्छु कि स्वीकार्दिनँ’ भनेर आफैलाई सोध्नु आवश्‍यक छ। के उहाँप्रतिको हाम्रो वफारदारिता अटल छ? स्वर्गमा राज्य गर्नुहुने राजाप्रति वफादार छौं भन्‍ने कुरा हामी कसरी देखाउन सक्छौं? आउनुहोस्‌, सबैभन्दा पहिला ख्रीष्टप्रति वफादार हुनुपर्ने कारणहरू छलफल गरौं।

वफादार हुन उत्प्रेरित गर्ने राजा

४. राजा बनाउन परमेश्‍वरले छान्‍नुभएको येशूले पृथ्वीमा हुँदा कस्तो-कस्तो काम गर्नुभयो?

ख्रीष्टले गर्नुभएको काम र उहाँले देखाउनुभएका उत्कृष्ट गुणहरूले हाम्रो मनै छोएको कारण हामी उहाँप्रति वफादार हुन्छौं। (१ पत्रुस १:८) राजा बनाउन परमेश्‍वरले छान्‍नुभएको येशू कुनै समय यस पृथ्वीमा हुनुहुन्थ्यो। त्यतिखेर उहाँले, परमेश्‍वरले तोक्नुभएको समयमा राजा भएर आफूले विश्‍वव्यापी रूपमा गर्ने कामको सानो नमुना देखाउनुभयो। हो, उहाँले भोकाहरूलाई खुवाउनुभयो। रोगी, अन्धा, अशक्‍त, बहिरा र गुँगालाई निको पार्नुभयो। उहाँले मरेका केही मानिसलाई जीवित पनि पार्नुभयो। (मत्ती १५:३०, ३१; लूका ७:११-१६; यूहन्‍ना ६:५-१३) यसबाहेक, पृथ्वीमा छँदा येशूले अरू के-के गर्नुभयो सो जानिराख्यौं भने पृथ्वीको भावी शासकको रूपमा उहाँका गुणहरू, त्यसमा पनि विशेष गरी उहाँको आत्मत्यागी प्रेमबारे थाह पाउन सक्नेछौं। (मर्कूस १:४०-४५) भनिन्छ, येशूले देखाउनुभएको आत्मत्यागी प्रेमबारे नेपोलियन बोनापार्टले पनि यसो भनेका थिए: “सिकन्दर, सिजर, चार्लमेन र मैले साम्राज्य खडा गऱ्‍यौं, तर कसरी? शक्‍तिको बलले। प्रेमको बलले राज्य चलाउने व्यक्‍ति येशू मात्रै हुनुहुन्छ र आजसम्म पनि उहाँको खातिर मर्न लाखौं मानिस तयार हुन्छन्‌।”

५. येशूको स्वभावले अरूलाई आकर्षित गर्नुको कारण के थियो?

येशू विनयी र नम्र हृदयको हुनुहुन्थ्यो। त्यसैकारण त दबाब र बोझले दबिएकाहरूले उहाँको उत्थानदायी शिक्षा र दयालु व्यवहारबाट स्फूर्ति पाए। (मत्ती ११:२८-३०) साना केटाकेटी उहाँकहाँ जान डराउँदैनथे। नम्र अनि विवेकशील मानिसहरू उहाँको चेला बन्‍न तयार भए। (मत्ती ४:१८-२२; मर्कूस १०:१३-१६) अरूको ख्याल राख्ने र आदर गर्ने उहाँको बानी देखेर परमेश्‍वरसँग डराउने स्त्रीहरू उहाँका वफादार चेला भए। येशू आफ्नो सेवकाईमा लाग्नुभएको बेला ती स्त्रीहरूमध्ये धेरैजसोले उहाँको हेरचाह गर्न मेहनत गरे, समय र भौतिक कुरा दिए।—लूका ८:१-३.

६. लाजरसको मृत्यु हुँदा येशूको कस्तो कोमल भावना देखियो?

आफ्नो घनिष्ठ साथी लाजरसको मृत्यु हुँदा येशूको सबैभन्दा कोमल भावना देखियो। मार्था र मरियम शोकमा डुबेको देख्दा उहाँ अत्यन्तै मर्माहत र विचलित हुनुभयो अनि “रुनुभयो।” हो, उहाँ “दुःखित” हुनुभयो। लाजरसलाई छिट्टै ब्यूँताइहाल्छु भनेर थाह हुँदा-हुँदै पनि दुःखले मन छियाछिया भएकोले उहाँलाई साह्रै पीर पऱ्‍यो। त्यसो भएपछि येशूको मन प्रेम र अनुकम्पाले भरियो अनि परमेश्‍वरले दिनुभएको अख्तियार चलाएर लाजरसलाई मरेको अवस्थाबाट ब्यूँताउनुभयो।—यूहन्‍ना ११:११-१५, ३३-३५, ३८-४४.

७. येशूप्रति हामी वफादार हुनुपर्छ, किन? (पृष्ठ ३१ मा दिइएको पेटी पनि हेर्नुहोस्‌।)

जे कुरा सही छ त्यसप्रति मरिमेट्‌ने तर कपट र खराबी पटक्कै नसहने येशूको बानी विचार गर्दा हामी दङ्‌ग पर्छौं। आँटिलो भएर उहाँले लोभी व्यापारीहरूलाई मन्दिरबाट दुई-दुई पटक लघार्नुभयो। (मत्ती २१:१२, १३; यूहन्‍ना २:१४-१७) साथै, यस पृथ्वीमा मानिस भएर जीवन बिताएको बेला हामीलाई पिरोल्ने दबाब तथा समस्याहरू उहाँ आफैले पनि झेलेर हरेक प्रकारका कठिनाइ सहनुभयो। (हिब्रू ५:७-९) कसैले घृणा र अन्याय गऱ्‍यो भने कस्तो लाग्छ, त्यो पनि येशूलाई थाह थियो। (यूहन्‍ना ५:१५-१८; ११:५३, ५४; १८:३८–१९:१६) अन्तमा, आफ्नो पिताको इच्छा पूरा गर्न र आफ्नो प्रजालाई अनन्त जीवन दिलाउन साहसी भई चरम यातना सहेर मर्न उहाँ तयार हुनुभयो। (यूहन्‍ना ३:१६) ख्रीष्टले देखाउनुभएको यस्ता गुणहरूले वफादार भई उहाँको सेवा गर्न तपाईंलाई झकझकाउँदैन र? (हिब्रू १३:८; प्रकाश ५:६-१०) तर राजा येशू ख्रीष्टको प्रजा हुन के गर्नुपर्छ?

ख्रीष्टको प्रजा हुन पूरा गर्नुपर्ने आवश्‍यकताहरू

८. ख्रीष्टका प्रजाहरू कस्तो हुनुपर्छ?

यो तुलना विचार गर्नुहोस्‌: अर्को देशको नागरिक बन्‍न साधारणतया केही आधारभूत आवश्‍यकता पूरा गर्नुपर्ने हुन्छ। नागरिकता लिन चाहने व्यक्‍तिहरूको आचरण असल हुनुपर्ने र स्वास्थ्यसम्बन्धी केही सर्तहरू पूरा गर्नुपर्ने हुन सक्छ। त्यसै गरी, ख्रीष्टका प्रजाहरूको नैतिक स्तर उच्च हुनुपर्छ र आध्यात्मिकतामा उनीहरू स्वस्थ हुनु जरुरी छ।—१ कोरिन्थी ६:९-११; गलाती ५:१९-२३.

९. ख्रीष्टप्रति वफादार छौं भनेर हामी कसरी देखाउन सक्छौं?

येशू ख्रीष्टले आफ्ना प्रजाहरू उहाँ र उहाँको राज्यप्रति वफादार भएको आशा गर्नु मनासिब छ। राजा बनाउन परमेश्‍वरले छान्‍नुभएको येशूले पृथ्वीमा छँदा जे-जे सिकाउनुभयो त्यसैअनुसार चलेर उनीहरू यस्तो वफादारिता देखाउँछन्‌। उदाहरणको लागि, उनीहरू भौतिक कुरालाई भन्दा परमेश्‍वरको राज्यसम्बन्धी कामकुरा र उहाँको इच्छा पूरा गर्नुलाई प्राथमिकता दिन्छन्‌। (मत्ती ६:३१-३४) उनीहरू अत्यन्तै गाह्रो अवस्थामा पनि ख्रीष्टको जस्तै गुण देखाउने भरमग्दुर कोसिस गर्छन्‌। (१ पत्रुस २:२१-२३) यसबाहेक, अरूप्रति असल व्यवहार गर्न अग्रसर भएर ख्रीष्टका प्रजाहरू उहाँको उदाहरण पछ्याउँछन्‌।—मत्ती ७:१२; यूहन्‍ना १३:३-१७.

१०. ख्रीष्टप्रति वफादार छौं भन्‍ने कुरा (क) परिवारमा र (ख) मण्डलीमा कसरी देखाउन सकिन्छ?

१० परिवारमा ख्रीष्टका गुणहरू झल्काएर पनि येशूका अनुयायीहरू उहाँप्रति वफादार भएको देखाउँछन्‌। उदाहरणको लागि, आफ्नी श्रीमती र छोराछोरीसित व्यवहार गर्दा ख्रीष्टका गुणहरू झल्काएर श्रीमान्‌हरूले स्वर्गमा हुनुहुने आफ्नो राजाप्रति वफादार भएको देखाउँछन्‌। (एफिसी ५:२५, २८-३०; ६:४; १ पत्रुस ३:७) आफ्नो आचरण पवित्र राखेर अनि “नम्र र शान्त आत्माको” भएर श्रीमतीहरूले पनि ख्रीष्टप्रति वफादार भएको प्रमाण दिन्छन्‌। (१ पत्रुस ३:१-४; एफिसी ५:२२-२४) ख्रीष्टजस्तै आज्ञाकारी हुँदा छोराछोरी उहाँप्रति वफादार भइरहेका हुन्छन्‌। येशूका आमाबाबु असिद्ध थिए। तैपनि सानो छँदा येशू उहाँहरूको अधीनमा बस्नुभयो। (लूका २:५१, ५२; एफिसी ६:१) “सहानुभूति देखाउने, भातृ-प्रेम गर्ने” र “कोमल हृदयका” भएर ख्रीष्टका प्रजाहरू वफादार भई उहाँको देखासिकी गर्ने प्रयास गर्छन्‌। “नम्र मनका, खराबीको बदला खराबी नगर्ने, अथवा गालीको बदला गाली नदिने” भएर उनीहरू ख्रीष्टजस्तै हुने कोसिस गर्छन्‌।—१ पत्रुस ३:८, ९; १ कोरिन्थी ११:१.

नियम कानुन पालन गर्ने प्रजाहरू

११. ख्रीष्टका प्रजाहरू कुन व्यवस्था अनुरूप जीवन बिताउँछन्‌?

११ अर्को देशको नागरिक बन्‍न चाहनेहरूले त्यस देशको नियम कानुन पालन गरेझैं ख्रीष्टका प्रजाहरू पनि येशूको शिक्षा र आज्ञाअनुसार चलेर ‘ख्रीष्टको व्यवस्थाको’ अधीनमा बस्छन्‌। (गलाती ६:२) साँच्चै भन्‍ने हो भने, उनीहरू वफादार भई प्रेमको “शाही व्यवस्था” अनुरूप जीवन बिताउँछन्‌। (याकूब २:८) यस व्यवस्थामा के-के छन्‌?

१२, १३. हामी कसरी वफादार भई ‘ख्रीष्टको व्यवस्थाको’ अधीनमा बस्न सक्छौं?

१२ ख्रीष्टका प्रजाहरू असिद्ध छन्‌ र उनीहरूबाट पनि भूलचूक हुन्छ। (रोमी ३:२३) त्यसकारण, “एउटाले अर्कोलाई हृदयले प्रगाढ प्रेम” गर्न आफ्ना “भाइप्रति निष्कपट प्रेम” देखाइरहनु आवश्‍यक छ। (१ पत्रुस १:२२) “कुनै मानिसको विरुद्धमा केही दोषको कारण छ भने” “एउटाले अर्कोलाई सहेर, . . . एउटाले अर्कोलाई क्षमा” गरेर मसीहीहरू वफादार भई ख्रीष्टको व्यवस्थाअनुसार चल्छन्‌। यस व्यवस्थाअनुसार चल्दा उनीहरूले अरूको असिद्धतालाई ध्यान दिनेछैनन्‌ र एक-अर्कालाई प्रेम गर्नुपर्ने कारण भेट्टाउनेछन्‌। वफादार भई मायालु राजाको अधीनमा बसेर सिद्धताको गाँठो प्रेम धारण गर्ने मानिसहरूमाझ हुन पाएकोमा के तपाईं रमाउनुहुन्‍न र?—कलस्सी ३:१३, १४.

१३ यसबाहेक, आफै उदाहरण बनेर येशूले देखाउनुभएको प्रेम मानिसहरूले एक-आपसमा देखाउने प्रेमभन्दा महान्‌ प्रेम हो भनेर उहाँले बताउनुभयो। (यूहन्‍ना १३:३४, ३५) हामीलाई प्रेम गर्नेहरूलाई मात्र प्रेम गऱ्‍यौं भने हामीले कुनै “बढ्‌ता” कुरा गरेका हुनेछैनौं। यसो गऱ्‍यौं भने त हाम्रो प्रेम अधुरो र खोटो हुनेछ। हामीलाई घृणा गर्ने र सताउने शत्रुहरूलाई समेत सैद्धान्तिक प्रेम देखाएर पिताको प्रेम अनुकरण गर्न येशूले हामीलाई आग्रह गर्नुभयो। (मत्ती ५:४६-४८) यस किसिमको प्रेमले परमेश्‍वरको राज्यका प्रजाहरूलाई आफ्नो मुख्य काममा लागिरहन उत्प्रेरणा दिन्छ। तर के हो यो मुख्य काम?

वफादारिताको जाँच

१४. प्रचार गर्नु किन एकदमै महत्त्वपूर्ण छ?

१४ परमेश्‍वरको राज्यका प्रजाहरूको काँधमा “परमेश्‍वरको राज्यबारे” विस्तृत साक्षी दिने अत्यन्त महत्त्वपूर्ण काम छ। (प्रेरित २८:२३) यो काम गर्नु नितान्त जरुरी छ किनभने यही मसीही राज्यले यहोवा सारा ब्रह्‍माण्डको सर्वोच्च परमेश्‍वर हुनुहुन्छ भनेर प्रमाणित गर्नेछ। (१ कोरिन्थी १५:२४-२८) हामीले सुसमाचार सुनाउँदा हाम्रो कुरा सुन्‍ने जतिले परमेश्‍वरको राज्यका प्रजाहरू हुने मौका पाउँछन्‌। साथै, हामीले सुनाउने सन्देशप्रति मानिसहरूले कस्तो प्रतिक्रिया देखाउँछन्‌, त्यसैको आधारमा राजा येशू ख्रीष्टले उनीहरूको न्याय गर्नुहुनेछ। (मत्ती २४:१४; २ थिस्सलोनिकी १:६-१०) त्यसैले, ख्रीष्टप्रति वफादार छौं भनेर देखाउने एउटा प्रमुख तरिका, परमेश्‍वरको राज्यबारे अरूलाई प्रचार गर्नू भन्‍ने ख्रीष्टकै आज्ञा पालन गरेर हो।—मत्ती २८:१८-२०.

१५. मसीहीहरूको वफादारिताको जाँच हुनुको कारण के हो?

१५ प्रचारकार्यलाई रोक्न शैतानले भएभरको युक्‍ति लगाउँछ र परमेश्‍वरले ख्रीष्टलाई दिनुभएको अख्तियार मानव शासकहरूले पनि स्वीकार्दैनन्‌। (भजन २:१-३, ६-८) त्यसैकारण त येशूले आफ्ना चेलाहरूलाई यसो भनेर होसियार गराउनुभयो: “दास आफ्नो मालिकभन्दा ठूलो हुँदैन। तिनीहरूले मलाई सताए भने, तिमीहरूलाई पनि सताउनेछन्‌।” (यूहन्‍ना १५:२०) यसकारण, ख्रीष्टका अनुयायीहरू आफ्नो वफादारिताको जाँच हुने आध्यात्मिक युद्धमा छन्‌।—२ कोरिन्थी १०:३-५; एफिसी ६:१०-१२.

१६. परमेश्‍वरको राज्यका प्रजाहरू कसरी “परमेश्‍वरका चीजहरू परमेश्‍वरलाई” दिन्छन्‌?

१६ तैपनि, परमेश्‍वरको राज्यका प्रजाहरू मानव अख्तियारवालाहरूको अनादर नगरी आफ्नो अदृश्‍य राजाप्रति वफादार रहन्छन्‌। (तीतस ३:१, २) येशूले भन्‍नुभयो: “सिजरका चीजहरू सिजरलाई देओ, र परमेश्‍वरका चीजहरू परमेश्‍वरलाई।” (मर्कूस १२:१३-१७) त्यसकारण, ख्रीष्टका प्रजाहरू परमेश्‍वरको व्यवस्थासित नबाझिने सरकारको नियम कानुन पालन गर्छन्‌। (रोमी १३:१-७) तर प्रचार गर्न बन्द गर्ने आदेश दिएर यहूदी सर्वोच्च अदालतले परमेश्‍वरको व्यवस्थाको धज्जी उडाउन खोज्दा येशूका चेलाहरूले दृढ तर आदरभावसाथ यसो भने, “हामीले मानिसहरूको भन्दा परमेश्‍वरको आज्ञा अवश्‍य मान्‍नुपर्छ।”—प्रेरित १:८; ५:२७-३२.

१७. आँटिलो भएर हामी वफादारिताको जाँच सामना गर्न सक्छौं, किन?

१७ हुन त सतावट आइपरेको बेला आफ्ना राजा ख्रीष्टप्रति वफादार रहन उहाँका प्रजाहरूलाई निकै आँट चाहिन्छ। तर येशूले भन्‍नुभयो: “धन्य हौ तिमीहरू जब मानिसहरूले तिमीहरूलाई मेरो खातिर निन्दा गर्नेछन्‌, र खेदो गर्नेछन्‌, र हरेक किसिमको खराबी कुरा तिमीहरूका विरुद्धमा बोल्नेछन्‌। तब रमाओ, र अत्यन्त खुशी होओ। किनभने स्वर्गमा तिमीहरूको इनाम ठूलो हुनेछ।” (मत्ती ५:११, १२) ख्रीष्टका सुरुका चेलाहरूले यो कुरा प्रत्यक्ष भोगे। परमेश्‍वरको राज्यबारे प्रचार गर्न बन्द नगरेकोमा कुटाइ खाए पनि उनीहरू रमाए किनभने ख्रीष्टको “ ‘नाउँमा अपमान सहनु सौभाग्यको कुरो हो’ भनी सम्झी . . . दिनदिनै तिनीहरूले मन्दिरमा र घरघरमा गएर शिक्षा दिन र येशूनै ख्रीष्ट हुन्‌ भन्‍ने सुसमाचार सुनाउन बन्द गरेनन्‌।” (प्रेरित ५:४१, ४२) अनेकौं कठिनाइ, रोगबिमार, शोक अथवा सतावटले सताउँदा समेत वफादार रहिरहनुभएकोमा तपाईंको पनि प्रशंसा त गर्नै पर्छ।—रोमी ५:३-५; हिब्रू १३:६.

१८. येशूले पन्तियस पिलातसलाई भन्‍न खोज्नुभएको कुरा के हो?

१८ राजा भएर शासन गर्न थाल्नुअघि नै येशूले रोमी राज्यपाल पन्तियस पिलातसलाई यसो भन्‍नुभएको थियो: “मेरो राज्य यस संसारको होइन। मेरो राज्य यस संसारको हुँदो हो ता म यहूदीहरूका हातमा नसुम्पिनलाई मेरा चाकरहरूले लडाइँ गर्नेथिए, तर अब मेरो राज्य यहाँको होइन।” (यूहन्‍ना १८:३६) त्यसकारण, स्वर्गीय राज्यका प्रजाहरू कसै विरुद्ध हतियार उठाउँदैनन्‌ र कुनै मानव झैझगडामा मुछिंदैनन्‌। “शान्तिका राजकुमार[प्रति]” वफादार रहँदै उनीहरू विभाजित संसारमा पूर्णतया तटस्थ रहन्छन्‌।—यशैया २:२-४; ९:६, ७.

वफादार प्रजाहरूले पाउने चिरकालीन इनामहरू

१९. ख्रीष्टका प्रजाहरूले किन निर्धक्क भई भविष्यको बाटो हेर्न सक्छन्‌?

१९ ख्रीष्ट “राजाहरूका महाराजा” हुनुहुन्छ। उहाँका वफादार प्रजाहरू निर्धक्क भई भविष्यको बाटो हेर्छन्‌। आफ्नो राजाले अब चाँडै यस पृथ्वीमा अद्‌भुत शक्‍ति प्रकट गरेको हेर्न उनीहरू उत्सुक छन्‌। (प्रकाश १९:११–२०:३; मत्ती २४:३०) “राज्यका” वफादार तथा आत्मा-अभिषिक्‍त ‘सन्तानका’ बाँकी जनहरू स्वर्गमा ख्रीष्टसँगै राजा भएर राज्य गर्न पाउने अनमोल अधिकारको प्रतीक्षामा छन्‌। (मत्ती १३:३८; लूका १२:३२) ख्रीष्टका वफादार “अरू भेडा” चाहिं आफ्नो राजाले यसो भनेर अनुमोदन व्यक्‍त गरेको सुन्‍न आतुर छन्‌: “आओ, ए मेरा पिताका धन्यका हो, जो राज्य [पार्थिव प्रमोदवन] जगत्‌को उत्पत्तिदेखि तिमीहरूका निम्ति तयार गरिएको छ, त्यो अधिकार गर।” (यूहन्‍ना १०:१६; मत्ती २५:३४) त्यसकारण, परमेश्‍वरको राज्यका सम्पूर्ण प्रजा वफादार भई राजा येशू ख्रीष्टको सेवा गरिरहन कटिबद्ध हुन सकून्‌। (w06 5/1)

[फुटनोट]

a यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबलले वास्तवमा के सिकाउँछ? पुस्तकको पृष्ठ २१५-२१८ मा दिइएको “सन्‌ १९१४—बाइबल भविष्यवाणीमा एउटा महत्त्वपूर्ण वर्ष” भन्‍ने लेख हेर्नुहोस्‌।

के तपाईं बुझाउन सक्नुहुन्छ?

• हामी किन येशूप्रति वफादार हुनुपर्छ?

• ख्रीष्टप्रति वफादार भएको कुरा उहाँका प्रजाहरूले कसरी देखाउँछन्‌?

• हामी किन राजा येशू ख्रीष्टप्रति वफादार हुन चाहन्छौं?

[प्रश्‍नहरू]

[पृष्ठ ३१-मा भएको पेटी]

ख्रीष्टका अरू उल्लेखनीय गुणहरू

निष्पक्षतायूहन्‍ना ४:७-३०.

अनुकम्पामत्ती ९:३५-३८; १२:१८-२१; मर्कूस ६:३०-३४.

आत्मत्यागी प्रेमयूहन्‍ना १३:१; १५:१२-१५.

वफादारितामत्ती ४:१-११; २८:२०; मर्कूस ११:१५-१८.

समानुभूतिमर्कूस ७:३२-३५; लूका ७:११-१५; हिब्रू ४:१५, १६.

व्यावहारिकतामत्ती १५:२१-२८.

[पृष्ठ २९-मा भएको चित्र]

एक-अर्कालाई प्रेम गरेर वफादार भई हामी ‘ख्रीष्टको व्यवस्थाको’ अधीनमा बस्छौं

[पृष्ठ ३१-मा भएका चित्रहरू]

ख्रीष्टका गुणहरूले तपाईंलाई वफादार भई उहाँको सेवा गर्न उत्प्रेरित गर्छ?