सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“तिमीहरू औधी हर्षित हुनेछौ”

“तिमीहरू औधी हर्षित हुनेछौ”

“तिमीहरू औधी हर्षित हुनेछौ”

“[यहोवाको] निम्ति चाड मान्‍नू, . . . तिमीहरू औधी हर्षित हुनेछौ।”—व्यवस्था १६:१५.

१. (क) शैतानले कस्ता विवादहरू खडा गऱ्‍यो? (ख) आदम र हव्वाले विद्रोह गरेपछि यहोवाले कस्तो भविष्यवाणी गर्नुभयो?

 शैतानले आदम र हव्वालाई आफ्नो सृष्टिकर्ताविरुद्ध विद्रोह गर्न उक्साउँदा, दुइटा महत्त्वपूर्ण विवाद खडा गऱ्‍यो। पहिलो, त्यसले यहोवाको इमानदारिता र उहाँको शासन गर्ने तौरतरिकामाथि औंला ठड्यायो। दोस्रो, आफ्नो स्वार्थ पूरा गर्न मात्र मानिसहरूले परमेश्‍वरको सेवा गर्छन्‌ भन्‍ने छनक शैतानले दियो। यो दोस्रो विवाद अय्यूबको समयमा त्यसले मुख फोरेरै बतायो। (उत्पत्ति ३:१-६; अय्यूब १:९, १०; २:४, ५) यो मामिला सुल्झाउन यहोवाले तुरुन्तै कदम चाल्नुभयो। यी विवादहरू कसरी सुल्झाउनेछु भनेर आदम र हव्वा अदनको बगैंचामा हुँदा नै उहाँले भविष्यवाणी गर्नुभयो। एउटा “सन्तान” देखापर्नेछ भनेर उहाँले बताउनुभयो। सुरुमा यस “सन्तानको” कुर्कुच्चो डसिने थियो तर पछि गएर यसै ‘सन्तानले’ शैतानको शिर कुच्याएर त्यसलाई खत्तम पार्ने थियो।—उत्पत्ति ३:१५.

२. उत्पत्ति ३:१५ मा उल्लिखित भविष्यवाणी यहोवाले कसरी पूरा गर्नुहुनेछ भन्‍ने विषयमा थप कुरा उहाँले कसरी प्रकट गर्नुभयो?

समय बित्दै जाँदा त्यस भविष्यवाणीबारे थप कुरा प्रकट गरेर यहोवाले त्यो पक्कै पूरा हुनेछ भनेर देखाउनुभयो। उदाहरणका लागि, त्यो “सन्तान” अब्राहामकै वंशमा देखा पर्नेछ भनेर परमेश्‍वरले अब्राहामलाई बताउनुभयो। (उत्पत्ति २२:१५-१८) अब्राहामका नाति याकूबबाट इस्राएलको १२ कुल निस्क्यो। ईसापूर्व १५१३ मा यी कुलहरू एउटा राष्ट्रमा परिणत भए अनि यहोवाले तिनीहरूलाई व्यवस्था दिनुभयो। यस व्यवस्थाअनुसार तिनीहरूले विभिन्‍न वार्षिक चाडहरू पनि मनाउनुपर्थ्यो। ती चाडहरू “आउने कुराका छाया हुन्‌” भनेर प्रेरित पावलले बताए। (कलस्सी २:१६, १७; हिब्रू १०:१) प्रतिज्ञा गरिएको सन्तानसम्बन्धी यहोवाको उद्देश्‍य कसरी पूरा हुनेछ भन्‍ने कुराको पूर्वझलक ती चाडहरूमा पाउन सकिन्थ्यो। ती चाडहरू मनाउँदा इस्राएलमा खुब रमाइलो गरिन्थ्यो। यी चाडहरूबारे छलफल गर्दा यहोवाका प्रतिज्ञाहरूमाथि हाम्रो विश्‍वास अझ बलियो हुन्छ।

सन्तान देखा पर्छ

३. प्रतिज्ञा गरिएको सन्तान को थियो र उहाँको कुर्कुच्चो कसरी डसियो?

यहोवाले सुरुमा भविष्यवाणी गर्नुभएको लगभग ४,००० वर्षपछि प्रतिज्ञा गरिएको सन्तान देखा पऱ्‍यो। उहाँ येशू हुनुहुन्थ्यो। (गलाती ३:१६) सिद्ध व्यक्‍तिको रूपमा येशूले मृत्युसम्मै निष्ठा कायम गर्नुभयो र शैतानका आरोपहरूलाई झूटा साबित गर्नुभयो। साथै, येशू पापरहित हुनुभएकोले उहाँको मृत्यु ठूलो मोलको बलिदान थियो। यसै बलिदानमार्फत येशूले आदम र हव्वाका विश्‍वासी सन्तानहरूलाई पाप र मृत्युबाट छुटकारा दिनुभयो। शासनाको खम्बामा येशूको मृत्यु नै प्रतिज्ञा गरिएको सन्तानको ‘कुर्कुच्चो डस्ने’ काम थियो।—हिब्रू ९:११-१४.

४. कुन कुरा येशूको बलिदानको पूर्वचित्रण थियो?

इस्वी संवत्‌ ३३, निसान १४ मा येशू मर्नुभयो। a इस्राएलमा निसान १४, निस्तार चाड मनाउने हर्षको दिन थियो। प्रत्येक वर्ष निसान १४ का दिन सबै परिवार एक साथ बसेर खाना खान्थे र त्यस भोजनमा भेंडाको निष्खोट पाठो पनि हुन्थ्यो। यसरी तिनीहरूले ईसापूर्व १५१३, निसान १४ मा स्वर्गदूतले मिश्रीहरूको जेठो सन्तानलाई मार्दा इस्राएलीहरूको जेठो सन्तानलाई जोगाउनमा पाठोको रगतले खेलेको भूमिकाको सम्झना गर्थे। (प्रस्थान १२:१-१४) निस्तार चाडमा खाइने पाठोले येशूलाई पूर्वचित्रण गर्थ्यो, जसबारे प्रेरित पावलले यसो भने: “हाम्रो निस्तार चाडको बलिदान भइसकेको छ, जो ख्रीष्ट हुनुहुन्छ।” (१ कोरिन्थी ५:७) निस्तार चाडको पाठोको रगतले झैं येशूको बगेको रगतले पनि धेरैको उद्धार गर्छ।—यूहन्‍ना ३:१६, ३६.

“मर्नेहरूमा पहिलो फल”

५, ६. (क) येशूको पुनरुत्थान कहिले भयो र व्यवस्थामा कसरी यस घटनालाई पूर्वचित्रण गरिएको थियो? (ख) येशूको पुनरुत्थानले गर्दा उत्पत्ति ३:१५ मा गरिएको भविष्यवाणी कसरी पूरा भयो?

आफ्नो बलिदानको मोल पितासमक्ष प्रस्तुत गर्नको लागि तेस्रो दिनमा येशूलाई फेरि ब्यूँताइयो। (हिब्रू ९:२४) अर्को एउटा चाडले येशूको पुनरुत्थानलाई पूर्वचित्रण गर्थ्यो। निसान १४ को भोलिपल्ट अखमिरे रोटीको चाड सुरु हुन्थ्यो। त्यसको भोलिपल्ट अर्थात्‌ निसान १६ मा इस्राएलीहरूले आफ्नो बालीको पहिलो उब्जनीको एक बिटा पूजाहारीकहाँ ल्याउँथे र पूजाहारीले त्यो बिटा यहोवासामु डोलाउँथ्यो। (लेवी २३:६-१४) यहोवाको “विश्‍वासयोग्य र साँचो साक्षी[लाई]” सधैंको लागि मार्ने शैतानको दुष्प्रयासलाई उहाँले इस्वी संवत्‌ ३३ को त्यसै दिनमा विफल पार्नु कत्ति सुहाउँदो! इस्वी संवत्‌ ३३, निसान १६ का दिन यहोवाले येशूलाई मृत अवस्थाबाट ब्यूँताएर अमर आत्मिक जीवन दिनुभयो।—प्रकाश ३:१४; १ पत्रुस ३:१८.

येशू “मर्नेहरूमा पहिलो फल” हुनुभयो। (१ कोरिन्थी १५:२०) पुनरुत्थान भएका अरू फेरि मरे तर येशू भने मर्नुभएन। बरु, उहाँ स्वर्ग उक्लनुभयो र यहोवाको स्वर्गीय राज्यको राजा बन्‍ने समय नआउन्जेल यहोवाको दाहिने हाततर्फ पर्खेर बस्नुभयो। (भजन ११०:१; प्रेरित २:३२, ३३; हिब्रू १०:१२, १३) राजा बनेदेखि यता येशू आफ्नो महाशत्रु शैतानको शिर सदाको लागि कुच्याउन र त्यसको सन्तानलाई नष्ट गर्न सक्षम हुनुहुन्छ।—प्रकाश ११:१५, १८; २०:१-३, १०.

अब्राहामका अरू सन्तान

७. हप्ताको चाड के थियो?

अदनको बगैंचामा प्रतिज्ञा गरिएको सन्तान येशू हुनुहुन्थ्यो र उहाँद्वारा नै यहोवाले “शैतानका कामहरू नष्ट” पार्नुहुने थियो। (१ यूहन्‍ना ३:८) तथापि, यहोवाले अब्राहामसित कुरा गर्नु हुँदा भने तिनको “सन्तान” एक जना मात्र हुनेछैन भनेर संकेत गर्नुभयो। अब्राहामको सन्तान “आकाशका तारा र समुद्र किनारका बालुवासरह” हुने थियो। (उत्पत्ति २२:१७) इस्राएलीहरूले मनाउने अर्को रमाइलो चाडले अब्राहामका अरू “सन्तान” देखा पर्ने कुरालाई पूर्वचित्रण गर्थ्यो। निसान १६ को ५० दिनपछि इस्राएलीहरूले हप्ताको चाड मनाउँथे। यसबारे यस्तो व्यवस्था दिइएको थियो: “सातौं विश्राम-दिनको भोलिपल्टसम्म पचास दिन गन्‍नू। त्यही दिन तिमीहरूले परमप्रभुको निम्ति नयाँ अन्‍न बलि चढाउनू। तिमीहरूले आफ्ना घरदेखि एपाको दश खण्डको दुई खण्डले बनाएको दुईवटा डोलाउने रोटी ल्याउनू। परप्रभुको निम्ति पहिलो उब्जनीस्वरूप ती मसिनो पीठोका र खमीर मिलाएर पकाएका होऊन्‌।” bलेवी २३:१६, १७, २०.

८. इस्वी संवत्‌ ३३ पेन्तिकोसमा कस्तो उल्लेखनीय घटना भयो?

येशू पृथ्वीमा हुनु हुँदा हप्ताको चाडलाई पेन्तिकोस (“पचासौं” अर्थ लाग्ने युनानी शब्दबाट आएको) भनिन्थ्यो। इस्वी संवत्‌ ३३ पेन्तिकोसको दिन महान्‌ प्रधान पूजाहारी अर्थात्‌ पुनरुत्थान हुनुभएको येशू ख्रीष्टले यरूशलेममा भेला भएका १२० जना चेलाहरूको सानो समूहमाथि पवित्र आत्मा खन्याउनुभयो। यसरी ती चेलाहरू परमेश्‍वरका अभिषिक्‍त छोराहरू र येशू ख्रीष्टका भाइहरू भए। (रोमी ८:१५-१७) तिनीहरू एउटा नयाँ राष्ट्र अर्थात्‌ “परमेश्‍वरका इस्राएल” बने। (गलाती ६:१६) सानो संख्याबाट सुरुवात्‌ भएको यो राष्ट्रका सदस्य अन्तमा गएर १,४४,००० पुग्ने थियो।—प्रकाश ७:१-४.

९, १०. पेन्तिकोसको चाडमा अभिषिक्‍त मसीहीहरूको मण्डलीलाई कसरी पूर्वचित्रण गरिन्थ्यो?

पेन्तिकोसमा यहोवासामु डोलाइने दुई वटा खमिरे रोटीले अभिषिक्‍त मसीहीहरूको मण्डलीलाई चित्रण गर्थ्यो। ती रोटीमा खमिर हुनुको अर्थ हो, अभिषिक्‍त मसीहीहरूमा अझै पनि वंशानुगत पापको खमिर थियो। तैपनि, येशूको छुडौतीको बलिदानको आधारमा तिनीहरू यहोवासामु जान सक्थे। (रोमी ५:१, २) दुई वटा रोटी किन? परमेश्‍वरका अभिषिक्‍त छोराहरू पहिले जन्मजात्‌ यहूदीहरूबाट र पछि अन्यजातिहरूबाट गरी अन्ततः दुई वटा समूहबाट छानिनेछन्‌ भनेर यसले देखाएको हुन सक्छ।—गलाती ३:२६-२९; एफिसी २:१३-१८.

१० पेन्तिकोसमा चढाइने दुई वटा रोटी गहुँको पहिलो फसलबाट बनाइन्थ्यो। त्यसै गरी, ती आत्मा-अभिषिक्‍त मसीहीहरूलाई “सृष्टिमध्येमा अगौटे फल” भनिएको छ। (याकूब १:१८) येशूको बगेको रगतको आधारमा सबैभन्दा पहिले पापको क्षमा पाउने तिनीहरू नै हुन्‌ र यसरी क्षमा पाइसकेपछि तिनीहरू स्वर्गमा अमर जीवन प्राप्त गरेर येशूसितै उहाँको राज्यमा शासन गर्न सक्छन्‌। (१ कोरिन्थी १५:५३; फिलिप्पी ३:२०, २१; प्रकाश २०:६) यस ओहदामा रहेर तिनीहरूले चाँडै नै ‘फलामको डण्डाले जाति जतिमाथि शासन गर्नेछन्‌’ र ‘शैतानलाई खुट्टामुनि कुल्चिनेछन्‌।’ (प्रकाश २:२६, २७; रोमी १६:२०) प्रेरित यूहन्‍नाले यसो भने: “थुमा जताजता जानुहुन्छ उहाँका पछिपछि लाग्ने यिनै हुन्‌। यिनीहरू परमेश्‍वरमा र थुमामा पहिला फलहरू हुनालाई मानिसहरूमध्येबाट किनिएका थिए।”—प्रकाश १४:४.

छुटकारालाई जोड दिने दिन

११, १२. (क) प्रायश्‍चितको दिनमा के गरिन्थ्यो? (ख) बाछो र बोकाहरूको बलिदानबाट इस्राएलीहरूले कस्तो लाभ उठाउँथे?

११ इथानिम (जसलाई पछि गएर तिशरी भनियो) c महिनाको दसौं दिनमा इस्राएलीहरूले मनाउने चाडले येशूले चढाउनुभएको छुडौतीको बलिदानका लाभहरू कसरी लागू हुनेछन्‌ भनेर पूर्वचित्रण गर्थ्यो। त्यो दिन अर्थात्‌ प्रायश्‍चितको दिनमा आफ्नो निम्ति बलिदान चढाएर पाप ढाक्न सारा राष्ट्र एक साथ जम्मा हुन्थ्यो।—लेवी १६:२९, ३०.

१२ प्रायश्‍चितको दिनमा प्रधान पूजाहारीले एउटा बाछो मार्थे र त्यसको केही रगत लिएर महा-पवित्रस्थानमा रहेको सन्दूकमाथि सात चोटि छर्कन्थे। यसले यहोवालाई रगत चढाएको कुरा संकेत गर्थ्यो। यो बलिदान प्रधान पूजाहारी, तिनको “घराना,” अरू पूजाहारी र लेवीहरूको पापको निम्ति थियो। त्यसपछि, प्रधान पूजाहारीले दुई वटा बोका लिन्थे। एउटा बोका मारेर तिनले “मानिसहरूका निम्ति” पापबलि चढाउँथे। तिनले यसको पनि केही रगत लिएर महा-पवित्रस्थानमा रहेको सन्दूकमाथि छर्किन्थे। त्यसपछि, प्रधान पूजाहारीले अर्को बोकाको टाउकोमाथि हात राखेर सारा इस्राएलीहरूको पाप स्वीकार्थे। अनि तिनले त्यस बोकालाई उजाडस्थानमा लगेर छोडिदिन लगाउँथे। यसरी प्रतीकात्मक अर्थमा त्यस बोकाले इस्राएल राष्ट्रको पाप बोकेर लैजान्थ्यो।—लेवी १६:३-१६, २१, २२.

१३. प्रायश्‍चितको दिनका घटनाहरूले कसरी येशूले खेल्नुहुने भूमिकालाई पूर्वचित्रण गर्थ्यो?

१३ ती विधि-विधानहरूले पूर्वचित्रण गरेझैं, पाप क्षमा गर्नको लागि महान्‌ प्रधान पूजाहारी येशूले आफ्नो जीवनरक्‍तको मोल चलाउनुहुन्छ। पहिलो, उहाँको रगतको मोलद्वारा १,४४,००० आत्मा-अभिषिक्‍त “आत्मिक” घराना धर्मी ठहरिएर सफा भई यहोवासामु जान सक्छन्‌। (१ पत्रुस २:५; १ कोरिन्थी ६:११) बाछोको बलिदानले यही कुरा पूर्वचित्रण गर्थ्यो। तिनीहरूको लागि स्वर्गमा आफ्नो उत्तराधिकार प्राप्त गर्ने बाटो खुलेको छ। दोस्रो, ख्रीष्टमाथि विश्‍वास राख्ने अरू लाखौं व्यक्‍तिहरूले पनि येशूको रगतबाट लाभ उठाउँछन्‌। बोकाको बलिदानले यही कुरा संकेत गर्छ। आदम र हव्वाले गुमाएको उत्तराधिकार तिनीहरूले फेरि प्राप्त गर्नेछन्‌ र पृथ्वीमा अनन्त जीवन पाउनेछन्‌। (भजन ३७:१०, ११) जीवित्‌ बोकाले प्रतीकात्मक अर्थमा इस्राएलीहरूको पाप बोकेर उजाडस्थानमा लगेजस्तै येशूले पनि आफ्नो बगेको रगतद्वारा मानिसहरूको पाप बोकेर लैजानुहुन्छ।—यशैया ५३:४, ५.

यहोवासामु हर्षित हुने

१४, १५. झूप्रो-बासको चाडमा के गरिन्थ्यो र यसले इस्राएलीहरूलाई कुन कुरा सम्झाउँथ्यो?

१४ प्रायश्‍चितको दिनपछि, इस्राएलीहरूले झूप्रो-बासको चाड मनाउँथे अनि यो चाड यहूदीहरूले वर्षभरि मनाउने चाडहरूमध्ये सबैभन्दा रमाइलो चाड थियो। (लेवी २३:३४-४३) यो चाड इथानिम महिनाको १५ औं दिनदेखि २१ औं दिनसम्म मनाइन्थ्यो अनि २२ औं दिनको औपचारिक महा-सभापछि टुङ्‌गिन्थ्यो। यो चाडले कटनी कार्य सिद्धिएको संकेत गर्थ्यो र परमेश्‍वरले देखाउनुभएको भलाइको लागि धन्यवाद दिने समय थियो। त्यसकारण, यहोवाले चाड मनाउनेहरूलाई यस्तो आज्ञा दिनुभयो: “परमप्रभु तिमीहरूका परमेश्‍वरले . . . तिमीहरूका उब्जनी र काम-काजमा तिमीहरूलाई आशिष दिनुहुनेछ। यसकारण तिमीहरू औधी हर्षित हुनेछौ।” (व्यवस्था १६:१५) त्यति बेला कत्ति रमाइलो हुन्थ्यो होला!

१५ चाडको अवधिभरि इस्राएलीहरू सात दिनसम्म झूप्रोमा बस्थे। यसले तिनीहरूलाई उजाडस्थानमा हुँदा झूप्रोमा बस्ने गरेको कुरा सम्झाउँथ्यो। यहोवाले बुबाले झैं मायालु हेरचाह गर्नुभएको कुरा सम्झने मौका पनि तिनीहरूले यस चाडमा पाउँथे। (व्यवस्था ८:१५, १६) के धनी के गरिब, सबै उस्तै झूप्रोमा बस्ने भएकोले चाडहरू मनाउने सन्दर्भमा सबै इस्राएलीहरू समान हुन्‌ भनेर सम्झने अवसर पनि पाउँथे।—नहेम्याह ८:१४-१६.

१६. झूप्रो-बासको चाडले कुन कुरालाई पूर्वचित्रण गर्थ्यो?

१६ झूप्रो-बासको चाड कटनीको समयमा मनाइन्थ्यो। एकै ठाउँमा जम्मा भएर रमाइलो गरिने यस चाडले येशू ख्रीष्टमाथि विश्‍वास गर्नेहरूलाई जम्मा पार्ने रमाइलो घटनालाई पूर्वचित्रण गर्थ्यो। इस्वी संवत्‌ ३३ पेन्तिकोसमा “पवित्र पूजाहारीगिरीको” भाग हुन येशूका १२० जना चेलाहरूलाई अभिषिक्‍त गरेपछि जम्मा गर्ने काम सुरु भयो। इस्राएलीहरू केही दिनको लागि झूप्रोमा बसेझैं, अभिषिक्‍त जनहरू पनि यस अभक्‍त संसारमा केही दिनका “प्रवासी[हरू]” मात्र हुन्‌ भनेर तिनीहरूलाई थाह छ। तिनीहरूसित स्वर्ग जाने आशा छ। (१ पत्रुस २:५, ११) अहिले “आखिरी दिनमा” १,४४,००० का अन्तिम सदस्यहरूलाई जम्मा पारेपछि अभिषिक्‍त जनहरूलाई जम्मा गर्ने काम सिद्धिन्छ।—२ तिमोथी ३:१.

१७, १८. (क) अभिषिक्‍त जनहरू बाहेक अरूले पनि येशूको बलिदानबाट लाभ उठाउनेछन्‌ भनेर कुन कुराले संकेत गर्छ? (ख) आज लाक्षणिक झूप्रो-बासको चाडबाट कसले लाभ उठाइरहेका छन्‌ र यो रमाइलो चाड कहिले चरमोत्कर्षमा पुग्नेछ?

१७ झूप्रो-बासको चाडमा ७० वटा बाछा चढाउने प्रचलन उल्लेखनीय छ। (गन्ती २९:१२-३४) बाइबलमा ७ संख्याले स्वर्गमा भएको कुनै कुराको पूर्णता र १० संख्याले पृथ्वीमा भएको कुराको पूर्णतालाई संकेत गर्ने हुनाले ७० अर्थात्‌ ७ गुणन १० ले स्वर्गमा र पृथ्वीमा भएका कुराहरूको पूर्णतालाई संकेत गर्छ। त्यसैकारण, येशूको बलिदानले नूहबाट आएको ७० परिवारका सबै विश्‍वासी जनहरूलाई लाभ पुऱ्‍याउनेछ। (उत्पत्ति १०:१-२९) यसैले हाम्रो समयमा जम्मा पार्ने काम अझ फैलिएर येशूमाथि विश्‍वास गर्ने र पार्थिव प्रमोदवनमा बाँच्ने आशा भएका सबै जातिहरूसम्म पुगेको छ।

१८ प्रेरित यूहन्‍नाले अहिले हाम्रो समयमा हुने जम्मा पार्ने कामबारे दर्शन देखेका थियो। पहिला, तिनले १,४४,००० का अन्तिम सदस्यहरूलाई छाप लगाउने कामबारे घोषणा भएको सुने। त्यसपछि तिनले “कसैले गन्‍न नसक्ने . . . एक ठूलो भीड . . . हातमा खजूरका हाँगाहरू लिएर” यहोवा र येशूसामु उभिरहेको देखे। तिनीहरू “महा संकष्टबाट” बचेर नयाँ संसारमा आएकाहरू हुन्‌। तिनीहरू पनि यस पुरानो रीतिरिवाजका अस्थायी बासिन्दाहरू मात्र हुन्‌। तिनीहरू ‘थुमा तिनीहरूका रखवाला हुने र तिनीहरूलाई जीवनका पानीहरूका फोहोरासम्म अगुवा भएर लाने’ समय पक्कै आउनेछ भनेर प्रतीक्षा गरिरहेका छन्‌। त्यति बेला, “परमेश्‍वरले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ।” (प्रकाश ७:१-१०, १४-१७) ख्रीष्टको हजार वर्षीय शासनको अन्तपछि ठूलो भीडले र पुनरुत्थान भएका विश्‍वासी जनहरूले अनन्त जीवन प्राप्त गरेपछि यो लाक्षणिक झूप्रो-बासको चाड चरमोत्कर्षमा पुग्नेछ।—प्रकाश २०:५.

१९. इस्राएलमा मनाइने चाडहरूबारे विचार गर्दा हामी कसरी लाभ उठाउँछौं?

१९ पुरातन यहूदी चाडहरूको अर्थबारे मनन गर्दा हामी पनि “औधी हर्षित” हुन सक्छौं। अदनमा गरिएको भविष्यवाणी कसरी पूरा हुनेछ भनेर यहोवाले पूर्वचित्रण दिनु कत्ति रोमाञ्चक कुरा! अनि बिस्तारै-बिस्तारै ती भविष्यवाणी साँच्चै पूरा भएको देख्न पाउनु झनै कत्ति रमाइलो। आज हामीलाई थाह छ, प्रतिज्ञा गरिएको सन्तान देखा परिसक्नुभएको छ अनि शैतानले त्यस सन्तानको कुर्कुच्चो पनि डसिसकेको छ। उहाँ अहिले स्वर्गमा राजा हुनुहुन्छ। साथै, १,४४,००० मध्ये अधिकांशले आफूलाई मृत्युसम्मै विश्‍वासी साबित गरिसकेका छन्‌। अब के हुन बाँकी छ? यो भविष्यवाणी पूर्ण रूपले पूरा हुन अब कति समय लाग्नेछ? अर्को लेखमा यसबारे छलफल गरिनेछ। (w 07 1/1)

[फुटनोटहरू]

a अहिलेको क्यालेन्डरमा निसान महिना मार्च/अप्रिलमा पर्छ।

b खमिर हालेका दुई वटा रोटी डोलाउँदा, अक्सर पूजाहारीले ती रोटीहरू आफ्नो दुवै हत्केलामाथि राख्थे र हात अलिकता माथि उठाएर डोलाउँथे। यसरी डोलाउनुले यहोवालाई बलिदान चढाएको कुरा चित्रण गर्थ्यो।—यहोवाका साक्षीहरूद्वारा प्रकाशित इन्साइट अन द स्क्रिप्चर्स, खण्ड २, पृष्ठ ५२८ हेर्नुहोस्‌।

c अहिलेको क्यालेन्डरमा इथानिम वा तिशरी महिना सेप्टेम्बर/अक्टोबरमा पर्छ।

के तपाईं बुझाउन सक्नुहुन्छ?

• निस्तार चाडमा खाइने पाठोले केलाई पूर्वचित्रण गर्थ्यो?

• पेन्तिकोसको चाडले जम्मा पार्ने कुन घटनालाई पूर्वचित्रण गर्थ्यो?

• येशूको बलिदानले पुऱ्‍याउने लाभ प्रायश्‍चितको दिनको कुन घटनाले देखाउँथ्यो?

• मसीहीहरूलाई जम्मा पार्ने कामलाई झूप्रो-बासको चाडले कसरी पूर्वचित्रण गर्छ?

[प्रश्‍नहरू]

[पृष्ठ २४, २५-मा भएको चार्ट]

(For fully formatted text, see publication)

घटना: पूर्वचित्रण:

निस्तार निसान १४ निस्तार चाडको थुमा मारिन्थ्यो येशूले बलिदान दिनुभयो

अखमिरे रोटीको चाड निसान १५ विश्राम दिन

(निसान १५-२१) निसान १६ गहुँको रोटी चढाइन्थ्यो येशूको पुनरुत्थान भयो

५० दिन

हप्ताहरूको चाड सिभान ६ दुई वटा रोटी चढाइन्थ्यो येशूले आफ्ना अभिषिक्‍त

(पेन्तिकोस) भाइहरूलाई यहोवासामु

लैजानुभयो

प्रायश्‍चितको दिन तिशरी १० एउटा बाछो र येशूले आफ्नो रगतको

दुई वटा बोका मोल सबै मानिसहरूको

चढाइन्थ्यो खातिर चढाउनुभयो

झूप्रो-बासको चाड तिशरी १५-२१ इस्राएलीहरू झूप्रोमा अभिषिक्‍त जनहरू र

बसेर रमाइलो गर्थे “ठूलो भीड” जम्मा पार्ने

अनि कटनी सिद्धिएकोमा काम

आनन्द मनाउँथे,

७० वटा बाछा

चढाउँथे

[पृष्ठ २३-मा भएका चित्रहरू]

निस्तार चाडको पाठोको रगतले झैं येशूको बगेको रगतले धेरैका लागि उद्धार प्रदान गर्छ

[पृष्ठ २४-मा भएका चित्रहरू]

निसान १६ मा चढाइने उब्जनीको पहिलो फलले येशूको पुनरुत्थानलाई पूर्वचित्रण गर्थ्यो

[पृष्ठ २५-मा भएका चित्रहरू]

पेन्तिकोसमा चढाइने दुई वटा रोटीले अभिषिक्‍त मसीहीहरूको मण्डलीलाई पूर्वचित्रण गर्थ्यो

[पृष्ठ २६-मा भएका चित्रहरू]

झूप्रो-बासको चाडले अभिषिक्‍त जनहरू र सबै जातिबाटको “एक ठूलो भीड” जम्मा पार्ने रमाइलो कामलाई पूर्वचित्रण गर्थ्यो