सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“लडाइँ परमप्रभुकै हो”

“लडाइँ परमप्रभुकै हो”

“हामीले मानिसहरूको भन्दा परमेश्‍वरको आज्ञा अवश्‍य मान्‍नुपर्छ”

“लडाइँ परमप्रभुकै हो”

एउटा बेंसीमा दुई पक्षका सेनाहरू आपसमा लड्‌न तम्तयार छन्‌। पलिश्‍तीहरूको वीर लडाकू गोल्यतले ४० दिनदेखि इस्राएलीहरूलाई खिसी गर्दै र धम्क्याउँदै आएकोले इस्राएलीहरू डरले थुरथुर छन्‌।—१ शमूएल १७:१-४, १६.

इस्राएलीहरूलाई चुनौती दिंदै गोल्यत भन्छ: “मसँग लड्‌नलाई तिमीहरूको मानिस चुन। यदि एक्लै लडेर त्यसले मलाई मार्न सक्यो भने हामी तिमीहरूका कमारा हुनेछौं। तर यदि म त्यसको निम्ति साह्रै बलियो ठहरिएर मैले त्यसलाई मारें भने तिमीहरूले हाम्रो कमारा भएर हाम्रो सेवा गर्नुपर्नेछ। आजको दिन म इस्राएलको फौजलाई तुच्छ गन्छु . . . एउटा मानिस पठाऊ, र हामी लड्‌नेछौं।”—१ शमूएल १७:८-१०.

प्राचीन समयमा आ-आफ्नो फौजको प्रतिनिधित्व गर्दै एक-एक जना सिपाही आएर लड्‌ने चलन थियो। जसले जित्थ्यो, उसैको पक्षको फौज विजयी हुन्थ्यो। तर इस्राएलीहरूलाई चुनौती दिने त्यो लडाकू साधारण सिपाही कहाँ थियो र! ऊ त भयङ्‌करको राक्षस—रिसाहा र हेर्दै डरलाग्दो शत्रु पो थियो! तर गोल्यतले यहोवाका जनहरूका सेनालाई खिसी गरेर आफ्नै विनाश निम्त्याइरहेको थियो।

त्यो लडाइँ दुई विपक्षी सेनाबीच मात्र नभई यहोवा र पलिश्‍तीहरूको झूटा देवहरूबीचको लडाइँ थियो। परमेश्‍वरका शत्रुहरू विरुद्ध साहसी भएर आफ्नो सेनाको नेतृत्व गर्नुको सट्टा इस्राएलका राजा शाऊलले खुट्टा कमाउँदै थिए।—१ शमूएल १७:११.

यहोवामा भर पर्ने ठिटो

त्यो लडाइँ सुरु हुनुभन्दा अघि नै एउटा जवान ठिटो इस्राएलको राजा हुन अभिषेक भइसकेको थियो। आफ्ना दाइहरू राजा शाऊलको सेनामा भएकोले ऊ तिनीहरूलाई भेट्‌न जान्छ। ठिटाको नाम दाऊद हो। गोल्यतको धम्की सुनेपछि त्यो ठिटो सोध्छ: “जीवित परमेश्‍वरको सेनालाई तुच्छ भन्‍ने त्यो बेखतने पलिश्‍ती चाहिं को हो र?” (१ शमूएल १७:२६) दाऊदको नजरमा त्यस गोल्यतले पलिश्‍तीहरू र तिनीहरूका देवहरूको नेतृत्व गरिरहेको थियो। यहोवाप्रतिको जोसले गर्दा यहोवा र इस्राएलीहरूको तर्फबाट दाऊद त्यो मूर्तिपूजक राक्षससँग भिड्‌न तयार हुन्छ। तर राजा शाऊल भन्छन्‌: “तिमी गएर त्यस पलिश्‍तीसँग लड्‌नसक्नेछैनौ। तिमी ता सानै ठिटा मात्र छौ।”—१ शमूएल १७:३३

अहो! शाऊल र दाऊदको सोचाइ कत्ति फरक! शाऊलले सोच्दा बिचरा एउटा सानो गोठालो ठिटो त्यो भयङ्‌कर राक्षससँग भिड्‌न चाहन्छ। उता दाऊदको सोचाइमा भने एउटा मामुली मान्छेले सर्वोच्च परमेश्‍वर यहोवालाई धम्की दिइरहेको छ! यहोवाको नाउँ र उहाँका मानिसहरूलाई खिसी गर्नेलाई यहोवाले दण्ड नदिईकन छोड्‌नुहुन्‍न भन्‍ने कुरामा दाऊद ढुक्क छ। त्यसैकारण दाऊद त्यत्तिका साहसी भएको हो। गोल्यत आफ्नै बलमा निर्धक्क छ, दाऊदचाहिं परिस्थितिलाई परमेश्‍वरको दृष्टिकोणबाट हेर्दै यहोवामाथि भर पर्छ।

“म तँसँग लड्‌न परमप्रभुको नाउँमा आएको छु”

दाऊदको विश्‍वास एकदमै बलियो छ। गोठालो जाँदा भेडालाई भालु र सिंहको मुखबाट छुटाउन यहोवाले मदत गर्नुभएको घटना दाऊदले बिर्सेको छैन। त्यो भयङ्‌कर पलिश्‍ती शत्रुसँग लड्‌न यहोवाले अहिले पनि मदत गर्नुहुनेछ भनेर यो जवान गोठालो ढुक्क छ। (१ शमूएल १७:३४-३७) हतियारको नाउँमा एउटा साधारण घुँयेत्रो र पाँचवटा चिल्ला ढुङ्‌गा लिएर दाऊद गोल्यतसँग भिड्‌न जान्छ।

लडाइँ जित्नै नसकिने जस्तो देखिन्छ। तर यहोवाले पक्कै मदत गर्नुहुनेछ भनेर भरोसा गर्दै गोल्यतसँग भिड्‌न दाऊद तयार हुन्छ। निकै जोसिलो भएर त्यस पलिश्‍तीलाई दाऊद यसो भन्छ: “तँ ता मसँग लडन तरवार, भाला र बर्छा लिएर आएको छस्‌, तर म तँसँग लड्‌न तैंले धम्क्याएका इस्राएलको फौजका परमेश्‍वर, सेनाहरूका परमप्रभुको नाउँमा आएको छु। आजको दिन परमप्रभुले तँलाई मेरो हातमा सुम्पिदिनुहुनेछ। . . . तब इस्राएलमा एउटा परमेश्‍वर हुनुहुँदो रहेछ भनी सारा संसारले थाह पाउनेछ। यहाँ भेला भएका सबैले जान्‍नेछन्‌ कि परमप्रभुले तरवार, भालाद्वारा बचाउनुहुन्‍न। लडाइँ परमप्रभुकै हो।”—१ शमूएल १७:४५-४७

कसले जित्यो त? यहोवाको वचन यसो भन्छ: “दाऊद आफ्नो घुँयेत्रो र ढुङ्‌गाले विजयी भए। औ आफूसित तरवार नभए तापनि तिनले गोल्यतलाई हिर्काएर लडाए, र मारे।” (१ शमूएल १७:५०) दाऊदसँग तरवार थिएन तर ऊसँग यहोवाको साथ थियो। a

त्यस भिडन्तमा दाऊदले यहोवामाथि भरोसा राख्नु ठीक थियो भनेर प्रमाणित भयो। दाऊद र गोल्यतको भिडन्तबाट यही कुरा देखिन्छ। मान्छेहरूदेखि डराउने कि यहोवाले बचाउनुहुन्छ भन्‍ने कुरामा भरोसा गर्ने भनेर छान्‍नै पर्ने अवस्था आउँदा हामीले गर्नुपर्ने के हो, छर्लङ्‌गै छ: “हामीले मानिसहरूको भन्दा परमेश्‍वरको आज्ञा अवश्‍य मान्‍नुपर्छ।” (प्रेरित ५:२९) त्यति मात्र होइन, गाह्रो अवस्था आइपर्दा समस्यालाई यहोवाको नजरबाट हेऱ्‍यौं भने, गोल्यतजस्तै समस्याहरू आउँदा हामी आत्तिने छैनौं। (w06 5/1)

[फुटनोट]

a यहोवाका साक्षिहरूको क्यालेन्डर २००६, मे/जून हेर्नुहोस्‌।

[पृष्ठ २०-मा भएको पेटी/चित्र]

गोल्यत कत्रो थियो?

पहिलो शमूएल १७:४-७ मा लेखिएको विवरणअनुसार गोल्यत नौ फिट अर्थात्‌ ३ मिटरभन्दा अग्लो थियो। त्यो पलिश्‍ती राक्षस कत्रो र कत्तिको बलियो थियो भन्‍ने कुरा त उसले लगाउने झिलमबाटै (लडाइँमा लगाउने तामाको लुगाबाटै) थाह हुन्छ। उसको झिलम मात्रै ५७ किलोको थियो! उसको भालाको बिंडचाहिं काठको खम्बा जत्रै! र भालाको टुप्पो त ७ किलोको! आम्मै! गोल्यतका सबै हातहतियार दाऊदको तौलभन्दा पनि धेरै!