सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

हो, तपाईं सुखी हुन सक्नुहुन्छ

हो, तपाईं सुखी हुन सक्नुहुन्छ

हो, तपाईं सुखी हुन सक्नुहुन्छ

साँचो र चिरस्थायी सुख पाउन कहिलेकाहीं गाह्रो हुन्छ। यसको एउटा मुख्य कारण त मानिसहरू सुख खोज्न गलत मार्ग अपनाउँछन्‌। तिनीहरूलाई सही मार्ग देखाउन सक्ने भरपर्दो र असल मित्र भएको भए कत्ति बेस हुने थियो!

त्यो सही मार्गको स्रोत बाइबल हो। उदाहरणका लागि, भजनसंग्रहको पुस्तकलाई लिनुहोस्‌। यो पुस्तक यहोवा परमेश्‍वरको प्रशंसामा रचिएका १५० वटा पवित्र भजनको संग्रह हो र ती भजनहरूमध्ये झन्डै आधी जति त प्राचीन इस्राएलका राजा दाऊदले रचेका थिए। ती भजनका रचनाकार को थिए भनी थाह पाउनुभन्दा पनि महत्त्वपूर्ण कुरा के छ भने, यो पुस्तक मानिसजातिको सबैभन्दा असल मित्र यहोवाको प्रेरणामा लेखिएको थियो। त्यसैकारण यो पुस्तकमा हाम्रै भलाइका लागि यहोवाको डोऱ्‍याइ पाइन्छ र यसले हामीलाई सुखतर्फ डोऱ्‍याउँछ भन्‍ने कुरामा हामी ढुक्क हुन सक्छौं।

परमेश्‍वरसित राम्रो सम्बन्ध राख्यो भने सुखी होइन्छ भनेर भजनसंग्रहका लेखकहरू पक्का थिए। भजनरचयिताले यस्तो लेखे, “त्यो मानिस धन्यको हो जसले परमप्रभुको भय मान्दछ।” (भजन ११२:१) ‘परमेश्‍वरका मानिसहरू’ हुँदा पाइने सुख कुनै पनि मानव सम्बन्ध, धनसम्पत्ति र आफूले हासिल गरेको सफलताले दिन सक्दैन। (भजन १४४:१५) वर्तमान समयका परमेश्‍वरका थुप्रै सेवकहरूको अनुभवले यस कुराको प्रमाण दिन्छ।

यहोवासित राम्रो सम्बन्ध गाँस्दा साँचो सुख पाइन्छ भन्‍ने कुराको एउटा उदाहरण ४० वर्ष नाघिसकेकी सुजान हुन्‌। a तिनले यसो भनिन्‌: “आज धेरै मानिसहरू समान लक्ष्य प्राप्त गर्न वा समान चासोका कुराहरू सँगै गर्न कुनै न कुनै समूहमा लागेका हुन्छन्‌। तैपनि आफ्नो समूहका मानिसहरूलाई साँचो मित्रको रूपमा लिएको चाहिं कमै होला। तर यहोवाका जनहरूमाझ भने त्यस्तो हुँदैन। यहोवाप्रतिको प्रेमले गर्दा हामी एकअर्कालाई माया गर्छौं। अनि हामी चाहे संसारको जुनसुकै ठाउँमा किन नहोस्‌ सँगी विश्‍वासीहरूमाझ हुँदा आफ्नै घरमा भए सरह महसुस गर्छौं, कुनै अप्ठ्यारो लाग्दैन। यस्तो एकतामा रहँदा हाम्रो जीवन एकदमै सुखमय बन्छ। बिलकुलै फरक जात, फरक सामाजिक पृष्ठभूमि र फरक देशका मानिसलाई आफ्नो मित्र बनाएको छु भनी अरू कसले भन्‍न सक्छ र? यहोवाको जन भएकोले गर्दा नै म सुखी हुन सकेकी छु भनेर निर्धक्कतासाथ भन्‍न सक्छु।”

स्कटल्याण्डमा जन्मिएकी मारीले पनि सुखी हुन यहोवासित राम्रो सम्बन्ध गाँस्नुपर्छ भनेर थाह पाइन्‌। तिनी भन्छिन्‌, “सच्चाइ सिक्नुअघि म भूतको फिल्म खुबै हेर्ने गर्थें। तर राती सुत्ने बेला चाहिं फिल्ममा हेरेका भूत तथा ड्र्याकुलाहरू तर्साउन आउलान्‌ भनेर चौपट्टै डर लाग्थ्यो। त्यसैले भूत भगाउन क्रस समातेर सुत्थें। सच्चाइ सिकेपछि मैले भूतको फिल्म हेर्न छोडें र यहोवासितको सम्बन्धले गर्दा नडराई सुत्न सकें। भूतप्रेतभन्दा शक्‍तिशाली यहोवाको सेवा गर्न पाएकोमा म खुसी छु।”

यहोवामाथिको भरोसाले सुखतर्फ डोऱ्‍याउँछ

यहोवा सर्वशक्‍तिमान हुनुहुन्छ र उहाँसित असीमित बुद्धि छ भन्‍ने कुरामा शंका गर्ने कुनै ठाउँ छैन। यहोवामा पूर्ण भरोसा राख्न र शरण लिन सकिन्छ भनी दाऊदलाई थाह थियो। त्यसैले तिनले यस्तो लेखे: “त्यो मानिस धन्यको हो, जसले परमप्रभुमा आफ्नो भरोसा राख्तछ।”—भजन ४०:४.

मारियाले भनिन्‌: “मैले स्पेन र अन्य ठाउँमा बटुलेका अनुभवहरूबाट के भन्‍न सक्छु भने, हामीलाई आफ्नै तरिकामा कामकुरा गर्न मन लाग्ला, तैपनि त्यो कामकुरा यहोवाको तौरतरिकाअनुसार गऱ्‍यौं भने राम्रो नतिजा पाउँछौं। यसो गर्दा सुखी हुन सकिन्छ किनभने यहोवाको तौरतरिका सधैं नै उत्तम हुन्छ।”

विभिन्‍न युरोपेली देशमा सेवा गरिसकेका मसीही प्राचीन एन्ड्रियासले यहोवामा भरोसा गर्न सकिन्छ भनेर आफ्नो व्यक्‍तिगत अनुभवबाट थाह पाएका छन्‌। तिनी भन्छन्‌: “युवावस्थामा म बेग्लै धर्म मान्‍ने आफ्नो दाइबाट एकदमै प्रभावित थिएँ। र दाइले सधैं मलाई धेरै पैसा कमाउन सक्ने पेसा अँगाल्न भन्‍नुहुन्थ्यो। पछि पेन्सन पाक्ने राम्रो जागिर नखाई पूर्ण-समय सेवकाई गर्न थाल्दा दाइ एकदमै रिसाउनुभएको थियो। पूर्ण-समय सेवकाई गरेको यतिका समय भइसक्यो, तर म कहिल्यै खाँचोमा परेको छैन। बरु, यस्ता आशिष्‌हरू उपभोग गर्दैछु जुन अरूले कल्पना मात्र गर्न सक्छन्‌।”

सन्‌ १९९३ मा फेलिक्सलाई जर्मनीको सेल्टर्समा अवस्थित यहोवाका साक्षीहरूको शाखा कार्यालयको थप भवन निर्माणकार्यको लागि बोलाइयो। निर्माणकार्य सिद्धिएपछि तिनलाई बेथेल परिवारको स्थायी सदस्य हुन निमन्त्रणा दिइयो। तिनले के गरे? “मैले निमन्त्रणा स्वीकार्न त स्वीकारें तर पूरा मनले होइन। तर यहाँ सेवा गरेको अहिले दस वर्ष भइसक्यो र यहोवाले मेरो प्रार्थना सुन्‍नुभयो भन्‍ने कुरामा म विश्‍वस्त छु। मेरो लागि सबैभन्दा राम्रो के हुन्छ, उहाँलाई थाह छ। परमेश्‍वरमा पूर्ण भरोसा राखेर अनि उहाँको डोऱ्‍याइ स्वीकारेर उहाँ मबाट के चाहनुहुन्छ, सो देखाइदिन यहोवालाई बिन्ती गर्छु।”

माथि उल्लेख गरिएको सुजान, पूर्ण-समय सेवक अर्थात्‌ अग्रगामी सेवा गर्न चाहन्थिन्‌ तर तिनले पार्ट-टाइम जागिर पाउन सकिरहेकी थिएन। कतै जागिर पाइहाल्ला कि भनेर एक वर्षसम्म कुर्दा पनि नपाएपछि तिनले यहोवामा पूर्ण भरोसा राख्दै कदम चालिन्‌। तिनी भन्छिन्‌: “मैले नियमित अग्रगामीको लागि फाराम भरें। एक महिनाको लागि पुग्ने पैसा मैले जम्मा गरिसकेको थिएँ। अनि त्यो महिना साँच्चै नै रोचक रह्‍यो! मैले सेवकाईबाट निकै आनन्द पाइरहेको थिएँ तर अर्कोतर्फ कामको लागि दिएको सबै अन्तरवार्ताहरूमा फेल भइरहेको थिएँ। तर यहोवाले प्रतिज्ञा गर्नुभएझैं मलाई त्याग्नुभएन। महिनाको अन्तिम दिनमा मैले जागिर पाएँ। यहोवामा साँच्चै पूर्ण भरोसा राख्न सकिन्छ भनेर अहिले मैले थाह पाएकी छु। पूर्ण-समय सेवकाई सुरु गर्दाको यो अनुभवले गर्दा इनामदायी र सुखी जीवन बिताउन पाइरहेकी छु।”

परमेश्‍वरको सल्लाह स्वीकार्दा अझ सुखी होइन्छ

राजा दाऊदले जीवनमा केही गम्भीर गल्तीहरू गरे। समय-समयमा तिनलाई बुद्धिमानी सल्लाह चाहिएको थियो। के हामी पनि दाऊद जस्तै सल्लाह र निर्देशन स्वीकार्न इच्छुक छौं?

फ्रान्सकी एडाले एक चोटि आफूले गम्भीर गल्ती गरेकी रहेछु भनेर थाह पाइन्‌। तिनी भन्छिन्‌: “मेरो मुख्य चिन्ताको विषय भनेको यहोवासितको सम्बन्ध फेरि कायम गर्नु थियो। मेरो चिन्ताको विषय भनेकै त्यही मात्र थियो।” तिनी मदतको लागि प्राचीनहरूकहाँ गइन्‌। पूर्ण-समय सेवामा चौध वर्ष बिताइसकेकी बहिनी एडा यसो भन्छिन्‌: “यहोवाले मलाई माफी दिनुभएको थाह पाउँदा कत्ति ढुक्क महसुस हुन्छ।”

परमेश्‍वरले दिनुहुने सल्लाह स्वीकार्दा गल्ती गर्नबाट हामी जोगिन सक्छौं। युडिट भन्छिन्‌: “२० वर्षकी हुँदा म अफिसमा सँगै काम गर्ने एक जना जर्मनसित प्रेममा अन्धो भएकी थिएँ र तिनले पनि मलाई निकै फकाउने गर्थे। तिनको राम्रै नाउँ चलेको थियो र दाम पनि राम्रै कमाउँथे अनि तिनी विवाहित थिए! यहोवाको व्यवस्था पालन गर्ने वा उहाँतिर पिठ्यूँ फर्काउने? यी दुइटामा मैले एउटा छनौट गर्नुपर्छ भनेर मलाई थाह थियो। मैले सबै कुरा बा-आमालाई भनें। यहोवाले मबाट के चाहनुहुन्छ भन्‍ने कुरा मेरो बुबाले मलाई कुरा नघुमाई सीधै भन्‍नुभयो र मलाई चाहिएको पनि त्यही नै थियो। तैपनि आफ्नो काम सही ठहऱ्‍याउने सिद्धान्त बाइबलमा कतै पाइन्छ कि भन्‍ने सोचाइ मेरो मनमा आइरह्‍यो। आमाले हप्तौं लगाएर साँझैपिच्छे परमेश्‍वरको व्यवस्था कत्ति महत्त्वपूर्ण र जीवन बचाउने खालका छन्‌ भनी मलाई सुझाइबुझाइ गर्नुभयो। मेरो हृदय बिस्तारै यहोवातर्फ खिचिएकोमा म धेरै आभारी छु। उहाँबाट पाएको अनुशासन र शिक्षाले मलाई एकदमै ठूलो आनन्द दिएको छ। पूर्ण-समय सेवकाईमा निकै वर्षदेखि आशिष्‌हरू पाइरहेकी छु भने मलाई र यहोवालाई अत्यन्तै माया गर्ने मसीही पति पनि पाएकी छु।”

साँच्चै यस्ता अनुभवहरूले दाऊदले लेखेको कुरा सत्य हो भनी ठोस प्रमाण दिन्छ: “त्यो धन्यको हो, जसको अपराध क्षमा भएको छ, र जसको पाप ढाकिएको छ। त्यो मानिस धन्यको हो, जसको अधर्मको लेखा परमप्रभुले राख्नुहुन्‍न, र जसको आत्मामा छल छँदैछैन।”—भजन ३२:१, २.

अरूको ख्याल राख्दा पाइने सुख

दाऊदले यस्तो लेखे: “त्यो धन्यको हो, जसले निर्धाहरूको चिन्ता गर्दछ। परमप्रभुले त्यसलाई विपत्तिको दिनमा छुटकारा दिनुहुनेछ। परमप्रभुले त्यसलाई रक्षा गरेर जीवित राख्नुहुनेछ, र त्यो पृथ्वीमा आशीर्वादी हुनेछ। तपाईंले त्यसलाई त्यसका शत्रुहरूको इच्छामा नछोड्‌नुहोस्‌।” (भजन ४१:१, २) दाऊदले आफ्नो प्रिय मित्र जोनाथनका लंगडो छोरा मपीबोशेतप्रति देखाएको मायालु चासो हामीले दीनदुःखीप्रति देखाउनुपर्ने सही मनोवृत्तिको राम्रो उदाहरण हो।—२ शमूएल ९:१-१३.

मिसनरी सेवामा ४७ वर्ष बिताइसकेकी मार्लिसले अफ्रिका, एसिया र पूर्वी युरोपका संकटग्रस्त इलाकाहरूबाट भागेर आएका मानिसहरूलाई प्रचार गर्ने मौका पाएकी छिन्‌। तिनी भन्छिन्‌: “उनीहरूको समस्या थरीथरीका हुन्छन्‌ र साधारणतया उनीहरू त्यस नयाँ ठाउँमा हेपिएको महसुस गर्छन्‌ अनि भन्‍ने हो भने, तिनीहरूलाई भेदभाव गरिन्छ। त्यस्ता मानिसहरूलाई मदत गर्दा म सधैं सुखी हुन्छु।”

चालीस वसन्त नाघिसकेकी मरिना यस्तो लेख्छिन्‌: “मैले बिहे गरेको छैन। त्यसैले मदत गर्ने साथीहरू छन्‌ भनी थाह पाउँदा म कत्ति सान्त्वना पाउँछु। यसले गर्दा म अरूलाई टेलिफोन र चिठीद्वारा प्रोत्साहन दिन उत्प्रेरित हुन्छु। थुप्रैले कृतज्ञता व्यक्‍त गरेका छन्‌। यसरी अरूलाई मदत गर्न पाउँदा म खुसी हुन्छु।”

अहिले २४/२५ वर्ष पुगेका डिमिटार यसो भन्छन्‌: “आमा एक्लैले मलाई हुर्काउनुभयो। म सानो छँदा एक जना पुस्तक अध्ययन निरीक्षक मलाई हरेक हप्ता प्रशिक्षण दिन प्रचारमा लैजानुहुन्थ्यो। उहाँले देखाउनुभएको धैर्यताको लागि म अझ पनि आभारी छु। मेरो जोस-जाँगर बढाउन सधैं सजिलो थिएन भनेर मलाई थाह छ।” आफूले त्यतिबेला पाएको मदतको लागि कृतज्ञता देखाउँदै डिमिटार अहिले अरूलाई मदत गर्छन्‌: “म महिनामा कम्तीमा पनि एक चोटि एक जवान र एक वृद्धलाई प्रचारमा लाने प्रयास गर्छु।”

सुखी हुन मदत गर्ने अरू कुराहरूबारे पनि भजनको पुस्तकमा उल्लेख गरिएको छ। एउटा महत्त्वपूर्ण कुरा, आफ्नो बलमा नभई यहोवाको बलमा भर पर्नु हो: “त्यो मानिस धन्यको हो, जसको बल [यहोवामा] छ।”—भजन ८४:५.

कोरिनाले यो कुरा राम्ररी बुझेकी छिन्‌। तिनी प्रचारकहरूको आवश्‍यकता धेरै भएको ठाउँमा सरिन्‌। “म गएको ठाउँमा भाषा र संस्कृति मात्र नयाँ थिएन तर मानिसहरूको सोच्ने तरिका पनि बिलकुलै फरक थियो। मलाई त आफू अर्कै ग्रहमा पुगेजस्तो लाग्यो। यस्तो अनौठो ठाउँमा प्रचार गर्ने विचार गर्दा मात्र पनि म डराएँ। मैले यहोवालाई मदत मागें र उहाँको बल पाएर मात्र मैले त्यो विकट ठाउँमा दिनभरि एक्लै प्रचार गर्न सकें। पछि-पछि त त्यहाँ प्रचार गर्नु एकदमै सजिलो लाग्यो। मैले थुप्रै बाइबल अध्ययनहरू सुरु गर्न सकें र यस अनुभवबाट अहिले पनि लाभ उठाइरहेकी छु। यहोवाको बल पाएर कठिनभन्दा कठिन अवरोध पनि पार गर्न सकिन्छ भन्‍ने पाठ मैले सिकेकी छु।”

हो, विभिन्‍न कुराहरूले हामीलाई सुखी हुन मदत गर्छ। जस्तै, यहोवा र उहाँका जनहरूसित मित्रता गाँस्ने, यहोवामा पूर्ण भरोसा राख्ने, उहाँले दिनुहुने सल्लाह स्वीकार्ने र अरूको ख्याल राख्ने। यहोवाको तौरतरिकाअनुसार हिंड्‌दा र उहाँको व्यवस्था पालन गर्दा हामी उहाँको अनुग्रह पाएर सुखी हुन सक्छौं।—भजन ८९:१५; १०६:३; ११२:१; १२८:१, २.  (w 06 6/15)

[फुटनोट]

a केही नाउँहरू परिवर्तन गरिएका छन्‌।

[पृष्ठ ८-मा भएको चित्र]

मारिया

[पृष्ठ ९-मा भएको चित्र]

मारी

[पृष्ठ ९-मा भएको चित्र]

सुजान र एन्ड्रियास

[पृष्ठ ११-मा भएको चित्र]

कोरिना

[पृष्ठ ११-मा भएको चित्र]

डिमिटार