सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तिनीहरू जन्मँदै परमेश्‍वरले छान्‍नुभएको राष्ट्रका सदस्य थिए

तिनीहरू जन्मँदै परमेश्‍वरले छान्‍नुभएको राष्ट्रका सदस्य थिए

तिनीहरू जन्मँदै परमेश्‍वरले छान्‍नुभएको राष्ट्रका सदस्य थिए

“परमप्रभु तिमीहरूका परमेश्‍वरले . . . आफ्नो निम्ति एक विशेष जाति बनाउन भनी तिमीहरूलाई छान्‍नुभयो।”—व्यवस्था ७:६

१, २. आफ्ना जनहरूको खातिर यहोवाले कस्तो महान्‌ कार्य गर्नुभयो अनि परमेश्‍वरले इस्राएलीहरूसित कस्तो सम्बन्ध गाँस्नुभयो?

 ईसापूर्व १५१३ मा यहोवाले पृथ्वीका आफ्ना सेवकहरूसित नयाँ सम्बन्ध गाँस्नुभयो। त्यही वर्ष उहाँले एउटा विश्‍वशक्‍तिको सेखी झार्नुभयो र इस्राएलीहरूलाई दासत्वबाट छुटाउनुभयो। यसरी उहाँ तिनीहरूको उद्धारक अनि मालिक बन्‍नुभयो। इस्राएलीहरूलाई छुटाउनुअघि परमेश्‍वरले मोशालाई यसो भन्‍नुभयो: “इस्राएलीहरूलाई भन्‌, म परमप्रभु हुँ। म तिमीहरूलाई मिश्रीहरूका बोझामनिबाट निकाल्नेछु, र तिनीहरूका दासत्वबाट छुटकारा दिनेछु। आफ्नो हात उठाएर औ तिनीहरूलाई भारी दण्ड दिएर म तिमीहरूको उद्धार गर्नेछु। म तिमीहरूलाई मेरै प्रजा हुनलाई ग्रहण गर्नेछु। म तिमीहरूका परमेश्‍वर हुनेछु।”—प्रस्थान ६:६, ७; १५:१-७, ११.

मिश्रबाट निस्केको केही समयपछि नै यहोवा परमेश्‍वरले इस्राएलीहरूसित एउटा करार बाँध्नुभयो। करारमा बाँधिएपछि पृथ्वीमा भएका उहाँका जनहरू कुनै खास व्यक्‍ति, परिवार वा कुटुम्बको रूपमा नभई समूहको रूपमा एउटा राष्ट्र हुने थियो। (प्रस्थान १९:५, ६; २४:७) इस्राएलीहरूको दैनिक कामकुरामा र सबैभन्दा महत्त्वपूर्ण त, उहाँको उपासनासित सम्बन्धित विषयमा डोऱ्‍याउन यहोवाले तिनीहरूलाई विभिन्‍न नियम दिनुभयो। मोशाले तिनीहरूलाई यसो भने: “हामीले पुकारा गर्दा परमप्रभु हाम्रा परमेश्‍वर हाम्रो यति नजीक हुनुभएझैं ईश्‍वर यति नजीक भएको अरू कुनचाहिं महान्‌ जाति छ? मैले तिमीहरूलाई दिएको सारा व्यवस्थामा जस्तै ठीक-ठीक विधि-विधान भएको अरू कुनचाहिं यति महान्‌ जाति छ?”—व्यवस्था ४:७, ८.

जन्मँदै साक्षी राष्ट्रको सदस्य

३, ४. इस्राएलीहरू राष्ट्रको रूपमा अस्तित्वमा रहिरहनुको एउटा महत्त्वपूर्ण कारण के थियो?

इस्राएलीहरू राष्ट्रको रूपमा अस्तित्वमा रहिरहनुको एउटा महत्त्वपूर्ण कारण यहोवाले शताब्दीयौंपछि अगमवक्‍ता यशैयामार्फत इस्राएलीहरूलाई सम्झाउनुभयो। यशैयाले भने: “हे इस्राएल तँलाई रच्ने, हे याकूब तँलाई सृष्टि गर्ने, परमेश्‍वर भन्‍नुहुन्छ, नडरा, किनकि मैले तँलाई छुटाएको छु। मैले तँलाई तेरो नाउँ काढेर बोलाएको छु, तँ मेरै होस्‌। किनभने म तेरा परमेश्‍वर हुँ, इस्राएलका पवित्र परमप्रभु, तेरा परमेश्‍वर हुँ, इस्राएलका पवित्र परमप्रभु, तेरा उद्धारक। . . . मेरा छोराहरूलाई टाढादेखि र मेरा छोरीहरूलाई पृथ्वीको पल्लो छेउदेखि ल्याऊ, हरेक जो मेरो नाउँद्वारा बोलाइएको छ, र जसलाई मैले मेरो महिमाको निम्ति सृष्टि गरेको छु, त्यसको आकार मैलेनै बनाएँ र त्यसलाई रचें। परमप्रभु भन्‍नुहुन्छ, “तिमीहरू मेरा साक्षी र मैले चुनेका दास हौ। . . . त्यस जातिलाई, जसलाई मैले मेरो प्रशंसा गरून्‌ भनेर मेरो निम्ति उत्पन्‍न गरें।”—यशैया ४३:१, ३, ६, ७, १०, २१.

यहोवाको नाउँले चिनिएका इस्राएलीहरू अरू राष्ट्रको अगाडि उहाँको सार्वभौमिकताको साक्षी हुने थिए। तिनीहरू यहोवाको “महिमाको निम्ति सृष्टि” गरिएका जाति हुने थिए। तिनीहरूले यहोवाको “प्रशंसा” गर्नुपर्ने थियो, छुटकारा दिन उहाँले गर्नुभएको अचम्मका कार्यहरूबारे अरूलाई बताएर उहाँको पवित्र नाउँको महिमा गर्नुपर्ने थियो। सरल शब्दमा भन्‍ने हो भने, तिनीहरू यहोवाको निम्ति साक्षीहरूको राष्ट्र हुनुपर्ने थियो।

५. कुन अर्थमा इस्राएल समर्पित राष्ट्र थियो?

यहोवाले इस्राएलीहरूलाई अलग्गै राष्ट्र बनाउनुभएको कुरा ईसापूर्व ११ औं शताब्दीमा राजा सुलेमानले बताए। यहोवालाई गरेको प्रार्थनामा तिनले यसो भने: “तपाईंले तिनीहरूलाई आफ्नो अधिकार हुनलाई पृथ्वीमा सबै मानिसहरूका बीचदेखि अलग गर्नुभयो।” (१ राजा ८:५३) यहोवासित प्रत्येक इस्राएलीको विशेष सम्बन्ध थियो। पहिला पनि मोशाले तिनीहरूलाई भनेका थिए: “तिमीहरू परमप्रभु आफ्ना परमेश्‍वरका सन्तान हौ। . . . किनकि तिमीहरू ता परमप्रभु आफ्ना परमेश्‍वरका लागि एक पवित्र जाति हौ।” (व्यवस्था १४:१, २) त्यसकारण इस्राएलीहरूका छोराछोरीले यहोवालाई आफ्नो जीवन समर्पण गर्नु पर्दैनथ्यो। तिनीहरू जन्मँदै परमेश्‍वरप्रति समर्पित राष्ट्रका सदस्य हुन्थे। (भजन ७९:१३; ९५:७) यहोवाले दिनुभएका नियमहरू हरेक नयाँ पुस्तालाई बताइन्थ्यो र इस्राएलीहरू यहोवासित करारमा बाँधिएको कारण तिनीहरूले ती नियम पालन गर्नै पर्थ्यो।—व्यवस्था ११:१८, १९.

छनौट गर्ने स्वतन्त्रता

६. प्रत्येक इस्राएलीले कस्तो छनौट गर्नुपर्थ्यो?

इस्राएलीहरू जन्मँदै समर्पित राष्ट्रका सदस्य हुने भए तापनि परमेश्‍वरको सेवा गर्ने कि नगर्ने भन्‍ने कुराचाहिं प्रत्येकले आफै निर्णय गर्नुपर्थ्यो। प्रतिज्ञा गरिएको देशमा प्रवेश गर्नुअघि मोशाले इस्राएलीहरूलाई यसो भने: “आज म स्वर्ग र पृथ्वीलाई तिमीहरूको सामने साक्षी राख्तछु, कि मैले तिमीहरूका अगि जीवन र मृत्यु, आशिष र सराप राखेको छु। यसकारण जीवननै रोज र तिमीहरू र तिमीहरूका भावी पुस्ता जिउनेछौ। परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्दै उहाँका आज्ञा मान्दै र उहाँसँगै लीन बन्दै बाँचिरहो किनकि यसो गर्नुनै तिमीहरूका निम्ति जीवन हो, र तिमीहरू दीर्घायु हुनेछौ। औ तिमीहरूका पुर्खा अब्राहाम, इसहाक र याकूबसित परमप्रभुले तिमीहरूलाई दिने प्रतिज्ञा गर्नुभएको देशमा तिमीहरू निवास गर्नेछौ।” (व्यवस्था ३०:१९, २०) त्यसकारण यहोवालाई प्रेम गर्न, उहाँको आज्ञा मान्‍न र उहाँसँगै लीन हुन प्रत्येक इस्राएलीले आफै छनौट गर्नुपर्थ्यो। प्रत्येक इस्राएलीसित छनौट गर्ने स्वतन्त्रता थियो। त्यसकारण आफूले गरेको छनौटको परिणाम पनि तिनीहरूले भोग्ने थिए।—व्यवस्था ३०:१६-१८.

७. यहोशू र त्यतिबेलाका बूढा-प्रधानहरूको मृत्युपछि के भयो?

यहोवाप्रति विश्‍वासी हुँदा र नहुँदा परिणाम कस्तो हुन्छ भनेर न्यायकर्त्ताहरूको समयमा भएका घटनाहरूले प्रस्ट पार्छ। न्यायकर्त्ताहरूको समय सुरु हुनुअघि इस्राएलीहरूले यहोशूको राम्रो उदाहरण पछ्याए र आशिष्‌ पाए। “यहोशू जीवित रहुञ्जेल र तिनका पछिका बूढा-प्रधानहरू बाँचुञ्जेल, अर्थात्‌ जसले परमप्रभुले इस्राएलको निम्ति गर्नुभएका जम्मै ठूला ठूला कामहरू देखेका थिए, इस्राएली जातिले परमप्रभुको सेवा गर्दैरहे।” तर यहोशूको मृत्यु भएको केही समयपछि “एउटा अर्को पुस्ता आयो जसले परमप्रभुलाई चिन्दैनथियो औ उहाँले इस्राएलको निम्ति गर्नुभएको कामलाई पनि जान्दैनथियो। इस्राएलीहरूले जे परमप्रभुको दृष्टिमा खराब थियो त्यही गर्नलागे।” (न्यायकर्त्ता २:७, १०, ११) अनुभवहीन युवा पुस्ताले समर्पित राष्ट्रको सदस्य हुन पाएको सुअवसरलाई मूल्यवान्‌ ठानेनन्‌, जुन राष्ट्रको खातिर यहोवा परमेश्‍वरले विगतमा अचम्म-अचम्मका कामहरू गर्नुभएको थियो।—भजन ७८:३-७, १०, ११.

समर्पणअनुसार जीवन बिताउने

८, ९. (क) इस्राएलीहरूले यहोवाप्रतिको समर्पण देखाउन सक्ने कस्तो प्रबन्ध थियो? (ख) स्वेच्छिक भेटी चढाउनेहरूले के पाउँथे?

राष्ट्रको रूपमा गरेको समर्पणअनुसार जीवन बिताउन सकोस्‌ भनेर यहोवाले इस्राएलीहरूलाई थुप्रै मौका दिनुभयो। उदाहरणको लागि, उहाँले दिनुभएको व्यवस्थामा बलिदान अथवा भेटीहरू चढाउने प्रबन्ध थियो। तीमध्ये केही अनिवार्य त केही स्वेच्छिक थिए। (हिब्रू ८:३) ती बलिदानहरूमध्ये होमबलि, अन्‍नबलि र मेलबलि स्वेच्छिक थिए अनि यहोवाको अनुग्रह पाउन र धन्यवाद व्यक्‍त गर्न ती चढाइन्थे।—लेवी ७:११-१३.

त्यस्ता स्वेच्छिक बलिदानहरूमा यहोवा खुसी हुनुहुन्थ्यो। होमबलि र अन्‍नबलि यहोवाको निम्ति “मीठो बास्ना” थियो। (लेवी १:९; २:२) मेलबलि चढाउँदा जनावरको रगत र बोसो यहोवालाई चढाइन्थ्यो तर मासु भने पूजाहारी र भेटी चढाउने व्यक्‍तिले खान्थे। त्यस अर्थमा त्यो एउटा लाक्षणिक भोज थियो, जसले यहोवासितको सुमधुर सम्बन्धलाई देखाउँथ्यो। व्यवस्थामा यसो भनिएको थियो: “तिमीहरूले मेलबलि चढाउँदा आफू ग्रहणयोग्य हुने गरी चढाओ।” (लेवी १९:५) सबै इस्राएली जन्मँदै यहोवाप्रति समर्पित हुन्थे तर स्वेच्छिक भेटी चढाएर साँच्चै यहोवाको सेवा गर्ने छनौट गरेको छु भनी देखाउनेहरू “ग्रहणयोग्य” हुन्थे र प्रशस्त आशिष्‌ पाउँथे।—मलाकी ३:१०.

१०. यशैया र मलाकीको समयमा यहोवा खुसी हुनुहुन्‍नथ्यो भनेर उहाँले कसरी व्यक्‍त गर्नुभयो?

१० तर समर्पित इस्राएल राष्ट्र पटक-पटक यहोवाप्रति अविश्‍वासी भयो। अगमवक्‍ता यशैयाद्वारा यहोवाले इस्राएलीहरूलाई यसो भन्‍नुभयो: “तैंले आफ्नो होमबलिको भेडा ल्याएको छैनस्‌, नता तैंले मलाई आफ्नो बलिदानले मेरो आदर गरेको छस्‌। अन्‍नबलि चढाएर मेरो सेवा गर्नलाई मैले तँलाई भार लगाएको छैनँ।” (यशैया ४३:२३) साथै, परमेश्‍वरप्रतिको प्रेम र राजीखुसीले भेटी चढाएका होइनन्‌ भने, त्यस्ता भेटी यहोवाको नजरमा मूल्यहीन हुन्थे। उदाहरणका लागि, यशैयाको समयभन्दा ३०० वर्षपछि अगमवक्‍ता मलाकीको समयमा इस्राएलीहरूले खोट भएको जनावर भेटी चढाए। त्यसैले मलाकीले तिनीहरूलाई यसो भने: “म तिमीहरूसँग खुशी छैनँ, नता तिमीहरूले चढाएको भेटी म ग्रहण गर्नेछु, सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ। . . . तिमीहरूले जबरदस्तीसित खोसेर ल्याएका थोकहरू औ लङ्‌गडा र बेथा लागेका पशुको भेटी ल्याएका छौ। तिमीहरूले यस्तै भेटी ता ल्याउँदछौ, के तिमीहरूका हातबाट यस्ता भेटीहरू मैले ग्रहण गर्ने? परमप्रभु भन्‍नुहुन्छ।”—मलाकी १:१०, १३; आमोस ५:२२.

समर्पित राष्ट्र तिरस्कृत भयो

११. इस्राएलीहरूलाई कस्तो मौका दिइएको थियो?

११ इस्राएलीहरू समर्पित राष्ट्र बनेको बेला यहोवाले तिनीहरूसित यस्तो प्रतिज्ञा गर्नुभयो: “यदि तिमीहरूले मेरा कुरा साँच्चैनै सुन्यौ र मेरो करार पालन गऱ्‍यौ भने समस्त मानिसहरूमध्ये तिमीहरू चाहिं मेरो एक निज धन हुनेछौ, किनकि सारा पृथ्वी मेरै हो। तिमीहरू मेरा निम्ति पूजाहारीहरूको एक राज्य, र एक पवित्र जाति हुनेछौ।” (प्रस्थान १९:५, ६) प्रतिज्ञा गरिएको मसीह, तिनीहरूकै माझमा देखा पर्नुहुने थियो अनि परमेश्‍वरको राज्य सरकारका सदस्यहरू बन्‍ने पहिलो मौका पनि तिनीहरूले नै पाउने थिए। (उत्पत्ति २२:१७, १८; ४९:१०; २ शमूएल ७:१२, १६; लूका १:३१-३३; रोमी ९:४, ५) तर इस्राएल राष्ट्रका अधिकांश व्यक्‍तिहरूले आफ्नो समर्पणअनुसार जीवन बिताएनन्‌। (मत्ती २२:१४) तिनीहरूले मसीहलाई तिरस्कार गरे र मार्नसमेत पछि परेनन्‌।—प्रेरित ७:५१-५३.

१२. यहोवाप्रति समर्पित इस्राएल राष्ट्र तिरस्कृत भयो भनेर येशूले भन्‍नुभएको कुन कुराबाट स्पष्ट हुन्छ?

१२ आफ्नो मृत्यु हुनुभन्दा केही दिनअघि येशूले यहूदी धार्मिक नेताहरूलाई यसो भन्‍नुभयो: “के तिमीहरूले कहिल्यै धर्मशास्त्रमा पढेनौ? जुन ढुंगालाई डकर्मीहरूले रद्दी गरे, त्यही चाहिं कुनाको शिर भयो, यो परमप्रभुबाट भएको हो, र यो हाम्रो दृष्टिमा अचम्मको छ। यसैकारण म तिमीहरूलाई भन्दछु, परमेश्‍वरको राज्य तिमीहरूबाट खोसिनेछ, र एउटा यस्तो जातिलाई दिइनेछ, जसले त्यसबाट फल फलाउँछ।” (मत्ती २१:४२, ४३) त्यो समर्पित इस्राएल राष्ट्रलाई यहोवाले तिरस्कार गरिसक्नुभयो भनेर देखाउँदै येशूले भन्‍नुभयो: “ए यरूशलेम, ए यरूशलेम तँ जो अगमवक्‍ताहरूलाई मार्ने र तँकहाँ पठाइएकाहरूलाई ढुंगाले हान्‍ने! जसरी कुखुरीले आफ्ना चल्लाहरूलाई पखेटामनि बटुल्छ, त्यसरीनै कत्तिपल्ट मैले तेरा बालकहरूलाई बटुल्ने इच्छा गरें, तर तैंले मानिनस्‌। हेर तिमीहरूको घर तिमीहरूका निम्ति उजाड छोडिनेछ।”—मत्ती २३:३७, ३८.

समर्पित नयाँ राष्ट्र

१३. यर्मियाको समयमा यहोवाले कस्तो भविष्यसूचक कुरा बताउनुभयो?

१३ अगमवक्‍ता यर्मियाको समयमा यहोवाले आफ्ना जनहरूबारे एउटा नयाँ कुरा बताउनुभयो। बाइबलमा यस्तो लेखिएको छ: “परमप्रभु भन्‍नुहुन्छ, ‘हेर, दिन आउँदैछ, जब म इस्राएलको घराना र याकूबको घरानासित एउटा नयाँ करार बाँध्नेछु, त्यो करार मैले तिनीहरूका पिता–पुर्खाहरूलाई हातमा समातेर मिश्र देशदेखि निकालेर ल्याएको बेलामा तिनीहरूसित बाँधेको करार हुनेछैन, जुन करार तिनीहरूले भङ्‌ग गरे, यद्यपि म तिनीहरूका स्वामी थिएँ,’ परमप्रभु भन्‍नुहुन्छ। तर ती दिनपछि जुन करार म इस्राएलको घरानासित बाँध्नेछु, त्यो यही हो, ‘म मेरो व्यवस्था तिनीहरूको अन्तस्करणमा हालिदिनेछु तिनीहरूको हृदयमा म त्यो लेखिदिनेछु। औ म तिनीहरूका परमेश्‍वर हुनेछु, तिनीहरू मेरा प्रजा हुनेछन्‌।’ ”—यर्मिया ३१:३१-३३.

१४. यहोवाप्रति समर्पित नयाँ राष्ट्र कहिले र कसरी सुरु भयो? त्यो नयाँ राष्ट्र के हो, बताउनुहोस्‌।

१४ इस्वी संवत्‌ ३३ मा येशूको मृत्यु भयो र आफूले बगाएको रगतको मोल उहाँले पितालाई चढाउनुभयो। त्यसरी नयाँ करारको आधार बसालियो। (लूका २२:२०; हिब्रू ९:१५, २४-२६) इस्वी संवत्‌ ३३ पेन्तिकोसमा पवित्र आत्मा खन्याएर नयाँ राष्ट्र अर्थात्‌ “परमेश्‍वरको इस्राएल[को]” जन्म भएपछि मात्र त्यो नयाँ करार क्रियाशील भयो। (गलाती ६:१६; रोमी २:२८, २९; ९:६; ११:२५, २६) अभिषिक्‍त मसीहीहरूलाई लेखेको पत्रमा प्रेरित पत्रुसले भनेका थिए: “तिमीहरू ता चुनिएका वंश, राजकीय पूजाहारीगिरी, पवित्र जाति, परमेश्‍वरका निजी प्रजा हौ, र अन्धकारबाट उहाँको गजबको ज्योतिमा तिमीहरूलाई बोलाउनेको सर्वश्रेष्ठता तिमीहरू देखाओ। तिमीहरू बितेका समयमा प्रजा थिएनौ, तर अहिले परमेश्‍वरका प्रजा भएका छौ।” (१ पत्रुस २:९, १०) यहोवा र जन्मजात इस्राएलीहरूबीचको विशेष सम्बन्ध अन्त भइसकेको थियो। इस्वी संवत्‌ ३३ मा यहोवाले जन्मजात इस्राएलीहरूलाई नभई आध्यात्मिक इस्राएल अर्थात्‌ मसीही मण्डलीलाई आशिष्‌ दिनुभयो। मसीही राज्यको ‘फल फलाउने जाति’ त्यही मसीही मण्डली हुने थियो।—मत्ती २१:४३.

आफैले गर्नुपर्ने समर्पण

१५. इस्वी संवत्‌ ३३ पेन्तिकोसको दिन पत्रुसले आफ्ना स्रोताहरूलाई कस्तो बप्तिस्मा लिन आग्रह गरे?

१५ इस्वी संवत्‌ ३३ पेन्तिकोसपछि चाहे यहूदी होस्‌ वा अन्यजाति, प्रत्येकले परमेश्‍वरलाई आफ्नो जीवन समर्पण गर्नुपर्थ्यो अनि “पिता, पुत्र र पवित्र आत्माको नाउँमा” बप्तिस्मा लिनुपर्थ्यो। a (मत्ती २८:१९) यहूदी र धर्म परिवर्तन गरेर यहूदी धर्म अँगालेका व्यक्‍तिहरूलाई प्रेरित पत्रुसले पेन्तिकोसको दिन यसो भने: “पश्‍चाताप गर, र तिमीहरू हरेकले पापमोचनको निम्ति येशू ख्रीष्टको नाउँमा बप्तिस्मा लेऊ, र तिमीहरूले पवित्र आत्माको वरदान पाउनेछौ।” (प्रेरित २:३८) यस्ता यहूदी र धर्म परिवर्तन गरेर यहूदी धर्म अँगालेका व्यक्‍तिहरूले बप्तिस्मा लिंदा यहोवालाई आफ्नो जीवन समर्पण गरेको र यहोवाले येशूमार्फत तिनीहरूको पाप क्षमा गर्नुहुन्छ भनेर मानिलिएको कुरा प्रस्ट हुन्थ्यो। तिनीहरूले येशूलाई प्रधान पूजाहारी अनि नेता अर्थात्‌ मसीही मण्डलीको शिरको रूपमा स्वीकार्नुपर्थ्यो।—कलस्सी १:१३, १४, १८.

१६. सही मनसाय भएका यहूदी र अन्यजाति पावलको समयमा कसरी आध्यात्मिक इस्राएलका सदस्य भए?

१६ वर्षौंपछि प्रेरित पावलले यसो भने: “पहिले दमीशकमा, औ यरूशलेममा र यहूदियाका सारा देशभरि रहनेहरूलाई, र अन्यजातिहरूलाई समेत पश्‍चाताप गरेर परमेश्‍वरतिर फर्क, र पश्‍चाताप योग्यको काम गर भनेर प्रचार गरें।” (प्रेरित २६:२०) यहूदी र अन्यजातिहरूलाई येशू नै ख्रीष्ट अर्थात्‌ मसीह हुनुहुन्छ भनेर विश्‍वास दिलाइसकेपछि पावलले तिनीहरूलाई समर्पण गर्न र बप्तिस्मा लिन मदत गरे। (प्रेरित १६:१४, १५, ३१-३३; १७:३, ४; १८:८) परमेश्‍वरतर्फ फर्केपछि यी नयाँ चेलाहरू आध्यात्मिक इस्राएलका सदस्य भए।

१७. छाप लगाउने कस्तो काम पूरा हुनै लागेको छ र अर्को कुन काम जोडतोडले भइरहेको छ?

१७ अब, आध्यात्मिक इस्राएलका बाँकी सदस्यहरूलाई अन्तिम छाप लगाउने काम पूरा हुनै लागेको छ। छाप लगाउन सिद्धिएपछि “महा सङ्‌कष्ट[को]” विनाशको बतास रोकिरहेका “चार दूतहरू[ले]” बतास छोड्‌ने अख्तियार पाउनेछन्‌। त्यो समय नहोउन्जेल, पृथ्वीमा सधैंभरि बाँच्ने आशा भएका “ठूलो भीड” जम्मा गर्ने काम जोडतोडले भइरहेको छ। यी “अरू भेडा” आफ्नै इच्छाले “थुमाको रगतमा” विश्‍वास गर्छन्‌ र यहोवालाई आफ्नो जीवन समर्पण गरेको कुरा देखाउन बप्तिस्मा लिन्छन्‌। (प्रकाश ७:१-४, ९-१५; २२:१७; यूहन्‍ना १०:१६; मत्ती २८:१९, २०) यिनीहरूमध्ये धेरै जना मसीही परिवारमा हुर्केका जवानहरू छन्‌। तपाईं पनि त्यस्तै जवान हुनुहुन्छ भने यसपछिको लेख तपाईंलाई रोचक लाग्नेछ। (w 06 7/1)

[फुटनोट]

पुनरावलोकन गर्दा

• इस्राएलीहरूका छोराछोरीले यहोवालाई व्यक्‍तिगत रूपमा समर्पण गर्नु पर्दैनथ्यो, किन?

• समर्पणअनुसार जीवन बिताएको कुरा इस्राएलीहरूले कसरी देखाउन सक्थे?

• समर्पित राष्ट्र इस्राएललाई यहोवाले किन तिरस्कार गर्नुभयो अनि तिनीहरूको सट्टा कसलाई छान्‍नुभयो?

• इस्वी संवत्‌ ३३ पेन्तिकोसदेखि आध्यात्मिक इस्राएलको सदस्य बन्‍न यहूदी र अन्यजातिले के गर्नुपर्ने भयो?

[प्रश्‍नहरू]

[पृष्ठ २२-मा भएको चित्र]

इस्राएलीहरूका छोराछोरी जन्मँदै परमेश्‍वरले छान्‍नुभएको राष्ट्रका सदस्य हुन्थे

[पृष्ठ २५-मा भएको चित्र]

परमेश्‍वरको सेवा गर्ने कि नगर्ने भनेर प्रत्येक इस्राएलीले आफै निर्णय गर्नुपर्थ्यो

[पृष्ठ २५-मा भएको चित्र]

स्वेच्छिक बलिदान चढाएर इस्राएलीहरूले यहोवाप्रति प्रेम देखाउन सक्थे

[पृष्ठ २६-मा भएको चित्र]

इस्वी संवत्‌ ३३ पेन्तिकोसपछि, ख्रीष्टका चेलाहरूले परमेश्‍वरलाई आफ्नो जीवन समर्पण गर्ने कि नगर्ने भनेर आफै निर्णय गर्नुपर्थ्यो र समर्पण गरेको कुरा देखाउन बप्तिस्मा लिनुपर्थ्यो