सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अय्यूब—धीरज र निष्ठाको उदाहरण

अय्यूब—धीरज र निष्ठाको उदाहरण

अय्यूब—धीरज र निष्ठाको उदाहरण

“के तैंले मेरो दास अय्यूबलाई याद गरिस्‌? परमेश्‍वरको डर राख्ने र दुष्ट कामबाट अलग रहने पृथ्वीमा त्योजस्तै निर्दोष र सोझो जीवन व्यतीत गर्ने मानिस तैंले कोही पाउनेछैनस्‌।”—अय्यूब १:८.

१, २. (क) अय्यूबमाथि एक्कासी कस्तो विपत्ति आइलाग्यो? (ख) विपत्ति भोग्नुअघि अय्यूबको जीवन कस्तो थियो, बताउनुहोस्‌।

 उहिलेको कुरा हो। एक जना व्यक्‍तिलाई हेर्दा लाग्थ्यो, तिनलाई कुनै कुराको कमी छैन। हुन पनि तिनी धनी थिए। सबैले तिनको आदर गर्थे। तिनी स्वस्थ थिए। तिनको सुखी परिवार पनि थियो। तर एकपछि अर्को गर्दै तिनीमाथि तीन चोटि विपत्ति आइलाग्छ। सबभन्दा पहिला हेर्दाहेर्दै तिनको सारा धनसम्पत्ति गुम्छ। त्यसपछि अचानक आएको आँधीबेहरीमा परेर तिनका सबै छोराछोरीको मृत्यु हुन्छ। अन्तमा, तिनलाई झन्‌-झनै कमजोर बनाउने रोग लाग्छ, जसको कारण तिनको जीउभरि घाउ निस्कन्छ। घाउ दुख्दा तिनी छटपटाउँथे। त्यतिबिघ्न दुःख पाउने को हुन्‌, तपाईंले थाह पाइसक्नुभयो होला, हैन? हो, तिनी अय्यूब हुन्‌, जसको नाउँमा बाइबलको एउटा पुस्तक नै छ।—अय्यूब अध्याय १ र २.

अय्यूबले चुकचुकाउँदै भने: “बितेका महीनाहरूको म कत्ति चाहना गर्दछु।” (अय्यूब ३:३; २९:२, NRV) हुन पनि, आपत्‌विपत्‌मा पर्दा कसलाई पो पहिलेको सुख याद आउँदैन र? अय्यूबले त झन्‌ सोझो जीवन बिताएका थिए। त्यसकारण तिनीमाथि आपत्‌विपत्‌ आइपर्ला भनेर सोच्नसमेत सकिन्‍नथ्यो। साथै, गन्‍नेमान्‍ने व्यक्‍तिहरू तिनलाई आदर गर्थे र तिनीसँग सल्लाह-सुझाव माग्थे। (अय्यूब २९:५-११) तिनीसित धन-दौलत त कति थियो कति! तरैपनि तिनले पैसालाई नै सब थोक ठानेनन्‌। (अय्यूब ३१:२४, २५, २८) विधवा अथवा टुहुराटुहुरीलाई भेट्‌नासाथ तिनी मदत गरिहाल्थे। (अय्यूब २९:१२-१६) आफ्नी श्रीमतीप्रति पनि तिनी वफादार थिए।—अय्यूब ३१:१, ९, ११.

३. यहोवाले अय्यूबलाई कस्तो ठान्‍नुभयो?

अय्यूबले निर्दोष भई जीवन बिताए किनभने तिनी परमेश्‍वर यहोवाको उपासक थिए। त्यसैकारण त यहोवाले “परमेश्‍वरको डर राख्ने र दुष्ट कामबाट अलग रहने पृथ्वीमा त्योजस्तै निर्दोष र सोझो जीवन व्यतीत गर्ने मानिस” अरू कोही छैन भन्‍नुभयो। (अय्यूब १:१, ८) तर अय्यूबले निष्ठावान्‌ भई नैतिक जीवन बिताए तापनि विपत्तिहरूले गर्दा तिनको सुखमय जीवनमा दुःखको भेल आयो। मेहनत गरेर कमाएको सब थोक गुम्यो। आफूलाई असल व्यक्‍ति प्रमाणित गर्न तिनले अनेकौं पीडा र निराशा झेल्नुपऱ्‍यो।

४. अय्यूबमाथि आइलागेको परीक्षा विचार गर्नु किन मदतकारी हुन्छ?

हुन त त्यसरी ठूलो क्षति बेहोर्ने परमेश्‍वरको सेवक अय्यूब मात्र होइनन्‌। अय्यूबले जस्तै आज थुप्रै मसीहीले दुःख पाएका छन्‌। त्यसकारण, दुइटा प्रश्‍न विचार गर्नु उचित देखिन्छ: अय्यूबमाथि आइलागेको परीक्षा सम्झ्यौं भने हामी पनि दुःखकष्ट सहन सक्नेछौं, तर कसरी? अनि अय्यूबले भोगेको परीक्षाले दुःखमा परेका व्यक्‍तिको मर्म बुझिदिन हामीलाई कसरी मदत गर्न सक्छ?

वफादारीको विवाद र निष्ठाको जाँच

५. शैतानको भनाइअनुसार अय्यूबले किन परमेश्‍वरको सेवा गरेका थिए?

अय्यूबले दुःख भोग्नुको कारण बेग्लै थियो। कुरा के भने, अय्यूबले परमेश्‍वरको सेवा गर्नुको मनसाय अर्कै छ भनेर शैतानले आरोप लगाएको थियो। तर त्यो कुरा अय्यूबलाई थाहै थिएन। स्वर्गमा उपस्थित भएको बेला यहोवाले शैतानलाई अय्यूबका असल गुणहरूबारे बताउनुभयो। तब शैतानले प्रश्‍न गर्दै भन्यो: “के तिनलाई, तिनका घराना र तिनका सबै धन-सम्पत्तिलाई तपाईंले चारैतिरबाट बार हालेर रक्षा गर्नुभएको छैन?” त्यसरी, शैतानले सुरुमा अय्यूबलाई अनि अय्यूबमार्फत परमेश्‍वरका सबै सेवकहरूलाई तिनीहरू आफ्नो स्वार्थ पूरा गर्न मात्र परमेश्‍वरको सेवा गर्छन्‌ भन्‍ने आरोप लगायो। शैतानले यहोवालाई भन्यो: “आफ्नो हात पसारेर तिनका सबैचीज छुनुहोस्‌, र तिनले तपाईंलाई तपाईंकै मुखको सामने सराप्नेछन्‌।”—अय्यूब १:८-११.

६. शैतानले कस्तो गम्भीर विवाद खडा गऱ्‍यो?

शैतानले निकै गम्भीर विवाद खडा गऱ्‍यो। त्यसले सुरुमा, यहोवाले आफ्नो सर्वोच्च अधिकार ठीकसँग प्रयोग गर्नुहुन्‍न भन्‍ने आरोप लगायो। शैतानको त्यस्तो आरोपले गर्दा शङ्‌का उत्पन्‍न भयो: ‘परमेश्‍वरले माया गरेर शासन गर्नुहुन्छ त भनिन्छ, तर के यो साँचो हो? अथवा शैतानले भनेझैं कतै मानिसहरूले फाइदाको लागि मात्र यहोवाको सेवा गर्ने हुन्‌ कि?’ आफ्नो सेवक अय्यूब निष्ठावान्‌ र वफादार रहनेछ भनेर यहोवालाई थाह थियो। त्यसकारण, पछिसम्मको लागि नजिर होस्‌ भनेर यहोवाले शैतानलाई अय्यूबको जाँच गर्ने अनुमति दिनुभयो। त्यसरी अनुमति पाउने बित्तिकै शैतानले अय्यूबमाथि एकपछि अर्को विपत्ति ल्यायो। पहिलो आक्रमणमा असफल भएपछि शैतानले अय्यूबको जीउभरि घाउ उब्जाइदियो। दियाबलको तर्क थियो: “चामको साटो चाम। आफ्नो ज्यान बचाउन मानिसले आफ्नो भएका सबै कुरा दिंदैन र?”—अय्यूब २:४.

७. परमेश्‍वरको सेवा गर्नेहरूले आज कसरी अय्यूबले जस्तै दुःख भोगेका छन्‌?

अय्यूबले जत्ति दुःख पाए, आज धेरैजसो मसीहीले त्यस हदसम्म दुःख नपाऊलान्‌। तर अरू नै किसिमका आपत्‌विपत्‌ले भने उनीहरूलाई पिरोलेकै हुन्छ। जस्तो—थुप्रैले सतावट भोगेका छन्‌ अथवा परिवारको विरोध सहेका छन्‌। गुजारा चलाउन पैसा भएन वा रोगबिमार लाग्यो भने पनि हरेस लागेर आउँछ। आफ्नो विश्‍वास त्याग्न नमान्दा कतिले ज्यान गुमाएका छन्‌। तर हामीलाई पिरोल्ने सबै दुःख शैतानले गर्दा नै भएको हो भनेर अडकल काट्‌नु ठीक हुँदैन। वास्तवमा, कति समस्या त हाम्रै गल्तीले गर्दा वा जन्मँदै हुने शारीरिक समस्याले गर्दा हुन्छ। (गलाती ६:७) हामी सबैलाई बुढ्यौलीले छुन्छ र कुन बेला हामीमाथि प्राकृतिक प्रकोप आइलाग्ने हो, थाहै हुँदैन। बाइबलमा स्पष्टसँग भनिएको छ, यहोवा आफ्ना सेवकहरूलाई अहिल्यै यस्ता कष्टहरूबाट चमत्कार गरेर जोगाउनुहुन्‍न।—उपदेशक ९:११.

८. हामीमाथि आइपर्ने दुःखकष्टको शैतानले कसरी फाइदा उठाउन सक्छ?

तर हामीमाथि आइपर्ने दुःखकष्टको फाइदा उठाएर शैतानले हाम्रो विश्‍वासलाई बिस्तारै कमजोर बनाउन सक्छ। प्रेरित पावलले “शरीरमा एक किसिमको छेस्को, र . . . शैतानको एउटा दूत[ले]” ‘मुक्का लाउँदा’ भएको कष्टबारे बताए। (२ कोरिन्थी १२:७) पावललाई भएको शारीरिक समस्या आँखाको कमजोरी थियो वा अरू नै, थाह छैन। तर शैतानले त्यसको फाइदा उठाएर आफूलाई निराश पार्न सक्छ भनेर पावललाई थाह थियो। त्यसरी निराश भएमा पावल आनन्दित हुन सक्ने थिएनन्‌ र निष्ठावान्‌ रहिरहन तिनलाई गाह्रो हुने थियो। (हितोपदेश २४:१०) आज, कुनै न कुनै तरिकामा परमेश्‍वरका सेवकहरूलाई सताउन शैतानले परिवारकै सदस्य, स्कूलको साथी अथवा तानाशाही सरकारहरूलाई समेत उचाल्न सक्छ।

९. आपत्‌विपत्‌ वा सतावट आउँदा हामी ताजुब हुनु पर्दैन, किन?

यस्ता समस्याहरूले घेर्दा विचलित नहुन के गर्नुपर्ला? यसको लागि हामीले ‘समस्या भनेको यहोवाप्रतिको हाम्रो प्रेम अटल छ र उहाँको सार्वभौमसत्ताको अधीनमा खुसीसाथ बस्छौं’ भनी देखाउने मौका ठान्‍नुपर्छ। (याकूब १:२-४) हामीमाथि दुःखकष्ट आइपर्नुको कारण जेसुकै होस्‌, परमेश्‍वरप्रति वफादार रहनु महत्त्वपूर्ण छ भनेर बुझ्यौं भने हामी आफ्नो आध्यात्मिकतालाई दुरुस्त राख्न सक्नेछौं। प्रेरित पत्रुसले मसीहीहरूलाई लेखे: “हे प्रिय हो, तिमीहरूलाई परीक्षा गर्न तिमीहरूमाथि परि आउने आगोसरहको परीक्षालाई केही अचम्मको कुरा भए जस्तैगरी तिमीहरू ताजुब नहोओ।” (१ पत्रुस ४:१२) पावलले पनि भने: “ख्रीष्ट येशूमा भक्‍तिसँग जीवन बिताउन इच्छा गर्नेहरू ता सबै जना खेदोमा पर्नेछन्‌।” (२ तिमोथी ३:१२) शैतानले अय्यूबको निष्ठामाथि प्रश्‍न खडा गरेझैं यहोवाका साक्षीहरूको निष्ठामाथि पनि शङ्‌का गर्न छोडेको छैन। साँच्चै भन्‍नुपर्दा, यस आखिरी दिनमा शैतानले परमेश्‍वरका जनहरूलाई झनै बढी आक्रमण गर्न थालेको छ भनी बाइबल संकेत गर्छ।—प्रकाश १२:९, १७.

कुरा राम्रोसँग नबुझ्नुका साथै गलत सल्लाह पाउँछन्‌

१०. अय्यूबलाई कुन कुरा थाह थिएन?

१० आफूमाथि आपत्‌विपत्‌ आइपर्नुको कारण अय्यूबलाई थाह थिएन। त्यसकारण, विपत्ति सहन तिनलाई निकै गाह्रो भयो। तर हामी भने यस विषयमा अजान छैनौं। अय्यूबले अन्जानमै यस्तो गलत निष्कर्ष निकाले: “परमप्रभुले दिनुभयो, औ परमप्रभुले लानुभयो।” (अय्यूब १:२१) अय्यूबले दुःख भोग्नुको कारण परमेश्‍वर नै हुनुहुन्छ भन्‍ने भान शैतानले जानाजानी पारिदिन खोज्यो।

११. विपत्ति आइलाग्दा अय्यूबले कस्तो प्रतिक्रिया देखाए, बताउनुहोस्‌।

११ अय्यूब साह्रै निराश भए। तैपनि आफ्नी पत्नीले परमेश्‍वरलाई सराप्न लगाउँदा तिनले त्यसो गरेनन्‌। (अय्यूब २:९, १०) अय्यूबले भने: ‘दुष्टहरूलाई केही नहुने तर मेरो हालतचाहिं किन यस्तो?’ (अय्यूब २१:७-९) ‘परमेश्‍वर मलाई किन सजाय दिनुहुँदैछ?’ अय्यूब तीनछक परे होलान्‌। कहिलेकाहीं त तिनलाई मर्न मन लाग्थ्यो। तिनले मनको दुःख पोख्दै भने: “तपाईंले मलाई पातालमा लुकाउनुभएता, औ तपाईंको रीस नमरुञ्जेल मलाई गुप्तमा राख्नुभएता . . . हुनेथियो!”—अय्यूब १४:१३.

१२, १३. अय्यूबका तीन जना साथीले भनेको कुराले अय्यूबलाई कस्तो असर पाऱ्‍यो?

१२ अय्यूबका तीन जना साथी थिए। “सहानुभूति प्रकट गर्न र . . . सान्त्वना दिन” आएजस्तो गरी उनीहरू अय्यूबलाई भेट्‌न आए। (अय्यूब २:११) तर उनीहरूले “व्यर्थका सान्त्वना” दिए। (अय्यूब १६:२) मनको पीर-व्यथा साथीहरूसँग बाँड्‌न सकेको भए सायद अय्यूबको मन हल्का हुन्थ्यो होला। तर ती साथीहरूले अय्यूबलाई झनै नकारात्मक बनाइदिए र अत्यन्तै निराश पारिदिए।—अय्यूब १९:२; २६:२.

१३ त्यसकारण अय्यूबले आफैसँग यस्तो प्रश्‍न गरेको हुनुपर्छ: ‘मलाई नै किन यतिबिघ्न कष्ट भएको? मैले त्यस्तो नराम्रो काम के नै गरेको छु र?’ साथीहरूको कुरा पूरै भर्माउने खालको थियो। उनीहरूको विचारमा अय्यूबले गम्भीर पाप गरेको कारण तिनीमाथि कष्ट आइलागेको हो। तर एलिपजले भने: “निर्दोष मानिस कहिल्यै नाश भएको छ? . . . यति मलाई थाह छ, कि अधर्म जोत्ने र दुःख छर्नेहरूले आफैले छरेको कुराको कटनी गर्छन्‌।”—अय्यूब ४:७, ८.

१४. गलत आचरणले गर्दा नै दुःखकष्ट हुन्छ भनिहाल्नु मिल्दैन, किन?

१४ हो, आत्माअनुसार नभई शरीरअनुसार रोप्यौं भने समस्या खडा हुन सक्छ। (गलाती ६:७, ८) तर हामी बाँचिरहेको समयमा हाम्रो आचरण जतिसुकै राम्रो भए पनि समस्या नआउने त कुरै छैन। यसबाहेक, निर्दोष व्यक्‍तिहरूलाई पनि अवश्‍य कष्ट हुन्छ। येशू ख्रीष्टलाई नै विचार गर्नुहोस्‌। उहाँ “निष्कलङ्‌क [र] पापीहरूबाट अलग” हुनुभए तापनि उहाँलाई शासनाको खम्बामा झुन्ड्याएर तड्‌पाइ-तड्‌पाइ मारियो अनि प्रेरित याकूब पनि शहीद हुनुपऱ्‍यो। (हिब्रू ७:२६; प्रेरित १२:१, २) एलीपज र तिनका दुई जना साथीले गलत तर्क-वितर्क गर्दै गएपछि अय्यूबलाई आफ्नो असल नाउँ जोगाउन कर लाग्छ र निर्दोष छु भनेर ढिपी नकसी हुँदैन। तरैपनि, गलत काम गरेको कारण नै अय्यूबले दुःख पाएको हो भनेर उनीहरूले जिद्दी गर्न छाडेनन्‌! उनीहरूको त्यस्तो जिद्दी सुन्दा-सुन्दा अय्यूबले परमेश्‍वरको न्यायमाथि पक्कै शङ्‌का गरे होलान्‌।—अय्यूब ३४:५; ३५:२.

दुःखकष्ट भएकै बेला मदत

१५. दुःखकष्ट आइपर्दा के विचार गर्नु बेस हुन्छ?

१५ अय्यूबको जीवनीबाट सिक्न सकिने पाठ छ कि? अवश्‍य छ! आपत्‌विपत्‌, रोगबिमार वा सतावट आइपर्दा हामीलाई ठ्याम्मै चित्त नबुझ्न सक्छ। यसो हेर्दा अरूलाई चाहिं यस्ता समस्याहरू हुँदै नभएजस्तो लाग्न सक्छ। (भजन ७३:३-१२) कहिलेकाहीं हामीले आफैसित यस्ता प्रश्‍नहरू सोध्नुपर्ने हुन सक्छ: ‘के परमेश्‍वरप्रतिको प्रेमले मलाई जस्तोसुकै अवस्थामा पनि उहाँको सेवा गर्न उत्प्रेरित गर्छ? के मसित यहोवाको “आलोचना गर्नेहरूलाई . . . मुखभरिको जवाफ” दिने उत्कट इच्छा छ? (हितोपदेश २७:११; मत्ती २२:३७) अरूले जे-जे भन्छन्‌, त्यही पत्याएर स्वर्गमा बस्नुहुने पिताले हामीलाई मदत गर्नुहुन्छ कि गर्नुहुन्‍न होला भनी शङ्‌का गर्नु हुँदैन। एक समयको कुरा हो, गम्भीर रोग लागेको वर्षौं भइसकेको विश्‍वासी मसीही बहिनीले भनिन्‌: “यहोवाले जे हुन दिनुहुन्छ त्यो सहन म तयार छु। उहाँले मलाई सहने बल दिनुहुनेछ भनेर मलाई थाह छ किनकि उहाँले सधैं मदत गर्दै आउनुभएको छ।”

१६. परमेश्‍वरको वचनले गाह्रो अवस्थामा भएका व्यक्‍तिहरूलाई कसरी मदत गर्छ?

१६ शैतानका युक्‍तिहरूबारे अय्यूबलाई थाह नभएको कुरा आज हामीलाई थाह छ। त्यसका दुष्ट दाउपेच अथवा “युक्‍तिहरूका विषयमा हामी अजान छैनौं।” (२ कोरिन्थी २:११) साथै, हामीलाई प्रशस्त व्यावहारिक बुद्धि पनि दिइएको छ। जस्तो कि—विभिन्‍न कठिनाइहरू सहेका विश्‍वासी पुरुष तथा स्त्रीहरूको विवरण बाइबलमा पाउन सक्छौं। मसीहीहरूमध्ये सबभन्दा धेरै कष्ट भोग्ने व्यक्‍ति, प्रेरित पावलले लेखे: “जत्ति कुरा अघि लेखिए, ती सबै हाम्रो शिक्षाको निम्ति हो, कि धीरज र धर्मशास्त्रको शान्तिद्वारा हामीलाई आशा होस्‌।” (रोमी १५:४) दोस्रो विश्‍वयुद्धको बेला आफ्नो विश्‍वासको कारण बन्दी बनाइएका युरोपका एक साक्षीले तीन दिनको सामलसित एउटा बाइबल साटे। तिनी भन्छन्‌: “त्यसरी साटेकोमा म धेरै खुसी छु! शारीरिक रूपमा मलाई भोक लागे पनि आध्यात्मिक खाना भने अघाउन्जेल खान पाएँ। तनावग्रस्त त्यस समयमा दृढ रहन मलगायत अरूलाई त्यही आध्यात्मिक खानाले मदत गऱ्‍यो। त्यो बाइबल आज पनि मसँगै छ।”

१७. हामीले सहन सकोस्‌ भनेर परमेश्‍वरले के-कस्तो प्रबन्ध मिलाउनुभएको छ?

१७ बाइबलबाट सान्त्वना त पाउँछौं नै, यसबाहेक बाइबलको कुरा बुझ्न मदत गर्ने अरू साधनहरू पनि छन्‌। ती साधनले हामीलाई समस्याहरूसित जुझ्न धेरै मदत गर्छ। जस्तो: वाच टावर पब्लिकेशन्स्‌ इन्डेक्स्‌ अथवा प्रहरीधरहरा पत्रिकामा हेर्नुभयो भने, तपाईंको जस्तै समस्या भएका सँगी मसीहीको अनुभव भेट्टाउनुहुनेछ। (१ पत्रुस ५:९) बुज्झकी प्राचीन र अरू परिपक्व मसीहीहरूसित आफ्नो अवस्थाबारे कुरा गर्नु पनि राम्रो हुन्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा त, यहोवालाई प्रार्थना गर्नुपर्छ किनभने उहाँले तपाईंलाई मदत मात्र होइन, पवित्र आत्मा पनि दिनुहुन्छ। पावलले कसरी शैतानको ‘मुक्का’ सहन सके? परमेश्‍वरको शक्‍तिमा भर पर्न सिकेर। (२ कोरिन्थी १२:९, १०) तिनले यस्तो लेखे: “जसले मलाई शक्‍ति दिनुहुन्छ उहाँमा सबै कुरा म गर्नसक्छु।”—फिलिप्पी ४:१३.

१८. सँगी मसीहीहरूले कसरी अमूल्य प्रोत्साहन दिन सक्छन्‌?

१८ हो, मदत पाउन सकिन्छ र मदत माग्न कहिल्यै अप्ठ्यारो मान्‍नु हुँदैन। एउटा हितोपदेशमा भनिएको छ: “सुदिनमा तेरो बल घट्यो भनेदेखि विपत्‌को दिनमा तँ झन्‌ कति असहाय हुनेछस्‌।” (हितोपदेश २४:१०) धमिराले काठको घरलाई भित्र-भित्रै खोक्रो पारेर गर्लम्म लडाएजस्तै निरुत्साहले पनि मसीहीको निष्ठा बिस्तारै कमजोर बनाइदिन्छ। तर आफ्ना सेवकहरू खटाएर यहोवा हामीलाई यस्तो खतराबाट जोगाउनुहुन्छ। जस्तो—येशू गिरफ्तार हुनुभएको रात एउटा स्वर्गदूत उहाँलाई बल दिन उहाँकहाँ आए। (लूका २२:४३) पावललाई कैदी बनाएर रोमतर्फ लगिंदै गर्दा अप्पियसको बजार र तीन-पाटी भन्‍ने ठाउँमा भाइहरू तिनलाई भेट्‌न आए। ती भाइहरूलाई देखेर पावलले “परमेश्‍वरमा धन्यवाद चढाए, र हौसला लिए।” (प्रेरित २८:१५) जर्मनीकी एउटी साक्षी, राभान्सब्रुक यातना शिविरमा आउँदा डरले तिनको मुटु ढुकढुक भइरहेको थियो। त्यस्तो अवस्थामा पाएको मदत सम्झिंदै तिनी भन्छिन्‌: “शिविरमा पुग्नासाथ एउटी मसीही बहिनीले मलाई देखेर न्यानो स्वागत गर्नुभयो। अर्की मसीही बहिनीले चाहिं मेरो धेरै ख्याल राख्नुभयो र मेरी आध्यात्मिक आमा बन्‍नुभयो।”

“विश्‍वासी होऊ”

१९. शैतानले लगाएको आरोप झूटो साबित गर्न कुन कुराले अय्यूबलाई मदत गऱ्‍यो?

१९ यहोवाले अय्यूबको विषयमा भन्‍नुभयो, “त्यसको निष्ठा अझसम्म ढलपल भएको छैन।” (अय्यूब २:३) निराशाले छोपे तापनि र आफूले दुःख भोग्नुको कारण थाह नपाए पनि अय्यूब परमेश्‍वरप्रति वफादार रहे। त्यसरी वफादार रहन अय्यूबले जे-जे गरे, त्यो तिनले यहोवाप्रति निष्ठावान्‌ रहन गरेका थिए। तिनले यस्तो जिकिर गरिरहे: “म निर्दोष [“निष्ठावान्‌,” NW] छु भन्‍ने मेरो दाबीलाई म छोड्‌नेछैनँ।—अय्यूब २७:५.

२०. धीरज धारण गर्नु किन लाभदायी छ?

२० यस किसिमको सङ्‌कल्पले हामीलाई प्रलोभन आउँदा होस्‌ वा विरोध अथवा दुःखकष्ट हुँदा, जस्तोसुकै परिस्थितिमा निष्ठावान्‌ रहन मदत गर्नेछ। येशूले स्मर्नाको मण्डलीलाई भन्‍नुभयो: “तिमीले कष्ट भोग्न लागेका कुराहरूसँग नडराऊ, हेर, तिमीहरू परीक्षामा पर भनेर शैतानले तिमीहरूमध्ये कुनै कुनैलाई कैदमा हाल्नआँटेको छ, र तिमीहरूलाई दशै दिन कष्ट [समस्या, दुःख अथवा अत्याचार] हुनेछ। तिमी मृत्युसम्मै विश्‍वासी होऊ, र म तिमीलाई जीवनको मुकुट दिनेछु।”—प्रकाश २:१०.

२१, २२. कस्तो कुरा विचार गऱ्‍यौं भने दुःखकष्ट हुँदा सान्त्वना पाउन सक्छौं?

२१ शैतानले शासन गरिरहेको यस दुनियाँमा हाम्रो धीरज र निष्ठाको जाँच हुनेछ। तर भविष्यको कुरा विचार गऱ्‍यौं भने, डराउनुपर्ने कारण छैन भनी येशू हामीलाई आश्‍वासन दिनुहुन्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको हामीले आफूलाई विश्‍वासी साबित गर्नुपर्छ। पावलले भने: ‘कष्ट क्षणभरको’ हुन्छ तर यहोवाले हामीलाई दिन्छु भन्‍नुभएको इनाम “अतुलनीय तथा अनन्तको” छ। (२ कोरिन्थी ४:१७, १८; NRV) परीक्षा हुनुअघि र पछि अय्यूबले पाएको आनन्दको तुलनामा तिनको दुःखकष्टसमेत क्षणभरको थियो।—अय्यूब ४२:१६.

२२ तर कहिलेकाहीं हामीलाई समस्याहरू यतिकै रहिरहन्छ जस्तो लाग्न सक्छ र दुःखकष्ट सहन पनि हम्मे-हम्मे पर्न सक्छ। अय्यूबको अनुभवबाट धीरज धारण गर्ने विषयमा अझै कस्तो पाठ सिक्न सक्छौं, सो अर्को लेखमा छलफल गरौंला। साथै, दुःखकष्ट भोगिरहेकाहरूलाई बलियो बनाउन सकिने तरिकाहरू पनि विचार गर्नेछौं। (w 06 8/15)

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• अय्यूबको निष्ठाको विषयमा शैतानले कस्तो गम्भीर विवाद खडा गऱ्‍यो?

• दुःखकष्ट आइपर्दा ताजुब मान्‍नु पर्दैन, किन?

• धीरजी हुन यहोवाले हामीलाई कसरी मदत गर्नुहुन्छ?

[प्रश्‍नहरू]

[पृष्ठ ११-मा भएका चित्रहरू]

अनुसन्धान गऱ्‍यौं, परिवक्व मसीहीहरूसित कुरा गऱ्‍यौं र प्रार्थना गरेर मनको कुरा यहोवालाई भन्यौं भने हामी धीरज धारण गर्न सक्नेछौं