सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आफ्नो विवाह समारोहलाई अझै आनन्दित र मर्यादित बनाउनुहोस्‌

आफ्नो विवाह समारोहलाई अझै आनन्दित र मर्यादित बनाउनुहोस्‌

आफ्नो विवाह समारोहलाई अझै आनन्दित र मर्यादित बनाउनुहोस्‌

“विवाह भएको दिन मेरो जीवनको सबैभन्दा महत्त्वपूर्ण अनि आनन्दित दिन थियो,” वैवाहिक जीवनमा बाँधिएको ६० वर्ष पुगिसकेका गोर्डन भन्छन्‌। साँचो मसीहीहरू विवाहको दिनलाई किन एकदमै महत्त्वपूर्ण ठान्छन्‌? किनभने त्यो दिन आफूले अत्यन्तै माया गरेको मान्छेसित अनि यहोवा परमेश्‍वरसित पवित्र वाचा बाँधिन्छ। (मत्ती २२:३७; एफिसी ५:२२-२९) हो, विवाह गर्न चाहनेहरू आफ्नो विवाहको दिन रमाइलो होस्‌ भन्‍ने इच्छा गर्छन्‌ तर उनीहरू विवाहका आरम्भकलाई पनि सम्मान दिन चाहन्छन्‌।—उत्पत्ति २:१८-२४; मत्ती १९:५, ६.

त्यसोभए, दुलहाले यो रमाइलो अवसरलाई कसरी अझै मर्यादित बनाउन सक्छन्‌? दुलहीले आफ्नो दुलहाप्रति र यहोवाप्रति कसरी आदर देखाउन सक्छिन्‌? अनि उपस्थित पाहुनाहरूले विवाहको दिनलाई कसरी अझै आनन्दित बनाउन सक्छन्‌? यी प्रश्‍नहरूको जवाफ पाउन बाइबलका केही सिद्धान्त विचार गर्नुहोस्‌। यी सिद्धान्त प्रयोग गऱ्‍यौं भने, विवाहजस्तो विशेष सुअवसरमा आइपर्न सक्ने समस्या कम गर्न सकिन्छ।

जिम्मेवारी कसको हो?

थुप्रै मुलुकमा, सरकारबाट विवाह गराइदिने अधिकार पाएको यहोवाको साक्षीले नै साक्षीहरूको विवाह कानुनी रूपमा गराइदिन सक्छन्‌। सरकारी कार्यालयमै गएर कानुनी रूपमा विवाह गर्नुपर्ने मुलुकहरूमा समेत विवाह गरिसकेपछि उक्‍त जोडीले बाइबल आधारित भाषणको प्रबन्ध मिलाउन सक्छन्‌। यस्तो भाषणमा, परमेश्‍वरले दिनुभएको शिरत्वसम्बन्धी जिम्मेवारी पूरा गर्नुपर्नेबारे गहिरिएर विचार गर्न दुलहालाई आग्रह गरिन्छ। (१ कोरिन्थी ११:३) त्यसकारण, विवाहमा गरिने सम्पूर्ण प्रबन्धको मुख्य जिम्मेवारी दुलहाकै हो। विवाह समारोह र भोजको सम्पूर्ण बन्दोबस्त पहिले नै मिलाइसकिएको भए तापनि यस्तो बन्दोबस्त मिलाउन दुलहालाई अप्ठ्यारो पर्न सक्छ। किन?

एउटा कारण त दुलहा पक्ष र दुलही पक्षका व्यक्‍तिहरूले विवाहमा यस्तै गर्नुपर्छ भनेर निकै दबाब दिन सक्छन्‌। थुप्रै विवाह गराइसकेका रोडल्फो यस्तो टिप्पणी गर्छन्‌: “विशेष गरी नातेदारले पनि विवाह-खर्च बेहोरिदिन लागेका छन्‌ भने उनीहरूले विवाहमा यस्तो गर्नुपर्छ, उस्तो गर्नुपर्छ भनेर कर गर्दा कहिलेकाहीं दुलहालाई निकै अप्ठ्यारो पर्छ। उनीहरूले विवाह समारोह र भोज यस्तै हुनुपर्छ भन्‍नुको पछाडि कुनै खास कारण होला। तर उनीहरूले जसो-जसो भन्यो, त्यसै-त्यसै गर्दा बाइबलमा दुलहाको लागि तोकिएको जिम्मेवारीलाई बेवास्ता गरेको ठहर्छ।”

म्याक्सले विवाह गराइदिन थालेको ३५ वर्षभन्दा धेरै भइसक्यो। तिनको टिप्पणी यस्तो छ: “विवाह समारोह र भोजमा के-कसो गर्ने, त्यो सबै निर्णय दुलहीले नै गर्ने र दुलहाको विचारको त्यत्ति वास्ता नगर्ने झुकाव मैले देखेको छु।” थुप्रैको कानुनी रूपमा विवाह गराइदिइसकेका डेभिड पनि यसो भन्छन्‌: “शिरत्वसम्बन्धी आफ्नो जिम्मा पूरा गर्ने अनुभव दुलहासित नहुन सक्छ र विवाहको बन्दोबस्त मिलाउन पनि तिनी त्यति सिपालु नहोलान्‌।” त्यसोभए, दुलहाले कसरी आफ्नो जिम्मेवारी राम्ररी पूरा गर्न सक्छन्‌?

कुराकानीले आनन्द बढाउँछ

विवाहको तयारी गर्ने आफ्नो जिम्मा सफलतासाथ पूरा गर्न दुलहाले प्रस्ट कुराकानी गर्नै पर्छ। बाइबलले पनि स्पष्टै यसो भनेको छ: “परामर्श विनाको योजना विफल हुन्छ।” (हितोपदेश १५:२२) दुलहाले विवाहको तयारीबारे पहिले दुलहीसित अनि त्यसपछि आ-आफ्नो परिवार र बाइबल आधारित सही सल्लाह दिन सक्नेहरूसित छलफल गर्दा योजना सफल हुन सक्छ।

हो, विवाह गर्न पक्का गरिसकेकाहरूले विवाहमा के गर्ने र अरू के-कसो गर्न सकिन्छ भन्‍ने योजना पहिले आपसमै छलफल गर्नु अत्यन्तै महत्त्वपूर्ण छ। किन? भिन्‍नै पृष्ठभूमिमा हुर्केका दम्पती इभान र डेल्विनले विवाह गरेको निकै भइसक्यो र तिनीहरू आफ्नो वैवाहिक जीवनमा सन्तुष्ट छन्‌। विवाह समारोहबारे आफ्नो योजना सम्झँदै इभान भन्छन्‌: “म, विवाहमा साथीभाइ सबैलाई बोलाउन, केक काट्‌न र मेरी दुलहीले सेतो गाउन लगाएको हेर्न चाहन्थें र मैले त्यसै गर्ने निधो पनि गरिसकेको थिएँ। तर डेल्विनको भने विवाह भोजमा थोरैलाई मात्र निम्तो दिने र केक पनि नकाट्‌ने इच्छा रहेछ। उनले त विवाहमा लगाइने सेतो गाउनको साटो अरू नै लुगा लगाउने विचारसमेत गरिसकेकी रहिछन्‌।”

उसोभए, यी भिन्‍नतालाई त्यस दम्पतीले कसरी मिलाए त? दयालु हुँदै कुरा नलुकाई कुराकानी गरेर। (हितोपदेश १२:१८) इभान अझै यसो भन्छन्‌: “हामीले अप्रिल १५, १९८४ को वाचटावर-मा भएका विवाहबारे बाइबल आधारित लेखहरू पढ्यौं। a ती लेखले हामीलाई विवाह समारोहबारे परमेश्‍वरको दृष्टिकोण बुझ्न मदत गऱ्‍यो। हाम्रो फरक-फरक पृष्ठभूमिलाई पनि विचार गर्दै हामीले आफ्ना इच्छाहरूमा निकै छाँटकाँट गऱ्‍यौं र दुवैलाई मिल्ने खालका निर्णय गऱ्‍यौं।”

आर्ट र पेनीले पनि यस्तै निर्णय गरे। आफ्नो विवाहबारे सम्झँदै आर्ट भन्छन्‌: “पेनी र मैले हाम्रो विवाहमा के-कसो गर्ने भन्‍नेबारे आ-आफ्नो इच्छा छलफल गऱ्‍यौं र दुवैलाई मिल्ने सहमतिमा पुग्यौं। विवाहको दिनमा यहोवाको आशिष्‌ रहोस्‌ भनेर हामीले प्रार्थना गऱ्‍यौं। हामी दुवैका आमाबाबु अनि मण्डलीका परिपक्व विवाहित दम्पतीहरूसित पनि मैले सल्लाह गरें। उहाँहरूले दिनुभएको सल्लाहले निकै फाइदा भयो। त्यसैले हाम्रो विवाहको दिन रमाइलो भयो।”

पहिरन तथा सिंगारमा मर्यादित हुने

विवाहको दिन दुलहा र दुलहीले राम्रो पहिरन लगाउन खोज्नु त स्वाभाविकै हो। (भजन ४५:८-१५) विवाहको निम्ति सुहाउँदो पहिरन खोज्न उनीहरूले आफ्नो समय, मेहनत अनि पैसा खर्च गर्लान्‌। मर्यादित अनि आकर्षक पहिरन छनौट गर्न बाइबलका कुन-कुन सिद्धान्तले उनीहरूलाई मदत गर्न सक्छ?

दुलहीले लगाउने पहिरनलाई विचार गर्नुहोस्‌। व्यक्‍ति-व्यक्‍ति अनि देशअनुसार हरेकको रुचि अनि छनौट फरक-फरक हुने भए तापनि बाइबलको सल्लाह जहाँ पनि लागू हुन्छ। स्त्रीहरूले “सरलता र भद्रतासाथ सुहाउँदो वस्त्र” पहिरिनुपर्छ। मसीही स्त्रीले हर समय पालन गर्नुपर्ने यो सल्लाह विवाहको दिन त झन्‌ पालन गर्नै पर्छ। वास्तवमा, विवाह रमाइलो हुन “बहुमूल्य वस्त्रहरू” नै लगाउनु आवश्‍यक छैन। (१ तिमोथी २:९, NRV; १ पत्रुस ३:३, ४) यो सल्लाह पालन गर्दा ढुक्क हुन सकिन्छ!

अगाडि उल्लेख गरिएका डेभिड भन्छन्‌: “प्रायजसो दुलहा-दुलही बाइबल सिद्धान्त प्रयोग गर्ने प्रयास गर्छन्‌ र यसको लागि तिनीहरूको तारिफ गर्नै पर्छ। तर दुलही र दुलहीसँगै बस्ने साथीहरूले अभद्र, छाती धेरै खुलेको वा छ्याङ्‌ङै देखिने पातलो गाउन लगाएको पनि पाइएको छ।” एक जना परिपक्व प्राचीन बिहे हुनुअघि नै दुलहा-दुलहीलाई भेटेर परमेश्‍वरको दृष्टिकोण बुझ्न मदत गर्दा रहेछन्‌। कसरी? विवाहमा लगाउने पहिरन मसीही सभाहरूमा पनि लगाउन मिल्ने खालको छ कि छैन, विचार गर्नुभएको छ? भनेर तिनी भावी दुलहा-दुलहीलाई सोध्ने गर्छन्‌। हो, सभामा जाँदा लगाउने पहिरन र विवाहमा लगाउने पहिरनको स्टाइल पक्कै फरक हुन्छ। यसबाहेक, विवाहमा लगाउने पहिरन स्थानीय चलनअनुसारको हुन सक्छ तर त्यो पनि उच्च मसीही स्तरअनुसारको हुनुपर्छ। संसारका कसै-कसैलाई बाइबलको नैतिक नियम कडा लागे तापनि साँचो मसीहीहरू संसारको प्रभावमा नपर्न निकै प्रयास गर्छन्‌ र सन्तुष्ट हुन्छन्‌।—रोमी १२:२; १ पत्रुस ४:४.

पेनी भन्छिन्‌: “विवाह वा विवाह भोजलाई सबैभन्दा महत्त्वपूर्ण ठान्‍नुको साटो आर्ट र मैले विवाहको दिन हुने आध्यात्मिक पक्षमा ध्यान दियौं। किनकि आध्यात्मिक पक्ष नै सबैभन्दा महत्त्वपूर्ण थियो। त्यो दिन मैले के लगाएकी थिएँ अथवा के खाएकी थिएँ, त्यो त मलाई त्यत्ति याद छैन। तर उक्‍त दिन को-कोसित बिताएँ र आफूले माया गरेको मान्छेसित वैवाहिक बन्धनमा बाँधिन पाउँदाखेरिको खुसी अहिले पनि सम्झेकी छु।” आफ्नो विवाहको लागि योजना बनाउँदा मसीही जोडीले यी कुराहरूलाई मनमा राख्नु बेस हुन्छ।

राज्यभवन—मर्यादित स्थान

राज्यभवन उपलब्ध छ भने थुप्रै मसीही जोडी आफ्नो विवाह त्यहीं गर्न चाहन्छन्‌। किन? एक दम्पतीले यस्तो तर्क गरे: “विवाह, यहोवाले गर्नुभएको पवित्र प्रबन्ध हो भनेर हामीले बुझेका थियौं। त्यसकारण, हाम्रो उपासनास्थल राज्यभवनमा विवाह गर्दा हाम्रो विवाहमा यहोवा परमेश्‍वर पनि समावेश हुनुपर्छ भनेर विवाहको दिनदेखि नै मनमा ठप्प बस्यो। अन्तभन्दा राज्यभवनमा नै विवाह गर्नुको अर्को फाइदा भनेको विवाहमा आउने हाम्रा आफन्तहरूले पनि यहोवाको उपासनालाई हामी अत्यन्त महत्त्वपूर्ण ठान्छौं भनेर देखाउनु हो।”

राज्यभवनका सम्बन्धित प्राचीनहरूले विवाह समारोहको लागि राज्यभवन प्रयोग गर्ने अनुमति दिए भने, विवाहको लागि गरिएको बन्दोबस्त र योजनाबारे भावी दुलहा-दुलहीले ती प्राचीनहरूलाई जानकारी दिनुपर्छ। तोकिएकै समयमा आइपुगेर दुलहा-दुलहीले विवाहमा आएका पाहुनाहरूको सम्मान गर्न सक्छन्‌। अनि समारोहमा सबै कुरा मर्यादित होस्‌ भनेर पनि तिनीहरूले पक्का गर्छन्‌। b (१ कोरिन्थी १४:४०) यसरी तिनीहरूको विवाह संसारको जस्तो तडकभडकले भरिएको हुनेछैन।—१ यूहन्‍ना २:१५, १६.

विवाहबारे यहोवाको जस्तो दृष्टिकोण छ, निम्तो पाएकाहरूले पनि त्यस्तै दृष्टिकोण राख्न सक्छन्‌। जस्तै: आफूले निम्तो पाएको विवाह समारोह अरू मसीहीको विवाहभन्दा भव्य होस्‌ भन्‍ने आशा तिनीहरू गर्दैनन्‌। अन्यथा कसको विवाह भव्य थियो भन्‍ने होडबाजी गरेजस्तो हुन्छ। विवाह भोज वा विवाह भाषणपछिको जमघटमा जानुभन्दा राज्यभवनमा दिइने विवाह भाषण सुन्‍न जानु बढी महत्त्वपूर्ण छ भनेर पनि परिपक्व साक्षीहरूले बुझेका हुन्छन्‌। कारणवश विवाह भाषण वा भोजमध्ये कुनै एउटामा मात्र जान सकिने भयो भने राज्यभवनको समारोहमा जानु नै राम्रो हो। विलियम नाउँ गरेका प्राचीन भन्छन्‌: “परिस्थिति र समयले दिएर पनि पाहुनाहरू राज्यभवनमा आउँदैनन्‌ तर विवाह भाषणपछि भोजमा चाहिं आउँछन्‌ भने उनीहरूले विवाह समारोहको पवित्रतालाई बुझेका रहेनछन्‌ भन्‍ने देखिन्छ। भोजको निम्तो पाएका छैनौं भने पनि राज्यभवनमा हुने समारोहमा उपस्थित भएर हामी दुलहा-दुलहीलाई समर्थन गर्न सक्छौं र विवाहमा उपस्थित अरू आफन्तहरूलाई पनि राम्रो साक्षी दिन सक्छौं।”

विवाहको दिन मात्र होइन, पछिसम्म रहिरहने आनन्द

व्यापारजगत्‌ले विवाह समारोहलाई पनि नाफा कमाउने व्यापार बनाएका छन्‌। हालै गरिएको एउटा अध्ययनअनुसार संयुक्‍त राज्य अमेरिकामा गरिने औसत विवाहमा २२,००० अमेरिकी डलर (लगभग १६,२८,००० रुपियाँ) अथवा एक जना अमेरिकीको [वार्षिक] औसत आम्दानीको आधा खर्च हुन्छ।” व्यापार बढाउने हेतुले गरिएको विज्ञापनको प्रभावमा परेर विवाहलाई भव्य बनाउन कतिपय दुलहा-दुलही ऋण लिन्छन्‌। तर त्यो एकदिनको रमझमको लागि लिएको ऋणको बोझ नवदम्पती अथवा तिनीहरूको परिवारले वर्षौंसम्म बोक्नुपर्ने हुन्छ। विवाहको जग यसरी बसाल्नु बुद्धिमानी होला र? बाइबल सिद्धान्त थाह नहुने वा बाइबल सिद्धान्तलाई बेवास्ता गर्नेहरूले त यस्तै तडकभडक रुचाउलान्‌। तर यस सम्बन्धमा साँचो मसीहीहरू भने, अत्यन्त फरक छन्‌!

धूमधामसित विवाह गर्नुभन्दा आफ्नो क्षमताअनुसार व्यावहारिक भएर अनि आध्यात्मिक कुरामा ध्यान दिंदै विवाह गरेकोले थुप्रै मसीही दम्पतीले परमेश्‍वरलाई गरेको समर्पणअनुसार आफ्नो समय र सम्पत्ति खर्च गर्न सकेका छन्‌। (मत्ती ६:३३) विवाह गरेदेखिन्‌ यता १७ वर्षदेखि पूर्ण-समय सेवामा लागेका लइड र एलेग्जान्ड्रालाई विचार गर्नुहोस्‌। लइड भन्छन्‌: “कतिलाई त हाम्रो विवाह अति साधारण लाग्यो होला तर एलेग्जान्ड्रा र मलाईचाहिं साह्रै खुसी लाग्यो। हामीलाई आफ्नो विवाह ऋणमा डुब्ने अवसर होइन तर दुई व्यक्‍तिले अथाह आनन्द उठाओस्‌ भनी यहोवाले गर्नुभएको प्रबन्धमा रमाउने दिन हुनुपर्छ जस्तो लाग्यो।”

एलेग्जान्ड्रा थप्छिन्‌: “विवाहअघि मैले अग्रगामी गरिरहेकी थिएँ र ऋण काढी-काढी विवाह गरेर म त्यो विशेष सुअवसर गुमाउन चाहन्‍नथें। हाम्रो विवाहको दिन विशेष दिन भए तापनि त्यो त हाम्रो वैवाहिक जीवनको पहिलो दिन मात्र थियो। ‘विवाहको दिनमा बढ्‌ता ध्यान केन्द्रित नगर्नुहोस्‌ बरु विवाहित दम्पतीको रूपमा जीवन बिताउन यहोवासित निर्देशन माग्नुहोस्‌’ भन्‍ने सल्लाह हामीले पालन गऱ्‍यौं र यसो गर्दा यहोवाले आशिष्‌ दिनुभएको महसुस गऱ्‍यौं।” c

तपाईंले विवाह गरेको दिन अवश्‍य पनि विशेष दिन हो। विवाहको दिन तपाईंले देखाउनुहुने मनोवृत्ति र व्यवहारले विवाहपछि वर्षौंसम्म असर गर्छ। त्यसकारण, यहोवामा भर परेर उहाँसित निर्देशन माग्नुहोस्‌। (हितोपदेश ३:५, ६) विवाह समारोहको आध्यात्मिक पक्षलाई सबैभन्दा महत्त्वपूर्ण ठान्‍नुहोस्‌। परमेश्‍वरले दिनुभएको जिम्मा पूरा गर्न एकअर्कालाई मदत गर्नुहोस्‌। यसरी तपाईं आफ्नो विवाहको बलियो जग बसाल्न सक्नुहुन्छ। अनि यहोवाको आशिष्‌ पाएर विवाहको दिन मात्र होइन, पछिसम्म पनि आनन्दित हुन सक्नुहुनेछ।—हितोपदेश १८:२२. (w 06 10/15)

[फुटनोटहरू]

a थप जानकारीको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित अवेक! फेब्रुअरी ८, २००२; प्रहरीधरहरा मे १, २०००, पृष्ठ १९-२२ र अप्रिल १५, १९९७, पृष्ठ २३-२६ हेर्नुहोस्‌।

b दुलहा-दुलहीले राज्यभवनमा हुने समारोहको फोटो खिच्ने अथवा भिडियो रेकर्डिङ गर्ने योजना बनाएका छन्‌ भने विवाह समारोहको मर्यादामा बाधा नपुऱ्‍याउन उनीहरू पहिल्यै सजग हुनुपर्छ।

c यहोवाका साक्षीहरूद्वारा प्रकाशित पारिवारिक आनन्दको रहस्य पुस्तकको पृष्ठ २६ हेर्नुहोस्‌।

[पृष्ठ २१-मा भएको चित्र]

विवाहको योजना बनाउँदा कुरा नलुकाईकन एकअर्कासित आदरपूर्वक कुराकानी गर्नुपर्छ

[पृष्ठ २३-मा भएको चित्र]

विवाह समारोहको आध्यात्मिक पक्षलाई सबैभन्दा महत्त्वपूर्ण ठान्‍नुहोस्‌