सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के तपाईं बचाउको लागि तयार हुनुहुन्छ?

के तपाईं बचाउको लागि तयार हुनुहुन्छ?

के तपाईं बचाउको लागि तयार हुनुहुन्छ?

“तँ र तेरा सबै जहान जहाजमा आओ। किनभने यस पुस्तामा मेरो सामु तँलाई मात्र मैले धर्मी देखेको छु।”—उत्पत्ति ७:१.

१. नूहको समयमा यहोवाले बचाउको लागि कस्तो प्रबन्ध मिलाउनुभयो?

 नूहको समयमा यहोवाले “अभक्‍तहरूको संसारमा जलप्रलय” ल्याउनुभयो तर बचाउको लागि उहाँले प्रबन्ध पनि मिलाउनुभयो। (२ पत्रुस २:५) संसारभरि जलप्रलय हुँदा जीवन बचाउनको लागि जहाज कसरी बनाउने भनेर साँचो परमेश्‍वरले धर्मी नूहलाई स्पष्ट निर्देशन दिनुभयो। (उत्पत्ति ६:१४-१६) यहोवाको आज्ञाकारी सेवकले जे गरेको आशा गरिन्छ, “नूहले त्यसै गरे—परमेश्‍वरले तिनीलाई आज्ञा गरेबमोजिम तिनले सबै गरे।” केही हदसम्म त, नूहको आज्ञाकारिताले गर्दा नै आज हामी जीवित छौं।—उत्पत्ति ६:२२.

२, ३. (क) नूहको कामप्रति त्यतिखेरका मानिसहरूले कस्तो प्रतिक्रिया देखाए? (ख) कस्तो विश्‍वास लिएर नूह जहाजभित्र पसे?

जहाज बनाउनु सजिलो काम थिएन। नूह र तिनको परिवारले जहाज बनाएको देख्दा धेरै मानिसहरू छक्क परे होलान्‌। तर त्यो देखेर पनि बच्नको लागि जहाजभित्रै पस्नुपर्छ भनेर तिनीहरू विश्‍वस्त हुन सकेनन्‌। अन्तमा, परमेश्‍वरको धैर्यको सीमा नाघेपछि उहाँले दुष्ट संसारलाई नाश गर्नुभयो।—उत्पत्ति ६:३; १ पत्रुस ३:२०.

नूह र तिनको परिवारले दशकौंसम्म कडा मेहनत गरेपछि यहोवाले नूहलाई भन्‍नुभयो: “तँ र तेरा सबै जहान जहाजमा आओ। किनभने यस पुस्तामा मेरो सामु तँलाई मात्र मैले धर्मी देखेको छु।” यहोवाले भन्‍नुभएको कुरामा पूरा विश्‍वास गर्दै “नूह, तिनका छोराहरू, तिनकी स्वास्नी तथा तिनका बुहारीहरू . . . जहाजमा आए।” आफ्ना उपासकहरूलाई जोगाउन यहोवाले जहाजको ढोका थुनिदिनुभयो। पृथ्वीमा जलप्रलय हुँदा त्यही जहाज नै बचाउको लागि परमेश्‍वरले गर्नुभएको भरपर्दो प्रबन्ध साबित भयो।—उत्पत्ति ७:१, ७, १०, १६.

नूहको समय र हाम्रो समय उस्तै छ

४, ५. (क) आफ्नो उपस्थितिको समयलाई येशूले केसित तुलना गर्नुभयो? (ख) नूहको समय र हाम्रो समयबीचका उस्तै कुरा के-के हुन्‌?

“जस्तो नूहको दिनमा भएथ्यो, उस्तैगरी मानिसको पुत्रको आगमन [“उपस्थिति,” NW] हुनेछ।” (मत्ती २४:३७) यी शब्दहरूद्वारा येशूले आफ्नो अदृश्‍य उपस्थिति नूहको दिनजस्तै हुनेछ भनेर संकेत गर्नुभयो। अनि साँच्चै त्यस्तै भएको छ। नूहको पालामा जसरी चेतावनी दिइएको थियो, विशेष गरी सन्‌ १९१९ देखि सबै राष्ट्रका मानिसहरूलाई त्यसरी नै चेतावनी दिने काम भइरहेको छ। प्रायजसो मानिसहरूको प्रतिक्रिया पनि नूहको समयका मानिसहरूको जस्तै छ।

“उपद्रव” अर्थात्‌ हिंसाले भरिएको संसारलाई कारबाही गर्न यहोवाले जलप्रलय ल्याउनुभयो। (उत्पत्ति ६:१३) नूह र तिनको परिवारले त्यतिबेलाको हिंसामा भाग लिएनन्‌। बरु, जहाज बनाउने काममा शान्तपूर्वक लागिरहे। त्यो सबैको अगाडि छर्लङ्‌गै थियो। हाम्रो समयमा पनि यस्तै भइरहेको छ। सफा मन भएका मानिसहरूले “धर्मी र दुष्ट, अनि परमेश्‍वरको सेवा गर्ने र उहाँको सेवा नगर्नेको भेद” छुट्याउन सक्छन्‌। (मलाकी ३:१८) निष्पक्ष मानिसहरूले यहोवाका साक्षीहरू इमानदार, दयालु, शान्तिप्रिय र लगनशील छन्‌ भनेर तारिफ गर्छन्‌। यिनै गुणहरूले गर्दा संसारका मानिसहरूभन्दा उनीहरू भिन्‍नै छन्‌। साक्षीहरू सबै प्रकारको हिंसा तिरस्कार गर्छन्‌ अनि यहोवाको आत्माको डोऱ्‍याइअनुसार चल्छन्‌। यसैकारण तिनीहरूमाझ शान्ति छ र तिनीहरू धार्मिकताको बाटोमा हिंड्‌छन्‌।—यशैया ६०:१७.

६, ७. (क) नूहको समयमा मानिसहरूले कुन कुरा बुझ्न सकेनन्‌ अनि हाम्रो समय पनि कसरी उस्तै छ? (ख) यहोवाका साक्षीहरू अरूभन्दा फरक हुन्छन्‌ भनेर साधारणतया मानिसहरूले मानिलिएको कुरा कस्ता उदाहरणले देखाउँछ?

नूहलाई परमेश्‍वरले साथ दिइरहनुभएको छ र तिनी जे गर्दैछन्‌, त्यो परमेश्‍वरकै निर्देशनअनुसार हो भनेर नूहको समयका मानिसहरूले बुझ्न सकेनन्‌। त्यसकारण नूहले प्रचार गर्दा तिनीहरूले वास्तै गरेनन्‌ र तिनले दिएको चेतावनीअनुसार चलेनन्‌। आज नि? हुन त, धेरै जनाले यहोवाका साक्षीहरूको काम र आचरणको तारिफ गर्छन्‌। तर साक्षीहरूले गर्ने प्रचार र बाइबलको चेतावनीलाई धेरैजसोले गम्भीरतापूर्वक लिंदैनन्‌। छिमेकी, हाकिम वा नातेदारहरूले साँचो मसीहीहरूले देखाउने असल गुणहरूको निकै प्रशंसा गर्लान्‌ तर तिनीहरू यस्तो दुखेसो पोख्छन्‌: “उनीहरू यहोवाको साक्षी नभइदिएको भए त हुन्थ्यो नि!” परमेश्‍वरको पवित्र आत्माले गर्दा नै साक्षीहरूले प्रेम, शान्ति, दया, भलाइ, नम्रता र आत्म-संयमजस्ता गुणहरू देखाउन सकेका हुन्‌ भनेर ती मानिसहरूले बुझेका छैनन्‌। (गलाती ५:२२-२५) यस्ता गुणहरू देखेपछि मानिसहरूले साक्षीहरूले सुनाउने सन्देश झनै विश्‍वास गर्नुपर्ने हो।

उदाहरणका लागि, रूसमा यहोवाका साक्षीहरू राज्यभवन निर्माण गर्दै थिए। एक जना बटुवाले त्यहाँ काम गरिरहेको मानिसलाई भन्यो: “कस्तो अचम्म! चूरोट खाने, जथाभावी बोल्ने कोही छैन। सबै भलाद्‌मी छन्‌। कतै तपाईं यहोवाको साक्षी त होइन?” काम गरिरहेको त्यस मानिसले उसैलाई सोध्यो: “मैले ‘होइन’ भनें भने, पत्याउनुहुन्छ?” प्रश्‍न भुइँमा खस्न नपाउँदै बटुवाले जवाफ दियो: “अहँ, पत्याउँदिनँ!” रूसकै अर्को सहरमा यहोवाका साक्षीहरूले राज्यभवन निर्माण गरेको देखेर त्यहाँका मेयर दङ्‌ग परे। पहिला तिनलाई सबै धार्मिक समूह उस्तै लाग्थ्यो तर यहोवाका साक्षीहरूले निस्वार्थ भई मेहनत गरेको देखेपछि भने आफ्नो सोचाइ बदलिएको कुरा तिनले बताए। बाइबलका स्तरहरू पालन नगर्ने व्यक्‍तिहरूभन्दा यहोवाका साक्षीहरू फरक छन्‌ भनेर देखाउने यी त दुई उदाहरण मात्र हुन्‌।

८. यो दुष्ट संसार नाश हुँदा बच्ने कि नबच्ने भन्‍ने कुरा केमा निर्भर छ?

जलप्रलयमा नाश भएको ‘प्राचीन संसारको’ अन्ततिर नूहले वफादार भई ‘धार्मिकताको प्रचार’ गरिरहेका थिए। (२ पत्रुस २:५, NRV) यस वर्तमान रीतिरिवाजको आखिरी दिनमा यहोवाका जनहरूले उहाँको धार्मिक स्तर सबैलाई थाह दिइरहेका छन्‌ र नयाँ संसारमा प्रवेश गर्न सम्भव छ भन्‍ने सुसमाचार सुनाइरहेका छन्‌। (२ पत्रुस ३:९-१३) नूह र परमेश्‍वरको डर राख्ने तिनको परिवार जहाजभित्र पसे र बचे। त्यसरी नै अहिले पनि मानिसहरू बच्ने कि नबच्ने भन्‍ने कुरा तिनीहरूको विश्‍वास र यहोवाको विश्‍वव्यापी संगठनको पार्थिव भागप्रति वफादार हुनुमा निर्भर छ।

बचाउको लागि विश्‍वास चाहिन्छ

९, १०. शैतानको रीतिरिवाज नाश हुँदा बच्ने हो भने विश्‍वास नभई हुँदैन, किन?

शैतानको नियन्त्रणमा रहेको यो संसार चाँडै नाश हुँदैछ। यसबाट बच्न के गर्नुपर्छ? (१ यूहन्‍ना ५:१९) सबैभन्दा पहिला, सुरक्षा चाहिन्छ भनेर मानिलिनै पर्छ। त्यसपछि सुरक्षाको प्रबन्धबाट लाभ उठाउनै पर्छ। नूहको समयका मानिसहरू सदाझैं आफ्नै दिनचर्यामा लागिरहे अनि आउँदै गरेको विनाशबाट बच्न सुरक्षा चाहिन्छ भनेर महसुस गरेनन्‌। तिनीहरूसित एउटा कुराको अभाव थियो—त्यो हो, परमेश्‍वरमाथि विश्‍वास।

१० अर्कोतर्फ, नूह र तिनको परिवारले सुरक्षा र बचाउको आवश्‍यकता बुझे। उनीहरूले सारा ब्रह्‍माण्डको सार्वभौम यहोवा परमेश्‍वरमाथि पनि विश्‍वास राखे। प्रेरित पावलले यस्तो लेखे: “विना विश्‍वास [यहोवालाई] रिझाउन असम्भव छ। किनभने जो परमेश्‍वरकहाँ आउँछ, त्यसले उहाँको अस्तित्व छ भन्‍ने, र उहाँलाई खोज्नेहरूलाई प्रतिफल दिनुहुन्छ भन्‍ने अवश्‍य विश्‍वास गर्नुपर्छ।” पावलले अझ यसो भने: “विश्‍वासैबाट त्यस बेलासम्म नदेखिएका कुरामा परमेश्‍वरबाट जनाउ पाएपछि आफ्ना परिवारलाई बचाउन नूहले जहाज तयार पारे। त्यसद्वारा उनले संसारलाई दोषी ठहराएर विश्‍वासअनुसारको धार्मिकताका हकदार भए।”—हिब्रू ११:६, ७.

११. विगतमा यहोवाले गर्नुभएको सुरक्षाबाट हामी के सिक्न सक्छौं?

११ अहिलेको दुष्ट रीतिरिवाज विनाश हुँदा बच्ने हो भने, यो रीतिरिवाज नाश हुनेछ भनेर विश्‍वास गर्नु मात्र पर्याप्त छैन। बचाउको लागि परमेश्‍वरले गर्नुभएको प्रबन्धबाट पूरा लाभ उठाउँदै विश्‍वासअनुसार काम पनि गर्नुपर्छ। हो, परमेश्‍वरको पुत्र येशू ख्रीष्टले चढाउनुभएको छुटकाराको बलिदानमा विश्‍वास गर्नुपर्छ। (यूहन्‍ना ३:१६, ३६) तर एउटा कुरा नबिर्सौं, नूहको जहाजभित्र पसेका मानिसहरू मात्र जलप्रलयमा बचेका थिए। त्यसरी नै, प्राचीन इस्राएलमा पनि अनजानमा कसैको ज्यान लिने हत्याराले शरण-नगरमा सुरक्षा पाउन सक्थ्यो। तर त्यस्तो सुरक्षा पाउन ऊ शरण-नगरमा भागिहाल्नुपर्थ्यो र प्रधान पूजाहारीको मृत्यु नहोउञ्जेल त्यहीं बस्नुपर्थ्यो। (गन्ती ३५:११-३२) मोशाको समयमा मिश्रमाथि आइपरेको दशौं विपत्तिले गर्दा मिश्रीहरूका जेठा छोरा मरे तर इस्राएलीहरूका जेठा छोरा भने बचे। किन? यहोवाले मोशालाई यस्तो निर्देशन दिइसक्नुभएको थियो: “[इस्राएलीहरूले निस्तार चाडमा चढाएको पाठोको] रगत . . . लिएर जुन-जुन घरमा त्यो [पाठो] खाइन्छ, त्यसको चौकोसका दुइपट्टिकाका खामाहरू र माथिल्लो खामामा लाउनू। . . . तिमीहरूमध्ये कोही पनि बिहानसम्म घरको ढोका बाहिर ननिस्कनू।” (प्रस्थान १२:७, २२) चौकोसको दुईपट्टिका खामा र माथिल्लो खामामा रगत लगाएको घरका इस्राएलीहरूमध्ये कुन चाहिंको जेठो छोराले परमेश्‍वरले दिनुभएको निर्देशनलाई बेवास्ता गर्ने आँट गर्न सक्थ्यो र?

१२. प्रत्येकले आफैलाई कस्तो प्रश्‍न सोध्नुपर्छ र किन?

१२ यसकारण हामीले आफ्नो अवस्थाबारे होस पुऱ्‍याएर सोच्नुपर्ने ठोस कारण छ। आध्यात्मिक सुरक्षाको लागि यहोवाले गर्नुभएको प्रबन्धबाट के मैले पूरा लाभ उठाइरहेको छु? यस्तो सुरक्षा खोज्नेहरूले महासंकष्ट आउँदा खुसी र कृतज्ञताको आँसु बगाउनेछन्‌। तर त्यसो नगर्नेहरूले भने दुःख र पछुतोको आँसु बगाउनेछन्‌।

संगठनमा भएका क्रमिक सुधारले बचाउको लागि हामीलाई तयार पार्छ

१३. (क) संगठनमा भएका सुधारहरूको उद्देश्‍य के हो? (ख) संगठनमा भएका केही क्रमिक सुधारबारे बताउनुहोस्‌।

१३ आफ्नो संगठनको पार्थिव भागमा यहोवाले क्रमिक रूपमा सुधारहरू गर्दै आउनुभएको छ। यस्ता सुधारहरूले आध्यात्मिक सुरक्षा दिन उहाँले गर्नुभएको प्रबन्धलाई अझ सुन्दर, स्थिर र सुदृढ बनाएका छन्‌। सन्‌ १८७० को दशकदेखि १९३२ सम्म मण्डलीका सदस्यहरूले प्राचीन तथा डिकनहरू छान्‍न भोट खसाल्थे। सन्‌ १९३२ मा निर्वाचित प्राचीनहरूको सट्टा मण्डलीमा सेवा समिति निर्वाचन गर्ने प्रबन्ध मिलाइयो। त्यस समितिले नियुक्‍त सेवा निर्देशकलाई सघाउँथ्यो। सन्‌ १९३८ तिर मण्डलीका सबै सेवकहरू ईश्‍वरतान्त्रिक ढङ्‌गमा नियुक्‍त हुनुपर्ने प्रबन्ध मिलाइयो। यहोवाका साक्षीहरूको परिचालक निकायको निर्देशनअनुसार सन्‌ १९७२ देखि भने सेवकहरू सिफारिस गर्न थालियो र यी सिफारिस स्वीकृत भएमा निरीक्षक तथा सेवकाई सेवकहरू ईश्‍वरतान्त्रिक ढङ्‌गमा नियुक्‍त भएको पत्र मण्डलीले पाउँछन्‌। समयको दौडान परिचालक निकायको कार्यभार बढेको छ र काम अझ सुचारु रूपले गर्न छाँटकाँट गरिएको छ।

१४. सन्‌ १९५९ मा कस्तो प्रशिक्षण कार्यक्रम सुरु भयो?

१४ सन्‌ १९५० मा भजन ४५:१६ लाई ध्यान दिएर केलाउँदा निरन्तर प्रशिक्षण दिने कार्यक्रमको आवश्‍यकता देखियो। त्यस पदमा यस्तो लेखिएको छ: “तिम्रा पुर्खाका सट्टामा तिम्रा छोराहरू हुनेछन्‌। तिनलाईनै तिमीले सारा पृथ्वीभरिका राजकुमार तुल्याउनेछौ।” हाल मण्डलीमा नेतृत्व लिइरहेका प्राचीनहरूले अहिले अनि आरमागेडोनपछि ईश्‍वरतान्त्रिक जिम्मेवारी सम्हाल्ने प्रशिक्षण पाइरहेका छन्‌। (प्रकाश १६:१४, १६) किङ्‌गडम मिनिस्ट्री स्कूल अर्थात्‌ राज्य सेवकाई स्कूल सन्‌ १९५९ मा सुरु भयो। अहिले मण्डलीको अध्यक्ष भनिने त्यतिबेलाका मण्डलीका सेवकहरूलाई मात्रै एक महिनासम्म प्रशिक्षण दिइयो। अहिले यही स्कूलमार्फत सबै निरीक्षक तथा सेवकाई सेवकहरूलाई प्रशिक्षण दिइन्छ। त्यसपछि, यी भाइहरूले आ-आफ्नो मण्डलीमा रहेका भाइबहिनीहरूलाई प्रशिक्षण दिन्छन्‌। यस प्रकार सबैले आध्यात्मिक मदत पाउँछन्‌ र परमेश्‍वरको राज्यको सुसमाचार अझ प्रभावकारी ढङ्‌गमा प्रचार गर्न सुसज्जित हुन्छन्‌।—मर्कूस १३:१०.

१५. मसीही मण्डलीको शुद्धतालाई जोगाउने दुइटा तरिका के-के हुन्‌?

१५ मसीही मण्डलीको भाग हुन चाहने व्यक्‍तिहरूले केही खास आवश्‍यकताहरू पूरा गर्नै पर्छ। गिल्ला गर्नेहरूलाई नूहको जहाजमा पस्न दिइएन। अहिले पनि त्यस्ता व्यक्‍तिहरूलाई मसीही मण्डलीमा रहन नदिनु स्वाभाविकै हो। (२ पत्रुस ३:३-७) खास गरी सन्‌ १९५२ देखि यहोवाका साक्षीहरूले मण्डलीलाई जोगाउने एउटा प्रबन्धबारे अझ राम्ररी बुझेका छन्‌। त्यो हो—पाप गर्ने तर पश्‍चात्ताप नगर्ने व्यक्‍तिहरूलाई मण्डलीबाट बहिष्कार गर्ने। साँचो पश्‍चात्ताप गर्ने व्यक्‍तिहरूलाई भने ‘तिनीहरूका खुट्टाहरूको निम्ति सीधा मार्ग बनाउन’ मायालु मदत दिइन्छ।—हिब्रू १२:१२, १३; हितोपदेश २८:१३; गलाती ६:१.

१६. यहोवाका जनहरूको आध्यात्मिक अवस्था कस्तो छ?

१६ यहोवाका जनहरूको आध्यात्मिक संवृद्धि अचम्मको कुरा वा संयोगको उपज होइन। अगमवक्‍ता यशैयामार्फत यहोवाले यसो भन्‍नुभयो: “हेर, मेरा दासहरूले खानेछन्‌, तर तिमीहरू भने भोकाउनेछौ। हेर, मेरा दासहरूले पिउनेछन्‌, तर तिमीहरू भने तिर्खाउनेछौ। हेर, मेरा दासहरूले हर्ष मनाउनेछन्‌, तर तिमीहरू चाहिं लाजमा पर्नेछौ। हेर, मेरा दासहरू हृदयमा आनन्द भएकाले गाउनेछन्‌, तर तिमीहरू चाहिं हृदयमा दुःख भएकोले रूनेछौ, र आत्मामा खिन्‍न भएकोले चिच्याई चिच्याई रूनेछौ।” (यशैया ६५:१३, १४) हामीलाई आध्यात्मिक तवरमा बलियो बनाउन यहोवाले समय सुहाउँदो तथा स्वस्थकर आध्यात्मिक भोजन प्रशस्त मात्रामा दिइरहनुभएको छ।—मत्ती २४:४५.

बचाउको लागि तयार हुनुहोस्‌

१७. बच्नको लागि तयार रहन कुन कुराले हामीलाई मदत गर्छ?

१७ “प्रेम र सुकर्ममा उत्तेजित गराएर एउटाले अर्कोको विचार राख्ने गरौं। कसै कसैको बानी भएझैं, हामी एक ठाउँमा भेला हुनलाई नछोडौं। तर . . . एउटाले अर्कोलाई झन्‌ बढ्‌ता गरेर अर्ती दिंदै गरौं” भन्‍ने सल्लाह पहिलेभन्दा अहिले झनै लागू गर्नुपर्ने भएको छ। (हिब्रू १०:२३-२५) यहोवाका साक्षीहरूको ९८,००० भन्दा बढी मण्डली छन्‌। तीमध्ये कुनै एउटासित नजिक र सक्रिय भइरह्‍यौं भने बचाउको लागि तयार रहन मदत पाउनेछौं। “नयाँ मानिस” अर्थात्‌ नयाँ व्यक्‍तित्व धारण गर्ने प्रयास गर्दा र बचाउको लागि यहोवाले गर्नुभएको प्रबन्धबारे सिक्न अरूलाई तनमनले मदत दिंदा हामीलाई सँगी भाइबहिनीले साथ दिइरहेका हुनेछन्‌।—एफिसी ४:२२-२४; कलस्सी ३:९, १०; १ तिमोथी ४:१६.

१८. मसीही मण्डलीसित नजिक रहन तपाईं किन कटिबद्ध हुनुहुन्छ?

१८ शैतान र त्यसको दुष्ट संसार हामीलाई मसीही मण्डलीबाट बाहिर निकाल्न लागिपरेको छ। तर हामी मण्डलीको भाग रहिरहन र यस दुष्ट रीतिरिवाजको विनाशबाट बच्न सक्छौं। यहोवाप्रतिको प्रेम र उहाँले गर्नुभएका मायालु प्रबन्धहरूप्रतिको कृतज्ञताले हामीलाई शैतानका कर्तुतहरू नाकाम तुल्याउन पहिलेभन्दा अझ कटिबद्ध बनाओस्‌। अहिले पाइरहेका आशिष्‌हरूबारे मनन गर्दा हाम्रो संकल्प झनै बलियो हुनेछ। अर्को लेखमा यस्तै केही आशिष्‌बारे छलफल गर्नेछौं। (w06 5/15)

तपाईंको जवाफ?

• नूहको समय र हाम्रो समय कुन अर्थमा उस्तै छ?

• बचाउको लागि कुन गुण नभई हुँदैन?

• आध्यात्मिक सुरक्षा दिन यहोवाले गर्नुभएको प्रबन्धलाई कस्ता क्रमिक सुधारहरूले अझ सुन्दर, स्थिर र सुदृढ बनाएका छन्‌?

• बचाउको लागि हामी कसरी व्यक्‍तिगत तवरमा तयार हुन सक्छौं?

[प्रश्‍नहरू]

[पृष्ठ ११-मा भएको चित्र]

परमेश्‍वरको चेतावनीलाई गम्भीरतापूर्वक लिंदा हाम्रै लाभ हुन्छ

[पृष्ठ १२-मा भएको चित्र]

राज्य सेवकाई स्कूलको उद्देश्‍य के हो?

[पृष्ठ १३-मा भएको चित्र]

मसीही मण्डलीसित नजिक हुनुपर्ने समय अहिल्यै हो