सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“परमप्रभुको भयानक दिन नजिकै छ”

“परमप्रभुको भयानक दिन नजिकै छ”

“परमप्रभुको भयानक दिन नजिकै छ”

“परमप्रभुको भयानक दिन नजिकै छ, नजिकै, त्यो चाँडै आउँदैछ।” —सपन्याह १:१४.

१, २. (क) मसीहीहरू कुन विशेष दिनलाई पर्खिरहेका छन्‌? (ख) हामीले कुन प्रश्‍नहरूको जवाफ खोज्नै पर्छ र किन?

 आफ्नो बिहे हुने दिन पर्खिरहेकी युवती। गर्भको बच्चालाई जन्म दिन इच्छुक मायालु आमा। धेरै समयपछि बिदा मनाउन आतुर थकित कामदार। यी तीनै जनामा मिल्दोजुल्दो कुरा के छ? तिनीहरू सबै एउटा विशेष दिनको प्रतीक्षामा छन्‌—एउटा यस्तो विशेष दिन, जसले तिनीहरूको जीवनमा ठूलो माने राख्छ। यी तीनै जनाको भावना अवश्‍य फरक—तर प्रबल छन्‌। एक न एक दिन तिनीहरूको प्रतीक्षाको घडी पूरा हुनेछ अनि तिनीहरू त्यसका लागि आफूलाई तयार राख्न चाहन्छन्‌।

आज साँचो मसीहीहरू पनि एउटा विशेष दिनलाई उत्सुकतापूर्वक पर्खिरहेका छन्‌। त्यो दिन हो, “परमप्रभुको दिन।” (यशैया १३:९; योएल २:१; २ पत्रुस ३:१२) तर “परमप्रभुको दिन” भनेको के हो र त्यो दिनले समस्त मानवजातिलाई कसरी असर गर्छ? अझ मुख्य कुरा, त्यो दिनको लागि हामी तयार छौं वा छैनौं कसरी थाह लगाउने? हामी सबैले यी प्रश्‍नहरूको जवाफ खोज्नै पर्छ। किनभने बाइबलको यो भविष्यवाणी पूरा हुँदैछ भनी प्रमाणहरूले देखाउन थालिसकेको छ: “परमप्रभुको भयानक दिन नजिकै छ, नजिकै, त्यो चाँडै आउँदैछ।”—सपन्याह १:१४.

“परमप्रभुको भयानक दिन”

३. “परमप्रभुको भयानक दिन” भनेको के हो?

“परमप्रभुको भयानक दिन” भनेको के हो? धर्मशास्त्र केलाएर हेर्ने हो भने, यहोवाले आफ्ना शत्रुहरूलाई दण्ड दिएर आफ्नो महान्‌ नाउँ उच्च पार्नुभएको विशेष समयलाई बुझाउन “परमप्रभुको दिन” भन्‍ने पदावली चलाएको पाउँछौं। यहूदा अनि यरूशलेमका विश्‍वासघाती मानिसहरूका साथै बाबेल अनि मिश्रका अत्याचारी बासिन्दाहरूलाई यहोवाले दण्ड दिनुहुँदा, तिनीहरू सबैले ‘परमप्रभुको दिनको’ स्वाद चाखे। (यशैया २:१, १०-१२; १३:१-६; यर्मिया ४६:७-१०) तथापि, यहोवाको सबैभन्दा “भयानक दिन” त आउन बाँकी नै छ। उहाँको नाउँ बदनाम गर्ने सबैलाई यहोवाले त्यस “दिन” दण्ड दिनुहुनेछ। झूटो धर्मको विश्‍वव्यापी साम्राज्य अर्थात्‌ “महान्‌ बेबिलोन[को]” विनाशबाट त्यो दिन सुरु हुनेछ र आरमागेडोनको युद्धमा बाँकी दुष्ट रीतिरिवाज नष्ट भएपछि त्यो दिन पूरा हुनेछ।—प्रकाश १६:१४, १६; १७:५, १५-१७; १९:११-२१.

४. द्रुत गतिले नजिक आइरहेको यहोवाको दिनसित धेरैजसो मानिसहरू किन डराउनुपर्ने हो?

धेरैजसो मानिसहरूले चाहून्‌ वा नचाहून्‌ तर द्रुत गतिले नजिक आइरहेको यहोवाको त्यस भयानक दिनदेखि उनीहरू डराउनुपर्ने हो। किन? अगमवक्‍ता सपन्याहमार्फत यहोवा यस्तो जवाफ दिनुहुन्छ: “त्यो दिन क्रोधको दिन हो, संकष्ट र दुःखको दिन, बर्बादी र उजाडको दिन, अँध्यारो र विरक्‍तको दिन, बादल र घोर अन्धकारको दिन।” सुन्दै कत्ति डरलाग्दो! तर कुरा सिद्धिएको छैन, सपन्याह अझ यसो भन्छन्‌: “म मानिसहरूमाथि संकष्ट ल्याउनेछु, . . . किनभने तिनीहरूले परमप्रभुको विरुद्धमा पाप गरेका छन्‌!”—सपन्याह १:१५, १७.

५. लाखौं मानिसहरूले यहोवाको दिनलाई कुन सकारात्मक दृष्टिले हेर्छन्‌ र किन?

तथापि, लाखौं मानिसहरू यहोवाको त्यस भयानक दिनका लागि आतुर छन्‌। किन? किनभने त्यो दिन धर्मीहरूले मुक्‍ति अनि छुटकारा पाउनेछन्‌; यहोवाको गौरव उच्च पारिनेछ र उहाँको महिमित नाउँ पवित्र तुल्याइनेछ भनेर तिनीहरूलाई थाह छ। (योएल ३:१६, १७; सपन्याह ३:१२-१७) यहोवाको त्यस भयानक दिन सम्झेर डरले थरथर काँप्ने हो वा खुसीले उफ्रने, त्यो मानिसहरूले अहिले बिताइरहेको जीवनमा भर पर्छ। यहोवाको दिनलाई तपाईं कुन दृष्टिले हेर्नुहुन्छ? के तपाईं त्यस दिनको लागि तयार हुनुहुन्छ? यहोवाको दिन उदाउनै लागेको छ भन्‍ने कुरा राम्ररी बुझ्नुभएको छ भनेर के तपाईंको कामबाट प्रकट भइरहेको छ?

‘गिल्ला गर्नेहरू गिल्ला गर्दै आउनेछन्‌’

६. ‘परमप्रभुको दिनलाई’ धेरैजसो मानिसहरू कसरी लिन्छन्‌ र तिनीहरूको त्यस्तो व्यवहार देखेर साँचो मसीहीहरू किन छक्क पर्दैनन्‌?

“परमप्रभुको दिन” द्रुत गतिले नजिक आइरहेको भए तापनि धेरैजसो मानिसहरू बेफिक्री भएर बसेका छन्‌। तिनीहरू उल्टो त्यस दिनबारे चेतावनी दिने मानिसहरूको गिल्ला गर्छन्‌। तर साँचो मसीहीहरू तिनीहरूको त्यस्तो व्यवहार देखेर छक्क पर्दैनन्‌। किनकि प्रेरित पत्रुसले पहिल्यै यसरी सचेत गराइसकेका छन्‌: “पहिलेनै यो जान, कि पछि-पछिका दिनहरूमा गिल्ला गर्नेहरू गिल्ला गर्दै, तिनीहरूका आफ्नै अभिलाषामा यसो भन्दै आउनेछन्‌, ‘उहाँको आगमनको प्रतिज्ञा कहाँ गयो? किनभने पिता-पुर्खाहरू मरेका दिनदेखिनै सृष्टिको शुरूदेखि जस्तैगरी सबै कुरा चलिआएका छन्‌।’ ”—२ पत्रुस ३:३, ४.

७. सधैं सचेत रहन कुन कुराले हामीलाई मदत गर्छ?

मानिसहरूको त्यस्तो नकारात्मक सोचाइको विरोध गर्न र आफूलाई सतर्क राख्न हामीलाई कुन कुराले मदत गर्छ? त्यसको जवाफ पत्रुस यसरी दिन्छन्‌: “तिमीहरूका निर्मल मनलाई सम्झना गराएर म जागृत गराउँछु, कि पवित्र अगमवक्‍ताहरूबाट अघाडिनै बोलिएका वचनहरू, र तिमीहरूका प्रेरितद्वारा दिएको प्रभु र मुक्‍तिदाताको आज्ञालाई तिमीहरूले सम्झनुपर्छ।” (२ पत्रुस ३:१, २) हो, हामीले भविष्यसूचक चेतावनीहरूलाई ध्यान दिएर आफ्नो ‘मनलाई जागृत’ गर्नुपर्छ। हामीले ती चेतावनीहरू धेरै पटक सुनिसक्यौं होला तैपनि त्यसलाई पहिलेभन्दा झन्‌ बढी ध्यान दिनै पर्छ।—यशैया ३४:१-४; लूका २१:३४-३६.

८. धेरैजसो मानिसहरू किन बाइबलले दिने सम्झौटोहरूलाई वास्तै गर्दैनन्‌?

तर किन केही मानिसहरू यस्ता चेतावनीहरूलाई वास्ता गर्दैनन्‌? त्यसको जवाफ पनि पत्रुस यसरी दिन्छन्‌: “परमेश्‍वरका वचनबाट स्वर्गहरू अघिदेखिनै थिए, र पृथ्वीचाहिं पानीबाट र पानीलेनै बनिएको हो भन्‍ने तिनीहरूले जानीबुझीकन पनि बिर्से, यसैबाट त्यस समयको संसार जलमय भएर नष्ट भएको थियो।” (२ पत्रुस ३:५, ६) हो, यहोवाको दिन आओस्‌ भनेर तिनीहरू चाहँदैनन्‌। तिनीहरू आफ्नो जीवनमा कुनै कुराले दखल दिएको मन पराउँदैनन्‌। आफूले बिताइरहेको स्वार्थी जीवनको यहोवाले लेखा लिनुभएको तिनीहरू चाहँदैनन्‌। पत्रुसले भनेझैं तिनीहरू यहोवाको दिन आउँदैछ भनेर ‘बिर्सन चाहन्छन्‌।’ अर्को शब्दमा भन्‍नुपर्दा तिनीहरू आफ्नै अभिलाषा पूरा गर्न मात्र बाँच्न चाहन्छन्‌।

९. नूह र लूतको समयका मानिसहरूले कस्तो मनोवृत्ति प्रकट गरिरहेका थिए?

यी गिल्ला गर्ने व्यक्‍तिहरू यहोवाले बितेको समयमा पनि हस्तक्षेप गर्नुभएको थियो भनेर सम्झन चाहँदैनन्‌। नूहको “दिन” अनि लूतको “दिन[बारे]” उल्लेख गरेर येशू ख्रीष्टले अनि पत्रुसले त्यसका दुई उदाहरण दिएका थिए। (लूका १७:२६-३०; २ पत्रुस २:५-९) नूहको समयमा जलप्रलय नआउन्जेल मानिसहरूले चेतावनीलाई वास्तै गरेनन्‌। त्यसै गरी, सदोम र गमोरा नाश हुनुअघि लूतका ज्वाइँहरूलाई लूतले “ठट्टा गरेजस्तो लाग्यो।”—उत्पत्ति १९:१४.

१०. चेतावनीको ख्यालै नगर्ने जतिलाई यहोवाले के गर्नुहुन्छ?

१० अहिले पनि मानिसहरूले त्यसै गरिरहेका छन्‌। तर त्यसरी चेतावनीको ख्यालै नगर्ने मानिसहरूलाई यहोवा के गर्नुहुन्छ, ध्यान दिनुहोस्‌: “ढुक्क भएर बसी आफ्ना हृदयमा ‘परमप्रभुले नता असल गर्नुहुन्छ न खराब गर्नुहुन्छ’ भन्‍ने मानिसहरूलाई पनि म सजाय दिनेछु। तिनीहरूका धन-सम्पत्ति लुटिनेछ र तिनीहरूका घर उजाड हुनेछन्‌। तिनीहरूले घर बनाए तापनि तिनमा बस्न पाउनेछैनन्‌। तिनीहरूले दाखबारी लगाए तापनि त्यसको मद्य खान पाउनेछैनन्‌।” (सपन्याह १:१२, १३) मानिसहरू सदाझैं आफ्नो कामधन्दामै व्यस्त होलान्‌ तर आफ्नो कडा मेहनतको फल भने सधैंभरि उपभोग गर्न पाउने छैनन्‌। किन? किनकि यहोवाको दिन कसैले नचिताएको बेला अचानक आउनेछ र त्यतिखेर तिनीहरूले थुपारिराखेको धन-सम्पत्तिले बचाउनेछैन।—सपन्याह १:१८.

“त्यसको बाटो हेर्दै बस्‌”

११. हामीले कुन सल्लाह कहिल्यै बिर्सनुहुँदैन?

११ अगमवक्‍ता हबकूकले दिएको यस सल्लाहलाई यस दुष्ट संसारका मानिसहरूले जस्तै हामीले बिर्सनुहुँदैन: “त्यो दर्शन ठहराएको समयमा पूरा हुनेछ, त्यो पूरा हुने बेला चाँडै आउँदैछ, त्यसले धोका दिंदैन। त्यो पूरा हुनु ढीलो भए तापनि त्यसको बाटो हेर्दै बस्‌, किनभने त्यो निश्‍चय पूरा हुनेछ, त्यसले ढीलो गर्नेछैन।” (हबकूक २:३) हाम्रो असिद्ध सोचाइको कारण यहोवाको दिनले ढिलो गरेजस्तो लागे तापनि वास्तवमा यहोवाले कहिल्यै ढिलासुस्ती गर्नुहुन्‍न भनेर हामीले सम्झिरहनुपर्छ। मानिसहरूले नचिताएको बेला यहोवाको दिन त्यसको आफ्नै समयमा रत्तिभर ढिलो नगरी आउनेछ।—मर्कूस १३:३३; २ पत्रुस ३:९, १०.

१२. येशूले के चेतावनी दिनुभयो र येशूका वफादार चेलाहरू भने कसरी फरक छन्‌?

१२ यहोवाको दिनलाई सतर्क भएर पर्खिरहनु कत्तिको आवश्‍यक छ भनेर जोड दिंदै उहाँका केही चेलाहरू समेत सुस्त हुनेछन्‌ भनेर येशूले चेतावनी दिनुभयो। त्यस्ता चेलाहरूबारे उहाँले यस्तो अगमवाणी गर्नुभयो: “त्यस दुष्ट नोकरले मेरा मालिक बियाँलो गर्छन्‌ भनी मनमा ठानी, आफ्ना साथी नोकरहरूलाई पिट्‌न, र मतवालाहरूसित खान र पिउन लाग्यो भने, त्यस नोकरको मालिक, त्यसले आशा नगरेको दिन र नसम्झेको समयमा, आइपुग्नेछ। औ उसले त्यसलाई टुक्राटुक्रा पारी काट्‌नेछ।” (मत्ती २४:४८-५१) यसको ठीक विपरीत, विश्‍वासी र बुद्धिमान्‌ दास भने येशू ख्रीष्टप्रति वफादार भएर सधैं जागा रहन्छन्‌। विश्‍वासी दास वर्ग आफूलाई सतर्क राखेर यहोवाको दिनका लागि तयार भएर बसेका छन्‌। त्यसैले त, येशूले उनीहरूलाई आफ्नो “सारा सम्पत्तिमाथि नियुक्‍त” गर्नुभएको छ।—मत्ती २४:४२-४७.

किन सतर्क हुने

१३. मसीहीहरू सतर्क रहनुपर्छ भनेर येशूले कसरी जोड दिनुभयो?

१३ प्रथम शताब्दीका मसीहीहरू सर्तक हुनै पर्थ्यो। “यरूशलेमलाई फौजले घेरेको” देख्ने बित्तिकै तिनीहरू तुरुन्तै भागिहाल्नुपर्थ्यो। (लूका २१:२०, २१) येशूले भन्‍नुभएझैं इस्वी संवत्‌ ६६ मा रोमी फौजले यरूशलेमलाई घेऱ्‍यो। त्यसो हुने बित्तिकै मसीहीहरू कत्तिको सतर्क हुनुपर्थ्यो भन्‍ने विषयमा येशूले के भन्‍नुभयो, ध्यान दिनुहोस्‌: “कौसीमा हुनेहरू आफ्ना घरमा भएका केही निकाल्नलाई तल नझरून्‌ खेतबारीमा हुने आफ्नो खाष्टो लिनलाई फर्की नआऊन्‌।” (मत्ती २४:१७, १८) इतिहासअनुसार इस्वी संवत्‌ ६६ पछि अर्को ४ वर्ष बितिसक्दा पनि यरूशलेम नष्ट भएको थिएन। उसोभए मसीहीहरूले त्यसरी किन तुरुन्तै कदम चालिहाल्नुपऱ्‍यो?

१४, १५. यरूशलेमलाई रोमी फौजले घेरेको देख्ने बित्तिकै प्रथम शताब्दीका मसीहीहरू किन भागिहाल्नुपर्थ्यो?

१४ हो, रोमी फौजले इस्वी संवत्‌ ७० मा मात्र यरूशलेमको विनाश गरेका थिए। तैपनि इस्वी संवत्‌ ६६ देखि ७० बीचको ४ वर्ष भने शान्तिपूर्वक बितेका थिएनन्‌। ती वर्षहरू हिंसा अनि रक्‍तपातले भरिएका थिए। एक जना इतिहासकारअनुसार यरूशलेममा त्यतिखेर “डरलाग्दो अनि रक्‍तरञ्जित गृहयुद्ध चलिरहेको थियो। सहरमा क्रूरताले पराकाष्ठा नाघिरहेको थियो।” युवकहरूलाई धमाधम भर्ती गरेर मोर्चा बलियो बनाउने, हतियारधारी सेना जम्मा गर्ने काम भइरहेको थियो। सहरभित्र दिनहुँ सैन्य अभ्यास भइरहन्थ्यो। रोमी सरकार विरुद्ध जाइलाग्ने यस्तो चरम कदमको समर्थन नगर्ने जतिलाई देशद्रोही ठानिन्थ्यो। तसर्थ, इस्वी संवत्‌ ६६ मा भागेर नगई यरूशलेममै बसिरहेको भए मसीहीहरूले आफूलाई कत्ति डरलाग्दो परिस्थितिमा होम्ने थिए, कल्पना गर्नुहोस्‌ त।—मत्ती २६:५२; मर्कूस १२:१७.

१५ विचार गर्नुपर्ने अर्को कुरा के छ भने, येशूले यरूशलेमका साथै “यहूदियामा हुनेहरू” समेत भाग्नू भनेर चेतावनी दिनुभएको थियो। यहूदियामा हुनेहरूले येशूको चेतावनी सुन्‍नु आवश्‍यक थियो। किनकि इस्वी संवत्‌ ६६ मा यरूशलेम छोडेर गएको केही महिनाभित्रै रोमी फौजले फेरि युद्धको बिगुल फुके। तिनीहरूले सबैभन्दा पहिला इस्वी संवत्‌ ६७ मा गालील कब्जा गरे र लगत्तै अर्को वर्ष योजनाबद्ध ढंगले यहूदियालाई आफ्नो हातमा लिए। रोमीहरूको फौजी कारबाहीले गर्दा यरूशलेम छेउछाउका मानिसहरूलाई हुनसम्मको दुःख भयो। यरूशलेमवासीहरूलाई पनि सहर छोडेर भाग्न झनै गाह्रो हुन थाल्यो। सहर भित्रबाहिर गर्ने ढोकामा हरबखत पहरा दिइन्थ्यो। सहरबाट भाग्न खोज्ने व्यक्‍तिलाई रोमीहरूको समर्थन गर्न खोज्ने भगौटे ठानिन्थ्यो।

१६. प्रथम शताब्दीका मसीहीहरूले आउनै लागेको विपत्तिबाट जोगिन कस्तो मनोवृत्ति देखाउन आवश्‍यक थियो?

१६ यी सबै कुराहरूलाई विचार गर्दा येशूले किन सतर्क रहन जोड दिनुभएको रहेछ, हामी सजिलै बुझ्न सक्छौं। प्रथम शताब्दीका मसीहीहरू सारा भौतिक सुख-सुविधालाई चटक्कै बिर्सेर हिंड्‌न इच्छुक हुनुपर्थ्यो। येशूले भन्‍नुभएझैं ‘आफूसँग भएका सबै त्याग्न’ तिनीहरू तयार हुनुपर्थ्यो। (लूका १४:३३) प्रथम शताब्दीमा ज-जसले येशूको चेतावनी सुनेर तुरुन्तै यर्दनपारि भागे, उनीहरूले आफ्नो ज्यान जोगाए।

सतर्क भइरहने

१७. हामी किन पहिलेभन्दा झन्‌ सतर्क हुनुपर्छ?

१७ हामी अहिले वर्तमान रीतिरिवाजको अन्तको नजिकै छौं भनेर बाइबलका भविष्यवाणीहरूले प्रस्ट पारिसकेको छ। तसर्थ, हामी पहिलेभन्दा झन्‌ चनाखो हुनु आवश्‍यक छ। उदाहरणका लागि, लडाइँ नचलेको बेला सिपाहीले कुनै तनाव वा खतरा महसुस त गर्दैन, तर ऊ सतर्क भएर बसेन भने के हुन्छ? शत्रुले एक्कासी आक्रमण गरिहाल्यो भने, तुरुन्तै प्रतिकार गर्न सक्दैन, फलतः उसले ज्यान गुमाउन पनि सक्छ। आध्यात्मिक तवरमा पनि त्यही कुरा लागू हुन्छ। हामी सतर्क हुन छोड्यौं भने हामी माथि हुनसक्ने आक्रमणहरूबाट बच्न गाह्रो पर्छ। अचानक हामीले नसोचेको बेला यहोवाको दिन आउँदा हामी अक्क न बक्क पर्न सक्छौं। (लूका २१:३६; १ थिस्सलोनिकी ५:४) यदि कसैले यहोवाको ‘पछि लाग्न छोडेर फर्कि गएका’ छन्‌ भने यहोवालाई फेरि खोज्ने समय अहिल्यै हो।—सपन्याह १:३-६; २ थिस्सलोनिकी १:८, ९.

१८, १९. “परमेश्‍वरको त्यस दिनको बाटो हेर्दै” बस्न हामीलाई कुन कुराले मदत गर्नेछ?

१८ त्यसैकारण प्रेरित पत्रुसले “परमेश्‍वरको त्यस दिनको बाटो हेर्दै” बस्ने सल्लाह दिए। हामी कसरी त्यसो गर्न सक्छौं? एउटा तरिका त “पवित्र जीवन र भक्‍तिमा” व्यस्त हुनु हो। (२ पत्रुस ३:११, १२) यस्ता गतिविधिहरूमा व्यस्त भयौं भने उत्सुकतापूर्वक “परमप्रभुको दिन” पर्खन हामीलाई सजिलो हुन्छ। “परमेश्‍वरको त्यस दिनको बाटो हेर्दै” भनेर अनुवाद गरिएको युनानी शब्दको ठेट अर्थ “छिटो गर्नु वा गराउनु” हुन्छ। हुन त, हामी यहोवाको दिनलाई छिटो ल्याउन सक्दैनौं। तर यहोवाको सेवामा व्यस्त भइरह्‍यौं भने त्यो दिन छिट्टै आइपुगेको जस्तो हामीलाई लाग्नेछ।—१ कोरिन्थी १५:५८.

१९ त्यसै गरी परमेश्‍वरको वचन मनन गरेर अनि त्यसमा भएका सम्झौटोहरूलाई मनमा खेलाइ राखेर पनि परमेश्‍वरको दिन ‘प्रतीक्षा गर्न र त्यस दिनलाई नजिक ल्याउन’ सक्नेछौं। (२ पत्रुस ३:१२, NRV) परमेश्‍वरको वचनमा पाइने यस्ता सम्झौटोहरूमा त्यस्ता अनगन्ती भविष्यवाणीहरू पनि पर्छन्‌, जसले यहोवाको दिनबारे बताउनुका साथै त्यस दिन ‘पर्खेर’ बस्ने जतिले पाउने प्रचुर आशाबारे पनि बताउँछ।—सपन्याह ३:८.

२०. हामीले कुन प्रोत्साहनलाई हृदयदेखि स्वीकारिहाल्नुपर्छ?

२० अगमवक्‍ता सपन्याहमार्फत यहोवाले दिनुभएको यस प्रोत्साहनलाई हामी सबैले हृदयदेखि स्वीकार्ने समय अहिल्यै हो: “परमप्रभुको भयंकर रीस तिमीहरूमाथि आउन अघिनै, परमप्रभुको रीसको दिन तिमीहरूमाथि आउन अघिनै जम्मा होऊ। हे पृथ्वीका दीन जन हो, जसले उहाँको न्यायको वचन पालन गरेको छ, परमप्रभुको खोजी गर। धार्मिकता खोज, नम्रता खोज, परमप्रभुको रीसको दिनमा सायद तिमीहरूले शरण पाउँछौ कि।”—सपन्याह २:२, ३.

२१. यहोवाका जनहरूले सन्‌ २००७ मा के गर्ने निर्णय गरेका छन्‌?

२१ हामीले अहिले भर्खरै चर्चा गरेका विभिन्‍न कारणहरूले गर्दा, सन्‌ २००७ का लागि उपयुक्‍त वार्षिक पद छानिएको छ। त्यो हो: “परमप्रभुको भयानक दिन नजिकै छ।” यहोवाको दिन “नजिकै” मात्र होइन “चाँडै आउँदैछ” भन्‍ने कुरामा यहोवाका जनहरू विश्‍वस्त छन्‌। (सपन्याह १:१४) “त्यसले ढीलो गर्नेछैन।” (हबकूक २:३) तसर्थ, यी भविष्यवाणी पूरा हुने समय अब असाध्यै नजिकै छ भन्‍ने कुरा मनमा राख्दै हामी सतर्क भई यहोवाको दिनलाई पर्खौं! (w 06 12/15)

के तपाईं जवाफ दिन सक्नुहुन्छ?

• “परमप्रभुको भयानक दिन” भनेको के हो?

• धेरैजसो मानिसहरू किन यहोवाको दिनलाई वास्तै गर्दैनन्‌?

• प्रथम शताब्दीका मसीहीहरूले किन सतर्क भएर तुरुन्तै कदम चालिहाल्नुपर्थ्यो?

• हामी कसरी पहिले भन्दा अझ सतर्क हुन सक्छौं?

[प्रश्‍नहरू]

[पृष्ठ ११-मा भएको ठूलो अक्षरको क्याप्सन]

सन्‌ २००७ का लागि वार्षिक पद: “परमप्रभुको भयानक दिन नजिकै छ।”—सपन्याह १:१४.

[पृष्ठ ९-मा भएका चित्रहरू]

गिल्ला गर्ने मानिसहरूमाथि नूहको समयमाजस्तै अचानक यहोवाको दिन आइपर्नेछ

[पृष्ठ १०-मा भएको चित्र]

यरूशलेमलाई “फौजले घेरेको” देख्ने बित्तिकै मसीहीहरू त्यहाँबाट तुरुन्तै भागिहाल्नुपर्थ्यो