सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

‘प्रार्थना सुन्‍नुहुनेसामु’ कसरी जाने

‘प्रार्थना सुन्‍नुहुनेसामु’ कसरी जाने

‘प्रार्थना सुन्‍नुहुनेसामु’ कसरी जाने

“हे प्रार्थना सुन्‍नुहुने, तपाईंकहाँनै सबै प्राणी आउनेछन्‌।”—भजन ६५:२.

१. पृथ्वीका अरू प्राणीभन्दा मानिस कसरी भिन्‍न छ र यसले गर्दा हामीले कस्तो मौका पाएका छौं?

 पृथ्वीका असंख्य प्राणीमध्ये मानिसले मात्र सृष्टिकर्ताको उपासना गर्न सक्छ। आफ्नो आध्यात्मिक आवश्‍यकताप्रति मानिस मात्र सजग छ र यो आवश्‍यकता पूरा गर्न पनि मानिस मात्र इच्छुक छ। यसले गर्दा हामीले स्वर्गमा हुनुहुने हाम्रो पितासित व्यक्‍तिगत सम्बन्ध गाँस्ने मौका पाएका छौं।

२. पापले परमेश्‍वर र मानिसबीचको सम्बन्धमा कस्तो असर पाऱ्‍यो?

सृष्टिकर्ताले मानिसलाई उहाँसित कुरा गर्न सक्ने क्षमतासहित सृष्टि गर्नुभएको थियो। सृष्टि गर्दा आदम र हव्वा पापी थिएनन्‌। त्यसकारण, सानो बालकले आफ्नो बुबासित निसङ्‌कोच कुरा गरेझैं उनीहरू पनि परमेश्‍वरसित निसङ्‌कोच कुरा गर्न सक्थे। तर पाप गरेपछि आदम र हव्वाले त्यो विशेष सुअवसर गुमाए। उनीहरूले परमेश्‍वरको आज्ञा मानेनन्‌ र उहाँसितको घनिष्ठ सम्बन्ध बिगारे। (उत्पत्ति ३:८-१३, १७-२४) के यसको अर्थ आदमका असिद्ध सन्तानले पनि परमेश्‍वरसित कहिल्यै कुराकानी गर्न सक्दैनन्‌ भनेको हो? होइन। केही खास आवश्‍यकता पूरा गरेमा आदमका सन्तान अहिले पनि परमेश्‍वरसामु जान सक्छन्‌। तर ती खास आवश्‍यकता के-के हुन्‌?

परमेश्‍वरसामु जान पूरा गर्नुपर्ने आवश्‍यकताहरू

३. पापी मानिसहरू कसरी परमेश्‍वरसामु जान सक्छन्‌ र यो कुरा कुन उदाहरणबाट स्पष्ट हुन्छ?

परमेश्‍वरसामु जान चाहने असिद्ध मानिसहरूले कस्तो आवश्‍यकता पूरा गरेको उहाँ चाहनुहुन्छ, त्यो बुझ्न आदमका दुई छोरासित सम्बन्धित घटना सम्झौं। कयिन र हाबिलले यहोवा परमेश्‍वरको निम्ति बलिदान चढाएर उहाँसामु जाने कोसिस गरेका थिए। तर परमेश्‍वरले हाबिलको बलिदान मात्र स्वीकार्नुभयो, कयिनको स्वीकार्नुभएन। (उत्पत्ति ४:३-५) किन? हिब्रू ११:४ यसो भन्छ: “विश्‍वासैबाट हाबिलले कयिनभन्दा उत्तम बलिदान परमेश्‍वरमा चढाए, जसद्वारा तिनी धर्मी हुन्‌ भन्‍ने तिनको गवाही भयो।” कुरा स्पष्ट छ, स्वीकार्य ढङ्‌गमा परमेश्‍वरसामु जाने हो भने विश्‍वास हुनै पर्छ। यो परमेश्‍वरले तोक्नुभएको आवश्‍यकता हो। यहोवाले कयिनलाई भन्‍नुभएका यी शब्दहरूबाट अर्को आवश्‍यकता थाह पाउन सक्छौं: “तैंले असल गरिस्‌ भने तँ ग्रहणयोग्य हुँदैनस्‌ र?” हो, कयिनले असल गरेको भए परमेश्‍वरसामु जाने उसको प्रयासलाई परमेश्‍वरले स्वीकार्नुहुने थियो। तर कयिनले यहोवाको सल्लाह सुनेन, हाबिललाई माऱ्‍यो र अन्तमा ऊ धपाइयो। (उत्पत्ति ४:७-१२) यसरी, परमेश्‍वरसामु जान विश्‍वास र असल काम गर्नु आवश्‍यक छ भनेर मानव इतिहासको सुरुमै जोड दिइयो।

४. परमेश्‍वरसामु जाने हो भने हामीले के स्वीकार्नु आवश्‍यक छ?

परमेश्‍वरसामु जाने हो भने हामी पापी छौं भनेर स्वीकार्नु आवश्‍यक छ। सबै मानिस पापी छन्‌ र पापकै कारण परमेश्‍वरसामु जान बाधा पुगेको छ। अगमवक्‍ता यर्मियाले इस्राएलीहरूबारे यसरी लेखे: “हामीले अपराध गऱ्‍यौं . . . तपाईंकहाँ कुनै पनि प्रार्थना नपुगोस्‌ भनेर तपाईंले आफूलाई बादलले ढाकिराख्नुभयो।” (विलाप ३:४२, ४४) तैपनि, विश्‍वास गर्दा र सही मनसायसहित उहाँले दिनुभएका आज्ञाहरू पालन गर्दा उहाँसामु आउनेहरूको प्रार्थना सुन्‍न परमेश्‍वर इच्छुक हुनुभयो भनेर इतिहासले देखाएको छ। (भजन ११९:१४५) त्यसोभए, परमेश्‍वरले क-कसको प्रार्थना सुन्‍नुभयो अनि तिनीहरूले गरेको प्रार्थनाबाट हामी कस्तो पाठ सिक्न सक्छौं?

५, ६. अब्राहामले परमेश्‍वरसित गरेको कुराकानीबाट हामी के सिक्न सक्छौं?

तीमध्ये एक जना अब्राहाम थिए। परमेश्‍वरसामु जान अब्राहामले गरेको प्रयासलाई उहाँले स्वीकार्नुभयो किनकि परमेश्‍वरले अब्राहामलाई “मेरो मित्र” भनेर सम्बोधन गर्नुभयो। (यशैया ४१:८) अब्राहामको यस्तो प्रयासबाट हामी कस्तो पाठ सिक्न सक्छौं? ती विश्‍वासी कुलपिताले आफ्नो उत्तराधिकारीबारे यसो भने: “हे परमप्रभु परमेश्‍वर, तपाईंले मलाई के दिनुहुन्छ र? किनभने म सन्तानहीन भइरहेछु।” (उत्पत्ति १५:२, ३; १७:१८) अर्को पटकचाहिं तिनले आफ्नो चिन्ता व्यक्‍त गरे। परमेश्‍वरले सदोम र गमोराका दुष्ट मानिसहरूलाई नाश गर्नुहुँदा को-को बचाइनेछन्‌ भनेर तिनी चिन्तित थिए। (उत्पत्ति १८:२३-३३) अब्राहामले अरूको निम्ति पनि परमेश्‍वरसित प्रार्थना गरे। (उत्पत्ति २०:७, १७) अनि यहोवासामु जान हाबिलले जस्तै अब्राहामले पनि बलिदान चढाए।—उत्पत्ति २२:९-१४.

परमेश्‍वरसामु गएपिच्छे अब्राहामले उहाँसित खुलस्त कुराकानी गरे। त्यसरी खुलेर कुरा गरे तापनि सृष्टिकर्ताको तुलनामा आफ्नो स्थान के हो, अब्राहामले नम्रतासाथ स्वीकारे। उत्पत्ति १८:२७ मा तिनले यहोवासित नम्र भई कुरा गरेको याद गर्नुहोस्‌: “हेर्नुहोस्‌, म केवल माटो र खरानी मात्र भएर पनि परमप्रभुसँग बात गर्न आँट गरेको छु।” (उत्पत्ति १८:२७) हामीले अनुकरण गर्नुपर्ने कत्ति राम्रो उदाहरण!

७. कुलपिताहरूले के-कस्ता विषयमा यहोवालाई प्रार्थना गरे?

अन्य कुलपिताहरूले चाहिं विभिन्‍न विषयमा प्रार्थना गरे र यहोवाले तिनीहरूको प्रार्थना राम्ररी सुन्‍नुभयो। याकूबले गरेको प्रार्थना भाकल गरेजस्तै थियो। परमेश्‍वरसित मदत मागेपछि तिनले यस्तो भाकल गरे: “तपाईंले मलाई दिनुभए जत्ति सबैको दशांश म तपाईंलाई अवश्‍य चढाउनेछु।” (उत्पत्ति २८:२०-२२) पछि आफ्नो दाजुलाई भेट्‌नुअघि पनि याकूबले सुरक्षाको निम्ति यहोवासित यसरी बिन्ती गरे: “म बिन्ती गर्दछु, मलाई मेरा दाज्यू एसावको हातबाट बचाउनुहोस्‌, किनकि तिनीसँग मलाई डर लाग्छ।” (उत्पत्ति ३२:९-१२) कुलपिता अय्यूबले पनि आफ्नो परिवारको निम्ति यहोवासँग प्रार्थना गरे र उनीहरूको खातिर बलिदान चढाए। आफ्ना तीन मित्रले नभएको कुरा गरेर यहोवाविरुद्ध पाप गर्दा पनि अय्यूबले तिनीहरूको निम्ति प्रार्थना गरिदिए। फलस्वरूप, यहोवाले “अय्यूबमाथि निगाह गर्नुभयो।” (अय्यूब १:५; ४२:७-९) यी विवरणहरूबाट यहोवासित कुन-कुन विषयमा प्रार्थना गर्न सकिन्छ, थाह पाउन सक्छौं। सही तरिकामा यहोवासामु जानेहरूको प्रार्थना सुन्‍न उहाँ इच्छुक हुनुहुन्छ भनेर पनि बुझ्यौं।

व्यवस्थाअनुसार यहोवासामु जाने

८. व्यवस्थाअनुसार इस्राएलीहरू कोमार्फत यहोवासामु जान सक्थे?

इस्राएलीहरूलाई मिस्र देशबाट छुटकारा दिनुभएपछि यहोवाले तिनीहरूलाई व्यवस्था दिनुभयो। नियुक्‍त पूजाहारीमार्फत परमेश्‍वरसामु जान सकिने प्रबन्ध व्यवस्थामा गरिएको थियो। इस्राएलीहरूको पूजाहारी हुन केही लेवीहरू खटाइएका थिए। सबै इस्राएलीलाई असर गर्ने घटना हुँदा, समुदायको प्रतिनिधित्व गर्दै कहिले राजाले त कहिले अगमवक्‍ताले सम्बन्धित विषयमा यहोवालाई प्रार्थना गर्थे। (१ शमूएल ८:२१, २२; १४:३६-४१; यर्मिया ४२:१-३) उदाहरणको लागि, मन्दिरको समर्पण गर्दा राजा सुलेमानले यहोवालाई हृदयदेखि प्रार्थना गरे। मन्दिरलाई आफ्नो महिमाले भरेर यहोवाले सुलेमानको प्रार्थना सुन्‍नुभएको संकेत दिनुभयो र यसो भन्‍नुभयो: “यस ठाउँमा गरिएका प्रार्थना ध्यानसित सुन्‍न मेरो कान . . . खुला रहनेछन्‌।”—२ इतिहास ६:१२–७:३, १५.

९. व्यवस्थाअनुसार यहोवाले स्वीकार्नुहुने तरिकामा बासस्थानमा जान कस्तो आवश्‍यकता पूरा गर्नुपर्थ्यो?

इस्राएलीहरूलाई दिइएको व्यवस्थाअनुसार यहोवाले स्वीकार्नुहुने तरिकामा उहाँको बासस्थानमा जान कस्तो आवश्‍यकता पूरा गर्नुपर्थ्यो? प्रधानपूजाहारीले हरेक बिहान/बेलुकी होमबलि चढाउनुका साथै यहोवासामु सुगन्धित धूप पनि बाल्नुपर्थ्यो। पछि अरू पूजाहारीहरूले पनि प्रायश्‍चितको दिनबाहेक अरू दिनमा धूप बाल्न थाले। पूजाहारीहरूले श्रद्धाभावसाथ त्यो जिम्मेवारी पूरा नगरेमा यहोवाले तिनीहरूको सेवा स्वीकार्नुहुने थिएन।—प्रस्थान ३०:७, ८; २ इतिहास १३:११.

१०, ११. व्यक्‍तिगत रूपमा गरिएको प्रार्थना यहोवाले सुन्‍नभयो भन्‍ने के प्रमाण छ?

१० प्राचीन इस्राएलमा नियुक्‍त प्रतिनिधिहरूमार्फत मात्रै परमेश्‍वरसामु जान सकिन्थ्यो, हो? होइन। बाइबल विवरणअनुसार यहोवा हरेक व्यक्‍तिको प्रार्थना सुन्‍न रुचाउनुहुन्थ्यो। मन्दिर समर्पण गर्दा सुलेमानले यहोवालाई यसो भन्दै बिन्ती गरे: “यस भवनतिर आफ्नो हात उठायो भने, तपाईंले आफ्नो प्रजा इस्राएलको हरेक मानिसको प्रार्थना र अर्जबिन्ती सुन्‍नुहोस्‌। आफ्नो बासस्थान स्वर्गमा सुन्‍नुहोस्‌।” (२ इतिहास ६:२९) लूकाको विवरणअनुसार बप्तिस्मा दिने यूहन्‍नाका पिता जकरिया यहोवाको मन्दिरभित्र धूप बाल्न पस्दा पूजाहारीबाहेक अरू मानिसको भीड “बाहिर प्रार्थना गरिरहेको थियो।” मन्दिरभित्र सुनको वेदीमा यहोवाको निम्ति धूप बाल्नेबेला मानिसहरू बाहिर प्रार्थना गर्न जम्मा हुन्थेजस्तो देखिन्छ।—लूका १:८-१०.

११ त्यसकारण सबै इस्राएलीहरूको प्रतिनिधित्व गर्दै प्रार्थना गरिएको होस्‌ अथवा व्यक्‍तिगत रूपमा, यहोवाले स्वीकार्नुहुने तरिकामा उहाँसामु गएको हो भने ती प्रार्थनाहरू सुन्‍न उहाँ इच्छुक हुनुहुन्थ्यो। अहिले हामी व्यवस्थाको अधीनमा नभए तापनि परमेश्‍वरसामु जान त्यतिबेलाका इस्राएलीहरूले जे-जति गरे, त्यसबाट हामी प्रार्थनाबारे केही महत्त्वपूर्ण पाठ सिक्न सक्छौं।

मसीही प्रबन्धअनुसार परमेश्‍वरसामु जाने

१२. अहिलेका मसीहीहरू परमेश्‍वरसामु जान सकून्‌ भनेर कस्तो प्रबन्ध मिलाइएको छ?

१२ अहिले हामी ख्रीष्टले स्थापित गर्नुभएको मसीही प्रबन्धको अधीनमा छौं। आज हाम्रो समयमा परमेश्‍वरका सबै जनहरूको प्रतिनिधित्व गर्दै पूजाहारीहरूले प्रार्थना गर्ने मन्दिर त छैन न ता परमेश्‍वरलाई प्रार्थना गर्दा मन्दिरतिर नै फर्कनु आवश्‍यक छ। तैपनि हामी उहाँसामु जान सकोस्‌ भनेर यहोवाले एउटा प्रबन्ध मिलाउनुभएको छ। त्यो प्रबन्ध के हो? इस्वी संवत्‌ २९ मा ख्रीष्ट अभिषिक्‍त हुनुका साथै प्रधान पूजाहारी नियुक्‍त हुनुभएपछि आध्यात्मिक मन्दिर सञ्चालन हुन थाल्यो। a त्यो आध्यात्मिक मन्दिर येशू ख्रीष्टले चढाउनुभएको प्रायश्‍चितको बलिदानको आधारमा परमेश्‍वरको उपासना गर्दै उहाँसामु जाने नयाँ प्रबन्ध थियो।—हिब्रू ९:११, १२.

१३. प्रार्थनाको सम्बन्धमा यरूशलेमको मन्दिर र आध्यात्मिक मन्दिरबीच मिल्ने एउटा कुरा के हो?

१३ यरूशलेमको मन्दिरमा गरिने प्रार्थनालगायत अन्य थुप्रै कुराले आध्यात्मिक मन्दिरमा हुने विभिन्‍न कुराको सुहाउँदो चित्रण गर्छ। (हिब्रू ९:१-१०) उदाहरणको लागि, बिहान र बेलुकी मन्दिरको पवित्रस्थानको वेदीमा चढाइने धूपले कुन कुरालाई चित्रण गर्थ्यो? प्रकाशको पुस्तकअनुसार “धूप . . . भक्‍त जनहरूका प्रार्थना हुन्‌।” (प्रकाश ५:८; ८:३, ४) दाऊद यी शब्दहरू लेख्न उत्प्रेरित भए: “मेरो प्रार्थना तपाईंको सामने धूपजस्तै . . . ठहरिओस्‌।” (भजन १४१:२) त्यसकारण, मसीही प्रबन्धमा सुगन्धित धूपले यहोवाले स्वीकार्नुहुने प्रार्थना र उहाँको प्रशंसा गर्नुलाई चित्रण गर्छ भन्‍नु सुहाउँछ।—१ थिस्सलोनिकी ३:१०.

१४, १५. (क) अभिषिक्‍त मसीहीहरू (ख) अनि “अरू भेडा” परमेश्‍वरसामु जाने सम्बन्धमा के भन्‍न सकिन्छ?

१४ यो आध्यात्मिक मन्दिरमा परमेश्‍वरसामु को-को जान सक्छन्‌? साँच्चैको मन्दिरको भित्री चोकमा सेवा गर्ने विशेष सम्मान पूजाहारी तथा लेवीहरूले पाएका थिए। तर पवित्रस्थानभित्र पस्ने सम्मान भने पूजाहारीहरूले मात्र पाएका थिए। स्वर्ग जाने आशा भएका अभिषिक्‍त मसीहीहरूले मन्दिरको भित्री चोक र पवित्रस्थानले चित्रण गर्ने विशेष आध्यात्मिक अवस्थाबाट आनन्द उठाउँछन्‌। त्यसकारण, तिनीहरू यहोवालाई प्रार्थना गर्न र उहाँको प्रशंसा गर्न सक्छन्‌।

१५ अनि “अरू भेडा” अर्थात्‌ पृथ्वीमै बस्ने आशा भएकाहरूको सम्बन्धमा चाहिं के भन्‍न सकिन्छ नि? (यूहन्‍ना १०:१६) “पछिल्ला दिनमा” जातिजातिका मानिसहरू यहोवाको उपासना गर्न ओइरिनेछन्‌ भनी अगमवक्‍ता यशैयाले संकेत दिए। (यशैया २:२, ३) “विदेशीहरू” पनि यहोवामा मिल्न आउनेछन्‌ भनी तिनले लेखे। उहाँसामु जान यिनीहरूले गर्ने प्रयास स्वीकार्न राजी हुनुहुन्छ भनेर जनाउन परमेश्‍वरले यसो भन्‍नुभयो: “म . . . मेरो प्रार्थनाको घरमा तिनीहरूलाई आनन्दित तुल्याउनेछु।” (यशैया ५६:६, ७) आध्यात्मिक मन्दिरको बाहिरी चोकमा “दिन-रात” परमेश्‍वरको उपासना गर्ने र उहाँलाई प्रार्थना गर्ने “हरेक जातिबाटको . . . एक ठूलो भीड[बारे]” प्रकाश ७:९-१५ ले थप जानकारी दिएको छ। परमेश्‍वरले प्रार्थना सुन्‍नुहुन्छ भनेर ढुक्क हुँदै परमेश्‍वरका सबै सेवकहरू निर्धक्कसित उहाँसामु जान सक्छन्‌ भनेर थाह पाउनु कत्ति सान्त्वनादायी छ!

यहोवा कस्तो प्रार्थना सुन्‍नुहुन्छ?

१६. सुरु-सुरुका मसीहीहरूको उदाहरणबाट हामी प्रार्थनाबारे कस्तो पाठ सिक्न सक्छौं?

१६ सुरु-सुरुका मसीहीहरूको प्रार्थना गर्ने बानी थियो। तिनीहरू के-कस्ता विषयमा प्रार्थना गर्थे? संगठनका जिम्मेवारीहरू सम्हाल्न सक्ने पुरुषहरू छान्‍ने बेला मसीही प्राचीनहरूले परमेश्‍वरको डोऱ्‍याइ खोजे। (प्रेरित १:२४, २५; ६:५, ६) इप्राफासले सँगी मसीहीहरूका लागि प्रार्थना गरे। (कलस्सी ४:१२) यरूशलेमको मण्डलीका भाइबहिनीहरूले थुनामा परेका पत्रुसको निम्ति प्रार्थना गरे। (प्रेरित १२:५) विरोध आइपर्दा साहसी हुन मदत गर्नुहोस्‌ भन्दै सुरु-सुरुका मसीहीहरूले परमेश्‍वरलाई यसरी प्रार्थना गरे: “अब हे प्रभु, तिनीहरूका धम्कीमाथि नजर गर्नुहोस्‌, र तपाईंका दासहरूलाई बिलकुल निर्भयतामा तपाईंको वचन बोल्नदिनुहोस्‌।” (प्रेरित ४:२३-३०) परीक्षामा पर्दा परमेश्‍वरसित प्रार्थना गरेर बुद्धि माग्न चेला याकूबले मसीहीहरूलाई आग्रह गरे। (याकूब १:५) के तपाईं यस्ता विषयमा परमेश्‍वरलाई प्रार्थना गर्नुहुन्छ?

१७. कसले गरेको प्रार्थना यहोवा सुन्‍नुहुन्छ?

१७ परमेश्‍वर सबै किसिमको प्रार्थना सुन्‍नुहुन्‍न। त्यसोभए, परमेश्‍वरले हाम्रो प्रार्थना सुन्‍नुभयो भनी हामी कसरी ढुक्क हुन सक्छौं? विगतमा विश्‍वासी जनहरूले निष्कपट भई अनि सही मनसायसहित गरेको प्रार्थना परमेश्‍वरले सुन्‍नुभयो। तिनीहरूले विश्‍वास मात्र होइन, विश्‍वासअनुसारको काम पनि गरे। यसरी यहोवासामु जाने सबैको प्रार्थना उहाँ सुन्‍नुहुन्छ भनेर हामी ढुक्क हुन सक्छौं।

१८. हाम्रो प्रार्थना सुनुवाइ होस्‌ भन्‍ने चाहन्छौं भने हामीले कुन आवश्‍यकता पूरा गर्नै पर्छ?

१८ अर्को आवश्‍यकता पनि पूरा गर्नुपर्छ। यस विषयमा प्रेरित पावलले यसो भने: “उहाँद्वारा हामी[ले] . . . एउटै आत्मामा पिताकहाँ प्रवेश पाएको हो।” “उहाँद्वारा” भनेर प्रेरित पावल कसलाई संकेत गर्दै थिए? येशू ख्रीष्टलाई। (एफिसी २:१३, १८) हो, हामी येशूद्वारा मात्र निर्धक्क भई पितासामु जान सक्छौं।—यूहन्‍ना १४:६; १५:१६; १६:२३. २४.

१९. (क) इस्राएलीहरूले चढाएको धूप यहोवालाई कतिबेला घीन लाग्यो? (ख) परमेश्‍वरसामु हाम्रा प्रार्थनाहरू सुगन्धित धूपजस्तै छन्‌ कि छैनन्‌ भनेर कसरी पक्का गर्न सक्छौं?

१९ इस्राएली पूजाहारीहरूले चढाएको धूपले परमेश्‍वरका सेवकहरूले गर्ने स्वीकार्य प्रार्थनालाई संकेत गर्छ भन्‍ने कुरा छलफल गरिसक्यौं। तर इस्राएलीहरूले चढाएको धूप कहिलेकाहीं यहोवालाई पटक्कै मन परेन। एकातिर मन्दिरमा धूप बाल्ने र अर्कोतिर मूर्तिहरूलाई पनि ढोग्ने इस्राएलीहरूको दोहोरो चरित्र यहोवालाई घीन लाग्यो। (इजकिएल ८:१०, ११) त्यसै गरी, यहोवाको सेवा गरेको दाबी त गर्ने तर उहाँको व्यवस्थासित मेल नखाने काम गर्नेहरूलाई उहाँ आज पनि घृणा गर्नुहुन्छ। (हितोपदेश १५:८) त्यसैकारण, परमेश्‍वरसामु हाम्रो प्रार्थना सुगन्धित धूपजस्तो होस्‌ भन्‍ने चाहन्छौं भने आउनुहोस्‌, जीवनका सम्पूर्ण पक्ष निरन्तर सफा अनि शुद्ध राखौं। धार्मिक मार्गमा हिंड्‌नेहरूको प्रार्थना सुन्‍न पाउँदा यहोवा प्रसन्‍न हुनुहुन्छ। (यूहन्‍ना ९:३१) तर अझै पनि केही प्रश्‍नहरू बाँकी नै छन्‌। जस्तै: हामीले कसरी प्रार्थना गर्नुपर्छ? हामी केको निम्ति प्रार्थना गर्न सक्छौं? अनि हाम्रा प्रार्थनाहरूको जवाफ परमेश्‍वरले कसरी दिनुहुन्छ? अर्को लेखमा यीलगायत अरू प्रश्‍नहरू छलफल गरिनेछ। (w 06 9/1)

[फुटनोट]

के तपाईं बुझाउन सक्नुहुन्छ?

• पापी मानिसहरू परमेश्‍वरले स्वीकार्नुहुने तरिकामा उहाँसामु कसरी जान सक्छन्‌?

• प्रार्थना गर्दा हामी कसरी कुलपिताहरूको अनुकरण गर्न सक्छौं?

• सुरु-सुरुका मसीहीहरूले गरेको प्रार्थनाबाट हामी कस्तो पाठ सिक्न सक्छौं?

• के गऱ्‍यौं भने मात्र हाम्रा प्रार्थनाहरू सुगन्धित धूपजजस्तै हुन्छन्‌?

[प्रश्‍नहरू]

[पृष्ठ २३-मा भएको चित्र]

हाबिलले चढाएको बलिदान परमेश्‍वरले स्वीकार्नुभयो तर कयिनले चढाएको स्वीकार्नुभएन, किन?

[पृष्ठ २४-मा भएको चित्र]

‘म केवल माटो र खरानी मात्र हुँ’

[पृष्ठ २५-मा भएको चित्र]

“सबैको दशांश म तपाईंलाई अवश्‍य चढाउनेछु”

[पृष्ठ २६-मा भएको चित्र]

के तपाईंले यहोवालाई गर्नुभएका प्रार्थनाहरू सुगन्धित धूपजस्तै छन्‌?