सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“पहिलो पुनरुत्थान”—अहिले भइरहेको छ!

“पहिलो पुनरुत्थान”—अहिले भइरहेको छ!

“पहिलो पुनरुत्थान”—अहिले भइरहेको छ!

“ख्रीष्टमा मर्नेहरूचाहिं पहिले बिउँतनेछन्‌।”—१ थिस्सलोनिकी ४:१६.

१, २. मरेकाहरूको लागि के आशा छ? (ख) कुन आधारमा तपाईं पुनरुत्थानमाथि विश्‍वास गर्नुहुन्छ? (पादटिप्पणी हेर्नुहोस्‌।)

 जिउँदाहरूले हामी मर्नेछौं भनी जान्दछन्‌।” आदमले पाप गरेदेखि यता मृत्यु मानव जीवनको अभिन्‍न भागको रूपमा रहिआएको छ। सबैलाई थाह छ, जन्मेपछि एक न एक दिन मर्नै पर्छ। त्यसैले थुप्रैले यस्ता प्रश्‍नहरू गरेका छन्‌: ‘मरेपछि के हुन्छ होला? मरेकाहरू कस्तो अवस्थामा हुन्छन्‌?’ बाइबल यस्तो जवाफ दिन्छ: “मरेकाहरूले ता केही पनि जान्दैनन्‌।”—उपदेशक ९:५.

त्यसो भए, मरेकाहरूको लागि कुनै आशा छैन त? पक्कै छ। भन्‍ने नै हो भने मरेकाहरूको लागि कुनै आशा नहुने हो भने परमेश्‍वरले मानवजाति सृष्टि गर्नुको उद्देश्‍य पूरा हुन सक्दैन। शताब्दीयौंको दौडान, परमेश्‍वरका वफादार सेवकहरू शैतानलाई नाश गर्ने र त्यसले पुऱ्‍याएको क्षतिलाई हटाउने सन्तानबारे यहोवाको प्रतिज्ञामाथि भरोसा गर्दै आएका छन्‌। (उत्पत्ति ३:१५) ती वफादार सेवकहरूमध्ये अधिकांशको मृत्यु भइसक्यो। यदि तिनीहरू सधैं मृत अवस्थामा रहने हो भने यो प्रतिज्ञाका साथै यहोवाका अन्य प्रतिज्ञाहरू पूरा भएको कहिल्यै देख्न पाउनेछैनन्‌। त्यसैले तिनीहरूको पुनरुत्थान हुनै पर्छ। (हिब्रू ११:१३) तर के यो सम्भव छ? पक्कै छ। प्रेरित पावलले यसो भने: “धर्मी र अधर्मीहरू समेतको पुनरुत्थान हुन्छ।” (प्रेरित २४:१५) एक चोटि पावल आफैले युटाइकस नाउँका युवकको पुनरुत्थान गरेका थिए। युटाइकस तीन तला माथिबाट खसेर ‘मरेको थियो।’ बाइबलमा उल्लेख गरिएका नौ वटा पुनरुत्थानमध्ये यो सबैभन्दा अन्तिम हो।—प्रेरित २०:७-१२. a

३. यूहन्‍ना ५:२८, २९ मा लिपिबद्ध येशूका शब्दहरूबाट तपाईंले व्यक्‍तिगत रूपमा कस्तो सान्त्वना पाउनुभएको छ र किन?

ती नौ वटा पुनरुत्थानले पावलले बताएका कुरामाथि विश्‍वास राख्ने आधार दिन्छ। ती पुनरुत्थानहरूले येशूको यस आश्‍वासनमाथि हाम्रो भरोसा अझ बढाउँछ: “बेला आउँछ, जब चिहानमा हुनेहरू सबैले [येशूको] सोर सुन्‍नेछन्‌। औ . . . निस्किआउनेछन्‌।” (यूहन्‍ना ५:२८, २९) कस्तो हृदयस्पर्शी विवरण! अनि मृत्युले गर्दा आफ्नो प्रियजनसित बिछोडिएका लाखौं परिवारहरूको लागि कस्तो सान्त्वना!

४, ५. बाइबलले कुन-कुन पुनरुत्थानबारे बताउँछ र यस लेखमा कुन चाहिं पुनरुत्थानबारे छलफल गरिनेछ?

अधिकांशको पुनरुत्थान परमेश्‍वरको राज्य आएपछि शान्तिमय पृथ्वीमा हुनेछ। (भजन ३७:१०, ११, २९; यशैया ११:६-९; ३५:५, ६; ६५:२१-२३) तथापि, त्यसअघि अरू पुनरुत्थानहरू पनि हुनुपर्छ। सबैभन्दा पहिला, आफ्नो बलिदानको मोल परमेश्‍वरसामु प्रस्तुत गर्न येशू ख्रीष्टको पुनरुत्थान हुनुपर्छ। इस्वी संवत्‌ ३३ मा येशूको मृत्यु र पुनरुत्थान भयो।

त्यसपछि, “परमेश्‍वरका इस्राएल[का]” अभिषिक्‍त सदस्यहरूको पनि पुनरुत्थान हुनै पर्छ। किनकि तब मात्र उनीहरू स्वर्गमा प्रभु येशू ख्रीष्ट जस्तै महिमित हुन र “सधैं प्रभुकै साथमा” रहन सक्नेछन्‌। (गलाती ६:१६; १ थिस्सलोनिकी ४:१७) यस घटनालाई “पहिलो पुनरुत्थान” भनिन्छ। (प्रकाश २०:६) यो पुनरुत्थान सिद्धिएपछि लाखौं मानिसहरूको पार्थिव प्रमोदवनमा पुनरुत्थान हुनेछ र अनन्त जीवन पाउनेछन्‌। त्यसैले, चाहे हाम्रो आशा स्वर्गमा होस्‌ वा पृथ्वीमा, हामी “पहिलो पुनरुत्थानमा” गहिरो चासो लिन्छौं। यो कस्तो खालको पुनरुत्थान हो? अनि कहिले हुन्छ?

“कस्तो किसिमको शरीर?”

६, ७. (क) अभिषिक्‍त मसीहीहरू स्वर्ग जानुअघि के हुनै पर्छ? (ख) पुनरुत्थान हुँदा तिनीहरूले कस्तो किसिमको शरीर पाउनेछन्‌?

कोरिन्थीहरूलाई लेखेको प्रथम पत्रमा पावल पहिलो पुनरुत्थानबारे यस्तो प्रश्‍न सोध्छन्‌: “मरेकाहरू कसरी बिउँतन्छन्‌ र? र तिनीहरू कस्तो किसिमको शरीर लिएर आउँछन्‌?” यस प्रश्‍नको जवाफ तिनी आफै यसरी दिन्छन्‌: “जे तिमी छर्दछौ त्यो नमरीकन सजीव हुँदैन। . . . तर परमेश्‍वरले आफूलाई खुशी लागेबमोजिम त्यसलाई एउटा शरीर दिनुहुन्छ, . . . दैविक शरीरको तेज एक किसिमको छ, औ लौकिक शरीरको तेज अर्कै किसिमको।”—१ कोरिन्थी १५:३५-४०.

पावलको भनाइअनुसार पवित्र आत्माद्वारा अभिषिक्‍त मसीहीहरूले स्वर्गमा आफ्नो इनाम प्राप्त गर्नुअघि तिनीहरू मर्नै पर्छ। मृत्युपछि तिनीहरूको पार्थिव शरीर माटोमा फर्कन्छ। (उत्पत्ति ३:१९) परमेश्‍वरले तोक्नुभएको समयमा तिनीहरूको पुनरुत्थान हुनेछ र स्वर्गमा जीवन बिताउन मिल्ने खालको शरीर तिनीहरूलाई दिइनेछ। (१ यूहन्‍ना ३:२) परमेश्‍वरले तिनीहरूलाई अमरत्व पनि दिनुहुन्छ। यो तिनीहरूले जन्मजात पाएको उपहार होइन। पावलअनुसार ‘मरणशीलले अमर रूप धारण गर्छ’ अर्थात्‌ अमरत्व, परमेश्‍वरले पहिलो पुनरुत्थानमा भाग पाउनेहरूलाई दिनुभएको वरदान हो।—१ कोरिन्थी १५:५०, ५३; उत्पत्ति २:७; २ कोरिन्थी ५:१, २, ८.

८. परमेश्‍वरले १,४४,००० का सदस्यहरू विभिन्‍न धर्मबाट रोज्नुहुन्‍न भनेर हामी कसरी भन्‍न सक्छौं?

एक लाख चवालीस हजारको मात्र पहिलो पुनरुत्थान हुनेछ। येशूको पुनरुत्थान भएको केही समयपछि नै अर्थात्‌ इस्वी संवत्‌ ३३ पेन्तिकोसदेखि यहोवाले तिनीहरूलाई रोज्न थाल्नुभयो। तिनीहरू सबैको निधारमा “[येशूको] नाउँ र उहाँका पिताको नाउँ” लेखिएको छ। (प्रकाश १४:१, ३) त्यसकारण, तिनीहरू विभिन्‍न धर्मबाट रोजिएका नभई एउटै धर्मका हुन्‌ भन्‍न सकिन्छ। तिनीहरू सबै ख्रीष्टका अनुयायीहरू हुन्‌ र गर्वका साथ पिता, यहोवाको नाउँ धारण गर्छन्‌। पुनरुत्थान भएपछि तिनीहरूले स्वर्गमा जिम्मेवारी पाउँछन्‌। यसरी यहोवाकै सामने रहेर उहाँको सेवा गर्ने प्रत्याशाबारे कल्पना गर्दा मात्र पनि तिनीहरू गद्‌गद हुन्छन्‌।

अहिले भइरहेको छ र?

९. पहिलो पुनरुत्थान सुरु हुने समय अनुमान लगाउन प्रकाश १२:७ र १७:१४ ले हामीलाई कसरी मदत गर्छ?

पहिलो पुनरुत्थान कहिले हुन्छ? यो पुनरुत्थान अहिले नै भइरहेको छ भन्‍ने ठोस प्रमाण छ। उदाहरणका लागि, प्रकाशको पुस्तकका दुई वटा अध्याय तुलना गरेर हेर्नुहोस्‌। पहिले, प्रकाशको अध्याय १२ हेर्नुहोस्‌। त्यहाँ लेखिएअनुसार नवनियुक्‍त राजा येशू ख्रीष्ट र उहाँका पवित्र दूतहरूले शैतान र त्यसका प्रेतहरूसित लडाइँ गर्छन्‌। (प्रकाश १२:७-९) यस पत्रिकाले बारम्बार बताउँदै आएजस्तै त्यो लडाइँ सन्‌ १९१४ मा सुरु भयो। b तर याद गर्नुहोस्‌, स्वर्गमा त्यो लडाइँ हुँदा ख्रीष्टका अभिषिक्‍त अनुयायीहरू येशूसित थिए भनिएको छैन। अब प्रकाशको अध्याय १७ हेर्नुहोस्‌। त्यहाँ बताइएअनुसार “महान्‌ बेबिलोन[को]” विनाशपछि थुमाले राष्ट्रहरूलाई जित्नुहुनेछ। साथै, त्यहाँ यसो पनि भनिएको छ: “बोलावट भएका, चुनिएका र विश्‍वासीहरू जो उहाँका साथमा आउँछन्‌, उनीहरूले पनि तिनीहरूलाई जित्नेछन्‌।” (प्रकाश १७:५, १४) शैतानको संसारलाई सदाको लागि जित्दा “बोलावट भएका, चुनिएका र विश्‍वासीहरू” येशूसितै हुने हो भने तिनीहरूको पुनरुत्थान भइसकेको हुनुपर्छ। त्यसैले, आरमागेडोन अगाडि मर्ने अभिषिक्‍त जनहरू सन्‌ १९१४ देखि आरमागेडोनबीचको समयावधिमा पुनरुत्थान हुन्छन्‌ भन्‍नु तार्किक छ।

१०, ११. (क) चौबीस धर्म-गुरु को हुन्‌ र तिनीहरूमध्ये एक जनाले यूहन्‍नालाई कुन कुरा प्रकट गर्छन्‌? (ख) यसबाट हामी कस्तो निष्कर्षमा पुग्न सक्छौं?

१० पहिलो पुनरुत्थान सुरु हुने समय अझ किटेरै भन्‍न सकिन्छ कि? प्रकाश ७:९-१५ मा यसबारे रोचक संकेत पाइन्छ। यी पदहरूमा बताइएअनुसार प्रेरित यूहन्‍नाले दर्शनमा “कसैले गन्‍न नसक्ने . . . एक ठूलो भीड” देख्छन्‌। चौबीस धर्म-गुरुमध्ये एक जनाले यूहन्‍नालाई यो ठूलो भीडको परिचय दिन्छन्‌। यी धर्म-गुरुहरूले ख्रीष्टसित स्वर्गीय महिमा प्राप्त गर्ने १,४४,००० सहशासकहरूलाई संकेत गर्छ। c (लूका २२:२८-३०; प्रकाश ४:४) यूहन्‍नाको पनि स्वर्गीय आशा थियो तर धर्म-गुरुसित बोल्दा तिनी पृथ्वीमै थिए। त्यस दर्शनमा यूहन्‍नाले स्वर्गीय इनाम प्राप्त गर्न बाँकी अर्थात्‌ शेष अभिषिक्‍त जनहरूलाई संकेत गरेको हुनुपर्छ।

११ त्यसो भए, २४ धर्म-गुरुमध्ये एक जनाले यूहन्‍नालाई ठूलो भीडको परिचय दिएको विवरणबाट हामी कस्तो निष्कर्षमा पुग्न सक्छौं त? अहिले परमेश्‍वरले बताउनुहुने सत्य कुराहरू हामीसम्म पुऱ्‍याउने काममा पुनरुत्थान भएर स्वर्ग गइसकेका २४ धर्मगुरुको समूहका सदस्यहरू सामेल छन्‌ जस्तो देखिन्छ। अनि यो तथ्य अर्थपूर्ण छ। किन? किनकि पृथ्वीमा भएका अभिषिक्‍त जनहरूले ठूलो भीडको सही परिचय सन्‌ १९३५ मा पाएका थिए। यो महत्त्वपूर्ण सत्य प्रकट गर्न २४ धर्म-गुरुमध्ये एक जनालाई चलाइएको थियो भने सन्‌ १९३५ भन्दा अघि नै स्वर्गमा तिनको पुनरुत्थान भइसकेको हुनुपर्छ। यसले के संकेत गर्छ भने, पहिलो पुनरुत्थान सन्‌ १९१४ देखि सन्‌ १९३५ बीचको समयावधिमा सुरु भएको थियो। त्यो समय अझै किटेर भन्‍न सकिन्छ कि?

१२. पहिलो पुनरुत्थान सन्‌ १९१८ को अप्रिलदेखि सुरु भएको हुन सक्छ भनेर किन भन्‍न सकिन्छ, वर्णन गर्नुहोस्‌।

१२ यसको लागि बाइबलमा पाइने एउटा समानान्तर विवरण विचार गर्नु बेस हुन सक्छ। इस्वी संवत्‌ २९ को अक्टोबरमा येशू ख्रीष्टलाई परमेश्‍वरको राज्यको भावी राजाको रूपमा अभिषिक्‍त गरिएको थियो। यसको साढे तीन वर्षपछि, इस्वी संवत्‌ ३३ को अप्रिलमा शक्‍तिशाली आत्मिक व्यक्‍तिको रूपमा उहाँको पुनरुत्थान भयो। त्यसैले, सन्‌ १९१४ को अक्टोबरमा येशू राजा हुनुभएको तथ्यलाई मनमा राख्दै, उहाँका विश्‍वासी अभिषिक्‍त अनुयायीहरूको पुनरुत्थान त्यसको साढे तीन वर्षपछि अर्थात्‌ सन्‌ १९१८ को अप्रिलमा सुरु भयो भन्‍न सकिन्छ कि? यो एउटा रोमाञ्चक सम्भावना हो। हुन त यसलाई बाइबलबाट सीधै प्रमाणित गरेर देखाउन सकिंदैन तैपनि ख्रीष्टको उपस्थितिको लगत्तै पहिलो पुनरुत्थान सुरु हुनेछ भनेर संकेत गर्ने अरू शास्त्रपदहरूसित यो अनुमान मेल खान्छ।

१३. ख्रीष्टको उपस्थितिको प्रारम्भतिरै पहिलो पुनरुत्थान सुरु भयो भनेर १ थिस्सलोनिकी ४:१५-१७ ले कसरी देखाउँछ?

१३ उदाहरणका लागि, पावलले यस्तो लेखे: “हामी जो जीवित छौं र प्रभुको आगमनसम्म बाँचिरहन्छौं, कुनै किसिमले पनि मरेकाहरूलाई उछिन्‍नेछैनौं। किनभने ठूलो शब्दले, प्रधान दूतको आवाज र परमेश्‍वरको तुरहीको साथ प्रभु आफै स्वर्गबाट ओर्लनुहुनेछ, र ख्रीष्टमा मर्नेहरूचाहिं पहिले बिउँतनेछन्‌। तब हामी जिउँदा र बाँचिरहेकाहरू पनि प्रभुलाई आकाशमा भेट्‌नलाई तिनीहरूका साथसाथै बादलमा भेट्‌न जानेछौं, र यसरी हामी सधैं प्रभुकै साथमा रहनेछौं।” (१ थिस्सलोनिकी ४:१५-१७) “प्रभुको आगमनसम्म” भन्‍ने पदावलीलाई मौलिक युनानी भाषामा “प्रभुको उपस्थितिसम्म” भनिएको छ। तर याद गर्नुहोस्‌, पावलले यहाँ प्रभुको उपस्थितिको अन्तसम्म भनेका छैनन्‌। त्यसैले, ख्रीष्टको उपस्थिति सुरु हुनुभन्दा अघि नै मरेका अभिषिक्‍त मसीहीहरूको स्वर्गीय पुनरुत्थान पहिला र ख्रीष्टको उपस्थिति सुरु भइसकेपछि मरेकाहरूको चाहिं पछि भयो। यसको मतलब ख्रीष्टको उपस्थितिको प्रारम्भतिरै पहिलो पुनरुत्थान सुरु भएको हुनुपर्छ र यो उपस्थितिको दौडान पनि चलिरहन्छ। (१ कोरिन्थी १५:२३) सबै जना एकै चोटि पुनरुत्थान हुनुको सट्टा पहिलो पुनरुत्थान एउटा समयावधिभरि नै चलिरहन्छ।

“तिनीहरू हरेकलाई एउटा एउटा सेतो लुगा दिइयो”

१४. (क) प्रकाशको अध्याय ६ मा लिपिबद्ध दर्शनहरू कहिलेदेखि पूरा भए? (ख) प्रकाश ६:९ मा कुन कुरा चित्रण गरिएको छ?

१४ प्रकाशको अध्याय ६ मा भएको प्रमाणलाई पनि विचार गर्नुहोस्‌। त्यहाँ येशूलाई एक जना विजयी राजाको रूपमा अघि बढिरहेको देखाइएको छ। (प्रकाश ६:२) यस महायुद्धमा सारा राष्ट्र मुछिएका छन्‌। (प्रकाश ६:४) अनिकाल व्याप्त छ। (प्रकाश ६:५, ६) प्राणघातक रूढीहरूले मानिसजातिलाई पिरोल्छ। (प्रकाश ६:८) सन्‌ १९१४ देखि यता संसारको अवस्था साँच्चै यस्तै छ। तर यति मात्र होइन। प्रकाशको यस अध्यायमा हाम्रो ध्यान बलिदान चढाउने एउटा वेदीतिर खिचिएको छ। प्रेरित यूहन्‍ना भन्छन्‌, “वेदीमन्तिर मैले तिनीहरूका आत्मा [“प्राण,” NW] देखें जो परमेश्‍वरको वचनको निम्ति, र तिनीहरूले दिएका साक्षीको कारण काटिएका थिए।” (प्रकाश ६:९) “जीवधारीको प्राण [वा जीवन] त्यसको रगतमा” हुने भएकोले वेदी मुन्तिर भएको प्राणले साहसी र जोसिलो भई साक्षी दिएको कारण मारिएका येशूका विश्‍वासी सेवकहरूको रगतलाई संकेत गर्छ।—लेवी १७:११.

१५, १६. प्रकाश ६:१०, ११ ले पहिलो पुनरुत्थानलाई संकेत गर्छ भनी कसरी भन्‍न सकिन्छ, वर्णन गर्नुहोस्‌।

१५ हाबिलको रगतले जस्तै, यी मसीही शहीदहरूको रगतले पनि न्यायको निम्ति पुकारा गरिरहेको छ। (उत्पत्ति ४:१०) “तिनीहरू यसो भनेर ठूलो सोरले कराए, ‘हे प्रभु, हे पवित्र र सत्य, अझै कतिसम्म तपाईंले पृथ्वीमा रहनेहरूलाई इन्साफ गरेर हाम्रो रगतको बदला दिनुहुन्‍न?’ ” त्यसपछि के हुन्छ? “तिनीहरू हरेकलाई एउटा एउटा सेतो लुगा दिइयो, र तिनीहरूका सहकर्मी र भाइहरू पनि तिनीहरूजस्तै गरी मारिएर पूरा नहोउञ्जेल, केही बेर पर्खिरहून्‌ भन्‍ने तिनीहरूलाई भनियो।”—प्रकाश ६:१०, ११.

१६ के यो सेतो लुगा वेदी मुन्तिर भएको रगतको आहाललाई दिइएको थियो होला? पक्कै थिएन! यो लुगा प्रतीकात्मक वेदी मुन्तिर जसको रगत थियो, तिनीहरूलाई नै दिइएको थियो। तिनीहरूले येशूको नाउँमा आफ्नो जीवन आहुती गरेका थिए अनि यति बेला तिनीहरू आत्मिक व्यक्‍तिको रूपमा पुनरुत्थान भएका थिए। हामी कसरी त्यसो भन्‍न सक्छौं? प्रकाशकै पुस्तकको अलि अगाडि हामी यस्तो लेखिएको पाउँछौं: “जसले जित्छ, त्यसलाई यसरी सेता लुगा पहिराइदिन्छु, र म कुनै रीतिले पनि त्यसको नाउँ जीवनको पुस्तकबाट मेटिदिनेछैनँ।” नबिर्सनुहोस्‌, २४ धर्म-गुरुहरूले “शिरमा सुनका मुकुटहरू र सेता पोशाकहरू पहिरेका” थिए। (प्रकाश ३:५; ४:४) त्यसैले युद्ध, अनिकाल र रूढीले पृथ्वीलाई पिरोल्न थालेपछि, वेदी मुन्तिर भएको रगतले संकेत गरेका १,४४,००० का मृत सदस्यहरू पुनरुत्थान भएर स्वर्ग गए अनि प्रतीकात्मक सेतो लुगा प्राप्त गरे।

१७. सेतो लुगा पाउनेहरूले कुन अर्थमा ‘पर्खिनुपर्छ’?

१७ भर्खरै पुनरुत्थान भएकाहरूले ‘पर्खिनुपर्छ।’ परमेश्‍वरले बदला लिने दिन नआउन्जेल तिनीहरूले धैर्यतापूर्वक पर्खनै पर्छ। तिनीहरूका “सहकर्मी” अर्थात्‌ पृथ्वीमा बाँकी रहेका अभिषिक्‍त मसीहीहरूले परीक्षासामु आफ्नो निष्ठा साबित गर्न बाँकी नै छ। परमेश्‍वरले न्याय गर्ने समय आएपछि ‘पर्खिने’ समय सिद्धिनेछ। (प्रकाश ७:३) त्यति बेला, निर्दोष मसीहीहरूको रगत बगाउनेहरूका साथै सबै दुष्टहरूलाई नाश गर्न प्रभु येशू ख्रीष्टलाई पुनरुत्थान भएका ती अभिषिक्‍त जनहरूले सघाउनेछन्‌।—२ थिस्सलोनिकी १:७-१०.

यसले हाम्रो लागि कस्तो अर्थ राख्छ

१८, १९. (क) पहिलो पुनरुत्थान अहिले भइरहेको छ भनेर तपाईं किन विश्‍वस्त हुनुहुन्छ? (ख) पहिलो पुनरुत्थानबारे बुझ्दा तपाईंलाई कस्तो लाग्यो?

१८ परमेश्‍वरको वचनले पहिलो पुनरुत्थान हुने मिति किटेरै त बताउँदैन तर ख्रीष्टको उपस्थितिको दौडान एउटा निश्‍चित समयावधिभरि यो चलिरहन्छ भनेर चाहिं प्रकट गर्छ। ख्रीष्टको उपस्थिति सुरु हुनुभन्दा पहिले नै मरेका अभिषिक्‍त मसीहीहरूको पुनरुत्थान सबैभन्दा पहिले हुन्छ। त्यसपछि, ख्रीष्टको उपस्थितिको दौडान मर्ने अभिषिक्‍त मसीहीहरू भने आफ्नो पार्थिव जीवन पूरा गर्ने बित्तिकै “आँखाको एक निमेषमा” शक्‍तिशाली आत्मिक प्राणीको रूपमा बिउँतन्छन्‌। (१ कोरिन्थी १५:५२) आरमागेडोन अगाडि नै के सबै अभिषिक्‍त मसीहीहरू स्वर्ग गइसकेका हुन्छन्‌? त्यो त हामीलाई थाह छैन। तर यति चाहिं थाह छ कि, परमेश्‍वरको आफ्नो समयमा १,४४,००० का सबै सदस्य स्वर्गीय सियोन पर्वतमा हुन्छन्‌।

१९ हामीलाई यो पनि थाह छ, १,४४,००० का अधिकांश सदस्य स्वर्ग गइसकेका छन्‌। अब पृथ्वीमा अलिकति मात्र बाँकी छन्‌। परमेश्‍वरले न्याय गर्ने समय द्रूत गतिले नजिकिंदैछ भन्‍ने कस्तो सशक्‍त संकेत! चाँडै शैतानको सम्पूर्ण रीतिरिवाज नष्ट हुनेछ। शैतानलाई अगाध खाँदमा फ्याँकिनेछ। त्यसपछि, पृथ्वीमा जीवन बिताउने आशा भएकाहरूको पुनरुत्थान सुरु हुनेछ। अनि येशूको छुडौतीको बलिदानको आधारमा, ती विश्‍वासी मानिसहरूले आदमले गुमाएको सिद्धता पुनः प्राप्त गर्नेछन्‌। उत्पत्ति ३:१५ मा यहोवाले गर्नुभएको भविष्यवाणी अद्‌भुत रीतिले पूरा भइरहेको समयमा बाँच्न पाउनु कत्रो ठूलो सुअवसर! (w 07 1/1)

[फुटनोटहरू]

b ख्रीष्टको उपस्थिति सन्‌ १९१४ मा सुरु भयो भन्‍ने धर्मशास्त्रीय प्रमाणका लागि, यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबलले वास्तवमा के सिकाउँछ? पुस्तकको पृष्ठ २१५-२१८ हेर्नुहोस्‌।

c चौबीस धर्म-गुरुले आफ्नो स्वर्गीय ओहदा प्राप्त गरिसकेका अभिषिक्‍त जनहरूलाई संकेत गर्छ भनेर कसरी भन्‍न सकिन्छ, थप जानकारीको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित प्रकाश—त्यसको चरमोत्कर्ष निकट! पुस्तकको पृष्ठ ७७ हेर्नुहोस्‌।

के तपाईं बुझाउन सक्नुहुन्छ?

“पहिलो पुनरुत्थान” हुने समय पत्ता लगाउन यी शास्त्रपदहरूले हामीलाई कसरी मदत गर्छ?

प्रकाश १२:७; १७:१४

प्रकाश ७:१३, १४

१ कोरिन्थी १५:२३; १ थिस्सलोनिकी ४:१५-१७

प्रकाश ६:२, ९-११

[प्रश्‍नहरू]

[पृष्ठ २८-मा भएका चित्रहरू]

आम मानिसहरूको पुनरुत्थान हुनुअघि कुन पुनरुत्थान हुन्छ?