सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बुद्धिमान्‌ हुनुहोस्‌ र परमेश्‍वरसँग डराउनुहोस्‌!

बुद्धिमान्‌ हुनुहोस्‌ र परमेश्‍वरसँग डराउनुहोस्‌!

बुद्धिमान्‌ हुनुहोस्‌ र परमेश्‍वरसँग डराउनुहोस्‌!

“परमप्रभुको डर मान्‍नु बुद्धिको प्रथम खुड्‌किलो हो।”—हितोपदेश ९:१०.

१. किन थुप्रैले परमेश्‍वरको डरलाई बुझेर बुझ्नै नसकिने कुरा भन्ठान्छन्‌?

 यस्तो समय पनि थियो जुन बेला कसैलाई परमेश्‍वरसँग डराउने व्यक्‍ति भनिदिंदा उनको प्रशंसा गरिएको ठानिन्थ्यो। तर आज थुप्रैले परमेश्‍वरको डर मान्‍नु भनेको बुझेर बुझ्नै नसकिने उहिलेको कुरा भन्ठान्छन्‌। तिनीहरू सायद यस्तो तर्क गर्छन्‌: ‘यदि परमेश्‍वर प्रेम हुनुहुन्छ भने म उहाँसँग किन डराउने?’ तिनीहरूको सोचाइमा डर भनेको मनमा पैदा हुने खराब भावना हो जसले मानिसलाई केही पनि गर्न नसक्ने गरी शारीरिक र मानसिक तवरमा कमजोर समेत बनाइदिन्छ। तर परमेश्‍वरको डर मान्‍नुको अर्थ विस्तृत छ। अनि यो डर मानिसको मनमा उब्जने भावना मात्र होइन भनेर अब हामी बुझ्दै जानेछौं।

२, ३. परमेश्‍वरको डर मान्‍नुमा के-के समावेश छन्‌?

परमेश्‍वरको डर मान्‍नुलाई राम्रो गुण भनेर बाइबलमा बताइएको छ। (यशैया ११:३) परमेश्‍वरको डर मान्‍नु भनेको उहाँप्रति अपार श्रद्धा देखाउनु, उहाँको गहिरो आदर गर्नु र उहाँलाई दुःखी नबनाउने दृढ इच्छा राख्नु हो। (भजन ११५:११) यस डरमा परमेश्‍वरका नैतिक स्तरहरू स्वीकार्नु, ती स्तर पालन गर्नु र परमेश्‍वरले देखाएको बाटोमा हिंड्‌नु पनि समावेश छ। एउटा किताबले बताएअनुसार यस्तो स्वस्थकर डर भनेको “मानिसले परमेश्‍वरप्रति राख्नै पर्ने भय हो जसले आचरण सुधार्न र हरेक प्रकारको खराबी त्याग्न मदत दिन्छ।” त्यसैले त परमेश्‍वरको वचन बाइबल यसो भन्छ: “परमप्रभुको डर मान्‍नु बुद्धिको प्रथम खुड्‌किलो हो।”—हितोपदेश ९:१०.

वास्तवमा, परमेश्‍वरको डर मान्‍नुमा मानव क्रियाकलापका थुप्रै पक्ष मुछिएको हुन्छ। यो डर बुद्धिसित मात्र होइन तर हर्ष, शान्ति, समृद्धि, दीर्घायु, आशा, भरोसा र विश्‍वाससित पनि सम्बन्धित छ। (भजन २:११; हितोपदेश १:७; १०:२७; १४:२६; २२:४; २३:१७, १८; प्रेरित ९:३१) विशेष गरी विश्‍वास र प्रेमसित यसको गहिरो सम्बन्ध छ। साँचो अर्थमा भन्‍ने हो भने, यस डरभित्र परमेश्‍वर र सँगी मानवहरूसितको हाम्रो सम्पूर्ण सम्बन्ध मुछिएको छ। (व्यवस्था १०:१२; अय्यूब ६:१४; हिब्रू ११:७) त्यसबाहेक, स्वर्गमा बस्नुहुने पिता यहोवाले हाम्रो चिन्ता गर्नुहुन्छ र उहाँ हाम्रो अपराध क्षमा गर्न राजी हुनुहुन्छ भनेर बलियो विश्‍वास राख्नु पनि यस डरमा समावेश छ। (भजन १३०:४) अपश्‍चातापी दुष्ट व्यक्‍तिहरू मात्र परमेश्‍वरको डरले तर्सिन्छन्‌। aहिब्रू १०:२६-३१.

यहोवाको डर मान्‍न सिक्नुहोस्‌

४. “यहोवाको डर मान्‍न सिक्न” केले हामीलाई मदत दिन्छ?

बुद्धिमानी निर्णयहरू गर्न र परमेश्‍वरको आशिष्‌ पाउन उहाँको डर मान्‍नु अत्यावश्‍यक भएकोले हामी कसरी ठीकसित “परमेश्‍वरको डर मान्‍न” सिक्न सक्छौं? (व्यवस्था १७:१९) परमेश्‍वरको डर मान्‍ने थुप्रै पुरुष र स्त्रीहरूका उदाहरण बाइबलमा दिइएका छन्‌। यी हाम्रै “शिक्षाको निम्ति” हुन्‌। (रोमी १५:४) आउनुहोस्‌, तीमध्ये पुरातन इस्राएलका राजा दाऊदको उदाहरण हेरौं र परमेश्‍वरको डर मान्‍नु भनेको वास्तवमा के हो, सो बुझौं।

५. भेडा चराउँदा दाऊदले कसरी यहोवाको डर मान्‍न मदत पाए?

इस्राएलका प्रथम राजा शाऊलले यहोवाको डर नमानी मानिसहरूको डर मानेको हुनाले परमेश्‍वरले तिनलाई त्याग्नुभयो। (१ शमूएल १५:२४-२६) अर्कोतिर, दाऊदको जीवनशैली र यहोवासित उनले राखेको घनिष्ठ सम्बन्धले गर्दा उनी साँच्चै परमेश्‍वरको डर मान्‍ने व्यक्‍ति भनेर चिनिए। दाऊद सानैदेखि आफ्ना बुबाको भेडा चराउँथे र प्रायः घरदेखि बाहिरै रहन्थे। (१ शमूएल १६:११) ताराहरूले भरिएको खुल्ला आकाशमुनि भेडा चराउँदै उनले कैयौं रातहरू काटे। पक्कै पनि त्यसैबाट उनले यहोवाको डर बुझ्न मदत पाएको हुनुपर्छ। त्यसरी दाऊदले विशाल ब्रह्‍माण्डको एउटा सानो अंशबारे मात्र बुझ्न सकेको भए तापनि परमेश्‍वर हाम्रो आदर र श्रद्धा पाउन योग्यको हुनुहुन्छ भन्‍ने सही निष्कर्षमा उनी पुगे। पछि उनले यस्तो लेखे: “जब म तपाईंका औंलाहरूको काम आकाश, र तपाईं[ले] नियुक्‍त गर्नुभएका जून र ताराहरूलाई विचार गर्दछु, मानिस के हो र, तपाईं त्यसको सम्झना गर्नुहुन्छ? र मानिसको सन्तान, जसको तपाईं चासो लिनुहुन्छ?”—भजन ८:३, ४.

६. यहोवाको महानता बुझेपछि दाऊदलाई कस्तो महसुस भयो?

हो, विशाल आकाशसित आफूलाई तुलना गर्दा आफू त कत्ति तुच्छ रहेछु भनी थाह पाएर दाऊद परमेश्‍वरबाट प्रभावित भए। यो कुरा थाह पाउँदा उनी डरले तर्सिएनन्‌, बरु उहाँको प्रशंसा गाउन उत्प्रेरित भए: “आकाशले परमेश्‍वरको महिमाको वर्णन गर्छ। र आकाश-मण्डलले उहाँको हातको सीप प्रकट गर्छ।” (भजन १९:१) दाऊदको हृदयमा यहोवाप्रति यस्तो श्रद्धा जागेपछि उनी परमेश्‍वरसित झन्‌ नजिक भए अनि उहाँका सिद्ध तरिकाहरू सिक्न र सो पालन गर्न उत्प्रेरित भए। दाऊदले यहोवाका निम्ति यो भजन कस्तो भावनाकासाथ गाए होलान्‌, कल्पना गर्नुहोस्‌ त: “तपाईं महान्‌ हुनुहुन्छ, र आश्‍चर्यकामहरू गर्नुहुन्छ। तपाईं मात्र परमेश्‍वर हुनुहुन्छ। हे परमप्रभु, मलाई तपाईंको मार्ग सिकाउनुहोस्‌, म तपाईंको सत्यतामा हिंड़्‌नेछु। तपाईंको नाउँको डर राख्न मेरो मन एक चित्तको पार्नुहोस्‌।”—भजन ८६:१०, ११.

७. दाऊदले परमेश्‍वरको डर मान्दा कसरी गोल्यतसित लड्‌न मदत पाए?

पलिश्‍तीहरूले इस्राएलमाथि आक्रमण गर्दा साढे नौ फुट अग्लो योद्धा गोल्यतले यसो भन्दै इस्राएलीहरूको खिल्ली उडायो: ‘तिमीहरूको मान्छे चुनेर मसँग लड्‌न पठाओ! त्यसले मलाई जितेछ भने, हामी तिमीहरूको सेवा गर्नेछौं।’ (१ शमूएल १७:४-१०) शाऊल र तिनका सम्पूर्ण सेना डरले थरथर भए तर दाऊद डराएनन्‌। उनलाई थाह थियो—यहोवासँग मात्र डराउनुपर्छ मानिससित होइन चाहे ऊ जतिसुकै शक्‍तिशाली किन नहोस्‌। दाऊदले गोल्यतलाई भने: ‘म तँसँग लडन सेनाहरूका यहोवाको नाउँमा आएको छु। यहाँ भेला भएका सबैले जान्‍नेछन्‌ कि यहोवाले तरवार, भालाद्वारा बचाउनुहुन्‍न। किनभने लडाइँ यहोवाकै हो।’ दाऊदले घुँयेत्रो र एउटा ढुंगा अनि यहोवाको मदत लिएर त्यो बडेमाको गोल्यतलाई ढाले।—१ शमूएल १७:४५-४७.

८. परमेश्‍वरको डर मान्‍नेहरू भनी बाइबलमा नाउँ कमाएका व्यक्‍तिहरूबाट कस्तो पाठ सिक्छौं?

दाऊदलाई जस्तै हामीलाई पनि ठूलठूलो विघ्नबाधा वा शत्रुहरूको समस्या आइपर्न सक्छ। यस्तो बेला हामी के गर्न सक्छौं? दाऊद र अन्य विश्‍वासी जनहरूले जस्तै हामी पनि परमेश्‍वरको डर मानेर ती शत्रुहरूको सामना गर्न सक्छौं। परमेश्‍वरको डर मान्दा मान्छेको डर हट्‌छ। परमेश्‍वरका विश्‍वासी सेवक नहेम्याहले विरोधीहरूको चेपुवामा परेका सँगी इस्राएलीहरूलाई यस्तो आग्रह गरे: “तिनीहरूसँग नडराऊ। महान्‌ र भययोग्य परमप्रभुको सम्झना गर।” (नहेम्याह ४:१४) यहोवाको मदत पाएर दाऊद, नहेम्याह र अरू विश्‍वासी सेवकहरू उहाँले दिनुभएको जिम्मेवारी पूरा गर्न सफल भए। परमेश्‍वरको डर मानेर हामी पनि आफूलाई दिइएका जिम्मेवारीहरू पूरा गर्न सक्छौं।

परमेश्‍वरको डर मान्दै समस्याहरूको सामना गर्नुहोस्‌

९. दाऊदले कस्ता परिस्थितिमा परमेश्‍वरको डर मानेको देखाए?

दाऊदले गोल्यतलाई मारेपछि यहोवाले उनलाई अरू युद्धहरूमा पनि विजय गराउनुभयो। तर ईर्ष्यालु शाऊलले पहिला आवेशमा आएर, त्यसपछि छलकपट गरेर अनि अन्तमा सेनाको आड लिएर दाऊदलाई मार्ने प्रयास गरे। यहोवाले दाऊदलाई राजा बनाउने आश्‍वासन दिनुभएको थियो। तैपनि, उहाँले आफूलाई राजा बनाउने समय नआउन्जेल दाऊद वर्षौसम्म भाग्दै हिंड्‌नुपऱ्‍यो, युद्ध गर्नुपऱ्‍यो र पर्खनुपऱ्‍यो। जीवनका यी भोगाइहरूमा दाऊदले साँचो परमेश्‍वरको डर मान्थे भनी देखाए।—१ शमूएल १८:९, ११, १७; २४:२.

१०. खतरनाक परिस्थितिमा दाऊदले कसरी परमेश्‍वरको डर मानेको देखाए?

१० एकपटक, दाऊद पलिश्‍तीहरूको शहर गातका राजा आकीशकहाँ शरण लिन पुगे। दाऊदले मारेको गोल्यत यही गातका थिए। (१ शमूएल २१:१०-१५) राजा आकीशका सेवकहरूले दाऊद तिनीहरूका देशको शत्रु हो भनेर पोल खोलिदिए। त्यस्तो खतरनाक परिस्थितिमा दाऊदले के गरे? सारा दुःख पोखाउँदै उनले यहोवालाई प्रार्थना गरे। (भजन ५६:१-४, ११-१३) उनले ज्यान बचाउन बौलाएको बहाना गर्नुपऱ्‍यो। तैपनि आफ्नो त्यस प्रयासमा आशिष्‌ दिनुभएर त्यो खतरनाक परिस्थितिबाट बचाउनुहुने त यहोवा नै हुनुहुन्थ्यो भनेर उनलाई थाह भयो। दाऊदले यहोवालाई सारा मनले भरोसा र विश्‍वास गरे। यसबाट स्पष्ट हुन्छ, साँच्चै उनी परमेश्‍वरको डर मान्थे।—भजन ३४:४-६, ९-११.

११. हामी पनि परीक्षामा पर्दा दाऊदले जस्तै कसरी परमेश्‍वरको डर मानेको देखाउन सक्छौं?

११ हामी पनि दाऊदले जस्तै परमेश्‍वरको डर मानेको देखाउन सक्छौ। कसरी? हाम्रा समस्याहरूको सामना गर्न मदत दिन्छु भनी परमेश्‍वरले गर्नुभएको प्रतिज्ञामा भर परेर। दाऊदले भने: “आफ्नो मार्ग परमप्रभुलाई सुम्पी। उहाँमानै भरोसा राख्‌, अनि उहाँले सो पुऱ्‍याइदिनुहुनेछ।” (भजन ३७:५) यसको अर्थ, आफ्ना समस्याहरू सामना गर्न कुनै प्रयासै नगरी ती समस्याहरू यहोवाका हातमा थपक्क थमाइदिएर आफू चाहिं हात बाँधेर बस्नु भनेको होइन। दाऊदले परमेश्‍वरबाट मदत पाऊँ अनि त्यसपछि चुपो लागेर बसूँ भन्‍ने उद्देश्‍यले प्रार्थना गरेनन्‌। उनले परमेश्‍वरबाट पाएको बल-बुद्धि लगाएर समस्याको सामना गरे। तर, मानव प्रयासले मात्र केही गर्न सकिंदैन भनेर दाऊदलाई थाह थियो। हामीले पनि यही कुरा मनमा राख्नुपर्छ। आफ्नो क्षमताले भ्याएजति सबै गरिसकेपछि नसकेको कुरा चाहिं यहोवाको हातमा छोडिदिनुपर्छ। प्रायजसो अवस्थामा यहोवामा भर पर्नुबाहेक हामीले गर्न सक्ने केही हुँदैन। यस्तै बेला त हो हामीले परमेश्‍वरको डर मानेको देखाउने। दाऊदको यस हृदयस्पर्शी अभिव्यक्‍तिमा हामी सान्त्वना पाउन सक्छौं: “उहाँसँग डराउनेहरूसँगनै परमप्रभुको घनिष्ठता रहन्छ।”—भजन २५:१४.

१२. हामीले प्रार्थनालाई किन गम्भीरतापूर्वक लिनुपर्छ र कस्तो मनोवृत्ति कहिल्यै राख्नु हुँदैन?

१२ त्यसैले, हामीले प्रार्थना र परमेश्‍वरसितको हाम्रो सम्बन्धलाई गम्भीरतापूर्वक लिनुपर्छ। यहोवालाई बिन्ती बिसाउँदा ‘उहाँको अस्तित्व छ र उहाँको खोजी गर्नेहरूलाई उहाँले प्रतिफल दिनुहुन्छ’ भनी हामीले विश्‍वास गर्नैपर्छ। (हिब्रू ११:६; याकूब १:५-८) अनि परमेश्‍वरबाट मदत पाइसकेपछि प्रेरित पावलले सल्लाह दिएअनुसार हामी उहाँलाई ‘धन्यवाद चढाउन’ नबिर्सौं। (कलस्सी ३:१५, १७) हामी ती व्यक्‍तिहरू जस्तो हुनु हुँदैन जसबारे एक जना अनुभवी अभिषिक्‍त मसीही यसरी बताउँछन्‌: “तिनीहरू परमेश्‍वरलाई आफ्नो नोकर जस्तै ठान्छन्‌। आफूलाई केही कुरा चाहियो भने चुट्‌की बजाएको भरमा चाहिएको कुरा तुरुन्तै पुऱ्‍याइदिइहालोस्‌ भने जस्तो गर्छन्‌। चाहिएको कुरा पाएपछि उहाँलाई केही कामको ठान्दैनन्‌।” यस्तो मनोवृत्तिमा के देखिन्छ? परमेश्‍वरको डर छैन भन्‍ने देखिन्छ।

परमेश्‍वरको डर नमान्दा

१३. परमेश्‍वरको व्यवस्थाप्रति आदर देखाउन दाऊद कतिखेर चुके?

१३ दुःखको घडीमा यहोवाबाट मदत पाएपछि दाऊदको हृदयमा परमेश्‍वरको डर झन्‌ गहिरियो र उहाँप्रतिको विश्‍वास पनि बलियो भयो। (भजन ३१:२२-२४) तथापि, तीन उल्लेखनीय घटनाहरूमा दाऊदले परमेश्‍वरको डर गुमाए जसले गर्दा उनले गम्भीर परिणाम भोग्नुपऱ्‍यो। पहिलो घटना, यहोवाको सन्दूक यरूशलेममा लैजाँदा उनले गाडामा राखे। परमेश्‍वरको व्यवस्थाअनुसार त्यो सन्दूक लेवीहरूको काँधमा बोकाएर लैजानुपर्थ्यो। गाडालाई हाँक्दै अगिअगि हिंडिरहेको उज्जाले हात बढाएर सन्दूक थाम्यो र उसको त्यो ‘लापरवाहीले’ गर्दा ऊ त्यतिनै खेर मर्नुपऱ्‍यो। हुन त उज्जाले त्यो गम्भीर पाप गरेको थियो। तर, वास्तवमा दाऊदले परमेश्‍वरको व्यवस्थाप्रति उचित आदर देखाउन चुकेकोले गर्दा त्यो दुःखलाग्दो नतिजा आइपरेको थियो। यस घटनाले देखाउँछ, परमेश्‍वरको डर मान्‍नु भनेको उहाँको प्रबन्धअनुसार काम गर्नु हो।—२ शमूएल ६:२-९; गन्ती ४:१५; ७:९.

१४. दाऊदले इस्राएलीहरूको गणना लिंदा परिणाम कस्तो भयो?

१४ दोस्रो घटना, शैतानको लहैलहैमा लागेर दाऊद इस्राएलमा भएका युद्ध गर्न सक्ने पुरुषहरू गन्‍न सुरिए। (१ इतिहास २१:१) यो काम गरेर उनले परमेश्‍वरको डर नमानेको देखाए। नतिजा? सत्तरी हजार इस्राएलीहरू मरे। दाऊदले पश्‍चात्ताप गरे तापनि उनी र उनका मानिसहरूले असाध्यै दुःख भोग्नुपऱ्‍यो।—२ शमूएल २४:१-१६.

१५. दाऊद कसरी अनैतिकतामा फसे?

१५ तेस्रो घटना, एकैछिन परमेश्‍वरको डर मान्‍न चुक्दा दाऊद उरियाहकी पत्नी बेतशेबासित अनैतिक सम्बन्ध राख्न पुगे। व्यभिचार गर्नु वा अर्काकी स्वास्नीलाई आँखा गाड्‌नु गलत हो भनेर दाऊदलाई थाह थियो। (प्रस्थान २०:१४, १७) उनले नुहाइरहेकी बेतशेबालाई हेर्दा समस्या सुरु भयो। परमेश्‍वरको स्वस्थकर डर मानेर उनले आँखा तुरुन्तै अर्कैतिर मोडी मनमा अरू नै कुरा खेलाउनुपर्थ्यो। तर दाऊदले त्यसो गरेनन्‌। उनले ‘बेतशेबालाई’ हेरिरहे र अन्ततः कामवासनाले परमेश्‍वरको डरलाई जित्यो। (मत्ती ५:२८; २ शमूएल ११:१-४) आफ्नो जीवनको हरेक पक्षमा यहोवा मुछिनुभएको छ भन्‍ने कुरा दाऊदले बिर्से।—भजन १३९:१-७.

१६. गलत काम गर्दा दाऊदले कस्ता नतिजाहरू भोगे?

१६ दाऊद र बेतशेबाको अनैतिक सम्बन्धबाट छोरो जन्मियो। त्यसपछि तुरुन्तै, यहोवाले अगमवक्‍ता नातानमार्फत्‌ दाऊदको पाप प्रकट गरिदिनुभयो। दाऊदको होस खुल्यो र उनले फेरि परमेश्‍वरको डर माने अनि पश्‍चात्ताप गरे। मलाई नत्याग्नुहोस्‌ र पवित्र आत्मा नहटाउनुहोस्‌ भनेर उनले यहोवालाई बिन्ती गरे। (भजन ५१:७, ११) यहोवाले दाऊदलाई क्षमा गर्नुभयो र उनको दण्ड कम गरिदनुभयो। तर उनलाई आफूले गरेको कुकर्मको फल भने भोग्न दिनुभयो। दाऊदको छोरो मऱ्‍यो। उनको परिवारलाई दुःख-कष्टले घेर्न थाल्यो। हेर्नुहोस्‌ त, परमेश्‍वरको डर नमान्दा कति ठूलो मूल्य चुकाउनुपर्दो रहेछ!—२ शमूएल १२:१०-१४; १३:१०-१४; १५:१४.

१७. पापपूर्ण कामको कारण हुने मानसिक पीडाको उदाहरण बताउनुहोस्‌।

१७ आज पनि, नैतिकताबारे परमेश्‍वरको डर नमान्दा दाऊदले जस्तै गम्भीर र पछिसम्म सताइरहने नतिजा भोग्नुपर्ने हुन सक्छ। एउटी जवान महिलालाई परेको मानसिक पीडालाई विचार गर्नुहोस्‌। तिनका मसीही पति विदेशमा काम गर्दै गर्दा अनैतिकतामा फसेको कुरा तिनले थाह पाइन्‌। तिनलाई कस्तो भयो होला! तिनी अक्क न बक्क भइन्‌ र तिनको साह्रै चित्त दुख्यो। दुवै हातले मुख छोपेर रुनसम्म रोइन्‌। अब तिनको हृदयमा पतिप्रति भरोसा जाग्न र ती पतिले पत्नीबाट आदर कमाउन कति समय लाग्छ होला? परमेश्‍वरको डर मान्दा यस्ता दुःखदायी अवस्थाबाट बच्न सकिन्छ।—१ कोरिन्थी ६:१८.

परमेश्‍वरको डरले हामीलाई पाप गर्नबाट जोगाउँछ

१८. शैतानको उद्देश्‍य के हो र त्यो उद्देश्‍य पूरा गर्न त्यसले कुन तरिका अपनाउँछ?

१८ शैतानले संसारको नैतिक मूल्य-मान्यताहरू चाँडचाँडो पतन गराउँदैछ। त्यसले विशेष गरी साँचो मसीहीहरूलाई भ्रष्ट पार्न खोज्छ। यसको लागि त्यसले हाम्रो मन-मस्तिष्कलाई सीधै असर गर्ने माध्यम चलाउँछ। त्यो माध्यम हो हाम्रा इन्द्रियहरू—आँखा र कान। (एफिसी ४:१७-१९) सोच्दै नसोचेको बेला अनैतिक चित्रहरू, अनैतिक शब्दहरू वा अनैतिक मानिसहरूको सामना गर्नुपऱ्‍यो भने, तपाईं के गर्नुहुन्छ?

१९. परमेश्‍वरको डर मान्दा एक जना मसीही कसरी प्रलोभनबाट जोगिन सके?

१९ युरोपमा बस्ने आन्द्रेले b भोगेको घटनालाई विचार गर्नुहोस्‌। तिनी मसीही प्राचीन, पिता र डाक्टर हुन्‌। तिनी अस्पतालमा रातीको ड्युटीमा पर्दा महिला सहकर्मीहरूले यौन सम्बन्ध राख्न निम्त्याउँदै उनको तकियामा घरिघरि रोमान्टिक नोट लेखेर छोडिराख्थे। तिनीहरूको प्रस्तावलाई तिनले ठाडै इन्कार गरे। त्यति मात्र होइन, त्यो खराब संगतबाट अलग रहन तिनले त्यस अस्पतालको जागिर छोडे र अर्कै अस्पतालमा जागिर खाए। त्यसरी परमेश्‍वरको डर मान्‍नु तिनको लागि एकदमै बुद्धिमानी काम साबित भयो। तिनले थुप्रै आशिष्‌हरू पाएका छन्‌। तिनी अहिले आफ्नै देशमा रहेको यहोवाका साक्षीहरूको शाखा कार्यालयमा पार्ट-टाइम सेवा गर्छन्‌।

२०, २१. (क) परमेश्‍वरको डरले हामीलाई पापमा फस्नबाट कसरी जोगाउन सक्छ? (ख) अर्को लेखमा कुन कुरा छलफल गरिनेछ?

२० गलत सोचाइ राख्दा आफ्नो अधिकारमा नभएको कुरा पाउनका लागि यहोवासितको अमूल्य सम्बन्ध नै त्याग्ने हदसम्म हृदय खराब हुन सक्छ। (याकूब १:१४, १५) अर्कोतर्फ, यहोवाको डर मान्यौं भने हामी हाम्रो नैतिकता खस्काउन सक्ने मानिस, ठाउँ, कामकुरो र मनोरञ्जनबाट टाढा रहन्छौं—अझ भन्‍ने हो भने ती कुराबाट भाग्छौं। (हितोपदेश २२:३) परमेश्‍वरको अनुग्रह गुमाउनुभन्दा त जस्तोसुकै असजिलो सहनु वा त्याग गर्नु वेस। उहाँको अनुग्रहको तुलनामा यस्ता अप्ठ्याराहरू त केही पनि होइनन्‌। (मत्ती ५:२९, ३०) परमेश्‍वरको डर मान्‍नु भनेको जुनै पनि प्रकारको अश्‍लील कुरा लगायत कुनै पनि अनैतिक कुरामा जानाजानी आफूलाई नहोम्नु र “व्यर्थका कुराहरू हेर्नदेखि” आँखा फर्काउनु हो। यसो गऱ्‍यौं भने ‘हामी जीवित रहन’ र हामीलाई चाहिएको हरेक कुरा पाउन यहोवामा भर पर्न सक्छौं।—भजन ८४:११; ११९:३७;

२१ वास्तवमा, परमेश्‍वरको डर मानेर काम गर्नु सधैं बुद्धिमानी कुरा हो। यो साँचो आनन्दको स्रोत पनि हो। (भजन ३४:९) यसबारे अर्को लेखमा छलफल गरिनेछ। (w 06 8/1)

[फुटनोटहरू]

a यहोवाका साक्षीहरूद्वारा प्रकाशित ब्यूँझनुहोस्‌!, फेब्रूअरी ८, १९९८ अंकको “बाइबलको दृष्टिकोण: प्रेमको परमेश्‍वरसित पनि डर लाग्छ र?” विषयको लेख हेर्नुहोस्‌।

b नाउँ परिवर्तन गरिएको छ।

के तपाईं बुझाउन सक्नुहुन्छ?

• परमेश्‍वरको डर मान्‍नुमा कुन मसीही गुणहरू समावेश छन्‌?

• परमेश्‍वरको डरले मानिसको डरलाई कसरी जित्छ?

• प्रार्थनाप्रति हाम्रो सही दृष्टिकोण छ भनेर कसरी देखाउन सक्छौं?

• परमेश्‍वरको डरले पाप गर्नबाट हामीलाई कसरी जोगाउन सक्छ?

[प्रश्‍नहरू]

[पृष्ठ २३-मा भएको चित्र]

यहोवाको हातको कामलाई नियाल्दा दाऊदले परमेश्‍वरको डर मान्‍न सिके

[पृष्ठ २४-मा भएका चित्रहरू]

अचानक प्रलोभनमा पर्दा तपाईं के गर्नुहुन्छ?