सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

‘जिउनको लागि जीवन नै रोज्नुहोस्‌’

‘जिउनको लागि जीवन नै रोज्नुहोस्‌’

‘जिउनको लागि जीवन नै रोज्नुहोस्‌’

“मैले तिमीहरूका अगि जीवन र मृत्यु, आशिष र सराप राखेको छु। यसकारण जीवननै रोज र तिमीहरू र तिमीहरूका भावी पुस्ता जिउनेछौ।”—व्यवस्था ३०:१९.

१, २. कुन-कुन तरिकामा मानिसलाई परमेश्‍वरको स्वरूपमा सृष्टि गरिएको थियो?

 मानिसलाई आफ्नै स्वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं।” परमेश्‍वरले भन्‍नुभएको यो कुरा बाइबलको पहिलो अध्यायमा लेखिएको छ। उत्पत्ति १:२६, २७ भन्छ: “यसैकारण परमेश्‍वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो। परमेश्‍वरकै स्वरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो।” त्यस अर्थमा प्रथम मानिस पृथ्वीमा भएका अरू सबै कुराभन्दा फरक थिए। तिनी आफ्नो सृष्टिकर्ताजस्तै थिए अर्थात्‌ परमेश्‍वरजस्तै तिनी पनि तर्क गर्न, प्रेम, न्याय, बुद्धि र शक्‍ति देखाउन सक्थे। तिनले आफूलाई लाभ हुने र स्वर्गमा बस्नुहुने पितालाई खुसी पार्ने गरी निर्णय गर्न सक्ने अन्तस्करण पाएका थिए। (रोमी २:१५) छोटकरीमा भन्‍नुपर्दा, ती प्रथम मानिस आदमले छनौट गर्ने स्वतन्त्रता पाएका थिए। पृथ्वीमा राख्न आफूले सृष्टि गरेको छोरालाई हेर्दै यहोवाले आफ्नो हातको सिपबारे भन्‍नुभयो: “हेर, त्यो साह्रै राम्रो [छ]।”—उत्पत्ति १:३१; भजन ९५:६.

हामी आदमका सन्तान हौं। त्यसकारण हामीलाई पनि परमेश्‍वरकै स्वरूपमा र उहाँकै प्रतिरूपमा बनाइएको छ। तर आफूले गर्न चाहेको कुरा के हामी साँच्चै छनौट गर्न सक्छौं? भविष्यमा हुने कुरा यहोवालाई पहिल्यै थाह हुन्छ, तैपनि उहाँ हामीले गर्ने काम र त्यसको नतिजा पहिल्यै निर्धारण गर्नुहुन्‍न। पृथ्वीमा भएको आफ्ना सन्तानको भविष्य उहाँ कहिले पनि पहिल्यै कोर्नुहुन्‍न। सही छनौट गर्न छनौट गर्ने स्वतन्त्रता चलाउनु कत्ति महत्त्वपूर्ण छ भन्‍ने कुरा बुझ्न आउनुहोस्‌, सर्वप्रथम हामी इस्राएल राष्ट्रबाट पाठ सिकौं।—रोमी १५:४.

इस्राएलीहरूले छनौट गर्ने स्वतन्त्रता पाएका थिए

३. दस आज्ञाको पहिलो आज्ञामा के भनिएको थियो र त्यो आज्ञा पालन गर्न राजी छौं भनेर विश्‍वासी इस्राएलीहरूले कसरी देखाए?

यहोवाले इस्राएलीहरूलाई भन्‍नुभयो: “कैदको घर मिश्रदेखि तँलाई निकाली ल्याउने परमप्रभु तेरा परमेश्‍वर मनै हुँ।” (व्यवस्था ५:६) ईसापूर्व १५१३ मा इस्राएलीहरू मिश्रको दासत्वबाट अचम्म रीतिले मुक्‍त भएका थिए। त्यसैकारण त यहोवाले जे भन्‍नुभयो त्यसमा शङ्‌का गर्ने ठाउँ नै थिएन। आफ्नो प्रवक्‍ता मोशामार्फत यहोवाले दस आज्ञाको पहिलो आज्ञामा यस्तो घोषणा गर्न लगाउनुभयो: “मेरो सामने तैंले अरू कुनै देवता—देवीहरू नमान्‍नू।” (प्रस्थान २०:१, ३) त्यतिखेर इस्राएलीहरू यहोवाको आज्ञा पालन गर्न राजी भए। उनीहरूले राजीखुसीसाथ यहोवाको मात्र उपासना गरे।—प्रस्थान २०:५; गन्ती २५:११.

४. (क) इस्राएलीहरूले गर्नुपर्ने कस्तो किसिमको छनौटबारे मोशाले बताए? (ख) आज हामीले कस्तो छनौट गर्नुपरेको छ?

करिब ४० वर्षपछि मोशाले इस्राएलीहरूको अर्को पुस्तालाई उनीहरूले गर्नुपर्ने छनौटको विषयमा यसरी सशक्‍त ढङ्‌गमा सम्झाए: “आज म स्वर्ग र पृथ्वीलाई तिमीहरूको सामने साक्षी राख्तछु, कि मैले तिमीहरूका अगि जीवन र मृत्यु, आशिष र सराप राखेको छु। यसकारण जीवननै रोज र तिमीहरू र तिमीहरूका भावी पुस्ता जिउनेछौ।” (व्यवस्था ३०:१९) त्यसै गरी आज हामी पनि छनौट गर्न सक्छौं। हो, हामीले कि त अनन्त जीवनलाई ध्यानमा राख्दै विश्‍वासीपूर्वक यहोवाको सेवा गर्ने छनौट गर्नुपऱ्‍यो नभए उहाँले भनेको नसुन्दा हुने नमीठो परिणाम भोग्न तयार हुनुपऱ्‍यो। अत्यन्तै फरक छनौट गर्ने मानिसहरूको दुइटा उदाहरण विचार गर्नुहोस्‌।

५, ६. यहोशूले कस्तो छनौट गरे र नतिजा कस्तो भयो?

ईसापूर्व १४७३ मा यहोशूले इस्राएलीहरूलाई प्रतिज्ञा गरिएको देशसम्म डोऱ्‍याए। आफ्नो मृत्यु हुनुभन्दा अघि यहोशूले इस्राएलीहरूलाई जोडदार ढङ्‌गमा यस्तो आग्रह गरे: “यदि परमप्रभुको सेवा गर्न तिमीहरूलाई मन पर्दैन भनेता तिमीहरूले कसको सेवा गर्ने आजै तिमीहरूले रोज। तिम्रा पिता-पुर्खाहरूले यूफ्रेटिस नदी पारि पूजेका देवताहरू कि तिमीहरू अहिले बसेका देशको एमोरीहरूका देवताहरू?” त्यसो भनिसकेपछि तिनले आफ्नो परिवारको विषयमा भने: “म र मेरो घरानाले परमप्रभुकै सेवा गर्नेछौं।”—यहोशू २४:१५.

त्योभन्दा अघि यहोवाले यहोशूलाई साहसी र बलियो हुन आग्रह गर्नुभएको थियो। साथै, व्यवस्थाबाट यता-उता नलाग्न पनि सल्लाह दिनुभयो। व्यवस्थाको पुस्तक दिन-रात पढेको खण्डमा यहोशूले आफ्नो सबै मार्गमा उन्‍नति गर्ने थिए। (यहोशू १:७, ८) समयको अन्तरालमा त्यस्तै भयो पनि। आफूले गरेको छनौटको कारण यहोशूले धेरै आशिष्‌ पाए। तिनले भने: “परमप्रभुले जति उत्तम प्रणहरू इस्राएलीहरूलाई गर्नुभएको थियो, तिनीहरूमा एक पनि घटी भएन, सबै पूरा भयो।”—यहोशू २१:४५.

७. यशैयाको दिनमा केही इस्राएलीहरूले कस्तो छनौट गरे अनि परिणाम के भयो?

त्यसको ठीक उल्टा, करिब ७०० वर्षपछि इस्राएलमा अवस्था कस्तो भइसकेको थियो, विचार गर्नुहोस्‌। त्यतिखेर थुप्रै इस्राएलीले मूर्तिपूजासित गाँसिएको अनेकौं प्रचलन मानिरहेका थिए। उदाहरणको लागि, वर्षको अन्तिम दिन मानिसहरू विभिन्‍न स्वादिष्ट भोजन र मीठो दाखमद्य राखिएको टेबलमा भेला हुन्थे। त्यो सामान्य पारिवारिक जमघट मात्र थिएन। त्यो त दुई झूटा देवको सम्मानमा आयोजित धार्मिक पर्व थियो। त्यस्तो घोर अविश्‍वासलाई यहोवाले कसरी लिनुभयो भन्‍ने विषयमा अगमवक्‍ता यशैयाले यसो भने: “तिमीहरू, जसले परमप्रभुलाई त्याग्छौ, जसले मेरो पवित्र पर्वतलाई बिर्सन्छौ, भाग्यदेवको निम्ति टेबल तयार गर्नेहरू, भावीदेवीको निम्ति मिसाएको दाखमद्य भर्नेहरू।” तिनीहरू ठान्थे, वर्षदिनको बाली राम्रो हुने/नहुने कुरा यहोवाको आशिष्‌मा होइन तर “भाग्यदेव” र “भावीदेवी[लाई]” खुसी पार्नु/नपार्नुमा भर पर्छ। तर वास्तवमा तिनीहरूमाथि बज्रिने दुःख तिनीहरूकै विद्रोह र जानाजानी गरेको छनौटको परिणाम थियो। यहोवाले भन्‍नुभयो: “म तिमीहरूलाई तरवारको निम्ति खटाउनेछु, औ तिमीहरू सबै काटिनलाई निहुरनेछौ। किनभने जब मैले तिमीहरूलाई बोलाएँ, तब तिमीहरूले जवाफ दिएनौ। जब म बोलें, तब तिमीहरूले सुनेनौ। तर तिमीहरूले त्यो काम गऱ्‍यौ, जो मेरो नजरमा दुष्ट थियो, र जस कुरामा म प्रसन्‍न हुन्‍नँ, त्यही तिमीहरूले गऱ्‍यौ।” (यशैया ६५:११, १२) इस्राएलीहरूले यहोवालाई मन नपर्ने काम गरेका हुनाले तिनीहरूमाथि सर्वनाश आइलाग्यो। भावीदेवी र भाग्यदेवले समेत तिनीहरूलाई केही मदत गर्न सकेन।

सही छनौट गर्ने

८. व्यवस्था ३०:२० अनुसार सही छनौट गर्न के-के गर्नुपर्छ?

इस्राएलीहरूलाई जीवन रोज्ने सल्लाह दिंदा तिनीहरूले गर्नुपर्ने तीनवटा बुँदा मोशाले यसरी औंल्याइदिए: “परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्दै उहाँका आज्ञा मान्दै र उहाँसँगै लीन बन्दै।” (व्यवस्था ३०:२०) सही छनौट गर्न हामी पनि यी तीन बुँदालाई एक-एक गरी केलाएर हेरौं।

९. यहोवालाई प्रेम गर्छौं भन्‍ने कुरा कसरी देखाउन सक्छौं?

यहोवा हाम्रा परमेश्‍वरलाई प्रेम गर्दै: यहोवाप्रतिको प्रेमले गर्दा हामी उहाँको सेवा गर्ने छनौट गर्छौं। इस्राएलीहरूको समयमा जे भयो त्यसलाई चेतावनीमूलक उदाहरण मान्दै अनैतिक कुरामा फसाउने हर किसिमका प्रलोभनको हामी प्रतिकार गर्छौं र भौतिकवादको पासोमा पर्न सक्ने गरी जीवन बिताउँदैनौं। (१ कोरिन्थी १०:११; १ तिमोथी ६:६-१०) हामी यहोवा र उहाँका नीतिनियममा लीन भइरहन्छौं। (यहोशू २३:८; भजन ११९:५, ८) इस्राएलीहरू प्रतिज्ञा गरिएको देशमा छिर्नुअघि मोशाले तिनीहरूलाई यस्तो सल्लाह दिए: “हेर, परमप्रभु मेरा परमेश्‍वरले मलाई आज्ञा गर्नुभएबमोजिम तिमीहरूले अधिकार गर्ने देशमा यी सबै पालन गर्नलाई नै मैले तिमीहरूलाई यी विधिविधान सिकाएको छु। यसकारण तिमीहरूले मान र पालन गर, किनकि अरू जातिको अगि तिमीहरूका ज्ञान र समझको प्रचार हुनेछ। औ यी सबै विधिहरू सुनेर तिनीहरूले भन्‍नेछन्‌, ‘अवश्‍य यस महान्‌ जातिका मानिसहरू खूबै ज्ञानी र समझदार रहेछन्‌।’ ” (व्यवस्था ४:५, ६) जीवनमा यहोवाको इच्छालाई प्राथमिकता दिएर उहाँलाई प्रेम गर्छौं भन्‍ने कुरा साबित गर्ने समय अहिल्यै हो। यसो गर्ने छनौट गऱ्‍यौं भने अवश्‍य आशिष्‌ पाउनेछौं।—मत्ती ६:३३.

१०-१२. नूहको दिनमा घटेको घटना विचार गरेर हामी कस्तो-कस्तो पाठ सिक्न सक्छौं?

१० परमेश्‍वरको आज्ञा मान्दै: नूह “धार्मिकताका प्रचारक थिए।” (२ पत्रुस २:५, NRV) जलप्रलय हुनुभन्दा अघिका सबै मानिस अर्कै कुरामा अलमलिरहेका थिए। त्यसकारण तिनीहरूले नूहको चेतावनी “थाहै पाएनथे” अर्थात्‌ तिनीहरूले चेतावनी वास्तै गरेनन्‌। परिणाम के भयो? “जलप्रलय आएर सबलाई स्वात्तै” बगाएर लग्यो। आज हाम्रो समयमा अथवा “मानिसको पुत्रको आगमन [“उपस्थिति,” NW]” हुँदा पनि अवस्था त्यस्तै हुनेछ भनेर येशूले होसियार गराउनुभयो। परमेश्‍वरको सन्देश सुन्‍न इन्कार गर्ने आजका मानिसहरूको लागि नूहको दिनको घटना सशक्‍त चेतावनी हो।—मत्ती २४:३९.

११ आज परमेश्‍वरका सेवकहरूले घोषणा गरिरहेको ईश्‍वरीय चेतावनीलाई ठट्टामा उडाउनेहरूले चेतावनी बेवास्ता गर्दा हुने परिणाम विचार गर्नुपर्छ। गिल्ला गर्ने यस्ता व्यक्‍तिहरूको विषयमा प्रेरित पत्रुसले यसो भने: “परमेश्‍वरका वचनबाट स्वर्गहरू अघिदेखिनै थिए, र पृथ्वीचाहिं पानीबाट र पानीलेनै बनिएको हो भन्‍ने तिनीहरूले जानीबुझीकन पनि बिर्से, यसैबाट त्यस समयको संसार जलमय भएर नष्ट भएको थियो, तर अहिलेको आकाशहरू र पृथ्वीचाहिं त्यही वचनले, भक्‍तिहीन मानिसको इन्साफ र विनाशको दिनसम्म छुट्ट्याई आगोको निम्ति साँचेर राखिएका छन्‌।”—२ पत्रुस ३:३-७.

१२ तर नूह र तिनको परिवारले भने अति उत्तम छनौट गरे। “विश्‍वासैबाट त्यस बेलासम्म नदेखिएका कुरामा परमेश्‍वरबाट जनाउ पाएपछि आफ्ना परिवारलाई बचाउन नूहले जहाज तयार पारे।” तिनले चेतावनीलाई ध्यान दिएको कारण तिनको परिवार जलप्रलयबाट बच्यो। (हिब्रू ११:७) परमेश्‍वरको सन्देश सुन्‍न हामी पनि छिटो होऔं र त्यसैअनुसार चल्न बियाँलो नगरौं।—याकूब १:१९, २२-२५.

१३, १४. (क) यहोवासँग “लीन” हुनु किन जरुरी छ? (ख) हामी कसरी हाम्रो “कुमाले” यहोवाले चाहनुहुने आकारमा ढालिन तयार हुन सक्छौं?

१३ यहोवासँगै लीन बन्दै: ‘जिउनको लागि जीवन नै रोज्न’ जसरी यहोवालाई प्रेम गर्नुका साथै उहाँले भनेको मान्‍नुपर्छ, त्यस्तै गरी उहाँसँग लीन भइरहनु अर्थात्‌ उहाँको इच्छा पूरा गरिरहनु पनि उत्तिकै जरुरी छ। येशूले भन्‍नुभयो, “तिमीहरूको आफ्नो धैर्यमा तिमीहरूले आफ्ना प्राण प्राप्त गर्नेछौ।” (लूका २१:१९) साँच्चै भन्‍ने हो भने, यस विषयमा हामी कस्तो छनौट गर्छौं, त्यसले हाम्रो मनको कुरा प्रकट गर्छ। हितोपदेश २८:१४ भन्छ: “परमप्रभुसँग सधैं डराउने मानिस सुखी हुन्छ, तर मन कठोर भएको मानिस दुर्दशामा पर्छ।” यस हितोपदेशको दोस्रो भाग प्राचीन मिश्रका राजा फिरऊनमा चरितार्थ भयो। दस विपत्तिले मिश्रलाई हायलकायल पार्दा परमेश्‍वरसँग डराउनुको सट्टा फिरऊनले आफ्नो मन कठोर पारे। यहोवाले फिरऊनलाई जबरजस्ती अट्टेरी बनाउनुभएको थिएन तर त्यस घमन्डी शासकलाई छनौट गर्ने मौका दिनुभयो। जेहोस्‌, यहोवाको इच्छा पूरा भइछाड्यो किनभने फिरऊनलाई हेर्ने यहोवाको दृष्टिकोणबारे प्रेरित पावलले भने: “मैले मेरो शक्‍ति तँलाई देखाऊँ र मेरो नाउँ पृथ्वीमा जताजतै फैलाऊँ भन्‍ने अभिप्रायले, मैले तँलाई खडा गरें।”—रोमी ९:१७.

१४ फिरऊनको हातबाट इस्राएलीहरू मुक्‍त भएको शताब्दीयौंपछि अगमवक्‍ता यशैयाले भने: “हे परमप्रभु, तपाईं हाम्रा पिता हुनुहुन्छ। हामी माटा मात्र हौं, र तपाईं चाहिं कुमाले हुनुहुन्छ। हामी सबै तपाईंकै हातका कार्यहरू हौं।” (यशैया ६४:८) व्यक्‍तिगत अध्ययन गरेर अनि उहाँको वचनअनुसार चलेर यहोवाले चाहनुहुने आकारमा ढालिन तयार हुँदा, हामीले बिस्तारै नयाँ व्यक्‍तित्व धारण गरिरहेका हुन्छौं। हामी अझ नम्र र लचिलो हुन्छौं। त्यसपछि त हामीलाई यहोवासँग लीन भइरहन सजिलो हुनेछ किनकि उहाँलाई खुसी बनाउने हाम्रो धोको छ।—एफिसी ४:२३, २४; कलस्सी ३:८-१०.

‘ती तिनीहरूलाई सिकाओ’

१५. व्यवस्था ४:९ अनुसार मोशाले इस्राएलीहरूलाई कस्तो दुई किसिमको जिम्मेवारीबारे सम्झाए?

१५ प्रतिज्ञा गरिएको देशभित्र छिर्न तम्तयार इस्राएलीहरूलाई मोशाले यसो भने: “होशियार बस! र आफ्नो मनलाई सचेत राख, नत्रता आँखाले देखेका कुराहरू तिमीहरूले बिर्सौला, र ती तिमीहरूको सारा जीवनभरि तिमीहरूका मनदेखि नहटून्‌। यसैकारण ती तिमीहरूका छोराहरू र नाति पनातिहरूलाई सिकाओ।” (व्यवस्था ४:९) बसोबास गर्नै लागेको नयाँ देशमा यहोवाको आशिष्‌ पाउन र संवृद्ध हुन इस्राएलीहरूले आफ्नो परमेश्‍वर यहोवाको नजरमा दुई किसिमको जिम्मेवारी पूरा गर्नुपर्ने थियो। तीमध्ये पहिलो थियो: आफ्नै आँखा अगाडि यहोवाले गर्नुभएको अचम्मका काम तिनीहरूले बिर्सनु हुँदैन थियो। दोस्रो: भावी पुस्तालाई पनि ती अचम्मका कामबारे सिकाउनुपर्थ्यो। ‘जिउनको लागि जीवन नै रोज्न’ चाहन्छौं भने आज हामी परमेश्‍वरका जनहरूले पनि त्यसै गर्नुपर्छ। हाम्रो खातिर यहोवाले गर्नुभएको कस्तो-कस्तो काम हामीले प्रत्यक्ष देखेका छौं?

१६, १७. (क) गिलियड स्कूलबाट तालिम पाएका मिसनरीहरूले प्रचारकार्यमा के-के गर्न सकेका छन्‌? (ख) जल्दोबल्दो जोसका कस्ता उदाहरणहरू तपाईंलाई थाह छ?

१६ प्रचार गर्ने र चेला बनाउने हाम्रो काममा यहोवाले आशिष्‌ बर्साउनुभएको देख्दा हामीलाई साह्रै खुसी लाग्छ। सन्‌ १९४३ मा वाचटावर बाइबल स्कूल अफ गिलियड सुरु भएदेखि यता थुप्रै मुलुकमा मिसनरीहरूले चेला बनाउने काममा नेतृत्व लिइरहेका छन्‌। त्यस स्कूलबाट स्नातक गरेका मिसनरीहरूलाई बुढेउलीले छोइसकेको छ र शरीर कमजोर हुँदै गएकोले उनीहरू आफूले चाहेजति यहोवाको सेवा गर्न सक्दैनन्‌। तैपनि परमेश्‍वरको राज्यबारे प्रचार गर्ने उनीहरूको जोस भने आजसम्म पनि सेलाएको छैन। यसको ज्वलन्त उदाहरण हुन्‌, मेरी ओल्सन। सन्‌ १९४४ मा उनले गिलियडबाट स्नातक गरेकी थिइन्‌। मिसनरीको रूपमा उनले सर्वप्रथम कोलम्बिया, त्यसपछि उरुग्वेमा सेवा गरिन्‌ भने, अहिले पोर्टो रिकोमा सेवा गर्दैछिन्‌। बुढेउली सँगसँगै आउने शारीरिक समस्याहरूले गर्दा धेरै गर्न नसके पनि बहिनी ओल्सनको मनमा प्रचार गर्ने जोस रत्तीभर कम भएको छैन। उनलाई स्पेनी भाषा बोल्न आउने भएकोले उनी हरेक हप्ता स्थानीय मण्डलीका प्रकाशकहरूसँग क्षेत्र सेवकाईमा जाने समय मिलाउँछिन्‌।

१७ सन्‌ १९४७ मा गिलियड स्कूलबाट स्नातक गरेकी विधवा बहिनी न्यान्सी पोर्टर अझै पनि बहामासमा सेवा गर्दैछिन्‌। तिनी पनि प्रचारकार्यमा व्यस्त रहने मिसनरी हुन्‌। आफ्नो जीवनीमा बहिनी न्यान्सी पोर्टरले a भनेकी छिन्‌, “बाइबलको सत्य कुरा अरूलाई सिकाउँदा मनै आनन्द हुन्छ। यस कामले मलाई व्यवस्थित तरिकामा यहोवाको उपासना गर्न मदत गरेको छ भने, जीवनमा व्यवस्थित हुन र स्थिर रहन पनि सिकाएको छ।” बहिनी पोर्टर र अरू विश्‍वासी सेवकहरूले आफ्नो विगतलाई फर्केर हेर्दा यहोवाले गर्नुभएका कुरा झलझली सम्झिन्छन्‌। हामी नि? जुन इलाकामा प्रचार गर्छौं, त्यहाँ यहोवाले दिनुभएको आशिष्‌को लागि के हामी उहाँलाई धन्यवाद दिन्छौं?—भजन ६८:११.

१८. मिसनरीहरूको जीवनी पढेर हामी के सिक्न सक्छौं?

१८ धेरै वर्ष यहोवाको सेवा गरेका यस्ता भाइबहिनीले जे-जति काम गरे र गर्दैछन्‌, ती सब देख्दा हामीलाई बडो खुसी लाग्छ। उनीहरूको जीवनी प्रोत्साहनको स्रोत हो भन्दा फरक पर्दैन किनभने आफ्ना विश्‍वासी जनहरूको लागि यहोवाले के-के गर्नुभयो भनेर थाह पाउँदा यहोवाको सेवा गर्ने हाम्रो सङ्‌कल्प अझ सुदृढ हुन्छ। के तपाईं प्रहरीधरहरा-मा छापिने यस्ता रोचक विवरणहरू नबिराई पढेर त्यसबारे मनन गर्नुहुन्छ?

१९. आमाबाबुले प्रहरीधरहरा-मा छापिने जीवनीहरूको कसरी सदुपयोग गर्न सक्छन्‌?

१९ यहोवाले इस्राएलीहरूका लागि जे-जे गर्नुभयो ती सब नबिर्सनू र सारा जीवनभरि त्यसलाई मनदेखि नहटाउनू भनेर मोशाले उनीहरूलाई सम्झाए। त्यसपछि तिनले उनीहरूलाई यसो पनि भने: “ती तिमीहरूका छोराहरू र नाति पनातिहरूलाई सिकाओ।” (व्यवस्था ४:९) साँचो जीवनीको महत्त्व नै बेग्लै हुन्छ। हलक्क बढेका नवजवानहरूलाई राम्रो उदाहरणको खाँचो छ। प्रहरीधरहरा-मा छापिने जीवनीहरूमा वृद्ध बहिनीहरूले कसरी विश्‍वासी भई जीवन बिताए भन्‍ने लेखहरू पनि छापिएका हुन्छन्‌। त्यस्तो राम्रो उदाहरणबाट अविवाहित बहिनीहरूले थुप्रै पाठ सिक्न सक्छन्‌। विदेशी भाषा बोलिने आफ्नै देशको इलाकामा सेवा गर्दा भाइबहिनीहरूले सुसमाचार प्रचार गर्ने काममा आफूलाई व्यस्त राख्ने थप अवसर पाउँछन्‌। आमाबाबु हो, आफ्ना छोराछोरीलाई पूर्ण-समय सेवा रोज्ने हौसला दिन विश्‍वासीपूर्वक यहोवाको सेवा गरेका गिलियड मिसनरी तथा अरू भाइबहिनीको अनुभव चलाउने गर्नुस्‌ न, हुन्‍न?

२०. ‘जीवन नै रोज्न’ हामीले के गर्नै पर्छ?

२० उसोभए, हामी हरेकले कसरी ‘जीवन नै रोज्न’ सक्छौं? यहोवालाई प्रेम गर्छौं भन्‍ने कुरा देखाउन छनौट गर्ने स्वतन्त्रताजस्तो अद्‌भुत उपहार चलाएर अनि यहोवाले दिनुभएसम्म सक्दो उहाँकै सेवा गरिरहेर। “किनकि” मोशाले भने, यहोवा “तिमीहरूका निम्ति जीवन हो, र तिमीहरू दीर्घायु हुनेछौ।”—व्यवस्था ३०:१९, २०. (w06 6/1)

[फुटनोट]

a सन्‌ २००१, जून १ तारिखको प्रहरीधरहरा पृष्ठ २३-२७ मा भएको “हृदयविदारक क्षतिको बावजूद आनन्दित र कृतज्ञ” भन्‍ने लेख हेर्नुहोस्‌।

के तपाईं याद गर्न सक्नुहुन्छ?

• अत्यन्तै फरक छनौट गर्ने मानिसहरूको उदाहरणबाट के सिक्नुभयो?

• ‘जीवन नै रोज्न’ हामीले के-के गर्नै पर्छ?

• कस्ता दुई किसिमको जिम्मेवारी पूरा गर्न हामीलाई आग्रह गरिएको छ?

[प्रश्‍नहरू]

[पृष्ठ २६-मा भएको चित्र]

“मैले तिमीहरूका अगि जीवन र मृत्यु . . . राखेको छु”

[पृष्ठ २९-मा भएको चित्र]

यहोवाको आज्ञा पालन गर्दा नूह र तिनको परिवार जलप्रलयबाट बचे

[पृष्ठ ३०-मा भएको चित्र]

मेरी ओल्सन

[पृष्ठ २६-मा भएको चित्र]

न्यान्सी पोर्टर