सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवासित डराउनुहोस्‌ र आनन्दित हुनुहोस्‌!

यहोवासित डराउनुहोस्‌ र आनन्दित हुनुहोस्‌!

यहोवासित डराउनुहोस्‌ र आनन्दित हुनुहोस्‌!

“त्यो मानिस धन्यको हो जसले परमप्रभुको भय मान्दछ।”—भजन ११२:१.

१, २. परमेश्‍वरको डर मान्दा के लाभ हुन्छ?

 आनन्द सजिलै कहाँ पाइन्छ र! साँचो आनन्द पाउन सही छनौट गर्नुपर्छ, जे असल छ त्यही गर्नुपर्छ र खराबीबाट भाग्नुपर्छ। हामीले आफ्नो जीवन सबैभन्दा राम्रो तरिकाले बिताएको सृष्टिकर्ता यहोवा चाहनुहुन्छ। त्यसैकारण, उहाँले हामीलाई निर्देशनको लागि आफ्नो वचन बाइबल दिनुभएको छ। यहोवाको निर्देशन खोजेर अनि त्यो पालन गरेर हामी उहाँको डर मानिरहेको देखाउँछौं। अनि उहाँको डर मान्दा हामी साँच्चै सन्तुष्ट र आनन्दित हुन सक्छौं।—भजन २३:१; हितोपदेश १४:२६.

यस लेखमा बाइबलकालीन र अहिलेका उदाहरणहरू विचार गर्नेछौं। ती उदाहरणहरूमा परमेश्‍वरको डर मान्दा हामी गलत काम गर्नबाट बच्ने बल र सही कुरा गर्ने साहस कसरी पाउँछौं भन्‍ने कुरा देख्छौं। परमेश्‍वरको डर मान्दा हामी राजा दाऊद जस्तै गलत मार्ग त्यागेर सही मार्गमा आउँछौं र आनन्दित हुन सक्छौं भन्‍ने कुरा ती उदाहरणमा देख्नेछौं। अनि यो पनि बुझ्नेछौं, छोराछोरीलाई यहोवाको डर मान्‍न सिकाउनु भनेको आमाबाबुले तिनीहरूलाई दिने बहुमूल्य सम्पदा हो। हो, परमेश्‍वरको वचन हामीलाई यस्तो आश्‍वासन दिन्छ: “त्यो मानिस धन्यको हो जसले परमप्रभुको भय मान्दछ।”—भजन ११२:१.

गुमेको आनन्द फेरि पाउनुहोस्‌

३. आफूले गरेको पापबाट मुक्‍त हुन दाऊदलाई केले मदत दियो?

तीन उल्लेखनीय घटनाहरूमा दाऊद परमेश्‍वरको स्वस्थकर डर मान्‍न चुके र पाप गरे भनेर अघिल्लो लेखमा हामीले पढ्यौं। तर, परमेश्‍वरबाट अनुशासन पाउँदा उनले जस्तो प्रतिक्रिया देखाए त्यसबाट वास्तवमा उनी परमेश्‍वरको डर मान्‍ने व्यक्‍ति थिए भन्‍ने कुरा प्रस्ट हुन्छ। यहोवाप्रतिको श्रद्धा र आदरले गर्दा उनी आफ्नो गल्ती स्वीकार्न, आफूलाई सुधार्न र परमेश्‍वरसित फेरि राम्रो सम्बन्ध गाँस्न उत्प्रेरित भए। हुन त दाऊद र उनका मानिसहरूले उनले गरेको पापको प्रतिफल भोग्नुपऱ्‍यो। तैपनि, उनले साँचो पश्‍चात्ताप गरेको हुनाले यहोवाको सहयोग र आशिष्‌ पाइरहे। अहिले पनि कोही-कोही मसीहीहरू गम्भीर पापमा फस्न सक्लान्‌। तिनीहरूले दाऊदको उदाहरणबाट कत्ति साहस पाउन सक्छन्‌!

४. परमेश्‍वरको डर मान्दा कसरी फेरि आनन्दित हुन सकिन्छ?

सोनियालाई हेरौं न। a हुन त तिनी पूर्ण-समय प्रचारक थिइन्‌। तैपनि गलत संगतमा लागेर बाइबल सिद्धान्त विपरीत आचरणमा फस्न पुगिन्‌। नतिजा? तिनलाई मसीही मण्डलीबाट निकाल्नुपऱ्‍यो। होस खुलेपछि यहोवासित बिग्रेको सम्बन्ध सुधार्न तिनले आवश्‍यक सबै कदम चालिन्‌। पछि तिनी मण्डलीमा फेरि फर्किन्‌। जीवनमा आइपरेका यी उकाली-ओरालीबीच पनि तिनले यहोवाको सेवा गर्ने चाहनालाई कहिल्यै त्यागिनन्‌। आखिर, तिनले फेरि पूर्ण-समय अग्रगामी सेवा थालिन्‌। तिनले मण्डलीमा राम्रो नाउँ कमाएका प्राचीनसित विवाह गरिन्‌। र अहिले आफ्ना पतिसँगै मण्डलीमा आनन्दसाथ सेवा गरिरहेकी छिन्‌। केही समयसम्मको लागि मसीही मार्गलाई त्यागेकोमा तिनलाई अफसोस त लागेको छ, तैपनि परमेश्‍वरको डर मानेर फेरि मसीही मार्गमा फर्किन सकेकोमा तिनी आनन्दित छिन्‌।

पाप गर्नुभन्दा दुःख भोग्नु वेश

५, ६. दाऊदले किन र कसरी दुई-दुई पल्ट शाऊलको ज्यान जोगाए? व्याख्या गर्नुहोस्‌।

वास्तवमा, परमेश्‍वरको डर मानेर गम्भीर गल्ती गर्नबाट जोगिनु एकदमै लाभदायी छ। दाऊदलाई त्यस्तै भयो। एक पटक, राजा शाऊल तीन हजार सेना लिएर दाऊदलाई खेद्‌दै जाँदा तिनी दिसा बस्न दाऊद र उनका मानिसहरू लुकिरहेको ओडारमा पसे। शाऊललाई मार्नुहोस्‌ भनेर दाऊदका मानिसहरूले आग्रह गरे। तिनीहरूले भने, के यहोवाले तपाईंको मरणशील शत्रुलाई तपाईंकै हातमा पर्न दिनुभएको होइन र? दाऊदले बिस्तारै गएर शाऊलको खास्टोको एक छेउ काटे। उनले गरेको यो काम त्यति हानिकारक त थिएन। तर दाऊद परमेश्‍वरको डर मान्‍ने व्यक्‍ति भएकोले उनलाई अन्तस्करणले घोच्यो। शाऊललाई आक्रमण गर्न सुरिरहेका ती मानिसहरूलाई हप्काउँदै दाऊदले यसो भने: “मैले आफ्ना मालिक, परमप्रभुका अभिषिक्‍त जनको केही हानि गर्ने कुरा मबाट परै रहोस्‌। उहाँ परमप्रभुका अभिषिक्‍त जन हुनुहुन्छ।” b१ शमूएल २४:१-७.

पछि अर्को एउटा घटनामा, शाऊल र तिनका मानिसहरू “परमप्रभुबाट पठाएको मस्त निद्रामा” आफ्नो छाउनीमा “सुतिरहेका थिए।” दाऊद र उनका आँटिला भानिज अबीशै छाउनीभित्रै पसे र मस्त सुतिरहेको शाऊलको छेउमै उभिए। अबीशै सधैंको लागि शाऊललाई खतम गर्न चाहन्थे। दाऊदले तिनलाई यसो भन्दै रोके: “परमप्रभुका अभिषिक्‍त जनमाथि हात उठाउने कोचाहिं विना दण्ड उम्केको छ?”—१ शमूएल २६:९, १२.

७. पाप गर्नबाट दाऊदलाई केले रोक्यो?

दुई-दुई पल्ट मौका पाउँदा पनि दाऊदले शाऊललाई किन मारेनन्‌? किनभने उनी शाऊलको भन्दा परमेश्‍वरको डर धेरै मान्थे। परमेश्‍वरको डर मान्‍ने भएकोले दाऊद पाप गर्नुभन्दा बरु आवश्‍यक परेमा दुःख भोग्न तयार थिए। (हिब्रू ११:२५) आफू र आफ्ना मानिसहरूलाई यहोवाले हेरचाह गर्नुहुन्छ भनेर उनी पूर्ण विश्‍वस्त थिए। दाऊदलाई थाह थियो—परमेश्‍वरको आज्ञा पालन गर्दा र उहाँमा भरोसा राख्दा आनन्दित होइन्छ र थुप्रै आशिष्‌ पाइन्छ, तर परमेश्‍वरलाई बेवास्ता गर्दा उहाँको निगाह गुमाइन्छ। (भजन ६५:४) तिनलाई यो पनि थाह थियो, परमेश्‍वरले आफ्नै समय र तरिकामा उनलाई राजा बनाउने प्रतिज्ञा पूरा गर्नुहुनेछ र शाऊललाई हटाउनुहुनेछ।—१ शमूएल २६:१०.

परमेश्‍वरको डर मान्दा आनन्दित हुन सकिन्छ

८. दबाब आइपर्दा दाऊदले देखाएको आचरण कसरी उदाहरणीय छ?

हामी मसीही भएकोले गिल्ला, सतावट र अरू परीक्षाहरू आइपर्छ भनेर आशा गर्न सक्छौं। (मत्ती २४:९; २ पत्रुस ३:३) कोही बेला सँगी विश्‍वासीहरूको कारण समेत कठिनाइहरू भोग्नुपर्ला। तर, हामीलाई थाह छ यहोवाले सबै कुरा देख्नुहुन्छ, हाम्रो प्रार्थना सुन्‍नुहुन्छ र उचित समयमा उहाँकै इच्छाअनुसार सबै कुरा ठीक गर्नुहुन्छ। (रोमी १२:१७-२१; हिब्रू ४:१६) त्यसैले, विरोधीहरूको डर मान्‍नुको साटो परमेश्‍वरको डर मान्छौं र उद्धारको निम्ति उहाँको बाटो हेर्छौं। दाऊदले जस्तै हामी पनि आफै बदला लिंदैनौं र दुःख भोग्नुपर्ला भन्‍ने डरले धार्मिक सिद्धान्तहरूमा सम्झौता पनि गर्दैनौं। यसो गर्दा साँच्चै नै आनन्द पाइन्छ। तर कसरी?

९. परमेश्‍वरको डर मान्दा सतावटको बावजूद पनि कसरी आनन्दित हुन सकिन्छ, एउटा उदाहरण दिनुहोस्‌।

अफ्रिकामा धेरै लामो समयसम्म मिसनरी सेवा गर्ने भाइ भन्छन्‌, “राजनैतिक पार्टीको सदस्यता नलिई मसीही तटस्थता कायम राखेको कारण एउटी आमा र तिनकी किशोरी छोरीले भोगेको सतावट म झलझली सम्झन्छु। तिनीहरूलाई भीडले पिट्‌नसम्म पिटेर घर पठाए। घर फर्कंदा रोइरहेकी छोरीलाई आमाले सम्झाउने प्रयास गरिन्‌। हामीलाई किन पिटेको भनेर ती छोरीले बुझ्न सकिरहेकी थिइनन्‌। त्यसरी पिटिएकोमा तिनीहरू आनन्दित त थिएनन्‌ तर तिनीहरूको अन्तस्करण सफा थियो। परमेश्‍वरको आज्ञा पालन गरेको महसुस गरेर तिनीहरू पछि आनन्दित भए। ती आमाछोरीले पार्टीको सदस्यता लिएको भए त्यो भीड खुबै रमाउने थियो, ती आमाछोरीको ठूलो इज्जत गरेर चिसो पेय खुवाइने थियो र रमाउँदै नाच्दै तिनीहरूलाई घरसम्मै पुऱ्‍याइन्थ्यो। तर सम्झौता गरेको भए ती आमाछोरी संसारकै सबैभन्दा दुःखी मानिस हुने थिए।” परमेश्‍वरको डरले तिनीहरूलाई त्यस्तो दुःखी हुनबाट बचायो।

१०, ११. एउटी स्त्रीले परमेश्‍वरको डर मान्दा कस्तो राम्रो प्रतिफल पाइन?

१० जीवनको पवित्रतालाई आदर गर्दा पनि सतावट आइपर्न सक्छ। यस्ता सतावटको सामना गर्नुपर्दा परमेश्‍वरको डर मानेको खण्डमा आनन्दित हुन सकिन्छ। मेरी नाउँकी स्त्री तेस्रो पटक गर्भवती हुँदा तिनलाई डाक्टरले गर्भपात गर्न आग्रह गरे। डाक्टरले भने, “तपाईंको अवस्था त्यति राम्रो छैन। कुनै पनि बेला तपाईंको स्वास्थ्य चिन्ताजनक हुन सक्छ र २४ घण्टाभित्रै ज्यान पनि जान सक्छ। तपाईंसँगै बच्चा पनि मर्नेछ। त्यसो नभए पनि बच्चा राम्रै जन्मिन्छ भन्‍ने कुनै ग्यारेन्टी छैन।” मेरी यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्दै थिइन्‌ तर बप्तिस्मा लिएकी थिइनन्‌। तिनी भन्छिन्‌, “तैपनि, मैले यहोवाको सेवा गर्ने निर्णय गरिसकेकी थिएँ र नतिजा जेसुकै होस्‌ उहाँप्रति आज्ञाकारी रहने संकल्प गरें।”—प्रस्थान २१:२२, २३.

११ पेटमा बच्चा भएको बेला मेरी बाइबल अध्ययन गर्न र परिवारको देखभालमा व्यस्त भइरहिन्‌। महिना पुगेपछि बच्चा जन्मियो। तिनी भन्छिन्‌, “पहिलो दुइटा बच्चा जन्माउनुभन्दा यो बच्चा जन्माउनु अलिक गाह्रो भयो तर त्यस्तो कुनै चिन्ताजनक स्थिति आइपरेन।” परमेश्‍वरको डर मान्दा तिनले सफा अन्तस्करण राख्न सकिन्‌। त्यसपछि चाँडै बप्तिस्मा पनि लिइन्‌। पछि हुर्कंदै जाँदा त्यो बच्चाले पनि यहोवाको डर मान्‍न सिक्यो र अहिले त्यो छोरो यहोवाका साक्षीहरूको शाखा कार्यालयमा सेवा गर्दैछ।

यहोवाको मदतले ‘बलियो हुनुहोस्‌’

१२. परमेश्‍वरको डरले दाऊदलाई कसरी बलियो बनायो?

१२ परमेश्‍वरको डरले दाऊदलाई खराब काम गर्नबाट मात्र जोगाएको थिएन। यसले तिनलाई कठिन परिस्थिति आइपर्दा निर्णायक कदम चाल्न र बुद्धिमानी भई चल्न पनि बलियो बनायो। दाऊद र तिनका मानिसहरूले शाऊलबाट बच्न पलिश्‍तीहरूको गाउँ सिकलगमा एक वर्ष चार महिनासम्म शरण लिए। (१ शमूएल २७:५-७) एक पटक पुरुषहरू कोही पनि नभएको बेला लुटपाट गर्दै हिंड्‌ने अमालेकीहरूले सिकलगमा आगो लगाइदिए र सबैका स्वास्नी, छोराछोरी र पशुहरू लगे। फर्केर आउँदा त्यो विध्वंस देखेर दाऊद र तिनका मानिसहरू नराम्रोसित रोए। दाऊदका मानिसहरूको त्यो दुःख रीसमा बदलियो र दाऊदलाई ढुंगाले हान्‍ने धम्की दिन लागे। दाऊद दुःखित भए तापनि निराश भएनन्‌। (हितोपदेश २४:१०) यहोवाको डरले उनलाई परमेश्‍वरमा भर पर्न उत्प्रेरित गऱ्‍यो र उनले यहोवासित ‘बल मागे।’ परमेश्‍वरको मदत पाएर दाऊद र उनका मानिसहरूले अमालेकीहरूलाई जिते र लुटिएका सबै कुरा फिर्ता लिए।—१ शमूएल ३०:१-२०.

१३, १४. परमेश्‍वरको डर मान्दा एउटी बहिनीले कसरी सही निर्णय गर्न मदत पाइन्‌?

१३ आज पनि परमेश्‍वरका सेवकहरूले यस्ता परिस्थितिहरूको सामना गर्नुपर्छ जसको लागि निर्णायक कदम चाल्न तिनीहरूले यहोवामा भरोसा राख्नुपर्छ र साहसी हुनुपर्छ। क्रिस्टिनालाई विचार गर्नुहोस्‌। जवानै छँदा उनी यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्थिन्‌। तर कन्सर्ट पियानोवादक बन्‍ने उनको धोको थियो। यसको लागि उनले चाहिएको योग्यता पनि हासिल गरिन्‌। तर अर्कोतिर, प्रचार गर्न जाने कुरा सम्झिंदा पनि उनलाई अप्ठ्यारो लागेर आउँथ्यो। त्यसैले, बप्तिस्मापछि आइपर्ने जिम्मेवारीहरू स्वीकार्न उनलाई डर लाग्थ्यो। उनले परमेश्‍वरको वचन अध्ययन गर्दै जाँदा त्यसको शक्‍तिलाई महसुस गर्न थालिन्‌। उनले परमेश्‍वरको डर मान्‍न सिकिन्‌ र यहोवालाई उहाँका सेवकहरूले सारा हृदय, सारा मन, सारा प्राण र सारा शक्‍तिले प्रेम गरेको उहाँ चाहनुहुँदो रहेछ भनेर बुझिन्‌। (मर्कूस १२:३०) यो कुरा बुझेपछि उनी यहोवालाई जीवन समर्पण गर्न र बप्तिस्मा लिन उत्प्रेरित भइन्‌।

१४ आध्यात्मिक उन्‍नति गर्न क्रिस्टिनाले यहोवासित मदत मागिन्‌। उनी बताउँछिन्‌, “कन्सर्ट पियानोवादकले यात्रा गरिरहनुपर्ने हुन्छ र वर्षको ४०० जति कन्सर्ट गर्नुपर्छ भनेर मलाई थाह थियो। त्यसैले, गुजारा चलाउन र पूर्ण-समय प्रचारक हुन शिक्षिका बन्‍ने निर्णय गरें।” तर त्यसैबेला, आफ्नो देशको नामी कन्सर्ट हलमा उनको कन्सर्ट हुने प्रबन्ध मिलाइसकिएको थियो। क्रिस्टिना भन्छिन्‌, “मेरो त्यो पहिलो र अन्तिम कन्सर्ट थियो।” पछि उनले मसीही प्राचीनसित विवाह गरिन्‌। ती दम्पती अहिले यहोवाका साक्षीहरूको शाखा कार्यालयमा सेवा गर्छन्‌। सही निर्णय गर्न यहोवाले शक्‍ति दिनुभएकोमा र अहिले आफ्नो समय र शक्‍ति उहाँको सेवामा लगाउन पाएकोमा क्रिस्टिना आनन्दित छिन्‌।

बहुमूल्य सम्पत्ति

१५. दाऊद आफ्ना छोराछोरीलाई के दिन चाहन्थे र सो तिनले कसरी गरे?

१५ दाऊदले लेखे, “आऊ, हे बालक हो, मेरा कुरा सुन, म तिमीहरूलाई परमप्रभुको डर मान्‍न सिकाउनेछु।” (भजन ३४:११) बुबाको हैसियतमा दाऊदले आफ्ना छोराछोरीलाई बहुमूल्य सम्पत्ति दिन चाहन्थे। त्यो सम्पत्ति थियो—परमेश्‍वरप्रतिको साँचो, सन्तुलित र स्वस्थकर डर। यहोवा अत्यधिक माग गर्नुहुने, डरले थरथर पार्ने र आफ्नो नियम कसले उल्लंघन गर्ला भनेर कुरेर बस्नुहुने व्यक्‍ति हुनुहुन्‍न तर आफ्ना छोराछोरीलाई माया गर्ने, फिक्री गर्ने र क्षमा दिने बुबा हुनुहुन्छ भनी दाऊदले आफ्नो वचन र कामद्वारा देखाए। दाऊदले यसरी सोधे, “आफ्ना भुलहरू कसले थाहा पाउन सक्छ?” त्यसपछि, यहोवाले जहिले पनि हाम्रा गल्तीहरू कोट्याइरहनुहुन्‍न भनेर उनले संकेत गरे। उनले अझ भने: “मेरा गुप्त दोषहरू क्षमा गर्नुहोस्‌।” अथक प्रयास गरेको खण्डमा आफ्नो वचन र हृदयको विचार यहोवाले स्वीकार्न सक्नुहुन्छ भनेर दाऊद पक्का थिए।—भजन १९:१२, १४, NRV.

१६, १७. आमाबाबुले छोराछोरीलाई यहोवाको डर मान्‍न कसरी सिकाउन सक्छन्‌?

१६ दाऊद, अहिलेका आमाबाबुको लागि राम्रो नमुना हुन्‌। राल्फ भन्छन्‌, “यहोवाको साक्षी हुन पाएकोमा रमाइलो लाग्ने गरी आमाबाबुले हामीलाई हुर्काउनुभयो। राल्फ र तिनका भाइ अहिले यहोवाका साक्षीहरूको शाखा कार्यालयमा सेवा गर्छन्‌। तिनी अझ यसो भन्छन्‌: “हामी सानो छँदा सपरिवार सँगै बसेर मण्डलीका कामकुराबारे छलफल गर्थ्यौं। त्यसैले हामी पनि उहाँहरू जस्तै सच्चाइमा जोसिला भयौं। यहोवाको सेवामा असल कुराहरू गर्न सक्छौं भन्‍ने विश्‍वास उहाँहरूले हाम्रो मनमा उमारिदिनुभयो। हामी सपरिवार राज्य प्रकाशकहरूको अत्यन्त खाँचो भएको एउटा मुलुकमा नयाँ मण्डलीहरू खडा गर्दै धेरै वर्षसम्म बस्यौं।”

१७ “हामी सही मार्गमा हिंड्‌न सक्नुको कारण थुप्रै कडा नियमहरू पालन गरेर होइन तर आमाबाबुको उदाहरण पछ्याएर हो। किनभने उहाँहरूलाई यहोवा वास्तविक, अत्यन्तै दयालु, र असल परमेश्‍वर लाग्थ्यो। उहाँहरू यहोवालाई अझ राम्ररी चिन्‍न र खुसी पार्न चाहनुहुन्थ्यो। हामीले उहाँहरूबाटै परमेश्‍वरको डर मान्‍न र उहाँलाई प्रेम गर्न सिक्यौं। हामीले कुनै गल्ती गर्दा समेत उहाँहरूले हामीलाई यो महसुस गराउनुभएन कि यहोवाले अबउसो हामीलाई माया गर्नुहुन्‍न। उहाँहरूले रिसाएर हामीलाई यो पनि नगर, त्यो पनि नगर भन्दै कडिकडाउ गर्नुभएन। गल्ती गर्दा हामीलाई सँगै राखेर शान्तसित सम्झाउनुहुन्थ्यो। आमाले चाहिं कोही बेला आँसु समेत झार्नुहुन्थ्यो। साँच्चै, यसले हाम्रो मन छुन्थ्यो। हामीले आमाबाबुको वचन र कामद्वारा के सिक्यौं भने, यहोवाको डर मान्‍नु सबैभन्दा असल कुरा हो र उहाँको साक्षी हुनु भार होइन बरु हर्ष र आनन्दको स्रोत हो।”—१ यूहन्‍ना ५:३.

१८. साँचो परमेश्‍वरको डर मान्दा हामी के पाउछौं?

१८ “दाऊदका आखिरी” शब्दहरूमध्ये केही यसरी लेखिएका छन्‌: “जसले न्यायसित मानिसहरूमाथि शासन गर्छ, जसले परमेश्‍वरको भय राखीकन शासन गर्छ, त्यो सूर्योदय हुँदा बिहानको ज्योतिजस्तै छ।” (२ शमूएल २३:१, ३, ४) दाऊदका छोरा तथा उत्तराधिकारी सुलेमानले यी शब्दहरूको महत्त्वलाई राम्ररी बुझेको थिए किनभने उनले यहोवासँग “बुझ्ने मन” र “असल र खराबको भेद” छुट्याउन सक्ने क्षमता मागे। (१ राजा ३:९) यहोवाको डर मान्‍नु बुद्धि र आनन्दको स्रोत हो भनेर सुलेमानले बुझे। पछि, तिनले उपदेशक किताबको अन्तमा यस्तो लेखे: “कुराको अन्त यही हो—कि तैंले सबै कुरा सुनिस्‌। परमेश्‍वरको भय राख्‌, र उहाँका आज्ञा पालन गर्‌। योबाहेक मानिसले गर्नुपर्ने अरू केही छैन। किनभने हामीले गरेको हरेक काम, असल होस्‌ वा खराब होस्‌ हरेक गुप्त कुराको न्याय परमेश्‍वरले गर्नुहुनेछ।” (उपदेशक १२:१३, १४) यो सल्लाह पालन गऱ्‍यौं भने, “नम्रता र परमप्रभुको भयले” बुद्धि र आनन्द मात्र होइन तर “धन, मान र जीवन” पनि दिन्छ भनेर थाह पाउनेछौं।—हितोपदेश २२:४.

१९. “परमप्रभुको भय” बुझ्न केले हामीलाई मदत गर्नेछ?

१९ परमेश्‍वरको स्वस्थकर डरले यहोवाका साँचो सेवकहरूको जीवनमा सकारात्मक भूमिका खेल्छ भनेर बाइबलमा भएका घटनाहरू र अहिलेका उदाहरणहरूबाट हामीले बुझ्यौं। यस्तो डरले स्वर्गमा बस्नुहुने हाम्रा पितालाई दुःखी बनाउनबाट त जोगाउँछ नै। त्यसको अलावा यसले हामीलाई विरोधीहरूको सामना गर्न साहस अनि जीवनमा आइपर्ने परीक्षा र सतावट सहन शक्‍ति पनि दिन्छ। त्यसैले, के जवान के वृद्ध, हामी सबै नै तनमनले परमेश्‍वरको वचन अध्ययन गरौं, सिकेका कुरा मनन गरौं र हृदयदेखि नै नियमित प्रार्थना गरेर यहोवाको नजिक होऔं। यसो गरेर हामीले “परमेश्‍वरको ज्ञान” पाउन सक्छौं र “परमप्रभुको भय” पनि बुझ्नेछौं।—हितोपदेश २:१-५. (w 06 8/1)

[फुटनोटहरू]

a नाउँ परिवर्तन गरिएको छ।

b दाऊदलाई भजन ५७ र १४२ रच्न उत्प्रेरित गर्ने घटनाहरूमध्ये यो पनि एक हुन सक्छ।

के तपाईं बुझाउन सक्नुहुन्छ?

• परमेश्‍वरको डरले पापपूर्ण कामबाट कसरी छुटकारा दिन सक्छ?

• परमेश्‍वरको डरले परीक्षा र सतावट आइपर्दा कसरी आनन्द दिन सक्छ?

• परमेश्‍वरको डरले उहाँको इच्छा गर्न हामीलाई कसरी बलियो बनाउन सक्छ?

• परमेश्‍वरको डर कसरी छोराछोरीलाई दिने बहुमूल्य सम्पत्ति हुन सक्छ?

[प्रश्‍नहरू]

[पृष्ठ २९-मा भएका चित्रहरू]

छोराछोरीलाई परमेश्‍वरको डर मान्‍न सिकाउनु भनेको आमाबाबुले तिनीहरूलाई दिन सक्ने बहुमूल्य सम्पत्ति हो