सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

जवानहरू हो, यहोवाको सेवा गर्ने छनौट गर्नुहोस्‌

जवानहरू हो, यहोवाको सेवा गर्ने छनौट गर्नुहोस्‌

जवानहरू हो, यहोवाको सेवा गर्ने छनौट गर्नुहोस्‌

“तिमीहरूले कसको सेवा गर्ने आजै तिमीहरूले रोज।”—यहोशू २४:१५.

१, २. मसीहीजगत्‌का चर्चहरूमा कस्तो गलत किसिमको बप्तिस्मा दिने चलन छ?

 “ख्रीष्टको बारेमा राम्ररी बुझेपछि मात्र [केटाकेटीहरू] मसीही होऊन्‌।” यो कुरा, टर्टुलियन नाउँका लेखकले इस्वी संवत्‌ दोस्रो शताब्दीको अन्ततिर लेखेका थिए। शिशुहरूलाई बप्तिस्मा दिनु हुँदैन भनेर तिनले आवाज उठाए। त्यतिबेलाको धर्मत्यागी मसीहीजगत्‌मा त्यस्तो चलनले जरा गाड्‌दै थियो। टर्टुलियन र बाइबलको कुरामा असहमति जनाउँदै चर्चका फादर अगस्टिनले के दाबी गरिरहेका थिए भने, बप्तिस्माले सुरुको पापको दाग मेटाउँछ अनि बप्तिस्मा नलिई मर्ने शिशुहरू नरकमा फ्याँकिनेछन्‌। त्यस्तो विश्‍वासले गर्दा शिशुहरू जन्मेपछि जतिसक्दो चाँडो बप्तिस्मा दिने चलन सुरु भयो।

मसीहीजगत्‌का धेरैजसो चर्चले अझै पनि नवजात शिशुलाई बप्तिस्मा दिने गर्छन्‌। इतिहासका पानाहरू पल्टाउने हो भने, मसीही भनौदा राष्ट्रका शासक तथा धर्मगुरुहरूले आफूले जितेका “मूर्तिपूजकहरूलाई” जबरजस्ती बप्तिस्मा दिन्थे। तर शिशुहरूको बप्तिस्मा र वयस्कहरूलाई जबरजस्ती बप्तिस्मा दिने चलनबारे बाइबलमा कतै बताइएको पाइँदैन।

अहिले आफसेआफ समर्पित हुँदैन

३, ४. आफ्नै इच्छाले यहोवालाई जीवन समर्पण गर्न समर्पित आमाबाबुका छोराछोरीलाई कुन कुराले मदत गर्न सक्छ?

आमा वा बुबामध्ये एक जना मात्र यहोवाको समर्पित सेवक हो भने पनि तिनीहरूका साना छोराछोरीलाई परमेश्‍वर पवित्र ठान्‍नुहुन्छ भनी बाइबल बताउँछ। (१ कोरिन्थी ७:१४) तर के यसो भन्दैमा छोराछोरी आफसेआफ यहोवाका समर्पित सेवक भइहाल्छन्‌? कदापि हुँदैनन्‌। तर यहोवाप्रति समर्पित आमाबुबाबाट छोराछोरीले प्रशिक्षण पाउन सक्छन्‌। यस्तो प्रशिक्षण पाएपछि छोराछोरीले आफ्नै इच्छाले यहोवालाई आफ्नो जीवन समर्पण गर्न सक्छन्‌। बुद्धिमान्‌ राजा सुलेमानले यस्तो लेखे: “हे मेरो छोरो, आफ्ना पिताको आज्ञा पालन गर्‌, औ आफ्नी आमाको अर्तीलाई इन्कार नगर्‌। . . . तँ जता गए तापनि तिनले तेरो अगुवाइ गर्नेछन्‌, औ जब तँ जागा हुनेछस्‌ तब तिनले तँसित बातचीत गर्नेछन्‌। किनभने आज्ञा चाहिं बत्ती र अर्ती चाहिं ज्योति हो, शिक्षा र सुधारले जीवनको मार्ग देखाउँछन्‌।”—हितोपदेश ६:२०-२३.

मसीही आमाबाबुले भनेअनुसार चल्दा जवान छोराछोरी खतराहरूबाट जोगिन सक्छन्‌। सुलेमानले यसो पनि भने: “बुद्धिमान छोराले बाबुलाई खुशी तुल्याउँछ, मूर्ख छोराले आफ्नी आमालाई पिरोल्छ।” “सुन्‌, हे मेरो छोरो, सुन्‌ र बुद्धिमानी बन्‌, तेरो मन ठीक बाटोतिर लगा।” (हितोपदेश १०:१; २३:१९) हो, आमाबाबुको प्रशिक्षणबाट लाभ उठाउन तपाईं जवानहरूले अर्ती, सल्लाह र अनुशासन खुसीसाथ स्वीकानै पर्छ। तपाईं जन्मँदै बुद्धिमान्‌ भएर जन्मनु हुन्‍न तर तपाईं “बुद्धिमान” बन्‍न सक्नुहुन्छ र “जीवनको मार्ग[मा]” हिंड्‌ने छनौट गर्न सक्नुहुन्छ।

“शिक्षा” के हो?

५. पावलले छोराछोरी र बुबाहरूलाई कस्तो सल्लाह दिए?

प्रेरित पावलले लेखे: “ए बालक हो, प्रभुमा आफ्ना आमा-बाबुको आज्ञा पालन गर, किनभने यो उचित छ। आफ्ना बाबु र आमाको मान गर (जो प्रतिज्ञा सहितको पहिलो आज्ञा हो), र तिमीलाई भलो होस्‌, र पृथ्वीमा तिम्रो दीर्घायु होस्‌। औ ए बाबु हो, तिमीहरूका बालकहरूलाई रीस नउठाओ, तर तिनीहरूलाई प्रभुको [“यहोवाको, NW”] शिक्षा र चेताउनीमा पालन-पोषण गर।”—एफिसी ६:१-४.

६, ७. छोराछोरीलाई यहोवाको “शिक्षामा” पालनपोषण गर्नु भनेको के हो? यसरी यहोवाको शिक्षामा पालनपोषण गर्दा आमाबाबुले छोराछोरीलाई अनावश्‍यक दबाब दिइरहेका हुँदैनन्‌, किन?

आफ्ना छोराछोरीलाई यहोवाको “शिक्षा र चेतावनीमा” पालनपोषण गर्दा मसीही आमाबाबुले उनीहरूलाई अनावश्‍यक दबाब दिइरहेका हुन्छन्‌ भन्‍न मिल्छ र? मिल्दैन। आफूलाई सही लागेको र नैतिक रूपमा असल कुरा सिकायो भन्दैमा के आमाबाबुको कुरा काट्‌न सुहाउँछ? परमेश्‍वर छैन भनेर नास्तिकहरूले आफ्ना छोराछोरीलाई सिकाउँदा समेत कसैले तिनीहरूको आलोचना गर्दैन। रोमन क्याथोलिकहरू छोराछोरीलाई क्याथोलिक धर्मबारे शिक्षादीक्षा दिनु आफ्नो कर्तव्य ठान्छन्‌ अनि यसो गरेकोमा तिनीहरूको खासै आलोचना गरिंदैन। त्यसै गरी, यहोवाका साक्षीहरूले आफ्ना छोराछोरीलाई आधारभूत सत्य र नैतिक सिद्धान्तबारे यहोवाको जस्तै सोचाइ राख्न सिकाउँदा तिनीहरूको मनमस्तिष्कलाई नियन्त्रणमा राख्न खोज्छन्‌ भन्‍ने आरोप लगाउन मिल्दैन।

एउटा शब्दकोशअनुसार (थियोलोजिकल डिक्सनरी अफ द न्यु टेस्टामेन्ट) एफिसी ६:४ मा “शिक्षा” भनेर अनुवाद गरिएको मौलिक युनानी शब्दले “मनलाई सच्याउन, गलत कुरालाई सही बनाउन, परमेश्‍वरप्रतिको मनोवृत्ति सुधार्न खोज्ने” प्रक्रियालाई बुझाउँछ। साथीहरूको दबाबमा परेर अनि साथीभाइको लहैलहैमा लागेर जवानहरूले आमाबाबुको प्रशिक्षणलाई इन्कार गरे भने नि? यस्तो हानिकारक दबाबको दोष कसलाई दिने—आमाबाबुलाई कि साथीभाइलाई? लागू पदार्थ सेवन गर्न, बेस्सरी रक्सी पिउन वा अनैतिक काम गर्न साथीभाइले दबाब दिइरहेका छन्‌ भने, यस्तो नराम्रो काम गर्दा कस्तो परिणाम भोग्नुपर्छ भनेर छोराछोरीलाई बुझाउन वा उसको सोचाइलाई सच्याउन आमाबाबुले प्रयास गरेकोमा के उनीहरूको आलोचना गर्न मिल्छ र?

८. विश्‍वास गर्न तिमोथी कसरी “निश्‍चय” भए?

प्रेरित पावलले जवान तिमोथीलाई यस्तो लेखे: “तिमी चाहिं, यो कसबाट सिकेका हौ, सो जानेर आफूले सिकेका र निश्‍चय भएका कुराहरूमा लागिरह। तिमीले बाल्यकालदेखि पवित्र लेखोटहरू जानेका छौ, जसले ख्रीष्ट येशूमा भएको विश्‍वासद्वारा मुक्‍तिको निम्ति तिमीलाई बुद्धिमान तुल्याउनसक्‍तछ।” (२ तिमोथी ३:१४, १५) तिमोथीका आमा र हजुरआमाले सानैमा तिनलाई पवित्र धर्मशास्त्रको ज्ञान सिकाएर तिनको विश्‍वासको जग बलियो बनाएका थिए। (प्रेरित १६:१; २ तिमोथी १:५) तिमोथीका आमा र हजुरआमा मसीही बनेपछि उनीहरूले तिमोथीलाई पनि त्यही विश्‍वास अँगाल्न जबरजस्ती गरेनन्‌। बरु, धर्मशास्त्रको ज्ञान चलाएर चित्तबुझ्दो तर्क गर्दै तिनलाई “निश्‍चय” गराए वा विश्‍वास दिलाए।

तपाईं आफैले छनौट गरेको यहोवा चाहनुहुन्छ

९. (क) यहोवाले कसरी मानिसहरूको सम्मान गर्नुभयो र यसो गर्नुको कारण के थियो? (ख) परमेश्‍वरको एकलौटो पुत्रले छनौट गर्ने स्वतन्त्रता कसरी चलाउनुभयो?

यहोवाले मानिसहरूलाई उहाँकै मात्र इच्छा गर्ने अनि त्यसबाहेक अरू केही गर्न नसक्ने रोबोटजस्तो बनाउन सक्नुहुन्थ्यो। तर उहाँले मानिसहरूलाई छनौट गर्ने स्वतन्त्रता दिनुभयो। मानिसहरू राजीखुसीसाथ परमेश्‍वरको अधीनमा बसेको उहाँ चाहनुहुन्छ। जवान होस्‌ या वृद्ध सबैले प्रेमद्वारा उत्प्रेरित भएर सेवा गरेको यहोवा चाहनुहुन्छ। परमेश्‍वरको इच्छा गर्न राजीखुसीले उहाँको अधीनमा बस्ने व्यक्‍तिको सर्वोत्तम उदाहरण यहोवाकै एकलौटो पुत्र येशू हुनुहुन्छ। त्यही पुत्रको विषयमा यहोवाले यसो भन्‍नुभयो: “यिनी मेरो प्यारो पुत्र हुन्‌, जोसँग म खुशी छु।” (मत्ती ३:१७) ती जेठो पुत्रले पितालाई भन्‍नुभयो: “हे मेरा परमेश्‍वर, तपाईंको इच्छाबमोजिम गर्न म प्रसन्‍न छु। तपाईंको व्यवस्था मेरो हृदयमा छ।”—भजन ४०:८; हिब्रू १०:९, १०.

१०. कसरी सेवा गरेको यहोवा चाहनुहुन्छ?

१० यहोवाको इच्छा गर्न येशू परमेश्‍वरको अधीनमा बस्नुभएझैं, पुत्रको निर्देशनअनुसार सेवा गर्नेहरूले पनि राजीखुसीसाथ त्यसै गरेको यहोवा चाहनुहुन्छ। भविष्यसूचक ढङ्‌गमा भजनहारले यस्तो भजन गाए: “तिम्रा पराक्रमको दिनमा तिम्रो प्रजाले राजी-खुशीले आफैलाई अर्पण गर्नेछन्‌, पवित्र पोशाकमा बिहानको गर्भबाट, शीतजस्तै तिम्रो जवानी तिम्रो निम्ति आउनेछ।” (भजन ११०:३) यहोवाको सम्पूर्ण संगठन अर्थात्‌ स्वर्गीय र पार्थिव दुवै भाग परमेश्‍वरको इच्छा गर्न राजीखुसीले उहाँको अधीनमा बस्छ।

११. यहोवाप्रति समर्पित आमाबाबुका जवान छोराछोरीले कस्तो छनौट गर्नुपर्छ?

११ त्यसकारण, तपाईं जवानहरूले यो कुरा बुझ्नुहोस्‌—तपाईंका आमाबाबु वा मण्डलीका प्राचीनहरूले तपाईंलाई बप्तिस्मा लिन जबरजस्ती गर्दैनन्‌। तपाईंकै मनभित्रबाट यहोवाको सेवा गर्ने इच्छा जाग्नुपर्छ। प्राचीन समयका यहोशूले इस्राएलीहरूलाई यसो भने: “निष्कपट र सत्यतासाथ [यहोवाको] सेवा गर . . . कसको सेवा गर्ने आजै तिमीहरूले रोज।” (यहोशू २४:१४-२२) त्यसै गरी यहोवालाई आफनो जीवन समर्पण गर्ने अनि उहाँको इच्छाअनुसारै जीवन बिताउने छनौट तपाईं आफैले गर्नुपर्छ।

आफ्नो जिम्मेवारी स्वीकार्नुहोस्‌

१२. (क) आमाबाबुले आफ्ना छोराछोरीलाई प्रशिक्षण त दिन सक्छन्‌ तर के गरिदिन सक्दैनन्‌? (ख) जवानहरूले गर्ने छनौटको लागि तिनीहरू कतिबेला यहोवासामु जिम्मेवार हुन्छन्‌?

१२ आमाबाबुको विश्‍वासले तपाईं जवानहरूलाई सधैं बचाइराख्न सक्दैन। आफैले निर्णय गर्नुपर्ने समय आउँछ। (१ कोरिन्थी ७:१४) चेला याकूबले यस्तो लेखे: “जसले भलाई गर्न जानीकन पनि गर्दैन, त्यसलाई पाप लाग्छ।” (याकूब ४:१७) आमाबाबुले आफ्ना छोराछोरीको लागि अनि छोराछोरीले आफ्ना आमाबाबुको लागि परमेश्‍वरको सेवा गर्न सक्दैन। (इजकिएल १८:२०) के तपाईंले यहोवा र उहाँको उद्देश्‍यबारे सिक्नुभएको छ? के आफूले सिकेको कुरा बुझेर परमेश्‍वरसित व्यक्‍तिगत सम्बन्ध गाँस्न सक्ने उमेरको भइसक्नुभयो? यसो हो भने, परमेश्‍वरको सेवा गर्ने कि नगर्ने भनेर तपाईं आफै निर्णय गर्न सक्नुहुन्छ भनेर परमेश्‍वरले आशा गर्नु के मनासिब होइन र?

१३. बप्तिस्मा नलिएका जवानहरूले आफूलाई कस्ता प्रश्‍नहरू सोध्नु बेस हुनेछ?

१३ के तपाईंका आमाबाबु यहोवाको साक्षी तर तपाईंचाहिं बप्तिस्मा नलिएको जवान हुनुहुन्छ? अनि के तपाईं मसीही सभाहरू धाउँदै हुनुहुन्छ? परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्ने काममा पनि भाग लिइरहनुभएको छ कि? त्यसो हो भने इमानदार भई आफैलाई सोध्नुहोस्‌: ‘म यी सब किन गर्दैछु? म सभाहरू किन धाउँछु अनि प्रचारकार्यमा किन भाग लिन्छु? आमाबाबुको करबरले वा यहोवालाई खुसी पार्न?’ “परमेश्‍वरका असल, मनपर्ने र सिद्ध इच्छा के रहेछ” भनी के तपाईं आफैले जाँचेर पत्ता लगाउनुभएको छ?—रोमी १२:२.

बप्तिस्मा लिन किन ढिला गर्ने?

१४. कुनै कारण छैन भने बप्तिस्मा लिन ढिला गर्नु हुँदैन भनेर बाइबलका कस्ता उदाहरणहरूले देखाउँछ?

१४ “मलाई बप्तिस्मा हुनलाई केले रोक्छ र?” यो प्रश्‍न एथियोपियाली पुरुषले प्रचारक फिलिपलाई सोधेका थिए। येशू नै मसीह हुनुहुन्छ भनेर तिनले भर्खरै मात्र थाह पाएका थिए। अब उप्रान्त मसीही मण्डलीकै भाग भएर यहोवाको सेवा गर्नेछु भनी सबैलाई थाह दिन ढिला गर्नु हुँदैन भनेर तिनले धर्मशास्त्रबाट बुझिसकेका थिए र तिनी असाध्यै रमाए। (प्रेरित ८:२६-३९) त्यसरी नै, “पावलले बोलेका कुरा ध्यानसित सुनून्‌” भनेर लिडिया नाउँकी स्त्रीको हृदय खोलियो अनि तिनी र तिनका परिवारले तुरुन्तै “बप्तिस्मा” लिए। (प्रेरित १६:१४, १५) साथै, पावल र सिलासले फिलिप्पीको झ्यालखानाका हाकिमलाई यहोवाको “वचन सुनाए” अनि “उनी र उनका परिवारले उत्तिखेरै बप्तिस्मा लिए।” (प्रेरित १६:२५-३४) त्यसकारण तपाईंसित यहोवा र उहाँका उद्देश्‍यहरूबारे आधारभूत ज्ञान छ, उहाँको इच्छाअनुसार गर्ने साँचो चासो छ, मण्डलीमा राम्रो नाउँ कमाउनुभएको छ र नियमित तवरमा सभाहरू धाइरहनुभएको छ अनि परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्ने काममा भाग लिइरहनुभएको छ भने, बप्तिस्मा लिन किन ढिला गर्ने?—मत्ती २८:१९, २०.

१५, १६. (क) कस्तो गलत सोचाइले गर्दा कोही-कोही जवानहरू बप्तिस्मा लिनदेखि पछि हट्‌छन्‌? (ख) समर्पण गर्दा र बप्तिस्मा लिंदा जवानहरूकै सुरक्षा हुन्छ, कसरी?

१५ मबाट कुनै गलत काम होला र दोषी हुँला भन्‍ने डरले गर्दा तपाईं बप्तिस्मा लिनदेखि पछि हटिरहनुभएको छ कि? त्यसो हो भने विचार गर्नुहोस्‌: कुनै दिन दुर्घटना होला भन्‍ने डरले गर्दा के तपाईं गाडी वा मोटरसाइकलको लाइसेन्स लिनदेखि पछि हट्‌नुहुन्छ? पक्कै पनि त्यसो गर्नुहुन्‍न! तपाईं बप्तिस्मा लिन योग्य हुनुहुन्छ भने पछि नहट्‌नुहोस्‌। यदि तपाईंले आफ्नो जीवन यहोवालाई समर्पण गर्नुभएको छ र उहाँको इच्छाअनुसार गर्न राजी हुनुभएको छ भने गलत काम नगर्न सक्दो प्रयास गर्न मरिमेट्‌नुहुनेछ। (फिलिप्पी ४:१३) जवानहरू हो, बप्तिस्मा लिएको छैन भन्दैमा जे गरे पनि परमेश्‍वरले केही गर्नुहुन्‍न भन्‍ने सोचाइ नराख्नुहोस्‌। तपाईंले बप्तिस्मा लिएको होस्‌ या नहोस्‌, जिम्मेवारी वहन गर्न सक्ने उमेर पुगेपछि तपाईंले यहोवालाई लेखा दिनुपर्नेछ।—रोमी १४:११, १२.

१६ जवान छँदै बप्तिस्मा लिंदा आफैलाई फाइदा भएको कुरा संसारभरिका थुप्रै साक्षीहरू बताउँछन्‌। पश्‍चिमी युरोपका २३ वर्षीय जवान साक्षीलाई विचार गर्नुहोस्‌। उनी भन्छन्‌, १३ वर्षको उमेरमै बप्तिस्मा लिने निर्णय गरेको कारण म “जवानीका अभिलाषाहरू[को]” वशमा नपर्न होसियार हुन सकें। (२ तिमोथी २:२२) सानो छँदादेखि नै उनले पूर्ण समय सेवा गर्ने लक्ष्य राखेका थिए। अहिले उनी यहोवाका साक्षीहरूको शाखा कार्यालयमा खुसीसाथ सेवा गरिरहेका छन्‌। यहोवाको सेवा गर्ने छनौट गर्नुभयो भने, तपाईंलगायत सबै जवानहरूले प्रशस्त आशिष्‌ पाउन सक्नुहुन्छ।

१७. यहोवाको “इच्छा” के रहेछ भनी कुन-कुन क्षेत्रमा ‘बुझ्नु’ आवश्‍यक छ?

१७ समर्पण गरेर बप्तिस्मा लिइसकेपछि हामी आफ्ना सबै कामकुरामा यहोवाको इच्छा के रहेछ, सो विचार गर्छौं। समर्पणअनुसार जीवन बिताउन ‘समयको अवसर विचार गर्नुपर्छ’ अर्थात्‌ समय किन्‍नुपर्छ। कसरी समय किन्‍न सक्छौं? हामी पहिला व्यर्थका कुराहरूमा समय खेर फाल्थ्यौं होला। तर अब बाइबलको गहिरो अध्ययन गर्न, नियमित सभा धाउन अनि ‘राज्यको सुसमाचार’ सकेसम्म धेरै मानिसहरूलाई सुनाउन त्यो समय चलाउन सक्छौं। (एफिसी ५:१५, १६; मत्ती २४:१४) यहोवालाई जीवन समर्पण गर्दा अनि उहाँको इच्छा पूरा गर्न तत्पर हुँदा जीवनको सबै क्षेत्रमा; जस्तै—फुर्सतको समय कसरी बिताउँछौं, खाने-पिउने विषयमा हाम्रो बानी कस्तो छ र कस्तो प्रकारको गीत सुन्छौं, इत्यादि कुरामा राम्रो असर पार्छ। सदासर्वदै आनन्द उठाउन सकिने खालको रमाइलो छाने कसो होला? यहोवाको “इच्छा[को]” सीमाभित्र बसेर पनि रमाइलो गर्न सकिन्छ भनेर थुप्रै आनन्दित जवान साक्षीहरू बताउन सक्छन्‌।—एफिसी ५:१७-१९.

“हामी तपाईंसितै जानेछौं”

१८. जवानहरूले आफैलाई कस्तो प्रश्‍न सोध्नुपर्छ?

१८ ईसापूर्व १५१३ देखि इस्वी संवत्‌ ३३ सम्म पृथ्वीमा यहोवाले छान्‍नुभएका मानिसहरूको समूह थियो। त्यस समूहले यहोवाको उपासना गर्थ्यो र उनीहरू उहाँका साक्षी थिए। (यशैया ४३:१२) इस्राएलीहरूका छोराछोरी जन्मँदै त्यस समूह अर्थात्‌ राष्ट्रका सदस्य हुन्थे। तर इस्वी संवत्‌ ३३ पेन्तिकोसदेखि भने यहोवाले पृथ्वीमा एउटा नयाँ “जाति” अर्थात्‌ “उहाँको नाउँको निम्ति” आध्यात्मिक इस्राएल खडा गर्नुभएको छ। (१ पत्रुस २:९, १०; प्रेरित १५:१४; गलाती ६:१६) ख्रीष्टले ‘सुकर्ममा जोशिलो भएका उहाँकै आफ्ना एक खास जातिलाई’ पवित्र तुल्याउनुभएको छ भनी प्रेरित पावल बताउँछन्‌। (तीतस २:१४) त्यस्ता मानिसहरू कहाँ छन्‌ भनेर तपाईं जवानहरूले नै पत्ता लगाउन सक्नुहुन्छ। आज बाइबलका सिद्धान्तअनुसार जीवन बिताइरहेका, विश्‍वासी भई यहोवाको विषयमा साक्षी दिइरहेका अनि मानिसजातिको एउटै मात्र आशा परमेश्‍वरको राज्य हो भनी घोषणा गरिरहेका “सत्य पालन गर्ने धार्मिक जाति” को हुन्‌? (यशैया २६:२-४) मसीहीजगत्‌का चर्च अनि अरू धर्मलाई हेर्नुहोस्‌। परमेश्‍वरका साँचो सेवकहरूको आचरण कस्तो हुनुपर्छ भनेर बाइबलले बताउने कुरासित तिनीहरूको आचरण मिल्छ कि मिल्दैन, तुलना गर्नुहोस्‌।

१९. संसारभरिका लाखौं मानिस कुन कुरामा विश्‍वस्त भएका छन्‌?

१९ त्यो “धार्मिक जाति” यहोवाका साक्षीहरूको अभिषिक्‍त शेषजन हुन्‌ भनेर संसारभरिका जवानलगायत अरू लाखौं मानिस विश्‍वस्त भएका छन्‌। उनीहरू यी आध्यात्मिक इस्राएलीहरूलाई यसो भन्छन्‌: “हामी तपाईंसितै जानेछौं, किनभने हामीले सुनेका छौं कि परमेश्‍वर तपाईंसित हुनुहुन्छ।” (जकरिया ८:२३) तपाईं जवानहरूले यहोवाको जन हुने निर्णय गर्नुहुनेछ अनि “जीवन” अर्थात्‌ यहोवाको नयाँ संसारमा अनन्त जीवन रोज्नुहुनेछ भनेर हामी साँच्चै आशा गर्छौं। अनि यस्तै होस्‌ भनेर प्रार्थना पनि गर्छौं।—व्यवस्था ३०:१५-२०; २ पत्रुस ३:११-१३. (w 06 7/1)

पुनरावलोकन गर्दा

एफिसी ६:४ मा उल्लेख गरिएको “शिक्षा” शब्दले कस्तो अर्थ बुझाउँछ?

• यहोवा कस्तो किसिमको सेवा स्वीकार्नुहुन्छ?

• यहोवाप्रति समर्पित आमाबाबुका सबै जवान छोराछोरीले कस्तो छनौट गर्नुपर्छ?

• कुनै कारण छैन भने बप्तिस्मा लिन किन ढिला गर्नु हुँदैन?

[प्रश्‍नहरू]

[पृष्ठ २८-मा भएका चित्रहरू]

तपाईं कसको कुरा सुन्‍नुहुन्छ?

[पृष्ठ २९-मा भएको चित्र]

समर्पण गर्दा र बप्तिस्मा लिंदा तपाईंकै सुरक्षा हुन्छ, कसरी ?

[पृष्ठ ३०-मा भएको चित्र]

बप्तिस्मा लिनदेखि तपाईंलाई कुन कुराले रोकेको छ?