सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाको संगठनले दिएका उत्तम कुराहरूमा ध्यान दिनुहोस्‌

यहोवाको संगठनले दिएका उत्तम कुराहरूमा ध्यान दिनुहोस्‌

यहोवाको संगठनले दिएका उत्तम कुराहरूमा ध्यान दिनुहोस्‌

“तपाईंको भवन[को] . . . उत्तम उत्तम पदार्थले हामी सन्तुष्ट हुनेछौं।”—भजन ६५:४.

१, २. (क) मन्दिर अनि मन्दिरमा गरिने प्रबन्धले परमेश्‍वरका जनहरूलाई कस्तो प्रभाव पार्ने थियो? (ख) मन्दिर निर्माणको लागि दाऊदले कस्तो बन्दोबस्त मिलाए?

 हिब्रू शास्त्रका चर्चित व्यक्‍तिहरूमध्ये दाऊद पनि हुन्‌। यी गोठाला, संगीतकार, भविष्यवक्‍ता अनि राजाले यहोवा परमेश्‍वरमाथि आफ्नो सम्पूर्ण भरोसा राखेका थिए। परमेश्‍वरसितको घनिष्ठ सम्बन्धले गर्दा उहाँको उपासनाको निम्ति एउटा भवन बनाउन दाऊद उत्प्रेरित भए। इस्राएलमा यो भवन अथवा मन्दिर साँचो उपासनाको मुख्य थलो हुने थियो। मन्दिर अनि मन्दिरमा गरिने प्रबन्धले गर्दा परमेश्‍वरका जनहरू आनन्दित अनि आशिषित्‌ हुनेछन्‌ भनेर दाऊदलाई थाह थियो। त्यसैकारण तिनले यसरी गाए: ‘त्यो मानिस धन्यको हो, जसलाई यहोवाले छान्‍नुहुन्छ, र तपाईंकहाँ रहनलाई आउने तुल्याउनुहुन्छ, तपाईंको भवन, अर्थात्‌ तपाईंको मन्दिरको पवित्र ठाउँका उत्तम उत्तम पदार्थले हामी सन्तुष्ट हुनेछौं।’—भजन ६५:४.

तर दाऊदले परमेश्‍वरको भवन बनाउने अनुमति पाएनन्‌। यो विशेष मौका तिनका छोरा सुलेमानले पाउने थिए। मन्दिर बनाउने ठूलो धोको आफूले पूरा गर्न नपाए पनि दाऊदले गनगन गरेनन्‌। यो मौका जसले पाए पनि मुख्य कुरा मन्दिर निर्माण होस्‌ भन्‍ने दाऊदको चाहना थियो। त्यसैकारण यहोवाबाट पाएको मन्दिरको नक्सा दाऊदले सुलेमानलाई दिएर निर्माणकार्यलाई सारा तनमनले समर्थन गरे। यसबाहेक, तिनले मन्दिरमा सेवा गर्ने लेवीहरूको काम बाँडफाँड गर्नुका साथै निर्माणकार्यको लागि चाहिने सुन-चाँदी पनि प्रशस्तै दान दिए।—१ इतिहास १७:१, ४, ११, १२; २३:३-६; २८:११, १२; २९:१-५.

३. साँचो उपासनाको लागि गरिएका प्रबन्धहरूप्रति यहोवाका सेवकहरूको मनोभाव कस्तो छ?

परमेश्‍वरको भवनमा साँचो उपासनाको लागि गरिएको सम्पूर्ण प्रबन्धलाई इस्राएलीहरूले पूरापूर समर्थन गरे। अहिले हामी यहोवाका सेवकहरू पनि यहोवाको संगठनको पृथ्वीमा रहेको भागले गरेका सबै प्रबन्धलाई त्यसरी नै पूरापूर समर्थन गर्छौं। यसरी हामी दाऊदको जस्तै मनोभाव देखाउँछौं। हामी पनि गनगन गर्दैनौं। बरु, परमेश्‍वरको संगठनले दिएका उत्तम कुराहरूमा हामी ध्यान दिन्छौं। हामी साँच्चै धन्यवादी हुनुपर्ने यी उत्तम कुराहरू के हुन्‌ विचार गर्नुभएको छ? आउनुहोस्‌, यीमध्ये केही विचार गरौं।

नेतृत्व लिनेहरूका लागि धन्यवादी

४, ५. (क) ‘विश्‍वासी र बुद्धिमान दासले’ आफ्नो जिम्मेवारी कसरी पूरा गरेको छ? (ख) आध्यात्मिक आहार उपलब्ध भएकोमा केही साक्षीहरूलाई कस्तो लागेको छ?

येशूले पृथ्वीमा भएको आफ्नो सम्पत्तिमाथि “विश्‍वासी र बुद्धिमान दास” खटाउनुभएकोमा धन्यवादी हुने उचित कारण हामीसित छ। आत्मा-अभिषिक्‍त मसीहीहरू मिलेर बनेको दास वर्गले सुसमाचार प्रचार गर्ने काममा नेतृत्व लिन्छ, उपासनाको लागि सभाहरूको प्रबन्ध मिलाउँछ र ४०० भन्दा धेरै भाषाहरूमा बाइबल-आधारित साहित्यहरू प्रकाशित गर्छ। विश्‍वभरिका करोडौं मानिसहरू “ठीक ठीक समयमा” प्रबन्ध गरिएको यो आध्यात्मिक भोजन खुसीसाथ लिन्छन्‌। (मत्ती २४:४५-४७) यो प्रबन्धमा गनगन गर्नुपर्ने कुनै कारण छ र?

दास वर्गले प्रबन्ध गरेका साहित्यहरूमा पाइने बाइबल-आधारित सल्लाहहरू प्रयोग गर्दा निकै वर्षदेखि यहोवाको सेवा गरिरहेकी वृद्धा एल्फीले सान्त्वना र मदत पाएको अनुभव गरेकी छिन्‌। यस्तो प्रबन्धको लागि धन्यवाद दिंदै एल्फीले लेखिन्‌: “यहोवाको संगठनमा नभएकी भए म कहाँ हुन्थें होला?” पिटर र इरमगार्ड पनि यहोवाका साक्षीहरू भएको दशकौं भइसक्यो। “यहोवाको मायालु संगठनले” उपलब्ध गराएका सम्पूर्ण साहित्यहरूका लागि इरमगार्ड धन्यवादी छिन्‌। यी साहित्यहरूमध्ये कतिपय त विशेष अवस्था भएका मानिसहरू, जस्तै आँखा नदेख्ने र कान नसुन्‍नेहरूको लागि पनि तयार पारिएका छन्‌।

६, ७. (क) पृथ्वीभरिका मण्डलीहरूमा हुने गतिविधिको निरीक्षण कसरी गरिन्छ? (ख) यहोवाको संगठनको पृथ्वीमा रहेको भागप्रति कसै-कसैले कस्तो आभार व्यक्‍त गरेका छन्‌?

यहोवाका साक्षीहरूको परिचालक निकाय ‘विश्‍वासी दासको’ प्रतिनिधि हो। आत्मा-अभिषिक्‍त यी पुरुषहरूको सानो समूहले ब्रूकलिन, न्यु योर्कस्थित यहोवाका साक्षीहरूको मुख्यालयमा सेवा गर्छ। परिचालक निकायले यहोवाका अनुभवी सेवकहरूलाई शाखा कार्यालयहरूमा सेवा गर्न नियुक्‍त गर्छ। अनि यी शाखा कार्यालयहरूले पृथ्वीभरिका ९८,००० भन्दा धेरै मण्डलीहरूमा हुने गतिविधिको रेखदेख गर्छन्‌। बाइबलमा लेखिएका आवश्‍यकताहरू पूरा गरेका पुरुषहरूलाई मण्डलीहरूमा प्राचीन र सेवकाई सेवक नियुक्‍त गरिन्छ। (१ तिमोथी ३:१-९, १२, १३) प्राचीनहरू आफ्नो जिम्मामा रहेको परमेश्‍वरको बगाललाई डोऱ्‍याउँछन्‌ र बगालको मायालु रेखदेख गर्छन्‌। त्यसैले यो बगालको सदस्य हुन पाउनु अनि ‘भाइ-बन्धुबीच’ व्याप्त प्रेम र एकता महसुस गर्न पाउनु कत्ति ठूलो आशिष्‌!—१ पत्रुस २:१७; ५:२, ३.

यी प्रत्येक सदस्यहरू गनगन गर्नुको साटो प्राचीनहरूले दिएको मायालु आध्यात्मिक डोऱ्‍याइप्रति अक्सर आभार व्यक्‍त गर्छन्‌। उदाहरणको लागि, ३० वर्ष पुगिसकेकी विवाहित मसीही बहिनी ब्रिजिटलाई विचार गर्नुहोस्‌। किशोरी छँदा तिनको साथीसंगत राम्रो थिएन र तिनी झन्डै खराब काममा फस्न लागेकी थिइन्‌। तर प्राचीनहरूले बाइबलबाट दिएका सुस्पष्ट सल्लाह र सँगी मसीहीहरूले दिएको सहयोगले गर्दा धन्‍न तिनी जोगिइन्‌। अहिले ब्रिजिटलाई कस्तो लाग्छ? तिनी भन्छिन्‌: “म अहिले पनि यहोवाको यस्तो उत्तम संगठनभित्र हुन पाइरहेकीमा अति सन्तुष्ट छु।” सत्र वर्षका आन्द्रियास भन्छन्‌: “यो साँच्चै यहोवाकै संगठन हो, संसारमा यो जस्तो अर्को कुनै संगठन छैन।” यहोवाको संगठनको पृथ्वीमा रहेको भागले दिएका उत्तम कुराहरूप्रति के हामी धन्यवादी हुनु पर्दैन र?

नेतृत्व लिनेहरू असिद्ध छन्‌

८, ९. कसै-कसैले दाऊदसित कस्तो व्यवहार गरे तर तिनले कस्तो प्रतिक्रिया देखाए?

हो, साँचो उपासनामा नेतृत्व लिन नियुक्‍त भएकाहरू सिद्ध छैनन्‌। तिनीहरू पनि चुक्छन्‌ र कोही-कोही त आफूमा भएका कमजोरीहरू हटाउन निकै प्रयास गर्दैछन्‌। उनीहरूको गल्ती र कमजोरी देखेर निराश हुनुपर्छ? पर्दैन। प्राचीन इस्राएलमा ठूलठूला जिम्मेवारी पाएकाहरूले पनि गम्भीर गल्ती गरेका थिए। जस्तै, व्याकुल भएको बेला राजा शाऊललाई मीठो धुन सुनाएर शान्त पार्न किशोर दाऊदलाई बोलाइएको थियो। तर पछि शाऊलले नै दाऊदलाई मार्न खोज्दा आफ्नो ज्यान जोगाउन दाऊद भाग्नुपऱ्‍यो।—१ शमूएल १६:१४-२३; १८:१०-१२; १९:१८; २०:३२, ३३; २२:१-५.

दाऊदलाई अरू इस्राएलीहरूले पनि धोका दिए। जस्तै, दाऊदका सेनापति योआबले शाऊलका नातेदार अबनेरलाई मारे। दाऊदका आफ्नै छोरा अब्शालोमले सत्ता हत्याउन तिनी विरुद्ध षड्यन्त्र गरे। अनि दाऊदका विश्‍वासी सल्लाहकार अहीतोपेलले पनि तिनलाई धोका दिए। (२ शमूएल ३:२२-३०; १५:१-१७, ३१; १६:१५, २१) यतिबिघ्न धोका पाउँदा पनि दाऊदले एकदमै तीतो महसुस गरेनन्‌, गनगन पनि गरेनन्‌ अनि साँचो उपासनालाई पनि छोडेनन्‌। बरु, यस्ता समस्याहरूले दाऊदलाई परमेश्‍वरसित अझै नजिक बनायो र शाऊलको कारण भाग्नुपर्दा सुरुमा देखाएको असल मनोभाव तिनले पछिसम्मै कायम राखे। यस्तो बेला पनि दाऊदले यसरी गाए: “ममाथि अनुग्रह गर्नुहोस्‌ हे परमेश्‍वर, ममाथि अनुग्रह गर्नुहोस्‌। किनकि मेरो आत्माले तपाईंमा शरण लिन्छ। यी आपद्‌ नहटुञ्जेल तपाईंकै पखेटाको छायामनि म शरण लिनेछु।”—भजन ५७:१.

१०, ११. युवती छँदा गेट्रुडले कस्तो अनुभव गरिन्‌ तर सँगी मसीहीहरूको असिद्धताबारे तिनले के भनिन्‌?

१० आज यहोवाको संगठनमा धोका भयो भनेर गनगन गर्नुपर्दैन। किनकि यहोवा, स्वर्गदूतहरू र आध्यात्मिक गोठालाहरू धोका दिनेहरूलाई पटक्कै सहनुहुन्‍न। तैपनि हामीले आफ्नै अनि सँगी मसीहीहरूको असिद्धता सहनुपर्ने हुन्छ।

११ धेरै वर्षदेखि यहोवाको सेवा गरिरहेकी गेट्रुडलाई युवती छँदा तिनी धोकेबाज हुन्‌ र पूर्ण-समय राज्यप्रचारक होइनन्‌ भन्‍ने झूटो आरोप लगाइएको थियो। त्यतिखेर तिनलाई कस्तो लाग्यो? यस्तो दुर्व्यवहार भोग्नुपर्दा के गेट्रुडले गनगन गरिन्‌? अहँ, गरिनन्‌। तिनी ९१ वर्षको उमेरमा सन्‌ २००३ मा मरिन्‌। तर आफ्नो मृत्यु हुनुअघि विगतलाई सम्झँदै तिनले भनेकी थिइन्‌: “केही व्यक्‍तिहरू चुके तापनि यहोवाले आफ्नो महत्त्वपूर्ण काम गराउन असिद्ध मानिसहरूलाई नै प्रयोग गरिरहनुभएको छ भनेर जीवनभर सँगालेका अनुभवहरूबाट मैले सिकेकी छु।” परमेश्‍वरका सेवकहरूको असिद्धता देख्दा गेट्रुड यहोवालाई हार्दिक प्रार्थना गरेर उहाँमाथि भर पर्थिन्‌।

१२. (क) प्रथम शताब्दीका केही मसीहीहरूले कस्तो नराम्रो उदाहरण बसाले? (ख) हामीले आफ्नो ध्यान केमा लगाउनुपर्छ?

१२ सबैभन्दा वफादार र भक्‍त मसीहीहरू पनि असिद्ध नै भएकोले नियुक्‍त सेवकहरू चुक्दा हामी ‘गनगन नगरी सबै काम गर्दैजाऔं।’ (फिलिप्पी २:१४) प्रथम शताब्दीको मसीही मण्डलीका केही व्यक्‍तिहरूले देखाएको जस्तो नराम्रो उदाहरण हामीले पनि पछ्याउनु कत्ति दुःखलाग्दो हुनेछ! चेला याकूबअनुसार त्यतिखेरका झूटा शिक्षकहरू ‘प्रभुत्वलाई तुच्छ ठान्थे, उच्च पदाधिकारीहरूको निन्दा गर्थे।’ यसका साथै गल्ती गर्ने यी मानिसहरू आफ्नो अवस्थाबारे ‘फतफत गर्थे।’ (यहूदा ८, १६) हामी त्यस्ता गनगनेहरूजस्तो कहिल्यै नहोऔं। बरु ‘विश्‍वासी र बुद्धिमान दासले’ दिएका असल कुराहरूमा आफ्नो ध्यान लगाऔं। आउनुहोस्‌, यहोवाको संगठनले दिएका उत्तम कुराहरूको कदर गरौं र ‘गनगन नगरी सबै काम गर्दैजाऔं।’

“यो वचन कठोर छ”

१३. येशूले सिकाउनुभएका केही खास शिक्षा सुनेपछि कसै-कसैले कस्तो प्रतिक्रिया देखाए?

१३ प्रथम शताब्दीमा केहीले नियुक्‍त सेवकहरू विरुद्ध गनगन गरे भने अरू कतिले त येशूको शिक्षा विरुद्धै गनगन गरे। यूहन्‍ना ६:४८-६९ मा लेखिएअनुसार येशूले यसो भन्‍नुभयो: “मेरो देह खाने र मेरो रगत पिउनेलाई अनन्त जीवन हुन्छ।” यी शब्दहरू सुनेपछि “उहाँका चेलाहरूमध्ये धेरैले भने, ‘यो वचन कठोर छ, को यो सुन्‍नसक्‍तछ र?’ ” तर “चेलाहरू यस विषयमा गनगनाउँदैछन्‌” भनेर येशूलाई थाह थियो। “यसपछि उहाँका चेलाहरूमध्ये धेरै जना पछि हटे, औ उहाँसँग फेरि हिंडडुल गरेनन्‌।” तर सबैले त उहाँ विरुद्ध गनगन गरेनन्‌। येशूले बाह्र प्रेरितहरूलाई “के तिमीहरू पनि गइहाल्ने इच्छा गर्दछौ?” भनेर सोध्नुहुँदा के भयो याद गर्नुहोस्‌। तब प्रेरित पत्रुसले यस्तो जवाफ दिए: “हे प्रभु, हामी कसकहाँ जाऔं? अनन्त जीवनका कुरा ता तपाईंसँग छन्‌, औ तपाईं परमेश्‍वरका पवित्र जन हुनुहुन्छ भनी हामीले विश्‍वास गरेका र जानेका छौं।”

१४, १५. (क) केही मसीही शिक्षा चित्त नबुझेर कोही-कोही किन रिसाउँछन्‌? (ख) इमानुएलको घटनाबाट हामी कस्तो पाठ सिक्न सक्छौं?

१४ बाइबलका कुनै-कुनै शिक्षा चित्त नबुझेर आधुनिक समयमा परमेश्‍वरका जनहरूमाझ केही मुठीभर मानिसहरूले रिसाएर यहोवाको संगठन विरुद्ध गनगन गरेका छन्‌। यस्तो किन भएको होला? अक्सर परमेश्‍वरले काम गर्नुहुने तरिका राम्ररी नबुझेकोले यस्तो गनगन सुनिएको हो। सृष्टिकर्ताले आफ्ना मानिसहरूलाई सत्य कुरा क्रमशः प्रकट गर्नुहुन्छ। त्यसैकारण बाइबलबारे हामीले पहिले राखेको सोचाइलाई कहिलेकाहीं छाँटकाँट गर्नुपर्ने हुन्छ। यसरी सही कुरा प्रकट हुँदै जाँदा यहोवाका प्रायजसो साक्षीहरू रमाउँछन्‌। तर कोही-कोही भने “ज्यादै धर्मी” भएर यस्ता छाँटकाँटहरू गरिएकोमा रिसाउँछन्‌। (उपदेशक ७:१६) घमन्डले गर्दा त्यसो भएको हुन सक्छ र कतिपय त आफ्नै मत खडा गर्ने पासोमा फस्छन्‌। कारण जे होस्‌, यसरी गनगन गर्नु हानीकारक छ किनकि यसरी गनगन गर्दा हामी फेरि संसारमै फर्केर त्यसैअनुसार गर्नेहरू हुनेछौं।

१५ उदाहरणको लागि इमानुएललाई विचार गर्नुहोस्‌। तिनी कुनै समय यहोवाका साक्षी थिए तर ‘विश्‍वासी र बुद्धिमान दासले’ प्रकाशित गरेका प्रकाशनहरूमा पढेको केही कुरा चित्त नबुझेर तिनले ती प्रकाशनहरू नै पढ्‌न छोडे। (मत्ती २४:४५) पछि त ‘म यहोवाको साक्षी हुन चाहन्‍नँ’ भनेर आफ्नो मण्डलीका प्राचीनहरूलाई बताए। तर यहोवाको संगठनले सिकाएको शिक्षा वास्तवमा सही छ भनेर केही समय नबित्दै इमानुएलले मानिलिए। तिनले साक्षीहरूलाई भेटे, आफ्नो गल्ती स्वीकारे अनि फेरि यहोवाको साक्षीको रूपमा सेवा गर्न थाले। त्यसपछि तिनी फेरि एकदमै आनन्दित भए।

१६. के गऱ्‍यौं भने कुनै-कुनै मसीही शिक्षाबारे लागेको शंकालाई हटाउने मदत पाउनेछौं?

१६ संगठनले सिकाउने कुनै-कुनै शिक्षामा शंका लागेर गनगन गर्न सकसक लाग्यो भने के गर्ने? धीरजी हुनुहोस्‌। ‘विश्‍वासी दासले’ प्रकाशनमार्फत समयमा हाम्रा प्रश्‍नहरूको चित्तबुझ्दो जवाफ दिनेछ र हाम्रो शंका हट्‌नेछ। मसीही प्राचीनहरूसित मदत माग्नु बुद्धिमानी हुन्छ। (यहूदा २२, २३) यसबाहेक प्रार्थना, व्यक्‍तिगत अध्ययन अनि आध्यात्मिक कुरामा ध्यान दिने सँगी मसीहीहरूसित संगत गर्दा पनि शंका हटाउन मदत पाउँछौं। साथै यहोवाले प्रयोग गर्नुभएको माध्यमबाट हामीले सिकेको विश्‍वास बलियो पार्ने बाइबल सत्यप्रति हाम्रो कृतज्ञता पनि अझ बढ्‌नेछ।

सधैं सकारात्मक हुनुहोस्‌

१७, १८. गनगन गर्नुको साटो हामीले कस्तो मनोवृत्ति राख्नुपर्छ र किन?

१७ हामी असिद्ध भएकोले जन्मजात पापी छौं। तर कसै-कसैमा अनावश्‍यक गनगन गरिहाल्ने झुकाव बलियो हुन सक्छन्‌। (उत्पत्ति ८:२१; रोमी ५:१२) तर गनगन गर्ने बानी नै हुन थाल्यो भने यहोवा परमेश्‍वरसितको हाम्रो सम्बन्धलाई खतरामा पारिरहेका हुनेछौं। त्यसकारण, गनगने हुन लाग्यौं भने होसियार भइहाल्नुपर्छ।

१८ मण्डलीका कुराहरू विरुद्ध गनगन गर्नुभन्दा सधैं सकारात्मक भयौं र हामीलाई व्यस्त, आनन्दित, आदरणीय, सन्तुलित अनि विश्‍वासमा बलियो पार्ने तालिका पछ्याइराख्यौं भने बेस हुन्छ। (१ कोरिन्थी १५:५८; तीतस २:१-५) संगठनमा हुने सबै कुरा यहोवाको हातमा छ र प्रथम शताब्दीमा जस्तै अहिले पनि प्रत्येक मण्डलीमा भएका गतिविधीबारे येशूलाई थाह छ। (प्रकाश १:१०, ११) त्यसैले यहोवा परमेश्‍वर र मण्डलीका शीर येशू ख्रीष्टलाई धीरजी भई पर्खौं। सुधार्नुपर्ने कुराहरू रहेछन्‌ भने जिम्मेवार गोठालाहरूमार्फत सुधार गरिनेछ।—भजन ४३:५; कलस्सी १:१८; तीतस १:५.

१९. मानिसहरूमाथि मसीही राज्यले पूर्ण अधिकार नगरून्जेल हामीले कुन कुरामा ध्यान दिनुपर्छ?

१९ अब चाँडै यस दुष्ट रीतिरिवाजको अन्त हुनेछ र मानिसहरूमाथि मसीही राज्यको पूर्ण अधिकार हुनेछ। त्यतिन्जेल हामी सबैले सधैं सकारात्मक भइरहनु अत्यन्तै जरुरी छ। सकारात्मक भइरह्‍यौं भने नै सँगी मसीहीहरूका गल्तीहरूमा ध्यान दिनुको साटो उनीहरूका असल गुणहरू सम्झिरहन मदत मिल्नेछ। उनीहरूको व्यक्‍तित्वका राम्रा पक्षहरूमा ध्यान दियौं भने हामी आनन्दित हुनेछौं। गनगन गरेर खिन्‍न हुनुभन्दा सधैं सकारात्मक भयौं भने हामी आध्यात्मिक तवरमा प्रोत्साहित अनि बलिया हुनेछौं।

२०. सकारात्मक हुँदा हामी कस्ता आशिष्‌हरू पाउन सक्छौं?

२० सकारात्मक भयौं भने यहोवाको संगठनको सदस्य हुँदा हामीले पाएका आशिष्‌हरू सम्झन पनि मदत मिल्नेछ। ब्रह्‍माण्डकै शासकप्रति वफादार हुने संगठन यही एउटा मात्र हो। यो तथ्य थाह पाउँदा अनि एक मात्र साँचो परमेश्‍वर यहोवाको उपासना गर्ने सम्मान पाउँदा तपाईंलाई कस्तो लाग्छ? तपाईंको मनोभावना पनि यसरी यहोवाको प्रशंसा गाउने दाऊदको जस्तै होस्‌: “हे प्रार्थना सुन्‍नुहुने, तपाईंकहाँनै सबै प्राणी आउनेछन्‌। त्यो मानिस धन्यको हो, जसलाई तपाईंले छान्‍नुहुन्छ, र तपाईंकहाँ रहनलाई आउने तुल्याउनुहुन्छ, तपाईंको भवन, अर्थात्‌ तपाईंको मन्दिरको पवित्र ठाउँका उत्तम उत्तम पदार्थले हामी सन्तुष्ट हुनेछौं।”—भजन ६५:२, ४. (w 06 7/15)

के तपाईंलाई याद छ?

• मण्डलीमा नेतृत्व लिनेहरूप्रति हामी किन धन्यवादी हुनुपर्छ?

• जिम्मेवार मसीही भाइहरूले गल्ती गर्दा हाम्रो प्रतिक्रिया कस्तो हुनुपर्छ?

• बाइबलका शिक्षाबारे हाम्रो बुझाइमा छाँटकाँट हुँदा हामीले के गर्नुपर्छ?

• हामीलाई लागेको शंका हटाउन केले मदत गर्न सक्छ?

[प्रश्‍नहरू]

[पृष्ठ १३-मा भएको चित्र]

दाऊदले सुलेमानलाई मन्दिर निर्माण गर्ने नक्सा दिए अनि साँचो उपासनालाई पूरा तनमनले समर्थन गरे

[पृष्ठ १६-मा भएको चित्र]

मसीही प्राचीनहरू आध्यात्मिक मदत दिन खुसी मान्छन्‌