सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तपाईं सफल हुन सक्नुहुन्छ तर कसरी?

तपाईं सफल हुन सक्नुहुन्छ तर कसरी?

तपाईं सफल हुन सक्नुहुन्छ तर कसरी?

जसरी आमाबाबु आफ्ना छोराछोरीको हेरचाह गर्छन्‌ र उनीहरू सफल होस्‌ भन्‍ने चाहन्छन्‌, त्यसै गरी स्वर्गमा बस्ने हाम्रो पिता यहोवा पनि हाम्रो हेरचाह गर्नुहुन्छ र हामी सफल भएको चाहनुहुन्छ। त्यसैले त उहाँ हामीलाई सफलता र असफलताबारे थुप्रै जानकारी दिनुहुन्छ। परमेश्‍वर जे भन्‍नुहुन्छ, त्यसलाई ध्यान दिने व्यक्‍तिबारे बाइबल यस्तो ठोकुवा गर्छ: “त्यसले जे गर्छ, त्यसमा त्यो सफल हुन्छ।”—भजन १:३.

कुरा यसो हो भने, आज थुप्रै मानिस चाहेर पनि किन सफल, खुसी अनि सन्तुष्ट हुन सकेका छैनन्‌? भजनसंग्रहको पुस्तक राम्रोसँग विचार गऱ्‍यौं भने, यस प्रश्‍नको जवाफ र हामी पनि कसरी सफल हुन सक्छौं, सो थाह पाउनेछौं।

“दुष्टहरूको सल्लाह”

“दुष्टहरूको सल्लाहमा” चल्नुको खतराबारे भजनरचयिता होसियार गराउँछन्‌। (भजन १:१, NRV) शैतान अर्थात्‌ दियाबल महाको “दुष्ट” छ। (मत्ती ६:१३) बाइबल भन्छ, शैतान “संसारको शासक” हो र “सारा संसार त्यस दुष्टको अधीनमा परेको छ।” (यूहन्‍ना १६:११; १ यूहन्‍ना ५:१९) यसकारण, संसारका मानिसहरूले दिने सल्लाहमा दुष्ट शैतानको विचार झल्किनु अनौठो कुरा होइन।

दुष्ट व्यक्‍तिहरूले दिने सल्लाह कस्तो हुन्छ? समग्रमा भन्‍नुपर्दा, दुष्टले परमेश्‍वरको अनादर गरेको छ। (भजन १०:१३) परमेश्‍वरलाई बेवास्ता गर्ने अथवा अनादर गर्ने तिनीहरूको सल्लाह जहींतहीं सुनिन्छ। वर्तमान्‌ समाजले “शरीरको अभिलाषा, आँखाको अभिलाषा, जीवनको शेखी[लाई]” जोड दिन्छ। (१ यूहन्‍ना २:१६) सञ्चारमाध्यमले हामीलाई “जीवनमा भरपूर आनन्द उठाऊ!” भन्‍ने भौतिकवादी विचार राख्न उक्साउँछ। विश्‍वभरका कम्पनीहरूले वर्षेनी विज्ञापन गर्न मात्र ५ खरब अमेरिकी डलरभन्दा धेरै (रू. ३७० खरबभन्दा धेरै) खर्च गर्छन्‌। कम्पनीहरूले विज्ञापनमा खर्च गर्नुको लक्ष्य एउटै हुन्छ: मानिसहरूलाई मन परोस्‌/नपरोस्‌ आफ्नो उत्पादन किन्‍न उनीहरूलाई लोभ्याउने! यस्तो विज्ञापनले गर्दा किनमेल गर्ने मानिसको बानीमा परिवर्तन त आएको छ नै, यसबाहेक सफलतालाई हेर्ने संसारको दृष्टिकोण पनि पूरै बदलिएको छ।

फलस्वरूप, केही वर्षअघिसम्म सपनाको कुराझैं लाग्ने भौतिक सरसामान आज धेरै मानिससित भए तापनि अझ बढी भौतिक कुरा थुपार्ने भोक भने उनीहरूमा छँदैछ। यी कुरा प्राप्त नगरेसम्म खुसी वा सफल हुन सकिन्‍न भन्‍ने उनीहरूको सोचाइ छ। यस्तो सोचाइ ठीक होइन र यो “पितातर्फको होइन, तर संसारतर्फको हो।”—१ यूहन्‍ना २:१६.

के गरेमा हामी साँच्चै सफल हुन सक्छौं भन्‍ने कुरा हाम्रो सृष्टिकर्तालाई थाह छ। उहाँले दिने सल्लाह ‘दुष्टहरूको सल्लाहभन्दा’ फरक छ। त्यसकारण, एकातिर परमेश्‍वरको आशिष्‌ चाहनु र अर्कोतिर संसारले जुन कुरालाई सफलता ठान्छ त्यसैको पछि दगुर्नु भनेको दुइटा नाउमा खुट्टा हाल्नुजस्तै हो। यसो गर्नु त असम्भव छ! हो यही कारण चेतावनी दिंदै बाइबल भन्छ: “यस संसारसित एकै चालका नहोओ।”—रोमी १२:२.

संसारले तपाईंलाई प्रभाव नपारोस्‌

शैतानको मुट्ठीमा भएको यस संसारले तपाईंको हित चाहेजस्तो देखाउन खोज्छ। तर हामी होसियार हुनै पर्छ! आफ्नो स्वार्थ पूरा गर्न शैतानले पहिलो स्त्री हव्वालाई कसरी छक्यायो, नबिर्सनुहोस्‌! त्यसपछि त्यसले हव्वालाई चलाएर आदमलाई पाप गर्न लगाएको थियो। आफ्नो दुष्ट सल्लाह फैलाउन आज शैतानले मानिसहरूलाई पनि आफ्नो गोटी बनाउँछ।

उदाहरणको लागि, अघिल्लो लेखमा चर्चा गरिएको डेभिडले अफिसको समयपछि पनि काम गर्नुपर्ने र व्यापारको सिलसिलामा घरिघरि यात्रा गरिरहनुपर्थ्यो। डेभिड भन्छन्‌: “म सोमबार बिहानै घरबाट निस्कन्थें र बिहिबार साँझतिर फर्कन्थें।” संसारमा सफल हुन यस्ता त्यागहरू गर्न परिहाल्छ भन्‍ने सोचाइ राख्ने साथी, परिवारका सदस्य तथा सहकर्मीहरूले डेभिडलाई यसो भनेर हौस्याउँथे: “डेभिड, परिवारको लागि तिमीले यो जागिर छोड्‌नु हुँदैन है! स्थापित नहोउन्जेल मात्र हो दौडधूप गर्नुपर्ने!” डेभिड भन्छन्‌: “उनीहरू तर्क गर्दै भन्थे, ‘तिमी धेरै कमाउँछौ, परिवारलाई चाहिएको यही त हो नि! यही जागिर खाइरह्‍यौं भने अझ सफल हुनेछौ।’ ” साथीहरू त यसो पनि भन्थे: “परिवारसँग बस्न पाएनौ त के भो र, खासमा तिमीले परिवारलाई धेरै दिइरहेका छौ।” यस्तो सल्लाहले गर्दा डेभिडजस्ता कैयौं व्यक्‍ति आफ्नो परिवारलाई चाहिन्छ जस्तो लाग्ने सब थोक दिन घोटिएर काम गर्दैछन्‌। तर यस किसिमको सल्लाहअनुसार चल्दा सफल होइन्छै भन्‍ने के ग्यारेन्टी? तपाईंको परिवारलाई साँच्चै चाहिएको कुरा के हो?

व्यापारको सिलसिलामा यात्रा गरिरहेको बेला डेभिडले परिवारलाई साँच्चै चाहिएको कुरा थाह पाए। डेभिडले भने: “छोरी एन्जेलिकासित फोनमा कुरा गरिरहेको बेला उसले भनी: ‘ड्याडी, तपाईं किन हामीसित घरमा बस्न चाहनुहुन्‍न?’ उसको कुरा सुनेर मलाई छाँगाबाट खसेझैं लाग्यो।” छोरीको कुरा सुनेपछि डेभिडलाई जागिरबाट राजीनामा दिने बल मिल्यो। हो, तिनले आफ्नो परिवारलाई साँच्चै चाहिएको कुरा दिने निर्णय गरे। अर्को शब्दमा भन्‍नुपर्दा, तिनले अबउसो परिवारसित बस्ने, उनीहरूसित समय बिताउने र उनीहरूलाई ध्यान दिने निर्णय गरे।

परमेश्‍वरको सल्लाहअनुसार चल्दा सफल हुन सकिन्छ

यस संसारमा थुप्रै भर्माउने कुराहरू छन्‌। यस्ता कुराको भ्रममा नपर्न तपाईं के गर्न सक्नुहुन्छ? भजनरचयिता भन्छन्‌: त्यही व्यक्‍ति सफल तथा खुसी हुन सक्छ, जो यहोवाको “व्यवस्थामानै . . . प्रसन्‍न रहन्छ, र दिनरात उहाँकै व्यवस्थामा त्यसले ध्यान दिन्छ।”—भजन १:२.

यहोशूलाई इस्राएल राष्ट्रको नेता नियुक्‍त गर्दा यहोवाले तिनलाई भन्‍नुभएको थियो: “[परमेश्‍वरको वचनमाथि] . . . तैंले दिन-रात ध्यान गर्नू।” हो, परमेश्‍वरको वचन पढ्‌नु र त्यसमाथि ध्यान दिनु नितान्त जरुरी थियो। तर यहोशूले “त्यसमा लेखिएका सबै कुरो होशियारीसाथ पालन गर्नू” पनि उत्तिकै खाँचो थियो। यो कुरा साँचो हो कि बाइबल पढ्‌दैमा तपाईं सफल भइहाल्नुहुन्छ भन्‍ने होइन। यसको लागि त तपाईंले पढेको कुरा जीवनमा लागू गर्नै पर्छ। यहोशूलाई यसो भनिएको थियो: “र मात्र तेरा सबै मार्गहरूमा उन्‍नती गर्नेछस्‌ र सफलता पाउनेछस्‌।”—यहोशू १:८.

आमा वा बुबाको काखमा खुसी हुँदै मनपर्ने कथा सुनिरहेको बच्चा कस्तो हुन्छ, कल्पना गर्नुहोस्‌ त! त्यो कथा पहिला जतिसुकै पढिएको होस्‌, यसरी सँगै पढ्‌दा आमाबाबु र बच्चा एकदमै खुसी हुन्छन्‌। हो, यसै गरी परमेश्‍वरलाई प्रेम गर्ने व्यक्‍तिलाई पनि बाइबल दिनहुँ पढ्‌नु एकदमै आनन्द लाग्छ अर्थात्‌ स्वर्गमा बस्ने पितासित रमाइलो क्षण बिताएझैं लाग्छ। यहोवाले दिने सल्लाह र डोऱ्‍याइअनुसार चल्दा यस्तो व्यक्‍ति “खोलाको धारको छेउमा रोपेको बोटजस्तै . . . हुन्छ, जसले आफ्नो ऋतुमा फल दिन्छ, जसको पात कहिल्यै ओइलाउँदैन, र त्यसले जे गर्छ, त्यसमा त्यो सफल हुन्छ।”—भजन १:३.

भजनरचयिताले वर्णन गरेको रूख त्यतिकै उम्रिंदैन। यसलाई त प्रशस्त पानी ल्याउन सकिने ठाउँमा होसियारसाथ रोपिन्छ अनि किसानले त्यसको हेरचाह गर्छ। यसै गरी, स्वर्गमा बस्ने पिताले पनि बाइबलमा पाइने सल्लाहद्वारा हाम्रो सोचाइ छाँटकाँट गर्नुहुन्छ वा सच्याउनुहुन्छ। यसो गरेपछि हामी फल्छौं-फुल्छौं अनि परमेश्‍वरले चाहनुभएका गुणहरू विकास गर्न सक्छौं।

तर, “दुष्टहरू ता त्यस्ता हुँदैनन्‌।” हो, यसो हेर्दा तिनीहरूको फलिफाप भएजस्तो देखिन सक्छ तर अन्तमा गएर तिनीहरूले नराम्रो नतिजा भोग्छन्‌। तिनीहरू “इन्साफमा खडा रहनेछैनन्‌।” बरु, “दुष्टहरूको मार्गचाहिं नष्ट हुनेछ।”—भजन १:४-६.

त्यसकारण, संसारको प्रभावमा परेर आफ्नो लक्ष्य तथा मूल्यमान्यता तय नगर्नुहोस्‌। हुन त तपाईंसित केही न केही प्रतिभा र यस संसारमा सफल हुन चाहिने क्षमता होला तर आफ्नो प्रतिभालाई कसरी प्रयोग गर्नुहुन्छ अथवा संसारलाई तपाईंको प्रतिभा कसरी प्रयोग गर्न दिनुहुन्छ, होसियार हुनुहोस्‌। भौतिक कुराको पछि दगुर्ने व्यक्‍ति ‘ओइलाउँछ।’ अर्कोतर्फ, परमेश्‍वरसित सुमधुर सम्बन्ध गाँस्दा साँच्चै सफल र आनन्दित हुन सकिन्छ।

तपाईं कसरी सफल हुन सक्नुहुन्छ

परमेश्‍वरको सल्लाहअनुसार चल्ने व्यक्‍तिले जे गर्छ, त्यसमा ऊ सफल हुनुको कारण के हो? ध्यान दिनुहोस्‌, भजनरचयिताले यस संसारमा सफल हुने विषयमा कुरा गरेका होइनन्‌। बरु, परमेश्‍वरको आज्ञा पालन गर्ने व्यक्‍तिको सफलतालाई परमेश्‍वरको इच्छा गर्नुसित तुलना गरिएको छ। किनकि परमेश्‍वरको इच्छा सधैं पूरा हुन्छ। बाइबलका सिद्धान्तहरू लागू गर्दा तपाईं कसरी सफल हुन सक्नुहुन्छ, आउनुहोस्‌ विचार गरौं।

परिवार: बाइबलले श्रीमान्‌हरूलाई “आफ्ना आफ्ना पत्नीलाई आफ्नै शरीरलाई झैं प्रेम” गर्ने सल्लाह दिन्छ र मसीही पत्नीलाई चाहिं ‘आफ्ना पतिको डर मान्‍न [“गहिरो आदर गर्न,” NW]’ निर्देशन दिएको छ। (एफिसी ५:२८, ३३) आफ्ना छोराछोरीसित समय बिताउन, उनीहरूसित हाँसखेल गर्न र उनीहरूलाई जीवनका महत्त्वपूर्ण कुरा सिकाउन आमाबाबुलाई प्रोत्साहन दिइएको छ। (व्यवस्था ६:६, ७; एफिसी ३:४) परमेश्‍वरको वचन आमाबाबुलाई यस्तो सल्लाह पनि दिन्छ: “तिमीहरूका बालकहरूलाई रीस नउठाओ।” यो सल्लाह लागू गर्दा छोराछोरीलाई “आफ्ना आमा-बाबुको आज्ञा पालन” गर्न अनि “आफ्ना बाबु र आमाको मान” गर्न सजिलो हुन्छ। (एफिसी ६:१-४) परमेश्‍वरले दिएको यो सल्लाहअनुसार चल्दा पारिवारिक जीवन सफल हुन्छ।

साथीभाइ: प्रायजसो व्यक्‍तिलाई साथी चाहिन्छ। हामीसित माया गर्ने र माया पाउने मानसिक तथा भावनात्मक क्षमता छ। येशूले आफ्ना अनुयायीहरूलाई “आपसमा प्रेम” गर भन्‍नुभयो। (यूहन्‍ना १३:३४, ३५) हामी ती अनुयायीहरूमाझ माया र भरोसा गर्न सकिने साथीहरू पाउन सक्छौं। हो, उनीहरूसित मनका कुरा तथा भावनाहरू साटासाट गर्न सक्छौं। (हितोपदेश १८:२४) सबैभन्दा मुख्य कुरा त, बाइबलका सिद्धान्तहरू लागू गरेर हामी “परमेश्‍वरको नजीक” हुन सक्छौं र अब्राहामजस्तै “परमेश्‍वरका मित्र” कहलिन सक्छौं।—याकूब २:२३; ४:८.

जीवनको उद्देश्‍य: साँच्चै सफल व्यक्‍तिहरूको जीवन उद्देश्‍यहीन हुँदैन। उनीहरूले जीवनको अर्थ र उद्देश्‍य बुझेका हुन्छन्‌। यस्ता व्यक्‍तिहरू डगमगाउँदो यस रीतिरिवाजमाथि भर पर्दैनन्‌। उनीहरूको लक्ष्यले अन्तमा उनीहरूलाई साँचो र असीम सन्तुष्टि दिन्छ किनकि जीवनको साँचो उद्देश्‍यमा उनीहरूको जीवन केन्द्रित हुन्छ। के गर्दा मानिसको जीवन उद्देश्‍यपूर्ण होला? यसको लागि बाइबलको यो सल्लाह पालन गर्नुपर्छ: “परमेश्‍वरको भय राख्‌, र उहाँका आज्ञा पालन गर्‌। योबाहेक मानिसले गर्नुपर्ने अरू केही छैन।”—उपदेशक १२:१३.

आशा: परमेश्‍वरसित मित्रता गाँस्यौं भने पनि हाम्रो भविष्य आशाहीन हुनेछैन। प्रेरित पावलले मसीहीहरूलाई “अनिश्‍चित सम्पत्तिमा होइन, तर . . . परमेश्‍वरमाथिनै आशा” राख्न आग्रह गरे। त्यसो गरेको खण्डमा उनीहरूले “आफैको निम्ति असल जग बनाएर तिनीहरूले त्यो जीवन, जो साँच्चै जीवन हो, सो पक्री” राख्न सक्ने थिए। (१ तिमोथी ६:१७-१९) स्वर्गमा स्थापना भइसकेको परमेश्‍वरको राज्यले यस पृथ्वीलाई प्रमोदवनमा परिणत गर्दा हामी साँच्चैको जीवन पाउनेछौं।—लूका २३:४३, NW.

बाइबल सिद्धान्तहरू जीवनमा लागू गर्नुभयो भने, तपाईंलाई समस्या नै हुनेछैन भनेको होइन तर दुष्ट व्यक्‍तिहरूमाथि आइपर्ने दुःख, पीरबाट भने तपाईं जोगिन सक्नुहुनेछ। यस लेखमा उल्लेख गरिएका डेभिड अनि तिनीजस्ता अरू लाखौंले बाइबलका सिद्धान्तहरू जीवनमा लागू गर्नुको महत्त्व बुझेका छन्‌। आफ्नो परिवारलाई समय दिन सकिने खालको जागिर पाएपछि डेभिडले भने: “श्रीमती र छोराछोरीलाई समय दिन सकेकोमा र प्राचीन भएर मण्डलीमा यहोवा परमेश्‍वरको सेवा गर्ने सुअवसर पाएकोमा म अत्यन्तै खुसी छु।” यसैकारण, परमेश्‍वरको सल्लाहलाई ध्यान दिने व्यक्‍तिको विषयमा भजनरचयिताले यसो भनेकोमा अच्चम मान्‍नु पर्दैन: “त्यसले जे गर्छ, त्यसमा त्यो सफल हुन्छ।” (w07 1/1)

[पृष्ठ ६-मा भएको चार्ट]

सफल हुने पाँच तरिका

१ यस संसारको मूल्यमान्यताद्वारा प्रभावित नहुनुहोस्‌।

भजन १:१; रोमी १२:२

२ परमेश्‍वरको वचन दिनहुँ पढ्‌नुहोस्‌ र मनन गर्नुहोस्‌।

भजन १:२, ३

३ बाइबलको सल्लाह जीवनमा लागू गर्नुहोस्‌।

यहोशू १:७-९

४ परमेश्‍वरलाई आफ्नो मित्र बनाउनुहोस्‌।

याकूब २:२३; ४:८

५ साँचो परमेश्‍वरको भय मान्‍नुहोस्‌ र उहाँको आज्ञा पालन गर्नुहोस्‌।

उपदेशक १२:१३

[पृष्ठ ७-मा भएको चित्र]

सफल हुन के तपाईंले यी तरिका अपनाइरहनुभएको छ?