सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

दुःखितहरूलाई यहोवा उद्धार गर्नुहुन्छ

दुःखितहरूलाई यहोवा उद्धार गर्नुहुन्छ

दुःखितहरूलाई यहोवा उद्धार गर्नुहुन्छ

“धर्मात्मालाई धेरै दुःख ता हुन्छ, तर परमप्रभुले तिनलाई ती सबैबाट छुटाउनुहुन्छ।” —भजन ३४:१९.

१, २. एक जना विश्‍वासी बहिनीलाई कस्तो महसुस हुन थाल्यो र हामीलाई पनि किन त्यस्तै लाग्न सक्छ?

 सोनिया a नाउँकी युवती यहोवाको साक्षी भएको २० वर्ष भइसक्यो। तिनले केही समय नियमित अग्रगामी सेवा गरिन्‌। नियमित अग्रगामी गर्न पाएकोमा तिनी अत्यन्तै खुसी थिइन्‌। तर हालसालै सोनियालाई आफू बेकामको अनि एक्लो महसुस हुन थाल्यो र यो भावनाले तिनी उकुसमुकुस भइन्‌। “म खाली रोइरहन्थें” तिनी बताउँछिन्‌। यस्तो नकारात्मक भावनालाई हटाउन तिनले झन्‌ धेरै व्यक्‍तिगत बाइबल अध्ययन गर्न थालिन्‌। “तर मेरो मनमा ती भावनाहरू जस्ताको तस्तै थिए। यस्तो भावनाले निसासिंदै गएपछि त मलाई बाँचिरहनै मन लागेन” सोनिया भन्छिन्‌।

के तपाईंलाई पनि यस्तै भावनाले पिरोलेको छ? यहोवाको साक्षी हुनुभएकोले तपाईं रमाउन सक्ने प्रशस्त कारण छन्‌। किनकि तपाईंले परमेश्‍वरको भक्‍ति गर्दा “पछि हुनेसमेत जीवनको प्रतिज्ञा” पाउनुभएको छ। (१ तिमोथी ४:८) अहिले तपाईं आध्यात्मिक प्रमोदवनमा हुनुहुन्छ! तर के यसको अर्थ तपाईंमाथि कुनै दुःख आइपर्दैन भन्‍न खोजिएको हो? होइन! बाइबल भन्छ, “धर्मात्मालाई धेरै दुःख ता हुन्छ।” (भजन ३४:१९) यसमा अचम्म मान्‍नु पर्दैन। किनकि “सारा संसार त्यस दुष्टको अधीनमा परेको छ।” (१ यूहन्‍ना ५:१९) त्यसैकारण, हामी सबै कहिलेकाहीं दुःखित हुन्छौं।—एफिसी ६:१२.

दुःखित हुँदा कस्तो महसुस हुन्छ

३. अत्यन्तै व्याकुल भएका परमेश्‍वरका केही सेवकहरूको उदाहरण दिनुहोस्‌।

लामो समयसम्म दुःखित भइरह्‍यौं भने हाम्रो सोचविचार नकारात्मक हुन सक्छ। (हितोपदेश १५:१५) धर्मी पुरुष अय्यूबलाई सम्झनुहोस्‌। अत्यन्तै कठीन परीक्षामा परेको बेला अय्यूबले भने: “स्त्रीबाट जन्मेको मानिस अल्प–आयुका र अशान्तिले भरिएको हुन्छ।” (अय्यूब १४:१) अय्यूबको आनन्द गुम्यो। केही समय त तिनलाई यहोवाले समेत त्याग्नुभयो जस्तो लाग्यो। (अय्यूब २९:१-५) यसरी आकुलव्याकुल हुने परमेश्‍वरका जनहरूमध्ये अय्यूब मात्र थिएनन्‌; अरू पनि थिए। बाँझी भएकीले हन्‍नाको “मनमा ठूलो पीर” थियो भनेर बाइबल बताउँछ। (१ शमूएल १:९-११, NRV) परिवारको अवस्था देखेर पिरोलिएकी रिबेकाले यसो भनिन्‌: “मेरो जीवनै हैरान भइसक्यो।” (उत्पत्ति २७:४६) आफ्नो गल्ती सम्झँदा दाऊदले यसो भने: “दिनभरि म विलाप गर्दै हिंड्‌छु।” (भजन ३८:६) परमेश्‍वरको डर राख्ने प्राचीन समयका पुरुष तथा स्त्रीहरू पनि अत्यन्तै व्याकुल भएका थिए भनी यी उदाहरणहरूबाट प्रस्ट हुन्छ।

४. आज मसीहीहरूमाझ पनि ‘हरेस खानेहरू’ छन्‌ भनेर थाह पाउँदा किन छक्क पर्नु पर्दैन?

अनि मसीहीहरूबारे चाहिं के भन्‍न सकिन्छ? प्रेरित पावलले थिस्सलोनिकीहरूलाई यसो भन्‍नै पर्ने महसुस गरे: “हरेस खानेलाई दिलाशा देओ।” (१ थिस्सलोनिकी ५:१४) एउटा पुस्तकअनुसार “हरेस खाने” भनेर अनुवाद गरिएको मूल युनानी शब्दले “जीवनमा भोग्नुपर्ने दबाबले गर्दा केही समय हतास भएकाहरूलाई” संकेत गर्न सक्छ। थिस्सलोनिकीको मण्डलीका केही आत्मा-अभिषिक्‍त जनहरू निरुत्साहित भएका थिए भनी पावलका यी शब्दहरूले देखाउँछन्‌। अहिले पनि हामीमाझ हरेस खानेहरू छन्‌। तर तिनीहरू किन हरेस खान्छन्‌? आउनुहोस्‌, यसका तीनवटा सामान्य कारणहरू छलफल गरौं।

हाम्रो पापी झुकावले हामीलाई निराश बनाउन सक्छ

५, ६. रोमी ७:२२-२५ बाट कस्तो सान्त्वना पाउन सकिन्छ?

“निर्दयी” अर्थात्‌ नैतिक चेतना मरेको भ्रष्ट व्यक्‍तिहरूजस्तो नभई साँचो मसीहीहरू आफ्नो पापी अवस्थाको कारण दुःखित छन्‌। (एफिसी ४:१९) तिनीहरूलाई पनि यी शब्दहरू लेख्ने पावललाई जस्तै लाग्न सक्छ: “म मेरो अन्तस्करणले परमेश्‍वरको व्यवस्थामा आनन्दित हुन्छु, तर मेरो बुद्धिको व्यवस्थाको विरुद्धमा लडाइँ गर्ने, र मेरा इन्द्रियहरूमा रहेको पापको अधीनमा भएको व्यवस्थाको बन्धनमा मलाई ल्याउने, मेरा इन्द्रियहरूमा भिन्‍नै व्यवस्था म देख्तछु।” त्यसपछि पावल भन्छन्‌: “हाय, म कस्तो दुःखी मानिस!”—रोमी ७:२२-२४.

के तपाईंलाई कहिल्यै पावललाई जस्तै लागेको छ? आफ्नो असिद्धताबारे सजग हुनु नराम्रो होइन। यसरी सजग हुँदा पापी झुकाव कत्ति बलियो छ, थाह पाउन र खराब काम त्याग्ने अठोट अझ बलियो बनाउन सक्नुहुन्छ। तर त्यसो भन्दैमा आफ्नो पापी अवस्थालाई सम्झँदै दुःखी भइरहनु पर्दैन। पावलले निराश हुँदै व्यक्‍त गरेका माथि उल्लिखित शब्दहरूमा अझै यी शब्दहरू थपे: “येशू ख्रीष्ट, हाम्रा प्रभुद्वारा परमेश्‍वरमा धन्यवाद होस्‌।” (रोमी ७:२५) हो, येशूले बगाउनुभएको रगतले गर्दा आदमको कारण पाएको पापबाट छुटकारा पाउनेछु भनी पावल ढुक्क थिए।—रोमी ५:१८.

७. पापी स्वभावको कारण व्याकुल नहुन केले मदत गर्न सक्छ?

पापी झुकावले गर्दा विचलित हुनुभएको छ भने प्रेरित यूहन्‍नाले लेखेका यी शब्दहरूबाट ढुक्क महसुस गर्नुहोस्‌: “कुनै मानिसले पाप गऱ्‍यो भने पनि पितासँग हाम्रा एक सहायक हुनुहुन्छ, अर्थात्‌ धार्मिक येशू ख्रीष्ट। औ उहाँ हाम्रा पापको निम्ति प्रायश्‍चित हुनुहुन्छ, औ हाम्रा निम्ति मात्र होइन, तर सबै संसारका निम्ति पनि।” (१ यूहन्‍ना २:१, २) पापी स्वभावको कारण व्याकुल हुनुभएको छ भने येशू पापीहरूको लागि मर्नुभएको थियो, सिद्धहरूको लागि होइन भन्‍ने तथ्यलाई कहिल्यै नबिर्सनुहोस्‌। वास्तवमा “सबैले पाप गरेका छन्‌, र परमेश्‍वरको महिमारहित हुनगएका छन्‌।”—रोमी ३:२३.

८, ९. आफैलाई धिक्कार्ने विचारहरू हामीले किन त्याग्नुपर्छ?

तर मानिलिनुहोस्‌, बितेको समयमा तपाईंले गम्भीर पाप गर्नुभएको थियो। पक्कै पनि तपाईंले यसबारे यहोवालाई प्रार्थना गर्नुभयो। सायद निकै पटक प्रार्थना गर्नुभयो होला। मसीही प्राचीनहरूबाट आध्यात्मिक मदत पाउनुभयो। (याकूब ५:१४, १५) तपाईंले साँचो पश्‍चाताप गर्नुभएकोले मण्डलीमा रहिरहन पाउनुभयो। अथवा केही समयको लागि तपाईंले परमेश्‍वरको संगठन छोड्‌नुभएको हुन सक्छ तर पछि पश्‍चाताप गर्नुभयो र सफा अन्तस्करण कायम राख्न सक्नुभयो। जे होस्‌, बितेको समयमा गरेको पाप तपाईंलाई सम्झना भइरहन सक्छ र यसले गर्दा तपाईं निराश हुनुभएको होला। त्यसो हो भने, साँच्चै पश्‍चाताप गर्नेहरूलाई यहोवाले “प्रशस्त गरी” क्षमा गर्नुहुन्छ भन्‍ने कुरा नबिर्सनुहोस्‌। (यशैया ५५:७) तपाईंले अत्यन्तै दोषी महसुस गरेको यहोवा चाहनुहुन्‍न। शैतान पो त्यस्तो चाहन्छ। (२ कोरिन्थी २:७, १०, ११) शैतान नाश हुनेछ; त्यो नाश हुनैपर्छ। तपाईं आफू पनि शैतानसँगै नाश हुन योग्यको छु भन्‍ने महसुस गरोस्‌ भनेर शैतान चाहन्छ। (प्रकाश २०:१०) यसरी तपाईंको विश्‍वास भ्रष्ट पार्न खोज्ने शैतानको यो चालमा त्यसलाई सफल हुन नदिनुहोस्‌। (एफिसी ६:११) बरु, त्यतिखेर पनि अरू बेला जस्तै शैतानको “विरोध” गर्नुहोस्‌।—१ पत्रुस ५:९.

प्रकाश १२:१० मा (NRV) शैतानलाई “हाम्रा भाइहरू” अर्थात्‌ अभिषिक्‍त मसीहीहरूलाई “दोष लगाउने” भनिएको छ। त्यसले परमेश्‍वरसामु “दिनरात तिनीहरूलाई दोष लगाउँछ।” यो पदलाई विचार गर्दा तपाईंलाई दोष लाउने र धिक्कार्ने यहोवा हुनुहुन्‍न, झूटो आरोप लगाउने शैतान हो र तपाईंले आफूलाई दोषी ठहराउनुहुँदा अनि धिक्कार्नुहुँदा त्यो शैतान खुसी हुन्छ भनेर बुझ्न मदत मिल्छ। (१ यूहन्‍ना ३:१९-२२) त्यसैले लत्तो छोड्‌ने हदसम्म पुग्ने गरी किन आफ्ना दोषहरू सम्झेर दुःखी भइरहनुहुन्छ? यहोवासित तपाईंको सम्बन्ध बिगार्ने मौका शैतानलाई नदिनुहोस्‌। यहोवा “रीस गर्नमा ढीलो, र कृपा र सत्यतामा प्रशस्त हुनुहुन्छ” भन्‍ने तथ्य बुझ्न शैतानले तपाईंको आँखामा छारो हाल्न नपाओस्‌।—प्रस्थान ३४:६.

पहिले जति गर्न नसकेकोले हामी निरुत्साहित हुन सक्छौं

१०. के-कस्ता कारणले सेवकाईमा पहिले जति गर्न नसक्दा हामी निरुत्साहित हुन सक्छौं?

१० यहोवाको सेवा पहिले जति गर्न नसकेकोले केही मसीहीहरू निरुत्साहित भएका छन्‌। कतै तपाईंलाई पनि त्यस्तै लागेको छ कि? गम्भीर रोग, ढल्कँदो उमेर वा अन्य कारणले गर्दा तपाईंले पहिले जति सेवकाईमा समय बिताउन नसक्नुभएको होला। हो, हामी मसीहीहरूलाई परमेश्‍वरको सेवामा समयको सदुपयोग गर्न प्रोत्साहन दिइएको छ। (एफिसी ५:१५, १६) तर केही खास कारणहरूले गर्दा तपाईंले सेवकाईमा पहिले जति गर्न सक्नुभएको भएको छैन र त्यसैकारण निरुत्साहित हुनुभएको छ भने के गर्ने?

११. गलाती ६:४ मा लेखिएका पावलका शब्दहरूले हामीलाई कसरी फाइदा पुऱ्‍याउन सक्छ?

११ बाइबल हामीलाई अल्छे हुन होइन, “तर विश्‍वास र धीरजद्वारा प्रतिज्ञाका हकदार हुनेहरूका देखासिकि गर्ने” हुन प्रोत्साहन दिन्छ। (हिब्रू ६:१२) तिनीहरूको राम्रो उदाहरणलाई विचार गरेर विश्‍वास अनुकरण गर्ने कोसिस गऱ्‍यौं भने मात्र त्यसो गर्न सक्नेछौं। तर अनावश्‍यक तरिकामा अरूसित आफ्नो तुलना गर्न थाल्यौं र आफूले गरेको कुनै पनि कुरा चित्तबुझ्दो छैन भन्ठान्यौं भने हामीलाई फाइदा हुँदैन। त्यसैले पावलको यो सल्लाह पालन गर्नु बेस हुन्छ: “हरेक मानिसले आफ्नो काम जाँचेर ठहराओस्‌। तब आफ्ना छिमेकीको विषयमा ता होइन, तर आफ्नै विषयमा मात्र अहंकार गर्ने कारण हुनेछ।”—गलाती ६:४.

१२. यहोवा परमेश्‍वरको सेवा गर्दा हामी किन रमाउन सक्छौं?

१२ गम्भीर स्वास्थ्य समस्याले गर्दा सेवकाईमा पहिले जतिकै गर्न नसके तापनि हामीहरू रमाउन सक्ने कारण छ। बाइबल हामीलाई यस्तो आश्‍वासन दिन्छ: “तिमीहरूको काम र त्यो प्रेम, जो उहाँको नाउँतर्फ . . . तिमीहरूले देखाएका छौ, सो बिर्सनलाई परमेश्‍वर अधर्मी हुनुहुन्‍न।” (हिब्रू ६:१०) आफ्नो वशमा नभएको परिस्थितिले गर्दा यहोवाको सेवा पहिले जतिकै गर्न सक्नुभएको छैन होला। तर तपाईं टेलिफोन साक्षी र चिठी लेखेर साक्षी दिने जस्ता मसीही सेवकाईका अन्य पक्षमा यहोवाको मदत पाएर सक्रिय हुन सक्नुहुन्छ। तनमनले गर्नुभएको सेवा अनि यहोवा र सह-मानवलाई देखाउनुभएको प्रेमको लागि यहोवाले तपाईंलाई आशिष्‌ दिनुहुनेछ भनेर ढुक्क हुनुहोस्‌।—मत्ती २२:३६-४०.

‘डरलाग्दो समयले’ हामीलाई थकित तुल्याउन सक्छ

१३, १४. (क) कुन-कुन तरिकामा हामीलाई यो ‘डरलाग्दो समयले’ दुःखित तुल्याउन सक्छ? (ख) मानिसहरूमा स्वाभाविक प्रेम नै छैन भनेर कसरी प्रमाणित भएको छ?

१३ हाम्रो आशा परमेश्‍वरले ल्याउनुहुने धार्मिक नयाँ संसारमा पाइने जीवन हो। तर अहिले भने हामी ‘आखिरी दिनको डरलाग्दो समयमा’ बाँचिरहेका छौं। (२ तिमोथी ३:१) हाम्रो छुटकारा नजिकै भएकोले निरुत्साहित तुल्याउने यस्ता घटनाहरू भइरहेका हुन्‌ भनी हामीलाई थाह छ। त्यसैले हामी ढुक्क छौं। तैपनि भइरहेका घटनाहरूले हामीलाई असर गर्छ। जस्तै: बेरोजगार हुनुहुन्छ भने तपाईंलाई कस्तो लाग्छ? काम खोज्दा-खोज्दै महिनौं बितिसक्दा कतै यहोवाले मर्का बुझ्नुभएन कि अथवा प्रार्थना पो सुन्‍नुभएन कि भन्‍ने शंका तपाईंलाई लाग्न सक्छ। अथवा तपाईं भेदभावको सिकार हुनुभएको होला वा अन्य कुनै किसिमको अन्यायमा पर्नुभएको होला। सरसरती खबरपत्रिका हेर्दा मात्र पनि तपाईंलाई धार्मिक लूतलाई जस्तै लाग्न सक्छ। वरपरको कामुक जीवन बिताउने मानिसहरू देखेर लूत “अति दुःखित भएका” थिए।—२ पत्रुस २:७.

१४ आखिरी दिनको एउटा अर्को पक्षलाई हामी बेवास्ता गर्नै सक्दैनौं। थुप्रै मानिस “स्वाभाविक प्रेम रहितका” हुनेछन्‌ भनेर बाइबलले भविष्यवाणी गरेको थियो। (२ तिमोथी ३:३) परिवारका सदस्यहरूबीच हुने स्नेह थुप्रै घरपरिवारमा छँदैछैन भने पनि हुन्छ। हो, वास्तवमा “प्राप्त प्रमाणहरूअनुसार बाहिरको मानिसले नभई परिवारभित्रकै सदस्यले अर्को सदस्यलाई मार्ने, कुटपिट गर्ने, अथवा भावनात्मक वा यौन दुर्व्यवहार गर्ने सम्भावना धेरै भएको” जानकारी घरेलु हिंसासम्बन्धी एउटा पुस्तकले (फ्यामिली भायोलेन्स) दिएको छ। “माया पाउनुपर्ने र सुरक्षित महसुस गर्नुपर्ने ठाउँ नै केही वयस्क अनि बच्चाहरूको लागि सबैभन्दा खतरनाक ठाउँ भएको छ।” घरभित्रै यस्तो डरलाग्दो अवस्थामा हुर्केकाहरू पछि अचानक आकुलव्याकुल अनि विचलित हुन सक्छन्‌। तपाईं पनि त्यस्तै परिस्थितिको सिकार हुनुभएको छ भने के गर्ने?

१५. यहोवाले दिने माया मानिसहरूले दिने मायाभन्दा कसरी सर्वोत्कृष्ट छ?

१५ भजनरचयिता दाऊदले यसरी गाए: “मेरा बाबु र मेरी आमाले मलाई त्यागेका छन्‌, तर परमप्रभुले मलाई सम्हाल्नुहुनेछ।” (भजन २७:१०) कुनै पनि आमाबाबुले भन्दा यहोवाले हामीलाई धेरै माया गर्नुहुन्छ भनेर थाह पाउनु कत्ति सान्त्वनादायी! आमाबाबुले तिरस्कार वा दुर्व्यवहार गर्दा अथवा त्याग्दा असह्‍य पीडा हुन सक्छ तर यहोवाले तपाईंलाई दिने माया रतीभर कम हुने छैन। (रोमी ८:३८, ३९) नबिर्सनुहोस्‌, यहोवा जसलाई माया गर्नुहुन्छ, त्यसलाई आफूनजिक खिच्नुहुन्छ। (यूहन्‍ना ३:१६; ६:४४) मानिसहरूले तपाईंलाई माया गरेको होस्‌ वा नहोस्‌, स्वर्गमा हुनुहुने पिता तपाईंलाई सधैं माया गर्नुहुन्छ!

निराशाको बादल हटाउने व्यावहारिक तरिकाहरू

१६, १७. निराशाको बादलले घेर्दा आफ्नो आध्यात्मिक बललाई जोगाउन के गर्न सकिन्छ?

१६ निराशाको बादल हटाउन तपाईं व्यावहारिक कदम चाल्न सक्नुहुन्छ। उदाहरणको लागि, प्रोत्साहित हुने गरी मसीही गतिविधिमा पूर्णतया भाग लिनुहोस्‌। विशेष गरी निराशाले गर्दा उकुसमुकुस भयो भने परमेश्‍वरको वचनमा मनन गर्नुहोस्‌। भजनरचयिताले यसरी गाए: “जब मैले भनें, ‘मेरो खुट्टा चिप्लन्छ’ तपाईंको कृपाले मलाई थाम्यो, हे, परमप्रभु। मेरो मनमा ज्यादा फिक्री हुँदा तपाईंका सान्त्वनाहरूले मलाई आनन्दित तुल्याउँछन्‌।” (भजन ९४:१८, १९) नियमित रूपले बाइबल पढ्‌दा तपाईं आफ्नो मन सान्त्वनादायी शब्द अनि विचारहरूले भर्न सक्नुहुन्छ।

१७ प्रार्थना गर्नु पनि उत्तिकै महत्त्वपूर्ण छ। मनभित्रका भावनालाई शब्दमा व्यक्‍त गर्न सक्नुभएन भने पनि तपाईंले भन्‍न खोज्नुभएको कुरा यहोवाले बुझ्नुहुन्छ। (रोमी ८:२६, २७) भजनरचयिता हामीलाई यस्तो आश्‍वासन दिन्छन्‌: “तेरो भारी परमप्रभुमा राख्‌, र उहाँले तँलाई सम्हाल्नुहुनेछ, र उहाँले धर्मात्मालाई कहिल्यै डग्नदिनुहुनेछैन।”—भजन ५५:२२.

१८. निराश व्यक्‍तिले कस्ता व्यावहारिक कदमहरू चाल्न सक्छन्‌?

१८ क्लिनिकल डिप्रेसनले गर्दा पनि कोही-कोही हतास हुन्छन्‌। b तपाईंलाई पनि त्यस्तै भएको हो भने परमेश्‍वरले ल्याउनुहुने नयाँ संसारबारे विचार गर्नुहोस्‌: “त्यहाँका बासिन्दाहरूले यसो भन्‍नेछैनन्‌, ‘म बिरामी परें।’ ” (यशैया ३३:२४) तर तपाईंलाई एक-दुई पटक मात्र दिक्क लाग्ने नभई बारम्बार निराशाले छोप्छ भने डाक्टरलाई भेट्‌नु बुद्धिमानी हुनेछ। (मत्ती ९:१२) आफ्नो स्वास्थ्यको ख्याल राख्नु पनि उत्तिकै महत्त्वपूर्ण छ। पोषिलो खाना खानु र हल्का व्यायाम गर्नु बेस हुन सक्छ। पर्याप्त मात्रामा आराम गर्नुहोस्‌। राती अबेरसम्म टिभी नहेर्नुहोस्‌। यसबाहेक, शारीरिक र भावनात्मक तवरमा थाक्ने गरी रमाइलो नगर्नुहोस्‌। बरु, सबैभन्दा महत्त्वपूर्ण त परमेश्‍वरलाई मन पर्ने काममा लागिरहनुहोस्‌। हुन त, यहोवा परमेश्‍वरले “सबै आँसु पुछिदिनुहुने” समय आइसकेको छैन तैपनि उहाँले तपाईंलाई सहने बल भने पक्कै दिनुहुनेछ।—प्रकाश २१:४; १ कोरिन्थी १०:१३.

“परमेश्‍वरका बलवान बाहुलीमनि” जीवन बिताउने

१९. दुःखितहरूलाई यहोवाले के दिने प्रतिज्ञा गर्नुभएको छ?

१९ धर्मात्मालाई धेरै दुःख भए तापनि “परमप्रभुले तिनलाई ती सबैबाट छुटाउनुहुन्छ” भनेर बाइबल हामीलाई आश्‍वासन दिन्छ। (भजन ३४:१९) परमेश्‍वरले कसरी छुटाउनुहुन्छ? “शरीरमा एक किसिमको छेस्को” हटोस्‌ भनेर प्रेरित पावलले बारम्बार प्रार्थना गर्दा यहोवाले तिनलाई यसो भन्‍नुभयो: “मेरो शक्‍ति दुर्बलतामा सिद्ध हुन्छ।” (२ कोरिन्थी १२:७-९) यहोवा परमेश्‍वरले पावललाई के दिने प्रतिज्ञा गर्नुभयो र तपाईंलाई पनि के दिने प्रतिज्ञा गर्नुभएको छ? अहिले तुरुन्तै समस्याको समाधान गरिदिने प्रतिज्ञा त होइन तर सहन सक्ने बल दिने प्रतिज्ञा!

२०. दुःखकष्ट भोगिरहेको भए तापनि १ पत्रुस ५:६, ७ मा हामीलाई कस्तो आश्‍वासन दिइएको छ?

२० “परमेश्‍वरका बलवान बाहुलीमनि तिमीहरूले आफैलाई नम्र तुल्याओ, र उहाँले समयमा तिमीहरूलाई उच्च पार्नुहुनेछ। तिमीहरूका सारा फिक्री उहाँमाथि राखिदेओ, किनकि उहाँले तिमीहरूको फिक्री गर्नुहुन्छ” भनेर प्रेरित पावलले लेखे। (१ पत्रुस ५:६, ७) यहोवा तपाईंको फिक्री गर्नुहुन्छ, त्यसैकारण उहाँले तपाईंलाई त्याग्नुहुनेछैन। तपाईंले दुःखकष्ट भोगिरहनुभए तापनि उहाँले तपाईंलाई सम्हाल्नुहुनेछ। विश्‍वासी मसीहीहरू “परमेश्‍वरका बलवान बाहुलीमनि” छन्‌ भनेर नबिर्सनुहोस्‌। यहोवाको सेवा गर्दा उहाँले हामीलाई सहने बल दिनुहुन्छ। उहाँप्रति वफादार भइरह्‍यौं भने कुनै पनि कुराले हाम्रो आध्यात्मिकतालाई हानि पुऱ्‍याउन सक्ने छैन। त्यसैकारण, यहोवाप्रतिको आफ्नो निष्ठा कायम राखिरहन सकौं र उहाँले प्रतिज्ञा गर्नुभएको नयाँ संसारमा अनन्त जीवन पाउन अनि उहाँले दुःखितहरूलाई सदाको लागि छुटाउनुहुने समय देख्न पाऔं! (w 06 7/15)

[फुटनोटहरू]

a केही नाउँहरू परिवर्तन गरिएका छन्‌।

b क्लिनिकल डिप्रेसन भनेको निरुत्साहित हुनु मात्र होइन तर डाक्टरको मदत लिनुपर्ने मानसिक समस्या हो। यस्ता व्यक्‍तिहरू जत्तिखेर पनि अत्यन्तै निराश भइरहन्छन्‌। थप जानकारीको लागि वाचटावर, अक्टोबर १५, १९८८, पृष्ठ २५-२९; नोभेम्बर १५, १९८८, पृष्ठ २१-२४ अनि प्रहरीधरहरा सेप्टेम्बर १, १९९६, पृष्ठ ३०-३१ हेर्नुहोस्‌।

के तपाईंलाई याद छ?

• किन यहोवाका सेवकहरूसमेत दुःखित हुन्छन्‌?

• यहोवाका जनहरूमध्ये कोही-कोही के-कस्ता कुराले गर्दा हरेश खान सक्छन्‌?

• हाम्रा फिक्रीहरूसित लड्‌न यहोवाले हामीलाई कसरी मदत गर्नुहुन्छ?

• हामी कसरी “परमेश्‍वरका बलवान बाहुलीमनि” छौं?

[प्रश्‍नहरू]

[पृष्ठ १७-मा भएका चित्रहरू]

दुःखकष्ट भए तापनि यहोवाका साक्षीहरूसित रमाउन सक्ने कारण छ

[पृष्ठ २०-मा भएको चित्र]

तनमनले यहोवाको सेवा गर्ने एउटा तरिका टेलिफोनबाट साक्षी दिनु हो