सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“स्वर्गमाझैं यस पृथ्वीमा”

“स्वर्गमाझैं यस पृथ्वीमा”

“स्वर्गमाझैं यस पृथ्वीमा”

“क्याथोलिक विश्‍वासअनुसार चारवटा मुख्य कुरा छन्‌। ती हुन्‌: मृत्यु, न्याय, नरक र स्वर्ग।”—जर्ज ब्रान्टलद्वारा सम्पादित क्याथोलिजम्‌।

याद गर्नुहोस्‌, मानिसजातिलाई असर गर्ने यी चारवटा कुरामा पृथ्वीबारे उल्लेख गरिएको छैन। यसमा अचम्म मान्‍नु पर्दैन किनकि अन्य थुप्रै धर्मका मानिसहरू जस्तै क्याथोलिकहरू पनि पृथ्वी नाश हुन्छ भनेर विश्‍वास गर्छन्‌। धर्मसम्बन्धी क्याथोलिक विश्‍वकोश-ले यस कुरालाई पुष्टि गर्छ। उक्‍त विश्‍वकोशमा “संसारको अन्त” भन्‍ने विषयअन्तर्गत यस्तो अर्थ दिइएको छ: “परमेश्‍वरले सृष्टि गर्नुभएको र अहिले अस्तित्वमा रहेको संसार सधैंभरि रहनेछैन भनेर क्याथोलिकहरू विश्‍वास गर्छन्‌ र सिकाउँछन्‌।” हालै सञ्चालित क्याथोलिकहरूको प्रश्‍न-उत्तर कार्यक्रममा पनि यही कुरा छलफल गरिएको थियो: “हाम्रो संसार नाश हुनैपर्ने हो।” तर पृथ्वी नाश हुने नै हो भने पृथ्वी प्रमोदवन अर्थात्‌ सुन्दर बगैंचामा परिणत हुनेछ भनेर बाइबलले गरेको भविष्यवाणीबारे के भन्‍न सकिन्छ त?

भविष्यमा पृथ्वी सुन्दर बगैंचा हुनेछ भनेर बाइबलमा स्पष्टसँग बताइएको छ। उदाहरणको लागि, यशैया अगमवक्‍ताले पृथ्वी र मानिसहरूबारे यसरी वर्णन गरे: “तिनीहरूले घर बनाएर तिनमा बास गर्नेछन्‌, र तिनीहरूले दाखबारी लगाएर तिनका फल खानेछन्‌। तिनीहरूले बनाएर अरूहरू बस्ने, र तिनीहरूले रोपेर अरूहरूले खाने चाहिं हुनेछैन, किनकि जस्तो रूखको आयु हुन्छ, त्यस्तै मेरो प्रजाको आयु हुनेछ, र छानिएकाहरूले आफ्ना हातले गरेका काम धेरै दिनसम्मै भोग गर्नेछन्‌।” (यशैया ६५:२१, २२) यो प्रतिज्ञा परमेश्‍वरले यहूदीहरूसित गर्नुभएको थियो। मानिसजातिको चिरकालीन फाइदाको लागि आफ्नो देश अर्थात्‌ सम्पूर्ण पृथ्वी नै एकदिन प्रमोदवन हुनेछ भनेर ती यहूदीहरू ढुक्क थिए।

यो आशा वास्तविक हो भनेर भजन अध्याय ३७ ले पुष्टि गर्छ। “नम्रहरूले देश अधिकार गर्नेछन्‌।” (भजन ३७:११) यस पदले प्रतिज्ञा गरिएको देशमा इस्राएलीहरू अस्थायी रूपमा बसोबास गर्नेछन्‌ भनेको होइन। किनभने यही भजन अध्याय ३७ मा यस्तो किटान गरिएको छ: “धर्मात्माहरूले देश अधिकार गर्नेछन्‌, र त्यसैमा सधैंभरि रहन्छन्‌।” (भजन ३७:२९) a याद गर्नुहोस्‌, उक्‍त पदमा “नम्रहरूले” इनामस्वरूप पृथ्वीमा अनन्त जीवन पाउनेछन्‌ भनिएको छ। यस पदबारे गरिएको टिप्पणीमा “नम्र” भनेर अनुवाद गरिएको शब्दको अर्थ निकै फराकिलो छ। नम्र भन्‍नाले दीन, यहोवाको खातिर दुःख पाएका वा सताइएका र परमेश्‍वरको अधीनमा बस्ने नम्र हृदय भएकाहरू भन्‍ने बुझिन्छ।”

स्वर्गमा कि पृथ्वीमा?

“धन्य नम्र हुनेहरू, किनभने तिनीहरूले पृथ्वीको अधिकार पाउनेछन्‌” भनेर येशूले डाँडाको उपदेशमा गर्नुभएको प्रतिज्ञा पढ्‌दा पनि हामी भजन ३७:११ पद नै सम्झन्छौं। (मत्ती ५:५) फेरि पनि स्पष्ट छ, वफादार जनहरूले पृथ्वी इनामस्वरूप पाउनेछन्‌। तर येशूले “आफ्नो पिताको घरमा” अर्थात्‌ स्वर्गमा आफ्ना प्रेरितहरूको लागि ठाउँ तयार पार्ने र त्यहाँ उनीहरू उहाँसँगै रहनेछन्‌ भनी स्पष्ट पार्नुभयो। (यूहन्‍ना १४:१, २; लूका १२:३२; १ पत्रुस १:३, ४) त्यसोभए, पृथ्वी प्रमोदवनमा परिणत हुन्छ भन्‍ने कुरालाई कसरी बुझ्ने? पृथ्वी प्रमोदवन हुन्छ भन्‍नु के व्यावहारिक छ? अनि पृथ्वीमा को-को बस्नेछन्‌?

डाँडामा उपदेश दिंदा येशूले उल्लेख गर्नुभएको र भजन अध्याय ३७ मा समेत चर्चा गरिएको “पृथ्वी” वास्तवमा साँच्चैको पृथ्वी होइन भनेर थुप्रै बाइबलविद्‌ भन्छन्‌। यी पदहरूले “प्रतिकात्मक अर्थमा स्वर्ग र चर्चबारे कुरा गरेका हुन्‌” भनी बीबेल दे ग्लेर भन्‍ने बाइबलसम्बन्धी पुस्तकमा एफ. भीगुरुले टिप्पणी गरे। फ्रान्सका बाइबल अनुसन्धानकर्ता एम. लाग्रानका अनुसार यो प्रतिज्ञा “नम्रहरूले अधिकार गर्ने र अहिले तिनीहरू बसिरहेको पृथ्वी होइन, न त अहिलेको रीतिरिवाज हो न भविष्यमा हुने सिद्ध पृथ्वी। यो त परमेश्‍वरको स्वर्गीय राज्य हो।” अर्का अनुसन्धानकर्ता “स्वर्गलाई चित्रण गर्न प्रतिकात्मक अर्थमा पृथ्वी शब्द प्रयोग गरिएको हो” भन्छन्‌। अरू कतिपयको विचारमा भने “प्रतिज्ञा गरिएको देश कनानलाई प्रतिकात्मक अर्थमा लिइएको हो। यसले माथिको घर अर्थात्‌ परमेश्‍वरको स्वर्गीय राज्यलाई संकेत गर्छ, जहाँ नम्रहरूले अधिकार पाउने पक्का छ। भजन अध्याय ३७ र बाइबलका अन्य पदहरूमा उल्लेख गरिएको पृथ्वीको अर्थ पनि यही हो।” तर के यसको अर्थ परमेश्‍वरले गर्नुभएको प्रतिज्ञामा पृथ्वी समावेश छैन भन्‍ने निष्कर्षमा पुगिहाल्नु ठीक होला?

पृथ्वीको लागि अनन्त उद्देश्‍य

सुरुमा, परमेश्‍वरले मानिसजातिको लागि राख्नुभएको उद्देश्‍य वास्तवमा पृथ्वीसित सम्बन्धित थियो। “स्वर्ग ता परमप्रभुकै हो। तर पृथ्वीचाहिं उहाँले मानिस जातिलाई दिनुभएको छ” भनेर भजनरचयिताले लेखे। (भजन ११५:१६) त्यसकारण परमेश्‍वरले सुरुमा रच्नुभएको उद्देश्‍य मानिसलाई पृथ्वीमा राख्नु थियो, स्वर्गमा होइन। अदनको बगैंचालाई पृथ्वीभरि फैलाउनू भनेर यहोवाले पहिलो मानव दम्पतिलाई आदेश दिनुभएको थियो। (उत्पत्ति १:२८) त्यो उद्देश्‍य सधैंभरिको लागि थियो। आफ्नो वचन बाइबलमा यहोवाले पृथ्वी सधैंभरि रहिरहनेछ भनेर यसरी किटान गर्नुभएको छ: “पुस्ताहरू आउँछन्‌, पुस्ताहरू जान्छन्‌, तर पृथ्वी चाहिं सदा सर्वदै रहिरहन्छ।”—उपदेशक १:४; १ इतिहास १६:३०; यशैया ४५:१८.

यहोवाले गर्नुभएको प्रतिज्ञा कहिल्यै खेर जाँदैन किनकि उहाँ सर्वोच्च परमेश्‍वर हुनुहुन्छ र आफूले गरेको प्रतिज्ञा उहाँ पक्कै पूरा गर्नुहुन्छ। परमेश्‍वरले गर्नुभएको प्रतिज्ञा पक्का पूरा हुन्छ भनेर देखाउन बाइबलमा प्रकृतिको जल-चक्रलाई उदाहरणको रूपमा प्रयोग गर्दै यस्तो लेखिएको छ: “जसरी वृष्टि र हिउँ आकाशबाट झर्छ र त्यतैतिर फर्केर जाँदैन, तर जमीनलाई भिजाएर बाली उमार्छ, . . . त्यसरीनै मेरो मुखबाट निस्कने मेरो वचन[परमेश्‍वरको वचन] पनि हुनेछ। त्यो मकहाँ व्यर्थै फर्कनेछैन, तर मैले इच्छा गरेको काम त्यसले पूरा गर्नेछ, र जुन कामको निम्ति म त्यसलाई पठाउँछु, त्यसमा त्यो सफल हुनेछ।” (यशैया ५५:१०, ११) परमेश्‍वरले मानिसजातिसित गर्नुभएका प्रतिज्ञाहरू पूरा हुन केही समय लाग्ने भए तापनि ती प्रतिज्ञा कहिल्यै त्यसै खेर जाँदैनन्‌। उहाँले आफ्नो वचन जुन कामको निम्ति पठाउनुहुन्छ, त्यसमा त्यो सफल नभई “फर्कनेछैन।”

मानिसजातिको लागि पृथ्वी सृष्टि गर्न यहोवाले निकै “इच्छा” गर्नुभयो। सृष्टिको छैटौं दिनको अन्तमा उहाँले सब थोक “साह्रै राम्रो थियो” भन्‍नुभयो। (उत्पत्ति १:३१) पृथ्वी सधैंको लागि प्रमोदवनमा परिणत हुनु परमेश्‍वरको उद्देश्‍यको एउटा भाग हो, जुन अहिले पूरा भएको छैन। तर परमेश्‍वरले गर्नुभएको प्रतिज्ञा पूरा नभई उहाँकहाँ “व्यर्थै फर्कनेछैन।” मानिसले सधैंभरि शान्त अनि सुरक्षित भई सिद्ध जीवन बिताउन सक्ने पृथ्वीबारे यहोवाले गर्नुभएको सम्पूर्ण प्रतिज्ञा पूरा हुनेछ।—भजन १३५:६; यशैया ४६:१०.

परमेश्‍वरको उद्देश्‍य पक्कै पूरा हुनेछ

पहिलो मानव मातापिता आदम र हव्वाले पाप गरेको कारण पृथ्वीलाई प्रमोदवन बनाउने परमेश्‍वरको सुरुको उद्देश्‍य पूरा नहोला जस्तो देखियो। यहोवाको आज्ञा नमानेपछि तिनीहरू अदनको बगैंचाबाट निकालिए। त्यसरी, सिद्ध मानिसजाति प्रमोदवनमा रहून्‌ भनेर परमेश्‍वरले राख्नुभएको उद्देश्‍य पूरा गर्ने सुअवसरमा तिनीहरू सहभागी हुन पाएनन्‌। तरैपनि, परमेश्‍वरले आफ्नो उद्देश्‍य पूरा गर्न प्रबन्ध मिलाउनुभयो। कसरी?—उत्पत्ति ३:१७-१९, २३.

अदनको बगैंचामा के भएको थियो, राम्ररी बुझ्न राम्रो जग्गामा घर बनाउन थाल्ने मान्छेको उदाहरण विचार गरौं। उक्‍त व्यक्‍तिले जग मात्र के हालेको थियो, कोही आएर भत्काइदियो। तर ऊ घर बनाउने आफ्नो योजना त्यसै छोड्‌दैन। बरु घर निर्माण गरिसिध्याउन आवश्‍यक पर्ने सबै कुरा तयार गर्छ। थप काम गर्न खर्च बढी लाग्ने भए तापनि घर बनाउने आफ्नो सुरुको योजना उसले अवश्‍य पूरा गर्छ।

त्यसै गरी परमेश्‍वरले पनि आफ्नो सुरुको उद्देश्‍य पूरा गर्न सबै प्रबन्ध मिलाउनुभयो। पहिलो मातापिताले पाप गर्ने बित्तिकै परमेश्‍वरले तिनीहरूका सन्तानको लागि एउटा आशा अर्थात्‌ “वंश” दिने प्रतिज्ञा गर्नुभयो। तिनै वंशले बिग्रिएको अवस्थालाई सुधार्ने थियो। त्यस वंशको मुख्य भाग परमेश्‍वरको पुत्र येशू हुनुहुन्छ र वंशसम्बन्धी भविष्यवाणी पूरा गर्न उहाँ पृथ्वीमा आउनुभयो र मानिसजातिलाई मोल तिरेर छुटाउन आफ्नो जीवन बलिदान दिनुभयो। (गलाती ३:१६; मत्ती २०:२८) पुनरुत्थान भएर स्वर्ग गएपछि येशू परमेश्‍वरको राज्यको राजा बन्‍नुहुने थियो। पृथ्वीमाथि अधिकार पाउने पहिलो नम्र व्यक्‍ति उहाँ नै हुनुहुन्छ र यसरी अधिकार गर्दा उहाँको साथमा राज्य गर्न छानिएका र पुनरुत्थान गरेर स्वर्ग लगिएका विश्‍वासी जनहरू पनि हुनेछन्‌। (भजन २:६-९) समयमा यस सरकारले परमेश्‍वरको सुरुको उद्देश्‍य पूरा गर्न र पृथ्वीलाई प्रमोदवन बनाउन पृथ्वीमाथि शासन गर्नेछ। येशू र उहाँका सह-शासकहरूले पृथ्वीमाथि शासन गर्दा लाखौं नम्र मानिसलाई फाइदा हुनेछ। यस अर्थमा नम्रहरूले पनि “पृथ्वीको अधिकार पाउनेछन्‌।”—उत्पत्ति ३:१५; दानियल २:४४; प्रेरित २:३२, ३३; प्रकाश २०:५, ६.

“स्वर्गमाझैं यस पृथ्वीमा”

प्रेरित यूहन्‍नाले देखेको दर्शनअनुसार येशूले दिनुभएको छुटकाराको बलिदानको दुइटा पक्ष छ: स्वर्गमा र पृथ्वीमा। येशूका विश्‍वासी चेलाहरूमध्येबाट छानिएकाहरू राजा भएर स्वर्गीय सिंहासनमा बसेको यूहन्‍नाले देखे। येशूका यी सहयोगीहरूले “पृथ्वीमाथि राज्य” गर्छन्‌ भनेर बाइबलमा स्पष्टसँग बताइएको छ। (प्रकाश ५:९, १०) परमेश्‍वरको उद्देश्‍य दुई अर्थमा पूरा हुनेछ। पहिलो: येशू र उहाँका सह-शासकहरू मिलेर बनेको स्वर्गीय राज्यको निर्देशनमा पृथ्वीलाई पुनःस्थापित गरिनेछ। दोस्रो: परमेश्‍वरले गर्नुभएका यी सम्पूर्ण प्रबन्धहरूको कारण उहाँले सुरुमा राख्नुभएको उद्देश्‍य अर्थात्‌ पृथ्वीलाई प्रमोदवनमा परिणत गरिनेछ।

नमुना प्रार्थनामा येशूले आफ्ना चेलाहरूलाई परमेश्‍वरको इच्छा “स्वर्गमाझैं यस पृथ्वीमा पूरा होस्‌” भनेर प्रार्थना गर्न सिकाउनुभयो। (मत्ती ६:९, १०) पृथ्वी नाश हुने हो भने अथवा पृथ्वीले स्वर्गलाई संकेत गरेको हो भने यी शब्दहरूको के नै अर्थ रहन्थ्यो र? त्यसै गरी, सबै धर्मी मानिस स्वर्ग गए भने के यी शब्दहरूको मतलब हुन्छ र? सृष्टिसम्बन्धी सुरुको पुस्तक उत्पत्तिदेखि बाइबलको अन्तिम पुस्तक प्रकाशसम्मै पृथ्वीको लागि परमेश्‍वरले राख्नुभएको उद्देश्‍यबारे प्रस्टसँग बताइएको छ। परमेश्‍वरको उद्देश्‍य अनुरूप पृथ्वी प्रमोदवन हुनेछ। परमेश्‍वरले पूरा गर्छु भनी प्रतिज्ञा गर्नुभएको उहाँको इच्छा यही हो। पृथ्वीका वफादार मानिसहरू परमेश्‍वरको त्यही इच्छा पूरा होस्‌ भनेर प्रार्थना गर्छन्‌।

“कहिल्यै परिवर्त्तन” नहुने सृष्टिकर्ता परमेश्‍वरले सुरुमा राख्नुभएको उद्देश्‍य नै पृथ्वीमा अनन्त जीवन हो। (मलाकी ३:६; यूहन्‍ना १७:३; याकूब १:१७) परमेश्‍वरको उद्देश्‍य दुई अर्थमा पूरा हुन्छ भनेर प्रहरीधरहरा पत्रिकाले व्याख्या गर्दै आएको १०० वर्षभन्दा धेरै भइसक्यो। त्यसैकारण त पृथ्वी फेरि पहिलाको जस्तै हुनेछ भनी बाइबलमा गरिएको प्रतिज्ञा बुझ्न सकेका छौं। यहोवाका साक्षीहरूसित छलफल गरेर अथवा यस पत्रिकाको प्रकाशकलाई पत्राचार गरेर थप जानकारी प्राप्त गर्न हामी तपाईंलाई आग्रह गर्छौं। (w 06 8/15)

[फुटनोट]

a थुप्रै बाइबलमा हिब्रू शब्द इरेट्‌सलाई “पृथ्वी” भनेर अनुवाद गर्नुको साटो “देश” भनिएको छ। तर भजन ३७:११, २९ मा उल्लेख गरिएको इरेट्‌स शब्दको अर्थ इस्राएल राष्ट्रलाई दिइएको देश नै हो भन्ठान्‍नुपर्ने कुनै कारण छैन। विलियम विल्सनको ओल्ड टेस्टामेन्ट वर्ड स्टडिज्‌-मा इरेट्‌स शब्दलाई “विस्तृत अर्थमा पृथ्वी भनिएको छ, जहाँ मानिसहरू बसोबास गर्ने अनि नगर्ने दुवै खाले इलाका समावेश छ। सीमित अर्थमा चाहिं पृथ्वीको सतहको केही भाग, भूमि अथवा देश भनेर अनुवाद गरिएको छ।”—द वाचटावर, जनवरी १, १९८६, पृष्ठ ३१ हेर्नुहोस्‌।

[पृष्ठ ४-मा भएको चित्र]

भविष्यमा पृथ्वी सुन्दर बगैंचामा परिणत हुनेछ भनेर बाइबलले प्रस्टै बताएको छ

[पृष्ठ ७-मा भएको चित्र]

पृथ्वी नाश हुने हो भने येशूले सिकाउनुभएको नमुना प्रार्थनाको के नै अर्थ रहन्थ्यो र?