सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आफूलाई परमेश्‍वरको प्रेममा राख्नुहोस्‌!

आफूलाई परमेश्‍वरको प्रेममा राख्नुहोस्‌!

आफूलाई परमेश्‍वरको प्रेममा राख्नुहोस्‌!

“हे प्रिय हो, . . . अनन्त जीवनको निम्ति . . . तिमीहरू आफैलाई परमेश्‍वरको प्रेममा राखिछोड।”—यहूदा २०, २१.

१, २. तपाईं कसरी परमेश्‍वरको प्रेममा रहन सक्नुहुन्छ?

 मानिसहरूलाई यहोवा अत्यन्तै प्रेम गर्नुहुन्छ। त्यसैकारण त पुत्रमाथि विश्‍वास गर्ने जतिले अनन्त जीवन पाओस्‌ भनेर उहाँले आफ्नो एक मात्र पुत्रलाई पनि दिनुभयो। (यूहन्‍ना ३:१६) यस्तो प्रेम पाउनु साँच्चै ठूलो कुरा हो! यहोवाको सेवा गरिरहनुभएको छ भने, तपाईं पनि यस्तो प्रेम सधैं पाइरहन चाहनुहुन्छ होला, हैन?

तर प्रश्‍न उठ्‌छ, तपाईं कसरी परमेश्‍वरको प्रेममा रहन सक्नुहुन्छ? यसको उत्तर चेला याकूबले यसरी दिए: “तिमीहरूचाहिं तिमीहरूको अति पवित्र विश्‍वासमा आफ्नो उन्‍नति गर्दै, पवित्र आत्मामा प्रार्थना गरी, अनन्त जीवनको निम्ति हाम्रा प्रभु येशू ख्रीष्टको कृपाको आशा राखी, तिमीहरू आफैलाई परमेश्‍वरको प्रेममा राखिछोड।” (यहूदा २०, २१) परमेश्‍वरको वचन बाइबल अध्ययन गर्नुका साथै सुसमाचार प्रचार गर्नुभयो भने, आफ्नो “अति पवित्र विश्‍वासमा” अर्थात्‌ मसीही शिक्षामा उन्‍नति गर्न सक्नुहुन्छ। परमेश्‍वरको प्रेममा रहन तपाईंले “पवित्र आत्मामा” अथवा यसको डोऱ्‍याइअनुसार प्रार्थना गर्नै पर्छ। अनन्त जीवन पाउन येशू ख्रीष्टले चढाउनुभएको बलिदानमा पनि तपाईंले विश्‍वास गर्नै पर्छ। —१ यूहन्‍ना ४:१०.

३. किन केही व्यक्‍ति अब यहोवाका साक्षी रहेनन्‌?

कुनै समय परमेश्‍वरमाथि विश्‍वास गर्ने केहीले आज आफूलाई परमेश्‍वरको प्रेममा राखेका छैनन्‌। पाप गर्न नछोडेकोले अब उनीहरू यहोवाका साक्षी रहेनन्‌। यस्तो नतिजा नभोग्न तपाईं के गर्न सक्नुहुन्छ? यस लेखमा दिइएका बुँदाहरू मनन गर्नुभयो भने, पाप गर्नबाट जोगिन र आफूलाई परमेश्‍वरको प्रेममा राखिरहन सक्नुहुनेछ।

परमेश्‍वरप्रतिको प्रेम देखाउनुहोस्‌

४. परमेश्‍वरको आज्ञा पालन गर्नु कत्तिको महत्त्वपूर्ण छ?

परमेश्‍वरको आज्ञा पालन गरेर उहाँप्रतिको प्रेम देखाउनुहोस्‌। (मत्ती २२:३७) प्रेरित यूहन्‍नाले लेखे: “हामीले उहाँका आज्ञा पालन गर्नुनै परमेश्‍वरप्रति प्रेम हो, र उहाँका आज्ञाहरू कडा छैनन्‌।” (१ यूहन्‍ना ५:३) परमेश्‍वरको आज्ञा पालन गर्ने बानी बसाल्दा, प्रलोभनबाट जोगिने बल मिल्छ र त्यसरी जोगिएकोमा खुसीले मन गदगद्‌ हुन्छ। भजनरचयिताले यसो भने: “त्यो मानिस धन्य हो, जो दुष्टहरूको युक्‍तिमा चल्दैन, . . . तर [यहोवाको] व्यवस्थामानै त्यो प्रसन्‍न रहन्छ।”—भजन १:१, २.

५. यहोवाप्रतिको प्रेमले तपाईंलाई के नगर्न उत्प्रेरित गर्नेछ?

यहोवाप्रतिको प्रेमले तपाईंलाई उहाँको नाउँमा कलंक लगाउने गम्भीर पाप नगर्न उत्प्रेरित गर्नेछ। आगूरले यसो भन्दै प्रार्थना गरेका थिए: “मलाई नता दरिद्र बनाउनुहोस्‌, न मलाई धन दिनुहोस्‌। मलाई चाँहिदो भोजन मात्र जुटाइ दिनुहोस्‌। किनभने मसित धेरै भयो भने म तपाईंलाई इन्कार गरूँला, र यसो भनूँला, ‘परमप्रभु को हो र?’ यदि म दरिद्र भएँ भने, म चोर्न लागूँला, र परमेश्‍वरको नाउँमा कलंक लगाउँला।” (हितोपदेश ३०:१, ८, ९) परमेश्‍वरको निन्दा हुने काम गरेर उहाँको ‘नाउँमा कलंक लाग्ने’ काम नगर्न कटिबद्ध हुनुहोस्‌। बरु, परमेश्‍वरको महिमा गर्न सधैं राम्रो काम गर्ने प्रयास गर्नुहोस्‌।—भजन ८६:१२.

६. तपाईंले जानाजानी पाप गर्नुभयो भने के हुन सक्छ?

पाप गर्न लोभ्याउने कुरादेखि अलग रहन स्वर्गमा बस्नुहुने तपाईंको मायालु पितालाई अटुटसँग प्रार्थना गर्नुहोस्‌। (मत्ती ६:१३; रोमी १२:१२) तपाईंले गरेको प्रार्थना नरोकिओस्‌ भन्‍ने चाहनुहुन्छ भने, परमेश्‍वरले दिने सल्लाह-सुझाव पालन गरिरहनुहोस्‌। (१ पत्रुस ३:७) तर तपाईंले जानाजानी पाप गर्नुभयो भने परिणाम साह्रै नमीठो हुन सक्छ किनभने बागी मानिसहरूको कुनै पनि प्रार्थना आफूकहाँ नपुगोस्‌ भनेर यहोवाले लाक्षणिक अर्थमा आफूलाई बादलले डम्म ढाक्नुहुन्छ। (विलाप ३:४२-४४) त्यसकारण नम्र हुनुहोस्‌ र प्रार्थनामार्फत परमेश्‍वरकहाँ पुग्नबाट रोक्न सक्ने सबै कुराबाट जोगिन प्रार्थना गर्नुहोस्‌। —२ कोरिन्थी १३:७.

परमेश्‍वरको पुत्रप्रतिको प्रेम देखाउनुहोस्‌

७, ८. येशू ख्रीष्टले दिएको सल्लाह पालन गर्ने व्यक्‍ति पाप गर्नबाट कसरी जोगिन सक्छ?

येशू ख्रीष्टको आज्ञा पालन गरेर उहाँप्रतिको प्रेम देखाउनुहोस्‌ किनभने यसो गर्दा पाप गर्नबाट जोगिने बल पाउनुहुनेछ। येशूले भन्‍नुभयो: “मेरा आज्ञाहरू पालन गर्छौ भने, तिमीहरू मेरो प्रेममा रहनेछौ, जसरी मैले मेरा पिताका आज्ञाहरू पालन गरेको छु, र उहाँका प्रेममा रहन्छु।” (यूहन्‍ना १५:१०) येशूले भनेअनुसारै चल्दा तपाईं परमेश्‍वरको प्रेममा रहिरहन सक्नुहुन्छ, तर कसरी?

येशूको कुरामा ध्यान दिनुभयो भने तपाईं नैतिकवान्‌ रहिरहन सक्नुहुन्छ। इस्राएलीहरूलाई दिइएको परमेश्‍वरको व्यवस्थामा भनिएको थियो: “तैंले व्यभिचार नगर्नू।” (प्रस्थान २०:१४) तर येशूले भने त्यो आज्ञापछाडि लुकेको सिद्धान्त प्रस्ट पार्दै भन्‍नुभयो: “जसले कोही स्त्रीलाई खराब इच्छाले हेर्दछ, त्यसले अघिबाटै त्यसको हृदयमा व्यभिचार गरिसकेको हुन्छ।” (मत्ती ५:२७, २८) प्रथम शताब्दीको मण्डलीका कसै-कसैको “आँखा व्यभिचारले भरिएका” थिए र तिनीहरूले “चञ्चल मन भएकाहरूलाई” फुस्लाउँथे भनी प्रेरित पत्रुसले बताए। (२ पत्रुस २:१४, NRV) तर परमेश्‍वर अनि येशू ख्रीष्टलाई प्रेम गर्नुका साथै उहाँहरूले भनेको मान्‍नुभयो र उहाँहरूसितको सम्बन्धलाई जोगाइराख्न कटिबद्ध हुनुभयो भने, तपाईं तिनीहरूजस्तो यौन अनैतिकताको फन्दामा पर्नुहुनेछैन।

यहोवाको आत्माले तपाईंलाई डोऱ्‍याओस्‌

९. परमेश्‍वरको कुनै जनले पाप गरिरह्‍यो भने तिनीबाट पवित्र आत्मा के हुन सक्छ?

परमेश्‍वरको पवित्र आत्माको लागि प्रार्थना गर्नुहोस्‌ र यसै आत्माको डोऱ्‍याइअनुसार चल्नुहोस्‌। (लूका ११:१३; गलाती ५:१९-२५) पाप गरिरहनुभयो भने, परमेश्‍वरले तपाईंबाट पवित्र आत्मा लैजानुहुनेछ। बेतशेबासित व्यभिचार गरेर पाप गरेपछि दाऊदले परमेश्‍वरलाई यसो भन्दै बिन्ती गरे: “मलाई तपाईंको सामनेबाट ननिकाल्नुहोस्‌। र मबाट तपाईंको पवित्र आत्मा नलैजानुहोस्‌।” (भजन ५१:११) अपश्‍चात्तापी भई पाप गरिरहेको कारण राजा शाऊलले परमेश्‍वरको आत्मा गुमाउनुपऱ्‍यो। होमबलि चढाएर अनि भेडा-बाख्रा, गाईगोरु तथा अमालेकीहरूका राजाहरूलाई नाश नगरेर शाऊलले पाप गरे। फलस्वरूप, यहोवाले शाऊलबाट पवित्र आत्मा लैजानुभयो! —१ शमूएल १३:१-१४; १५:१-३५; १६:१४-२३.

१०. पाप गर्ने विचारसमेत गर्नु हुँदैन, किन?

१० पाप गर्ने विचारसमेत नगर्नुहोस्‌। प्रेरित पावलले लेखे: “यदि सत्यताको ज्ञान पाएर पनि हामीले जानी-जानी पाप गऱ्‍यौं भने पापको निम्ति अब उसो अरू कुनै बलिदान रहँदैन।” (हिब्रू १०:२६-३१, NRV) तपाईंले जानीजानी पाप गर्नुभयो भने त्यो कत्ति दुःखलाग्दो कुरा हुनेछ!

अरूप्रतिको साँचो प्रेम देखाउनुहोस्‌

११, १२. परमेश्‍वरको जनलाई यौन दुराचारमा नफस्न प्रेम र आदरले कसरी मदत गर्नेछ?

११ आफ्नो छिमेकीलाई प्रेम गर्नुभयो भने, तपाईं यौन दुराचारमा फस्नुहुनेछैन। (मत्ती २२:३९) यस किसिमको प्रेमले तपाईंलाई आफ्नो हृदय सुरक्षित राख्न प्रेरित गर्नेछ। सुरक्षित राखिएको यस्तो हृदयले तपाईंलाई अरूको श्रीमान्‌ वा श्रीमतीको माया चोर्न लोभ्याउनेछैन। नत्र तपाईं व्यभिचारजस्तो पापमा फस्न सक्ने प्रबल सम्भावना हुन्छ। (हितोपदेश ४:२३; यर्मिया ४:१४; १७:९, १०) धर्मी अय्यूबको अनुकरण गर्ने प्रयास गर्नुहोस्‌, जसले आफ्नी श्रीमतीबाहेक अरू कुनै पनि स्त्रीतिर आँखा डुलाएनन्‌।—अय्यूब ३१:१.

१२ विवाहको पवित्रतालाई आदर गर्नुभयो भने, तपाईंबाट गम्भीर पाप हुनेछैन। आदरणीय विवाह र यौनसम्बन्ध सन्तान जन्माउने माध्यम होस्‌ भन्‍ने परमेश्‍वरको उद्देश्‍य थियो। (उत्पत्ति १:२६-२८) याद राख्नुहोस्‌, यौन अंगहरू पवित्र जीवनसित सम्बन्धित छन्‌। व्यभिचार गर्नेहरू चाहे अविवाहित होऊन्‌ वा विवाहित, उनीहरूले परमेश्‍वरको आज्ञा पालन गर्दैनन्‌, यौनसम्बन्धलाई तुच्छ ठान्छन्‌, विवाहको पवित्रतालाई आदर गर्दैनन्‌ र आफ्नै शरीरको विरुद्धमा पाप गर्छन्‌। (१ कोरिन्थी ६:१८) तर परमेश्‍वरको आज्ञा पालन गर्दै परमेश्‍वर अनि छिमेकीलाई प्रेम गरेको खण्डमा परमेश्‍वरको जन मसीही मण्डलीबाट बहिष्कार हुने हदसम्मको खराब आचरणमा फस्नेछैनन्‌।

१३. अनैतिक व्यक्‍तिले कसरी “अमूल्य कुरा” उडाउँछ?

१३ आफ्ना प्रियजनहरूलाई चोट पुऱ्‍याउन चाहँदैनौं भने, मनमा जाग्ने पापी विचारहरू बढ्‌न दिनु हुँदैन। हितोपदेश २९:३ भन्छ: “वेश्‍याको संगत गर्नेले . . . धन-सम्पत्ति [“अमूल्य कुरा,” NW] उडाउँछ।” कुनै श्रीमान्‌ले व्यभिचार गरेर पनि पश्‍चात्ताप गर्दैन भने, परमेश्‍वर अनि परिवारसितको तिनको सम्बन्ध बिग्रन्छ। यस्तो अवस्थामा श्रीमतीले आफ्नो श्रीमान्‌सित सम्बन्धविच्छेद गर्न सक्छिन्‌। (मत्ती १९:९) गल्ती गर्ने चाहे श्रीमान्‌ होस्‌ वा श्रीमती, विवाह टुक्रियो भने निर्दोष श्रीमान्‌ अथवा श्रीमती, छोराछोरी अनि अरूलाई साह्रै चोट पुग्छ। अनैतिकतामा फस्दा हुने भयावह नतिजा थाह पाएपछि यस्तो प्रलोभनमा पर्नदेखि जोगिन हामी होसियार हुनुपर्ने हो, होइन र?

१४. गल्ती गर्नेहरूको विषयमा हितोपदेश ६:३०-३५ बाट कस्तो पाठ सिक्न सक्छौं?

१४ व्यभिचारको दाग कुनै पनि कुराले मेट्‌न सक्दैन। यस यथार्थले व्यभिचारजस्तो घोर स्वार्थी काम नगर्न हामीलाई झकझकाउनुपर्ने हो। हितोपदेश ६:३०-३५ मा लेखिएअनुसार भोक मार्न चोर्ने चोरलाई मानिसहरूले सहानुभूति देखाउलान्‌ तर व्यभिचार गर्ने व्यक्‍तिको मनसाय ठीक नहुने भएकोले तिनलाई भने घृणा गरिन्छ। उसले “आफूमाथि बर्बादी ल्याउँछ।” अझ मोशालाई दिइएको व्यवस्थाअनुसार त यस्तो व्यक्‍तिलाई मारिन्थ्यो। (लेवी २०:१०) व्यभिचार गर्ने व्यक्‍तिले अरूलाई रुवाएर आफ्नो यौनतृष्णा तृप्त पार्छ र व्यभिचार गरेर पनि पश्‍चात्ताप नगर्नेहरू परमेश्‍वरको प्रेममा रहिरहन सक्दैनन्‌ र सफा मसीही मण्डलीबाट निकालिन्छन्‌।

अन्तस्करण सधैं सफा राख्नुहोस्‌

१५. “तातो फलामले डामेको जस्तो” अन्तस्करण कस्तो हुन्छ?

१५ हामी आफ्नो अन्तस्करणलाई पापले कठोर हुन दिंदैनौं किनकि हामी परमेश्‍वरको प्रेममा रहन चाहन्छौं। स्पष्टसँग भन्‍नुपर्दा, संसारको खस्कँदो नैतिक स्तरअनुसार हामी चल्नै हुँदैन र हाम्रो साथीसँगी कस्ता छन्‌, कस्तो पत्र-पत्रिका पढ्‌छौं र कस्तो मनोरञ्जनमा रमाउँछौं, त्यसमा पनि हामी होसियार हुनु जरुरी छ। पावलले चेतावनी दिंदै भनेका थिए: “पछि आउने समयमा बहकाउने आत्मा र भूतात्माहरूका सिद्धान्ततिर मन लाएर कोही कोही विश्‍वासबाट पतित हुनेछन्‌, झूटा बोल्ने मानिसहरूका कपटद्वारानै यो हुनेछ, जसको विवेक तातो फलामले डामेको जस्तो हुन्छ।” (१ तिमोथी ४:१, २) “तातो फलामले डामेको जस्तो” अन्तस्करण, आगोले पोलेपछि बोधो भएको छालाजस्तै हुन्छ। यस्तो अन्तस्करणले हामीलाई धर्मत्यागी बनाउने र विश्‍वासबाट पतित गराउने अवस्थाहरूदेखि सजग रहन मदत गर्दैन।

१६. अन्तस्करण सफा राख्नु किन महत्त्वपूर्ण छ?

१६ हामी आफ्नो विवेक अर्थात्‌ अन्तस्करण सफा राख्छौं कि राख्दैनौं, त्यसैमा हाम्रो उद्धार निर्भर छ। (१ पत्रुस ३:२१) येशूले बगाउनुभएको रगतमा विश्‍वास गरेको कारण हाम्रो अन्तस्करण मरेका कुराहरूबाट शुद्ध पारिएको छ। यसरी हामीले “जीवित परमेश्‍वरको सेवा” गर्न सकेका छौं। (हिब्रू ९:१३, १४) जानाजानी पाप गऱ्‍यौं भने, हाम्रो अन्तस्करण मैलो हुन्छ र हामी यहोवाको सेवा गर्न लायक सफा मानिसहरू हुन सक्दैनौं। (तीतस १:१५) तर यहोवाको मदतद्वारा हामी आफ्नो अन्तस्करण सफा राख्न सक्छौं।

नराम्रो आचरणमा फस्नदेखि जोगिने अरू तरिकाहरू

१७. यहोवालाई ‘पूर्णरूपले पछ्याउँदा’ के लाभ हुन्छ?

१७ प्राचीन समयका कालेबले जस्तै यहोवालाई ‘पूर्णरूपले पछ्याउनुहोस्‌।’ (व्यवस्था १:३४-३६) तपाईंबाट परमेश्‍वर जे चाहनुहुन्छ, त्यही गर्नुहोस्‌ र ‘भूत-प्रेतहरूको टेबलबाट’ खाने विचारसमेत नगर्नुहोस्‌। (१ कोरिन्थी १०:२१) धर्मत्यागीहरूदेखि टाढै रहनुहोस्‌। यहोवाको टेबलमा मात्र पाइने आध्यात्मिक खाना कृतज्ञ भई खानुहोस्‌। यसो गर्नुभयो भने, झूटा शिक्षकहरू अथवा दुष्ट्याइँका आत्मिक सेनाहरूको बहकाउमा पर्नुहुनेछैन। (एफिसी ६:१२; यहूदा ३, ४) बाइबल अध्ययन गर्ने, सभामा उपस्थित हुने र क्षेत्र सेवकाईमा जाने जस्ता आध्यात्मिक कुरामा ध्यान दिनुहोस्‌। यहोवालाई पूर्णरूपले पछ्याउनुभयो र उहाँको काममा प्रशस्त हुँदै जानुभयो भने, तपाईं अवश्‍य खुसी हुन सक्नुहुन्छ।—१ कोरिन्थी १५:५८.

१८. यहोवाको डरले तपाईंको आचरणमा कस्तो प्रभाव पार्नेछ?

१८ “भक्‍ति र डरले” “परमेश्‍वरलाई मनपर्ने सेवा . . . चढाउन” कटिबद्ध हुनुहोस्‌। (हिब्रू १२:२८) यहोवाप्रतिको श्रद्धेय भयले तपाईंलाई बरालिनदेखि जोगाउनेछ। पत्रुसले सँगी अभिषिक्‍त जनहरूलाई दिएको यो सल्लाह अनुरूप चल्न पनि यस्तो भय अर्थात्‌ डरले तपाईंलाई मदत गर्नेछ: “पनपक्षे नगरी मानिसको कामअनुसार इन्साफ गर्नेलाई पिता भनी पुकार गर्छौ भने, आफ्नो प्रवासीको समय डरसँग बिताओ।”—१ पत्रुस १:१७.

१९. परमेश्‍वरको वचनबाट सिकेको कुरा जीवनमा लागू गरिरहनु किन आवश्‍यक छ?

१९ परमेश्‍वरको वचनबाट सिकेको कुरा जीवनमा लागू गरिरहनुहोस्‌। यसो गर्नुभयो भने, “खराब र असल छुट्याउनालाई ज्ञानेन्द्रियको अभ्यास भएका” मानिस बन्‍नुहुनेछ र गम्भीर पापमा फस्नुहुनेछैन। (हिब्रू ५:१४) अर्को कुरा, जे पायो त्यै नबोल्नुहोस्‌। अनि आफ्नो आचरण ठीक राख्नुहोस्‌। यस आखिरी दिनमा “समयको पूरा सदुपयोग” गर्दै बुद्धिमान्‌ मानिसले जस्तो व्यवहार गर्न सजग रहनुहोस्‌। यहोवाको “इच्छा के छ, सो” बुझ्नुहोस्‌ र उहाँको इच्छाअनुसार गरिरहनुहोस्‌।—एफिसी ५:१५-१७, NRV; २ पत्रुस ३:१७.

२०. किन लोभ-लालच गर्नु हुँदैन?

२० लालच गर्दै नगर्नुहोस्‌। दस आज्ञामा पर्ने एउटा आज्ञा यसो भन्छ: “तैंले आफ्नो छिमेकीको घरको लालच नगर्नू। तैंले आफ्नो छिमेकीकी स्वास्नीका लालच नगर्नू, तेरो छिमेकीको कमारा-कमारी, गोरु, गधा वा त्यसको कुनै पनि थोकको लालच नगर्नू।” (प्रस्थान २०:१७) त्यस व्यवस्थाले कुनै पनि व्यक्‍तिको घर, स्वास्नी, कमारा-कमारी तथा पशुप्राणी इत्यादिको रक्षा गऱ्‍यो। तर लालच नगर्नु एकदमै महत्त्वपूर्ण हुनुको कारण त, लोभ-लालचले मानिसलाई अशुद्ध पार्ने भएकोले हो।—मर्कूस ७:२०-२३.

२१, २२. पाप नगर्न मसीहीहरूले कस्ता सावधानीहरू अपनाउन सक्छन्‌?

२१ मनमा उब्जिने इच्छाले पाप गर्न नलगाओस्‌ भन्‍ने चाहनुहुन्छ भने, सावधानी अपनाउनुहोस्‌। चेला याकूबले लेखे: “हरेक मानिस आफ्नै तृष्णाबाट खिंचिई लोभिएर परीक्षामा पर्दछ। तब तृष्णा गर्भवती भएर पापलाई जन्माउँछ, र पाप पूरा बढेपछि मृत्यु उत्पन्‍न गराउँछ।” (याकूब १:१४, १५) उदाहरणको लागि, कुनै व्यक्‍तिलाई पहिला-पहिला रक्सी पिउने समस्या थियो भने, तिनले घरमा रक्सीजन्य पदार्थहरू राख्दै नराख्ने निर्णय गर्न सक्छन्‌। यौन अनैतिकताको प्रलोभनबाट जोगिन एक जना मसीहीले काम गर्ने ठाउँ परिवर्तन गर्नुपर्ला अथवा जागिर नै छोड्‌नुपर्ने पनि हुन सक्छ।—हितोपदेश ६:२३-२८.

२२ ‘नजाने गाउँको बाटै नसोध्नू’ भनेझैं पाप गर्ने हदसम्म पुऱ्‍याउने व्यवहार गर्दै नगर्नुहोस्‌! जस्तो: विपरीत लिङ्‌गका व्यक्‍तिसित मन पराएजस्तो गरी नजिस्किनुहोस्‌ र मनमा अनैतिक इच्छा नखेलाउनुहोस्‌। नत्र, व्यभिचारमा फस्नुहोला अथवा आफ्नो श्रीमान्‌ वा श्रीमतीबाहेक अरूसित यौनसम्बन्ध राख्न पुग्नुहोला। सानो कुरामा झूट बोल्ने व्यक्‍तिलाई हुँदा-हुँदा ठूलठूलो कुरामा झूट बोल्न पनि क्यै होइनजस्तो लाग्न थाल्छ र पछि त झूट बोल्ने पापी बानी नै बस्छ। सानो-तिनो चोरी गर्ने व्यक्‍तिको अन्तस्करण यत्ति बोधो हुन सक्छ कि उसले एक दिन ठूलठूलो चोरी गर्न थाल्छ। आफ्नो धर्म त्याग्ने विचार मात्र गर्ने व्यक्‍ति कुनै दिन साँच्चै धर्मत्यागी बन्‍न सक्छ।—हितोपदेश ११:९; प्रकाश २१:८.

तपाईंले पाप गर्नुभएको छ भने नि?

२३, २४. दोस्रो इतिहास ६:२९, ३० र हितोपदेश २८:१३ बाट कस्तो सान्त्वना पाउन सक्छौं?

२३ सबै मानिस असिद्ध छन्‌। (उपदेशक ७:२०) तर तपाईंले गम्भीर पाप गर्नुभएको छ भने, यहोवाको मन्दिर उद्‌घाटन गर्दा राजा सुलेमानले चढाएको प्रार्थनाबाट सान्त्वना पाउन सक्नुहुन्छ। सुलेमानले परमेश्‍वरलाई यसो भनेर प्रार्थना गरेका थिए: “जब आफ्नै दुःख वा कष्ट सम्झेर यस मन्दिरतिर आफ्ना हात उचालेर तपाईंका प्रजा इस्राएलले प्रार्थना वा नम्र-निवेदन चढाउँछन्‌, तब तपाईंको वासस्थान स्वर्गबाट सुन्‍नुहोस्‌ र क्षमा गर्नुहोस्‌। तपाईंले हरेक मानिसको हृदयलाई जान्‍नुहुन्छ। यसकारण तपाईंले त्यसलाई त्यसका सबै कामअनुसारको प्रतिफल दिनुहोस्‌। (किनभने तपाईंले मात्र मानिसहरूको हृदयलाई जान्‍नुहुन्छ)।”—२ इतिहास ६:२९, ३०, NRV.

२४ हो, मानिसको हृदयको कुरा परमेश्‍वरलाई थाह हुन्छ र पश्‍चात्ताप गर्ने व्यक्‍तिलाई उहाँ क्षमा दिनुहुन्छ। हितोपदेश २८:१३ भन्छ: “तिम्रा दोषहरू लुकायौ भने तिम्रो उन्‍नति हुँदैन, तर स्वीकार गरेर ती छोड्यौ भने तिमीले कृपादृष्टि पाउनेछौ।” पश्‍चात्ताप गर्दै आफूले गरेको पाप स्वीकारेर ती छोड्यौं भने, परमेश्‍वरको कृपा पाउन सक्छौं। तर आध्यात्मिक रूपमा तपाईं धेरै नै कमजोर हुनुभएको छ भने, परमेश्‍वरको प्रेममा रहन तपाईंलाई अरू कुन-कुन कुराले मदत गर्न सक्छ? (w 06 11/15)

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• हामी कसरी आफूलाई परमेश्‍वरको प्रेममा राख्न सक्छौं?

• परमेश्‍वर अनि ख्रीष्टलाई प्रेम गर्दा पाप गर्नबाट हामी कसरी जोगिन सक्छौं?

• अरूलाई साँचो प्रेम गर्दा हामी यौन दुराचारमा फस्नेछैनौं, किन?

• खराब आचरणमा नफस्ने केही तरिका के-के हुन्‌?

[प्रश्‍नहरू]

[पृष्ठ ७-मा भएको चित्र]

आफूलाई परमेश्‍वरको प्रेममा राख्न सकिने तरिका यहूदा बताउँछन्‌

[पृष्ठ ९-मा भएको चित्र]

वैवाहिक बन्धन टुक्रियो भने, निर्दोष श्रीमान्‌ वा श्रीमती तथा छोराछोरीलाई साह्रै चोट पुग्छ

[पृष्ठ १०-मा भएको चित्र]

कालेबजस्तै के तपाईं पनि ‘पूर्णरूपले यहोवालाई पछ्याउन’ कटिबद्ध हुनुहुन्छ?

[पृष्ठ ११-मा भएको चित्र]

प्रलोभनमा नपर्न मदतको लागि अटुटसँग प्रार्थना गर्नुहोस्‌