सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

‘गनगन नगर्नुहोस्‌’

‘गनगन नगर्नुहोस्‌’

‘गनगन नगर्नुहोस्‌’

“गनगन . . . नगरी सबै काम गर्दैजाओ।”—फिलिप्पी २:१४, NRV.

१, २. फिलिप्पी र कोरिन्थका मसीहीहरूलाई पावलले कस्तो चेतावनी दिए र किन?

 परमेश्‍वरको प्रेरणा पाएर लेखेको पत्रमा प्रेरित पावलले प्रथम शताब्दीका फिलिप्पीहरूको निकै तारिफ गरे। फिलिप्पीका सँगी मसीहीहरूको उदार भाव र जोसको प्रशंसा गर्नुका साथै उनीहरूले गरेका राम्रा कामहरूप्रति तिनले आफ्नो खुसी व्यक्‍त गरे। तैपनि पावलले तिनीहरूलाई “गनगन . . . नगरी सबै काम गर्दैजाओ” भनेर पनि सम्झाए। (फिलिप्पी २:१४, NRV) पावलले किन यस्तो चेतावनी दिए?

गनगन गर्दा परिणाम कस्तो हुन्छ पावललाई थाह थियो। केही वर्षअघि मात्र तिनले कोरिन्थको मण्डलीलाई गनगन गर्नु खतरनाक छ भनेर सम्झाएका थिए। इस्राएलीहरूले उजाडस्थानमा बारम्बार यहोवालाई रिस उठाएको घटनातिर तिनले उनीहरूको ध्यान खिचे। इस्राएलीहरूले कसरी परमेश्‍वरलाई बारम्बार रिस उठाएका थिए? खराब कुराको लालसा गरेर, मूर्तिपूजक भएर, व्यभिचार गरेर, यहोवाको परीक्षा गरेर अनि गनगन गरेर। पावलले कोरिन्थका मसीहीहरूलाई यो उदाहरणबाट पाठ सिक्न प्रोत्साहन दिए। तिनले लेखे: “तिमीहरू गनगन नगर, जसरी तिनीहरूमध्ये कुनै कुनैले गनगन गरेथे, र नष्ट पार्नेबाट नष्ट भएथे।”—१ कोरिन्थी १०:६-११.

३. आज हामीले गनगनबारे बुझ्नु किन जरुरी छ?

अहिले हामी यहोवाका सेवकहरू पनि फिलिप्पीका मसीहीहरूजस्तै छौं। असल काम गर्न हामी जोसिला छौं र हामीबीच आपसमा प्रेम छ। (यूहन्‍ना १३:३४, ३५) तर बितेको समयमा गनगन गर्दा परमेश्‍वरका मानिसहरूलाई भएको हानी विचार गर्ने हो भने, ‘गनगन नगरी सबै काम गर्दै जाओ’ भन्‍ने सल्लाहलाई विशेष ध्यान दिनु उचित छ। त्यसैले आउनुहोस्‌, पहिले गनगनबारे बाइबलमा लेखिएका केही उदाहरणहरू विचार गरौं। अनि गनगन गर्दा अहिले पनि हानी हुने भएकोले के गऱ्‍यौं भने गनगन गर्नदेखि जोगिनेछौं, केही तरिका छलफल गर्नेछौं।

दुष्ट समुदायले यहोवा विरुद्ध गनगन गऱ्‍यो

४. इस्राएलीहरूले उजाडस्थानमा के भन्दै गनगन गरे?

इस्राएलीहरू ४० वर्ष उजाडस्थानमा छँदाका घटनाहरू बताउँदा बाइबलमा “गनगन, गुनासो, कचकच, फतफत” जस्ता अर्थ लाग्ने हिब्रू शब्द प्रयोग गरिएको छ। बेला-बेलामा इस्राएलीहरू आफ्नो अवस्था देखेर असन्तुष्ट हुन्थे र गनगन गर्थे। उदाहरणको लागि, मिश्रको दासत्वबाट छुटकारा पाएको केही हप्तापछि नै “सारा समुदाय त्यहाँ मोशा र हारूनमाथि गनगनाउनलागे।” इस्राएलीहरू यसो भन्दै खानाबारे गनगन गर्न थाले: “जब मिश्रमा मासु र रोटी अघाउञ्जेल खान्थ्यौं। त्यसै बेला हामी परमप्रभुको हातबाट मरेको भएदेखि असल हुनेथियो, किनकि तपाईंहरूले हामी र हाम्रा यस जम्मै समूहलाई भोकले मार्न उजाडस्थानमा ल्याउनुभयो।”—प्रस्थान १६:१-३.

५. इस्राएलीहरूले वास्तवमा को विरुद्ध गनगन गरे?

वास्तवमा यहोवाले इस्राएलीहरूलाई उजाडस्थानमा चाहिने सब थोक दिनुभएको थियो। माया गरेर खानेकुरा र पानीको प्रबन्ध पनि मिलाइदिनुभएको थियो। उजाडस्थानमा खानै नपाएर मर्नुपर्ने अवस्था थिएन। तर असन्तोषी इस्राएलीहरू आफ्नो अप्ठेरो अवस्थालाई बढाइचढाइ गरेर गनगन गर्न थाले। हुन त, तिनीहरूले मोशा र हारून विरुद्ध गनगन गरेका थिए, तर यहोवालाई यो गनगन वास्तवमा उहाँ विरुद्ध गरिएको महसुस भयो। त्यसैकारण मोशाले इस्राएलीहरूलाई “तिमीहरूले उहाँको विरुद्ध गरेको गनगन उहाँले सुन्‍नुभएको छ। हामी चाहिं को हौं र? तिमीहरूको यो गनगन हाम्रो विरुद्धमा होइन, तर परमप्रभुको विरुद्धमा भएको छ” भने।—प्रस्थान १६:४-८.

६, ७. गन्ती १४:१-३ मा लेखिएअनुसार इस्राएलीहरूको मनोवृत्ति कसरी परिवर्तन भयो?

केही समय नबित्दै इस्राएलीहरूले फेरि गनगन गरे। प्रतिज्ञा गरिएको देशमा मोशाले १२ जना जासुस पठाएका थिए। तीमध्ये दस जनाले नराम्रो खबर ल्याए। यसको परिणाम के भयो? “सबै इस्राएलीहरू मोशा र हारूनका विरुद्वमा गनगनाए, र सारा समुदायले तिनीहरूलाई भने, ‘हामी मिश्र देशमानै मरेका भए असल हुनेथियो! अथवा यस वनमा मरेका भए पनि असल हुनेथियो! किन परमेश्‍वरले हामीलाई तरवारले मर्नलाई यस ठाउँ . . . [कनानमा] ल्याउनुहुन्छ? हाम्रा जहान बालबच्चा लुटिनेछन्‌। अब मिश्र देशमानै फर्कन हामीलाई उचित होइन र?’ ”—गन्ती १४:१-३.

इस्राएलीहरूको मनोवृत्ति कत्ति छिटो परिवर्तन भएछ! मिश्र अनि लाल समुद्रबाट छुटकारा पाएकोले सुरुमा त तिनीहरू निकै कृतज्ञ हुँदै यहोवाको प्रशंसा गीत गाए। (प्रस्थान १५:१-२१) पहिला परमेश्‍वरप्रति कृतज्ञ इस्राएलीहरू पछि उजाडस्थानमा अप्ठेरो हुँदा र कनानीहरूसित डराउँदा उहाँसित असन्तुष्ट भए। यहोवाले दिनुभएको स्वतन्त्रताको लागि धन्यवाद दिनुको साटो आफूले नपाएको कुरा सम्झँदै तिनीहरूले उहाँलाई गलत आरोप लगाए। त्यसकारण, गनगन गर्नु भनेको यहोवाले गर्नुभएका प्रबन्धहरूप्रति कृतज्ञता कम हुँदा प्रकट हुने अभिव्यक्‍ति हो। त्यसैकारण यहोवाले यसो भन्‍नुभयो: “मेरो विरुद्धमा गनगनाउने यस दुष्ट समुदायलाई मैले कतिसम्म सहने?”—गन्ती १४:२७; २१:५.

पहिलो शताब्दीमा गनगन

८, ९. येशूको समयमा भएका गनगनसम्बन्धी केही घटना बताउनुहोस्‌।

सबैसामु असन्तोष व्यक्‍त गर्दै गनगन गर्ने मानिसहरूको उदाहरण हामीले माथिका अनुच्छेदहरूमा पढ्यौं। तर इस्वी संवत्‌ ३२ मा डेराबासको चाड मनाउन येशू यरूशलेममा हुनुहुँदा “भीडहरूमा उहाँका विषयमा गनगन भयो।” (यूहन्‍ना ७:१२, १३, ३२) पक्कै पनि तिनीहरूले उहाँबारे खासखुस कुरा गरेका थिए। कोही उहाँ असल छन्‌ भन्थे त कोही खराब।

एक पटक लेवी वा मत्ती नाउँ भएको कर उठाउने व्यक्‍तिले येशू र उहाँका चेलाहरूलाई आफ्नो घरमा निम्तो दिएका थिए। त्यतिखेर “फरिसीहरू र तिनीहरूका शास्त्रीहरूले उहाँका चेलाहरूका विरुद्धमा यसो भनेर गनगनाउनलागे, ‘तिमीहरू महसूल उठाउनेहरू र पापीहरूसित किन खान-पीन गर्दछौ?’ ” (लूका ५:२७-३०) केही समयपछि गालीलमा “यहूदीहरू [येशूका] विषयमा गनगनाए, किनभने उहाँले भन्‍नुभयो, ‘म स्वर्गबाट ओर्लिआएको रोटी हुँ।’ ” येशूका चेलाहरूमध्ये कोही-कोही रुष्ट भए र गनगन गर्न थाले।—यूहन्‍ना ६:४१, ६०, ६१.

१०, ११. ग्रीक-यहूदीहरूले किन गनगन गरे र यो गुनासो समाधान गर्न मिलाइएको प्रबन्धबाट प्राचीनहरूले के सिक्न सक्छन्‌?

१० इस्वी संवत्‌ ३३, पेन्तिकोसको केही समयपछि भएको गनगनको परिणाम भने राम्रो भयो। इस्राएलबाहिरबाट आएका नयाँ चेलाहरू यहूदीयाका सँगी मसीहीहरूकहाँ पाहुना थिए। तर जे-जति थियो, त्यो बाँडचुँड गर्नेसम्बन्धमा केही समस्या देखियो। विवरण यसो भन्छ: “तब हिब्रूहरूका विरुद्धमा ग्रीक-यहूदीहरूले गनगन गरे किनभने दिनहुँको सेवामा तिनीहरूका विधवाहरूको वास्ता राखिएको थिएन।”—प्रेरित ६:१.

११ यी गनगन गर्नेहरू उजाडस्थानका इस्राएलीहरूजस्ता थिएनन्‌। ग्रीक-यहूदीहरूले आफ्नो अवस्थासित असन्तुष्ट भएर स्वार्थी हुँदै गनगन गरिरहेका थिएनन्‌। केही विधवाहरूलाई त्यति वास्ता नगरिएको कुरामा तिनीहरूले ध्यान खिचे। यसबाहेक गनगन गर्नेहरूले समस्या खडा गरेनन्‌ नता सबैसामु यहोवाको विरुद्धमै गनगन गरे। तिनीहरूले प्रेरितहरूलाई नै यो गुनासो पोखे र गुनासो जायज भएकोले प्रेरितहरूले पनि तुरुन्तै समस्या समाधान गर्ने प्रबन्ध मिलाए। आज मसीही प्राचीनहरूको लागि कत्ति राम्रो नमुना! यी आध्यात्मिक गोठालाहरू ‘असहायको बिन्ती नसुन्‍ने’ हुनदेखि सतर्क छन्‌।—हितोपदेश २१:१३; प्रेरित ६:२-६.

गनगन गर्दा बिस्तारै हानि पुऱ्‍याउने असरबाट जोगिनुहोस्‌

१२, १३. (क) गनगन गर्दा पुग्ने हानीबारे उदाहरणसहित व्याख्या गर्नुहोस्‌। (ख) के-कस्ता कारणले गर्दा गनगन सुरु हुन सक्छ?

१२ बाइबलमा गनगनसम्बन्धी लेखिएका विवरणहरूमध्ये प्रायजसोमा परमेश्‍वरका मानिसहरूलाई निकै हानि पुगेको हामीले बुझ्यौं। त्यसकारण गनगन गर्दा अहिले पनि बिस्तारै हानि हुने भएकोले हामी एकदमै होसियार हुनुपर्छ। गनगन गर्दा कसरी बिस्तारै हानि पुग्न सक्छ, त्यो बुझ्न एउटा उदाहरण विचार गर्नुहोस्‌। फलाममा सजिलै खिया लाग्छ। त्यसकारण, खिया लाग्न सुरु हुने बित्तिकै वास्ता गरिएन भने पछि फलाम कामै नलाग्ने हुन्छ। थुप्रै गाडीहरू इन्जिन बिग्रेर त होइन तर धेरै खिया लागेर थोत्रो भएकोले कबाडीखानामा थन्किएका छन्‌। यो उदाहरण र गनगन गर्नु बीच के सम्बन्ध छ?

१३ फलाममा आफसे आफ अनि बिस्तारै खिया लागेझैं हामी असिद्ध मानिसहरू पनि बिस्तारै गनगने हुन थाल्छौं। गनगने हुन थालेजस्तो लाग्यो भने होसियार हुनैपर्छ। हावामा भएका पानीका कण र नूनले गर्दा फलाममा छिटोछिटो खिया लागेझैं दुःखकष्ट भोग्दा हामी पनि बढ्‌तै गनगन गर्ने हुन थाल्छौं। तनाव हुँदा सानोतिनो कुराले पनि निकै झोक चल्छ र गनगन सुरु हुन सक्छ। यस रीतिको आखिरी दिनमा परिस्थिति झन्‌झन्‌ बिग्रँदै जान्छ। त्यसैले गुनासो गर्ने कारणहरू पनि थुप्रँदै जान्छन्‌। (२ तिमोथी ३:१-५) त्यसकारण, यहोवाका सेवकहरूमाझ पनि एकअर्का विरुद्ध गनगन गर्नेहरू देखा पर्न सक्छन्‌। अरूको कमजोरी वा क्षमता देखेर अथवा अरूले विशेष सुअवसर पाएको देखेर चित्त बुझ्दैन र यस्ता सामान्य कारणहरूले गर्दा गनगन सुरु हुन सक्छ।

१४, १५. गनगने हुन थालेका छौं भने किन होसियार हुनुपर्छ?

१४ हामी असन्तुष्ट भएको कारण जेसुकै होस्‌, गनगने हुन थाल्दा वास्ता गरेनौं भने हामीलाई कुनै पनि कुरा चित्त बुझ्दैन र गनगन गर्ने बानी नै पर्न सक्छ। हो, वास्तवमा गनगन गर्दा हाम्रो आध्यात्मिकतालाई बिस्तारै हानि पुग्छ र अन्तमा हामी खत्तमै हुन सक्छौं। उजाडस्थानमा आफ्नो अवस्थाबारे गनगन गरेका इस्राएलीहरू यहोवालाई समेत दोष लगाउन पछि परेनन्‌। (प्रस्थान १६:८) हामी तिनीहरू जस्तो कहिल्यै हुन नपरोस्‌!

१५ फलाममा सजिलै खिया लाग्ने भएकोले यो क्रम कम गर्न त्यसमा विशेष किसिमको रंग लगाइन्छ र कतै खिया लागिहाल्यो भने पनि तुरुन्तै खुर्केर रंगरोगन गरिन्छ। त्यसै गरी गनगने हुन थालेजस्तो लाग्यो भने तुरुन्तै प्रार्थना गरेर त्यो बानी सुधार्ने प्रयास गर्नुपर्छ। कसरी?

भइरहेको घटनालाई यहोवाले जस्तै हेर्नुहोस्‌

१६. गुनासो गर्ने बानीलाई कसरी हटाउन सकिन्छ?

१६ गनगन गर्ने बानीले गर्दा आफू र आफ्नो समस्याबारे मात्र सोचिरहन्छौं। त्यसले गर्दा यहोवाको साक्षी भएकोले पाएका आशिष्‌हरू हामी बिर्सन्छौं। गनगन गर्ने बानी बसिसकेको छ र त्यो बानी हटाउन चाहन्छौं भने ती आशिष्‌हरू सम्झिरहनुपर्छ। जस्तै, हामी प्रत्येकले आफ्नो नाउँ यहोवाको नाउँसित जोड्‌ने सम्मान पाएका छौं। (यशैया ४३:१०) उहाँसित घनिष्ठ सम्बन्ध गाँस्न पाएका छौं र “प्रार्थना सुन्‍नुहुने” परमेश्‍वरलाई जुनसुकै बेला पुकार्न सकेका छौं। (भजन ६५:२; याकूब ४:८) ब्रह्‍माण्डमा शासन गर्ने अधिकार वास्तवमा कसको हो भन्‍ने विवाद बुझेको र हामी यहोवाप्रति वफादार रहनु सुअवसर हो भनेर थाह भएकोले हाम्रो जीवन अर्थपूर्ण भएको छ। (हितोपदेश २७:११) हामीले परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्न पनि पाइरहेका छौं। (मत्ती २४:१४) येशू ख्रीष्टले दिनुभएको छुटकाराको बलिदानमाथि विश्‍वास गरेकोले अन्तस्करण सफा राख्न सकेका छौं। (यूहन्‍ना ३:१६) जस्तोसुकै अवस्था सहनुपरे तापनि यी हुन्‌ हामीले पाएका आशिष्‌हरू।

१७. गुनासो गर्ने उचित कारण छ भने पनि किन यहोवाले जस्तै हेर्ने कोसिस गर्नुपर्छ?

१७ भइरहेको घटनालाई आफ्नै ढंगले होइन यहोवाले जस्तै हेर्ने कोसिस गरौं। “तपाईंको मार्ग मलाई देखाउनुहोस्‌, हे परमप्रभु। तपाईंको बाटो मलाई दिनुहोस्‌।” (भजन २५:४) गुनासो गर्ने उचित कारण छ भने पनि त्यो कुरा यहोवाको नजरबाट लुक्न सक्दैन। उहाँ तुरुन्तै समस्या समाधान गर्न सक्नुहुन्छ तर कहिलेकाहीं समस्याहरूलाई रहिरहने अनुमति उहाँ किन दिनुहुन्छ? हाम्रै भलाइको निम्ति। किनकि समस्या रहिरहँदा हामीले सहनशीलता, धीरज र विश्‍वास जस्ता असल गुणहरू विकास गर्ने मौका पाउँछौं।—याकूब १:२-४.

१८, १९. अप्ठेरो परिस्थिति आइपर्दा पनि गनगन नगरी सहेर बस्दा अरूमाथि कस्तो प्रभाव पर्न सक्छ, बताउनुहोस्‌।

१८ अप्ठेरो परिस्थिति आइपर्दा पनि गनगन नगरी सहेर बस्दा हाम्रो व्यक्‍तित्व अझ राम्रो हुने मात्र होइन हाम्रो बानीबेहोरा याद गरिरहेकाहरूलाई पनि प्रभाव पर्न सक्छ। सन्‌ २००३ मा जर्मनीका यहोवाका साक्षीहरू अधिवेशनको लागि बस चढेर हंगेरी गएछन्‌। ड्राइभर यहोवाका साक्षी थिएनन्‌ र दस-दस दिन साक्षीहरूसित बिताउन तिनी त्यति इच्छुक पनि थिएनन्‌। तर यात्राको अन्ततिर तिनको विचार पूरै बदलिसकेछ। किन होला?

१९ कुरा के रहेछ भने, यात्रा गर्दा केही समस्या आइपरेछ। तर यहोवाका साक्षीहरूले पटक्कै गुनासो गरेनन्‌। त्यसैकारण, ड्राइभरले अहिलेसम्म आफ्नो बसमा यात्रा गर्ने यात्रुहरूमध्ये सबैभन्दा राम्रो समूह यही हो भनेछन्‌! अनि तिनले यस्तो प्रणसमेत गरे: “अर्को पटक यहोवाका साक्षीहरू मेरो घरमा आउँदा भित्रै बोलाएर उहाँहरूको कुरा राम्ररी सुन्‍नेछु।” यी यात्रुहरूले “गनगन नगरी” सब काम गरेकोले कत्ति राम्रो प्रभाव पऱ्‍यो!

क्षमा गर्दा एकताको गाँठो बलियो हुन्छ

२०. हामीले किन एकअर्कालाई क्षमा गर्नुपर्छ?

२० हाम्रो गुनासो मसीही भाइ वा बहिनी विरुद्ध छ भने के गर्ने? यदि समस्या गम्भीर किसिमको हो भने मत्ती १८:१५-१७ मा लेखिएका येशूले दिनुभएको सिद्धान्त प्रयोग गर्नुपर्छ। तर गुनासो प्रायः सानोतिनो कुराबारे मात्र गरिएको छ भने सधैं यो सिद्धान्त प्रयोग गरिरहनु त नपर्ला। त्यसोभए, यस्तो अवस्थालाई क्षमा दिने मौका ठाने कसो होला? पावलले लेखे: “एउटाले अर्कोलाई सहेर, कुनै मानिसको विरुद्धमा केही दोषको कारण छ भने, एउटाले अर्कोलाई क्षमा गर, जसरी प्रभुले पनि तिमीहरूलाई क्षमा गर्नुभयो, त्यसरी तिमीहरूले पनि क्षमा गर, र यी सबै कुराहरूभन्दा बढी प्रेम धारण गर, जो सिद्धताको गाँठो हो।” (कलस्सी ३:१३, १४) के हामी क्षमा दिन इच्छुक छौं? के यहोवासित पनि हामी विरुद्ध गुनासो गर्ने कारण छैन र? तैपनि उहाँले बारम्बार हामीलाई दया देखाउनुभएको छ, हामीलाई माफी दिनुभएको छ।

२१. अरूले गरेको गनगन सुन्‍नुपर्नेहरूलाई कस्तो लाग्ला?

२१ गुनासो गर्नुपर्ने कारण जेसुकै होस्‌, गनगन गर्दैमा समस्या समाधान हुँदैन। हिब्रू भाषामा “गनगन गर्नु” भन्‍ने शब्दको अर्थ “फतफताउनु” पनि हो। गनगन गरिरहने मान्छे हामीसँगै हुँदा पक्कै पनि हामीलाई असजिलो लाग्छ र उसलाई पन्छाउने कोसिस गरौंला। तर यदि हामी नै गनगने अथवा फतफते छौं भने अरूलाई पनि त्यस्तै लाग्छ। तिनीहरूलाई पनि असजिलो लाग्ला र हामीलाई पन्छाउन खोज्लान्‌, हैन त? हो, सबैसामु गनगन गर्दा अरूको ध्यान त खिच्न सकिएला तर उनीहरूको साथ पाउने कुरा भने सोच्दै नसोचे पनि हुन्छ।

२२. यहोवाका साक्षीहरूबारे एउटी केटीले के लेखिन्‌?

२२ यहोवाका जन एकतालाई अनमोल ठान्छन्‌ र क्षमा गर्दा एकताको गाँठो बलियो हुन्छ। (भजन १३३:१-३) युरोपेली मुलुककी १७ वर्षिया क्याथोलिक केटीले यहोवाका साक्षीहरूको प्रशंसा गर्दै शाखा कार्यालयमा चिठी पठाइन्‌। “मैले जानेबुझेका संगठनहरूमध्ये यही एउटा संगठनका सदस्यहरूबीच एकता छ। तिनीहरू सहनशील छन्‌ र तिनीहरूलाई घृणा, लोभ, स्वार्थले फुटाएको छैन” तिनले लेखिन्‌।

२३. अर्को लेखमा के छलफल गर्नेछौं?

२३ साँचो परमेश्‍वर यहोवाको उपासना गरेको कारण हामीले पाएका सम्पूर्ण आशिष्‌हरूको कदर गर्दा हाम्रो एकताको गाँठो बलियो हुन्छ र व्यक्‍तिगत कुराहरूमा अरू विरुद्ध गनगन गर्नदेखि जोगिन सक्छौं। अर्को लेखमा, यहोवाको संगठनको पृथ्वीमा रहेको भाग विरुद्धै गनगन गर्ने जस्तो खतरनाक परिस्थितिमा पर्नदेखि हामीलाई यहोवाले सिकाउनुभएका गुणहरूले कसरी जोगाउनेछ भन्‍ने कुरा छलफल गर्नेछौं। (w 06 7/15)

के तपाईंलाई याद छ?

• गनगन गर्नुमा के-कस्ता कुरा समावेश छन्‌?

• गनगन गर्दा पर्ने असरबारे कस्तो उदाहरण दिन सकिन्छ?

• गनगन गर्ने बानी नबसाल्न हामीलाई केले मदत गर्छ?

• क्षमा गर्न इच्छुक हुँदा गनगन गर्नदेखि कसरी जोगिन सक्छौं?

[प्रश्‍नहरू]

[पृष्ठ ८-मा भएको चित्र]

इस्राएलीहरूले वास्तवमा यहोवाकै विरुद्ध गनगन गरे!

[पृष्ठ १०-मा भएको चित्र]

के तपाईं भइरहेका घटनालाई यहोवाले जस्तै हेर्ने प्रयास गर्नुहुन्छ?

[पृष्ठ ११-मा भएका चित्रहरू]

क्षमा गर्दा मसीही एकताको गाँठो बलियो हुन्छ