सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाले ‘न्याय गरिदिनुहुनेछ’

यहोवाले ‘न्याय गरिदिनुहुनेछ’

यहोवाले ‘न्याय गरिदिनुहुनेछ’

“के परमेश्‍वरले उहाँलाई रातदिन पुकार्ने आफ्ना चुनिएकाहरूको न्याय गरिदिनुहुन्‍न र?” —लूका १८:७, NRV.

१. तपाईंको प्रोत्साहनको स्रोत को हो र किन?

 यहोवाका साक्षीहरूको विश्‍वव्यापी समूहमा धेरै वर्षदेखि वफादार भएर यहोवाको सेवा गर्दै आएका मसीही पुरुष तथा स्त्रीहरू पनि छन्‌। के तपाईं हाम्रा यी प्रिय भाइबहिनीहरूमध्ये कसैलाई राम्ररी चिन्‍नुहुन्छ? सायद यो प्रश्‍न गर्ने बित्तिकै, निकै वर्षअघि बप्तिस्मा लिएकी वृद्ध मसीही बहिनीको याद आयो होला, जो नियमित रीतिले सभा धाइरहनुहुन्छ। अथवा दशकौंदेखि हरेक हप्ता क्षेत्र सेवामा भाग लिने वृद्ध भाइलाई सम्झनुभयो होला। हो, हामीले चिनेजानेका अनि अरू थुप्रै यस्ता वफादार भाइबहिनीहरूले अहिलेसम्ममा आरमागेडोन सकेर पनि परमेश्‍वरको राज्य आइसकेको हुनेछ भनेर आशा गरेका थिए। तब के आफ्नो आशा साकार नहुँदा उनीहरूको भरोसा ढलपल भयो त? अवश्‍य भएको छैन। उनीहरू अहिले पनि यहोवाका प्रतिज्ञाहरूमा उत्तिकै भरोसा राख्छन्‌। “अन्तसम्म स्थिर रहने” उनीहरूको दृढता कमजोर भएको छैन। (मत्ती २४:१३) यहोवाका यी वफादार सेवकहरूले देखाएको गहिरो विश्‍वास पक्कै पनि पूरै मण्डलीको निम्ति साँचो प्रोत्साहनको स्रोत हो।—भजन १४७:११.

२. के हुँदा हामीलाई दुःख लाग्छ?

तथापि, यदाकदा हामी बेग्लै मनोवृत्ति राख्ने भाइबहिनीहरू पनि देख्छौं। यहोवाको सेवा गरेर निकै वर्ष बिताइसकेका केही साक्षीहरूको भरोसा कमजोर हुँदै जान थालेको र अन्ततः मसीही मण्डलीसित संगतै गर्न छाडेको हामी बेला-बेलामा सुनिरहन्छौं। आफूले चिनेजानेका भाइबहिनीहरूले यहोवालाई चटक्क त्यागेर हिंड्‌दा पक्कै पनि दुःख लाग्छ र यी “हराएको भेडा[लाई]” कसरी फेरि बगालमै फर्काएर ल्याउने होला भनेर हामी सुर्ताउँछौं पनि। (भजन ११९:१७६; रोमी १५:१) तर यस्तो बेला हाम्रो मनमा एउटा प्रश्‍न भने अक्सर उब्जिरहन्छ र त्यो हो: केही साक्षीहरूले यहोवाका प्रतिज्ञाहरूमा भरोसा गरिरहन सक्नु अनि केहीले चाहिं पटक्कै नसक्नुको कारण के होला? अनि “परमप्रभुको भयानक दिन नजिकै छ” भनेर विश्‍वस्त भइरहन हामी आफैले के गर्नु पर्ला? (सपन्याह १:१४) यी प्रश्‍नहरूको जवाफ पाउन, आउनुहोस्‌ हामी लूकाको किताबको एउटा दृष्टान्तलाई ध्यान देऔं।

“मानिसको पुत्र आउँदा” जीवित हुने जतिलाई चेतावनी

३. विधवा र न्यायाधीशको दृष्टान्त विशेष गरी कसको निम्ति लाभदायी हुन सक्छ र किन?

लूका अध्याय १८ मा हामी येशूले सुनाउनुभएको विधवा र न्यायाधीशको दृष्टान्त पाउँछौं। यो दृष्टान्त हामीले अघिल्लो लेखमा छलफल गरिसकेको, आफ्नो पाहुनाका लागि खुरन्धार रोटी मागिरहने मान्छेको दृष्टान्तसित मिल्दोजुल्दो छ। (लूका ११:५-१३) तथापि, प्रसंग पढेर हेर्दा, विधवा र न्यायाधीशको दृष्टान्त विशेष गरी “मानिसको पुत्र आउँदा” अर्थात्‌ सन्‌ १९१४ देखि सुरु भएको समयावधिका मानिसहरूलाई लागू हुन्छ भन्‍ने कुरा देखिन्छ।—लूका १८:८. a

४. लूका अध्याय १८ को दृष्टान्त सुनाउनुअघि येशूले कुन कुरा भन्‍नुभयो?

विधवा र न्यायाधीशको दृष्टान्त सुनाउनुअघि येशूले आफू स्वर्गको राज्यको राजा भएपछि प्रकट हुने प्रमाणहरू “बिजुली आकाशको एक भागमा चम्कँदा अर्को भागसम्म उज्यालो” भएजस्तै सबैले छर्लङ्‌गै देख्नेछन्‌ भनेर बताउनुभयो। (लूका १७:२४; २१:१०, २९-३३) तथापि “अन्तको समयको” धेरैजसो मानिसहरूले त्यस्तो सुस्पष्ट प्रमाणलाई वास्ता गर्ने थिएनन्‌। (दानियल १२:४) किन? नूह अनि लूतको समयका मानिसहरूले जुन कारणले गर्दा यहोवाको चेतावनीलाई वास्तै गरेनन्‌, त्यही कारणले गर्दा। त्यतिखेर ‘मानिसहरू नष्ट हुनुअघि खाँदैथिए, पिउँदैथिए, विवाहबारी गर्दैथिए।’ (लूका १७:२६-२९) दैनिक घर व्यवहारको काममै तिनीहरू यति व्यस्त भए कि परमेश्‍वरको इच्छा के हो भनेर ध्यान दिन समय नै पाएनन्‌। (मत्ती २४:३९) अहिले पनि धेरैजसो मानिसहरू आफ्नो दैनिक कामकुरामा चुर्लम्मै डुबेको हुनाले यस अभक्‍त संसारको विनाश नजिकै छ भन्‍ने कुराको प्रमाण देख्दैनन्‌।—लूका १७:३०.

५. (क) येशूले दिनुभएको चेतावनी कसको निम्ति थियो र किन? (ख) के कारणले गर्दा कसै-कसैले विश्‍वास गुमाएका छन्‌?

अरू मानिसहरूजस्तै आफ्ना चेलाहरू पनि शैतानी संसारको बहकाउमा परेर पुरानै कुरातिर “फर्केर” जालान्‌ भनेर येशू चिन्तित हुनुहुन्थ्यो। (लूका १७:२२, ३१) हुन पनि केही मसीहीहरूले त्यसै गरेका छन्‌। यहोवाले यस दृष्ट संसारको अन्त भरे-भोलि नै गर्नुहुन्छ भन्दै तिनीहरू वर्षौं कुरेर बसे। तर आरमागेडोन आउन आफूले सोचेभन्दा ढिलो हुन थालेको देखेर तिनीहरू निरुत्साहित भए। यहोवाले यस संसारको न्याय गर्नुहुने दिने नजिकै छ भनेर भरोसा गर्न बिस्तारै छाडे। फलतः आध्यात्मिक कुराहरूमा कम भाग लिन थाले र अन्ततः दैनिक कामकुरामै यति व्यस्त हुन थाले कि, आध्यात्मिक कुराहरूका लागि समय बाँकी नै रहेन। (लूका ८:११, १३, १४) दुःखको कुरा, अन्तमा तिनीहरू आफूले त्यागिसकेका कुराहरूमै “फर्केर” गए।

‘प्रार्थना गरिरहनुपर्ने’ आवश्‍यकता

६-८. (क) विधवा र न्यायाधीशको दृष्टान्त बताउनुहोस्‌। (ख) येशूले यस दृष्टान्तको भाव कसरी बताउनुभयो?

यहोवाले आफ्ना प्रतिज्ञाहरू अवश्‍य पूरा गर्नुहुनेछ भनेर अटुट भरोसा गरिरहन हामी के गर्न सक्छौं? (हिब्रू ३:१४) आफ्ना चेलाहरूलाई शैतानको संसारमा फर्की नजान चेतावनी दिनुभएपछि येशूले उक्‍त प्रश्‍नको जवाफ दिनुभयो।

लूकाअनुसार “तिनीहरू सधैं प्रार्थना गरिरहून र निराश नहोऊन्‌ भन्‍ने हेतूले उहाँले तिनीहरूलाई एउटा दृष्टान्त भन्‍नुभयो।” येशूले यसो भन्‍नुभयो: “कुनै एउटा शहरमा परमेश्‍वरको भय नमान्‍ने र मानिसको वास्ता नगर्ने एउटा न्यायाधीश थिए। त्यसै शहरमा एउटी विधवा थिई। त्यो तिनीकहाँ आइरहन्थी, र भन्थी, ‘मेरो वादीको अगि मेरो न्याय गरिदिनुहोस्‌।’ तिनले केही समयसम्म त मानेनन्‌, तर पछिबाट तिनले आफ्नो मनमा भने, ‘म परमेश्‍वरको डर मान्दिनँ। मानिसको वास्ता पनि गर्दिनँ। तर यस विधवाले मलाई हैरान पारेकी हुनाले म त्यसको न्याय गरिदिनेछु, नत्रता त्यो एकोहोरो आएर मलाई वाक्क बनाउनेछे।’ ”

यति भन्‍नुभइसकेपछि येशूले दृष्टान्तको भाव बताउनुभयो: “सुन, ती अधर्मी न्यायाधीशले के भन्दछन्‌। के परमेश्‍वरले उहाँलाई रातदिन पुकार्ने आफ्ना चुनिएकाहरूको न्याय गरिदिनुहुन्‍न र? के उहाँले तिनीहरूका निम्ति बियाँलो गर्नुहुन्छ र? म तिमीहरूलाई भन्दछु, उहाँले चाँडै नै तिनीहरूको न्याय गरिदिनुहुनेछ। तापनि मानिसको पुत्र आउँदा के उसले पृथ्वीमा विश्‍वास भेट्टाउनेछ र?”—लूका १८:१-८, NRV.

“मेरो न्याय गरिदिनुहोस्‌”

९. विधवा र न्यायाधीशको दृष्टान्त कुन कुरामा केन्द्रित छ भनेर प्रस्टै देखिन्छ?

यो दृष्टान्त कुन कुरामा केन्द्रित छ, प्रस्टै बुझिन्छ। किनकि दृष्टान्तका दुवै पात्र अनि येशू स्वयम्‌ले त्यो कुरा उल्लेख गर्नुभयो। विधवाले यसो भन्दै बिन्ती गरेकी थिइन्‌: “मेरो न्याय गरिदिनुहोस्‌।” न्यायाधीशले चाहिं यसो भनेका थिए: “म त्यसको न्याय गरिदिनेछु।” अनि येशू स्वयम्‌ले यस्तो प्रश्‍न गर्नुभएको थियो: “के परमेश्‍वरले . . . आफ्ना चुनिएकाहरूको न्याय गरिदिनुहुन्‍न र?” अन्तमा यहोवाको विषयमा येशूले यसो भन्‍नुभयो: “उहाँले चाँडै नै तिनीहरूको न्याय गरिदिनुहुनेछ।” (लूका १८:३, ५, ७, ८, NRV) उसोभए यहोवाले कहिले ‘न्याय गरिदिनुहुन्छ’?

१०. (क) प्रथम शताब्दीमा यहोवाले कहिले न्याय गरिदिनुभयो? (ख) अहिले यहोवाका जनहरूको पक्षमा कहिले अनि कसरी न्याय गरिनेछ?

१० प्रथम शताब्दीमा इस्वी संवत्‌ ७० मा यहोवाको “बदला लिने दिन” आउँदा यरूशलेम र त्यसको मन्दिर नष्ट भयो। (लूका २१:२२) अहिले परमेश्‍वरका जनहरूको पक्षमा भने यहोवाले आफ्नो “भयानक दिन[मा]” उनीहरूको न्याय गरिदिनुहुनेछ। (सपन्याह १:१४; मत्ती २४:२१) त्यस भयानक दिनमा येशूले “परमेश्‍वरलाई नचिन्‍नेहरूलाई, हाम्रा प्रभु येशूको सुसमाचार नमान्‍नेहरूलाई बदला” लिनुहुँदा यहोवाले आफ्ना जनहरूलाई “दुःख दिनेहरूलाई दुःख” दिनुहुनेछ।—२ थिस्सलोनिकी १:६-८; रोमी १२:१९.

११. यहोवाले कसरी “चाँडै नै” न्याय गरिदिनुहुनेछ?

११ यहोवाले “चाँडै नै” न्याय गरिदिनुहुनेछ भनेर येशूले दिनुभएको आश्‍वासनलाई चाहिं हामीले कसरी बुझ्नुपर्छ? यहोवा “सहनशील” हुनु भए तापनि न्याय गर्ने समय आएपछि रतीभर ढिलासुस्ती गर्नुहुनेछैन भनेर परमेश्‍वरको वचनले देखाउँछ। (लूका १८:७, ८; २ पत्रुस ३:९, १०) नूहको समयमा जलप्रलय हुँदा, दुष्टहरू तुरुन्तै नाश भए। त्यसै गरी, लूतको दिनमा आकाशबाट आगो वर्षंदा दुष्टहरू मरे। येशूले भन्‍नुभयो: “मानिसको पुत्र प्रकट हुने दिनमा यस्तै हुनेछ।” (लूका १७:२७-३०, NRV) त्यो बेला पनि दुष्टहरू ‘अचानकसँग विनाश’ हुनेछन्‌। (१ थिस्सलोनिकी ५:२, ३) तसर्थ, शैतानको यस संसारको न्याय गर्ने समय आएपछि यहोवाले त्यसलाई एक दिन पनि बढ्‌ता टिक्न दिनुहुनेछैन भनेर हामी ढुक्क हुन सक्छौं।

‘उहाँले तिनीहरूको न्याय गरिदिनुहुनेछ’

१२, १३. (क) येशूले बताउनुभएको विधवा र न्यायाधीशको दृष्टान्तले के सिकाउँछ? (ख) यहोवाले हाम्रो प्रार्थना सुनेर न्याय गरिदिनुहुनेछ भनेर हामी किन पक्का हुन सक्छौं?

१२ येशूले सुनाउनुभएको विधवा र न्यायाधीशको दृष्टान्तले अरू महत्त्वपूर्ण तथ्य पनि प्रकट गर्छ। दृष्टान्तको भाव बुझाउँदै येशूले यसो भन्‍नुभयो: “सुन, ती अधर्मी न्यायाधीशले के भन्दछन्‌। के परमेश्‍वरले . . . आफ्ना चुनिएकाहरूको न्याय गरिदिनुहुन्‍न र?” येशूले पक्कै पनि यहोवालाई अधर्मी न्यायाधीशसित तुलना गरेर उहाँले पनि त्यस्तै व्यवहार गर्नुहुन्छ भन्‍नुभएको होइन। बरु परमेश्‍वर र न्यायाधीशबीचको भिन्‍नता देखाएर येशूले यहोवाको विषयमा बुझ्नुपर्ने पाठ आफ्ना चेलाहरूलाई सिकाउँदै हुनुहुन्थ्यो। परमेश्‍वर र न्यायाधीशबीच के-के भिन्‍नता छ?

१३ येशूको दृष्टान्तको न्यायाधीश “अधर्मी” थिए। तर यहोवा “निष्पक्ष न्यायाधीश हुनुहुन्छ।” (भजन ७:११; ३३:५) अधर्मी न्यायाधीशलाई विधवाको पटक्कै वास्ता थिएन तर यहोवा हरेक व्यक्‍तिको वास्ता गर्नुहुन्छ। (२ इतिहास ६:२९, ३०) अधर्मी न्यायाधीशसित विधवालाई मदत गर्ने इच्छा थिएन। तर यहोवा आफ्ना सेवकहरूलाई मदत गर्न इच्छुक मात्र होइन आतुर पनि हुनुहुन्छ। (यशैया ३०:१८, १९) उसोभए येशूको दृष्टान्तबाट हामी के पाठ सिक्छौं? यदि अधर्मी न्यायाधीशले त विधवाको बिन्ती सुनेर न्याय गरिदिए भने, यहोवाले झन्‌ कति बढ्‌ता गरेर आफ्ना जनहरूको प्रार्थना सुनेर न्याय गरिदिनुहुनेछ होला!—हितोपदेश १५:२९.

१४. परमेश्‍वरले न्याय गर्नुहुने दिन आउने हो कि होइन भनेर हामीले किन शंका गर्नुहुँदैन?

१४ तसर्थ, परमेश्‍वरले न्याय गर्नुहुने दिन आउनेछ भनेर विश्‍वास गर्न छाड्‌ने व्यक्‍तिहरूले ठूलो गल्ती गरिरहेका छन्‌। किन? “परमप्रभुको भयानक दिन नजिकै छ” भनेर विश्‍वास गर्न छाडेर तिनीहरूले वास्तवमा यहोवाले आफ्ना प्रतिज्ञाहरू पूरा गर्नुहोला भनेर भरोसा गर्न सकिन्‍न भनिरहेका छन्‌। तर उहाँ भरोसायोग्य हुनुहुन्छ वा हुनुहुन्‍न के कसैसित त्यसरी औंला तेर्साउने अधिकार छ र? (अय्यूब ९:१२) भन्‍ने नै हो भने आफू वफादार भइरहन सक्छु कि सक्दिनँ भनेर पो हामीले प्रश्‍न गर्नुपर्ने हो। विधवा र न्यायाधीशको दृष्टान्तको अन्तमा येशूले त्यही प्रश्‍न उठाउनुभयो।

“मानिसको पुत्र आउँदा के उसले पृथ्वीमा विश्‍वास पाउनेछ?”

१५. (क) येशूले के सोध्नुभयो र किन? (ख) हामीले आफूसित कुन प्रश्‍न सोध्नुपर्छ?

१५ दृष्टान्तको अन्तमा येशूले यो चाखलाग्दो प्रश्‍न सोध्नुभयो: “मानिसको पुत्र आउँदा के उसले पृथ्वीमा विश्‍वास पाउनेछ?” (लूका १८:८) येशूले यहाँ सबैसित हुने सामान्य विश्‍वासको कुरा गरिरहनुभएको थिएन। उहाँले दृष्टान्तको विधवाको जस्तै विशेष प्रकारको विश्‍वासको कुरा गर्दै हुनुहुन्थ्यो। मानिसको पुत्रले त्यस्तै विश्‍वास पाउँछ वा पाउँदैन, येशूले जवाफ दिनुभएन। किनकि हरेक चेलाले आफ्नो विश्‍वास जाँचेर आफैले त्यसको जवाफ देओस्‌ भनेर येशूले उक्‍त प्रश्‍न सोध्नुभएको थियो। के उनीहरूको विश्‍वास बिस्तारै कमजोर हुँदै पहिले त्यागिसकेका कुराहरूतिर फर्केर जान थालेको छ? वा त्यस विधवाको जस्तै उनीहरूको विश्‍वास पनि अटल छ? ‘ “मानिसको पुत्र” आउँदा उसले मेरो हृदयमा कस्तो प्रकारको विश्‍वास पाउनेछ’ भनेर आज हामीले पनि आफैसित प्रश्‍न गर्नुपर्छ।

१६. विधवासित कस्तो विश्‍वास थियो?

१६ यहोवाले हाम्रो न्याय गरिदिएको चाहन्छौं भने हामी पनि येशूको दृष्टान्तको विधवाजस्तै हुनुपर्छ। विधवाको विश्‍वास कस्तो थियो? ‘मेरो न्याय गरिदिनुहोस्‌’ भनेर न्यायाधीशकहाँ बारम्बार ‘गइरहेर’ विधवाले आफ्नो विश्‍वास प्रकट गरिन्‌। ती विधवाले त्यस्तो अधर्मी न्यायाधीशलाई खुरन्धार बिन्ती गरेर न्याय पाइछाडिन्‌। त्यसै गरी, आज परमेश्‍वरका सेवकहरूले आफूले आशा गरेभन्दा ढिलो भयो भन्दैमा यहोवाको न्याय पाउने आशा मार्नुहुँदैन। हामीले खुरन्धार प्रार्थना गरेर—हो, ‘उहाँलाई रातदिन पुकारेर’ आफ्नो विश्‍वास प्रकट गर्नुपर्छ। (लूका १८:७) हुन पनि, यहोवासित न्याय माग्न छाड्‌नु भनेको यहोवाले आफ्ना सेवकहरूको खातिर कदम चाल्नुहुनेछ भनेर भरोसा गर्न छाड्‌नु बराबर हो।

१७. यहोवालाई खुरन्धार प्रार्थना गर्ने अनि उहाँले हाम्रो न्याय गर्नुहुनेछ भनेर विश्‍वास गर्ने के कारणहरू छन्‌?

१७ विधवाको परिस्थितिले पनि हामीलाई खुरन्धार प्रार्थना गर्नु पर्ने थप कारणहरू बताउँछ। तिनको परिस्थितिलाई हाम्रो परिस्थितिसित दाँजेर हेरौं। न्यायाधीशले न्याय नगरिदिएसम्म बिन्ती गरिरहनू भनेर त्यस विधवालाई कसैले सल्लाह वा प्रोत्साहन दिएको थिएन। तर “प्रार्थनामा अटूटसँग लागिरहो” भनेर परमेश्‍वरको वचनले हामीलाई निरन्तर प्रोत्साहन दिइरहन्छ। (रोमी १२:१२) ती अधर्मी न्यायाधीशले आफ्नो बिन्ती सुनेर न्याय गरिदिने हो वा होइन, विधवासित कुनै ग्यारेन्टी थिएन। तर यहोवाले हाम्रो बिन्ती सुनेर न्याय गरिदिनुहुनेछ भन्‍ने ग्यारेन्टी हामीसित छ। आफ्नो अगमवक्‍तामार्फत यहोवाले यसो भन्‍नुभयो: “त्यो पूरा हुनु ढीलो भए तापनि त्यसको बाटो हेर्दै बस्‌, किनभने त्यो निश्‍चय पूरा हुनेछ, त्यसले ढीलो गर्नेछैन।” (हबकूक २:३; भजन ९७:१०) अर्को कुरा, न्यायाधीशसित कुरा गरिदिने कोही पनि मान्छे त्यस विधवासित थिएन। तर हामीसित छ। अझ हामीसित त मान्छे भन्दा शक्‍तिशाली व्यक्‍ति, येशू ख्रीष्ट हुनुहुन्छ, जो “परमेश्‍वरको दाहिने बाहुलीतर्फ हुनुहुन्छ, र जसले हाम्रा निम्ति अन्तरबिन्ती पनि गर्नुहुन्छ।” (रोमी ८:३४; हिब्रू ७:२५) तसर्थ, कुनै आसलाग्दो स्थिति नभएकी त्यस विधवाले त न्यायाधीशले न्याय गरिदेलान्‌ भनेर आशा मारिनन्‌ भने यहोवाले हाम्रो न्याय गर्नुहुनेछ भनेर हामीले झन्‌ कति बढ्‌ता विश्‍वास गर्नुपर्ने हो!

१८. प्रार्थनाले हाम्रो विश्‍वासलाई कसरी बलियो बनाउनुका साथै न्याय पनि दिलाउँछ?

१८ विधवाको दृष्टान्तले प्रार्थना र विश्‍वासबीच गहिरो सम्बन्ध छ र खुरन्धार प्रार्थनाले विश्‍वासलाई कमजोर हुन दिंदैन भनेर सिकाउँछ। तथापि, देखावटी प्रार्थनाले विश्‍वासलाई बलियो बनाउन सक्छ भन्‍न खोजिएको चाहिं होइन। (मत्ती ६:७, ८) हामीले यहोवामाथि पूरा भरोसा गर्नुपर्छ भनेर बुझेका छौं र बुझेर प्रार्थना गर्न अग्रसर भएका छौं भने मात्र त्यस्तो प्रार्थनाले यहोवासित घनिष्ठ हुन मदत गर्नुका साथै हाम्रो विश्‍वासलाई बलियो बनाउँछ। यसप्रकार, उद्धार पाउन विश्‍वास नभई नहुने भएको हुनाले नै आफ्ना चेलाहरूले “प्रार्थना गरिरहून्‌ र निराश नहोऊन्‌” भनेर प्रोत्साहन दिन येशूले आवश्‍यक ठान्‍नुभयो। (लूका १८:१; २ थिस्सलोनिकी ३:१३) हो, “परमप्रभुको भयानक दिन” हामीले प्रार्थना गर्दैमा छिटो आउने त होइन। कसैले प्रार्थना गरोस्‌ वा नगरोस्‌, त्यो दिन आफ्नो समयमा आउनेछ, त्यसमा कुनै शंका छैन। तर त्यस दिन हामीले न्याय पाउने अथवा हाम्रो उद्धार हुने वा होइन भन्‍ने कुरा चाहिं निस्सन्देह हाम्रो विश्‍वास, प्रार्थना अनि हामीले चुनेको बाटोमा नै भर पर्छ।

१९. परमेश्‍वरले ‘न्याय गरिदिनुहुनेछ’ भनेर हामी ढुक्क छौं भनी कसरी प्रमाणित गर्न सक्छौं?

१९ “मानिसको पुत्र आउँदा के उसले पृथ्वीमा विश्‍वास भेट्टाउनेछ?” भनेर येशूले गर्नुभएको प्रश्‍न हामीलाई यादै होला। के यस रोचक प्रश्‍नको जवाफ छ? खुसीको कुरा, अहिले संसारभरि यहोवाका लाखौं वफादार सेवकहरूले प्रार्थना, धैर्यता, अनि लगनद्वारा आफूसित त्यस्तो विश्‍वास छ भनेर प्रमाण दिइरहेका छन्‌। अतः येशूको उक्‍त प्रश्‍नको सकारात्मक जवाफ दिन सकिन्छ। हो, शैतानको यस संसारले हामीमाथि एकपछि अर्को अन्याय थप्दै गए तापनि परमेश्‍वरले ‘आफ्ना चुनिएकाहरूको न्याय गरिदिनुहुनेछ’ भनेर हामी ढुक्क छौं। (w06 12/15)

[फुटनोट]

a यस दृष्टान्तको अर्थ राम्ररी बुझ्न लूका १७:२२-३३ पढ्‌नुहोस्‌। “मानिसको पुत्र” उल्लिखित अरू पद, लूका १७:२२, २४, ३० ले कसरी लूका १८:८ मा सोधिएको प्रश्‍नको जवाफ दिन मदत गर्छ, हेर्नुहोस्‌।

के तपाईंलाई याद छ?

• के कारणले गर्दा केही मसीहीहरूको विश्‍वास धरमराएको छ?

• यहोवाले न्याय गर्नुहुने दिन आउँदैछ भनेर हामी किन ढुक्क हुन सक्छौं?

• खुरन्धार प्रार्थना गर्ने के कारणहरू छन्‌?

• खुरन्धार प्रार्थना गर्नाले कसरी हाम्रो विश्‍वास धरमराउन पाउँदैन?

[प्रश्‍नहरू]

[पृष्ठ १८-मा भएको चित्र]

विधवा र न्यायाधीशको दृष्टान्तबाट के पाठ सिक्छौं?

[पृष्ठ २१-मा भएका चित्रहरू]

परमेश्‍वरले ‘न्याय गरिदिनुहुनेछ’ भनेर लाखौं मानिसहरू ढुक्क छन्‌