सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

‘तपाईंका सम्झौटा मेरा आनन्द हुन्‌’

‘तपाईंका सम्झौटा मेरा आनन्द हुन्‌’

‘तपाईंका सम्झौटा मेरा आनन्द हुन्‌’

“जत्ति कुरा अघि लेखिए, ती सबै हाम्रो शिक्षाको निम्ति हो।”—रोमी १५:४.

१. यहोवा हामीलाई कुन-कुन तरिकामा सम्झौटा दिनुहुन्छ र हामीलाई ती चाहिनुको कारण के हो?

 हामी बाँचिरहेको समय डरलाग्दो छ, यसले दिने दबाब त झनै बोझिलो। यस्तो दबाबसामु घुँडा नटेक्न यहोवा आफ्ना जनलाई सम्झौटाहरू दिनुहुन्छ। कतिपय सम्झौटा व्यक्‍तिगत रूपमा बाइबल पढ्‌दा थाह पाउँछौं भने, अरूचाहिं मसीही सभामा दिइने जानकारी वा टिप्पणीमा पाउँछौं। हामीले पढ्‌ने वा सुन्‍ने धेरैजसो कुरा हाम्रा लागि नयाँ हुँदैनन्‌। यस्तो जानकारी त पहिला पनि छलफल गरिसकेका हौंला। तर हामी भुसुक्क बिर्सिहाल्छौं। त्यसकारण यहोवाको उद्देश्‍य, व्यवस्था तथा निर्देशनहरू सम्झिन हामीले आफ्नो दिमागलाई हरपल ताजा राख्नु खाँचो छ। परमेश्‍वरले सम्झौटाहरू दिनुभएकोमा उहाँलाई धन्यवाद दिनुपर्छ। किनभने यस्ता सम्झौटाहरूले परमेश्‍वरको इच्छाअनुसार जीवन बिताउन हामीलाई उत्प्रेरित गर्ने कुरा सम्झिन मदत गर्छ र प्रोत्साहन दिन्छ। त्यसैकारण त भजनहारले यसो भन्दै यहोवाको भजन गाए: “तपाईंका साक्षी-वचन [“सम्झौटा,” NW ] मेरा आनन्द . . . हुन्‌।”—भजन ११९:२४.

२, ३. (क) यहोवाले किन बाइबल पात्रहरूको जीवनी हाम्रो समयसम्म साँचेर राख्नुभयो? (ख) बाइबलमा पाइने कुन तीनवटा विवरण यस लेखमा छलफल गर्नेछौं?

परमेश्‍वरको वचन बाइबल धेरै शताब्दीअघि लेखिएको थियो तरैपनि यो अझै प्रबल छ। (हिब्रू ४:१२) बाइबलमा विभिन्‍न व्यक्‍तिको साँचो जीवनी पाइन्छ। बाइबल लेखिएको समयमा जे-जस्तो रहनसहन र धारणा थियो त्यसमा आमूल परिवर्तन आइसके पनि त्यतिबेलाका मानिस र हामीले भोग्ने समस्याहरू भने प्रायः उस्तै छन्‌। हाम्रो भलाइको लागि बाइबलमा साँचेर राखिएका थुप्रै कथामा यहोवालाई प्रेम गर्ने र अप्ठ्यारो परिस्थितिमा पनि विश्‍वासी भई उहाँको सेवा गर्ने मानिसहरूको हृदयस्पर्शी उदाहरणहरू पाइन्छ। बाइबलका अरू विवरणले चाहिं परमेश्‍वरलाई मन नपर्ने बानीबेहोरा थाह पाउन मदत गर्छ। विभिन्‍न व्यक्‍तिले गरेका असल र खराब कामको विवरणलाई यहोवाले सम्झौटाको रूपमा बाइबलमा लेख्न लगाउनुभयो। त्यसरी लेखेर राख्नुको कारण खुलाउँदै प्रेरित पावलले भने: “जत्ति कुरा अघि लेखिए, ती सबै हाम्रो शिक्षाको निम्ति हो, कि धीरज र धर्मशास्त्रको शान्तिद्वारा हामीलाई आशा होस्‌।”—रोमी १५:४.

आउनुहोस्‌, बाइबलमा पाइने तीनवटा विवरणलाई ध्यान देऔं। (१) दाऊदले शाऊलसित गरेको व्यवहार, (२) हननिया र सफिराको कथा र (३) यूसुफले पोतीफरकी पत्नीसित गरेको व्यवहार। तीनैवटा विवरणले हामीलाई मूल्यवान्‌ पाठ सिकाउँछ।

परमेश्‍वरले गर्नुभएका प्रबन्धहरूप्रति वफादार हुने

४, ५. (क) राजा शाऊल र दाऊदबीच कस्तो सम्बन्ध थियो? (ख) शाऊलले शत्रुजस्तो व्यवहार गर्दा पनि दाऊदले के गरे?

राजा शाऊलले यहोवाको विश्‍वास तोडे र यहोवाका जनहरूमाथि शासन गर्न लायक ठहरेनन्‌। त्यसकारण परमेश्‍वरले तिनलाई त्याग्नुभयो र दाऊदलाई इस्राएलको भावी राजा नियुक्‍त गर्न अगमवक्‍ता शमूएललाई खटाउनुभयो। दाऊदले आफूलाई वीर योद्धा साबित गर्नुका साथै मानिसहरूले पनि तिनको तारिफ गर्न थालेपछि शाऊलले तिनलाई शत्रुजस्तो व्यवहार गर्न थाले। शाऊलले दाऊदलाई पटक-पटक मार्ने कोसिस गरे। तर आक्रमण भएपिच्छे दाऊद बच्न सफल भए किनभने यहोवा तिनीसित हुनुहुन्थ्यो।—१ शमूएल १८:६-१२, २५; १९:१०, ११.

वर्षौंसम्म दाऊद भगुवा जीवन बिताउन बाध्य भए। तिनले शाऊललाई मार्ने मौका पाएको बेला तिनका साथीहरूले यसो भन्दै मार्न सुऱ्‍याएका थिए, ‘यहोवाले नै तपाईंको शत्रुलाई तपाईंको हातमा सुम्पिदिनुभएको छ।’ तर दाऊदले शाऊलमाथि हात उठाएनन्‌। किन? किनभने दाऊद यहोवाका वफादार सेवक थिए र परमेश्‍वरका जनहरूमाथि शासन गर्न शाऊल राजा अभिषेक भएका थिए। के यहोवाले नै शाऊललाई इस्राएलको राजा नियुक्‍त गर्नुभएको थिएन र? त्यसकारण समयमा यहोवाले नै तिनलाई हटाउनुहुने थियो। शाऊललाई खत्तम गर्ने काम मेरो होइन भनेर दाऊदले तर्क गरे। त्यस्तो स्थितिमा शाऊलको मन जित्ने सक्दो कोसिस गरिसकेपछि दाऊदले अन्तमा भने: “परमप्रभुले त्यसलाई मार्नुहुनेछ। किता त्यसको काल आएर त्यो मर्नेछ अथवा लडाइँमा गएर त्यो खतम हुनेछ। मैले परमप्रभुको अभिषिक्‍तको विरुद्धमा हात कहिले उठाउन नपरोस्‌।”—१ शमूएल २४:३-१५; २६:७-२०.

६. दाऊद र शाऊलको कथा हाम्रो लागि किन महत्त्वपूर्ण छ?

यस विवरणबाट एउटा अत्यन्त महत्त्वपूर्ण पाठ सिक्न सक्छौं। जस्तै—मण्डलीमा किन कहिलेकाहीं समस्या खडा हुन्छ, सोच्ने गर्नुभएको छ? कुनै भाइ वा बहिनीको चालामाला ठीक नभएकोले यस्तो भइरहेको हुन सक्छ। तिनको आचरण साह्रै खराब त नहोला तैपनि तपाईंलाई नमज्जा लागिरहेको छ। त्यसोभए के गर्ने? तिनको भलो चिताएर अनि यहोवाप्रति वफादार रहेर समस्या सुल्झाउने कोसिस गर्दै तपाईं तिनीसित दयालु ढङ्‌गमा कुरा गर्न सक्नुहुन्छ। तर यति गर्दा-गर्दै पनि समस्या सुल्झेन भने? आफ्नोतर्फबाट सकेजति गर्नुहोस्‌, बाँकी यहोवाको हातमा छोडिदिनुहोस्‌। दाऊदले पनि त्यसै गरे।

७. अरूले हामीमाथि अन्याय गर्दा वा धर्मको कुरा उठाएर समस्यामा पार्दा, दाऊदको अनुकरण गर्दै हामीले के गर्नुपर्छ?

अथवा समाजले तपाईंलाई अन्याय गरिरहेको होला वा धर्मको कुरा उठाएर समस्यामा पारेको होला। न्याय पाउन अथवा समस्याको समाधान खोज्न जति नै रोई-कराई गरे पनि केही नहुन सक्छ किनकि यो दुनियाँ नै यस्तै छ। यस्तो स्थिति सहेर बस्नु साह्रै गाह्रो हुन्छ तर अन्याय हुँदा दाऊदले के गरे, त्यसबाट पाठ सिक्न सक्छौं। जस्तै—दाऊदले लेखेका मन छुने भजनहरूमा तिनले शाऊलको हातबाट बचाउनुहोस्‌ भन्दै परमेश्‍वरलाई हृदयदेखि नै प्रार्थना गरेका छन्‌। साथै, यहोवाप्रति वफादार रहन अनि उहाँको नाउँको प्रशंसा गर्न सकूँ भनेर पनि तिनले प्रार्थना गरे। (भजन १८:१-६, २५-२७, ३०-३२, ४८-५०; ५७:१-११) शाऊलले वर्षौंसम्म अन्यायपूर्ण व्यवहार गरे तापनि दाऊद यहोवाप्रति वफादार रहे। अरूले हामीमाथि जस्तोसुकै अन्याय वा व्यवहार गरे तापनि यहोवा अनि उहाँको संगठनप्रति वफादार रहनुपर्छ। हामी बढी नै चिन्तित हुनु पर्दैन किनकि यहोवालाई हाम्रो अवस्था राम्रोसँग थाह छ।—भजन ८६:२.

८. यहोवाप्रतिको वफादारिता जाँच हुँदा मोजाम्बिकका यहोवाका साक्षीहरूले कस्तो प्रतिक्रिया देखाए?

हाम्रो समयका मसीहीहरू पनि कष्टका बावजुद यहोवाप्रति वफादार रहेका छन्‌। उदाहरणको लागि, सन्‌ १९८४ मा भूमिगत संगठनका हतियारधारी समूहले मोजाम्बिकका मसीही भाइबहिनीको गाउँमा पटक-पटक आक्रमण गरे। तिनीहरूले लुटपाट मच्चाए, घरहरू जलाए अनि धेरैलाई मारे। त्यस्तो अवस्थामा बिचरा ती साँचो मसीहीहरूले ज्यान जोगाउन के नै गर्न सक्थे र! गाउँलेहरूलाई कि त हतियारधारी समूहमा सामेल हुने, नभए कुनै न कुनै तरिकामा तिनीहरूलाई समर्थन गर्नै पर्ने दबाब दिइयो। त्यसरी समर्थन गर्नुलाई यहोवाका साक्षीहरूले आफ्नो मसीही तटस्थता भङ्‌ग गर्नु सरह ठाने। साक्षीहरूको त्यस्तो अडान देखेर भूमिगत संगठनका मानिसहरूले झनै आक्रमण गरे। कहालीलाग्दो त्यस समयमा करिब ३० जना साक्षीले ज्यान गुमाए तर ज्यान मार्ने धम्कीले समेत परमेश्‍वरका जनहरूको वफादारिता तोड्‌न सकेन। a दाऊदले जस्तै उनीहरूले पनि अन्याय सहे र अन्तमा विजयी भए।

चेतावनीमूलक सम्झौटा

९, १०. (क) बाइबलका कुनै-कुनै उदाहरणबाट हामी कस्तो लाभ उठाउन सक्छौं? (ख) हननिया र सफीराले जे गरे, त्यसमा कुन कुरा गलत थियो?

बाइबलमा चर्चा गरिएका केही व्यक्‍तिको आनीबानी नक्कल गर्न नहुने चेतावनीमूलक सम्झौटा हुन्‌। बाइबलमा उल्लेख भएका थुप्रै मानिस, अझ भनौं भने परमेश्‍वरकै कतिपय सेवकहरूले गर्न नहुने काम गरेर नमिठो परिणाम भोगेका छन्‌। (१ कोरिन्थी १०:११) यस्तो दुःखलाग्दो परिणाम भोग्ने एक विवाहित जोडीको नाउँ हो, हननिया र सफीरा। उनीहरू यरूशलेममा भएको प्रथम शताब्दीको मण्डलीका सदस्यहरू थिए।

१० इस्वी संवत्‌ ३३ पेन्तिकोसपछिको कुरा हो। प्रेरितहरूसित सरसंगत गरेर लाभ उठाउन भर्खरै बप्तिस्मा लिएका व्यक्‍तिहरू यरूशलेममै बसेका थिए। उनीहरूलाई भौतिक रूपमा मदत गर्नुपर्ने भयो। सबैको हेरविचार राम्रोसँग हुन सकोस्‌ भनेर मण्डलीका कसै-कसैले आफूसित भएको सम्पत्ति बेचे। (प्रेरित २:४१-४५) हननिया र सफीराले पनि एक टुक्रा जमिन बेचे अनि त्यसको मोलबाट केही हिस्सा मात्र प्रेरितहरूको चरणमा राखिदिए। तिनीहरूले जमिन बेचेर पाएको जम्माजम्मी रकम त्यति नै हो भने। हननिया र सफीराले आफूले सकेजति वा आफूले चाहेजति दिएको भए भइहाल्थ्यो तर मनसाय नै चोखो नभएको कारण तिनीहरूले बेइमान गरे। तिनीहरू प्रेरितहरूको नजरमा खूबै राम्रो देखिन र आफ्नो हैसियतभन्दा बढी दिएको भान पार्न चाहन्थे। तर पवित्र आत्माको शक्‍ति पाएपछि प्रेरित पत्रुसले तिनीहरूको बेइमानी काम र छल-कपट पर्दाफास गरिदिए र यहोवाले तिनीहरूलाई खत्तम पार्नुभयो।—प्रेरित ५:१-१०.

११, १२. (क) इमानदार हुन मदत गर्ने केही सम्झौटा के-के हुन्‌? (ख) इमानदार हुँदा के लाभ हुन्छ?

११ मानिसहरूको नजरमा प्रिय बन्‍न बेइमानी गरौं जस्तो लाग्यो भने हननिया र सफीराको कथाले हामीलाई खबरदार गरोस्‌। हामी सँगी भाइबहिनीलाई त झुक्याउँला तर यहोवालाई झुक्याउन सक्दैनौं। (हिब्रू ४:१३) यसैकारण त बाइबल हामीलाई एक-अर्काप्रति इमानदार हुन बारम्बार सल्लाह दिन्छ किनभने अधर्मको छायाँसमेत नहुने नयाँ संसारमा झूटो बोल्नेहरू बस्न पाउनेछैनन्‌। (हितोपदेश १४:२; प्रकाश २१:८; २२:१५) यसको कारण प्रस्ट छ: हरेक किसिमको झूट फैलाउने व्यक्‍ति शैतान अर्थात्‌ दियाबल हो।—यूहन्‍ना ८:४४.

१२ इमानदार भई जीवन बिताउँदा थुप्रै लाभ हुन्छ। उदाहरणको लागि—हाम्रो अन्तस्करण सफा हुन्छ र अरूले भरोसा गर्दा सन्तुष्टि पनि मिल्छ। इमानदार भएकै कारण साक्षीहरूले जागिर पाएका छन्‌ अथवा अरू कामदार जागिरबाट निकालिंदा उनीहरू निकालिएका छैनन्‌। तर इमानदार हुँदा मिल्ने सबैभन्दा ठूलो लाभ त सर्वशक्‍तिमान्‌ परमेश्‍वरसित मित्रता गाँस्न पाउनु हो।—भजन १५:१, २.

नैतिक रूपमा शुद्ध रहने

१३. यूसुफ कस्तो अवस्थामा परे तरैपनि तिनले के गरे?

१३ कुलपिता याकूबका छोरा यूसुफलाई दास बन्‍न बेचिएको थियो। बेचिंदा तिनी १७ वर्षका थिए। अन्तमा उनलाई मिश्रका एक अफिसर पोतीफरले किने। पोतीफरकी पत्नीलाई यूसुफ निकै मनपऱ्‍यो। तिनी सुन्दर र लक्का जवान यूसुफसित यौनसम्बन्ध राख्न चाहन्थिन्‌। तिनले दिनदिनै यूसुफलाई यस्तो आग्रह गरिन्‌: “मसित सुत्‌।” यूसुफ आफ्नो परिवारदेखि टाढा थिए र त्यस ठाउँमा तिनलाई चिन्‍ने कोही थिएन। यूसुफले त्यस आइमाईसित यौनसम्बन्ध राख्न सक्थे र कसैले सुइँको समेत पाउने थिएन। तरैपनि एक दिन पोतीफरकी पत्नीले यूसुफलाई च्याप्प समाउँदा उनी त्यहाँबाट भागे।—उत्पत्ति ३७:२, १८-२८; ३९:१-१२.

१४, १५. (क) यूसुफको कथा हाम्रो लागि चासोको विषय हो, किन? (ख) परमेश्‍वरका सम्झौटाहरूमा ध्यान दिएको कारण एउटी मसीही बहिनी कृतज्ञ हुन सकिन्‌, किन?

१४ परमेश्‍वरको डर राख्ने परिवारमा यूसुफ हुर्केका थिए। श्रीमान्‌-श्रीमतीबाहेक अरूसित यौन सम्बन्ध राख्नु गलत हो भनेर तिनले बुझेका थिए। त्यसैकारण त उनले भने: “कसरी यस्तो घोर दुष्ट काम गरेर परमेश्‍वरको विरुद्धमा मैले पाप गर्नु?” अदनको बगैंचामा परमेश्‍वरले तोक्नुभएको स्तर अर्थात्‌ एक जनासित मात्र विवाह गर्नुपर्छ भन्‍ने कुरा थाह भएकै कारण यूसुफले त्यस्तो तर्क गरेका हुन सक्छन्‌। (उत्पत्ति २:२४) यूसुफले चालेको कदमबारे मनन गरेर आज परमेश्‍वरका जनहरूले पनि लाभ उठाउन सक्छन्‌। कुनै-कुनै ठाउँका मानिसहरू यौनसम्बन्धलाई खेलाँची ठान्छन्‌। अनैतिक काम गर्न नमान्‍ने युवायुवतीलाई साथीहरू डरपोक भन्छन्‌। श्रीमान्‌-श्रीमतीबाहेक अरूसित यौनसम्बन्ध राख्नुलाई वयस्कहरू सामान्य ठान्छन्‌। यसैकारण यूसुफको कथा हाम्रो लागि समय सुहाउँदो सम्झौटा भएको छ। परमेश्‍वरको स्तरअनुसार अवैध यौन सम्बन्ध राख्नु र व्यभिचार गर्नु पाप हो र यो स्तर अझै परिवर्तन भएको छैन। (हिब्रू १३:४) अवैध यौन सम्बन्ध राख्ने व्यक्‍तिहरूलाई यस्तो खराब काम गर्दा भोग्नुपर्ने तीतो नतिजा राम्रोसँग थाह हुन्छ। जस्तै—यौनसम्बन्ध राखिसकेपछि अपमान भएको महसुस हुन्छ, अन्तस्करणले पोल्छ, मन ईर्ष्याले भरिन सक्छ, गर्भवती हुने सम्भावना हुन्छ र यौनजन्य रोग सर्न सक्छ। त्यसैकारण त बाइबल हामीलाई सम्झाउँछ—व्यभिचार गर्ने व्यक्‍तिले “आफ्नै शरीरको विरुद्धमा पाप गर्दछ।”—१ कोरिन्थी ५:९-१२; ६:१८; हितोपदेश ६:२३-२९, ३२.

१५ जेनी, b यहोवाका अविवाहित साक्षी हुन्‌। परमेश्‍वरले सम्झौटाहरू दिनुभएकोमा तिनी साह्रै खुसी छिन्‌। कुरा के रहेछ भने, काम गर्ने ठाउँको एउटा सुन्दर केटाले तिनलाई प्रेम प्रस्ताव राखेछ। जेनीले प्रस्ताव अस्वीकार गरेपछि त्यस केटाले झनै खेदो गर्न थालेछ। तिनी दुःख पोखाउँदै भन्छिन्‌, “पवित्र रहन साह्रै गाह्रो भयो। विपरीत लिङ्‌गको व्यक्‍तिले चासो देखाउँदा मन फुरुङ्‌ग भइहाल्दो रैछ।” तर त्यस केटाले थुप्रै केटीसित यौनसम्बन्ध राखिसकेको र तिनलाई पनि आफ्नो सिकार बनाउन खोज्दैछ भनेर जेनीले थाह पाइन्‌। त्यस केटादेखि जोगिने आफ्नो सङ्‌कल्प कमजोर भएजस्तो लागेपछि वफादार रहन मदत गर्नुहोस्‌ भन्दै तिनले यहोवालाई प्रार्थना गरिन्‌। जेनी भन्छिन्‌, बाइबल र अरू प्रकाशनहरूमा अनुसन्धान गर्दा थाह पाएको कुराले मलाई होसियार गरायो। साँच्चै भन्‍ने हो भने ती मेरो लागि रोगबाट जोगाउने खोप साबित भयो। तिनलाई होसियार गराउने एउटा सम्झौटा थियो, यूसुफ र पोतीफरकी पत्नीको कथा। कुरा टुङ्‌याउँदै तिनी भन्छिन्‌, “यहोवालाई धेरै माया गर्छु भनेर आफूलाई सम्झाइरहेसम्म मबाट यस्तो घोर दुष्ट काम होला र उहाँ विरुद्ध पाप गरूँला भनेर डराउनुपर्ने कुरै छैन।”

परमेश्‍वरले दिनुभएका सम्झौटाहरूमा ध्यान दिनुहोस्‌!

१६. बाइबलमा चर्चा गरिएका व्यक्‍तिहरूको जीवनी फेरि एक चोटि पढेर अनि त्यसमा मनन गरेर कसरी लाभ उठाउन सक्छौं?

१६ यहोवाले किन कुनै-कुनै विवरण हाम्रो लागि बाइबलमा साँचेर राख्न लगाउनुभयो, सो बुझ्ने कोसिस गऱ्‍यौं भने यहोवाको स्तरलाई झनै अनमोल ठान्‍न सक्नेछौं। ती विवरणबाट कस्तो पाठ सिक्न सकिन्छ? बाइबलमा चर्चा गरिएका व्यक्‍तिहरूको कस्तो गुण अनुकरण गर्नुपर्छ र कस्तो झुकाव हटाउनुपर्छ? साँच्चै भन्‍ने हो भने, परमेश्‍वरको वचन बाइबलमा सयौं व्यक्‍तिको विवरण पाइन्छ। परमेश्‍वर जस्तो निर्देशन दिनुहुन्छ त्यसै गर्ने व्यक्‍तिहरूले जीवनदायी ज्ञान आर्जन गर्ने इच्छा बढाएर धेरै लाभ उठाउन सक्नेछन्‌। यस्तो जीवनदायी ज्ञान आर्जन गर्नुमा यहोवाले होसियारसाथ साँचेर राख्नुभएका उदाहरणहरूबाट पाठ सिक्नु पनि समावेश छ। हाम्रा पत्रिकाहरूमा थुप्रै व्यक्‍तिको शिक्षामूलक जीवनी छापिन्छ। फेरि एक चोटि यस्ता जीवनी पढ्‌न समय निकाल्नुस्‌ न, हुन्‍न?

१७. यहोवाले दिनुभएका सम्झौटाहरू तपाईंलाई कस्तो लाग्छ र किन?

१७ यहोवाको इच्छाअनुसार चल्न भरमग्दुर कोसिस गरिरहेका व्यक्‍तिहरूप्रति उहाँ जुन किसिमको मायालु चासो देखाउनुहुन्छ, त्यसको लागि हामी उहाँलाई मुरीमुरी धन्यवाद दिन्छौं! बाइबलमा चर्चा गरिएका पुरुष तथा स्त्रीहरू सिद्ध नभएजस्तै हामी पनि सिद्ध छैनौं। तर उनीहरूले गरेका कामको लिखित रेकर्ड हाम्रो लागि एकदमै बहुमूल्य छ। यहोवाले दिनुभएका सम्झौटाहरूमा ध्यान दियौं भने, गम्भीर गल्ती गर्नबाट जोगिनेछौं र धार्मिकताको बाटोमा हिंडेका व्यक्‍तिहरूको असल उदाहरण अनुसरण गर्न सक्नेछौं। यसो गऱ्‍यौं भने, भजनहारसँगै सोरमा सोर मिलाएर हामी पनि यस्तो गीत गाउन सक्नेछौं: “तिनीहरू धन्यका हुन्‌, जसले [यहोवाका] साक्षी-वचन [“सम्झौटा,” NW ] पालन गर्दछन्‌, जसले उहाँलाई पूरा हृदयले खोज्दछन्‌। मेरो मनले तपाईंका साक्षी-वचनहरू [“सम्झौटाहरू,” NW ] पालन गरेको छ। र म तिनीहरूलाई अत्यन्तै प्रेम गर्दछु।”—भजन ११९:२, १६७. (w 06 6/15)

[फुटनोटहरू]

a सन्‌ १९९६ यरबूक अफ जेहोभाज्‌ विट्‌नेसेज, पृष्ठ १६०-१६२ हेर्नुहोस्‌।

b नाउँ परिवर्तन गरिएको छ।

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• दाऊदले शाऊलप्रति जस्तो दृष्टिकोण राखेका थिए, त्यसबाट हामी के सिक्न सक्छौं?

• हननिया र सफीराको कथाले हामीलाई के सिकाउँछ?

• यूसुफको जीवनीमा आज हामीले किन विशेष ध्यान दिनुपर्छ?

[प्रश्‍नहरू]

[पृष्ठ १८-मा भएको चित्र]

दाऊदले शाऊललाई मार्न इन्कार गरे, किन?

[पृष्ठ १९-मा भएको चित्र]

हननिया र सफीराको कथाबाट के सिक्न सक्छौं?

[पृष्ठ २०-मा भएको चित्र]

कुन कुराले यूसुफलाई अनैतिक कुरामा फस्नदेखि जोगायो?