सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“विशेषज्ञहरूको” भनाइ कहिले सही त कहिले गलत

“विशेषज्ञहरूको” भनाइ कहिले सही त कहिले गलत

“विशेषज्ञहरूको” भनाइ कहिले सही त कहिले गलत

कम्प्युटर चलाउन जान्‍नेहरूले आमाबाबुलाई चाहिने सल्लाह इन्टरनेटमा खोजे भने, २ करोड ६० लाखभन्दा धेरै सल्लाह तुरुन्ता-तुरुन्तै भेट्टाउन सक्छन्‌। प्रत्येक सल्लाह खोजेर पढ्‌न एक मिनेट मात्र लगाउनुभयो भने पनि सबै सल्लाह पढिनसक्दै तपाईंका छोरा वा छोरी २०/२१ वर्षका भइसक्छन्‌।

अहिले त बालरोग विशेषज्ञ, बाल मनोचिकित्सक र इन्टरनेटले छोराछोरी कसरी हुर्काउने भन्‍ने विषयमा सल्लाह दिन्छन्‌। तर यी कुरा नहुँदा आमाबाबुले कसबाट सल्लाह लिन्थे? प्रायजसो आफ्नै परिवारका सदस्य र आफन्तहरूबाट। बुबा/आमा, काका/काकी र फुपूहरू सल्लाह-सुझाव दिन, आर्थिक सहयोग गर्न र बालबच्चाको स्याहार-सुसार गरिदिन तत्पर हुन्थे र त्यसो गर्न सक्ने अवस्थामा हुन्थे पनि। तर अचेल थुप्रै मुलुकमा धेरैभन्दा धेरै मानिस गाउँघरबाट सहरबजारतिर बसाइँ सरेका कारण यस्तो संयुक्‍त परिवार छरपस्ट हुन थालेको छ। यसकारण, छोराछोरी हुर्काउने कठिन जिम्मेवारी हिजोआज आमाबाबु एक्लैले वहन गर्नुपरेको छ।

आज, शिशु-स्याहार केन्द्र बर्खे च्याउँझैं फस्टाउनुको एउटा कारण यही हो भन्‍ने कुरामा कसैको दुई मत नहोला। अर्को कारणचाहिं छोराछोरी हुर्काउन विज्ञानले मदत गर्छ भनेर बढी नै विश्‍वास गर्नु हो। विज्ञानले मानिसका लागि गर्न नसक्ने केही छैन भनेर सन्‌ १८०० दशकको अन्ततिर अमेरिकी जनताले विश्‍वास गर्न थालिसकेका थिए। अब त्यतिको विश्‍वास भएपछि छोराछोरी हुर्काउने सम्बन्धमा पनि विज्ञानले मदत गर्न सक्छ भनेर पत्याउनु स्वाभाविकै थियो! त्यही कारण सन्‌ १८९९ मा अमेरिकन नेशनल कङ्‌ग्रेस अफ मदर्स्‌ले “आमाबाबु असक्षम भए” भनेर दुखेसो पोख्नासाथ ‘हामी मदत गर्छौं!’ भन्दै “बाल विशेषज्ञहरू” अघि सरेका थिए। उनीहरूले समस्यामा परेका आमाबाबुलाई छोराछोरी हुर्काउन मदत गर्ने वचन दिए।

किताबी सल्लाहअनुसार छोराछोरी हुर्काउने

तर के यस्ता विशेषज्ञहरूले आमाबाबुलाई साँच्चै मदत गर्न सकेका छन्‌ त? के आज आमाबाबुहरू चिन्तामुक्‍त र छोराछोरी हुर्काउन हिजोभन्दा धेरै सक्षम भएका छन्‌? हालै बेलाइतमा गरिएको एउटा सर्वेक्षणअनुसार यस्तो केही भएको छैन। साना छोराछोरी भएका करिब ३५ प्रतिशत आमाबाबु अझै पनि भरपर्दो सल्लाहको खोजीमा छन्‌ भनेर त्यस सर्वेक्षणले देखायो। अरू कतिपय आमाबाबुलाई चाहिं मनले जे भन्छ, त्यसै गर्न मन लाग्दो रहेछ।

आफ्नो पुस्तकमा (रेजिङ अमेरिका: एक्सपर्टस्‌, पेरेन्टस्‌ एण्ड ए सेन्चुरी अफ एड्‌भाइस्‌ अबाउट चिल्ड्रेन) आन हल्बर्टले छोराछोरी हुर्काउने सम्बन्धमा सरसल्लाह दिने विशेषज्ञहरूका भनाइ कस्ता हुन्छन्‌, त्यसबारे बताएकी छन्‌। एक छोरा र एक छोरीकी आमा हल्बर्टको भनाइअनुसार विशेषज्ञहरूले पत्ता लगाएका थोरै कुरा मात्र विज्ञानसित साँच्चै मेल खाएको थियो। वास्तवमा, विशेषज्ञहरूले प्रमाणित तथ्यको आधारमा भन्दा पनि उनीहरूले जीवनमा जे-जस्तो अनुभव गरेका छन्‌, त्यसैको आधारमा पो धेरैजसो सल्लाह दिंदा रहेछन्‌। विगतलाई फर्केर हेऱ्‍यौं भने विशेषज्ञहरूले भनेका धेरैजसो कुरा वाहियात र विवादास्पद लाग्छ र कहिलेकाहीं त उनीहरूको भनाइ सरासर गलत साबित पनि भए।

उसोभए, आज आमाबाबुहरू कस्तो स्थितिमा छन्‌? नढाँटी भन्‍नुपर्दा, तीनथुप्रो सल्लाह, फरक-फरक विचारधारा अनि विवादास्पद कुराले गर्दा कैयौं आमाबाबु पहिलाभन्दा झनै दोधारमा परेका छन्‌। तर सबै आमाबाबु यस्तो लाचार अवस्थामा छैनन्‌। संसारमा यस्ता आमाबाबुहरू पनि छन्‌, जसले आज पनि भरपर्दो सल्लाह साबित भएको बुद्धिको पुरानो स्रोतबाट लाभ उठाइरहेका छन्‌। अर्को लेखमा बुद्धिको यही स्रोतबारे कुरा गर्नेछौं। (w 06 11/01)