सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तपाईंलाई माया गर्ने परमेश्‍वरलाई माया गर्नुहोस्‌

तपाईंलाई माया गर्ने परमेश्‍वरलाई माया गर्नुहोस्‌

तपाईंलाई माया गर्ने परमेश्‍वरलाई माया गर्नुहोस्‌

“तैंले परमप्रभु आफ्ना परमेश्‍वरलाई आफ्ना सारा हृदयले, र आफ्ना सारा प्राणले, र आफ्ना सारा समझले प्रेम गर्नू।”—मत्ती २२:३७.

१, २. फरिसीहरूले प्रमुख आज्ञा कुन हो भनेर सोध्नुको कारण के हुन सक्छ?

 यो त येशूको पालाका फरिसीहरूले चर्को विवाद गरेकै प्रश्‍न हो जस्तो देखिन्छ। मोशाको व्यवस्थामा भएका ६०० भन्दा धेरै नियममध्ये कुनचाहिं प्रमुख हो? बलिदानसम्बन्धी? आखिर, पापको क्षमा पाउन र परमेश्‍वरलाई धन्यवाद दिनकै लागि बलिदानहरू चढाइन्थे। अथवा खतनासम्बन्धी नियम पो प्रमुख हो कि? यो पनि महत्त्वपूर्ण थियो किनकि खतना गर्नु यहोवाले अब्राहामसित बाँध्नुभएको करारको संकेत थियो।—उत्पत्ति १७:९-१३.

अर्कोतिर, कुनै-कुनै नियम कम महत्त्वपूर्ण जस्तो लागे तापनि वास्तवमा सबै नियम परमेश्‍वरले नै दिनुभएकोले एउटा नियमलाई अर्को नियमभन्दा तुच्छ ठान्‍नु गलत हो भन्‍ने तर्क कट्टरपन्थीहरूले गरेजस्तो देखिन्छ। फरिसीहरूले यो विवादास्पद प्रश्‍न येशूलाई सोध्ने निर्णय गरे। उहाँले दिने जवाफले उहाँको छवि धमिलिन पनि सक्थ्यो। तिनीहरूमध्ये एक जनाले उहाँसामु आएर सोध्यो: “व्यवस्थामा प्रमुख आज्ञा कुन चाहिं हो?”—मत्ती २२:३४-३६.

३. येशूले प्रमुख आज्ञा कुन हो भन्‍नुभयो?

येशूले दिनुभएको जवाफ आज हाम्रो लागि पनि अत्यन्तै महत्त्वपूर्ण छ। उहाँले दिनुभएको जवाफको सार त्यतिबेला उपासनाको अभिन्‍न भाग थियो भने, अहिले अनि पछिसम्म पनि त्यस्तै रहिरहनेछ। व्यवस्था ६:५ उद्धरण गर्दै येशूले भन्‍नुभयो: “ ‘तैंले परमप्रभु आफ्ना परमेश्‍वरलाई आफ्ना सारा हृदयले, र आफ्ना सारा प्राणले, र आफ्ना सारा समझले प्रेम गर्नू।’ प्रमुख र प्रथम आज्ञा यही हो।” त्यस फरिसीले एउटा मात्र प्रमुख आज्ञाबारे सोधेको भए तापनि येशूले तिनलाई अर्को आज्ञाबारे पनि बताउनुभयो। लेवी १९:१८ उद्धरण गर्दै उहाँले भन्‍नुभयो: “दोस्रो चाहिं त्यही जस्तो हो, ‘तैंले आफ्ना छिमेकीलाई आफैलाई जस्तै प्रेम गर्नू।’ ” त्यसपछि येशूले साँचो उपासनाको सार यी दुई आज्ञा पालन गर्नुमा नै छ भनेर औंल्याउनुभयो। एउटा नियम अर्को नियमभन्दा बढी महत्त्वपूर्ण छ भन्‍न लगाएर फरिसीहरूले येशूलाई पक्रने दाउ गरेका थिए। तर येशूले यसो भन्दै तिनीहरूको योजना विफल पारिदिनुभयो: “सारा व्यवस्था र अगमवक्‍ताहरूका शिक्षा यिनै दुइ आज्ञामा निर्भर छन्‌।” (मत्ती २२:३७-४०) यस लेखमा हामी यी दुई प्रमुख आज्ञाबारे छलफल गर्नेछौं। किन हामीले परमेश्‍वरलाई माया गर्नै पर्छ? हामी परमेश्‍वरलाई माया गर्छौं भनेर कसरी देखाउन सक्छौं? र यस्तो प्रेम हामी कसरी बढाउन सक्छौं? यी प्रश्‍नको जवाफ पाउनु आवश्‍यक छ किनकि परमेश्‍वरलाई प्रसन्‍न पार्न हामीले उहाँलाई आफ्नो सारा हृदय, प्राण अनि समझले माया गर्नै पर्छ।

प्रेमको महत्त्व

४, ५. (क) येशूले दिनुभएको जवाफ सुनेर फरिसी किन छक्क परेन? (ख) परमेश्‍वरलाई कुन कुरा होमबलि र बलिदानहरूभन्दा बढी मोलको लाग्छ?

येशूले दिनुभएको जवाफ सुनेर उहाँलाई प्रश्‍न गर्ने फरिसी निराश भएको वा छक्क परेको जस्तो देखिंदैन। परमेश्‍वरलाई माया गरेको प्रमाण थुप्रैले दिन नसके तापनि साँचो उपासनाको महत्त्वपूर्ण पक्ष भनेको परमेश्‍वरलाई माया गर्नु हो भनेर त्यस फरिसीलाई थाह थियो। त्यतिबेला सभाघरमा हिब्रू प्रार्थना शेमा अर्थात्‌ विश्‍वासको स्वीकारोक्‍ती ठूलठूलो स्वरमा पढ्‌ने चलन थियो। अनि त्यस पढाइमा येशूले उद्धरण गर्नुभएको व्यवस्था ६:४-९ का कुराहरू पनि समावेश थिए। मर्कूसको पुस्तकमा पनि उस्तै विवरण पाइन्छ र उक्‍त विवरणअनुसार त्यस फरिसीले येशूलाई फेरि यसो भन्यो: “साँच्चिनै गुरुज्यू, तपाईंले ठीकै भन्‍नुभयो, ‘उहाँ एउटै हुनुहुन्छ, उहाँबाहेक अरू छैन।’ औ उहाँलाई सारा मनले, सारा समझले र सारा बलले प्रेम गर्नु, र छिमेकीलाई आफूलाई जस्तो प्रेम गर्नु सबै होमबलि र बलिदानहरूभन्दा श्रेष्ठ हो।”—मर्कूस १२:३२, ३३.

हो, वास्तवमा व्यवस्थाअनुसार होमबलि र बलिदानहरू चढाउनुपर्थ्यो तर परमेश्‍वर आफ्ना सेवकहरूको हृदय प्रेमले भरिएको चाहनुहुन्थ्यो। गलत मनसायले चढाएको हजारौं भेडाभन्दा त प्रेम र भक्‍तिसाथ चढाएको एउटा भंगेरालाई नै उहाँ बढी मोलको ठान्‍नुहुन्थ्यो। (मीका ६:६-८) खाँचोमा परेकी विधवाको विवरण सम्झनुहोस्‌। येशूले यरूशलेमको मन्दिरमा ती विधवालाई हेरिरहनुभएको थियो। तिनले ढुकुटीमा चढाएको दुई पैसाले एउटा भंगेरो किन्‍न पनि पुग्दैनथ्यो। तैपनि, ती विधवाले यहोवालाई मनैदेखि माया गरेर चढाएको त्यो भेटी यहोवाको नजरमा धनीहरूले नाफा कमाएर चढाएको भेटीभन्दा बढी मोलको थियो। (मर्कूस १२:४१-४४) हाम्रो अवस्था जस्तोसुकै होस्‌, हामीले उहाँलाई व्यक्‍त गर्ने हाम्रो मायालाई यहोवाले अनमोल ठान्‍नुहुन्छ भनेर थाह पाउनु कत्ति प्रोत्साहनदायी कुरा हो!

६. प्रेमको महत्त्वबारे प्रेरित पावलले के लेखे?

साँचो उपासनामा प्रेमको महत्त्वलाई जोड दिंदै प्रेरित पावलले लेखे: “यदि म मानिसहरू र स्वर्गदूतहरूका भाषामा बोलें, तरैपनि ममा प्रेम छैन भने, म हल्ला र फोस्रो आवाज गर्ने घण्टा, कि झ्याली मात्र हुन्छु। यदि मलाई अगमवाणी बोल्ने शक्‍तिको वरदान छ, र म सबै रहस्यहरू र सबै बुद्धि जान्दछु, औ डाँडाहरू हटाउनसम्मको विश्‍वास मसित छ, तर ममा प्रेमचाहिं छैन भने, म केही पनि होइनँ। यदि मैले आफ्ना सारा सम्पत्ति गरीबहरूलाई खुवाउनालाई दिएँ, र मेरो शरीरै जलाइ दिएँ, तर मसित प्रेम छैन भने, मलाई केही पनि लाभ हुँदैन।” (१ कोरिन्थी १३:१-३) कुरा स्पष्ट छ, हामीले गर्ने उपासना परमेश्‍वरलाई मन परेको चाहन्छौं भने प्रेम अत्यावश्‍यक छ। त्यसोभए, हामी यहोवालाई माया गर्छौं भनेर कसरी देखाउन सक्छौं?

यहोवालाई माया गर्छौं भनेर कसरी देखाउन सक्छौं

७, ८. यहोवालाई माया गर्छौं भनेर हामी कसरी देखाउन सक्छौं?

प्रेम एउटा भावना हो र प्रेमको सामु हाम्रो केही जोर चल्दैन भनेर धेरै जना भन्‍ने गर्छन्‌। त्यसैले त मानिसहरू भन्छन्‌, ‘कहिले माया बस्यो थाहै भएन’। तर साँचो प्रेम मनको भावना मात्र होइन। साँचो प्रेम कामबाट चिनिन्छ र व्यक्‍त हुन्छ; भावनाबाट होइन। बाइबलले प्रेमलाई “उत्तम मार्ग” भनेको छ र यसको ‘पछि लाग्न’ आग्रह गरेको छ। (१ कोरिन्थी १२:३१; १४:१) “वचन र मुखले मात्र” होइन, “कामले साँचो प्रेम” गर्न मसीहीहरूलाई प्रोत्साहन दिइएको छ। —१ यूहन्‍ना ३:१८.

परमेश्‍वरलाई प्रेम गरेका छौं भने, उहाँलाई जे मन पर्छ त्यही गर्न अनि उहाँको शासन गर्ने अधिकारलाई समर्थन गर्न हामी उत्प्रेरित हुन्छौं भनेर आफ्नो वचन अनि कामले देखाइरहेका हुन्छौं। यस्तो प्रेमले हामीलाई संसार अनि त्यसको अभक्‍त तरिकालाई माया नगर्न पनि मदत गर्छ। (१ यूहन्‍ना २:१५, १६) परमेश्‍वरलाई प्रेम गर्नेहरू खराबीलाई घृणा गर्छन्‌। (भजन ९७:१०) परमेश्‍वरलाई प्रेम गर्नुको अर्थ छिमेकीलाई पनि प्रेम गर्नु हो र त्यसबारे हामी यसपछिको लेखमा छलफल गर्नेछौं। यसबाहेक, परमेश्‍वरलाई प्रेम गर्नुमा आज्ञाकारी हुनु पनि समावेश छ। बाइबल यसो भन्छ: “हामीले उहाँका आज्ञा पालन गर्नुनै परमेश्‍वरप्रति प्रेम हो, र उहाँका आज्ञाहरू कडा छैनन्‌।”—१ यूहन्‍ना ५:३.

९. परमेश्‍वरलाई प्रेम गरेको छु भनेर येशूले कसरी देखाउनुभयो?

परमेश्‍वरलाई प्रेम गर्नुको अर्थ के हो, येशूले राम्ररी देखाउनुभयो। प्रेमकै कारण स्वर्गमा आफ्नो घर छोडेर पृथ्वीमा मानिस भएर बस्न येशू इच्छुक हुनुभयो। प्रेमले गर्दा नै उहाँ आफ्नो काम अनि शिक्षामार्फत पिताको महिमा गर्न अग्रसर हुनुभयो। त्यही प्रेमले उहाँलाई “मृत्युसम्मै आज्ञाकारी” हुन उत्प्रेरित गऱ्‍यो। (फिलिप्पी २:८) आज्ञाकारी भएर उहाँले आफ्नो प्रेम जाहेर गर्नुभयो। अनि उहाँ यसरी आज्ञाकारी हुनुभएकोले विश्‍वासी जनहरूले पनि आफूलाई परमेश्‍वरसामु धर्मी साबित गर्ने मौका पाए। पावलले लेखे: “एउटै मानिसको [आदमको] अनाज्ञाकारिताले धेरै जना पापी ठहरिए, त्यसैगरी एकै जनाको [येशू ख्रीष्टको] आज्ञाकारिताद्वारा धेरै जना धार्मिक ठहरिनेछन्‌।”—रोमी ५:१९.

१०. परमेश्‍वरलाई प्रेम गर्नु भनेको उहाँको आज्ञा पालन गर्नु पनि हो, किन?

१० परमेश्‍वरको आज्ञा पालन गरेर हामी पनि येशूले जस्तै प्रेम देखाउँछौं। येशूको प्रिय चेला यूहन्‍नाले यसरी लेखे: “उहाँका आज्ञाबमोजिम चल्नुनै प्रेम हो।” (२ यूहन्‍ना ६) यहोवालाई साँच्चै प्रेम गर्नेहरूले उहाँको डोऱ्‍याइ खोज्छन्‌। आफ्नो पाइलालाई सफलतासाथ ठीक मार्गमा हिंडाउन सकिंदैन भन्‍ने कुरा बुझेकोले तिनीहरू परमेश्‍वरको बुद्धिमा भरोसा गर्छन्‌ र उहाँको मायालु निर्देशन पछ्याउँछन्‌। (यर्मिया १०:२३) तिनीहरू परमेश्‍वरको इच्छाअनुसार गर्न उत्सुक हुँदै “हृदयमा ज्यादै तयारी भएर” परमेश्‍वरको सन्देश ग्रहण गर्ने उहिलेको बिरियाका उत्तम मानिसहरूजस्तै हुन्छन्‌। (प्रेरित १७:११) परमेश्‍वरको इच्छा राम्ररी बुझ्न तिनीहरू बाइबल होसियारीसाथ जाँच्थे र यसो गर्दा तिनीहरूले अझै आज्ञाकारी भएर प्रेम प्रकट गर्ने मदत पाएका थिए।

११. आफ्नो सारा मन, बुद्धि, प्राण र शक्‍तिले परमेश्‍वरलाई माया गर्नुको अर्थ के हो?

११ येशूले भन्‍नुभएझैं परमेश्‍वरलाई माया गर्दा हाम्रो सारा मन, बुद्धि, प्राण र शक्‍ति मुछिन्छ। (मर्कूस १२:३०) यस्तो माया हाम्रो हृदयबाट आउँछ। हाम्रो हृदयमा हाम्रा भावना, इच्छा तथा भित्री विचारहरू पनि मुछिएका हुन्छन्‌ र हामी यहोवालाई खुसी पार्ने अति इच्छा गर्छौं। हामी आफ्नो सारा बुद्धि अथवा समझले पनि परमेश्‍वरलाई माया गर्छौं। हामी ज्ञान नै नभएका अन्धभक्‍त होइनौं। हामीले यहोवालाई चिनेका छौं; हामीलाई उहाँका गुणहरू, स्तर अनि उद्देश्‍य थाह छ। हामी आफ्नो प्राण, भनौं भने हाम्रो सम्पूर्ण जीवन नै परमेश्‍वरको सेवा अनि प्रशंसा गर्न प्रयोग गर्छौं। अनि हामी आफ्नो शक्‍ति पनि उहाँको सेवा र प्रशंसा गर्न प्रयोग गर्छौं।

यहोवालाई माया गर्नुपर्ने कारण

१२. परमेश्‍वर किन हामीले उहाँलाई माया गरोस्‌ भन्‍ने चाहनुहुन्छ?

१२ यहोवा परमेश्‍वर हामीले उहाँका गुणहरू प्रकट गरोस्‌ भन्‍ने चाहनुहुन्छ, त्यसैले उहाँलाई माया गर्नुपर्छ। परमेश्‍वर प्रेमको स्रोत अनि उत्कृष्ट नमुना हुनुहुन्छ। “परमेश्‍वर प्रेम हुनुहुन्छ,” प्रेरित यूहन्‍नाले लेखे। (१ यूहन्‍ना ४:८) हामी मानिसहरू परमेश्‍वरकै स्वरूपमा सृष्टि गरिएका र माया व्यक्‍त गर्न सक्ने गरी रचिएका थियौं। वास्तवमा, शासन गर्ने यहोवाको तरिका नै प्रेममा आधारित छ। उहाँलाई माया गर्ने अनि शासन गर्ने उहाँको धार्मिक तरिका चाहनेहरू मात्र आफ्नो प्रजा भएको उहाँ चाहनुहुन्छ। हो, सम्पूर्ण सृष्टिमा शान्ति र एकता हुन प्रेम नभई हुँदैन।

१३. (क) ‘यहोवा आफ्ना परमेश्‍वरलाई प्रेम गर्नू’ भनेर इस्राएलीहरूलाई किन भनियो? (ख) हामीले उहाँलाई माया गरोस्‌ भनेर यहोवाले चाहनु किन व्यावहारिक छ?

१३ परमेश्‍वरले हाम्रो लागि गर्नुभएका कुराहरूको निम्ति हामी उहाँप्रति कृतज्ञ छौं। हामीले उहाँलाई माया गर्नुको अर्को कारण यही हो। येशूले यहूदीहरूलाई भन्‍नुभएको कुरा याद गर्नुहोस्‌: ‘तैंले यहोवा आफ्ना परमेश्‍वरलाई प्रेम गर्नू।’ चिन्दै नचिनेको र कुनै भावना नै नभएको परमेश्‍वरलाई तिनीहरूले माया गरोस्‌ भन्‍ने आशा गरिएको थिएन। तिनीहरूलाई माया गर्ने परमेश्‍वरलाई तिनीहरूले पनि माया गर्नुपर्ने थियो। यहोवा तिनीहरूको परमेश्‍वर हुनुहुन्थ्यो। उहाँले नै तिनीहरूलाई मिश्रबाट निकालेर प्रतिज्ञा गरिएको देशमा पुऱ्‍याउनुभएको थियो। यसबाहेक, तिनीहरूलाई जोगाउने, बचाउने, माया गर्ने अनि मायालु तरिकामा अनुशासन दिने पनि उहाँ नै हुनुहुन्थ्यो। अनि अहिले यहोवा हाम्रो पनि परमेश्‍वर हुनुहुन्छ। हामीले अनन्त जीवन पाओस्‌ भनेर आफ्नो पुत्र बलिदान दिने परमेश्‍वर उहाँ नै हुनुहुन्छ। हामीले उहाँलाई माया गरोस्‌ भनेर यहोवाले चाहनु कत्ति व्यावहारिक छ! कसैले हामीलाई माया गर्छ भने हामी पनि त्यस व्यक्‍तिलाई स्वतः माया गरिहाल्छौं। त्यसैकारण, हामीलाई माया गर्ने परमेश्‍वरलाई माया गर्नू भनिएको छ। जसलाई हामी माया गर्छौं, वास्तवमा उहाँले नै ‘पहिले हामीलाई प्रेम गर्नुभएको’ हो। —१ यूहन्‍ना ४:१९.

१४. यहोवाले गर्ने माया कसरी मायालु आमाबाबुले गर्ने माया जस्तै छ?

१४ यहोवाले मानिसहरूलाई गर्नुभएको माया आमाबाबुले आफ्ना छोराछोरीलाई गरेको मायाजस्तै छ। असिद्ध भए तापनि मायालु आमाबाबुले आफ्ना छोराछोरीलाई पालनपोषण गर्न वर्षौं मेहनत गर्छन्‌ र त्यसको लागि तिनीहरू धेरै खर्च अनि त्यागहरू गर्छन्‌। आमाबाबुले छोराछोरीलाई निर्देशन दिन्छन्‌, प्रोत्साहन दिन्छन्‌, समर्थन गर्छन्‌ अनि अनुशासन दिन्छन्‌। किनकि तिनीहरू आफ्ना छोराछोरी सुखी भएको अनि उनीहरूको फलिफाप भएको चाहन्छन्‌। अनि यसको बदलामा आमाबाबु आफ्ना छोराछोरीबाट के चाहन्छन्‌? यत्ति कि, छोराछोरीले पनि आमाबाबुलाई माया गरोस्‌ र उनीहरूकै हितको लागि दिइएको सल्लाह-सुझाव पालन गरोस्‌। त्यसोभए, स्वर्गमा हुनुहुने हाम्रो सिद्ध पिताले पनि हाम्रो लागि गरिदिनुभएका सम्पूर्ण थोकको लागि हामीले उहाँलाई धन्यवाद दिएको चाहनु के व्यावहारिक छैन र?

यहोवाप्रतिको माया खेती गर्नुहोस्‌

१५. यहोवाप्रतिको माया खेती गर्ने पहिलो तरिका के हो?

१५ हामीले परमेश्‍वरलाई देखेका छैनौं, उहाँको आवाज पनि सुनेका छैनौं। (यूहन्‍ना १:१८) तैपनि, उहाँसित मायालु सम्बन्ध गाँस्न उहाँ हामीलाई निम्तो दिनुहुन्छ। (याकूब ४:८) हामी कसरी यहोवासँग मायालु सम्बन्ध गाँस्न सक्छौं? कसैलाई माया गर्न सबैभन्दा पहिले त्यस व्यक्‍तिलाई चिन्‍नुपर्छ। नत्र, चिन्दै नचिनेकोलाई अत्यन्तै माया गर्नु गाह्रो हुन्छ। हामीले यहोवालाई चिन्‍न सकौं भनेर उहाँले आफ्नो वचन बाइबल दिनुभएको छ। त्यसैकारण, आफ्नो संगठनमार्फत यहोवा हामीलाई नियमित रूपमा बाइबल पढ्‌ने प्रोत्साहन दिनुहुन्छ। परमेश्‍वर, उहाँका गुणहरू, उहाँको व्यक्‍तित्व र हजारौं वर्षदेखि उहाँले मानिसहरूसित गर्नुभएको व्यवहारबारे बाइबलले नै हामीलाई सिकाउँछ। यी विवरणहरू मनन गऱ्‍यौं भने उहाँलाई बुझ्न सक्नेछौं र उहाँप्रतिको हाम्रो प्रेम बढ्‌नेछ।—रोमी १५:४.

१६. येशूको सेवकाईबारे विचार गर्दा यहोवाप्रतिको हाम्रो माया कसरी बढ्‌छ?

१६ यहोवाप्रतिको माया बढाउने प्रमुख तरिका येशूको जीवन र सेवकाईबारे विचार गर्नु हो। येशूले आफ्नो पिताको दुरुस्त नक्कल गर्नुभएकोले उहाँले यसो भन्‍न सक्नुभयो: “जसले मलाई देखेको छ, त्यसले पितालाई देखेको छ।” (यूहन्‍ना १४:९) विधवाको एक्लो छोरालाई फेरि जीवित बनाएर येशूले दया देखाउनुभयो। के यो विवरण मन छुने खालको छैन र? (लूका ७:११-१५) उहाँले अर्थात्‌ परमेश्‍वरको पुत्र अनि आजसम्म बाँचेकाहरूमध्ये सबैभन्दा महान्‌ व्यक्‍तिले विनम्र भई आफ्ना चेलाहरूको खुट्टा धुनुभएको थाह पाउनु हृदयस्पर्शी छैन र? (यूहन्‍ना १३:३-५) उहाँ अरू मानिसभन्दा महान्‌ अनि बुद्धिमान्‌ हुनुभए तापनि साना-साना केटाकेटीलगायत सबै जनालाई उहाँसामु आउन सजिलो लाग्थ्यो। के यसले तपाईंको मन छोएन? (मर्कूस १०:१३, १४) कृतज्ञ हुँदै यी कुराहरू गहिरिएर मनन गऱ्‍यौं भने हामी पनि त्यस्ता मसीहीहरू जस्तै हुनेछौं, जसबारे पत्रुसले यसो भने: “[येशूलाई] तिमीहरूले नदेखे तापनि तिमीहरू प्रेम गर्दर्छौ।” (१ पत्रुस १:८) येशूप्रतिको हाम्रो माया बढ्‌दा यहोवाप्रतिको माया पनि बढ्‌छ।

१७, १८. यहोवाले गर्नुभएका कस्ता मायालु प्रबन्धहरूमा मनन गर्दा उहाँप्रतिको हाम्रो प्रेम बढ्‌छ?

१७ परमेश्‍वरप्रतिको हाम्रो माया बढाउने अर्को तरिका हामीले जीवनको आनन्द उठाउन सकोस्‌ भनेर उहाँले गर्नुभएका प्रचुर प्रबन्धहरूबारे मनन गर्नु हो। ती प्रबन्धहरू हुन्‌: सुन्दर सृष्टि, थरीथरीका स्वादिला खानेकुरा, असल साथीहरूसितको न्यानो सम्बन्ध र हामीलाई आनन्दित अनि सन्तुष्ट बनाउने अरू थुप्रै कुराहरू। (प्रेरित १४:१७) हाम्रो परमेश्‍वरबारे जति धेरै सिक्छौं, उहाँले हामीलाई देखाउनुभएको अनगन्ती भलाइ र उदारताको लागि हामी उहाँप्रति उति नै धन्यवादी हुन्छौं। यहोवाले तपाईंको लागि गर्नुभएका सम्पूर्ण कुराहरू सम्झनुहोस्‌ त! के तपाईंलाई यहोवा तपाईंको माया पाउन योग्यको हुनुहुन्छ जस्तो लाग्दैन?

१८ परमेश्‍वरले दिनुभएका थुप्रै उपहारमध्ये एउटा त उहाँलाई जुनसुकै बेला प्रार्थना गर्न सक्नु र “प्रार्थना सुन्‍नुहुने” परमेश्‍वरले हाम्रो प्रार्थना सुन्‍नुहुन्छ भनेर थाह पाउनु पनि हो। (भजन ६५:२) यहोवा परमेश्‍वरले आफ्नो प्रिय पुत्रलाई शासन गर्ने र न्याय गर्ने जिम्मा सुम्पनुभएको छ। तर उहाँले आफ्नो पुत्रलगायत अरू कसैलाई पनि हामीले गरेको प्रार्थना सुन्‍ने जिम्मा दिनुभएको छैन। उहाँ आफै हाम्रो प्रार्थना सुन्‍नुहुन्छ। उहाँले देखाउनुभएको यस्तो मायालु चासोले गर्दा हामी उहाँप्रति अझै आकर्षित हुन्छौं।

१९. यहोवाले गर्नुभएका कस्ता प्रतिज्ञाहरूले गर्दा हामी उहाँप्रति आकर्षित हुन्छौं?

१९ यहोवा परमेश्‍वरले हामी मानिसहरूको लागि साँचेर राख्नुभएको कुरा विचार गर्दा पनि हामी उहाँप्रति आकर्षित हुन्छौं। उहाँले रोगबिमार, दुःखकष्ट अनि मृत्युलाई नामेट पार्ने प्रतिज्ञा गर्नुभएको छ। (प्रकाश २१:३, ४) सिद्ध भएपछि कोही पनि निराश अनि हतास हुनेछैन अथवा कसैले पनि विपत्ति भोग्नुपर्ने छैन। भोक, गरिबी, युद्ध फेरि हुनेछैन। (भजन ४६:९; ७२:१६) पृथ्वी प्रमोदवनमा परिणत हुनेछ। (लूका २३:४३, NW) बाध्य भएर त होइन तर मायाले गर्दा यहोवा परमेश्‍वरले यी आशिष्‌हरू हामीलाई दिन लाग्नुभएको हो।

२०. यहोवा परमेश्‍वरलाई माया गर्नुपर्ने फाइदाहरूबारे मोशाले के भने?

२० त्यसकारण, परमेश्‍वरलाई माया गर्नु र त्यस मायालाई बढाउँदै लैजानुपर्ने जोडदार कारणहरू छन्‌। आफ्नो जीवनको मार्ग परमेश्‍वरलाई डोऱ्‍याउन दिएर के तपाईं उहाँप्रतिको आफ्नो माया निरन्तर बलियो बनाइरहनुहुनेछ? छनौट तपाईंकै हो। यहोवालाई माया गर्नु र त्यस मायालाई निरन्तर कायम राख्नुका फाइदाहरू मोशाले बुझेका थिए। मोशाले वर्षौंअघिका इस्राएलीहरूलाई यसो भने: “जीवननै रोज र तिमीहरू र तिमीहरूका भावी पुस्ता जिउनेछौ। परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्दै उहाँका आज्ञा मान्दै र उहाँसँगै लीन बन्दै बाँचिरहो किनकि यसो गर्नुनै तिमीहरूका निम्ति जीवन हो, र तिमीहरू दीर्घायु हुनेछौ।”—व्यवस्था ३०:१९, २०. (w 06 12/01)

के तपाईंलाई याद छ?

• यहोवालाई माया गर्नु किन अत्यावश्‍यक छ?

• परमेश्‍वरलाई माया गर्छौं भनेर हामी कसरी देखाउन सक्छौं?

• यहोवालाई माया गर्नुपर्ने कस्ता कारणहरू हामीसित छन्‌?

• यहोवाप्रतिको माया हामी कसरी खेती गर्न सक्छौं?

[प्रश्‍नहरू]

[पृष्ठ २१-मा भएको चित्र]

हामी सबैले उहाँलाई व्यक्‍त गर्ने हाम्रो मायालाई यहोवा अनमोल ठान्‍नुहुन्छ

[पृष्ठ २१-मा भएका चित्रहरू]

“जसले मलाई देखेको छ, त्यसले पितालाई देखेको छ।”—यूहन्‍ना १४:९