सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवामा आशा राख्नुहोस्‌ र साहसी हुनुहोस्‌

यहोवामा आशा राख्नुहोस्‌ र साहसी हुनुहोस्‌

यहोवामा आशा राख्नुहोस्‌ र साहसी हुनुहोस्‌

“यहोवामा आशा राख। साहसी होऊ र तिम्रो मन दह्रो होस्‌। हो, यहोवामै आशा राख।”—भजन २७:१४, NW.

१. आशा कत्तिको महत्त्वपूर्ण छ र बाइबलमा प्रयोग भएको आशा शब्दले केलाई सङ्‌केत गर्छ?

 साँचो आशा उज्यालो बत्तीजस्तै हो। यस्तो आशाले हामीलाई अहिलेका समस्याहरू देखेर विरक्‍त नहुन अनि साहसी र आनन्दित भई भविष्यको सामना गर्ने बल दिन्छ। यहोवाले मात्र आफ्नो प्रेरित वचनमार्फत हामीलाई पक्का आशा दिन सक्नुहुन्छ। (२ तिमोथी ३:१६) “आशा” शब्द बाइबलमा धेरै चोटि प्रयोग भएको छ र यसले पक्का र उत्सुक भई कुनै असल कुराको आशा गर्नु र त्यसरी आशा गर्नुको कारणलाई सङ्‌केत गर्छ। a यस्तो आशा, इच्छाभन्दा कता हो कता राम्रो हुन्छ किनभने इच्छा गर्नुको ठोस आधार नहुन पनि सक्छ। अर्को शब्दमा भन्‍नुपर्दा, इच्छा पूरा हुन्छ/हुँदैन के ठेगान!

२. आशाले गर्दा येशूले के-के गर्नुभयो?

गाह्रो अवस्थामा पर्दा र कठिनाइले घेर्दा येशूले भविष्यलाई ध्यानमा राख्नुभयो र यहोवामा आशा गर्नुभयो। उहाँले आफ्नो “सामने राखिदिएको आनन्दको निम्ति शर्मलाई घिन गरेर क्रूसको शासना भोग्नुभयो, र परमेश्‍वरको सिंहासनको दाहिनेपट्टि बस्नुभएको छ।” (हिब्रू १२:२) यहोवाको सार्वभौमिकता उच्च पार्ने र उहाँको नाउँ पवित्र गर्ने ध्याउन्‍न भएको कारण येशूले जस्तोसुकै मूल्य तिरेर भए पनि परमेश्‍वरको आज्ञा पालन गर्नुभयो।

३. आशाले परमेश्‍वरका सेवकहरूलाई के गर्न मदत दिनेछ?

आशा र साहसबीचको सम्बन्ध उल्लेख गर्दै राजा दाऊद भन्छन्‌: “यहोवामा आशा राख। साहसी होऊ र तिम्रो मन दह्रो होस्‌। हो, यहोवामै आशा राख।” (भजन २७:१४, NW) मन दह्रो बनाउन चाहन्छौं भने, हामीले आफ्नो आशालाई कहिल्यै पनि धमिलो हुन दिनु हुँदैन। बरु, यस आशालाई मनमा सधैं स्पष्ट बनाई राख्नुपर्छ र यसलाई अत्यन्त अनमोल ठान्‍नुपर्छ। यसो गऱ्‍यौं भने, येशूले आफ्ना चेलाहरूलाई अह्राउनुभएको काम उहाँले जस्तै साहस र जोसका साथ गर्न सक्नेछौं। (मत्ती २४:१४; २८:१९, २०) त्यसकारण पनि आशालाई परमेश्‍वरका सेवकहरूले प्रकट गर्ने अत्यावश्‍यक तथा चिरस्थायी गुण विश्‍वास र प्रेम सँगसँगै उल्लेख गरिएको हो।—१ कोरिन्थी १३:१३.

के तपाईं ‘आशामा प्रशस्त’ हुनुहुन्छ?

४. अभिषिक्‍त मसीहीहरू के गर्न उत्सुक छन्‌ र उनीहरूका सँगी ‘अरू भेडाचाहिं’ के प्राप्त गर्ने आशामा छन्‌?

परमेश्‍वरका जनहरूको भविष्य उज्ज्वल छ। स्वर्गमा ख्रीष्टसँग सेवा गर्न अभिषिक्‍त मसीहीहरू उत्सुक छन्‌ भने, ‘अरू भेडाचाहिं’ ‘विनाशको बन्धबाट मुक्‍त हुने र परमेश्‍वरका [पार्थिव] सन्तानको महिमित स्वतन्त्रता प्राप्त गर्ने’ आशामा छन्‌। (यूहन्‍ना १०:१६; रोमी ८:१९-२१, NRV; फिलिप्पी ३:२०) “महिमित स्वतन्त्रता” भनेको पाप र यसका भयानक असरहरूबाट स्वतन्त्र हुनु हो। “हरेक असल दान र हरेक उत्तम वरदान” दिनुहुने यहोवाले आफ्ना वफादार जनहरूलाई निश्‍चय असल कुरा मात्र दिनुहुन्छ।—याकूब १:१७; यशैया २५:८.

५. हामी कसरी ‘आशामा प्रशस्त’ हुन सक्छौं?

हाम्रो जीवनमा मसीही आशा कत्तिको महत्त्वपूर्ण छ? रोमी १५:१३ मा यस्तो लेखिएको छ: “आशाका परमेश्‍वरले, तिमीहरूलाई पवित्र आत्माको शक्‍तिमा, आशाचाहिं प्रशस्त गरिदिनाको निम्ति विश्‍वासमा सारा रमाहट र शान्तिले तिमीहरूलाई भरिपूर गरिदिऊन्‌।” हो, आशालाई अँध्यारोमा बलेको दियोजस्तो होइन तर बिहानको चहकिलो घामको किरणसित तुलना गर्न सकिन्छ। यस्तो आशाले मानिसको जीवनमा शान्ति र आनन्द ल्याउँछ। अनि जीवन उद्देश्‍यपूर्ण बनाउनुका साथै मानिसलाई साहसी पनि बनाउँछ। परमेश्‍वरको लिखित वचनमा विश्‍वास गरेपछि र उहाँको पवित्र आत्मा पाएपछि हामी ‘आशामा प्रशस्त’ हुन्छौं भन्‍ने कुरा याद गर्नुहोस्‌। रोमी १५:४ भन्छ: “जत्ति कुरा अघि लेखिए, ती सबै हाम्रो शिक्षाको निम्ति हो, कि धीरज र धर्मशास्त्रको शान्तिद्वारा हामीलाई आशा होस्‌।” त्यसकारण आफैलाई सोध्नुहोस्‌: ‘लगनशील भई दिनहुँ बाइबल पढेर के मैले आफ्नो आशालाई उज्ज्वल राखेको छु? परमेश्‍वरको आत्मा माग्न के म प्रार्थना गर्छु?’—लूका ११:१३.

६. आफ्नो आशा उज्ज्वल राख्न चाहन्छौं भने, हामी कस्ता कुराबाट जोगिनै पर्छ?

हाम्रो प्रमुख उदाहरण येशूले परमेश्‍वरको वचनबाट बल प्राप्त गर्नुभयो। उहाँले बसाल्नुभएको उदाहरण दुरुस्त पछ्याउने कोसिस गऱ्‍यौं भने, हाम्रो “मन शिथिल भई . . . थाकेर” जानेछैन। (हिब्रू १२:३) कुरा ठीकै हो, किनभने परमेश्‍वरले हामीलाई दिनुभएको आशा हाम्रो मन र हृदयमा मधुरो भयो अथवा हाम्रो ध्यान भौतिक कुरा वा ठूलठूलो कुरातीर जान थाल्यो भने, हामी आध्यात्मिक रूपमा शिथिल भएर जानेछौं। यसरी शिथिल हुँदा नैतिक सिद्धान्तअनुसार जिउने हाम्रो बल र साहस घटेर जान्छ। यस्तो स्थितिमा पुग्यौं भने, हाम्रो “विश्‍वासको जहाज” डुब्न बेर लाग्दैन। (१ तिमोथी १:१९) तर साँचो आशाले हाम्रो विश्‍वास बलियो बनाउँछ।

विश्‍वास बलियो बनाउन आशा नभई हुँदैन

७. विश्‍वास बलियो बनाउन आशा नभई हुँदैन, किन?

बाइबल भन्छ: “विश्‍वासचाहिं आशा राखेका कुराको निश्‍चयता, र नदेखेका कुराको प्रमाण हो।” (हिब्रू ११:१) त्यसकारण, आशा विश्‍वासभन्दा कम महत्त्वपूर्ण कुरा होइन, यो त विश्‍वासकै अभिन्‍न भाग हो। यो कुरा बझ्न अब्राहामको उदाहरण विचार गर्नुहोस्‌। यहोवाले अब्राहाम र तिनकी पत्नी सारालाई छोरा दिने प्रतिज्ञा गर्नुहुँदा मान्छेको नजरमा उनीहरूको बच्चा पाउने उमेर कटिसकेको थियो। (उत्पत्ति १७:१५-१७) तर अब्राहामले कस्तो प्रतिक्रिया देखाए? “धेरै जातिहरूका पिता हुनालाई निराशामा पनि आशा राखेर विश्‍वास गरे।” (रोमी ४:१८) हो, परमेश्‍वरले अब्राहामलाई छोरा दिनेछु भनेर आशा दिनुभयो, जुन आशाले गर्दा तिनको विश्‍वास झनै बलियो भयो। फलस्वरूप, त्यस्तो विश्‍वासले तिनको आशा अझ उज्ज्वल र सुनिश्‍चित भयो। त्यसो नहुँदो हो त, अब्राहाम र साराले आफ्नो घर अनि आफन्तहरू छोडेर बाँकी जीवन परदेशमा, त्यो पनि पालमा जीवन बिताउने आँट गर्ने थिएनन्‌!

८. आज्ञाकारिता र धीरजले हाम्रो आशालाई कसरी सुनिश्‍चित बनाउँछ?

यहोवाले जे-जे भन्‍नुभयो, त्यसै गर्न अब्राहामलाई सजिलो भएन। तैपनि यहोवाले भन्‍नुभएअनुसारै गरेर अब्राहामले आफ्नो आशा सुनिश्‍चित गरे। (उत्पत्ति २२:२, १२) यसै गरी, आज्ञाकारी र धीरजी भई यहोवाको सेवा गऱ्‍यौं भने इनाम पाउने कुरामा हामी पनि निर्धक्क हुन सक्छौं। पावलले लेखे: “धीरजले सदाचार, र सदाचारले आशा” उत्पन्‍न गर्छ र “आशाले निराश गराउँदैन।” (रोमी ५:४, ५) यो कुरा साँचो भएको हुँदा पावलले यसो पनि भने: “तिमीहरू हरेकले पूरा आशाको निम्ति अन्तसम्मै त्यही किसिमको प्रयत्न देखाउनेछौ भन्‍ने हामी इच्छा गर्दछौं।” (हिब्रू ६:११) यस्तो आशावादी दृष्टिकोण राख्यौं भने, साहसी र आनन्दित भई कठिनाइको सामना गर्न सक्नेछौं। यहोवासित घनिष्ठ सम्बन्ध राख्यौं भने मात्र यसरी आशावादी हुन सक्छौं।

“आशामा आनन्द गर”

९. नियमित रूपमा के गऱ्‍यौं भने मात्र हामी “आशामा आनन्द” गर्न सक्छौं?

परमेश्‍वरले हामीलाई दिनुभएको आशा, संसारले दिन सक्ने कुनै पनि कुराभन्दा कैयौं गुना मूल्यवान्‌ छ। भजन ३७:३४ (NW) भन्छ: “यहोवामा आशा राख र उहाँकै मार्गमा हिंड। पृथ्वीमा अधिकार गर्न उहाँले तिमीलाई उचाल्नुहुनेछ। दुष्टहरूको विनाश तिम्रै आँखाले देख्नेछ।” हो, “आशामा आनन्द” गर्ने हामीसित ठोस कारण छ। (रोमी १२:१२) तर, आशामा आनन्द गर्न हामीले आफ्नो आशाबारे सोचिरहनै पर्छ। के तपाईं परमेश्‍वरले दिनुभएको आशाबारे सोचिरहनुहुन्छ? के तपाईं आफू प्रमोदवनमा हट्टाकट्टा, चिन्तामुक्‍त, आफ्ना प्रियजनसित हाँसीखुसी बसेको र अत्यन्त सन्तोषजनक काम गरिरहेको कल्पना गर्न सक्नुहुन्छ? हाम्रा प्रकाशनहरूमा प्रमोदवनको थुप्रै चित्र दिइएको हुन्छ, के तपाईं ती चित्रबारे मनन गर्नुहुन्छ? नियमित रूपमा यसरी मनन गर्नुलाई झ्यालको सिसा सफा गर्नुसित तुलना गर्न सकिन्छ। हामीलाई थाह छ, झ्यालको सिसा सफा गरेपछि बाहिरको मनोरम दृश्‍य छर्लङ्‌ग देख्न सकिन्छ तर सफा गरेनौं भने, छिट्टै मैलो हुन्छ र बाहिरको दृश्‍य प्रस्टसित देख्न सकिंदैन। त्यसो भएपछि अर्कै कुराले हाम्रो ध्यान खिच्छ। हामी कहिल्यै पनि यस्तो स्थितिमा नपुगौं!

१०. इनाममा ध्यान दिंदा यहोवासितको हाम्रो सम्बन्ध राम्रो रहेछ भन्‍ने कुरा देखिन्छ, किन?

१० हुन त, यहोवालाई प्रेम गरेको कारण हामी उहाँको सेवा गर्छौं। (मर्कूस १२:३०) तैपनि, आफूले पाउने इनाममा हामीले उत्कट ध्यान दिनुपर्छ। वास्तवमा, हामीले यसै गरेको यहोवा चाहनुहुन्छ। यसैकारण त हिब्रू ११:६ मा भनिएको छ: “विना विश्‍वास उहाँलाई रिझाउन असम्भव छ। किनभने जो परमेश्‍वरकहाँ आउँछ, त्यसले उहाँको अस्तित्व छ भन्‍ने, र उहाँलाई खोज्नेहरूलाई प्रतिफल दिनुहुन्छ भन्‍ने अवश्‍य विश्‍वास गर्नुपर्छ।” यहोवा प्रतिफल अर्थात्‌ इनाम दिनुहुने परमेश्‍वर हुनुहुन्छ भनेर हामीले थाह पाएको उहाँ चाहनुहुन्छ, किन होला? किनभने यसो गर्दा स्वर्गमा बस्नुहुने पितालाई हामीले राम्रोसँग चिनेका छौं भनेर स्पष्ट हुन्छ। उहाँ दयालु हुनुहुन्छ र आफ्ना छोराछोरीलाई माया गर्नुहुन्छ। ‘भविष्य र आशा’ नै नभएको भए हामी कत्ति दुःखी र सजिलै निराश हुने थियौं, सोच्नुहोस्‌ त!—यर्मिया २९:११.

११. परमेश्‍वरले दिनुभएको आशाले मोशालाई सही निर्णय गर्न कसरी मदत गऱ्‍यो?

११ परमेश्‍वरले दिनुभएको आशामा उत्कट ध्यान दिने व्यक्‍तिको नाउँ हो, मोशा। यस सन्दर्भमा तिनले अति राम्रो उदाहरण बसाले। “फिरऊनकी छोरीको छोरा” भएकाले मोशासित शक्‍ति, प्रतिष्ठा र मिश्र देशको खजाना थियो। तर मोशाले ती कुरा खोजे कि यहोवाको सेवा गरे? मोशाले साहसी भई यहोवाकै सेवा गर्ने निर्णय गरे। किन? किनकि तिनले “आफ्नो दृष्टि प्रतिफलतिर लाएका थिए।” (हिब्रू ११:२४-२६) हो, यहोवाले आफ्नो अगाडि राखिदिनुभएको आशालाई मोशाले मूल्यवान्‌ ठाने।

१२. मसीही आशा किन टोपजस्तै हो?

१२ प्रेरित पावलले आशालाई टोपसित तुलना गरे। यो लाक्षणिक टोपले हाम्रो विचार-शक्‍तिको रक्षा गर्छ। विचार-शक्‍ति गुमाएनौं भने हामी बुद्धिमानी निर्णय गर्न, सही प्राथमिकताहरू तय गर्न र निष्ठावान्‌ रहन सक्छौं। (१ थिस्सलोनीकी ५:८) के तपाईंले यो लाक्षणिक टोप हरपल लगाइरहनुभएको छ? छ भने, मोशा र पावलले जस्तै तपाईंले पनि आफ्नो आशा “अनिश्‍चित सम्पत्तिमा होइन, तर हामीलाई सबै चीज प्रशस्तसँग उपभोग गर्न दिनुहुने, परमेश्‍वरमाथिनै” राख्नुहुनेछ। हो, स्वार्थी इच्छाहरूको पछि लाग्न इन्कार गरेर वर्तमान लहडको विरुद्धमा उभिन साहस चाहिन्छ तर यसबारे गरिने मेहनत त्यसै खेर जाँदैन। साँच्चै भन्‍नुपर्दा, यहोवामा आशा राख्ने र उहाँलाई प्रेम गर्नेहरूले पाउने ‘साँच्चैको जीवन’ हुँदाहुँदै योभन्दा कमसल कुरा किन खोज्ने?—१ तिमोथी ६:१७, १९.

“म तिमीलाई कुनै रीतिले छोड्‌नेछैनँ”

१३. यहोवाले आफ्ना वफादार सेवकहरूलाई कस्तो आश्‍वासन दिनुभएको छ?

१३ वर्तमान रीतिरिवाजमा आशा राख्नेहरूले भोलि के हुन लागेको छ, गम्भीर भई सोच्नै पर्छ किनभने संसारमा “कष्ट” दिन दुई गुना, रात चौगुनाको हिसाबले बढ्‌दैछ। (मत्ती २४:८) तर यहोवामा आशा गर्नेहरू नडराईकन ढुक्क बसे हुन्छ। उनीहरू निरन्तर “बेफिक्री रहनेछन्‌। दुर्दिनमा डरैविना . . . ढुक्क रहनेछन्‌।” (हितोपदेश १:३३) वर्तमान रीतिरिवाजमा आशा नराख्ने भएकोले उनीहरू हर्षित्‌ भई पावलको यो सल्लाह पालन गर्छन्‌: “रूपियाँ-पैसाको लोभबाट अलग बस। तिमीहरूसँग भएका कुरामा सन्तुष्ट रहो। किनकि उहाँ आफैले भन्‍नुभएको छ, ‘म तिमीलाई कुनै रीतिले छोड्‌नेछैनँ, म तिमीलाई त्याग्नेछैनँ।’ ”—हिब्रू १३:५.

१४. मसीहीहरू आफ्ना भौतिक आवश्‍यकताहरूबारे अचाक्ली चिन्तित हुनु पर्दैन, किन?

१४ “कुनै रीतिले छोड्‌नेछैनँ,” “त्याग्नेछैन” भन्‍ने जोडदार अभिव्यक्‍तिबाट परमेश्‍वर हाम्रो ख्याल अवश्‍य राख्नुहुन्छ भनेर बुझिन्छ। परमेश्‍वर हामीप्रति मायालु चासो राख्नुहुन्छ भन्‍ने सन्दर्भमा येशूले हामीलाई यस्तो आश्‍वासन दिनुभयो: “पहिले उहाँको राज्य र उहाँको धार्मिकता खोजी गर, र यी सबै थोक [जीवनका भौतिक आवश्‍यकताहरू] तिमीहरूलाई थपिनेछन्‌। यसकारण भोलिको निम्ति फिक्री नगर, किनकि भोलिको दिनले आफ्नो फिक्री आफै गर्नेछ।” (मत्ती ६:३३, ३४) एकातिर परमेश्‍वरको राज्यको काममा जोसिलो हुनु र अर्कोतिर आफ्नो तथा परिवारको भौतिक आवश्‍यकता पूरा गर्ने जिम्मेवारीको भार उठाउनु सजिलो छैन भन्‍ने कुरा यहोवालाई थाह छ। त्यसकारण आउनुहोस्‌, हाम्रा आवश्‍यकताहरू पूरा गर्न सक्ने यहोवाको क्षमता र इच्छामा पूरा भरोसा गरौं।—मत्ती ६:२५-३२; ११:२८-३०.

१५. मसीहीहरू कसरी आफ्नो “आँखा निर्मल” राख्छन्‌?

१५ आफ्नो “आँखा निर्मल” राख्यौं भने हामी यहोवामाथि भर परिरहेका हुन्छौं। (मत्ती ६:२२, २३) आफ्नो आँखालाई निर्मल राख्नेहरू निष्कपट र शुद्ध मनका हुन्छन्‌, लोभी हुँदैनन्‌ र स्वार्थ पूरा गर्नतिर लाग्दैनन्‌। तर आँखा निर्मल राख्नुपर्छ भन्‍नुको मतलब चरम गरिबी खपेर बस्नु अथवा आफू र आफ्नो परिवारको भौतिक आवश्‍यकता पूरा गर्ने मसीही दायित्व बेवास्ता गर्नु भनेको होइन। बरु यसको अर्थ त यहोवाको सेवालाई पहिलो स्थानमा राखेर “आत्मसंयम” देखाउनु हो।—२ तिमोथी १:७.

१६. आँखा निर्मल राख्न किन विश्‍वास र साहस चाहिन्छ?

१६ आँखा निर्मल राखिराख्न विश्‍वास र साहस चाहिन्छ। जस्तो कि—मसीही सभाहरू हुने समयमा पनि सधैं काम गर्न हाकिमले आग्रह गरेमा के तपाईं साहसी भई आफूले प्राथमिकता दिएको आध्यात्मिक कुरामै अडिग रहनुहुनेछ? यहोवा आफ्ना सेवकहरूको हेरचाह गर्नुहुन्‍न होला भनेर शङ्‌का गऱ्‍यौं कि त मौका छोपेर शैतानले हामीलाई झनै शङ्‌कालु बनाइदिन्छ। यसरी शङ्‌कालु भयौं भने मसीही सभाहरूमा उपस्थित हुनुको महत्त्व चटक्कै भुल्न सक्ने सम्भावना हुन्छ। भन्‍न खोजेको कुरा के भने, यहोवामाथि हाम्रो विश्‍वास कम हुनु भनेको हामी शैतानको मुठीमा पर्नु हो। यसो भएपछि हाम्रा प्राथमिकताहरू यहोवाले होइन, शैतानले तय गर्छ। यस्तो हुन दिनु कत्ति दुःखलाग्दो कुरा हो!—२ कोरिन्थी १३:५.

“यहोवामा आशा राख”

१७. यहोवामाथि भरोसा गर्नेहरूले कसरी अहिले पनि आशिष्‌ पाउँछन्‌?

१७ यहोवामा आशा राख्ने र उहाँमाथि भरोसा गर्नेहरू कहिल्यै असफल हुँदैनन्‌ भन्‍ने कुरा बाइबलमा दोहऱ्‍याइ-तेहऱ्‍याइ बताइएको छ। (हितोपदेश ३:५, ६; यर्मिया १७:७) हुन त कहिलेकाहीं उनीहरूले थोरै भौतिक कुरामा चित्त बुझाउनुपर्ने हुन्छ तर भविष्यमा पाउने आशिष्‌हरूको तुलनामा उनीहरू यसलाई सानो त्याग ठान्छन्‌। यस प्रकार उनीहरू “यहोवामा आशा” राखेको र यहोवाले अन्तमा आफ्ना वफादार जनहरूको जायज इच्छा पूरा गरिदिनुहुनेछ भन्‍ने कुरामा ढुक्क भएको देखाउँछन्‌। (भजन ३७:४, ३४, NW) यस अर्थमा उनीहरू अहिले पनि साँच्चै खुसी छन्‌। “धर्मीको आशाले हर्षित तुल्याउँछ, तर दुष्टका आशाहरू फासफुस हुन्छ।”—हितोपदेश १०:२८, NRV.

१८, १९. (क) यहोवाले हामीलाई कस्तो मायालु आश्‍वासन दिनुभएको छ? (ख) हामी कसरी यहोवालाई आफ्नो “दाहिने हाततर्फ” राख्न सक्छौं?

१८ आफ्नो बुबाको हात समाएर हिंडेको बेला सानो बालकलाई केही कुराको डर हुँदैन। स्वर्गमा बस्नुहुने हाम्रो पितासित हिंड्‌दा हामी पनि यस्तै महसुस गर्न सक्छौं। यहोवाले इस्राएलीहरूलाई भन्‍नुभयो: “नडरा, किनकि म तँसित छु। . . . म तँलाई सहायता गर्नेछु, . . . म, परमप्रभु तेरा परमेश्‍वले तँलाई यसो भनेर तेरो दाहिने हात समात्नेछु, ‘नडरा, म तँलाई सहायता गर्नेछु,।’ ”—यशैया ४१:१०, १३.

१९ ‘यहोवाले हाम्रो दाहिने हात समात्नुहुन्छ’ भन्‍ने अभिव्यक्‍ति पढ्‌दा खुसी लाग्दैन र? दाऊदले लेखे: “मैले परमप्रभुलाई सधैं मेरो सामने राखेको छु। किनभने उहाँ मेरो दाहिने हाततर्फ हुनुहुन्छ। म डग्नेछैनँ।” (भजन १६:८) हामी कसरी यहोवालाई आफ्नो “दाहिने हाततर्फ” राख्न सक्छौं? यसो गर्न सकिने कम्तीमा दुइटा तरिका छ। पहिलो: जीवनको हर क्षेत्रमा यहोवाको वचनले भनेअनुसार चलेर। दोस्रो: यहोवाले हाम्रोसामु राखिदिनुभएको सानदार इनाममा ध्यान केन्द्रित गरेर। भजनरचयिता आसापले यस्तो गीत गाए: “म निरन्तर तपाईंसँगै छु। तपाईंले मेरो दाहिने हात थाम्नुभएको छ। तपाईंले आफ्नै सल्लाहले मलाई डोऱ्‍याउनुहुनेछ। र त्यसपछि मलाई आफ्नो महिमा[मा] लिनुहुनेछ।” (भजन ७३:२३, २४) यस्तो आश्‍वासन पाएपछि हामी निर्धक्क भई भविष्यको सामना गर्न सक्छौं।

“तिमीहरूको छुटकारा नजीकै आएको हुनेछ”

२०, २१. यहोवामा आशा राख्नेहरूको भविष्य कस्तो छ?

२० दिन जति बित्दै जान्छ, यहोवालाई आफ्नो दाहिने हाततर्फ राख्नु उति नै जरुरी छ। अब चाँडै झूटो धर्म विनाश हुँदैछ। त्यसपछि शैतानको संसारले पहिला कहिल्यै अनुभव नगरेको विपत्ति भोग्नेछ। (मत्ती २४:२१) त्यतिखेर यहोवामाथि विश्‍वास नगर्नेहरू डरले मूर्छा पर्नेछन्‌। तर यस्तो भयानक घडीमा यहोवाका साहसी सेवकहरू भने आफ्नो आशाले गर्दा हर्षित्‌ हुनेछन्‌! येशूले भन्‍नुभयो: “जब यी कुरा हुनेछन्‌ तब शिर उठाएर माथि हेर, किनभने तिमीहरूको छुटकारा नजीकै आएको हुनेछ।”—लूका २१:२८.

२१ त्यसकारण आउनुहोस्‌, परमेश्‍वरले दिनुभएको आशामा आनन्द मनाऔं र शैतानका धूर्त चालहरूबाट छक्किन वा त्यसमा पर्नदेखि जोगिऔं। यसबाहेक, विश्‍वास, प्रेम र परमेश्‍वरको भय बढाउन खुब मेहनत गरौं। यसो गऱ्‍यौं भने, जस्तोसुकै परिस्थितिमा पनि साहसी भई यहोवाको आज्ञापालन गर्न र दियाबलको विरोध गर्न सक्नेछौं। (याकूब ४:७, ८) “हे परमप्रभुमा आशा राख्ने हो, बलियो होऊ, र तिमीहरूका हृदयमा साहस आओस्‌।”—भजन ३१:२४. (w 06 10/1)

[फुटनोट]

a मसीही युनानी धर्मशास्त्रमा “आशा” शब्द अभिषिक्‍त मसीहीहरूले स्वर्गमा पाउने इनामलाई बुझाउन प्रयोग गरिएको छ। तर यस लेखमा भने यो शब्द हामी सबैलाई लागू हुने गरी चलाइएको छ।

के तपाईं जवाफ दिन सक्नुहुन्छ?

• आफ्नो आशाले येशूलाई कसरी साहसी हुन मदत गऱ्‍यो?

• विश्‍वास र आशा कसरी एकअर्कासित सम्बन्धित छन्‌?

• विश्‍वास र आशाले कुनै पनि मसीहीलाई जीवनमा सही प्राथमिकताहरू तय गर्न कसरी मदत गर्न सक्छ?

• “यहोवामा आशा” राख्नेहरूले किन निर्धक्क भई भविष्यको सामना गर्न सक्छन्‌?

[प्रश्‍नहरू]

[पृष्ठ २९-मा भएको चित्र]

तपाईं जवान होस्‌ वा वृद्ध, आफू प्रमोदवनमा भएको कल्पना गर्न सक्नुहुन्छ?