सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“आहा! तपाईंको व्यवस्थालाई म कस्तो प्रेम गर्दछु!”

“आहा! तपाईंको व्यवस्थालाई म कस्तो प्रेम गर्दछु!”

“आहा! तपाईंको व्यवस्थालाई म कस्तो प्रेम गर्दछु!”

“आहा! तपाईंको व्यवस्थालाई म कस्तो प्रेम गर्दछु! दिनभरि मेरो ध्यान त्यसैमा रहन्छ।”—भजन. ११९:९७.

१, २. (क) भजन अध्याय ११९ लेख्न प्रेरित भएका लेखकले कस्तो अवस्था सामना गर्नुपऱ्‍यो? (ख) त्यस्तो अवस्थामा तिनले कस्तो प्रतिक्रिया देखाए र किन?

 भजन अध्याय ११९ का लेखकले साह्रै नमिठो कष्ट भोगे। परमेश्‍वरले दिनुभएको व्यवस्थालाई दुई कौडीको नठान्‍ने अहङ्‌कारी शत्रुहरूले तिनलाई हाँसोमा उडाए र नानाभाँतीको आरोप लगाए। राजाहरूले तिनको विरुद्धमा मतो गरे र सताउनुसम्म सताए। दुष्टहरूले तिनलाई रिङ्‌गै घेरे र ज्यान मार्ने धम्की दिए। ती कुराले “दुःखित भएको” कारण तिनी सुत्नै सकेनन्‌। (भजन ११९:९, २३, २८, ५१, ६१, ६९, ८५, ८७, १६१) त्यस्ता समस्याहरूको भुमरीमा परे तापनि भजनहारले यसो भन्दै गीत गाए: “आहा! तपाईंको व्यवस्थालाई म कस्तो प्रेम गर्दछु! दिनभरि मेरो ध्यान त्यसैमा रहन्छ।”—भजन ११९:९७.

हाम्रो मनमा प्रश्‍न उठ्‌ला, “परमेश्‍वरको व्यवस्थाबाट भजनहारले कसरी सान्त्वना पाउन सके?” यहोवा मेरो ख्याल राख्नुहुन्छ भन्‍ने विश्‍वासले तिनलाई सम्हालेको थियो। परमेश्‍वरले माया गरेर दिनुभएको व्यवस्थाअनुसार चल्दा हुने लाभहरू भजनहारलाई थाह थियो। त्यसैकारण त विरोधीहरूले जतिसुकै सताउँदा पनि तिनी आनन्दित रहन सके। यहोवाले अन्याय गर्नुभएको छैन भनेर तिनले राम्रोसँग बुझेका थिए। साथै, परमेश्‍वरको व्यवस्थाले डोऱ्‍याएअनुसार चल्दा भजनहार आफ्ना शत्रुहरूभन्दा बढ्‌ता बुद्धिमानी भए र आफ्नो ज्यान जोगाउन सके। व्यवस्थामा जे-जे भनिएको छ त्यसै गर्दा तिनको मन हलुका त भयो नै, त्यसबाहेक तिनको अन्तस्करण पनि सफा भयो।—भजन ११९:१, ९, ६५, ९३, ९८, १६५.

३. परमेश्‍वरको स्तरअनुरूप जीवन बिताउन आज मसीहीहरूलाई सजिलो छैन, किन?

आज पनि परमेश्‍वरका केही सेवकले आफ्नो विश्‍वासको कारण घोर कष्ट भोगिरहेका छन्‌। हामी भजनहारजस्तै जीवन र मरणको दोसाँधमा त नपुगौंला तर हामी बाँचिरहेको समय “डरलाग्दो” छ। हामी वरपरका धेरैजसो मानिसलाई आध्यात्मिक कुराको मतलबै छैन। तिनीहरूको लक्ष्य भनेकै ‘मै खाऊँ, मै लाऊँ, सुख सयल गरूँ’ र सम्पत्ति थुपारूँ भन्‍ने छ। तिनीहरू घमन्ड गर्छन्‌ र अरूलाई हेप्छन्‌। (२ तिमोथी ३:१-५) जवान मसीहीहरूले आफ्नो नैतिकता जोगाउन पाइला पाइलामा संघर्ष गर्नुपरेको छ। यस्तो स्थितिमा यहोवा र सही कुरालाई प्रेम गरिरहन पक्कै सजिलो हुँदैन। त्यसोभए, हामी कसरी आफ्नो सुरक्षा गर्न सक्छौं?

४. परमेश्‍वरको व्यवस्थालाई अनमोल ठानेको कुरा भजनहारले कसरी देखाए र आज हामीले पनि कसरी त्यस्तै मनोभाव देखाउनुपर्छ?

परमेश्‍वरको व्यवस्था ध्यान दिएर अध्ययन गर्न र अध्ययन गरेको कुरामा मनन गर्न भजनहार समय निकाल्थे। तीनथुप्रो दबाबले थिचेको बेला लत्तो नछाड्‌न त्यही बानीले तिनलाई बल दियो। त्यस प्रकार भजनहारले परमेश्‍वरको व्यवस्थालाई प्रेम गर्न सिकेका थिए। साँच्चै भन्‍ने हो भने, भजन अध्याय ११९ को हरेकजसो पदमा यहोवाको व्यवस्थाको कुनै न कुनै पक्ष चर्चा गरिएको पाइन्छ। a आजका मसीहीहरू परमेश्‍वरले प्राचीन इस्राएलीहरूलाई मोशामार्फत दिनुभएको व्यवस्थाको अधीनमा छैनन्‌। (कलस्सी २:१४) तर व्यवस्थामा दिइएका सिद्धान्तहरू भने अझै पनि मूल्यवान्‌ छन्‌। ती सिद्धान्तहरूबाट भजनहारले सान्त्वना पाएका थिए। आज जीवनका समस्याहरूसित जुझिरहेका परमेश्‍वरका जनहरूले पनि त्यस्तै सान्त्वना पाउन सक्छन्‌।

५. मोशालाई दिइएको व्यवस्थाका कुन-कुन पक्ष छलफल गर्नेछौं?

मोशालाई दिइएको व्यवस्थाका तीनवटा पक्षबाट मात्रै पनि कस्तो प्रोत्साहन पाउन सकिन्छ, विचार गरौं। ती यस प्रकार छन्‌: (१) विश्राम दिनको प्रबन्ध। (२) सिलाबाला बटुल्न दिने प्रबन्ध र (३) लोभ नगर्नू भन्‍ने आज्ञा। आज जति पनि समस्या छन्‌, त्यसलाई पन्छाएर अघि बढ्‌ने हो भने यहोवाले यी व्यवस्थाहरू दिनुको पछाडि कस्ता सिद्धान्तहरू छन्‌, त्यो बुझ्नु जरुरी रहेछ भनी यी तीनवटा पक्ष छलफल गर्दा थाह पाउनेछौं।

आफ्नो आध्यात्मिक आवश्‍यकता पूरा गर्ने

६. सबै मानिसका पूरा हुनै पर्ने आवश्‍यकता के-के हुन्‌?

मानिसका थुप्रै आवश्‍यकता हुन्छन्‌ किनभने उसलाई यसै गरी सृष्टि गरिएको थियो। जस्तो कि—स्वस्थ रहन मानिसलाई खाने कुरा, पिउने कुरा र बस्ने ठाउँ नभई हुँदैन। तर मानिसले आफ्नो “आध्यात्मिक आवश्‍यकता” पनि पूरा गर्नुपर्छ। त्यसो नगरेसम्म ऊ साँच्चै खुसी हुन सक्दैन। (मत्ती ५:३) यो जन्मजात आवश्‍यकता पूरा हुनै पर्छ भनेर यहोवालाई थाह थियो। त्यसैकारण त उहाँले मानिसहरूलाई हप्ताको पूरै एक दिन कामबाट विश्राम लिनू भन्‍ने आज्ञा दिनुभयो। त्यसरी विश्राम लिएको बेला मानिसहरूले आध्यात्मिक कुरामा ध्यान दिन्थे।

७, ८. (क) परमेश्‍वरले विश्राम दिन र अरू दिनबीच कसरी भिन्‍नता छुट्याउनुभयो? (ख) विश्राम दिन तोक्नुको उद्देश्‍य के थियो?

विश्राम दिनको प्रबन्धबाट आध्यात्मिक कुरालाई महत्त्व दिनुपर्छ भन्‍ने कुरा प्रस्ट भयो। उजाडस्थानमा परमेश्‍वरले मन्‍न प्रबन्ध गर्नुभएको थियो। बाइबलमा पहिलो चोटि प्रयोग भएको “विश्राम-दिन” भन्‍ने शब्द त्यही प्रबन्धसित सम्बन्धित छ। चमत्कार गरेर दिइएको त्यो रोटी छ दिनसम्म बटुल्नू भन्‍ने निर्देशन इस्राएलीहरूलाई दिइएको थियो। छैटौं दिनमा उनीहरूले “दुइ दिनको भोजन” बटुल्नुपर्थ्यो किनभने सातौं दिनमा केही पनि दिइने थिएन। सातौं दिन “परमप्रभुको निम्ति एक पवित्र विश्राम-दिन” हुने थियो र त्यस दिन कुनै पनि मानिस आफ्नो डेराबाट बाहिर निस्कनु हुँदैन थियो। (प्रस्थान १६:१३-३०) दस आज्ञामध्ये एउटाले विश्राम दिनमा केही काम नगर्नू भनेको थियो। त्यो दिन पवित्र थियो। विश्राम दिन भङ्‌ग गर्नेलाई मारिन्थ्यो।—प्रस्थान २०:८-११; गन्ती १५:३२-३६.

विश्राम दिनबारे दिइएको व्यवस्थाबाट यहोवा आफ्ना जनको शारीरिक तथा आध्यात्मिक हित चाहनुहुन्छ भन्‍ने कुरा देखियो। येशूले भन्‍नुभयो, “विश्रामको दिन मानिसको निम्ति बनेको हो।” (मर्कूस २:२७) विश्राम दिनमा इस्राएलीहरूले थकाइ मार्ने मौका त पाए नै, त्यसबाहेक उनीहरू आफ्नो सृष्टिकर्तासित पनि नजिक हुन सके र उहाँलाई प्रेम देखाउने मौका पाए। (व्यवस्था ५:१२) त्यो दिन आध्यात्मिक कामकुराको लागि मात्रै छुट्याइएको थियो। जस्तै—त्यो दिन परिवारै मिलेर परमेश्‍वरको उपासना, प्रार्थना र परमेश्‍वरको व्यवस्थामा मनन गर्थे। विश्राम दिनको प्रबन्धले गर्दा इस्राएलीहरू आफ्नो सारा समय र बल भौतिक कुराकै लागि मात्र खर्च गर्नदेखि जोगिए। त्यस प्रबन्धले यहोवासितको सम्बन्ध सबैभन्दा महत्त्वपूर्ण कुरा हो भनेर उनीहरूलाई सम्झायो। कहिल्यै परिवर्तन नहुने त्यस सिद्धान्तलाई येशूले पनि यसरी दोहोऱ्‍याउनुभयो: “यस्तो लेखिएको छ, ‘मानिस भोजनले मात्र होइन, तर परमेश्‍वरका मुखबाट निस्केको हरेक वचनले बाँच्तछ।’ ”—मत्ती ४:४.

९. विश्राम दिनको प्रबन्धबाट आजका मसीहीहरूले कस्तो पाठ सिक्न सक्छन्‌?

आज परमेश्‍वरका जनहरूले साँच्चिनै २४ घण्टे विश्राम दिन मनाउनु पर्दैन। तर यसो भन्दैमा विश्राम दिनको प्रबन्ध इतिहासको एउटा रोचक तथ्य मात्र हो भनेर पन्छाउनु मिल्दैन। (कलस्सी २:१६) त्यो प्रबन्ध त आज हामीले पनि आध्यात्मिक कुरालाई प्राथमिकता दिनै पर्छ भन्‍ने सम्झौटा हो। के तपाईंलाई यस्तो लाग्दैन? भौतिक कुरा थुपार्न अथवा मोजमज्जा गर्नमै तल्लीन हुँदा पवित्र कामकुरा ओझेलमा पर्छ। त्यस्तो कदापि हुन दिनु हुँदैन। (हिब्रू ४:९, १०) त्यसकारण हामी आफैलाई प्रश्‍न सोध्न सक्छौं: “मैले आफ्नो जीवनमा कुन कुरालाई प्राथमिकता दिएको छु? के मैले व्यक्‍तिगत अध्ययन, प्रार्थना, मसीही सभाहरूमा उपस्थित हुने र राज्यको सुसमाचार प्रचार गर्ने कामलाई प्राथमिकता दिइरहेको छु? यस्ता कुरामा बिताउनुपर्ने समय कतै मैले अरू नै कुरामा पो खर्च गरिरहेको छु कि?” आध्यात्मिक कुरालाई प्राथमिकता दियौं भने, जीवनमा नभई नहुने कुराको अभाव हुनेछैन भनी यहोवा हामीलाई आश्‍वासन दिनुहुन्छ।—मत्ती ६:२४-३३.

१०. आध्यात्मिक कुराको लागि समय निकाल्दा कस्तो फाइदा हुन्छ?

१० बाइबल अनि बाइबलसम्बन्धी प्रकाशनहरू अध्ययन गर्न समय निकाल्यौं र अध्ययन गर्दा थाह पाएका कुरा गहिरिएर विचार गऱ्‍यौं भने हामी यहोवाको नजिक हुन सक्नेछौं। (याकूब ४:८) लगभग ४० वर्ष अघिदेखि नियमित रूपमा बाइबल अध्ययन गर्न समय निकाल्दै आएकी सुजन आफ्नो कमजोरी स्वीकार्दै भन्छिन्‌, ‘सुरु-सुरुमा त बाइबल अध्ययन गर्न त्यति मजै लागेन। कस्तो अल्छी लाग्थ्यो!’ तर बाइबल जति पढ्‌दै गइन्‌, तिनलाई उति नै मजा लाग्दै गयो। अहिले त तिनलाई व्यक्‍तिगत बाइबल अध्ययन गर्न पाएन कि साह्रै बेमज्जा लाग्छ। तिनी भन्छिन्‌, “बाइबल अध्ययन गरेको कारण मैले यहोवालाई चिन्‍न र उहाँलाई आफ्नो बुबाको रूपमा हेर्न सिकेकी छु। म उहाँमाथि भरोसा गर्न र भर पर्न सक्छु। साथै, प्रार्थनामा उहाँसित खुलस्त कुरा पनि गर्छु। यहोवा आफ्ना सेवकहरूलाई कत्ति धेरै माया गर्नुहुन्छ, मेरो कत्ति ख्याल राख्नुहुन्छ र उहाँले मलाई कसरी मदत गर्नुभएको छ, ती सब विचार गर्दा अचम्म लाग्छ।” आफ्नो आध्यात्मिक आवश्‍यकता पूरा गरेर हामी पनि खुसीले गद्‌गद हुन सक्छौं।

सिलाबाला बटुल्न दिने परमेश्‍वरको व्यवस्था

११. सिलाबाला बटुल्न दिने प्रबन्ध कस्तो थियो?

११ यहोवा आफ्ना जनको ख्याल राख्नुहुन्छ भन्‍ने कुरा झल्काउने मोशाको व्यवस्थाको दोस्रो पक्ष थियो—सिलाबाला बटुल्न पाउने अधिकार। इस्राएली किसानले बाली भित्र्याउँदा खेतालाहरूले खेतमा छाडेको अन्‍न खाँचोमा परेको व्यक्‍तिलाई बटुल्न दिनू भनेर यहोवाले आदेश दिनुभएको थियो। किसानहरूले खेतको कुनाकुनासम्म निखारीकन बाली काट्‌नु हुँदैनथ्यो न त दाख अथवा भद्राक्ष टिप्दा सोहोर-साहार नै गर्नु हुन्थ्यो। खेतमा अन्‍नको बिटा बिर्स्यो भने त्यो लिन फर्किनु हुँदैनथ्यो। ती सबै कुरा गरिब, परदेशी, टुहुरा-टुहुरी र विधवाका लागि गरिएको मायालु प्रबन्ध थियो। हुन त हो, सिलाबाला टिप्न निकै मेहनत गर्नुपर्थ्यो तर त्यसो गर्दा तिनीहरूले पेट भर्न अरूको अगाडि हात फैलाउनु पर्दैनथ्यो।—लेवी १९:९, १०; व्यवस्था २४:१९-२२; भजन ३७:२५.

१२. सिलाबाला बटुल्न दिने प्रबन्धले किसानहरूलाई कस्तो मौका दियो?

१२ खाँचोमा परेका व्यक्‍तिहरूको लागि किसानले खेतमा कति अन्‍न छोड्‌नुपर्छ भन्‍ने कुरा सिलाबालासम्बन्धी व्यवस्थाले किटेर बताएको थिएन। आफ्नो खेतमा थोरै अन्‍न छोड्‌ने कि धेरै, किसानहरूकै हातमा थियो। सिलाबाला बटुल्न दिने त्यस्तो प्रबन्धले उदार हुनुपर्ने पाठ सिकायो। साथै, त्यस प्रबन्धले गर्दा किसानहरूले अन्‍न दिनुहुने यहोवा परमेश्‍वरलाई धन्यवाद दिने मौका पनि पाए किनभने “दरिद्रलाई उदारता देखाउनेले [आफ्नो सृष्टिकर्ताको]” महिमा गरिरहेको हुन्छ। (हितोपदेश १४:३१) सिलाबाला बटुल्न दिने व्यक्‍तिको कुरा गर्दा, बोअजको नाउँ आउँछ। आफ्नो खेतमा सिलाबाला बटुल्न आएकी विधवा रूथलाई बोअजले प्रशस्त अन्‍न बटुल्न दिए। बोअजको त्यस्तो उदार मनोभाव देखेर यहोवाले तिनलाई मुठी खोलेर आशिष्‌ दिनुभयो।—रूथ २:१५, १६; ४:२१, २२; हितोपदेश १९:१७.

१३. प्राचीन समयमा सिलाबाला बटुल्न दिने व्यवस्था थियो, त्यसबाट हामी कस्तो पाठ सिक्न सक्छौं?

१३ सिलाबाला बटुल्न दिने व्यवस्थाको सिद्धान्त परिवर्तन भएको छैन। आफ्ना सेवकहरू विशेष गरी खाँचोमा परेका व्यक्‍तितर्फ उदार होस्‌ भन्‍ने यहोवा चाहनुहुन्छ। हामी जति धेरै उदार हुन्छौं, आशिष्‌ पनि उति नै पाउनेछौं। येशूले भन्‍नुभएको छ, “देओ, र तिमीहरूलाई दिइनेछ। पूरा नाप खाँदी खाँदी, बेसरी हल्लाएर पोखिने गरी तिमीहरूको पोल्टामा दिनेछन्‌। किनकि जुन नापले तिमीहरू नाप्दछौ, त्यसरी तिमीहरूका निम्ति पनि नापिनेछ।”—लूका ६:३८.

१४, १५. हामी कसरी उदार हुन सक्छौं र यस्तो उदारता देखाउँदा हामी र हामीले मदत गरेको व्यक्‍तिलाई के फाइदा हुन्छ?

१४ “सबै मानिसतर्फ, खास गरेर विश्‍वासका घरानातर्फ, भलाइको काम” गर्न प्रेरित पावलले हामीलाई प्रोत्साहन दिए। (गलाती ६:१०) त्यसैले, आफ्नो विश्‍वासको कारण मसीही भाइबहिनीलाई कष्ट हुँदा उनीहरूलाई आध्यात्मिक मदत दिइहाल्न सजग हुनु जरुरी छ। तर कतै उनीहरूलाई राज्यभवन जान/आउन अथवा किनमेल गर्न पो मदत चाहिएको छ कि? के तपाईंको मण्डलीमा हाम्रो मुखबाट प्रोत्साहनका दुई शब्द सुन्‍न चाहने वा कुनै काम गरिदिंदा खुसी हुने उमेर पाकेका, बिरामी अथवा घरबाट बाहिर निस्कन नसक्नेहरू छन्‌? यस्तो आवश्‍यकता थाह पाउनासाथ कदम चाल्न तत्पर भयौं भने, खाँचोमा परेका व्यक्‍तिले गरेको प्रार्थनाको जवाफ दिन यहोवाले हामीलाई चलाउन सक्नुहुन्छ। एक-अर्काको हेरविचार गर्नु मसीही दायित्व भए तापनि यसो गर्दा हेरचाह गर्ने व्यक्‍तिलाई पनि फाइदै छ। मसीही भाइबहिनीलाई चोखो माया देखाउँदा मन आनन्द हुन्छ र गहिरो सन्तुष्टि पनि मिल्छ। यस्तो महसुस हुनु भनेको यहोवाको नजरमा प्रिय बन्‍नु हो।—हितोपदेश १५:२९.

१५ यहोवाका उद्देश्‍यहरूबारे बताउन आफ्नो समय र शक्‍ति खर्च गर्नु निःस्वार्थ माया देखाउने अर्को महत्त्वपूर्ण तरिका हो। (मत्ती २८:१९, २०) आफूले आध्यात्मिक रूपमा प्रगति गर्न मदत गरेको व्यक्‍तिले यहोवालाई आफ्नो जीवन समर्पण गर्दा मनै फुरुङ्‌ग हुन्छ। जसले अरूलाई त्यस्तो आध्यात्मिक मदत दिएका छन्‌, उसले येशूको यो भनाइ सोह्रै आना सही पाएका छन्‌: “लिनुभन्दा दिनु अझ असल हो” अर्थात्‌ लिनुमा भन्दा दिनुभन्दा अझ आनन्द छ।—प्रेरित २०:३५.

लोभी नहुनुहोस्‌

१६, १७. दसौं आज्ञामा कुन कुरा निषेध गरिएको थियो र किन?

१६ अब हामी परमेश्‍वरले इस्राएलीहरूलाई दिनुभएको व्यवस्थाको तेस्रो पक्ष अर्थात्‌ दसौं आज्ञाबारे चर्चा गर्नेछौं। त्यस आज्ञाले लोभ नगर्नू भनेको थियो। व्यवस्थामा यस्तो लेखिएको थियो: “तैंले आफ्नो छिमेकीको घरको लालच नगर्नू। तैंले आफ्नो छिमेकीकी स्वास्नीको लालच नगर्नू, तेरो छिमेकीको कमारा, कमारी, गोरु, गधा वा त्यसको कुनै पनि थोकको लालच नगर्नू।” (प्रस्थान २०:१७) मानिसले त यस्तो आज्ञा दिनै सक्दैन किनभने मनको कुरा मानिसलाई थाह हुँदैन। तर यस आज्ञाले गर्दा परमेश्‍वरको व्यवस्था मानिसले बनाएको न्याय प्रणालीभन्दा उच्च कोटिको हुन सक्यो। त्यस आज्ञाले प्रत्येक इस्राएलीलाई ‘म यहोवाप्रति सीधै जवाफदेही छु’ भनेर सचेत गराउँथ्यो किनभने यहोवा मानिसको हृदय पढ्‌न सक्नुहुन्छ। (१ शमूएल १६:७) लोभले गर्दा नै अनगन्ती खराब कामकुरा हुने भएकोले पनि त्यस्तो आज्ञा दिइएको थियो।—याकूब १:१४.

१७ लोभबारे दिइएको व्यवस्थाले परमेश्‍वरका जनलाई भौतिकवादी र लोभी नहुन अनि आफ्नो अवस्थाबारे गनगन नगर्न मदत गऱ्‍यो। त्यस व्यवस्थाले उनीहरूलाई चोरी अथवा अनैतिक काम नगर्न पनि होसियार गरायो। आज पनि हामीलाई मनपर्ने भौतिक कुरा भएका अथवा हामीभन्दा सफल देखिने मानिसहरू त भइहाल्छन्‌। यस्तो बेला आफ्नो सोचाइलाई काबुमा राखेनौं भने, अरूको कुरा देखेर हाम्रो मन अमिलो हुन सक्छ र आरिसले मन जल्न सक्छ। लोभ “बेकम्मा मन[को]” उपज हो भनी बाइबल बताउँछ। त्यसकारण लोभी नभएकै राम्रो।—रोमी १:२८-३०.

१८. आज संसारमा के गर्न धेरै जोड दिइन्छ तर यसले गर्दा कस्तो खराब नतिजा हुन सक्छ?

१८ हामी बाँचिरहेको संसारमा भौतिक कुरा थुपार्न र अरूलाई उछिनेर अघि बढ्‌न धेरै जोड दिइन्छ। जस्तो—व्यापारजगत्‌ले तयार पारेको विज्ञापनले हामीलाई नयाँ सर-सामान किन्‍न लोभ्याउँछ र ती नकिनेसम्म हामीलाई चैन हुँदैन भन्‍ने खालको सन्देश फैलाउने गर्छ। हो यही किसिमको विचार नराख्नू भनेर यहोवाको व्यवस्थाले बताएको थियो। अर्को खतरनाक इच्छा हो—जस्तोसुकै मूल्य चुकाएर भए पनि जीवनमा सफल भइछाड्‌ने र टन्‍नै सम्पत्ति जोड्‌ने। तर प्रेरित पावलले चेतावनी दिंदै भने: “धनी हुने इच्छा गर्ने चाहिं, सर्वनाश र विनाशमा डुबेका मानिसझैं परीक्षा र पासो, औ धेरै मूर्ख र हानिकारक अभिलाषाहरूमा फस्तछन्‌। किनभने रूपियाँ-पैसाको प्रेमनै सबै किसिमका खराबीको जरा हो, जसको पछि लाग्ने कुनै कुनै विश्‍वासबाट कुमार्गमा तर्केका हुन्छन्‌, र धेरै दुःखले तिनीहरूका हृदय छेंडेका हुन्छन्‌।”—१ तिमोथी ६:९, १०.

१९, २०. (क) यहोवाको व्यवस्थालाई प्रेम गर्नेहरूको नजरमा कुन कुरा अमूल्य छन्‌? (ख) अर्को लेखमा हामी के छलफल गर्नेछौं?

१९ परमेश्‍वरको व्यवस्थालाई प्रेम गर्नेहरूले भौतिक कुरा थुपार्ने इच्छा गर्दा कस्तो-कस्तो खतरा मोल्नुपर्छ, सो राम्रोसँग बुझेका छन्‌ र त्यस्ता खतराहरूबाट जोगिएका छन्‌। उदाहरणको लागि, भजनहारले यहोवालाई यसरी प्रार्थना गरे: “लोभतिर होइन, तर तपाईंका साक्षी-वचनहरूतिर [“सम्झौटाहरूतिर,” NW] मेरो मन झुकाउनुहोस्‌। तपाईंको मुखबाट निस्केको व्यवस्था मेरो निम्ति हजारौं सुन र चाँदीभन्दा असल छ।” (भजन ११९:३६, ७२) भजनहारले भनेका यी कुरा एकदम सही छ भनेर मानिलियौं भने हामी सन्तुलन कायम गर्न सक्नेछौं र भौतिकवाद, लोभ अनि आफ्नो अवस्थाप्रति असन्तुष्ट हुने फन्दामा पर्नदेखि जोगिनेछौं। ईश्‍वरीय “भक्‍ति” नै सबैभन्दा ठूलो लाभ हो, भौतिक कुरा थुपार्नु होइन।—१ तिमोथी ६:६.

२० यहोवाले प्राचीन समयका इस्राएलीहरूलाई दिनुभएको व्यवस्थामा पाइने सिद्धान्तहरू मोशालाई व्यवस्था दिइँदा जति अमूल्य थिए, आज हामी बाँचिरहेको कठिन समयमा पनि उतिकै अमूल्य छन्‌। हामी जति धेरै यी सिद्धान्तअनुसार जीवन बिताउँछौं, उतिनै त्यसको महत्त्व बुझ्नेछौं, त्यसलाई प्रेम गर्नेछौं र अझ आनन्दित हुनेछौं। मोशाको व्यवस्थाबाट हामी थुप्रै पाठ सिक्न सक्छौं। बाइबलमा उल्लेख भएका मानिसहरूको जीवन अनि उनीहरूका भोगाइले यी पाठहरूको महत्त्व झनै बढाएको छ। यी पाठहरूमध्ये केही अर्को लेखमा छलफल गर्नेछौं। (w 06 6/15)

[फुटनोट]

a भजन अध्याय ११९ मा जम्मा १७६ वटा पद छन्‌। चारवटा पदबाहेक अरू जम्मै पदमा यहोवाको आज्ञा, न्याय वचन, व्यवस्था, आदेश, नियम, साक्षी वचन, भनाइ, नीतिनियम, तौरतरिका अथवा वचनमध्ये कुनै न कुनैबारे चर्चा गरिएको पाउँछौं।

तपाईं कसरी जवाफ दिनुहुन्छ?

भजन अध्याय ११९ का लेखकले यहोवाको व्यवस्थालाई प्रेम गर्नुको कारण के थियो?

• विश्राम दिनको प्रबन्धबाट मसीहीहरूले कस्तो पाठ सिक्न सक्छन्‌?

• सिलाबाला बटुल्न दिने विषयमा परमेश्‍वरले दिनुभएको व्यवस्थाले आज पनि लागू गर्न सकिने कस्तो पाठ सिकाउँछ?

• लोभ नगर्नू भन्‍ने आज्ञाले हाम्रो रक्षा गर्छ, तर कसरी?

[प्रश्‍नहरू]

[पृष्ठ १३-मा भएको चित्र]

विश्राम दिनको व्यवस्थाले केलाई जोड दियो?

[पृष्ठ १५-मा भएको चित्र]

सिलाबाला बटुल्न दिने व्यवस्थाबाट के सिक्न सक्छौं?