सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“तिमीहरूले अय्यूबको स्थिरताको विषयमा सुनेका छौ”

“तिमीहरूले अय्यूबको स्थिरताको विषयमा सुनेका छौ”

“तिमीहरूले अय्यूबको स्थिरताको विषयमा सुनेका छौ”

“तिमीहरूले अय्यूबको स्थिरताको विषयमा सुनेका छौ, र प्रभुको अभिप्राय पनि देखेका छौं, कि प्रभु कस्तो करुणामय र कृपालु हुनुहुन्छ।”—याकूब ५:११, NRV.

१, २. पोल्याण्डका एक दम्पतीले कस्तो परीक्षा सहनुपऱ्‍यो?

 हाराल्ट आप्ट यहोवाको साक्षी भएको वर्षदिन पनि नपुग्दै हिटलरको सेनाले उत्तरी पोल्याण्डको डाजिज भन्‍ने ठाउँ कब्जा गऱ्‍यो। (अहिले डाजिजलाई डान्सीग भनिन्छ) त्यसपछि डाजिजका साँचो मसीहीहरूलाई निकै गाह्रो भयो। हो, उनीहरूको जीवनै खतरामा पऱ्‍यो। नाजी गुप्त प्रहरीले (गेस्टापो) हाराल्टलाई ‘मैले आफ्नो विश्‍वास त्यागें’ भनेर लेखिएको कागजमा सही गर्न लगायो। तर तिनले सही गर्न मानेनन्‌। केही हप्ता जेलमा राखेपछि हाराल्टलाई साक्सेनहाउसेन यातना शिविरमा पठाइयो। त्यहाँ तिनलाई घरी-घरी ज्यान मार्ने धम्की दिइयो र धेरै चोटि पिटियो। एक जना अफिसरले लास जलाउने कोठाको चिम्नीतिर देखाउँदै हाराल्टलाई भने: “आफ्नो विश्‍वास त्यागिनस्‌ भने अबको १४ दिनभित्र तँलाई यही चिम्नीबाट तेरो यहोवाकहाँ पठाइदिन्छु, बुझिस्‌!”

हाराल्ट पक्राउ पर्दा तिनकी पत्नी एल्जाले छोरी पाएको दस महिना मात्र भएको थियो। तर गेस्टापोले एल्जालाई पनि बाँकी राखेन। तिनको काखे छोरी खोसियो र तिनलाई चाहिं मार्नको लागि पोल्याण्डको अस्वीच भन्‍ने ठाउँको शिविरमा पठाइयो। तर हाराल्टले जस्तै एल्जाले पनि वर्षौंसम्म आफ्नो ज्यान जोगाउन सकिन्‌। केले उनीहरूलाई स्थिर रहन मदत गऱ्‍यो भन्‍ने कुरा सन्‌ १९८०, अप्रिल १५ को द वाचटावर-मा अझ बढी पढ्‌न सक्नुहुन्छ। हाराल्टले लेखेका छन्‌: “परमेश्‍वरमाथि विश्‍वास गरेको कारण यातना शिविर अनि अरू जेलहरूमा मैले जम्माजम्मी १४ वर्ष बिताएँ। धेरैले मलाई सोध्ने गर्छन्‌: ‘के तपाईंकी पत्नीले यी सब कष्ट सहन मदत गरिन्‌?’ अवश्‍य! उनले आफ्नो विश्‍वासमा कहिल्यै सम्झौता गर्दिनन्‌ भनेर मलाई थाह थियो। त्यस कुराले मलाई सहने बल दियो। आफ्नो विश्‍वासमा सम्झौता गरेर म स्वतन्त्र भएको हेर्नुभन्दा मेरो लास हेर्न उनलाई ठीक लाग्नेछ भन्‍ने कुरा पनि मलाई थाह थियो। . . . जर्मनीको यातना शिविरमा बस्दा एल्जालाई धेरै दुःख दिइयो।”

३, ४. (क) क-कसको उदाहरणले मसीहीहरूलाई धीरज धारण गर्न मदत गर्छ? (ख) बाइबलले हामीलाई अय्यूबको अनुभव विचार गर्न आग्रह गर्नुको कारण के हो?

कष्ट सहनु कदापि सजिलो छैन भन्‍ने कुरा थुप्रै साक्षीको उदाहरणबाट प्रस्ट हुन्छ। त्यसैकारण त बाइबल सबै मसीहीलाई यस्तो सल्लाह दिन्छ: “कष्ट भोग र धैर्यको उदाहरण कस्तो हुनुपर्ने हो, सो [यहोवाको] नाउँमा बोल्ने अगमवक्‍ताहरूलाई हेर।” (याकूब ५:१०, NRV) इतिहासभरि नै परमेश्‍वरका कैयौं सेवकहरूलाई विनाकारण सताइएको छ। परमेश्‍वरको सेवा गर्ने यस्ता व्यक्‍तिहरू “गवाहीका [ठूला] मेघ” हुन्‌ र उनीहरूको उदाहरणले हामीलाई आफ्नो मसीही दौड धीरजसँग दौडिरहन प्रोत्साहन दिन्छ।—हिब्रू ११:३२-३८; १२:१.

बाइबल रेकर्ड पल्टाएर हेर्दा, धीरज धारण गर्ने व्यक्‍तिहरूको सूचीमा अय्यूब अग्रपङ्‌क्‍तिमा भएको पाउँछौं। त्यसकारण त याकूबले लेखे: “हेर, धैर्य धारण गर्नेहरूलाई हामी धन्यका भन्छौं। तिमीहरूले अय्यूबको स्थिरताको विषयमा सुनेका छौ, र प्रभुको अभिप्राय पनि देखेका छौं, कि प्रभु कस्तो करुणामय र कृपालु हुनुहुन्छ।” (याकूब ५:११, NRV) अय्यूबले पाएको इनाम, यहोवाका वफादार जनहरूले भविष्यमा पाउने इनामको झलक हो। यस्तो इनाम पाउने आफ्ना जनहरूलाई यहोवा आशिष्‌ दिनुहुन्छ। अझ महत्त्वपूर्ण कुरा त, अय्यूबको अनुभवबाट यस्तो वास्तविक कुरा पनि थाह पाउन सक्छौं, जसले हामीलाई आपत्‌विपत्‌ आइपर्दा विचलित नहुन मदत गर्छ। अय्यूबको पुस्तकले यस्ता प्रश्‍नहरूको जवाफ पाउन पनि मदत गर्छ: परीक्षा आउँदा हामीले महत्त्वपूर्ण विवादहरू बुझ्ने कोसिस गर्नै पर्छ, किन? कस्तो गुण र मनोवृत्तिले हामीलाई धीरज धारण गर्न मदत गर्छ? कष्ट भोगिरहेका सँगी मसीहीहरूलाई हामी कसरी बलियो बनाउन सक्छौं?

परिस्थिति राम्रोसँग बुझ्नुहोस्‌

५. परीक्षा वा प्रलोभन आउँदा भुल्न नहुने महत्त्वपूर्ण विवाद के हो?

कष्ट हुँदासमेत आध्यात्मिक सन्तुलन नगुमाउन परिस्थिति राम्रोसँग बुझ्नु जरुरी छ। नत्र, व्यक्‍तिगत समस्याहरूले गर्दा आध्यात्मिकताप्रतिको हाम्रो जोस त्यसै-त्यसै सेलाएर जान सक्छ। परमेश्‍वरप्रति वफादार रहन्छौं कि रहँदैनौं भन्‍ने विवाद कहिल्यै भुल्नु हुँदैन। स्वर्गमा बस्नुहुने पिता यहोवा हामीलाई यो कुरा मनमा ठप्प राख्न आग्रह गर्नुहुन्छ: “हे मेरो छोरो, बुद्धिमान हो, र त्यसले मेरो हृदयलाई आनन्दित तुल्याउँछ, र मेरो आलोचना गर्नेहरूलाई म मुखभरिको जवाफ दिनसक्छु।” (हितोपदेश २७:११) हामीलाई यसरी आग्रह गरिनु त ठूलो सम्मानको कुरा हो नि, हैन र? शारीरिक रूपमा कमजोर अनि असिद्ध छौं त के भो, हामी सृष्टिकर्ता यहोवालाई खुसी बनाउन सक्छौं। यहोवाप्रतिको प्रेमले हामीलाई परीक्षामा नपर्न र प्रलोभनहरूमा नफस्न बल दिने भएकोले हामी यसो गर्न सक्छौं। साँचो मसीही प्रेमले सबै कुरा सहन्छ। यस्तो प्रेम कहिल्यै टल्दैन।—१ कोरिन्थी १३:७, ८.

६. शैतानले के गरेर यहोवाको आलोचना गर्छ र यहोवाबाहेक अरू क-कसको पनि त्यसले आलोचना गर्छ?

शैतानले यहोवाको आलोचना गर्छ भनेर अय्यूबको पुस्तकमा प्रस्टसित बताइएको छ। यहोवाको त्यस शत्रुलाई देख्न सकिंदैन। त्यसको नियत ठीक छैन र परमेश्‍वरसित हामीले गाँसेको सम्बन्धलाई बिगारीदिन खोज्छ। खासमा, यहोवाका सबै सेवकहरूले आफ्नो स्वार्थ पूरा गर्न मात्र परमेश्‍वरको सेवा गर्छन्‌ भन्‍ने शैतानको आरोप छ। त्यो शैतान, परमेश्‍वरका सेवकहरूको प्रेम सेलाएर जान्छ भनेर प्रमाणित गर्न चाहन्छ। त्यसले अय्यूबलाई पनि त्यस्तै आरोप लगाएको थियो। त्यसले हजारौं वर्षदेखि परमेश्‍वरको आलोचना गर्दै आएको छ। शैतानलाई स्वर्गबाट निकालिएको दर्शन देख्दा प्रेरित यूहन्‍नाले एउटा ठूलो आवाज सुने। आवाजमा भनिएअनुसार त्यस शैतानले “हाम्रा भाइहरूलाई दोष” लगाउँछ र “परमेश्‍वरको सामुन्‍ने दिनरात” यस्तो दोष लगाइरहन्छ। (प्रकाश १२:१०, NRV) वफादार भई धीरज धारण गरेर हामी शैतानले लगाएका आरोपहरू बिलकुल गलत साबित गर्न सक्छौं।

७. शारीरिक रूपमा कमजोर हुँदा के गर्नु सबभन्दा राम्रो हुन्छ?

हामीमाथि आइपर्ने कष्ट जेसुकै होस्‌, त्यसैलाई चलाएर दियाबलले हामीलाई यहोवादेखि टाढा पार्न सक्छ भनेर कहिल्यै बिर्सनु हुँदैन। दियाबलले येशूलाई कहिले प्रलोभनमा पार्न खोज्यो, सोच्नुहोस्‌ त! हो, धेरै दिनको उपवासपछि उहाँ भोकाउनुभएको बेला। (लूका ४:१-३) तर येशू आध्यात्मिक रूपमा बलियो हुनुभएको कारण उहाँले दियाबलका प्रलोभनहरू ठाडै इन्कार गर्न सक्नुभयो। रोग अथवा बुढ्यौलीको कारण हुन सक्ने शारीरिक कमजोरीलाई आध्यात्मिक बलले जित्नु साँच्चै कत्ति महत्त्वपूर्ण छ! “हाम्रो बाहिरी मनुष्यत्व नाश” भए पनि हामी हरेस खाँदैनौं किनभने “हाम्रो भित्री मनुष्यत्वचाहिं दिनदिनै नयाँ हुँदै आएको हुन्छ।”—२ कोरिन्थी ४:१६.

८. (क) नकारात्मक सोचाइले कसरी भित्रभित्रै असर गर्न सक्छ? (ख) येशूको मनसाय कस्तो थियो?

नकारात्मक सोचाइ मनमा खेलाइरहँदा पनि हाम्रो आध्यात्मिकता खस्किन सक्छ। चित्त नबुझेपछि कोही-कोही भन्‍ने गर्छन्‌, ‘यहोवाले किन यस्तो हुन दिनुभएको होला?’ कसैले मन दुख्ने व्यवहार गर्दा कतिले चाहिं प्याच्च भनिहाल्न सक्छन्‌, ‘साक्षी भएर पनि यस्तो व्यवहार गर्ने?’ यस्तो कुराले गर्दा मन कुँडियो भने, महत्त्वपूर्ण विवाद चटक्कै बिर्सिन सक्छौं र आफ्नै कुरामा मात्र ध्यान जान बेर लाग्दैन। अय्यूबलाई विचार गर्नुहोस्‌। आफ्ना तीन जना साथीले गलत आरोप लाएपछि तिनी निराश भए। शारीरिक समस्याले तिनलाई जति सतायो, भावनात्मक रूपमा तिनलाई निराशाले पनि त्यति नै चोट पुऱ्‍यायो। (अय्यूब १६:२०; १९:२) त्यसै गरी, मनमा रिस पालिराख्यौं भने, “शैतान[ले] मौका” पाउन सक्छ भनेर प्रेरित पावलले औंल्याए। (एफिसी ४:२६, २७) त्यसकारण, रिसले बम्किनुको सट्टा अथवा कसैमाथि निराशा पोख्नु वा आफूलाई चित्त नबुझेको कुरामा मात्र घोरिनुभन्दा येशूको अनुकरण गर्दै “धर्मसँग इन्साफ गर्ने” यहोवा परमेश्‍वरकहाँ “आफैलाई सुम्पिदिनु” बेस हुन्छ। (१ पत्रुस २:२१-२३) येशूको जस्तै “मनसाय” राख्यौं भने, शैतानको आक्रमण निस्तेज पार्न सक्नेछौं।—१ पत्रुस ४:१.

९. हामीमाथि आइपर्ने बोझ अथवा प्रलोभनको विषयमा परमेश्‍वर कस्तो आश्‍वासन दिनुहुन्छ?

होस पुऱ्‍याउनै पर्ने कुरा त, परमेश्‍वर रिसाउनुभएकोले नै हामीमाथि समस्या आइपरेको हो भनेर अड्‌कल काट्‌नु ठीक हुँदैन। व्यर्थको सान्त्वना दिने साथीहरूले बिझाउने कुरा गरेर अय्यूबको चित्त दुखाउँदा अय्यूबले त्यस्तै अड्‌कल काटे। (अय्यूब १९:२१, २२) बाइबल हामीलाई आश्‍वासन दिंदै भन्छ: “खराब कुराबाट परमेश्‍वरको परीक्षा हुनसक्‍तैन, औ उहाँ आफैले कुनै मानिसको परीक्षा गर्नुहुन्‍न।” (याकूब १:१३) तर, जस्तोसुकै बोझले हामीलाई थिचे पनि त्यो बोझ थाम्न मदत गर्ने र हैरान पार्ने जस्तोसुकै प्रलोभनबाट उम्कने बाटो देखाइदिन्छु भनी यहोवा प्रतिज्ञा गर्नुहुन्छ। (भजन ५५:२२; १ कोरिन्थी १०:१३) आपत्‌विपत्‌ आइपर्दा परमेश्‍वरको नजिक भयौं भने, परिस्थिति राम्रोसँग बुझ्न सक्नेछौं र दियाबलको विरोध गर्न पनि सफल हुनेछौं।—याकूब ४:७, ८.

धीरज धारण गर्न मदत

१०, ११. (क) कुन कुराले अय्यूबलाई धीरज धारण गर्न मदत गऱ्‍यो? (ख) अन्तस्करण सफा राखेको कारण अय्यूबले कस्तो महसुस गर्न सके?

१० अय्यूबले साह्रै दुःख पाए। त्यसमाथि “व्यर्थका सान्त्वना दिने” साथीहरूले नानाभाँति कुरा गरेर तिनलाई दिक्क पारे। आफूमाथि आइलागेको आपत्‌विपत्‌को मुख्य कारण पनि तिनले बुझ्न सकेनन्‌। तरैपनि तिनको निष्ठा ढलपल भएन। तिनको धीरजबाट सिक्न सकिने पाठ छ कि? अवश्‍य छ! परमेश्‍वरप्रति वफादार भएको कारण अय्यूब निष्ठावान्‌ रहन सकेका थिए। “तिनी परमेश्‍वरसँग डराउँथे र खराब कामबाट अलग रहन्थे।” (अय्यूब १:१) हो, तिनी जीवनभर निष्ठावान्‌ रहे। एक्कासी परिस्थिति बिग्रिनुको कारण बुझ्न नसके तापनि अय्यूबले यहोवालाई कहिल्यै सरापेनन्‌। अय्यूबले सजिलो/अप्ठ्यारो जस्तोसुकै परिस्थितिमा परमेश्‍वरको सेवा गर्ने अठोट गरेका थिए।—अय्यूब १:२१; २:१०.

११ आफ्नो अन्तस्करण सफा राखेको कारण पनि अय्यूब ढुक्क थिए। तिनले अरूलाई सकेसम्म मदत गर्नुका साथै यहोवाको धार्मिक स्तरअनुसार चलेका थिए र हरेक किसिमको झूटो उपासनाबाट पनि टाढै बसेका थिए। ज्यानै जालाजस्तो हुँदा समेत अय्यूब ढुक्क हुन सक्नुको कारण त्यही थियो।—अय्यूब ३१:४-११, २६-२८.

१२. एलीहूले दिएको मदतप्रति अय्यूबले कस्तो प्रतिक्रिया देखाए?

१२ त्यसोभए तापनि कुनै-कुनै विषयमा अय्यूबको सोचाइ नसच्याइ भएन। खुसीको कुरा, अय्यूबले नम्र भई मदत स्वीकारे। तिनले धीरज धारण गर्न सक्नुको अर्को कारण त्यही थियो। अय्यूबले एलीहूको बुद्धिमानी सल्लाह आदरभावसाथ सुने र यहोवाको सुधार खुसीसाथ स्वीकारे। तिनले यसो भन्दै आफ्नो गल्ती स्वीकारे: “मैले ता म आफैले नजानेका . . . विषयमा भनेको छु, . . . यसैकारण म आफूलाई तुच्छ ठान्छु, म धूलो र खरानीमा बसेर पश्‍चाताप गर्दछु।” (अय्यूब ४२:३, ६) रोगले ग्रस्त पार्दा समेत अय्यूब खुसी थिए किनभने आफ्नो सोचाइ सच्याएपछि तिनी परमेश्‍वरसित घनिष्ठ हुन सके। अय्यूबले भने: “तपाईं [यहोवा] सबै कुरा गर्नसक्नुहुन्छ भनी म जान्दछु।” (अय्यूब ४२:२) यहोवाले आफ्नो महानताबारे स्पष्ट पार्नुभएपछि मात्र अय्यूबले सृष्टिकर्ताको तुलनामा आफ्नो स्थान छर्लङ्‌गसित बुझे।

१३. दयालु हुँदा अय्यूबलाई धेरै सजिलो भयो, कसरी?

१३ यसबाहेक, अय्यूब दयालु व्यक्‍ति भनेर पनि चिनिन्थे। जस्तै—व्यर्थको सान्त्वना दिने तीन जना साथीले अय्यूबको साह्रै चित्त दुखाएका थिए। तर यहोवाले अय्यूबलाई उनीहरूका लागि पनि प्रार्थना गर भन्‍नुहुँदा तिनले के गरे? हो, तिनले उनीहरूका लागि पनि प्रार्थना गरे। त्यसपछि यहोवाले अय्यूबलाई पहिलेजस्तै स्वस्थ हुन मदत गर्नुभयो। (अय्यूब ४२:८, १०) कुरा स्पष्ट छ, धीरज धारण गर्न रिस होइन, प्रेम र दया चाहिन्छ। मनबाट रिस हटायौं भने, यहोवाको उपासनाबाट आध्यात्मिक बल पाउनेछौं र यसो गर्नेहरूलाई यहोवा आशिष्‌ दिनुहुन्छ।—मर्कूस ११:२५.

धीरज धारण गर्न मदत दिने बुद्धिमान्‌ सल्लाहकारहरू

१४, १५. (क) निको पार्ने गरी कुरा गर्ने हो भने सल्लाहकारसित कस्ता गुणहरू हुनुपर्छ? (ख) एलीहूले अय्यूबलाई मदत गर्न सक्नुको कारण के थियो, बताउनुहोस्‌।

१४ अय्यूबको विवरणबाट सिक्न सकिने अर्को पाठ हो—बुद्धिमान्‌ सल्लाह दिनेहरूको महत्त्व। यस्तो सल्लाहकार “दुःखकष्टमा साथ दिन जन्मेको दाजुभाइ सरह हुन्छ।” (हितोपदेश १७:१७, NW) तर अय्यूबको अनुभवले देखाएअनुसार कतिपय सल्लाहकार निको पार्नभन्दा चोट पुऱ्‍याउन छिटो हुन्छन्‌। असल सल्लाहकार बन्‍ने हो भने एलीहूले जस्तै अरूको दुःख बुझ्दै, आदर गर्दै अनि दया देखाउँदै कुरा गर्नुपर्छ। प्राचीनलगायत अरू परिपक्व मसीहीहरूले समस्यामा परेका भाइबहिनीलाई सच्च्याउनुपर्ने हुन सक्छ। यस्तो बेला सल्लाह दिनेहरूले बाइबलको पुस्तक अय्यूबबाट धेरै कुरा सिक्न सक्छन्‌।—गलाती ६:१; हिब्रू १२:१२, १३.

१५ एलीहूले जसरी समस्या सुल्झाए, त्यसबाट थुप्रै राम्रो पाठ सिक्न सकिन्छ। जस्तो कि—अय्यूबका तीन जना साथीले भर्माउने कुरा गर्दा प्वाक्क केही भनिहाल्नुअघि एलीहूले धेरै बेरसम्म ध्यानसित सुने। (अय्यूब ३२:११; हितोपदेश १८:१३) एलीहूले अय्यूबको नामै लिएर साथीलाई जस्तो गरी सम्झाए। (अय्यूब ३२:१) व्यर्थको सान्त्वना दिने तीन जना साथीले जस्तो एलीहूले आफूलाई अय्यूबभन्दा श्रेष्ठ ठानेनन्‌। तिनले भने: “म पनि एक मुठी माटो मात्र हुँ।” चाहिने/नचाहिने कुरा गरेर तिनी अय्यूबको घाउमा नूनचुक छर्न चाहँदैनथे। (अय्यूब ३३:६, ७; हितोपदेश १२:१८) अय्यूबले पहिला जे-जस्तो काम गरे, त्यसको आलोचना गर्नुको सट्टा धार्मिकता अर्थात्‌ ठीकसँग जीवन बिताएकोमा एलीहूले तिनको प्रशंसा गरे। (अय्यूब ३३:३२) सबैभन्दा महत्त्वपूर्ण कुरा त, एलीहूले सबै कुरा परमेश्‍वरको दृष्टिकोणबाट हेरे र यहोवाले कहिल्यै अन्याय गर्नुहुन्‍न भनी बुझ्न अय्यूबलाई मदत गरे। (अय्यूब ३४:१०-१२) आफूलाई बडो धर्मी देखाउनुभन्दा बरु यहोवामाथि भरोसा राख्न एलीहूले अय्यूबलाई प्रोत्साहन दिए। (अय्यूब ३५:२; ३७:१४, २३) मसीही प्राचीनलगायत अरूले एलीहूबाट पक्कै पनि धेरै कुरा सिक्न सक्छन्‌।

१६. व्यर्थको सान्त्वना दिने अय्यूबका तीन जना मित्र कसरी शैतानका गोटीहरू बन्‍न पुगे?

१६ एलीहूले दिएको बुद्धिमानी सल्लाह एलीपज, बिल्दद र सोपरले दिएको तीतो सल्लाहभन्दा कता हो कता राम्रो थियो। त्यसैकारण त यहोवाले तिनीहरूलाई भन्‍नुभयो: “मेरो दास अय्यूबले मेरो विषयमा भनेझैं तिमीहरूले भन्‍नुपर्ने कुरा भनेनौ।” (अय्यूब ४२:७) ‘हामीले त राम्रै मनसायले सल्लाह दिएका हौं’ भनेर तिनीहरूले दाबी गरे तापनि तिनीहरूको चालामाला हेर्दा लाग्थ्यो, तिनीहरू अय्यूबका हितैषी मित्र होइनन्‌, शैतानले चलाएका गोटीहरू हुन्‌। अय्यूबमाथि आइपरेको विपत्ति अय्यूबकै गल्तीले गर्दा हो भनेर उनीहरूले सुरुदेखि अन्दाज लगाइरहे। (अय्यूब ४:७, ८; ८:६; २०:२२, २९) एलीपजको भनाइअनुसार परमेश्‍वर आफ्नै जनहरूमाथि भरोसा गर्नुहुन्‍न र हामी धर्मी भए पनि नभए पनि उहाँलाई केही मतलब छैन। (अय्यूब १५:१५; २२:२, ३) गर्दै नगरेको गल्तीको दोष पनि एलीपजले अय्यूबलाई लगाए। (अय्यूब २२:५, ९) तर एलीहूले अय्यूबलाई आध्यात्मिक मदत दिए। मायालु सल्लाहकारले सधैं यसै गर्छ।

१७. परीक्षामा पर्दा हामीले कुन कुरा मनमा राख्नुपर्छ?

१७ अय्यूबको किताबबाट धीरजबारे सिक्न सकिने अर्को पाठ पनि छ। मायालु परमेश्‍वर यहोवा हाम्रो अवस्था नियालेर हेर्नुहुन्छ। साथै, उहाँ हामीलाई विभिन्‍न तरिकामा मदत गर्न इच्छुक र सक्षम हुनुहुन्छ। यस लेखको सुरु-सुरुमा हामीले एल्जा आप्टको अनुभव पढेका थियौं। तिनी कस्तो निचोडमा पुगिन्‌, विचार गर्नुहोस्‌: “गिरफ्तार हुनुभन्दा अघि मैले एक जना साक्षी बहिनीको चिठी पढेकी थिएँ। चिठीमा उहाँले लेख्नुभएको थियो, ‘अत्यन्तै गाह्रो अवस्थामा पर्दा यहोवाको आत्माले शान्त रहन मदत गर्छ।’ मलाई त उहाँले अलि बढाइचढाइ कुरा गर्नुभएजस्तो लागेको थियो। तर म आफै परीक्षामा परेपछि मात्र थाह पाएँ कि उहाँले भन्‍नुभएको कुरा त सोह्रै आना सही रहेछ। परमेश्‍वरको आत्माले मलाई विचलित नहुन साँच्चै मदत गऱ्‍यो। आफैले अनुभव नगरेसम्म यस्तो कुरा कल्पना गर्नसमेत मुस्किल पर्दो रहेछ। तर जेहोस्‌, मैले चाहिं अनुभव गरें। यहोवाले मदत गर्नुहुन्छ।” यहोवाले के गर्न सक्नुहुन्छ अथवा हजारौं वर्षअघि अय्यूबको समयमा उहाँले के गर्नुभएको थियो, त्यसबारे एल्जाले कुरा गरेकी होइनन्‌। तिनले त हाम्रै समयको कुरा गरिरहेकी थिइन्‌। हो, “यहोवाले मदत गर्नुहुन्छ”!

धीरज धारण गर्ने व्यक्‍ति खुसी हुन्छ

१८. धीरज धारण गरेको कारण अय्यूबलाई कस्ता फाइदाहरू भयो?

१८ अय्यूबले जति कष्ट भोगे, त्यतिको कष्ट हामी सबैले भोग्नु नपर्ला। तर यस दुनियाँमा हामीमाथि जस्तोसुकै परीक्षा आइपरोस्‌, अय्यूबजस्तै आफ्नो निष्ठामा अटल रहने हामीसित पनि ठोस कारणहरू छन्‌। धीरज धारण गरेकोले अय्यूबको जीवनमा खुसीयाली छायो। धीरजी भएकै कारण तिनी कुनै कुराको अभाव नभएर परिपक्व र पूर्ण भए। (याकूब १:२-४) त्यसो भएपछि परमेश्‍वरसितको तिनको सम्बन्ध पनि मजबुत भयो। आफूलाई पक्का भएको कुरा अय्यूबले यसरी बताए: “त्यस बेला ता सुनेको कुराले मात्रै मैले तपाईंलाई चिन्दथिएँ। तर अब ता म तपाईंलाई आफ्नै आँखाले देख्तछु।” (अय्यूब ४२:५) शैतानले अय्यूबको निष्ठा तोड्‌न सकेन। त्यसकारण त्यो ढँटुवा साबित भयो। अय्यूब मरेको सयौं वर्षपछि पनि धार्मिकतामा हिंड्‌ने व्यक्‍तिको उदाहरण दिनुपर्दा यहोवाले अय्यूबकै नाउँ लिनुभयो। (इजकिएल १४:१४) तिनको निष्ठा र धीरजको रेकर्डले परमेश्‍वरका जनहरूलाई आज पनि घचघच्याइ रहन्छ।

१९. के तपाईंलाई धीरज धारण गर्नुको फाइदा छ जस्तो लाग्छ? लाग्छ भने, किन?

१९ याकूबले पहिलो शताब्दीका मसीहीहरूलाई धीरजबारे पत्र लेख्दा धीरज धारण गर्दा पाइने सन्तुष्टिबारे पनि लेखे। अनि वफादार भई यहोवाको सेवा गर्नेहरूलाई उहाँ प्रचुर मात्रामा इनाम दिनुहुन्छ भन्‍ने कुरा बुझाउन तिनले अय्यूबको उदाहरण दिए। (याकूब ५:११, NRV) अय्यूब ४२:१२ मा यस्तो लेखिएको छ: “परमप्रभुले अय्यूबको जीवनको आखिरी समयमा शुरूको समयभन्दा बढी आशिष्‌ दिनुभयो।” हो, अय्यूबले जे-जति गुमाए, परमेश्‍वरले तिनलाई त्यसको दोब्बर दिनुभयो र पूरा बूढेसकालसम्म तिनले आनन्दित जीवन बिताए। (अय्यूब ४२:१६, १७) त्यसै गरी, बितेर जान लागेको यस रीतिरिवाजमा हामीले जस्तोसुकै पीडा, कष्ट अथवा पीरमर्का भोग्नुपरे तापनि यी सब बितेर जानेछन्‌ र परमेश्‍वरको नयाँ संसारमा त्यसको केही सम्झना हुनेछैन। (यशैया ६५:१७; प्रकाश २१:४) हामीले अय्यूबको धीरजबारे सुनेका छौं र यहोवाको मदतद्वारा हामी पनि अय्यूबको उदाहरण अनुकरण गर्न कटिबद्ध छौं। बाइबल प्रतिज्ञा गर्छ: “धन्य त्यो मानिस जो परीक्षामा स्थिर रहन्छ। किनभने त्यसको जाँच भइसकेपछि [यहोवाबाट] उहाँलाई प्रेम गर्नेहरूलाई दिनेछु भन्‍ने प्रतिज्ञा गर्नुभएको, जीवनको मुकुट त्यसले पाउनेछ।”—याकूब १:१२. (w 06 8/15)

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• हामी कसरी यहोवाको हृदयलाई आनन्दित तुल्याउन सक्छौं?

• परमेश्‍वर रिसाउनुभएकोले नै हामीमाथि समस्या आइपरेको हो भनेर अड्‌कल काट्‌नु कदापि ठीक हुँदैन, किन?

• कस्तो-कस्तो कुराले अय्यूबलाई धीरज धारण गर्न मदत गऱ्‍यो?

• सँगी भाइबहिनीलाई बलियो बनाउन हामी कसरी एलीहूको उदाहरण अनुकरण गर्न सक्छौं?

[प्रश्‍नहरू]

[पृष्ठ १६-मा भएको चित्र]

असल सल्लाहकारले अरूको दुःख बुझ्छ, आदर गर्छ अनि दया देखाउँछ

[पृष्ठ १७-मा भएका चित्रहरू]

एल्जा र हाराल्ट आप्ट