सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

सुखी हुने पक्का बाटो

सुखी हुने पक्का बाटो

सुखी हुने पक्का बाटो

“सुखको पछि लाग्नु” सबै मानिसको अधिकार हो। यो धारणा संयुक्‍त राज्य अमेरिकाको स्वतन्त्रताको घोषणापत्र बनाएका मानिसहरूको हो। तर लक्ष्यको पछि लाग्नु र त्यो प्राप्त गर्नु बेग्ला-बेग्लै कुरा हो। थुप्रै जवानहरू मनोरञ्जन र खेल जगत्‌लाई नै आफ्नो पेसा बनाउन मरिमेट्‌छन्‌ तर कति जनाले सफलता हात पारेको तपाईंले देख्नुभएको छ? सफल संगीतकार हुन के-कति संघर्ष गर्नुपर्छ भनी राम्ररी थाह भएको एक जना प्रख्यात गायकले यसो भने: “यस क्षेत्रमा सफल हुन्छु भनेर तपाईंले सोच्दै नसोचे हुन्छ।”

सुख प्राप्त गर्नेबारे तपाईंको पनि सोचाइ त्यस्तै छ भने निराश भइहाल्नु पर्दैन। सुख प्राप्तिको लागि सही बाटो रोज्नुभयो भने पक्कै सफल हुनुहुनेछ। यसो किन भन्‍न सकिन्छ? यसअघिको लेखमा “आनन्दित परमेश्‍वर” यहोवाबारे उल्लेख गरिएको थियो। (१ तिमोथी १:११, NW) बाइबलमा परमेश्‍वरले दिनुभएको निर्देशनअनुसार तपाईं सुखको पछि लाग्नुभयो भने निराश हुनुपर्ने छैन। दुःखित तुल्याउने सामान्य कारणहरूमाथि विजयी हुन यहोवाले मदत गर्न सक्नुहुन्छ। उदाहरणका लागि, कोही प्रियजनको मृत्यु हुँदा यहोवाले दिनुहुने सान्त्वनाबारे विचार गर्नुहोस्‌।

प्रियजनको मृत्यु हुँदा

मृत्यु भनेको राम्रै कुरा हो भन्‍न सकिने कुनै ठाउँ छ र? मृत्युले बच्चाहरूबाट आमाबाबु र आमाबाबुबाट बच्चाहरू छिन्छ। यसले घनिष्ठ मित्रहरूको बिछोड गराइदिन्छ र मिलेर बसेको समुदायमा असुरक्षा ल्याइदिन्छ। परिवारमा कसैको मृत्यु हुँदा सुखी परिवार शोकको सागरमा डुब्लान्‌।

मृत्यु भनेको एकदमै दुःखलाग्दो कुरा हो भनेर तपाईंलाई भनिरहनु पर्दैन होला। तथापि, कोही-कोही मानिसले मृत्युको तीतो यथार्थतालाई स्वीकार्दैनन्‌ र मृत्युलाई आशिष्‌को रूपमा चित्रण गर्छन्‌। अगस्त २००५ मा मेक्सिकोको खाडीमा कट्रिना नाउँ गरेको ठूलो आँधीबेहरी आउँदा के भयो, विचार गर्नुहोस्‌। त्यस आँधीबेहरीमा ज्यान गुमाएका एक जना व्यक्‍तिको अन्त्येष्टिमा एउटा पादरीले यसो भने: “कट्रिनाको कारण उनको मृत्यु भएको होइन। बरु, परमेश्‍वरले उनलाई घर बोलाउनुभएको हो।” अर्को एकचोटि, एउटा अस्पतालका कर्मचारीले राम्रै मनसाय राखेर एउटी केटीलाई भनिन्‌, उनकी आमालाई परमेश्‍वरले स्वर्ग लैजानुभएको हो, चिन्ता नगर। तर छोरी यसो भन्दै रोइन्‌: “मेरै ममीलाई किन लैजानुपऱ्‍यो त?”

स्पष्टतः मृत्युबारे त्यस्तो गलत धारणाले शोकमा डुबेकाहरूलाई ढाडस दिंदैन। किन? किनभने त्यस्ता विचारहरूले मृत्युबारे सही कुरा बताउँदैन। अझै नराम्रो त के हो भने, परिवारको सदस्य वा साथीलाई डरलाग्दो, पीडादायी तरिकामा खोसेर लैजाने व्यक्‍ति परमेश्‍वर हो भन्‍नेजस्तो भान पारिदिन्छ। परमेश्‍वर सान्त्वनाको स्रोत हुनुहुन्छ भनी बताउनुको साटो मृत्युको कारण हो भनी भन्छ। तर परमेश्‍वरको वचनले मृत्युबारे साँचो कुरा बताउँछ।

बाइबलमा मृत्युलाई शत्रु भनिएको छ। मृत्युलाई मानिसजातिमाथि शासन गर्ने राजासित तुलना गरिएको छ। (रोमी ५:१७; १ कोरिन्थी १५:२६) मृत्यु एउटा यस्तो शक्‍तिशाली शत्रु हो जसबाट कोही पनि भाग्न सक्दैन र तपाईं-हाम्रो प्रियजनको मृत्यु पनि त्यही ‘राजाले’ शिकार बनाएका अनगिन्ती मानिसहरूमध्येको एउटा हो। यसरी हाम्रो शत्रु अर्थात्‌ मृत्युबारे बाइबलमा बताइएको कुराबाट के स्पष्ट हुन्छ भने, आफ्नो प्रियजन गुमाउँदा शोक र बेसहारा महसुस गर्नु स्वाभाविकै हो। तर हाम्रा प्रियजनहरूलाई स्वर्गमा लैजान परमेश्‍वरले त्यो शत्रु अर्थात्‌ मृत्युलाई चलाउनुहुन्छ भन्‍ने कुरा साँचो हो? यसबारे बाइबलले के भन्छ, आउनुहोस्‌ हामी हेरौं।

बाइबलको पुस्तक उपदेशक ९:५, १० यसो भन्छ: “मरेकाहरूले ता केही पनि जान्दैनन्‌। . . . किनभने मृत्युमा, जहाँ तँ जानैपर्छ, त्यहाँ नता केही गर्ने, न विचार गर्ने, न समझ-शक्‍ति, न बुद्धिनै हुन्छ।” मानिस मरेपछि ऊ पूरै निष्क्रिय हुन्छ, उसमा चलहल गर्ने, विचार गर्ने कुनै शक्‍ति हुँदैन, गहिरो निद्रामा परेझैं हो। यसरी परमेश्‍वरले हाम्रा प्रियजनलाई स्वर्गमा लैजानुहुन्‍न भनी बाइबलले स्पष्ट पार्छ। मानिस मरेपछि ऊ निर्जीव हुन्छ।

आफ्नो मित्र लाजरसको मृत्यु हुँदा येशूले यो कुरा प्रस्ट पार्नुभयो। येशूले मृत्युलाई निद्रासित तुलना गर्नुभयो। लाजरस स्वर्गमा सर्वोच्च परमेश्‍वरकहाँ गएको भए येशूले तिनलाई फेरि पृथ्वीमा ब्यूँताउनुको के नै अर्थ रहन्थ्यो र! त्यसमाथि, तिनी पछि फेरि मरिहाल्ने थिए। यसो गर्दा तिनलाई दया देखाइरहेको हुने थिएन। लाजरसको चिहानअगाडि येशूले ठूलो स्वरमा यसो भन्‍नुभयो भनी परमेश्‍वरको प्रेरित वचन बाइबल बताउँछ: “लाजरस, बाहिर निस्की आऊ।” बाइबलमा अझ यसो भनिएको छ: “त्यो मरेको मान्छे . . . निस्की आयो।” लाजरस फेरि जीवित भयो। लाजरस पृथ्वीबाट अन्त कतै गएको थिएन भनी येशूलाई थाह थियो। तिनी चिहानमा निर्जीव अवस्थामा थिए।—यूहन्‍ना ११:११-१४, ३४, ३८-४४.

मानिसलाई स्वर्ग लैजान परमेश्‍वरले मृत्युलाई चलाउनुहुन्‍न भनी बाइबलमा उल्लिखित यस विवरणबाट बुझ्न सक्छौं। हाम्रो दुःखको कारण परमेश्‍वर होइन भनी थाह भएपछि हामी उहाँतर्फ खिचिन सक्छौं। त्यो शत्रु अर्थात्‌ मृत्युले गर्दा हुने शोक र हानिलाई उहाँले राम्ररी बुझ्नुहुन्छ भनेर पनि हामी ढुक्क हुन सक्छौं। मरेका मानिसहरूको अवस्थाबारे बाइबलमा बताइएको कुराबाट मरिसकेकाहरूले नरकमा सास्ती खाँदैनन्‌ तर निर्जीव अवस्थामा रहन्छन्‌ भनेर पनि स्पष्ट हुन्छ। अतः हाम्रा मृत प्रियजनहरूको सम्झना आउँदा परमेश्‍वरलाई दोषी ठहऱ्‍याउनु वा उनीहरू कस्तो अवस्थामा होलान्‌ भन्‍ने डरले पिरोलिनु पर्दैन। यसबाहेक यहोवाले बाइबलमा हामीलाई थप सान्त्वना दिनुभएको छ।

आशाले सुखतर्फ डोऱ्‍याउँछ

हामीले छलफल गरेका बाइबल पदहरूबाट एउटा के कुरा स्पष्ट हुन्छ भने, साँचो सुखको लागि आशा नभई हुँदैन। बाइबलमा चलाइएको “आशा” भन्‍ने शब्दले विश्‍वस्तताका साथ असल कुराहरूको बाटो हेर्नु भन्‍ने बुझाउँछ। आशाले कसरी सुखतर्फ डोऱ्‍याउन सक्छ भनी बुझ्न फेरि एक चोटि येशूले लाजरसलाई ब्यूँताउनुभएको घटनालाई विचार गरौं।

येशूले लाजरसलाई ब्यूँताउनुको कम्तीमा पनि दुइटा कारण थियो। एउटा त मार्था, मरियम र अन्य शोकाकुल साथीहरूको दुःख हटाउनु थियो। फेरि तिनीहरू आफ्नो प्रियजनसँगै हुन पाए। अझै महत्वपूर्ण कारण चाहिं येशूले मार्थालाई यसरी बताउनुभयो: “के मैले तिमीलाई भनिनँ, ‘विश्‍वास गऱ्‍यौ भने तिमीले परमेश्‍वरको महिमा देख्नेछौ?’ ” (यूहन्‍ना ११:४०) जे. बि. फिलिप्सको अनुवाद द न्यु टेस्टामेन्ट इन मोडर्न इंग्लिश-मा “परमेश्‍वरको महिमा” भन्‍ने वाक्यांशलाई “परमेश्‍वरले गर्न सक्नुहुने अचम्मका काम” भनी अनुवाद गरिएको छ। येशूले लाजरसलाई ब्यूँताउनुभएर यहोवाले भविष्यमा के गर्न सक्नुहुन्छ र गर्नु पनि हुनेछ भनी देखाउनुभयो। “परमेश्‍वरले गर्न सक्नुहुने अचम्मका काम[बारे]” अझ केही थप विवरण यस प्रकार छन्‌।

यूहन्‍ना ५:२८, २९ मा येशूले यसो भन्‍नुभयो: “यसमा अचम्म नमान, किनभने बेला आउँछ, जब चिहानमा हुनेहरू सबैले उसको सोर सुन्‍नेछन्‌ . . . [र] निस्किआउनेछन्‌।” यसको अर्थ परमेश्‍वरको सम्झनामा भएका हाम्रा मरिसकेका प्रियजन लगायत अरू सबै फेरि जीवित हुनेछन्‌। प्रेरित २४:१५ मा त्यस अचम्मको समयबारे यसो भनिएको छ: “धर्मी र अधर्मीहरू समेतको पुनरुत्थान हुन्छ।” अतः “अधर्मी” अर्थात्‌ यहोवालाई चिन्दै नचिनेका र उहाँको सेवा नगरेका थुप्रै मानिसले पनि परमेश्‍वरको अनुग्रह पाउने मौका पाउनेछन्‌।

यो पुनरुत्थान कहाँ हुनेछ? भजन ३७:२९ मा यस्तो भनिएको छ: “धर्मात्माहरूले देश अधिकार गर्नेछन्‌, र त्यसैमा सधैंभरि रहन्छन्‌।” यसको अर्थ के हो, विचार गर्नुहोस्‌! मृत्युको कारण बिछोडिएका परिवार तथा साथीहरूको पुनर्मिलन यहीं देश अर्थात्‌ पृथ्वीमै हुनेछ। आफूलाई मन पर्ने व्यक्‍तिहरूसँग फेरि मजासित बस्न पाउने कुरा सोच्दा तपाईंको हृदय खुसीले गद्‌गद्‌ हुनु स्वाभाविकै हो।

यहोवा तपाईं सुखी भएको चाहनुहुन्छ

समस्यै समस्या भए तापनि यहोवाले तपाईंको सुख बढाउन सक्ने दुइटा तरिका हामीले विचार गऱ्‍यौं। पहिलो, उहाँले बाइबल मार्फत ज्ञान र डोऱ्‍याइ दिनुहुन्छ जसले गर्दा हामी सफलतापूर्वक दुःखकष्टको सामना गर्न सक्छौं। बाइबल सल्लाहले कसैको मृत्यु हुँदाको पीडालाई सहन त मदत गर्छ नै तर यसका साथै आर्थिक तथा स्वास्थ्य समस्याहरूको सामना गर्न पनि मदत गर्छ। यसले तपाईंलाई समाजमा हुने अन्याय तथा राजनैतिक गञ्जागोल सहन पनि बल दिन्छ। अनि बाइबलले प्रदान गर्ने डोऱ्‍याइ आफ्नो जीवनमा लागू गर्नुभयो भने व्यक्‍तिगत समस्याहरूसित जुझ्न पनि मदत पाउन सक्नुहुन्छ।

दोस्रो, कुनै पनि मानव समाजले दिन नसक्ने आशा बाइबल अध्ययन गर्दा तपाईंले पाउन सक्नुहुन्छ। आफ्ना मरिसकेका परिवारका सदस्य वा साथीहरूको पुनरुत्थान हुने आशा बाइबलले प्रदान गर्छ। प्रकाश २१:३, ४ ले अझ यसो भन्छ: “परमेश्‍वर आफै [मानिसहरूसँग] भएर तिनीहरूका परमेश्‍वर हुनुहुनेछ। उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ, र फेरि मृत्यु हुनेछैन। औ शोक, रुवाइ, पीडा फेरि केही हुनेछैन। पहिलेका कुराहरू बितिसकेका छन्‌।” यसको अर्थ तपाईंलाई दुःखित तुल्याउने सबै कुराहरू सधैंको लागि हटाइनेछ। बाइबल प्रतिज्ञाहरू पक्कै पूरा हुनेछन्‌ र तपाईंले यसबाट आनन्द उठाउन सक्नुहुनेछ। सुदिन आउनै लागेको छ भनी थाह पाउँदा मात्र पनि मन कत्ति आनन्दित हुन्छ नि, होइन र? मरेपछि तपाईंले नरकमा अनन्त सास्ती भोगिरहनुपर्दैन भनी थाह पाउँदा पनि तपाईं सुखी हुन सक्नुहुन्छ।

उदाहरणका लागि, केही वर्षअघि मारियाको श्रीमान्‌ क्यान्सरले गर्दा एकदमै सास्ती खाएर मरेका थिए। तिनको यो दुःखको आँसु सुक्न नपाउँदै तिनीमाथि आर्थिक समस्या आइपऱ्‍यो जसको कारण तिनी र तिनका तीन छोरीहरूले घर छोड्‌नुपऱ्‍यो। त्यसको दुई वर्षपछि मारियाले आफूलाई पनि क्यान्सर भएको थाह पाइन्‌। तिनको दुइटा ठूल-ठूलो अप्रेसन गर्नुपऱ्‍यो र सधैंजसो तिनले असह्‍य पीडा भोग्नुपर्छ। यस्ता समस्याहरूको बावजुद तिनी यति सकारात्मक छन्‌ कि अरूलाई प्रोत्साहन दिन उत्प्रेरित हुन्छिन्‌। यस्तो अवस्थामा पनि तिनी कसरी सुखी हुन सकेकी?

मारिया भन्छिन्‌: “समस्या हुँदा म आफ्नै बारे मात्र सोच्ने गर्दिनँ। म सकेसम्म यस्तो सोच्दिनँ: ‘मलाई नै किन? मैले किन यस्तो सास्ती खानुपरेको? म किन बिरामी हुन परेको?’ नकारात्मक सोचाइले गर्दा आफ्नो नभएको बल पनि खर्च हुन्छ। बरु, म आफ्नो बल यहोवाको सेवा र अरूलाई मदत गर्ने काममा खर्च गर्छु। अनि यसले मलाई सुखी बनाउँछ।”

मारियाको जीवनमा आशाले कस्तो भूमिका खेलेको छ? तिनले आफ्नो आशा यहोवाले सबै प्रकारको बिमारी र समस्याहरू हटाउने समयमा केन्द्रित गरेकी छिन्‌। उपचार गर्न अस्पतालमा जाँदा आशाहीन जीवन बिताइरहेका अरू क्यान्सर रोगीहरूलाई आफ्नो आशाबारे तिनी बताउँछिन्‌। मारियाको लागि आशा कत्तिको महत्त्वपूर्ण छ? तिनी भन्छिन्‌: “म अक्सर हिब्रू ६:१९ सम्झने गर्छु जहाँ पावलले आशा प्राण अर्थात्‌ जीवनको लङ्‌गर (डुंगा, जहाजलाई पानीमा अड्याउनुपर्दा साङ्‌लामा झुन्ड्याइ तल पुग्ने गरी खसालिने ठूलो अंकुसे परेको फलामे सामान) जस्तो हो भनेका छन्‌। आशा भएन भने लङ्‌गर नभएको जहाज जस्तै अडिएर बस्न सकिंदैन र आँधी आउँदा सजिलै बगाएर लान्छ। तर आशा छ भने जस्तोसुकै आँधीबेहरी रूपी समस्या आए तापनि नआत्तिकन त्यसको सामना गर्न सकिन्छ।” “अनन्त जीवनको आशा[ले]” मारियालाई सुखी रहन मदत गरेको छ जुन आशा “कहिल्यै झूट नबोल्नुहुने परमेश्‍वरले . . . प्रतिज्ञा गर्नुभएको” हो। यो आशाले तपाईंलाई पनि मदत गर्न सक्छ।—तीतस १:२.

बाइबल अध्ययन गर्दा तपाईंले समस्याको बावजुद साँचो सुख पाउन सक्नुहुन्छ। तर, बाइबल अध्ययन गर्नु व्यावहारिक छ र? भन्‍ने प्रश्‍न तपाईंको मनमा उठ्‌न सक्छ। साँच्चै सुखी हुनका लागि तपाईंलाई आवश्‍यक पर्ने कुराहरू बाइबलबाट देखाउन यहोवाका साक्षीहरू खुसी हुनेछन्‌। अनि यहोवाले दिनुभएको आशा पूरा हुने समय पर्खंदै गर्दा तपाईं ती व्यक्‍तिहरूमध्ये हुन सक्नुहुन्छ: जसले “आनन्द र रमाहट प्राप्त गर्नेछन्‌, र शोक र सुस्केरा दूर हुनेछ।”—यशैया ३५:१०. (w 06 6/15)

[पृष्ठ ५-मा भएको चित्र]

बाइबल सत्यले मात्र शोकलाई कम गर्न सक्छ

[पृष्ठ ७-मा भएको चित्र]

बाइबलमा बताइएको पुनरुत्थानको आशाले सुखी हुन मदत गर्न सक्छ