सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

विश्‍वास र परमेश्‍वरको भयले साहसी बनाउँछ

विश्‍वास र परमेश्‍वरको भयले साहसी बनाउँछ

विश्‍वास र परमेश्‍वरको भयले साहसी बनाउँछ

“बलियो र खूबै साहसी हो, . . . [ यहोवा ] तेरा परमेश्‍वर, तेरो साथमा हुनुहुनेछ।”—यहोशू १:९.

१, २. (क) मानिसको नजरबाट हेर्दा के इस्राएलीहरूले कनानीहरूलाई जित्न सक्लान्‌ जस्तो देखिन्थ्यो? (ख) यहोशूले कस्तो आश्‍वासन पाए?

 ईसापूर्व १४७३ मा इस्राएलीहरूको ठूलो जमात प्रतिज्ञा गरिएको देशभित्र छिर्न तम्तयार थियो। आइपर्न सक्ने खतराहरूबारे मोशाले इस्राएलीहरूलाई यसो भनेर सम्झाए: “तिमीहरूभन्दा महान्‌ र शक्‍तिशाली जातिहरू औ अल्गा र आकाश छुने पर्खाल लाएका ठूला ठूला शहरहरू अधिकार गर्न तिमीहरू आज यर्दन पारि जानुपरेको छ। त्यहाँका मानिस अनाकीहरू हुन्‌, जो असंख्य र अल्गा अल्गा छन्‌। ‘अनाकीहरूको सामने को खडा हुनसक्छ?’ भन्‍ने ता तिमीहरूको उक्‍ति छ।” (व्यवस्था ९:१, २) हो, कनानमा बस्ने ती अनाकीहरू अजङका योद्धाहरू थिए! अझ केही कनानीसित त घोडा र रथहरूले सुसज्जित सेना पनि थियो अनि रथका पाङ्‌ग्राहरूमा तिनीहरू फलामका धारिला हतियार जडान गर्थे।—न्यायकर्त्ता ४:१३.

तर अर्कोतर्फ, कुनै समय दास-दासी भएका इस्राएलीहरूले भने उजाडस्थानमा ४० वर्ष बिताएको धेरै भएको थिएन। त्यसकारण, मानिसको नजरबाट हेर्दा इस्राएलीहरूले कनानीहरूलाई जित्नु ‘अकासको फल आँखा तरी मर्‌’ भनेसरह थियो। तैपनि, मोशामा विश्‍वास थियो; यहोवाले नै उनीहरूलाई डोऱ्‍याइरहनुभएको छ भन्‍ने कुरा तिनी ‘देख्न’ सक्थे। (हिब्रू ११:२७) मोशाले इस्राएलीहरूलाई भने: “तिमीहरूका अगि अगि जाने परमप्रभु तिमीहरूका परमेश्‍वरनै हुनुहुन्छ। उहाँले तिनीहरूलाई तिमीहरूको अधीन ल्याउनुहुनेछ, र तिमीहरूले तिनीहरूलाई निकालेर चाँडै नष्ट पार्नेछौ।” (व्यवस्था ९:३; भजन ३३:१६, १७) मोशाको मृत्युपछि यहोशूलाई दिने मदतबारे यहोवाले यस्तो आश्‍वासन दिनुभयो: “उठ्‌, तँ यी सबै मानिसहरूलाई लिएर यर्दनपारि मैले इस्राएलीहरूलाई दिने देशमा जा। तेरो जीवनभरि तेरो सामने कोही मानिस खडा हुनसक्ने छैन। जसरी म मोशासँग रहें, त्यसरीनै म तँसँग रहनेछु।”—यहोशू १:२, ५.

३. यहोशू विश्‍वासी र साहसी हुन सक्नुको कारण के थियो?

यहोवाको मदत र डोऱ्‍याइ पाउन यहोशूले उहाँको व्यवस्था पढ्‌नै पर्थ्यो, पढेको कुरा मनन गर्नै पर्थ्यो अनि त्यसैअनुसार जीवन पनि बिताउनुपर्थ्यो। यहोवाले भन्‍नुभयो: “र मात्र तेरा सबै मार्गहरूमा उन्‍नती गर्नेछस्‌ र सफलता पाउनेछस्‌। तँलाई मेरो आज्ञा छ बलियो र खूबै साहसी हो, नडरा, निराश नहो, किनकि तँ जहाँ गए पनि, परमप्रभु तेरा परमेश्‍वर, तेरो साथमा हुनुहुनेछ।” (यहोशू १:८, ९) परमेश्‍वरले भन्‍नुभएको कुरा यहोशूले मानेको कारण तिनी साहसी, बलियो र सफल हुन सके। तर धेरैजसो इस्राएलीले परमेश्‍वरले भनेको मानेनन्‌। त्यसकारण, तिनीहरू सफल हुन सकेनन्‌ र उजाडस्थानमै मरे।

विश्‍वास कम भएका मानिसहरू डराए

४, ५. (क) दस जना जासुसको मनोवृत्ति यहोशू र कालेबको भन्दा एकदमै फरक थियो, कसरी? (ख) इस्राएलीहरूले विश्‍वासको कमी देखाउँदा यहोवाले के भन्‍नुभयो?

चालीस वर्षअघि पहिलो पटक कनान आइपुगेको बेला मोशाले १२ जना जासुसलाई त्यस देशको भेद लिन पठाएका थिए। बाह्र जनामा दस जना त डरपोक थिए। तिनीहरूले भने: “हामीले त्यहाँ देखेका [सबै] मानिसहरू दैत्याकार रहेछन्‌। त्यहाँ हामीले अनाकका सन्तान, नपीलीहरूलाई देख्यौं। तिनीहरूका सामने ता हामी आफैलाई फट्यांग्राजस्तै लाग्यो।” के अनाकीलगायत “[सबै] मानिसहरू” दैत्यजस्ता थिए? अहँ, थिएनन्‌। के अनाकीहरू जलप्रलय हुनुअघिका नपीलका सन्तानहरू थिए? थिएनन्‌! तैपनि बढाइचढाइ गरिएको त्यस्तो धूर्त कुराले गर्दा इस्राएलीहरू बसेको छाउनीभरि त्रास फैलियो। कतिपय इस्राएली त आफू दास बनेर बस्नुपरेको देश मिश्र नै फर्कन खोजे!—गन्ती १३:३१–१४:४.

तर दुई जना जासुस यहोशू र कालेब भने प्रतिज्ञा गरिएको देशभित्र छिर्न उत्सुक थिए। उनीहरूले भने: कनानीहरू त “हाम्रा शिकार हुन्‌। तिनीहरूको सुरक्षा तिनीहरूबाट हटिसकेको छ। परमप्रभु हामीतर्फ हुनुहुन्छ, तिनीहरूसित नडराओ।” (गन्ती १४:९) के यहोशू र कालेब बढ्‌तै आशावादी भइरहेका थिए? त्यसो होइन! कुरा के हो भने, अरू इस्राएलीले जस्तै उनीहरू दुईले पनि यहोवाले दसवटा विपत्ति ल्याएर शक्‍तिशाली मिश्र देश अनि मिश्री देवीदेवतालाई लज्जित पार्नुभएको देखेका थिए। यहोवाले फिरऊन र तिनका सेनालाई लाल समुद्रमा डुबाउनुभएको पनि उनीहरूले देखेका थिए। (भजन १३६:१५) त्यस कुरालाई विचार गर्दा दस जना जासुस त्यसरी डराउनु र तिनीहरूको कुरा पत्याएर अरू इस्राएलीहरू कराई-कराई रुनु क्षमा दिन लायक थिएन। तिनीहरूको त्यस्तो बेहोराले साह्रै दुःखित भएको कारण यहोवाले भन्‍नुभयो: “यिनीहरूका बीचमा मैले गरेका चिह्नहरू देखेर पनि यिनीहरूले कतिसम्म ममाथि अविश्‍वास गर्छन्‌?”—गन्ती १४:११.

६. कुन अर्थमा विश्‍वास र साहसबीच नङमासुको जस्तै सम्बन्ध छ र यो कुरा आज हाम्रो समयमा कसरी देखिएको छ?

‘विश्‍वासको कमीले गर्दा मानिसहरू डराए’ भनेर यहोवाले समस्याको मूल कारण औंल्याउनुभयो। हो, विश्‍वास र साहसबीच नङमासुको जस्तै सम्बन्ध छ। त्यसैकारण त मसीही मण्डली र यसले लड्‌नुपर्ने आध्यात्मिक युद्धबारे लेख्दा प्रेरित यूहन्‍नाले यसो भने: “संसारमाथि विजयी हुने विजयचाहिं हाम्रो विश्‍वास हो।” (१ यूहन्‍ना ५:४) यहोशू र कालेबमा जुन प्रकारको विश्‍वास थियो, त्यस्तै विश्‍वासले आज यहोवाका ६० लाखभन्दा बढी जवान, वृद्ध, बलिया तथा कमजोर साक्षीहरूलाई संसारभर परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्न झकझकाएको छ। यहोवाका बलिया तथा साहसी यी सेवकहरूलाई कुनै पनि शत्रुले चुप गराउन सकेका छैनन्‌।—रोमी ८:३१.

‘पछि नहट्‌नुहोस्‌’

७. ‘पछि हट्‌नुको’ अर्थ के हो?

अहिलेका यहोवाका साक्षीहरू पनि साहसी भई सुसमाचार प्रचार गर्छन्‌ किनभने उनीहरूको विचार प्रेरित पावलको विचारसित दुरुस्त मिल्छ, जसले लेखे: “हामीचाहिं विनाशसम्म पुग्नेगरी पछि हट्‌नेहरूमध्येका होइनौं, तर आत्माको उद्धारको निम्ति विश्‍वास गर्नेहरूमध्येका हौं।” (हिब्रू १०:३९) पावलले प्रयोग गरेका ‘पछि हट्‌नु’ भनेर अनुवाद गरिएको युनानी शब्दले एकैछिन डराएर पछि सर्नुलाई बुझाउँदैन किनभने परमेश्‍वरका थुप्रै वफादार सेवक कहिलेकाहीं डराएका छन्‌। (१ शमूएल २१:१२; १ राजा १९:१-४) बरु त्यस वाक्यको अर्थ “सत्यको पक्षमा खडा हुन लापरबाही गर्नु” हो भनी एउटा बाइबल शब्दकोश बताउँछ। त्यो शब्दकोश यसो पनि भन्छ: “गति कम गर्न जहाजको पाल तल झारेझैं” परमेश्‍वरको सेवामा पनि “गति कम गर्नुलाई” बुझाउन यो ‘पछि हट्‌नु’ भन्‍ने शब्द चलाइएको हुन सक्छ। हुन त, बलियो विश्‍वास भएका मसीहीहरू सतावट आउँदा, स्वास्थ्य बिग्रिंदा अथवा अरू परीक्षा आउँदा यहोवाको सेवामा “गति कम गर्ने” मनस्थितिमा पुग्दैनन्‌। बरु, यहोवाले हाम्रो ख्याल राख्नुहुन्छ र हाम्रो सीमितता पनि बुझ्नुहुन्छ भन्‍ने कुरा मनमा राख्दै उनीहरू यहोवाको सेवा गर्न अघि बढिरहन्छन्‌। (भजन ५५:२२; १०३:१४) के तपाईंसित यस्तो विश्‍वास छ?

८, ९. (क) यहोवाले प्रारम्भिक मसीहीहरूको विश्‍वासलाई कसरी बलियो बनाउनुभयो? (ख) विश्‍वास बलियो बनाउन के गर्नुपर्छ?

एक समयको कुरा हो। आफ्नो विश्‍वास कम हुँदैछ जस्तो लागेपछि प्रेरितहरूले येशूलाई भने: “हामीहरूको विश्‍वास बढाइदिनुहोस्‌।” (लूका १७:५) उनीहरूले गरेको निष्कपट आग्रहको जवाफ विशेष गरी इस्वी संवत्‌ ३३ पेन्तिकोसको दिन दिइयो। त्यो दिन, येशूले प्रतिज्ञा गर्नुभएअनुसारै पवित्र आत्मा चेलाहरूमाथि आयो र उनीहरूले परमेश्‍वरको वचन र उहाँको उद्देश्‍यसित सम्बन्धित गहिरा-गहिरा कुरा बुझ्न सके। (यूहन्‍ना १४:२६; प्रेरित २:१-४) आफ्नो विश्‍वास बलियो भएपछि चेलाहरूले यत्ति जोसका साथ प्रचार गरे कि विरोधको बावजुद “स्वर्गमनि भएका सारा सृष्टिमा” सुसमाचार प्रचार गरियो।—कलस्सी १:२३; प्रेरित १:८; २८:२२.

आफ्नो विश्‍वास बलियो बनाउन र सेवकाईमा अघि बढ्‌न चाहन्छौं भने, हामीले पनि परमेश्‍वरको वचन बाइबल पढ्‌नै पर्छ, पढेको कुरा मनन गर्नै पर्छ र पवित्र आत्माको लागि प्रार्थना पनि गर्नै पर्छ। यहोशू, कालेब र येशूका प्रारम्भिक चेलाहरूले जस्तै हामीले पनि यहोवाको सत्य वचन आफ्नो मन अनि हृदयमा गड्‌न दियौं भने मात्र हाम्रो विश्‍वास बलियो हुनेछ। अनि विश्‍वास जति बलियो हुन्छ, हामी उति नै साहसी भई आध्यात्मिक युद्ध लड्‌न र त्यसमा विजयी हुन सक्नेछौं।—रोमी १०:१७.

परमेश्‍वर हुनुहुन्छ भनेर विश्‍वास गरेर मात्र पुग्दैन

१०. साँचो विश्‍वासमा के-के समावेश छ?

१० साहसी र धीरजी हुन परमेश्‍वर हुनुहुन्छ भनेर विश्‍वास गरेर मात्र पुग्दैन भन्‍ने कुरा प्राचीन समयका निष्ठावान्‌ व्यक्‍तिहरूको जीवनीबाट प्रस्ट हुन्छ। (याकूब २:१९) साहसी र धीरजी हुने हो भने यहोवालाई व्यक्‍तिको रूपमा चिन्‍नुपर्छ र उहाँमाथि पूरा भरोसा राख्नुपर्छ। (भजन ७८:५-८; हितोपदेश ३:५, ६) परमेश्‍वरको व्यवस्था अनि यसका सिद्धान्तहरूमा ध्यान दिंदा हाम्रै भलाइ हुन्छ भनेर तनमनले मानिलिनु पनि उत्तिकै जरुरी छ। (यशैया ४८:१७, १८) विश्‍वास गर्नुमा यहोवा आफ्ना सबै प्रतिज्ञा पूरा गर्नुहुन्छ र “उहाँलाई खोज्नेहरूलाई प्रतिफल दिनुहुन्छ” भनी निर्धक्क हुनु पनि समावेश छ।—हिब्रू ११:१, ६; यशैया ५५:११.

११. विश्‍वास र साहस देखाएकोमा यहोशू र कालेबले के-कस्तो आशिष्‌ पाए?

११ यस्तो विश्‍वास जस्ताको तस्तै रहँदैन। हामी जत्ति सत्यअनुसार जीवन बिताउँछौं, यसका लाभहरू “पारख” गर्छौं, प्रार्थनाको जवाफ पाएको ‘हेर्छौं’ र जीवनमा यहोवाको डोऱ्‍याइ पाएको महसुस गर्छौं त्यत्ति नै यो विश्‍वास बढ्‌दै जान्छ। (भजन ३४:८; १ यूहन्‍ना ५:१४, १५) यहोशू र कालेबले जत्ति परमेश्‍वरको भलाइ पारख गरेर हेरे, त्यत्ति नै उनीहरूको विश्‍वास झन्‌-झन्‌ गहिरो हुँदै गयो भनेर हामी पक्का हुन सक्छौं। (यहोशू २३:१४) उदाहरणको लागि यी कुरा विचार गर्नुहोस्‌: परमेश्‍वरले प्रतिज्ञा गर्नुभएअनुसारै उनीहरू ४० वर्षसम्म उजाडस्थानमा भौंतारिनुपऱ्‍यो तैपनि उनीहरू जीवितै थिए। (गन्ती १४:२७-३०; ३२:११, १२) छ वर्ष लगाएर कनान कब्जा गर्ने काममा यहोशू र कालेबले महत्त्वपूर्ण भूमिका निर्वाह गरे। अन्तमा, उनीहरू धेरै लामो समयसम्म बाँचे र शारीरिक रूपमा स्वस्थ रहिरहे। उनीहरू हरेकले आफूले पाउनुपर्ने अधिकार पनि पाए। साँच्चै, विश्‍वासी र साहसी भई यहोवाको सेवा गर्नेहरूलाई उहाँ मुठी खोलेर इनाम दिनुहुन्छ!—यहोशू १४:६, ९-१४; १९:४९, ५०; २४:२९.

१२. यहोवा कसरी ‘आफ्नो वचन श्रेष्ठ’ तुल्याउनुहुन्छ?

१२ यहोशू र कालेबलाई परमेश्‍वरले देखाउनुभएको करुणा विचार गर्दा भजनरचयिताले भनेको यो कुरा याद आउँछ: “तपाईंले आफ्नो वचन आफ्ना सारा नाउँमा श्रेष्ठ तुल्याउनुभएको छ।” (भजन १३८:२) कुनै पनि प्रतिज्ञा अवश्‍य पूरा हुन्छ भन्‍ने ग्यारेन्टी दिन जब यहोवाले आफ्नो नाउँ प्रयोग गर्नुहुन्छ, तब त्यो प्रतिज्ञा “श्रेष्ठ” ढङ्‌गमा पूरा हुन्छ अर्थात्‌ हामीले आशा गरेभन्दा ज्यादै प्रशस्त गरी पूरा हुन्छ। (एफिसी ३:२०) हो, यहोवामा “मग्न” हुनेहरूलाई उहाँ कहिल्यै निराश पार्नुहुन्‍न।—भजन ३७:३, ४.

“परमेश्‍वरलाई रिझाएका” मानिस

१३, १४. हनोकलाई विश्‍वास र साहस चाहिएको थियो, किन?

१३ प्राचीन समयका अर्का व्यक्‍ति हनोकले बसालेको उदाहरणबाट पनि हामी विश्‍वास र साहसबारे धेरै कुरा सिक्न सक्छौं। अगमवाणी गर्न थाल्नुअघि नै हनोकलाई आफ्नो विश्‍वासको जाँच हुन सक्छ भन्‍ने कुरा थाह थियो जस्तो देखिन्छ। तर कसरी? एउटा कारण त, परमेश्‍वरको सेवा गर्ने र शैतान अर्थात्‌ दियाबलको पछि लाग्नेहरूबीच दुश्‍मनी वा घृणा उत्पन्‍न हुनेछ भनेर यहोवाले नै अदनको बगैंचामा बताउनुभएको थियो। (उत्पत्ति ३:१५) अर्को कुरा, मानव इतिहासको सुरुमा कयिनले आफ्नो भाइ हाबिलको हत्या गर्दा त्यो घृणा देखियो भनेर हनोकलाई थाह थियो। कयिन र हाबिलका पिता आदम, हनोक जन्मेपछि पनि करिब ३१० वर्षसम्म जीवितै थिए। त्यसकारण, हनोकले ती सबै कुरा आदमबाट थाह पाएका हुन सक्छन्‌।—उत्पत्ति ५:३-१८.

१४ ती सब थाह पाए तापनि हनोक साहसी भई साँचो “परमेश्‍वरको साथसाथ हिंड्‌दै रहे” र मानिसहरूले यहोवाका विरुद्धमा बोलेका “कठोर कुराहरूको” घोर निन्दा गरे। (उत्पत्ति ५:२२; यहूदा १४, १५) साँचो उपासनाको पक्षमा निडर भई खडा भएको कारण हनोकका थुप्रै शत्रु भए। हो, अब हनोकले ज्यान जोगाउनुपर्ने भयो। तर यहोवाले आफ्नो अगमवक्‍तालाई पीडा भोगेर मर्नदेखि जोगाउनुभयो। तिमीले “परमेश्‍वरलाई प्रशन्‍न पारेका” छौ भनेर हनोकलाई थाह दिएपछि भविष्यसूचक दर्शनमा मग्न भएको बेला यहोवाले तिनलाई जीवनदेखि मृत्युमा ‘उठाइलैजानुभयो।’—हिब्रू ११:५, १३, NRV; उत्पत्ति ५:२४.

१५. अहिलेका यहोवाका सेवकहरूको लागि हनोकले कस्तो राम्रो उदाहरण बसालेका छन्‌?

१५ हनोक उठाइलगिएको विषयमा कुरा गर्नासाथ विश्‍वासको महत्त्वबारे फेरि जोड दिंदै पावलले भने: “विना विश्‍वास [परमेश्‍वरलाई] रिझाउन असम्भव छ।” (हिब्रू ११:६) हो, विश्‍वासले हनोकलाई यहोवासित हिंड्‌न र संसारका अभक्‍त मानिसहरूलाई उहाँको न्यायबारे घोषणा गर्न साहस दियो। यस विषयमा हनोकले हाम्रो लागि एकदमै राम्रो उदाहरण बसाले। आज हामीले यस्तै काम गर्नुपरेको छ किनभने हामी पनि साँचो उपासनाप्रति केही वास्ता नराख्ने र हर किसिमको खराबीले भरिएको संसारमा बाँचिरहेका छौं।—भजन ९२:७; मत्ती २४:१४; प्रकाश १२:१७.

परमेश्‍वरको भय राख्दा पाइने साहस

१६, १७. ओबद्या को थिए र तिनी कस्तो स्थितिमा थिए?

१६ विश्‍वासबाहेक साहसी हुन मदत गर्ने अर्को गुण पनि छ। त्यो हो: परमेश्‍वरको श्रद्धेय भय। आउनुहोस्‌, अगमवक्‍ता एलिया र इस्राएलको उत्तरी राज्यका राजा आहाबको पालाका एक व्यक्‍तिको विषयमा चर्चा गरौं, जसले परमेश्‍वरको भय राख्ने सन्दर्भमा उल्लेखनीय उदाहरण बसाले। आहाब राजाको शासनकालमा बालको उपासनाले गर्दा इस्राएलको उत्तरी राज्य ज्यादै भ्रष्ट भएको थियो। बालका ४५० अगमवक्‍ता र पुरुषको लिङ्‌गलाई संकेत गर्ने पवित्र खामा पूज्ने ४०० अगमवक्‍तालाई आहाबकी पत्नीले ‘पालेर राखेकी’ थिई।—१ राजा १६:३०-३३; १८:१९.

१७ यहोवाको शत्रु ईजेबेल साह्रै क्रूर थिई। ऊ आफ्नो राज्यबाट साँचो उपासनाको नामो-निसान मेटाउन चाहन्थी। त्यसले यहोवाका केही अगमवक्‍ताको हत्या गरी र एलियालाई पनि मार्न खोजी। परमेश्‍वरको निर्देशनअनुसार यर्दनपारि भागेर नगएको भए एलियाको ज्यान जाने थियो। (१ राजा १७:१-३; १८:१३) सोच्नुहोस्‌ त, इस्राएलको उत्तरी राज्यमा साँचो परमेश्‍वर यहोवाको उपासना गर्नु कत्ति गाह्रो थियो होला! अझ दरबारमै बसेर त्यसो गर्नुपरेको भए त झन्‌ के पो हुन्थ्यो! राजा आहाबको महलको हेरचाह गर्ने अधिकारी र परमेश्‍वरको भय राख्ने ओबद्या त्यस्तै अप्ठ्यारो स्थितिमा थिए।—१ राजा १८:३.

१८. कुन कुराले गर्दा ओबद्या यहोवाको उल्लेखनीय उपासक बन्‍न सके?

१८ ओबद्याले निकै चनाखो भएर अनि बुद्धिमानीसाथ यहोवाको उपासना गरे। तर गाह्रो भए पनि तिनले सम्झौता भने गरेनन्‌। त्यसैकारण त १ राजा १८:३ मा भनिएको छ: “परमेश्‍वरका भक्‍त ओबद्या।” हो, ओबद्या परमेश्‍वरको भक्‍त हुनु अथवा तिनले परमेश्‍वरको भय राख्नु उल्लेखनीय कुरा थियो! त्यस्तो स्वस्थकर भयले तिनलाई खुबै साहसी बनायो। ईजेबेलले यहोवाका अगमवक्‍ताहरूको हत्या गरेलगत्तै ओबद्याले आफ्नो साहसको नमुना देखाए।

१९. ओबद्याले कस्तो साहसी काम गरे?

१९ हामी यस्तो लेखिएको पाउँछौं: “जब ईजेबेलले परमप्रभुका अगमवक्‍ताहरूलाई हत्या गरेकी थिइन्‌, तब ओबद्याले तिनीहरूमध्येका एक सय जनालाई लिएर, तिनीहरूलाई जीवित राख्नलाई, खान-पीन दिएर पचास पचास गरी ओढारहरू हुँदो लुकाएका थिए।” (१ राजा १८:४) त्यसरी लुकीछिपी सय जनालाई खानपीन दिनु कत्ति जोखिमपूर्ण थियो, तपाईं कल्पना गर्न सक्नुहुन्छ। ओबद्यालाई एकातिर आहाब र ईजेबेलले थाह पाउने हो कि भन्‍ने डर थियो भने, अर्कोतिर दरबारमा घरीघरी आइरहने ८५० जना झूटा अगमवक्‍ताको नजरबाट पनि बच्नुपरेको थियो। त्यति मात्र होइन राजा र रानीको निगाह पाउन राजादेखि रैतीसम्मका झूटा उपासकहरू ओबद्याको वास्तविकता उदाङ्‌ग पार्न लागिपरेका थिए। तैपनि ती मूर्तिपूजकहरूकै बीचमा रहेर ओबद्याले यहोवाका अगमवक्‍ताहरूको आवश्‍यकता साहसी भई पूरा गरे। साँच्चै, परमेश्‍वरको भय राख्दा मानिस साहसी हुन सक्छ!

२०. परमेश्‍वरको भयले ओबद्यालाई कसरी मदत गऱ्‍यो र तिनको उदाहरणले तपाईंलाई कसरी मदत गर्न सक्छ?

२० परमेश्‍वरको भय राख्दा ओबद्या साहसी भएको कारण यहोवाले तिनलाई शत्रुहरूबाट जोगाउनुभयो। हितोपदेश २९:२५ भन्छ: “मानिसको डर त्यसको निम्ति पासो हो, तर परमप्रभुमाथि भरोसा गर्ने मानिस सुरक्षित रहन्छ।” ओबद्या हामीजस्तै साधारण व्यक्‍ति थिए। जसरी हामीलाई डर लाग्छ, तिनलाई पनि शत्रुहरूले पक्रेर मार्लान्‌ भन्‍ने डर लाग्थ्यो। (१ राजा १८:७-९, १२) तर मानिसको भन्दा परमेश्‍वरको डर बढी राखेको कारण तिनी साहसी हुन सके र मानिसको डरले तिनलाई छोएन। हामी, त्यसमा पनि विशेष गरी आफ्नो स्वतन्त्रता अनि जीवन नै दाउमा राखेर यहोवाको उपासना गर्नेहरूको लागि ओबद्याले साह्रै राम्रो उदाहरण बसाले। (मत्ती २४:९) हामी पनि “भक्‍ति र भयसाथ” यहोवाको सेवा गर्ने कोसिस गरिरहन सकौं।—हिब्रू १२:२८, NRV.

२१. अर्को लेखमा कुन कुरा छलफल गर्नेछौं?

२१ विश्‍वास र परमेश्‍वरको भयजस्ता गुणले हामीलाई साहसी हुन अवश्‍य मदत गर्छ। तर प्रेमले त्योभन्दा बढी साहसी बनाउँछ। यस विषयमा पावलले लेखे: “परमेश्‍वरले हामीलाई डरको आत्मा होइन, तर शक्‍ति, प्रेम र आत्मसंयमको आत्मा दिनुभएको छ।” (२ तिमोथी १:७) अहिलेको डरलाग्दो आखिरी दिनमा साहसी भई यहोवाको सेवा गर्न प्रेमले हामीलाई कसरी मदत गर्न सक्छ भन्‍ने कुरा अर्को लेखमा छलफल गर्नेछौं।—२ तिमोथी ३:१. (w 06 10/1)

के तपाईं जवाफ दिन सक्नुहुन्छ?

• कुन कुराले गर्दा यहोशू र कालेब साहसी हुन सके?

• साँचो विश्‍वासमा कुन-कुन कुरा समावेश छ?

• हनोकले परमेश्‍वरको न्यायवचन साहसी भई घोषणा गर्न सक्नुको कारण के थियो?

• परमेश्‍वरको भयले कसरी साहसी बनाउँछ?

[प्रश्‍नहरू]

[पृष्ठ १९-मा भएको चित्र]

यहोवाले यहोशूलाई यस्तो आदेश दिनुभयो: “बलियो र खूबै साहसी हो”

[पृष्ठ २०-मा भएको चित्र]

ओबद्याले परमेश्‍वरका अगमवक्‍ताहरूको हेरचाह गरे र उनीहरूको रक्षा गरे

[पृष्ठ २१-मा भएका चित्रहरू]

हनोकले साहसी भई परमेश्‍वरको वचन घोषणा गरे