सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाले ‘उहाँसँग माग्नेहरूलाई पवित्र आत्मा दिनुहुन्छ’

यहोवाले ‘उहाँसँग माग्नेहरूलाई पवित्र आत्मा दिनुहुन्छ’

यहोवाले ‘उहाँसँग माग्नेहरूलाई पवित्र आत्मा दिनुहुन्छ’

“तिमीहरू दुष्ट भईकन आफ्ना छोराछोरीहरूलाई असल कुरो दिन जान्दछौ भने, तिमीहरूका स्वर्गीय पिताले उहाँसँग माग्नेहरूलाई कति बढ्‌ता गरेर पवित्र आत्मा दिनुहुनेछ।”—लूका ११:१३.

१. हामीलाई विशेष गरी कहिले पवित्र आत्माको मदत चाहिन्छ?

 अहँ, आफू एक्लैले म सक्दै सक्दिनँ। यस्तो परीक्षासित जुझ्न मलाई पवित्र आत्माको मदत नभई हुन्‍न।’ के तपाईंले कहिल्यै यस्तै भावना व्यक्‍त गर्नुभएको छ? धेरैजसो मसीहीहरूले गरेका छन्‌। सायद, आफूलाई गम्भीर रोग लागेको खबर पाएपछि त्यसो भन्‍नुभएको थियो कि? अथवा सुखदुःखमा तपाईंलाई साथ दिंदै धेरै वसन्त पार गरिसकेकी तपाईंकी पत्नी वा पतिको मृत्यु हुँदा पो भन्‍नुभएको थियो कि? अथवा सधैं उज्यालो भइरहने तपाईंको अनुहार नैराश्‍यले गर्दा मलिन भएको बेला भन्‍नुभएको थियो कि? हो, यहोवाले आफ्नो पवित्र आत्माद्वारा ‘सर्वश्रेष्ठ शक्‍ति’ नदिनुहुँदो हो ता, आफ्नै बलको भरमा दुःख सहन असम्भवै हुनेथियो भनेर हामी सबैले दुःखको बेला महसुस गरेका हुन सक्छौं।—२ कोरिन्थी ४:७-९; भजन ४०:१, २.

२. (क) साँचो मसीहीहरूले कस्तो चुनौतीको सामना गर्छन्‌? (ख) यस लेखमा हामी कुन-कुन प्रश्‍नहरूको जवाफ पत्ता लगाउनेछौं?

अहिले यस अभक्‍त संसारमा साँचो मसीहीहरूले झन्‌-झन्‌ धेरै दबाब अनि विरोधको सामना गर्नु परिरहेको छ। (१ यूहन्‍ना ५:१९) त्यसमाथि शैतान आफैले ख्रीष्टका अनुयायीहरूलाई आक्रमण गरेर घाउमा नून छर्कने काम गरिरहेको छ। त्यो दियाबल शैतान “परमेश्‍वरको आज्ञा पालन गर्ने, र येशूको साक्षी दिने” जनहरूसित घमासान युद्ध गर्नमा व्यस्त छ। (प्रकाश १२:१२, १७) तसर्थ, अहिले हामीलाई पहिलेभन्दा धेरै परमेश्‍वरको पवित्र आत्माको मदत आवश्‍यक पर्नु कुनै अनौठो कुरा होइन। तर परमेश्‍वरको पवित्र आत्मा प्रशस्त गरी पाउन हामीले के गर्नुपर्छ? अनि परीक्षाको घडीमा यहोवाले हामीलाई राजीखुसी आफ्नो शक्‍ति दिनुहुनेछ भनेर हामी कसरी ढुक्क हुन सक्छौं? यी प्रश्‍नहरूको जवाफ हामी येशूका दुई वटा दृष्टान्तहरूमा पाउँछौं।

खुरन्धार प्रार्थना गर्नुहोस्‌

३, ४. येशूले कुन दृष्टान्त सुनाउनुभयो र प्रार्थनासित त्यसको के सम्बन्ध थियो?

एक पटक येशूका एक जना चेलाले यस्तो बिन्ती गरेका थिए: “हे प्रभु, . . . हामीलाई पनि प्रार्थना गर्न सिकाउनुहोस्‌।” (लूका ११:१) त्यतिखेर येशूले दुई वटा मिल्दाजुल्दा दृष्टान्तहरू आफ्ना चेलाहरूलाई सुनाउनुभएको थियो। पहिलो, पाहुनाको खातिरदारी गर्ने घरधनीको र दोस्रो, छोरोको इच्छा पूरा गर्ने बुबाको। आउनुहोस्‌, पालैसित यी दुई दृष्टान्तहरू छलफल गरौं।

येशूले यसरी दृष्टान्त सुनाउनुभयो: “तिमीहरूमध्ये कसको एउटा मित्र होला, जसकहाँ उनी आधारातमा गएर भन्ला, ‘ए मित्र, मलाई तीनवटा रोटी पैंचो दिनुहोस्‌, किनकि मेरा एक जना मित्र सफरबाट मकहाँ आएका छन्‌, र तिनलाई टक्राउनलाई मसँग केही छैन।’ औ तिनले भित्रबाट जवाफ दिएर भन्ला, ‘मलाई तकलीफ नदिनुहोस्‌। ढोका बन्द भइसकेको छ, औ मेरा केटा-केटीहरू मैसित ओछ्यानमा छन्‌। म उठेर तपाईंलाई दिनसक्‍तिनँ।’ म तिमीहरूलाई भन्दछु, ‘उनी तिनका मित्र हुनाले तिनलाई नदिए तापनि तिनी खुरन्धार लागेकाले उठेर तिनलाई दरकार परे जति दिनेछन्‌।’ ” त्यसपछि यो दृष्टान्त र प्रार्थनाबीचको सम्बन्ध प्रस्ट पार्दै येशूले यसो भन्‍नुभयो: “म तिमीहरूलाई भन्दछु, ‘माग, त तिमीहरूलाई दिइनेछ, खोज, त तिमीहरूले भेट्टाउनेछौ, घच्‌घच्याओ, त तिमीहरूको निम्ति खोलिनेछ। किनकि हरेक जसले माग्छ, त्यसले पाउँछ, औ घच्‌घच्याउनेको निम्ति खोलिनेछ।’ ”—लूका ११:५-१०.

५. खुरन्धार मागिरहने मान्छेको दृष्टान्तअनुसार हामीले कसरी प्रार्थना गर्नुपर्छ?

खुरन्धार मागिरहने मान्छेको यस जीवन्त दृष्टान्तले प्रार्थना गर्दा हाम्रो मनोभाव कस्तो हुनुपर्छ, प्रस्ट पार्छ। त्यो मान्छेले “खुरन्धार मागिरहेकोले” आफूले चाहेको कुरा पायो भनेर येशूले दृष्टान्तमा बताउनुभयो। (लूका ११:८, NRV) यहाँ “खुरन्धार” भनेर अनुवाद गरिएको युनानी शब्द, बाइबलमा एक ठाउँमा मात्र चलाइएको पाइन्छ। यो युनानी शब्दको ठेट अर्थ “लाज पचाउनु” हो। लाज पचाएर कुनै काम गर्नुलाई अक्सर दुर्गुन ठानिन्छ। तथापि, लाज पचाएरै भए पनि असल थोक माग्नु भने पक्कै पनि दुर्गुन हुन सक्दैन। येशूको दृष्टान्तको त्यस मान्छेले पनि त्यसै गऱ्‍यो। आफूलाई चाहिएको कुरा माग्न उसले लाज मानेन। खुरन्धार मागिरहने यस मान्छेलाई येशूले असल उदाहरणको रूपमा प्रस्तुत गर्नु भएकोले हामीले पनि खुरन्धार प्रार्थना गर्नुपर्छ। हामीले ‘मागिरहोस्‌’ ‘खोजिरहोस्‌’ ‘घच्घच्याइरहोस्‌’ भनेर यहोवा चाहनुहुन्छ। त्यसो गऱ्‍यौं भने उहाँले “उहाँसँग माग्नेहरूलाई . . . पवित्र आत्मा दिनुहुनेछ।”

६. येशूको समयतिर अतिथि सत्कारलाई कुन दृष्टिले हेरिन्थ्यो?

हामीले खुरन्धार प्रार्थना गर्नुपर्छ भनेर सिकाउनुका साथै किन खुरन्धार प्रार्थना गर्नुपर्छ भनेर पनि येशूले बताउनुभयो। येशूले आफ्ना श्रोताहरूलाई सिकाउन खोज्नुभएको यो पाठ राम्ररी बुझ्न हामी त्यतिखेर पाहुना आउँदा, के गर्ने चलन थियो, त्यो विचार गरौं। बाइबल लेखिंदै गरेको समयतिर विशेष गरी यहोवाका सेवकहरूले अतिथि सत्कारलाई गम्भीरतापूर्वक लिन्थे भन्‍ने कुरा थुप्रै शास्त्रपदहरूबाट देखिन्छ। (उत्पत्ति १८:२-५; हिब्रू १३:२) घरमा आएको पाहुनाको ख्याल नगर्नु, उसको अपमान गर्नु बराबर हुन्थ्यो। (लूका ७:३६-३८, ४४-४६) अब यस पृष्ठभूमिलाई मनमा राख्दै फेरि येशूको दृष्टान्तलाई केलाएर हेरौं।

७. येशूले आफ्नो दृष्टान्तमा उल्लेख गर्नुभएको मान्छेले सुतिरहेको मित्रलाई किन लाजै नमानी जगाउँछ?

येशूको दृष्टान्तमा राती निकै अबेर पाहुना आइपुग्छ। घरमा पाहुना आएपछि केही खानपीनको व्यवस्था त गर्नै पऱ्‍यो। तर ऊसित ‘तिनलाई टक्राउन केही हुँदैन।’ घरधनीलाई अब आपत्‌ पऱ्‍यो। पाहुनालाई जसरी भए पनि एक दुई गाँस त खुवाउनै पऱ्‍यो। त्यसैले ऊ लाजै नमानी आफ्नो मित्रकहाँ जान्छ र उसलाई जगाएर भन्छ: “ए मित्र, मलाई तीनवटा रोटी पैंचो दिनुहोस्‌।” आफूले चाहेको कुरा नपाएसम्म उसले खुरन्धार मागिरहन्छ। बल्ल रोटी पाएपछि उसले आफ्नो पाहुनाको राम्रो खातिरदारी गर्न सक्छ।

असाध्यै चाहिए असाध्यै माग्नुपर्छ

८. कुन कुराले खुरन्धार प्रार्थना गर्न हामीलाई प्रेरित गर्छ?

हामीले खुरन्धार प्रार्थना गर्नुपर्ने कस्तो कारण यस दृष्टान्तले बताउँछ? आफ्नो पाहुनाको सत्कार गर्न रोटी नभई हुन्‍न भन्‍ने कुरा बुझेकोले त्यो मान्छेले रोटी नपाएसम्म मागेको माग्यै गऱ्‍यो। (यशैया ५८:५-७) विनारोटी उसले कसरी पो अतिथि सत्कार गर्ने आफ्नो जिम्मेवारी पूरा गर्न सक्थ्यो र? त्यसै गरी साँचो मसीही भएको नाताले हामीलाई पवित्र आत्मा नभई हुन्‍न भन्‍ने कुरा बुझेको हुनाले हामी पनि परमेश्‍वरलाई प्रार्थना गरेर उहाँको आत्मा मागिरहन्छौं। (जकरिया ४:६) हुन पनि, उहाँको आत्माविना हामी आफ्नो काममा कसरी पो सफल हुन सक्छौं र? (मत्ती २६:४१) येशूको दृष्टान्तबाट हामीले सिक्नुपर्ने महत्वपूर्ण पाठ प्रस्टै छ। त्यो हो, परमेश्‍वरको आत्मा जसरी भए पनि तुरुन्तै चाहिन्छ भनेर हामी जति धेरै महसुस गर्छौं, उत्तिनै खुरन्धार प्रार्थना गर्ने झुकाव हामीसित हुन्छ।

९, १०. (क) परमेश्‍वरलाई किन खुरन्धार प्रार्थना गरेर उहाँको आत्मा मागिरहनुपर्छ, उदाहरण दिएर बुझाउनुहोस्‌। (ख) हामीले आफैलाई कुन प्रश्‍न सोध्नुपर्छ र किन?

अब येशूको दृष्टान्तलाई एउटा आधुनिक उदाहरणसित दाँजेर हेरौं। मानिलिनुहोस्‌, तपाईंको परिवारको कुनै एक जना सदस्य मध्यरातमा अचानक बिरामी परेर छटपटाउन थाल्यो। त्यतिखेर के तपाईं मस्तसित निदाइरहेको डाक्टरलाई जगाउनुहुन्छ? सानोतिनो बिरामी परेको हो भने त सायद जगाउनुहुन्‍न कि? तर हृदयघात भएको रहेछ भने नि? के त्यतिखेर डाक्टरलाई जगाउन तपाईं लाज मान्‍नुहुन्छ? निश्‍चय पनि मान्‍नुहुन्‍न। किनभने, त्यस्तो गम्भीर अनि आकस्मिक घटना हुँदा डाक्टरको मदत नभई हुन्‍न भनेर तपाईंलाई थाह छ। लाज मानेर केही नगरी बस्दा बरु बिरामीको ज्यान जान सक्छ। अहिले साँचो मसीहीहरू पनि एक अर्थमा त्यस्तै आकस्मिक स्थितिमा परेका छन्‌। हामीलाई निलिहालूँ भनेर शैतान “गर्जने सिंहझैं खोजेर” हिंडिरहेको छ। (१ पत्रुस ५:८) त्यसैले आध्यात्मिक तवरमा आफ्नो ज्यान जोगाउन हामीलाई जुनसुकै हालतमा परमेश्‍वरको आत्मा चाहिएको छ। उहाँको आत्मा नमागी बस्दा ठूलो हानि बेहोर्नुपर्ने हुन सक्छ। अतः हामी खुरन्धार प्रार्थना गरेर परमेश्‍वरसित उहाँको पवित्र आत्मा मागिरहन्छौं। (एफिसी ३:१४-१६) त्यसो गऱ्‍यौं भने मात्र “आखिरसम्म सहने” बल हामीले पाउनेछौं।—मत्ती १०:२२; २४:१३.

१० तसर्थ, ‘आफूले कत्तिको खुरन्धार प्रार्थना गरिरहेको छु’ भनेर बेला-बेलामा जाँच्नु नितान्त आवश्‍यक छ। नबिर्सनुहोस्‌, परमेश्‍वरको मदतको निम्ति छटपटाइरहेका छौं भने मात्र पवित्र आत्मा मागिरहन हामी आतुर हुन्छौं।

निर्धक्क भएर प्रार्थना गर्न प्रोत्साहन दिने कुरा

११. येशूले बाबु-छोरोको दृष्टान्तलाई कसरी प्रार्थनासित जोड्‌नुभयो?

११ पाहुनाको खातिरदारी गर्न आफ्नो मित्रसित रोटी मागिरहने मान्छेको दृष्टान्तले प्रार्थना गर्ने व्यक्‍तिको मनोभाव कस्तो हुनुपर्छ, त्यो प्रस्ट पार्छ। येशूले सुनाउनुभएको अर्को दृष्टान्तले चाहिं प्रार्थना सुन्‍नुहुने व्यक्‍ति अर्थात्‌ यहोवा परमेश्‍वरको मनोभाव कस्तो छ, त्यो प्रस्ट पार्छ। येशूले यसरी त्यो दृष्टान्त सुनाउनुहुन्छ: “तिमीहरूमध्ये कुनचाहिं बाबु होला जसको छोराले रोटी माग्यो भने त्यसलाई ढुङ्‌गा देला कि माछा मागेमा माछाको सट्टा साँप देला? अथवा अण्डा मागेमा त्यसलाई बिच्छी देला? तिमीहरू दुष्ट भईकन आफ्ना छोराछोरीहरूलाई असल कुरो दिन जान्दछौ भने, तिमीहरूका स्वर्गीय पिताले उहाँसँग माग्नेहरूलाई कति बढ्‌ता गरेर पवित्र आत्मा दिनुहुनेछ।”—लूका ११:११-१३.

१२. आफ्नो छोरोको इच्छा पूरा गर्न इच्छुक बुबाको दृष्टान्तले यहोवा हाम्रो प्रार्थना सुन्‍न इच्छुक हुनुहुन्छ भनेर कसरी प्रकट गर्छ?

१२ आफ्नो छोराले मागेको कुरा पुऱ्‍याइदिने यस बुबाको उदाहरण दिएर उहाँलाई प्रार्थना गर्ने व्यक्‍तिहरूप्रति यहोवाको मनोभाव कस्तो छ, येशूले प्रकट गर्नुभयो। (लूका १०:२२) पहिले यी दुई दृष्टान्त तुलना गरेर हेरौं। आफ्नो मित्रले रोटी पैंचो माग्न आउँदा झिंझो मान्‍ने त्यो पहिलो दृष्टान्तको मित्रजस्तो यहोवा हुनुहुन्‍न। बरु उहाँ आफ्नो छोरोको इच्छा पूरा गर्न इच्छुक दोस्रो दृष्टान्तको मायालु बुबाजस्तै हुनुहुन्छ। (भजन ५०:१५) हाम्रो प्रार्थना सुन्‍न यहोवा कत्तिको इच्छुक हुनुहुन्छ भनेर अझ राम्ररी बुझाउन येशू मानव बुबालाई स्वर्गमा हुनुहुने बुबासित तुलना गर्नुहुन्छ। यदि एक जना मानव बुबा असिद्धताको कारण “दुष्ट भईकन” आफ्नो छोरालाई असल थोक दिन जान्दछ भने सधैं हाम्रो भलो चाहनुहुने हाम्रो स्वर्गीय पिता, यहोवाले आफ्ना उपासकहरूलाई कति प्रशस्त गरी पवित्र आत्मा दिनुहुन्छ होला!—याकूब १:१७.

१३. हामीले प्रार्थना गर्दा यहोवाले के गर्नुहुन्छ भनेर हामी ढुक्क हुन सक्छौं?

१३ उसोभए हामीले सिक्नुपर्ने पाठ के हो त? स्वर्गमा हुनुहुने बुबा, यहोवासित पवित्र आत्मा माग्दा उहाँले राजीखुसी दिनुहुनेछ भनेर हामी ढुक्क हुन सक्छौं भन्‍ने पाठ येशूको दृष्टान्तबाट सिक्छौं। (१ यूहन्‍ना ५:१४) हामीले बारम्बार प्रार्थना गरेर उहाँको आत्मा माग्दा यहोवाले कहिल्यै ‘मलाई तकलीफ नदेऊ। ढोका बन्द भइसकेको छ’ भन्‍नुहुन्‍न। (लूका ११:७) त्यसैले येशूले “माग, त तिमीहरूलाई दिइनेछ, खोज, त तिमीहरूले भेट्टाउनेछौ, घच्‌घच्याओ, त तिमीहरूको निम्ति खोलिनेछ” भन्‍नुभयो। (लूका ११:९, १०) हो, “हामीले पुकारा गर्दा” यहोवाले “हामीलाई जवाफ” दिनुहुन्छ।—भजन २०:९; १४५:१८.

१४. (क) परीक्षाको सामना गर्नुपर्दा मानिसहरू कस्तो गलत सोचाइ राख्छन्‌? (ख) परीक्षाको सामना गर्नुपर्दा किन निर्धक्क भई यहोवालाई प्रार्थना गर्न सक्छौं?

१४ कुनै पनि मानव मातापिताले आफ्नो छोराछोरीप्रति चिताउने भलाइभन्दा यहोवाको भलाइ धेरै गुना ठूलो छ भनेर पनि येशूको दोस्रो दृष्टान्तले जोड दिन्छ। तसर्थ, दुःख पर्दा परमेश्‍वर हामीसित रिसाउनुभएछ भनेर हामी कहिल्यै नसोचौं। वास्तवमा शैतान पो हामीले त्यस्तो सोचोस्‌ भन्‍ने चाहन्छ। (अय्यूब ४:१, ७, ८; यूहन्‍ना ८:४४) दुःख आइपर्दा आफैलाई धिक्कार्दै बस्ने कुनै आधार हामी बाइबलमा पाउँदैनौं। यहोवाले “खराब कुराबाट” हाम्रो परीक्षा गर्नुहुन्‍न। (याकूब १:१३) उहाँ हाम्रो पोल्टोमा सर्प वा बिच्छीसमान परीक्षा राख्न चाहनुहुन्‍न। स्वर्गमा हुनुहुने हाम्रो पिता त ‘उहाँसित माग्नेहरूलाई असल चीज दिनुहुन्छ।’ (मत्ती ७:११; लूका ११:१३) यसरी, यहोवाको भलाइ अनि हामीलाई मदत गर्ने उहाँको इच्छुकताको हामी जति धेरै कदर गर्छौं, त्यति नै निर्धक्क भएर प्रार्थना गर्न हामी अग्रसर हुन्छौं। त्यसो गऱ्‍यौं भने भजनरचयिताजस्तै हामी पनि यसो भन्‍न सक्नेछौं: “साँच्चिनै परमेश्‍वरले सुन्‍नुभएको छ। उहाँले मेरो प्रार्थनाको सोरतिर ध्यान लाउनुभएको छ।”—भजन १०:१७; ६६:१९.

पवित्र आत्माले कसरी मदत गर्छ

१५. (क) येशूले पवित्र आत्माबारे के वचन दिनुभयो? (ख) पवित्र आत्माले हामीलाई मदत गर्ने एउटा तरिका के हो?

१५ आफूले दृष्टान्तमार्फत दिनुभएको आश्‍वासनलाई येशूले आफ्नो मृत्यु हुनुभन्दा केही समयअघि फेरि दोहोऱ्‍याउनुभयो। पवित्र आत्मालाई संकेत गर्दै उहाँले आफ्ना प्रेरितहरूलाई यसो भन्‍नुभयो: “म पितासँग बिन्ती गर्नेछु, र उहाँले तिमीहरूलाई अर्को शान्तिदाता [“मदतगार,” NW] दिनुहुनेछ, र उहाँ तिमीहरूसँग सधैंभरि हुनुहुनेछ।” (यूहन्‍ना १४:१६) त्यतिखेर दिनुभएको उक्‍त वचनबमोजिम येशूले अहिले पनि आफ्ना अनुयायीहरूका लागि मदतगार अर्थात पवित्र आत्मा पठाइरहनुभएको छ। उसोभए, येशूले अहिले त्यस्तो मदतगार साँच्चै नै पठाइरहनुभएको छ भनेर देखाउने उल्लेखनीय प्रमाण के छ? विभिन्‍न परीक्षाहरू सहन पवित्र आत्माले दिएको मदत। तर पवित्र आत्माले कसरी हामीलाई परीक्षाहरू सहन मदत गर्छ? यसको जवाफ पत्ता लगाउन, विभिन्‍न परीक्षाहरू भोगिसकेका प्रेरित पावलले कोरिन्थीहरूलाई लेखेको पत्रमा पवित्र आत्माले कसरी तिनलाई मदत गऱ्‍यो भनेर बताए, हामी छोटो चर्चा गरौं।

१६. हाम्रो परिस्थिति पनि कसरी पावलकै जस्तो हुन सक्छ?

१६ कोरिन्थीहरूलाई लेखेको पत्रमा पावलले आफूलाई “शरीरमा एक किसिमको छेस्को” परेको छ अर्थात्‌ आफूलाई एक किसिमको परीक्षा आइपरेको छ भनेर कुरा नलुकाई बताए। त्यसपछि तिनले यसो भने: “यो मबाट हटोस्‌ भनेर मैले तीनपल्ट [यहोवा] प्रभुसित बिन्ती गरें।” (२ कोरिन्थी १२:७, ८) पावलले यहोवासामु बिन्ती बिसाए पनि तिनको दुःख भने पर हटेन। सायद तपाईंको अनुभव पनि पावलकै जस्तो छ होला। पावलले जस्तै तपाईंले पनि आफ्नो परीक्षा दूर गरिदिनुहोस्‌ भनेर खुरन्धार प्रार्थना गर्नुभएको होला। तर लाख बिन्ती गर्दा पनि तपाईंको समस्या भने ज्यूँ का त्यूँ छ। के यसको मतलब यहोवाले तपाईंको प्रार्थना सुन्‍नुभएन अथवा उहाँको आत्माले तपाईंलाई मदत नै गरेन? पटक्कै होइन! (भजन १०:१, १७) आफूलाई परेको छेस्कोबारे कुरा गरेपछि प्रेरित पावलले के भने, ध्यान दिनुहोस्‌।

१७. पावलको प्रार्थनाको जवाफ यहोवाले कसरी दिनुभयो?

१७ परमेश्‍वरलाई प्रार्थना गरेपछि आफूले पाएको जवाफबारे पावलले यसो भने: “उहाँले मलाई भन्‍नुभयो, ‘मेरो अनुग्रह तिम्रो निम्ति प्रशस्त छ, किनभने मेरो शक्‍ति दुर्बलतामा सिद्ध हुन्छ।’ ” तिनी अझ यसो भन्छन्‌: “यसकारण ख्रीष्टको शक्‍ति ममा बास गरोस्‌ भनेर म बरु मेरो दुर्बलतामा ज्यादै खुशीसित घमण्ड गर्नेछु।” (२ कोरिन्थी १२:९; भजन १४७:५) यसप्रकार आफ्नो शरीरको छेस्को नहटे तापनि पावलले येशू ख्रीष्ट मार्फत्‌ परमेश्‍वरको शक्‍तिशाली सुरक्षा आफूमाथि बास गरेको महसुस गरे। आज, हाम्रो प्रार्थनाको जवाफ पनि यहोवाले त्यसरी नै दिनुहुन्छ। आफ्ना सेवकहरूमाथि उहाँ आफ्नो सुरक्षा पालझैं फिजाउनुहुन्छ।

१८. हामीले परीक्षा सहन सक्नुको कारण के हो?

१८ निस्सन्देह पालभित्र बस्दैमा हावाहुरी अनि झरी थामिंदैन तर त्यसबाट सुरक्षा भने अवश्‍य पाइन्छ। त्यसै गरी हामीमाथि बास गर्ने “ख्रीष्टको शक्‍ति[ले]” परीक्षा अथवा कठिनाइलाई त रोक्दैन। तर त्यसले यस संसारका हानिकारक तत्त्वहरू अनि यस संसारको शासक शैतानको आक्रमणहरूबाट आध्यात्मिक सुरक्षा भने अवश्‍य दिन्छ। (प्रकाश ७:९, १५, १६) तसर्थ, तपाईंले सामना गरिरहनुभएको परीक्षा ‘नहटे’ पनि तपाईंको संघर्ष यहोवाले देखिरहनुभएको छ र तपाईंको “बिन्ती” उहाँले अवश्‍य सुन्‍नुभएको छ भनेर ढुक्क हुनुहोस्‌। (यशैया ३०:१९; २ कोरिन्थी १:३, ४) हामीले सामना गर्ने परीक्षाको सन्दर्भमा पावलले यो पनि लेखेका थिए: “मानिसले सहनसक्ने किसिमको बाहेक अरू परीक्षामा तिमीहरू परेका छैनौ, तर परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ, जसले तिमीहरूलाई तिमीहरूका शक्‍तिदेखि बाहिरको परीक्षामा पर्न दिनुहुनेछैन, तर तिमीहरूले सहनसकोस्‌ भनेर परीक्षाको साथसाथै उम्कने बाटो पनि दिनुहुन्छ।”—१ कोरिन्थी १०:१३; फिलिप्पी ४:६, ७.

१९. तपाईंले के गर्ने पक्का निधो गर्नुभएको छ अनि किन?

१९ हो, यस अभक्‍त संसारको “आखिरी दिनमा डरलाग्दो समय[ले]” चारैतिरबाट छोपेको छ। (२ तिमोथी ३:१) तैपनि परमेश्‍वरका सेवकहरू डरले काँप्नुपर्ने स्थिति भने छैन। किन? किनभने यस्तो डरलाग्दो समयसित जुझ्न सकोस्‌ भनेर यहोवाले हामीलाई आफ्नो पवित्र आत्माद्वारा मदत अनि सुरक्षा दिनुहुन्छ। उहाँले हाम्रो प्रार्थना सुन्‍नुहुनेछ भनेर ढुक्क भई खुरन्धार प्रार्थना गऱ्‍यौं भने यहोवाले राजीखुसी अनि प्रशस्त गरी आफ्नो पवित्र आत्मा दिनुहुनेछ। त्यसैले, आउनुहोस्‌ हामी हर दिन खुरन्धार प्रार्थना गरेर यहोवासित उहाँको पवित्र आत्मा मागौं।—भजन ३४:६; १ यूहन्‍ना ५:१४, १५. (w06 12/15)

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• परमेश्‍वरको पवित्र आत्मा पाउन के गर्नुपर्छ?

• यहोवासित माग्यौं भने उहाँले पवित्र आत्मा दिनुहुनेछ भनेर हामी कसरी ढुक्क हुन सक्छौं?

• पवित्र आत्माले कसरी परीक्षा सहन मदत गर्छ?

[प्रश्‍नहरू]

[पृष्ठ १३-मा भएको चित्र]

खुरन्धार मागिरहने व्यक्‍तिको दृष्टान्तबाट हामी के पाठ सिक्छौं?

[पृष्ठ १४-मा भएको चित्र]

के तपाईं खुरन्धार प्रार्थना गरेर परमेश्‍वरसित पवित्र आत्मा माग्नुहुन्छ?

[पृष्ठ १५-मा भएको चित्र]

आफ्नो छोरोको ख्याल गर्ने बुबाको दृष्टान्तबाट हामी यहोवाबारे के सिक्छौं?