सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाले पवित्र ठान्‍नुभएका कुरालाई के तपाईं पवित्र ठान्‍नुहुन्छ?

यहोवाले पवित्र ठान्‍नुभएका कुरालाई के तपाईं पवित्र ठान्‍नुहुन्छ?

यहोवाले पवित्र ठान्‍नुभएका कुरालाई के तपाईं पवित्र ठान्‍नुहुन्छ?

“होसियारीसाथ हेर . . . कोही पनि करणी गर्ने र पवित्र कुराको मोल नगर्ने मानिस नहोस्‌।”—हिब्रू १२:१५, १६, NW.

१. अहिले संसारमा देखिएको कुन मनोवृत्ति यहोवाका सेवकहरूले देखाउँदैनन्‌?

 सामान्यतया, संसारमा पवित्र कुराहरूलाई झन्‌-झनै ध्यान दिन छोडिएको छ। फ्रान्सको समाजशास्त्री एड्‌गार मोरिनले यसो भने: “परमेश्‍वर, प्रकृति, जन्मभूमि, इतिहास र तर्कशक्‍ति सबै नैतिकताका जग हुन्‌। तर यी कुराहरूले आफ्नो निर्विवाद चिनारीलाई गुमाइसकेका छन्‌। . . . मानिसहरू आफ्नो मूल्य-मान्यताहरू आफै छनौट गर्छन्‌।” यसले ‘संसारको आत्मा’ वा ‘अनाज्ञाकारिताका सन्तानमा काम गर्ने आत्मालाई’ झल्काउँछ। (१ कोरिन्थी २:१२; एफिसी २:२) यहोवामा समर्पित भएर राजीखुसीले उहाँको सार्वभौमिकताको अधीनमा बस्नेहरूले यस्तो अनादारपूर्ण मनोवृत्ति देखाउँदैनन्‌। (रोमी १२:१, २) बरु, तिनीहरूले यहोवाको उपासनामा पवित्रताको महत्त्वपूर्ण भूमिका छ भनेर मानिलिन्छन्‌। हाम्रो जीवनमा कुन कुराहरू पवित्र हुनुपर्छ? परमेश्‍वरका सम्पूर्ण सेवकहरूले पवित्र मान्‍ने पाँचवटा कुराबारे यस लेखमा छलफल गरिनेछ। यसपछिको लेखचाहिं मसीही सभाहरू पवित्र छन्‌ भन्‍ने कुरामा केन्द्रित हुनेछ। तर “पवित्र” शब्दको वास्तवमा अर्थ के हो?

२, ३. (क) धर्मशास्त्रमा यहोवाको पवित्रतालाई कसरी जोड दिइएको छ? (ख) हामी यहोवाको नाउँलाई कसरी पवित्र मान्छौं?

बाइबल लेखिएको हिब्रू भाषामा “पवित्र” शब्दले छुट्याउनु भन्‍ने अर्थ दिन्छ। उपासनाको सन्दर्भमा, “पवित्र” भन्‍नाले साधारण प्रयोगभन्दा अलग छुट्याइएको वा पवित्र ठानिएको कुरालाई बुझाउँछ। यहोवा पवित्र हुनुहुन्छ भन्‍नुको मतलब उहाँजस्तो पवित्र अरू कोही छैन। उहाँलाई “परम-पवित्र” भनिएको छ। (हितोपदेश ९:१०; ३०:३) प्राचीन इस्राएलमा प्रधान पूजाहारीले आफ्नो फेटाको अगाडिपट्टि “परमप्रभुको निम्ति पवित्र” भनी कुँदिएको एउटा सुनको पात्र लगाउँथे। (प्रस्थान २८:३६, ३७) स्वर्गमा यहोवाको सिंहासन वरिपरि भएका करूब र सराफहरूले यस्तो घोषणा गरिरहेको वर्णन बाइबलमा छ: “सेनाहरूका परमप्रभु, पवित्र, पवित्र, पवित्र हुनुहुन्छ।” (यशैया ६:२, ३; प्रकाश ४:६-८) यहाँ पवित्र शब्दलाई दोहोऱ्‍याइनुले यहोवा सबैभन्दा पवित्र, स्वच्छ र शुद्ध हुनुहुन्छ, उहाँको बराबर कोही आउन सक्दैन भनेर जोड दिन्छ। हो, उहाँ सबै पवित्र कुराको स्रोत हुनुहुन्छ।

यहोवाको नाउँ पवित्र छ। भजनरचयिताले यस्तो उद्‌गार व्यक्‍त गरे: “तिनीहरूले तपाईंको महान्‌ र भयानक नाउँको प्रशंसा गरून्‌। उहाँ पवित्र हुनुहुन्छ।” (भजन ९९:३) येशूले हामीलाई यसरी प्रार्थना गर्न सिकाउनुभयो: “हे हाम्रा स्वर्गमा बस्ने पिता, तपाईंको नाउँ पवित्र गरिओस्‌।” (मत्ती ६:९) येशूकी आमा मरियमले यसो भनिन्‌: “मेरो प्राणले परमप्रभुको प्रशंसा गर्दछ . . . सर्वशक्‍तिमानले मेरो निम्ति ठूलो काम गर्नुभएको छ। औ उहाँको नाउँ पवित्र छ।” (लूका १:४६, ४९) यहोवाका सेवकहरूको हैसियतमा हामी उहाँको नाउँलाई पवित्र मान्छौं। त्यस पवित्र नाउँमा कलंक लाग्ने कुनै काम गर्नदेखि जोगिन्छौं। त्यसबाहेक, हामी पवित्र कुराहरूप्रति यहोवाको जस्तै दृष्टिकोण राख्छौं, मतलब यहोवाले पवित्र ठान्‍नुभएको कुरालाई हामी पनि पवित्र ठान्छौं।—आमोस ५:१४, १५.

हामी येशूलाई किन गहिरो आदर गर्छौं

४. बाइबलमा येशूलाई किन “पवित्र जन” भनिएको छ?

पवित्र परमेश्‍वर यहोवाले आफ्नो “एकलो पुत्र” येशूलाई पवित्र व्यक्‍तिको रूपमा सृष्टि गर्नुभयो। (यूहन्‍ना १:१४; कलस्सी १:१५; हिब्रू १:१-३) त्यसैले, उहाँलाई “परमेश्‍वरका पवित्र जन” भनिएको छ। (यूहन्‍ना ६:६९) उहाँ स्वर्गमा हुनुहुँदा जत्ति पवित्र हुनुहुन्थ्यो पृथ्वीमा मानव आमा मरियमको कोखबाट जन्मनुहुँदा पनि त्यत्तिकै पवित्र रहनुभयो किनभने पवित्र आत्माको शक्‍तिद्वारा मरियमले उहाँलाई जन्म दिएकी थिइन्‌। स्वर्गदूतले मरियमलाई यसो भनेका थिए: “पवित्र आत्मा तिमीमाथि आउनुहुनेछ . . . जो जन्मनुहुनेछ सो पवित्र, अर्थात्‌ परमेश्‍वरका पुत्र कहलाइनुहुनेछ।” (लूका १:३५) यहोवालाई प्रार्थना गर्दा यरूशलेमका मसीहीहरूले पनि परमेश्‍वरका उनै पुत्रलाई दुई पटक तपाईंका “पवित्र सेवक येशू” भने।—प्रेरित ४:२७, ३०.

५. येशूले पृथ्वीमा कुन पवित्र काम पूरा गर्नुभयो र उहाँको रगत किन अनमोल छ?

पृथ्वीमा हुनुहुँदा येशूले एउटा पवित्र काम पूरा गर्नु थियो। इस्वी संवत्‌ २९ मा येशूको बप्तिस्मा हुँदा उहाँ यहोवाको महान्‌ आध्यात्मिक मन्दिरका प्रधान पूजाहारी नियुक्‍त हुनुभयो। (लूका ३:२१, २२; हिब्रू ७:२६; ८:१, २) यसबाहेक, उहाँले आफूलाई बलिदान चढाउनुपर्ने थियो। उहाँले बगाउनुभएको रगतले पापी मानिसहरूलाई पापबाट छुटकारा दिनेथियो। (मत्ती २०:२८; हिब्रू ९:१४) त्यसैले, येशूको रगतलाई हामी पवित्र अर्थात्‌ “अनमोल” मान्छौं।—१ पत्रुस १:१९.

६. येशूप्रति हाम्रो मनोवृत्ति कस्तो हुनुपर्छ र किन?

हामीले हाम्रा राजा र प्रधान पूजाहारी ख्रीष्ट येशूको गहिरो आदर गर्छौं भनेर बताउँदै प्रेरित पावलले यस्तो लेखे: “परमेश्‍वरले [आफ्नो पुत्रलाई] अति उच्च पार्नुभयो, र उहाँलाई त्यो नाउँ प्रदान गर्नुभयो, जो हरेक नाउँभन्दा उच्च छ, कि स्वर्गमा, पृथ्वीमाथि र पृथ्वीमनि भएका हरेक प्राणीले येशूको नाउँमा घुँडा टेक्नुपर्छ, र हरेक जिब्रोले परमेश्‍वर पिताको महिमाको निम्ति येशू ख्रीष्टलाई प्रभु हो भनी स्वीकार गर्नुपर्छ।” (फिलिप्पी २:९-११) हाम्रा अगुवा, अहिले स्वर्गमा शासन गरिरहनुभएका राजा तथा मसीही मण्डलीका शिर येशू ख्रीष्टको अधीनमा खुसीसाथ बसेर यहोवाले पवित्र ठान्‍नुभएका कुराहरूलाई हामी पनि पवित्र ठान्छौं भनेर देखाउँछौं।—मत्ती २३:१०; कलस्सी १:१८.

७. ख्रीष्टको अधीनमा बसेका छौं भनेर हामी कसरी देखाउँछौं?

ख्रीष्टको अधीनमा बस्नुको अर्थ उहाँको डोऱ्‍याइमा भइरहेको काममा नेतृत्व लिन उहाँले चलाइरहनु भएका पुरुषहरूप्रति उचित आदर देखाउनु पनि हो। आत्मा-अभिषिक्‍त मसीहीहरू मध्येबाट बनेको परिचालक निकायलगायत यस निकायद्वारा नियुक्‍त शाखा, जिल्ला, क्षेत्र र मण्डलीका निरीक्षकहरूको कामलाई पवित्र जिम्मेवारी मान्‍नुपर्छ। त्यसैले, यस प्रबन्धलाई हामीले गहिरो आदर गर्नुपर्छ र यसको अधीनमा बस्नुपर्छ।—हिब्रू १३:७, १७.

एउटा पवित्र जाति

८, ९. (क) कुन तरिकामा इस्राएलीहरू पवित्र जाति थिए? (ख) यहोवाले इस्राएलीहरूलाई पवित्र हुनुपर्ने कुरामा कसरी जोड दिनुभयो?

यहोवाले इस्राएल राष्ट्रसित करार बाँध्नुभयो। त्यो सम्बन्धले त्यस नयाँ राष्ट्रलाई एउटा विशेष दर्जा प्रदान गऱ्‍यो। तिनीहरूलाई पवित्र ठहऱ्‍याइयो अर्थात्‌ अलग्गै छुट्याइयो। यहोवा स्वयम्‌ले तिनीहरूलाई यसो भन्‍नुभयो: “तिमीहरू मेरो निम्ति पवित्र होओ, किनभने म परमप्रभु पवित्र छु, र तिमीहरू मेरै हुनलाई मैले तिमीहरूलाई अन्य मानिसहरूबाट अलग गरेर छुट्याएको हुँ।”—लेवी १९:२; २०:२६.

इस्राएल राष्ट्रको स्थापना भएदेखि नै यहोवाले इस्राएलीहरूलाई पवित्र हुनुपर्ने कुरामा जोड दिनुभयो। जस्तै, परमेश्‍वरले मोशालाई दस आज्ञा दिनुभएको ठाउँ सीनै पर्वतलाई तिनीहरूले छुनु समेत हुँदैन थियो। छोएको खण्डमा मृत्युदण्ड पाउँथे। त्यसको मतलब, सीनै पर्वतलाई त्यतिबेला पवित्र मानिन्थ्यो। (प्रस्थान १९:१२, २३) पूजाहारीगिरी, बासस्थान र त्यसभित्रका सर-सामान सबैलाई पवित्र मान्‍नुपर्थ्यो। (प्रस्थान ३०:२६-३०) पवित्रताको सन्दर्भमा मसीही मण्डलीको अवस्था कस्तो छ?

१०, ११. अभिषिक्‍त जनहरूको मसीही मण्डली पवित्र छ भनेर किन भन्‍न सकिन्छ र यसबाट ‘अरू भेडाले’ के गर्ने मौका पाएका छन्‌?

१० अभिषिक्‍त जनहरूको मसीही मण्डली यहोवाको दृष्टिमा पवित्र छ। (१ कोरिन्थी १:२) सम्पूर्ण अभिषिक्‍त मसीहीहरूको समूह यहोवाको महान्‌ आध्यात्मिक मन्दिरको भाग नभए तापनि कुनै समय पृथ्वीमा भएको बेला तिनीहरूलाई एउटा पवित्र मन्दिरको रूपमा हेरिएको छ। त्यस मन्दिरमा यहोवा आफ्नो पवित्र आत्मामार्फत बास गर्नुहुन्छ। प्रेरित पावलले यस्तो लेखे: “[ख्रीष्ट येशूमा] पूरै घर ठीकसँग एकैसाथ जोडिएर एउटै पवित्र मन्दिर हुनलाई बढ्‌दैजान्छ। अनि पवित्र आत्मामा परमेश्‍वरको वासस्थान हुनलाई तिमीहरू पनि उहाँमा एकसाथ निर्माण हुँदैजान्छौ।”—एफिसी २:२१, २२, NRV; १ पत्रुस २:५, ९.

११ पावलले अभिषिक्‍त मसीहीहरूलाई अझ यस्तो लेखे: “तिमीहरू परमेश्‍वरका मन्दिर हौ, औ परमेश्‍वरका आत्मा तिमीहरूमा बास गर्नुहुन्छ भन्‍ने के तिमीहरूलाई थाह छैन? . . . परमेश्‍वरको मन्दिर पवित्र छ, जो तिमीहरू नै हौ।” (१ कोरिन्थी ३:१६, १७) यहोवा पवित्र आत्मामार्फत अभिषिक्‍त मसीहीहरू माझ ‘बास गर्नुहुन्छ’ र तिनीहरूसित ‘हिंड्‌नुहुन्छ।’ (२ कोरिन्थी ६:१६) उहाँले आफ्ना विश्‍वासी ‘दासलाई’ निरन्तर डोऱ्‍याइरहनुहुन्छ। (मत्ती २४:४५-४७) ‘अरू भेडाले’ यस मन्दिर वर्ग अर्थात्‌ अभिषिक्‍त जनहरूसँगसँगै अघि बढ्‌ने सुअवसर पाएका छन्‌ र त्यस सुअवसरको तिनीहरू मोल गर्छन्‌।—यूहन्‍ना १०:१६; मत्ती २५:३७-४०.

हाम्रो मसीही जीवनमा पवित्र कुराहरू

१२. हाम्रो जीवनमा कुन कुराहरू पवित्र छन्‌ र किन?

१२ मसीही मण्डलीका अभिषिक्‍त जन र अरू भेडाको जीवनसित सम्बन्धित थुप्रै कुरालाई पवित्र मानिनु कुनै अचम्म होइन। यहोवासितको हाम्रो सम्बन्ध पवित्र कुरा हो। (१ इतिहास २८:९; भजन ३६:७) यसलाई हामी अति अनमोल मान्छौं। त्यसैले, हाम्रो यो सम्बन्धमा बाधा पुऱ्‍याउने मौका कसैलाई र केही कुरालाई पनि दिंदैनौं। (२ इतिहास १५:२; याकूब ४:७, ८) यहोवासित घनिष्ठ सम्बन्ध कायम राख्न प्रार्थनाले महत्त्वपूर्ण भूमिका खेल्छ। अगमवक्‍ता दानियलले प्रार्थनालाई अति पवित्र मान्थे। त्यसैले प्रार्थना गरेको खण्डमा ज्यान नै गुमाउनुपर्छ भनेर थाह पाउँदा-पाउँदै पनि तिनले यहोवालाई प्रार्थना गर्न छाडेनन्‌। (दानियल ६:७-११) “भक्‍त” अर्थात्‌ अभिषिक्‍त मसीहीहरूका ‘प्रार्थनालाई’ मन्दिरमा बालिने धूपसित तुलना गरिएको छ। (प्रकाश ५:८; ८:३, ४; लेवी १६:१२, १३) यसले प्रार्थना कत्ति पवित्र कुरा हो भनेर स्पष्ट पार्छ। ब्रह्‍माण्डको सार्वभौम परमेश्‍वरसित प्रार्थनाद्वारा कुरा गर्न पाउनु कत्ति ठूलो सुअवसर! त्यसैले, हामीले आफ्नो जीवनमा प्रार्थनालाई पवित्र मान्‍नु अचम्म होइन!

१३. कुन शक्‍ति पवित्र छ र हामीले यसलाई आफ्नो जीवनमा कसरी काम गर्न दिनुपर्छ?

१३ अभिषिक्‍त मसीहीहरू र अरू भेडाको जीवनलाई डोऱ्‍याउने शक्‍ति अर्थात्‌ पवित्र आत्मालाई तिनीहरू अवश्‍यै पवित्र मान्छन्‌। पवित्र आत्मा भनेको यहोवाको सक्रिय शक्‍ति हो। यसले सधैं पवित्र परमेश्‍वरको इच्छाअनुरूप काम गर्ने भएकोले यसलाई “पवित्र आत्मा” वा “पवित्रताको आत्मा” भन्‍नु उपयुक्‍त छ। (यूहन्‍ना १४:२६; रोमी १:४) यही पवित्र आत्मामार्फत यहोवाले आफ्ना सेवकहरूलाई सुसमाचार प्रचार गर्न शक्‍ति दिनुहुन्छ। (प्रेरित १:८; ४:३१) यहोवाले आफ्नो त्यो आत्मा उहाँका “आज्ञा मान्‍नेहरू” र ‘आत्माको भरमा हिंड्‌नेहरूलाई’ दिनुहुन्छ, शरीरको लालसामा हिंड्‌नेहरूलाई दिनुहुन्‍न। (प्रेरित ५:३२; गलाती ५:१६, २५; रोमी ८:५-८) यो असामान्य शक्‍तिले मसीहीहरूलाई असल गुणहरू अर्थात्‌ “आत्माको फल” फलाउन र “पवित्र आचरण र ईश्‍वरीय भक्‍तिका कार्यहरू” गर्न सक्षम बनाउँछ। (गलाती ५:२२, २३; २ पत्रुस ३:११, NW) हामी पवित्र आत्मालाई पवित्र मान्छौं भने त्यसलाई सन्ताप पुऱ्‍याउने वा त्यसलाई हाम्रो जीवनमा काम गर्न बाधा पुऱ्‍याउने कुनै पनि कुरा गर्ने छैनौं।—एफिसी ४:३०.

१४. कुन सुअवसरलाई अभिषिक्‍त मसीहीहरू पवित्र मान्छन्‌ र त्यसमा अरू भेडाले पनि कसरी भाग लिन्छन्‌?

१४ पवित्र परमेश्‍वर यहोवाको नाउँ धारण गर्न र उहाँको साक्षी हुन पाउनु एउटा सुअवसर हो। यस सुअवसरलाई हामी पवित्र मान्छौं। (यशैया ४३:१०-१२, १५) यहोवाले अभिषिक्‍त मसीहीहरूलाई ‘नयाँ करारको सेवक हुन’ योग्य ठहराउनुभएको छ। (२ कोरिन्थी ३:५, ६) त्यसैले, तिनीहरूलाई ‘राज्यको सुसमाचार’ प्रचार गर्ने र “सबै देशका जातिहरूलाई चेला” बनाउने काम सुम्पनुभएको छ। (मत्ती २४:१४; २८:१९, २०) तिनीहरूले यो काम विश्‍वासीपूर्वक गरिरहेका छन्‌ र लाखौं भेडाखाले मानिसहरूले तिनीहरूका कुरा सुनिरहेका छन्‌। ती भेडाखाले मानिसहरूले प्रतीकात्मक अर्थमा अभिषिक्‍त जनहरूलाई यसो भनिरहेका छन्‌: “हामी तपाईंसित जानेछौं, किनभने हामीले सुनेका छौं कि परमेश्‍वर तपाईंसित हुनुहुन्छ।” (जकरिया ८:२३) तिनीहरूले आध्यात्मिक अर्थमा “किसान” [ NW] र ‘दाखबारीको मालीको’ हैसियतमा ‘हाम्रा परमेश्‍वरका अभिषिक्‍त सेवकको’ लागि खुसीसाथ सेवा गर्छन्‌। यसरी अरू भेडाले अभिषिक्‍त जनहरूलाई विश्‍वभरि गर्नुपर्ने तिनीहरूको सेवकाई पूरा गर्न ठूलो सहयोग पुऱ्‍याउँछन्‌।—यशैया ६१:५, ६.

१५. कुन कामलाई प्रेरित पावलले पवित्र माने र हामी पनि किन त्यस्तै दृष्टिकोण राख्छौं?

१५ उदाहरणका लागि, प्रेरित पावलले आफ्नो जन सेवकाईलाई पवित्र मान्थे। तिनले आफूलाई ‘अन्यजातिहरूका निम्ति परमेश्‍वरको सुसमाचारको सेवा गर्ने ख्रीष्ट येशूको सेवक’ हुँ भने। (रोमी १५:१६) कोरिन्थका मसीहीहरूलाई लेखेको पत्रमा पावलले आफ्नो सेवकाईलाई “धन” भनी बताए। (२ कोरिन्थी ४:१, ७) हामी आफ्नो जन सेवकाईमार्फत “परमेश्‍वरको [“पवित्र,” NW] वाणी” अरूलाई बताउँछौं। (१ पत्रुस ४:११) तसर्थ, हामी अभिषिक्‍त जन हौं या अरू भेडा, साक्षी दिने काममा भाग लिन पाउनुलाई पवित्र सुअवसर मान्छौं।

“परमेश्‍वरको डर राखेर पवित्रतालाई सिद्ध पारौं”

१६. “पवित्र कुराको मोल नगर्ने मानिस” नबन्‍न हामीलाई कुन कुराले मदत दिनेछ?

१६ प्रेरित पावलले आफ्ना सँगी मसीहीहरूलाई “पवित्र कुराको मोल नगर्ने मानिस” नबन्‍न चेतावनी दिए। त्यस्तो व्यक्‍ति बन्‍नुको साटो, बरु तिनीहरूलाई ‘उछिट्टिएर आएको तीतो जराले दुःख दिई धेरै जनालाई बिटुलो पार्ला कि भनी होसियारीसाथ हेर्दै पवित्रताको पछि लाग्न’ सल्लाह दिए। (हिब्रू १२:१४-१६) “तीतो जरा” भन्‍ने अभिव्यक्‍तिले मण्डलीले गरेको कामकुरोमा गल्ती कोट्याउने केही मसीहीहरूलाई बुझाउँछ। उदाहरणका लागि, तिनीहरू विवाहको पवित्रता वा नैतिक तवरमा स्वच्छ रहनुपर्ने आवश्‍यकताबारे यहोवाको दृष्टिकोणसित सहमत नहुन सक्छन्‌। (१ थिस्सलोनिकी ४:३-७; हिब्रू १३:४) अथवा तिनीहरू “सत्यबाट तर्किएकाहरूले” फिंजाएको धर्मत्यागी कुरा अर्थात्‌ “पवित्र कुराको विरुद्धमा गरिने बेकामको बकबकमा” लाग्न सक्छन्‌।—२ तिमोथी २:१६-१८, NW.

१७. पवित्रताबारे यहोवाको जस्तो दृष्टिकोण आफ्नो जीवनमा झल्काउन अभिषिक्‍त जनहरूले किन निरन्तर प्रयास गरिरहनै पर्छ?

१७ आफ्ना अभिषिक्‍त सँगी भाइहरूलाई पावलले यस्तो लेखे: “ए प्रिय हो, . . . शरीर र आत्माका सबै किसिमका अशुद्धपनाहरूबाट हामी आफैलाई शुद्ध पारौं, औ परमेश्‍वरको डर राखेर पवित्रतालाई सिद्ध पारौं।” (२ कोरिन्थी ७:१) पावलको यस भनाइले के देखाउँछ भने, “स्वर्गीय बोलावटका सहभागी” अर्थात्‌ अभिषिक्‍त मसीहीहरूले आफ्नो जीवनको हर पक्षमा पवित्रताबारे यहोवाको जस्तो दृष्टिकोण झल्काएको प्रमाणित गर्न निरन्तर प्रयास गरिरहनै पर्छ। (हिब्रू ३:१) त्यस्तैगरि, प्रेरित पत्रुसले पनि आफ्ना आत्म-अभिषिक्‍त भाइहरूलाई यस्तो आग्रह गरे: “आज्ञा पालन गर्ने बालकहरूले झैं तिमीहरूको अजान अवस्थाको समयमा तिमीहरूका अघिअघिका अभिलाषाअनुसार नभएर, तर तिमीहरूलाई बोलाउनुहुने जस्तो पवित्र हुनुहुन्छ, तिमीहरू आफै पनि जीवनका सबै रहनसहनमा पवित्र होओ।”—१ पत्रुस १:१४, १५.

१८, १९. (क) ‘ठूलो भीडका’ सदस्यहरूले पवित्र कुराहरूप्रति यहोवाको जस्तै दृष्टिकोण राख्छन्‌ भनी कसरी देखाउँछन्‌? (ख) हाम्रो मसीही जीवनका अर्को कुन पवित्र पक्षबारे यसपछिको लेखमा छलफल गरिनेछ?

१८ “महा सङ्‌कष्टबाट” बच्ने ‘ठूलो भीडका’ सदस्यहरूबारे चाहिं के भन्‍न सकिन्छ? तिनीहरूले पनि पवित्र कुराहरूप्रति यहोवाको जस्तै दृष्टिकोण आफ्नो जीवनमा झल्काएको प्रमाण दिनै पर्छ। तिनीहरूले परमेश्‍वरको आध्यात्मिक मन्दिरको पार्थिव चोकमा यहोवालाई ‘पवित्र सेवा’ चढाइरहेको वर्णन प्रकाशको किताबमा गरिएको छ। तिनीहरूले प्रतीकात्मक अर्थमा ‘आफ्ना आफ्ना लुगाहरू थुमाको रगतमा धोई सेतो बनाएर’ ख्रीष्टको छुटकाराको बलिदानमा विश्‍वास गरेका छन्‌। (प्रकाश ७:९, १४, १५) यसो गर्दा तिनीहरूले यहोवाको अनुमोदन पाउन सक्छन्‌ अनि ‘शरीर र आत्माको हरेक किसिमको अशुद्धताबाट तिनीहरू आफैलाई शुद्ध पार्छन्‌ र परमेश्‍वरको भयमा पवित्रतालाई सिद्धतातर्फ बढाउँदै लान्छन्‌।’

१९ अभिषिक्‍त मसीहीहरू र ठूलो भीडका मसीहीहरूको जीवनको एउटा महत्त्वपूर्ण पक्ष यहोवाको उपासना गर्न र उहाँको वचन अध्ययन गर्न नियमित तवरमा भेला हुनु हो। आफ्ना जनहरूको जमघटलाई यहोवा पवित्र ठान्‍नुहुन्छ। यस महत्त्वपूर्ण पक्षमा पनि पवित्र कुराहरूप्रति यहोवाको जस्तै दृष्टिकोण हामीले किन राख्नुपर्छ र कसरी राख्न सक्छौं? यसपछिको लेखमा छलफल गरिनेछ। (w 06 11/01)

पुनरावलोकन गर्दा

• कस्तो सांसारिक दृष्टिकोण यहोवाका सेवकहरूले देखाउँदैनन्‌?

• किन यहोवा सबै पवित्र कुराहरूको स्रोत हुनुहुन्छ?

• ख्रीष्टको पवित्रतालाई हामी आदर गर्छौं भनेर कसरी देखाउँछौं?

• कुन कुराहरूलाई हामीले आफ्नो जीवनमा पवित्र मान्‍नुपर्छ?

[प्रश्‍नहरू]

[पृष्ठ २५-मा भएको चित्र]

प्राचीन इस्राएलमा पूजाहारीगिरी, बासस्थान र त्यसका सर-सामानहरू सबैलाई पवित्र मानिन्थ्यो

[पृष्ठ २७-मा भएका चित्रहरू]

प्रार्थना र हाम्रो जन सेवकाई पवित्र सुअवसरहरू हुन्‌