सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

नम्रहरूले पृथ्वीमा अधिकार पाउनेछन्‌

नम्रहरूले पृथ्वीमा अधिकार पाउनेछन्‌

नम्रहरूले पृथ्वीमा अधिकार पाउनेछन्‌

“मलाई लाग्छ, प्रकृतिले आफ्नो रूप बदल्नेछिन्‌ र फेरि पहिलेजस्तै सुन्दर हुनेछिन्‌। . . . भोलि नै त होइन, तर छिट्टै। नयाँ आकाश र नयाँ पृथ्वी हुँदा।” —झाँ मारी पेल्ट, फ्रान्सेली वातावरणविद्‌।

पृथ्वीको वातावरण र सामाजिक अवस्था देखेर विचलित भएकाहरू हाम्रो यो ग्रह प्रमोदवन अर्थात्‌ सुन्दर बगैंचामा परिणत भएको हेर्न चाहन्छन्‌। यो चाहना २१ औं शताब्दीका मानिसहरूको मात्र होइन। धेरै अघि बाइबलले पृथ्वी फेरि सुन्दर बगैंचामा परिणत हुनेछ भनेर प्रतिज्ञा गरेको थियो। येशूका चर्चित वाणीहरूमा यी पनि पर्छन्‌: ‘नम्रहरूले पृथ्वीको अधिकार पाउनेछन्‌’ र “तपाईंको इच्छा स्वर्गमाझैं यस पृथ्वीमा पूरा होस्‌।” (मत्ती ५:५; ६:१०) तर पृथ्वी सुन्दर बगैंचा भएपछि त्यहाँ नम्रहरू बस्नेछन्‌ भनेर पत्याउन धेरैलाई गाह्रो लाग्छ। अझ “मसीही हुँ” भनेर दाबी गर्नेहरूलाई त पहिलाको सुन्दर बगैंचा अर्थात्‌ प्रमोदवन गुमिसक्यो जस्तो लाग्छ।

प्रमोदवन स्वर्गमा होस्‌ वा पृथ्वीमा, विशेष गरी क्याथोलिकहरूलाई केही मतलब छैन। यसको कारण खुलाउँदै फ्रान्सेली साप्ताहिक पत्रिका ला भी भन्छ: “१,९०० वर्षसम्म क्याथोलिकहरूको मुख्य शिक्षाहरूमध्ये रहेको प्रमोदवनको शिक्षा अहिले तिनीहरूले सञ्चालन गर्ने ध्यान, सन्डे स्कूल, धर्मशास्त्रसम्बन्धी पठनपाठन तथा प्रश्‍न-उत्तर कार्यक्रमबाट हटाइएको छ।” प्रमोदवन शब्दलाई “रहस्य अनि गोलमालको बाक्लो कुहिरोले ढाकिसक्यो” भन्‍नेहरू पनि छन्‌। प्रमोदवन भन्‍ने बित्तिकै “पृथ्वीमा पाउन सकिने थुप्रै आनन्दको कल्पना मनमा आउने” भएकोले केही धर्मप्रचारकहरू प्रमोदवनबारे जानाजानी कुरा गर्न चाहँदैनन्‌।

धर्मबारे गहिरो अध्ययन गरिरहेका समाजशास्त्री फ्रेडेरिक लन्वारको विचारमा प्रायजसो मानिस प्रमोदवन भन्‍ने बित्तिकै “स्वर्गबारे कुरा गरेको भन्ठान्छन्‌।” त्यसै गरी, प्रमोदवनबारे थुप्रै किताब लेखिसकेका इतिहासकार झाँ डेलुम्युलाई बाइबलमा गरिएका प्रतिज्ञाहरू पूरा हुन्छ जस्तो लाग्दैन। तिनी लेख्छन्‌: “ ‘त्यसोभए, प्रमोदवन भनेको के हो त?’ भनेर सोध्दा मसीहीहरू यस्तो जवाफ दिने गर्छन्‌: धन्य, मुक्‍तिदाता पुनरुत्थान हुनुभयो। अब हामी हातमा हात मिलाएर स्वर्ग जानेछौं र आफ्नै आँखाले प्रमोदवन देख्नेछौं।”

त्यसोभए, के यो पृथ्वी सुन्दर बगैंचा अर्थात्‌ प्रमोदवन हुन्छ भन्‍नु व्यावहारिक होला? वास्तवमा, पृथ्वीको भविष्य कस्तो छ? भविष्य अस्पष्ट र गोलमाल छ कि स्पष्ट? यसपछिको लेखमा यी प्रश्‍नहरूको जवाफ पाउनुहुनेछ। (w 06 8/15)