छोराछोरी हुर्काउन भरपर्दो सल्लाह
छोराछोरी हुर्काउन भरपर्दो सल्लाह
पहिलो पटक गर्भवती भएको क्षण सम्झँदै रूथ भन्छिन्: “त्यतिखेर म १९ वर्षकी थिएँ। परिवारका सदस्य तथा आफन्तहरूबाट धेरै टाढा बसेकीले म बच्चा हुर्काउन सक्ने स्थितिमा थिइनँ।” तिनी परिवारमा एक्ली छोरी थिइन्। त्यसैले, आमा भएपछि वहन गर्नुपर्ने जिम्मेवारीबारे तिनले सोचेकी नै थिइनन्। भरपर्दो सल्लाह तिनी कहाँ पाउन सक्थिन्?
अर्कोतर्फ, एक छोरा र एक छोरीका बुबा जान् आफ्नो विगत कोट्याउँदै भन्छन्: “सुरुमा त मलाई केही जस्तो लागेन। तर केही समय नबित्दै थाह पाएँ, बुबा भएपछि वहन गर्नुपर्ने जिम्मेवारी पूरा गर्न म सक्षम रहेनछु।” भर्खरै आमा वा बुबा बनेका व्यक्तिहरूलाई छोराछोरी हुर्काउन सक्दिनँ होला जस्तो लाग्नु अथवा उनीहरूले त्यो जिम्मेवारी पूरा गर्न नसक्नु स्वाभाविकै हो। तर नआत्तिनुहोस्, किनभने मदत पाउन सकिन्छ। तर कहाँबाट?
आजकल, छोराछोरी हुर्काउने सम्बन्धमा सल्लाह-सुझाव चाहियो कि धेरैजसो आमाबाबु इन्टरनेट चहार्ने गर्छन्। तर तपाईं अचम्म मान्दै भन्नुहोला, ‘इन्टरनेटमा पाइने सल्लाह पनि भरपर्दो हुन्छ र?’ यसरी होसियार हुनु राम्रो हो किनभने इन्टरनेटमार्फत तपाईंलाई सल्लाह दिने व्यक्ति वास्तवमा को हो, चिन्नुहुन्छ र? अनि आफ्नै छोराछोरी हुर्काउनचाहिं तिनीहरू कत्तिको सफल भएका छन्? आफ्नो परिवारलाई असर गर्ने कुरामा तपाईं पक्कै होस पुऱ्याउन चाहनुहुन्छ। अघिल्लो लेखमा बताइएझैं कहिलकाहीं त विशेषज्ञहरूको सल्लाह जति नै लागू गर्दा पनि अवस्था ज्यूँका त्यूँ रहन्छ। त्यसोभए, कसको सल्लाह सुन्ने?
छोराछोरी हुर्काउने सम्बन्धमा अचूक सल्लाह दिने व्यक्ति यहोवा परमेश्वर हुनुहुन्छ। परिवार सुरु गर्ने पनि उहाँ नै हुनुहुन्छ। (एफिसी ३:१५) उहाँ मात्र साँच्चैको विशेषज्ञ हुनुहुन्छ। उहाँले आफ्नो वचन बाइबलमा दिनुभएका भरपर्दा तथा व्यावहारिक निर्देशनहरू प्रभावकारी छन्। (भजन ३२:८; यशैया ४८:१७, १८) तर यी निर्देशनअनुसार चल्ने कि नचल्ने भन्ने निर्णयचाहिं हामी आफैले गर्नुपर्छ।
छोराछोरीलाई सन्तुलित अनि परमेश्वरको भय राख्ने व्यक्ति बनाउन सफल थुप्रै आमाबुबालाई एक चोटि आफ्नो अनुभव बाँड्न आग्रह गरिएको थियो। अनुभव सुनाउने क्रममा उहाँहरूले भनेका थिए, ‘विशेष गरी, बाइबलको सिद्धान्तअनुसार चलेको कारण आफ्ना छोराछोरीलाई सही तरिकाले हुर्काउन सक्यौं।’ हो, सुरुमा बाइबल लेखिंदा यसमा भएका सल्लाह जत्ति भरपर्दा थिए, आज पनि उत्ति नै भरपर्दा छन् भनी उहाँहरूले अनुभव गर्न सके।
उनीहरूसित समय बिताउनुहोस्
कुन सल्लाहले तपाईंलाई एकदमै मदत गरेको छ भनेर सोध्दा, एक छोरा र एक छोरीकी आमा क्याथ्रिनले व्यवस्था ६:७ को कुरा बताइन्। त्यस पदमा यसो भनिएको छ: “तिमीहरूले आफ्ना छोरा-छोरीहरूलाई [बाइबलका सिद्धान्तहरू] होशीयारीसाथ सिकाओ। औ घरमा बस्ता, बाटोमा हिंड्दा, ढल्केर बस्ता र उठ्दा तिनको चर्चा गर।” यो सल्लाह पालन गर्ने हो भने छोराछोरीसित समय बिताउनुपर्छ भनेर क्याथ्रिनले बुझिन्।
तपाईं सोच्दै हुनुहुन्छ होला, ‘अँ, भन्न पो सजिलो छ, गर्न कम गाह्रो छ!’ परिवारको पालनपोषण गर्न थुप्रै परिवारका आमा र बुबा दुवै काममा जानुपर्ने हुन सक्छ। यस्ता व्यस्त आमाबाबुले आफ्ना छोराछोरीसित कसरी धेरै समय बिताउन सक्छन्? टरलिफका छोरा अहिले आफ्नै छोराछोरी हुर्काइरहेका छन्। तिनै टरलिफ भन्छन्, ‘मुख्य कुरा यहोवाको व्यवस्थामा दिइएको सल्लाह पालन गर्नु हो।’ उदाहरणको लागि: तपाईं जहाँ जानुहुन्छ, छोराछोरीलाई पनि सँगै लाने गर्नुहोस्। यसो गर्दा कुराकानी गर्ने मौका मिल्छ। टरलिफ अझ थप्छन्, “छोरा र म सँगै मिलेर घरको विभिन्न काम गर्थ्यौं। हामी स-परिवार घुम्न पनि जान्थ्यौं। अनि सँगै खाना खान्थ्यौं।” यसो गर्दा परिणाम कस्तो भयो? तिनी भन्छन्, “हाम्रो छोरा हामीसित जहिले पनि खुलस्त कुराकानी गर्थ्यो।”
तर खुलस्त कुराकानी भएन र बोल्यो कि पोल्यो भनेझैं भयो भने? चिन्ता नगर्नुहोस्, छोराछोरी हुर्कंदै जाँदा कहिलेकाहीं यस्तो भइहाल्छ। तर उनीहरूसित धेरै समय बिताउनुभयो भने अवस्था सुध्रिन सक्छ। क्याथ्रिनका श्रीमान् केन विगत सम्झँदै भन्छन्, “छोरी किशोरी अवस्थामा पुगेपछि ‘बुबाले मेरो कुरै सुन्नुहुन्न’ भनेर गुनासो गरी।” छोराछोरी किशोरकिशोरी भएपछि प्रायजसोले यस्तै गुनासो गर्ने गर्छन्। छोरीको कुरा सुनेपछि हितोपदेश २०:५) तर आफूले अपनाएको तरिका सफल हुन सक्नुको कारण परिवारमा खुलस्त कुराकानी गर्ने बानी भएकोले नै हो भनी केन मानिलिन्छन्। तिनी भन्छन्: “छोरी र मेरो सम्बन्ध सधैं राम्रो भएकोले मसित खुलेर कुरा गर्न उसले कहिल्यै अप्ठ्यारो मानिन।”
केनले चाहिं के गरे? तिनी भन्छन्: “मैले, हामी बाबुछोरी मात्र बसेर कुरा गर्न धेरै समय बिताउने निर्णय गरें। मैले उसको विचार र भावना बुझ्ने कोसिस गरें र कस्तो कुराले उसलाई निराश बनाउँछ, त्यसबारे पनि छलफल गरें। त्यसो गर्दा नतिजा निकै राम्रो भयो।” (रोचक कुरा के छ भने, आमाबाबु र छोराछोरीले सँगै पर्याप्त समय बिताउँदैनन् भनेर गुनासो गर्नेमा आमाबाबुभन्दा किशोरकिशोरी तीन गुना बढी छन् भनेर हालैको एउटा अध्ययनले देखायो। त्यसकारण, बाइबलले दिने सल्लाह मान्नुभए कसो होला? जस्तो कि: थकाइ मार्दा र काम गर्दा, घरमा बस्दा र यात्रा गर्दा, बिहान उठ्दा र राती सुत्नअघि आफ्ना छोराछोरीसित सकेसम्म धेरै समय बिताउनुहोस्। अझ सक्नुहुन्छ भने त तपाईं जहाँ-जहाँ जानुहुन्छ उनीहरूलाई पनि सँगै लैजानुहोस्। व्यवस्था ६:७ ले भनेअनुसार छोराछोरीसित समय बिताउनुबाहेक अर्को उपाय छैन।
छोराछोरीलाई नैतिक शिक्षा सिकाउनुहोस्
एक छोरा र एक छोरीका बुबा मार्यो पनि यस्तो सुझाव दिन्छन्: “आफ्ना छोराछोरीलाई धेरै माया गर्नुहोस् र तिनीहरूलाई पढेर सुनाउनुहोस्।” तर यसो गर्नुको उद्देश्य छोराछोरीको बौद्धिक क्षमता विकास गर्नु मात्र होइन। सही के हो, गलत के हो सो खुट्ट्याउन उनीहरूलाई सिकाउनु खाँचो छ। मार्यो थप्छन्: “उनीहरूसित बाइबल अध्ययन गर्नुहोस्।”
यस विषयमा बाइबलमा आमाबाबुलाई यस्तो सुझाव दिइएको छ: “आफ्ना छोराछोरीलाई रीस नउठाओ, तर तिनीहरूलाई प्रभुको अनुशासन र शिक्षामा हुर्काओ।” (एफिसी ६:४, NRV) आज थुप्रै परिवारमा छोराछोरीलाई नैतिक शिक्षा सिकाइँदैन। कतिपय आमाबाबु त के भन्छन् भने, ‘छोराछोरीलाई पछि जसरी जीवन बिताउन मनपर्छ, त्यो उनीहरूले नै निधो गर्न सक्छन्।’ के यस्तो सोचाइ ठीक होला? जसरी हलक्क बढेर हृष्टपुष्ट हुन कलिलो शरीरलाई पोसिलो खानेकुरा चाहिन्छ, त्यसै गरी बालबालिकाको कलिलो मन र हृदयसम्म पुग्ने गरी उनीहरूलाई नैतिक शिक्षा सिकाउनु खाँचो छ। तपाईंले आफ्ना छोराछोरीलाई घरमा नैतिक शिक्षा सिकाउनुभएन भने, उनीहरूले आफ्ना साथी तथा शिक्षक-शिक्षिकाको विचारधारा वा सञ्चारमाध्यमले प्रचारप्रसार गर्ने कुरा सिक्नेछन्।
सही के हो र गलत के हो भन्ने कुरा छोराछोरीलाई सिकाउन बाइबलले आमाबाबुलाई मदत गर्न सक्छ। (२ तिमोथी ३:१६, १७) एक छोरा र एक छोरी हुर्काइसकेका अनुभवी मसीही प्राचीन जेफ, छोराछोरीलाई नैतिक शिक्षा सिकाउँदा बाइबल प्रयोग गर्ने सल्लाह दिन्छन्। तिनी भन्छन्: “छोराछोरीलाई नैतिक शिक्षा सिकाउँदा बाइबल प्रयोग गऱ्यौं भने, उनीहरूले आमा र बुबाको मात्र होइन तर सृष्टिकर्ता यहोवाको विचार पनि बुझ्न सक्नेछन्। बाइबलले छोराछोरीको मन छुन सकेको अनुभव हामीले गरेका छौं। नराम्रो आनीबानी अथवा कुविचारबारे सल्लाह दिन, हामीले समय लगाएर उपयुक्त शास्त्रपद खोज्यौं र छोरा वा छोरीलाई एक्लै राखेर पद पढ्न लगायौं। पद पढिसकेपछि उनीहरू धुरुधुरु रुन्थे। त्यो देखेर हामी त छक्क पर्थ्यौं। बाइबलमा भनिएको कुराले उनीहरूको मनै छुने रहेछ! म सोच्छु, आफूलाई लागेअनुसार भनेको भए वा गरेको भए सायद त्यतिको प्रभावकारी हुने थिएन होला।”
हिब्रू ४:१२ भन्छ: “परमेश्वरको वचन जीवित र प्रबल . . . हृदयको भावना र विचारलाई जाँच्न सक्ने हुन्छ।” यसकारण बाइबलमा पाइने सन्देश, परमेश्वर यहोवाले बाइबल लेख्न चलाउनुभएका मानिसहरूको विचार वा अनुभव होइन। बरु, यी सन्देश त नैतिकताबारे परमेश्वरको विचार कस्तो छ, त्यसका प्रतीक हुन्। बाइबलको सल्लाह अरू सल्लाहभन्दा फरक हुनुको कारण यही हो। बाइबल प्रयोग गरेर छोराछोरीलाई सिकाउनुभयो भने, परमेश्वरको जस्तै मन विकास गर्न उनीहरूलाई मदत गरिरहनुभएको हुनेछ। तपाईं आफैले छोराछोरीलाई प्रशिक्षण दिनुभयो भने त्यो अर्थपूर्ण त हुन्छ नै, यसबाहेक छोराछोरीको मनको कुरा बुझ्ने मौका पनि मिल्छ।
सुरुमा उल्लेख गरिएकी क्याथ्रिन यस कुरामा सहमत छिन्। तिनी भन्छिन्: “अवस्था जति गाह्रो भयो, हामीले उति नै परमेश्वरको वचनमा डोऱ्याइ खोज्यौं। फलस्वरूप, हामीले डटेर परिस्थितिको सामना गर्न सक्यौं!” सही के हो, गलत के हो भन्ने कुरा खुट्ट्याउन छोराछोरीलाई सिकाउने सन्दर्भमा के तपाईं बाइबल अझ धेरै प्रयोग गर्न सक्नुहुन्छ?
व्यावहारिक हुनुहोस्
प्रेरित पावल छोराछोरी हुर्काउन मदत गर्ने अर्को महत्त्वपूर्ण सिद्धान्त औल्याउँछन्। सँगी मसीहीहरूलाई तिनी आग्रह गर्दै भन्छन्: “तिमीहरू व्यावहारिक छौ भनेर सबैले थाह पाऊन्।” (फिलिप्पी ४:५, NW) यसको अर्थ, हामी व्यावहारिक छौं भन्ने कुरा हाम्रा छोराछोरीले पनि थाह पाउनुपर्छ। अनि व्यावहारिक हुँदा हामीले “जुन बुद्धि स्वर्गबाट आउँछ” त्यस्तो बुद्धि देखाइरहेका हुन्छौं भनेर मनमा गुन्नुहोस्।—याकूब ३:१७, NRV.
तर छोराछोरी हुर्काउने सम्बन्धमा चाहिं किन व्यावहारिक
हुने नि? हामी उनीहरूलाई सक्दो मदत गर्न चाहन्छौं तर यसको मतलब उनीहरूलाई पाइलैपिच्छे यसो गर्, त्यसो नगर् भनेर उपदेश दिनुपर्छ भनेको होइन। माथि चर्चा गरिएका मार्योको उदाहरण विचार गर्नुहोस्। तिनी यहोवाका साक्षी हुन् र आफ्नो विगत सम्झँदै यसो भन्छन्: “बप्तिस्मा लिन, पूर्ण-समय सेवकाईमा लाग्न र अरू आध्यात्मिक लक्ष्यहरू राख्न हामी आफ्ना छोराछोरीलाई सधैं प्रोत्साहन दिने गर्थ्यौं। तर समय आएपछि यी कुरा रोज्ने कि नरोज्ने भन्ने कुरा तिमीहरूकै हातमा छ है भनेर प्रस्ट पारिदिन्थ्यौं।” परिणाम कस्तो भयो? अहिले तिनका छोरा र छोरी दुवैले पूर्ण-समय सेवा गरिरहेका छन्।कलस्सी ३:२१ मा बाइबलले बुबाहरूलाई यस्तो चेतावनी दिएको छ: “ए बाबु हो, आफ्ना केटा-केटीहरूलाई रीस नउठाओ, र तिनीहरू खिन्न नहोऊन्।” क्याथ्रिनलाई यो पद खूब मन पर्छ। हो, अनेक सम्झाइबुझाइ गर्दा पनि केही लागेन भने, आमाबाबुलाई रीस उठ्नु वा आफूले चाहेजस्तै छोराछोरीले पनि गरोस् भन्ने चाहनु स्वाभाविकै हो। तर तिनी भन्छिन्: “तपाईं जति गर्न सक्नुहुन्छ, छोराछोरीले पनि त्यति नै गरोस् भन्ने सोचाइ नराख्नुहोस्।” क्याथ्रिन पनि यहोवाको साक्षी हुन् र तिनी अझै भन्छिन्: “यहोवाको सेवालाई आनन्दमय सेवा बनाउनुहोस्।”
सुरुमा उल्लेख गरिएको जेफ बडो व्यावाहरिक कुरा बताउँछन्: “हाम्रा छोराछोरी हुर्कंदै गर्दा मेरो एक जना साथीले मलाई यसो भने, ‘छोराछोरीले केही कुरा मागे कि म उनीहरूको माग टारिदिने गर्थें। त्यसो गर्दा उनीहरूले खिन्न र दबिएर बस्नुपरेजस्तो महसुस गरेछन्।’ छोराछोरीलाई यस्तो महसुस नगराउन उनीहरूले मागेको कुरा पुऱ्याइदिने वा भनेको कुरा सुनिदिने मौकाहरू खोज्नुपर्छ भनेर तिनले मलाई सल्लाह दिए।
जेफ भन्छन्: “तिनले दिएको सल्लाह हामीलाई राम्रो लाग्यो। हामीलाई ठीक लागेको बेला छोराछोरीलाई अरूसित घुलमिल गराउने मौकाहरू खोज्न थाल्यौं। मौका मिल्नासाथ छोराछोरीलाई भन्थ्यौं: ‘तिमीहरूलाई थाह छ, फलना-फलनाले यसो गर्दैछन् नि, तिमीहरू पनि गर्न चाहन्छौ कि?’ अथवा छोराछोरीले ‘कतै घुम्न जाऔं न’ भन्दा, थाकेको बेला पनि हामीले उनीहरूलाई घुमाउन लैजाने जाँगर चलायौं। उनीहरूले भनेको कुरा नटार्नको लागि मात्र भए पनि हामी त्यसो गर्थ्यौं।” वास्तवमा व्यावहारिक हुनु भनेको पनि त्यही नै हो। भन्नुको मतलब, व्यावहारिक व्यक्तिले बाइबलका सिद्धान्तहरूमा सम्झौता नगरी निष्पक्ष, विचारशील हुँदै अरूको इच्छा बुझिदिन्छ।
भरपर्दो सल्लाहबाट लाभ उठाउनुहोस्
माथि चर्चा गरिएका धेरैजसो दम्पती अहिले हजुरबा/हजुरआमा भइसकेका छन्। आफ्ना छोराछोरीले बाइबलका यिनै सिद्धान्तहरू पालन गरेर आमाबाबुको जिम्मेवारी राम्रोसँग वहन गरेको देख्दा उनीहरू अत्यन्त खुसी छन्। तपाईं पनि बाइबलको सल्लाहबाट लाभ उठाउन चाहनुहुन्छ कि?
यस लेखको सुरुमा उल्लेख गरिएको रूथ आमा बन्दा तिनी र तिनका श्रीमान्ले कहिलेकाहीं त असहाय महसुस गरे। तर वास्तवमा तिनीहरू असहाय थिएनन्। किनभने तिनीहरूसित उच्च कोटिको सल्लाह पाइने परमेश्वरको वचन बाइबल थियो। यहोवाका साक्षीहरूले आमाबाबुलाई मदत गर्न सक्ने थुप्रै बाइबल अध्ययन सहायकहरू पनि प्रकाशित गरेका छन्। जस्तै: लर्न फ्रम द ग्रेट टिचर, बाइबलका कथाहरू भएको मेरो पुस्तक, युवा जनहरूका प्रश्न तथा त्यसका उपयोगी जवाफ, र आजसम्म बाँचेकाहरूमध्ये सबैभन्दा महान पुरुष आदि। रूथको श्रीमान् टर्लिफ भन्छन्: “आज, आमाबाबुले बाइबल आधारित सल्लाह चुट्कीको भरमै पाउन सक्छन्। बाइबलले दिने सल्लाह पालन गर्नु मात्र पर्छ, छोराछोरी हुर्कंदै जाँदा आइपर्ने जस्तोसुकै समस्यालाई पनि पन्छाएर अघि बढ्न सकिन्छ।” (w 06 11/01)
[पृष्ठ ५-मा भएको पेटी/चित्र]
विशेषज्ञहरूको भनाइ . . . बाइबलको भनाइ
माया देखाउने सम्बन्धमा:
बाल मनोविज्ञानसम्बन्धी एउटा पुस्तकमा (द साइकोलजिकल केर अफ इन्फेन्ट एण्ड चाइल्ड, १९२८) डा. जोन ब्रोडस् वाट्सनले आमाबाबुलाई यस्तो आग्रह गरे: आफ्ना “छोराछोरीलाई कहिल्यै अँगालो नहाल्नुहोस् र कहिल्यै म्वाइँ नखानुहोस्। उनीहरूलाई काखमा पनि कहिल्यै नराख्नुहोस्।” तर हालसालै डा. भिर लेन र डा. डोरथी मोलेनोले आवर चिल्ड्रेन (मार्च १९९९) भन्ने पत्रिकामा यसो भने: “अनुसन्धानले देखाएअनुसार आमाबाबुको स्पर्शबाट वञ्चित र माया कस्तो हुन्छ, महसुस गर्न नपाएका साना केटाकेटीहरू राम्रोसँग फल्नफुल्न सक्दैनन्।”
तर यशैया ६६:१२ पल्टाएर हेर्नुभयो भने, आमाबाबुले आफ्ना छोराछोरीलाई जस्तो माया देखाउँछन्, परमेश्वरले आफ्ना जनहरूलाई पनि त्यस्तै माया देखाउनुभएको विवरण पाउँछौं। यसै गरी, येशूका चेलाहरूले मानिसहरूलाई आफ्ना साना केटाकेटी येशूकहाँ ल्याउनदेखि रोक्न खोज्दा उहाँले तिनीहरूलाई सम्झाउँदै भन्नुभयो: “साना केटाकेटीहरूलाई मकहाँ आउनदेओ, तिनीहरूलाई नरोक।” त्यसो भनिसकेपछि उहाँले “तिनीहरूलाई काखमा लिएर तिनीहरूमाथि आफ्नो हात राखेर आशीर्वाद दिनुभयो।”—मर्कूस १०:१४, १६.
नैतिक शिक्षा सिकाउने सम्बन्धमा:
सन् १९६९ को कुरा हो, न्यु योर्क टाइम्स म्याग्जिन-को एउटा लेखमा डा. ब्रुनो बेटिलहिमले साना केटाकेटीहरूको सम्बन्धमा जोड दिंदै भने: “उनीहरूलाई जे ठीक लाग्छ, त्यसै गर्ने छुट दिनुपर्छ। [आमाबाबुले] उनीहरूको निजी जीवनमा [दखल पुऱ्याउनु] हुँदैन। ‘बनको काँडा आफै तिखारिन्छ’ भनेझैं जीवनमा परिआउने सुखदुःखले नै उनीहरूलाई सिकाउँछ।” तर करिब ३० वर्षपछि केटाकेटीको बैद्धिकतासम्बन्धी पुस्तकका (द मोरल इन्टेलिजेन्स् अफ चिल्ड्रेन, १९९७) लेखक डा. रबर्ट कोल्स्ले यो कुरा मानिलिए: “साना केटाकेटीहरूलाई जीवनको उद्देश्य बुझाउनु र त्यसै अनुरूप जीवन बिताउन उनीहरूलाई डोऱ्याउनु” अनि आमाबाबु र ठूलाबडाहरूलाई स्वीकार्य “नैतिक शिक्षा सिकाउनु” नितान्त जरुरी छ।
हितोपदेश २२:६ (NRV) आमाबाबुलाई यस्तो आग्रह गर्छ: “बालकलाई ऊ हिंड्नुपर्ने बाटोमा तालिम देऊ, र वृद्धावस्थामा ऊ त्यसबाट तर्केर जाँदैन।” “तालिम” भनेर अनुवाद गरिएको शब्दले हिब्रू भाषामा “सुरु गर्नु” भन्ने अर्थ पनि दिन्छ र शैशवकालदेखि नै शिक्षा दिन सुरु गर्नुलाई सङ्केत गर्छ। यसकारण, छोराछोरीलाई शैशवकालदेखि नै नैतिक शिक्षा सिकाउन सुरु गर्नुपर्छ भनेर बाइबलले आमाबाबुलाई प्रोत्साहन दिएको छ। (२ तिमोथी ३:१४, १५) हुर्कंदै गर्दा सिकेको कुरा छोराछोरीले जीवनभर याद राख्छन्।
अनुशासन दिने सम्बन्धमा:
अट्टेरी केटाकेटी (द स्ट्रङ-विल्ड चाइल्ड, १९७८) नामक पुस्तकमा डा. जेम्स् डब्सनले यस्तो लेखे: “मायालु आमा वा बुबाले पिट्नु भनेको सिकाउने एउटा तरिका हो। यसो गर्दा छोराछोरीको नराम्रो बानीबेहोरा हट्छ।” अर्कोतर्फ, बेबी एण्ड चाइल्ड केयर भन्ने लोकप्रिय पुस्तकको सातौं खण्डबाट लिइएको एउटा लेखमा डा. बेन्जामिन स्पोकले (१९९८) यसो भनेका छन्: “साना केटाकेटीहरूलाई पछाडि प्याट-प्याट पिट्नु हुँदैन। यसो गर्दा उनीहरूमा ठीक होस् कि बेठीक ठूलाबडाले मनपरी गर्दा पनि हुने रहेछ भन्ने भान पर्न सक्छ।”
अनुशासनको विषयमा बाइबल यसो भन्छ: “बेंत र हप्काइले बुद्धि दिन्छ।” (हितोपदेश २९:१५) तर सबै छोराछोरीलाई पिट्नै पर्छ भन्ने छैन। हितोपदेश १७:१० भन्छ: “मूर्ख मानिसले सय मुक्का खाएकोभन्दा समझ-शक्ति हुने मानिसलाई अर्तीको असर हुन्छ।”
[चित्र]
छोराछोरीको हृदयसम्म पुग्न बाइबल प्रयोग गर्नुहोस्
[पृष्ठ ७-मा भएको चित्र]
बुद्धिमान् आमाबाबुले छोराछोरीसित रमाइलो गर्ने प्रबन्ध मिलाउँछन्