सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आफ्नो छिमेकीलाई माया गर्नुको अर्थ के हो?

आफ्नो छिमेकीलाई माया गर्नुको अर्थ के हो?

आफ्नो छिमेकीलाई माया गर्नुको अर्थ के हो?

“तैंले आफ्ना छिमेकीलाई आफैलाई जस्तै प्रेम गर्नू।”—मत्ती २२:३९.

१. परमेश्‍वरलाई माया गर्छौं भनेर हामी कसरी देखाउन सक्छौं?

 यहोवा परमेश्‍वर आफ्ना उपासकहरूबाट के माग गर्नुहुन्छ? थोरै तर अर्थपूर्ण शब्दहरूमा येशूले त्यस प्रश्‍नको छोटो जवाफ दिनुभयो। उहाँले भन्‍नुभएअनुसार यहोवालाई आफ्नो सारा मन, प्राण, समझ वा बुद्धि र शक्‍तिले प्रेम गर्नु नै प्रमुख आज्ञा हो। (मत्ती २२:३७; मर्कूस १२:३०) परमेश्‍वरलाई माया गर्नुको अर्थ उहाँको आज्ञा मान्‍नु र उहाँले हामीलाई देखाउनुभएको मायाको बदलामा हामीले पनि उहाँको आज्ञा पालन गर्नु हो भनेर अघिल्लो लेखबाट थाह पाइसक्यौं। परमेश्‍वरलाई माया गर्नेहरूलाई उहाँको इच्छाबमोजिम गर्नु गाह्रो लाग्दैन बरु ती आज्ञा पालन गर्दा तिनीहरू प्रसन्‍न हुन्छन्‌।—भजन ४०:८; १ यूहन्‍ना ५:२, ३.

२, ३. आफ्नो छिमेकीलाई माया गर्नुपर्ने आज्ञा हामीले किन पालन गर्नुपर्छ र हामीलाई कस्ता प्रश्‍नहरूको जवाफ चाहिन्छ?

येशूले भन्‍नुभएको दोस्रो प्रमुख आज्ञा पहिलो आज्ञासितै सम्बन्धित छ: “तैंले आफ्ना छिमेकीलाई आफैलाई जस्तै प्रेम गर्नू।” (मत्ती २२:३९) अब हामी यही आज्ञाबारे छलफल गर्नेछौं किनकि यो आज्ञा पालन गर्नु जायज छ। अहिले हामी बाँचिरहेको समयका मानिसहरू स्वार्थी अनि खोटो प्रेम देखाउँछन्‌। ‘आखिरी दिनबारे’ व्याख्या गर्दा मानिसहरू अरूलाई होइन तर आफैलाई र रूपैयाँ-पैसालाई प्रेम गर्ने अनि सुख-विलास मन पराउनेहरू हुनेछन्‌ भनी प्रेरित पावलले लेखे। धेरै जना “स्वाभाविक प्रेम रहितका” हुनेछन्‌ अथवा बाइबलको अर्को अनुवादअनुसार तिनीहरूमा “परिवारका सदस्यहरूबीच हुनुपर्ने सामान्य स्नेहको समेत कमी” हुनेछ। (२ तिमोथी ३:१-४) येशूले यस्तो अगमवाणी गर्नुभयो: “धेरै जनाले . . . एउटाले अर्कोलाई विश्‍वासघात गर्नेछ, र घृणा गर्नेछ। . . . धेरैको प्रेम सेलाएर जानेछ।”—मत्ती २४:१०, १२.

नबिर्सनुहोस्‌, येशूले सबैको प्रेम सेलाएर जानेछ त भन्‍नुभएन। यहोवाले माग गर्नुभएको र उहाँलाई दिन योग्यको प्रेम प्रकट गर्नेहरू पहिले पनि थिए र पछिसम्म पनि हुनेछन्‌। यहोवालाई साँच्चै माया गर्नेहरूले अरूलाई यहोवाले जस्तै हेर्ने प्रयास गर्नेछन्‌। त्यसोभए, हामीले माया गर्नै पर्ने हाम्रो छिमेकी को हो? आफ्नो छिमेकीलाई हामीले कसरी माया देखाउनुपर्छ? यी महत्त्वपूर्ण प्रश्‍नहरूको जवाफ पाउन बाइबलले हामीलाई मदत गर्छ।

मेरो छिमेकी को हो?

४. लेवी अध्याय १९ अनुसार यहूदीहरूले कसलाई माया गर्नुपर्थ्यो?

दोस्रो प्रमुख आज्ञा भनेको आफ्नो छिमेकीलाई आफैलाई जस्तै माया गर्नू हो भनेर फरिसीलाई बताउँदा येशूले इस्राएलीहरूलाई दिइएको एउटा खास नियमलाई संकेत गरिरहनुभएको थियो। त्यो नियम लेवी १९:१८ मा लेखिएको छ। त्यही अध्यायमा सँगी इस्राएलीहरूबाहेक अरूलाई पनि आफ्नो छिमेकी मान्‍नू भनेर यहूदीहरूलाई भनिएको थियो। पद ३३ र ३४ मा यस्तो लेखिएको छ: “तिमीहरूसित बास गर्ने परदेशी . . . तिमीहरूको लागि . . . स्वदेशीजस्तै होस्‌, र तिमीहरूले त्यसलाई आफूलाई झैं प्रेम गर्नू, किनभने तिमीहरू पनि मिश्रमा परदेशी थियौ।” त्यसकारण, गैर-यहूदीहरू, विशेष गरी धर्म परिवर्तन गरेर यहूदी धर्म मान्‍न थालेकाहरूलाई समेत माया गर्नुपर्थ्यो।

५. छिमेकीलाई माया गर्नुको अर्थ यहूदीहरूले कसरी बुझेका थिए?

तर येशूको समयका यहूदी नेताहरूको धारणा बेग्लै थियो। केही यहूदी नेताले सिकाएअनुसार यहूदीहरू मात्र “साथी” र “छिमेकी” हुन सक्थे। यहूदीहरूबाहेक अरूलाई घृणा गर्नुपर्थ्यो। परमेश्‍वरका भक्‍तहरूले अभक्‍तहरूलाई तुच्छ ठान्‍नुपर्छ भन्‍ने तर्क यस्ता गुरूहरूको थियो। एउटा पुस्तक बताउँछ, “यस्तो अवस्थामा घृणा सेलाउला भन्‍नु त असम्भव नै थियो। बरु घृणा झन्‌-झन्‌ बढ्‌ने थियो।”

६. छिमेकीलाई माया गर्ने सम्बन्धमा येशूले कुन दुइटा कुरा स्पष्ट पार्नुभयो?

डाँडाको उपदेशमा येशूले यस विषयलाई सम्बोधन गर्दै कसलाई माया गर्नुपर्छ भनेर प्रस्ट पार्नुभयो। उहाँले भन्‍नुभयो: “तिमीहरूले सुनेका छौ, यसो भनिएको थियो, ‘तिम्रो छिमेकीलाई प्रेम गर, र तिम्रो शत्रुलाई घृणा गर।’ तर म तिमीहरूलाई भन्दछु, ‘आफ्ना शत्रुहरूलाई प्रेम गर, औ तिमीहरूलाई खेदो गर्नेहरूका निम्ति प्रार्थना गर। र तिमीहरू तिमीहरूका स्वर्गका पिताका सन्तान हुनसक्नेछौ। किनभने उहाँले दुष्ट र सज्जन दुवैका निम्ति घाम लगाइदिनुहुन्छ, र धर्मी र पापी दुवैमाथि वृष्टि दिनुहुन्छ।’ ” (मत्ती ५:४३-४५) येशूले दुइटा कुरा स्पष्ट पार्नुभयो। पहिलो, दुष्ट र सज्जन दुवै खालका मानिसहरूप्रति यहोवा उदार हुनुहुन्छ र तिनीहरूसित दयालु व्यवहार गर्नुहुन्छ। दोस्रो, हामीले उहाँको अनुकरण गर्नुपर्छ।

७. छिमेकी सामरीको दृष्टान्तबाट हामी कस्तो पाठ सिक्न सक्छौं?

अर्को पटक भने व्यवस्थामा पोख्त शास्त्रीले येशूलाई सोध्यो: “मेरो छिमेकीचाहिं को हो त?” जवाफमा, लुटेराहरूले लुटपिट गरी घाइते बनाएर छोडेको यहूदीलाई भेट्टाउने सामरीबारे एउटा दृष्टान्त येशूले बताउनुभयो। सामान्यतया यहूदीहरूले सामरीहरूलाई तुच्छ ठान्थे। तर त्यस सामरीले भने यहूदीको घाउमा मलहम-पट्टी लगाइदिन्छ र निको नहोऊन्जेल सुरक्षित होस्‌ भनेर एउटा पौवासम्म पुऱ्‍याइदिन्छ। यसबाट के पाठ सिक्न सकिन्छ? छिमेकीप्रतिको प्रेम आफ्नै जात, राष्ट्र वा धर्मका मानिसहरूमा मात्र सीमित हुनु हुँदैन।—लूका १०:२५, २९, ३०, ३३-३७.

आफ्नो छिमेकीलाई माया गर्नुको अर्थ के हो?

८. प्रेम देखाउने विषयमा लेवी अध्याय १९ मा के बताइएको छ?

परमेश्‍वरप्रतिको प्रेमलाई भावनामा मात्र होइन, कामबाट पनि व्यक्‍त गरेझैं छिमेकीप्रतिको प्रेम पनि कामबाटै देखिनुपर्छ। लेवी अध्याय १९ मा छिमेकीलाई आफूलाई जस्तै माया गर्नू भनेर परमेश्‍वरका जनहरूलाई दिइएको सल्लाह अझै विचार गर्नु मदतकारी हुनेछ। बाली कटनी गर्दा गरिब र परदेशीहरूको लागि पनि केही छोडिदिनू भनेर इस्राएलीहरूलाई आदेश दिइएको कुरा हामी यस अध्यायबाट थाह पाउँछौं। चोर्न, छल्न वा झूटो बोल्न मनाही गरिएको थियो। न्यायिक मामिलामा इस्राएलीहरूले पक्षपात गर्नु हुँदैन थियो। आवश्‍यक परेको बेला छिमेकीलाई हप्काउन पाउने भए तापनि तिनीहरूलाई “आफ्नो भाइबन्धुसित दुश्‍मनी नराख” भनेर तोकेरै भनिएको थियो। यीलगायत अरू थुप्रै नियमबारे सारांशमा यसो भनिएको थियो: “आफ्नो छिमेकीलाई आफैलाई झैं प्रेम गर।”—लेवी १९:९-११, १५, १७, १८, NRV.

९. यहोवाले इस्राएलीहरूलाई अरू राष्ट्रका मानिसहरूबाट अलग बस्नू भन्‍ने आदेश किन दिनुभयो?

हो, इस्राएलीहरूले अरूलाई माया गरेका छन्‌ भनेर देखाउनुपर्थ्यो। तर उनीहरू झूटा देवी-देवता मान्‍नेहरूबाट भने अलग बस्नुपर्थ्यो। खराब संगतले गर्दा हुने खतरा र भोग्नुपर्ने परिणामबारे यहोवाले उनीहरूलाई सतर्क गराउनुभएको थियो। उदाहरणको लागि, अधिकार गर्न लागेको देशका जातिहरूबारे यहोवाले यस्तो आज्ञा दिनुभयो: “तिनीहरूसँग बिहेबारी नगर्नू। तिमीहरूका छोरा-छोरीहरूले तिनीहरूका छोराछोरीहरूका बीच बिहेबारीको सम्बन्धै नराखून्‌। किनकि तिनीहरूले तिमीहरूका छोराहरूलाई परमप्रभुबाट बहकाएर अन्य देवताका पूजा गर्न लाउनेछन्‌। यसो गर्नाले परमप्रभुको क्रोध तिमीहरूमाथि दन्कनेछ।”—व्यवस्था ७:३, ४.

१०. हामी के गर्नदेखि होसियार हुनुपर्छ?

१० आफ्नो विश्‍वासलाई कमजोर पार्न सक्नेहरूसित सम्बन्ध गाँस्नदेखि आज पनि मसीहीहरू होसियार हुन्छन्‌। (१ कोरिन्थी १५:३३) “विश्‍वास नगर्नेहरूसँग,” अर्थात्‌ मसीही मण्डली बाहिरका मानिसहरूसित “समान भएर एउटै हलोमा नजोतियौ” भन्‍ने सुझाव हामीलाई दिइएको छ। (२ कोरिन्थी ६:१४) यसबाहेक, मसीहीहरूलाई “प्रभुमा मात्र” विवाह गर्ने सल्लाह दिइएको छ। (१ कोरिन्थी ७:३९) तथापि, यहोवामाथि विश्‍वास नगर्नेहरूलाई हामीले कहिल्यै तुच्छ ठान्‍नु हुँदैन। पापीहरू र कुनै समय गलत काममा लागेका तर अहिले भने जीवन परिवर्तन गरेर परमेश्‍वरसित मिलाप गरेकाहरूको लागि नै ख्रीष्ट मर्नुभएको थियो।—रोमी ५:८; १ कोरिन्थी ६:९-११.

११. यहोवाको सेवा नगर्नेहरूलाई माया देखाउने उत्तम तरिका के हो र किन?

११ परमेश्‍वरको सेवा नगर्नेहरूलाई माया देखाउने सम्बन्धमा यहोवा परमेश्‍वरको अनुकरण गर्नुजस्तो उत्तम तरिका अर्को छैन। यहोवा दुष्टतालाई घृणा गर्नुहुन्छ। तैपनि सबै मानिसलाई खराब मार्ग त्यागेर अनन्त जीवनको मार्गमा हिंड्‌ने मौका दिनुभएर उहाँले दया देखाउनुभएको छ। (इजकिएल १८:२३) यहोवा “सबै जनाले पश्‍चाताप गरून्‌ भन्‍ने इच्छा” गर्नुहुन्छ। (२ पत्रुस ३:९) “सबै मानिसहरूले उद्धार पाऊन्‌ र तिनीहरू सत्यको ज्ञानमा आऊन्‌ भन्‍ने” चाहना उहाँको छ। (१ तिमोथी २:४) त्यसैकारण, येशूले आफ्ना चेलाहरूलाई “सबै देशका जातिहरूलाई” प्रचार गर, सिकाओ र “चेला बनाओ” भन्‍ने आदेश दिनुभयो। (मत्ती २८:१९, २०) यस काममा सहभागी भएर परमेश्‍वर र छिमेकीलगायत आफ्ना शत्रुहरूलाई समेत माया गर्छौं भनी देखाउँछौं।

हाम्रा मसीही भाइबहिनीहरूलाई देखाउने माया

१२. हाम्रा मसीही भाइबहिनीलाई माया गर्ने सम्बन्धमा प्रेरित यूहन्‍नाले के लेखे?

१२ प्रेरित पावलले यसरी लेखे: “अब मौका हुँदानै सबै मानिसतर्फ, खास गरेर विश्‍वासका घरानातर्फ, भलाइको काम गरौं।” (गलाती ६:१०) हामी मसीहीहरू हौं, त्यसकारण विश्‍वासका घराना अर्थात्‌ हाम्रा आध्यात्मिक भाइबहिनीलाई माया देखाउनु हाम्रो कर्तव्य हो। यस्तो माया देखाउनु कत्तिको जरुरी छ? यसको महत्त्वलाई प्रस्ट्याउँदै प्रेरित यूहन्‍नाले यसरी लेखे: “आफ्नो भाइसँग दुश्‍मनी गर्ने हरेक हत्यारा हो . . . यदि कसैले ‘म परमेश्‍वरलाई प्रेम गर्छु,’ भन्छ र आफ्नो भाइलाई घृणा गर्छ भने, त्यो झूटा हो, किनकि आफूले देखेको आफ्नो भाइलाई प्रेम नगर्नेले नदेखेको परमेश्‍वरलाई प्रेम गर्नसक्‍तैन।” (१ यूहन्‍ना ३:१५; ४:२०) यी शब्दहरू कडा छन्‌। येशूले “हत्यारा” र “झूट” भन्‍ने शब्दहरू त शैतानलाई सम्बोधन गर्न चलाउनुभएको थियो। (यूहन्‍ना ८:४४) हामीलाई पनि यसरी नै सम्बोधन गरिएको पटक्कै चाहँदैनौं!

१३. हामी सँगी मसीहीहरूलाई कुन-कुन तरिकामा माया देखाउन सक्छौं?

१३ साँचो मसीहीहरूले “आपसमा प्रेम गर्नू” भनेर “परमेश्‍वरबाट शिक्षा पाएका” छन्‌। (१ थिस्सलोनिकी ४:९) हामीले “वचन र मुखले मात्र” होइन “तर कामले साँचो प्रेम” गर्नुपर्छ। (१ यूहन्‍ना ३:१८) हाम्रो प्रेम “निष्कपट” हुनुपर्छ। (रोमी १२:९) प्रेमले हामीलाई दयालु, कृपालु, क्षमाशील र धीरजी बनाउँछ; डाही, घमन्डी, अहंकारी वा स्वार्थी होइन। (१ कोरिन्थी १३:४, ५; एफिसी ४:३२) प्रेमले हामीलाई “एकअर्कोको दास” बन्‍न उत्प्रेरित गर्छ। (गलाती ५:१३) जसरी येशूले चेलाहरूलाई माया गर्नुभयो, त्यसरी नै आपसमा माया गर्न उहाँले चेलाहरूलाई अह्राउनुभयो। (यूहन्‍ना १३:३४) त्यसकारण, आवश्‍यक परेमा सँगी मसीहीहरूको लागि आफ्नो ज्यान दिन पनि हामी राजी हुनुपर्छ।

१४. हामी आफ्नो परिवारभित्र कसरी माया व्यक्‍त गर्न सक्छौं?

१४ विशेष गरी मसीही परिवारमा र त्यसमा पनि श्रीमान्‌/श्रीमतीले आपसमा माया व्यक्‍त गर्नुपर्छ। वैवाहिक सम्बन्ध यत्ति आत्मीय हुन्छ कि पावलले यसो भने: “पतिहरूले पनि आफ्ना आफ्ना पत्नीलाई आफ्नै शरीरलाई झैं प्रेम गर्नुपर्छ।” तिनले अझै यसो पनि भने: “आफ्नी पत्नीलाई प्रेम गर्नेले आफैलाई प्रेम गर्छ।” (एफिसी ५:२८) पाँचवटा पदपछि पावलले यही सल्लाह फेरि दोहऱ्‍याए। आफ्नी श्रीमतीलाई माया गर्ने श्रीमान्‌, मलाकीको समयका इस्राएलीहरूजस्ता हुँदैनन्‌, जसले आफ्नी श्रीमतीलाई धोका दिए। (मलाकी २:१४) बरु, तिनी आफ्नी श्रीमतीको ख्याल राख्नेछन्‌, उनलाई कदर गर्नेछन्‌। ख्रीष्टले मण्डलीलाई माया गर्नुभएझैं तिनले आफ्नी श्रीमतीलाई माया गर्नेछन्‌। त्यसै गरी प्रेमले नै श्रीमतीलाई पनि आफ्नो श्रीमान्‌को आदर गर्न उत्प्रेरित गर्नेछ।—एफिसी ५:२५, २९-३३.

१५. मसीहीहरूबीचको प्रेम कामबाट पनि व्यक्‍त भएको देखेर कोही-कोही के भन्‍न र के गर्न उत्प्रेरित भए?

१५ कुरा स्पष्ट छ, यस्तो प्रेम साँचो मसीहीहरूको चिनारी हो। येशूले भन्‍नुभयो: “तिमीहरूले आपसमा प्रेम गऱ्‍यौ भने, तिमीहरू मेरा चेलाहरू हौ भनी यसैबाट सबैले जान्‍नेछन्‌।” (यूहन्‍ना १३:३५) हामीबीच भएको प्रेम देखेर हामीले प्रेम अनि सम्मान गर्ने परमेश्‍वरको सेवा गर्न अरू मानिस पनि आकर्षित हुन्छन्‌। जस्तै: यहोवाका साक्षीको परिवारबारे मोजाम्बिकबाट यस्तो रिपोर्ट प्राप्त भएको छ: “हामीले अहिलेसम्म यस्तो त देखेकै थिएनौं। एकदिन दिउँसोतिर डरलाग्दो हुरी चल्न थाल्यो। त्यसपछि घनघोर पानी पऱ्‍यो र असिना बर्सियो। निगालोले बनाएको हाम्रो घर हुरीले भत्कायो। टिनको छाना पनि उडाएर कता लग्यो कता! नजिकैको मण्डलीका हाम्रा भाइहरू आएर हामीलाई फेरि घर बनाउन मदत गर्दा छक्क परेका हाम्रा छिमेकीहरूले यसो भने: ‘तपाईंहरूको धर्म राम्रो रहेछ। हाम्रो चर्चले त हामीलाई कहिल्यै यसरी मदत गर्दैन।’ त्यसपछि हामीले बाइबल खोलेर उनीहरूलाई यूहन्‍ना १३:३४, ३५ देखायौं। अहिले हाम्रा छिमेकीहरूमध्ये धेरैले बाइबल अध्ययन गरिरहेका छन्‌।”

हरेक व्यक्‍तिलाई देखाउनुपर्ने माया

१६. छिमेकीलाई सामूहिक रूपमा र व्यक्‍तिगत रूपमा माया गर्नुबीच के फरक छ?

१६ छिमेकीलाई सामूहिक रूपमा माया गर्नु गाह्रो छैन तर व्यक्‍तिगत रूपमा माया गर्नुचाहिं पक्कै गाह्रो छ। जस्तै: कसै-कसैको विचारमा छिमेकीलाई माया गर्न कुनै परोपकारी संस्थालाई चन्दा दिए पुग्छ! हो, छिमेकीलाई माया गर्छु भन्‍नु सजिलो छ तर वास्तवमा हामीलाई बेवास्ता गर्ने सहकर्मी, आफ्नो घर नजिकैको रिसउठ्‌दो मान्छे अथवा हामीलाई निराश पार्ने साथीलाई साँच्चै माया गर्नु गाह्रो हुन्छ!

१७, १८. येशूले कसरी हरेक व्यक्‍तिलाई माया देखाउनुभयो र के कारण त्यसो गर्न उहाँ अघि सर्नुभयो?

१७ हरेक व्यक्‍तिलाई माया गर्ने सम्बन्धमा परमेश्‍वरका गुणहरू दुरुस्त अनुकरण गर्ने येशूबाट हामी पाठ सिक्न सक्छौं। उहाँ यस पृथ्वीमा संसारको पाप उठाइलैजान आउनुभए तापनि उहाँले हरेक व्यक्‍तिलाई अर्थात्‌ बिरामी आइमाई, कोरी, बालबालिका सबैलाई माया देखाउनुभयो। (मत्ती ९:२०-२२; मर्कूस १:४०-४२; ७:२६, २९, ३०; यूहन्‍ना १:२९) त्यसै गरी, दिनदिनै भेटिने सबैसित हामीले गर्ने व्यवहारबाट हामी छिमेकीलाई प्रेम गर्छौं भनेर देखाउँछौं।

१८ तर छिमेकीलाई माया गर्नु र परमेश्‍वरलाई माया गर्नुबीच सम्बन्ध छ भनेर हामीले कहिल्यै बिर्सनु हुँदैन। येशूले गरिबलाई मदत गर्नुभयो, बिरामीलाई निको पार्नुभयो अनि भोकालाई खुवाउनुभयो तर उहाँले यी सब गर्नु र भीडलाई सिकाउनुको मुख्य कारण तिनीहरूलाई परमेश्‍वरसित मिलापमा ल्याउनु थियो। (२ कोरिन्थी ५:१९) आफूले माया गरेको परमेश्‍वरको प्रतिनिधि अनि प्रतिबिम्ब हुँ भन्‍ने कुरा कहिल्यै नबिर्सेर येशूले सब थोक परमेश्‍वरकै महिमाको निम्ति गर्नुभयो। (१ कोरिन्थी १०:३१) येशूको अनुकरण गर्दै हामी पनि आफ्नो छिमेकीलाई साँचो माया गर्छौं र यस दुष्ट संसारको भाग होइनौं भनेर देखाउन सक्छौं।

हामी कसरी आफ्नो छिमेकीलाई आफूलाई जस्तै माया गर्न सक्छौं?

१९, २०. छिमेकीलाई आफूलाई जस्तै माया गर्नुको अर्थ के हो?

१९ येशूले भन्‍नुभयो: “तैंले आफ्ना छिमेकीलाई आफैलाई जस्तै प्रेम गर्नू।” आफ्नो ख्याल गर्नु र सन्तुलित आत्म-सम्मान हुनु स्वाभाविक हो। हामी आफ्नो ख्याल गर्दैनौं र आफूलाई सम्मान पनि गर्दैनौं भने त येशूले दिनुभएको उक्‍त आज्ञा बेकार हुने थियो। तर आफूलाई माया गर्नु भनेको प्रेरित पावलले २ तिमोथी ३:२ मा भनेझैं आफ्नै मात्र विचार गरेर स्वार्थी हुनु होइन। बरु यसको अर्थ व्यावहारिक भई आफ्नो सम्मान गर्नु हो। एक जना बाइबलविद्‌ले व्याख्या गरेअनुसार सन्तुलित भएर आफूलाई माया गर्नु भनेको ‘म महान्‌ छु’ अथवा ‘म त कठैबरा हुँ’ भन्‍ने भावना दुवै होइन।

२० अरूलाई आफूलाई जस्तै माया गर्नुको अर्थ अरूले हाम्रीप्रति जस्तो दृष्टिकोण राखोस्‌ भन्‍न चाहन्छौं, अरूप्रति पनि त्यस्तै दृष्टिकोण राख्नु र हामीलाई जस्तो व्यवहार गरोस्‌ भन्‍ने चाहन्छौं, अरूलाई पनि त्यस्तै व्यवहार गर्नु हो। येशूले भन्‍नुभयो: “मनिसहरूले तिमीहरूलाई जे जसो गरून्‌ भन्‍ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिनीहरूलाई त्यसै गर।” (मत्ती ७:१२) याद गर्नुहोस्‌, बितेको समयमा अरूले हामीसित कस्तो व्यवहार गऱ्‍यो त्यो मनमा गुनेर बस्नू अनि बदला लिनू भनेर त येशूले भन्‍नुभएन। बरु, हामीलाई अरूले कस्तो व्यवहार गरेको मनपर्छ, त्यो विचार गरेर अरूलाई पनि त्यस्तै व्यवहार गर्नुपर्छ। फेरि पनि याद गर्नुहोस्‌, येशूले उक्‍त आदेश दिनुहुँदा हामीलाई मनपर्ने व्यक्‍तिहरू अर्थात्‌ साथीहरू र भाइबहिनीहरू भन्‍ने शब्द त प्रयोग गर्नु भएन। बरु हामीले भेट्‌ने सबै मानिससित त्यस्तो व्यवहार गर्नुपर्छ भन्‍ने संकेत गर्न खोज्दै उहाँले “मानिसहरू” भन्‍ने शब्द प्रयोग गर्नुभएको हुन सक्छ।

२१. अरूलाई माया गरेर हामी के देखाइरहेका हुन्छौं?

२१ छिमेकीलाई माया गर्दा हामी खराब काम गर्नदेखि जोगिन्छौं। प्रेरित पावलले लेखे: “ ‘तैले व्यभिचार नगर्‌, तैंले हत्या नगर्‌, तैंले नचोर्‌, तैंले लोभ नगर्‌,’ औ अर्को केही आज्ञा छ भने, ती सबैको सारांश यसै कुरामा पाइन्छ, अर्थात्‌ ‘तैंले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्‌।’ प्रेमले छिमकीको खराबी हुने काम गर्दैन।” (रोमी १३:९, १०) प्रेमले हामीलाई अरूको भलो हुने तरिकामा काम गर्न उत्प्रेरित गर्नेछ। सबै मानिसलाई माया गरेर हामी मानिसलाई आफ्नो स्वरूपमा बनाउनुहुने यहोवा परमेश्‍वरलाई पनि माया गर्छौं भनेर देखाइरहेका हुन्छौं। —उत्पत्ति १:२६. (w 06 12/01)

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• हामीले कसलाई माया गर्नुपर्छ र किन?

• यहोवाको सेवा नगर्नेहरूलाई पनि माया गर्छौं भनेर हामी कसरी देखाउन सक्छौं?

• हाम्रा भाइहरूलाई देखाउनुपर्ने प्रेमबारे बाइबलमा के भनिएको छ?

• छिमेकीलाई आफूलाई जस्तै माया गर्नुको अर्थ के हो?

[प्रश्‍नहरू]

[पृष्ठ २८-मा भएको चित्र]

“मेरो छिमेकीचाहिं को हो त?”

[पृष्ठ ३०-मा भएको चित्र]

येशूले हरेक व्यक्‍तिलाई माया गर्नुभयो