सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

हुरीबतासले तपाईंलाई ढाल्न सक्दैन

हुरीबतासले तपाईंलाई ढाल्न सक्दैन

हुरीबतासले तपाईंलाई ढाल्न सक्दैन

यस डरलाग्दो समयमा थुप्रैले हुरीबताससरह विपत्तिहरू भोगिरहेका छन्‌। परमेश्‍वरलाई प्रेम गरेकोले अनि उहाँका सिद्धान्तहरूप्रति वफादार भएकोले मसीहीहरू भने यस्ता विपत्तिहरूसित जुझ्न सकेका छन्‌। कसरी? यसको जवाफ येशूले दिनुभएको दृष्टान्तमा छ। येशूले आफ्ना आज्ञाकारी चेलाहरूलाई ‘आफ्नो घर चटानमाथि बनाउने’ “एउटा बुद्धिमान मानिससित” तुलना गर्नुभयो। येशूले भन्‍नुभयो: “अनि पानी परेर भल आयो, हुरी चल्यो, र त्यस घरमाथि बजारियो, रपनि त्यो ढलेन। किनकि त्यो चटानमाथि बसालिएको थियो।”—मत्ती ७:२४, २५.

दृष्टान्तमा बताइएको मानिस बुद्धिमान्‌ भए तापनि उनीमाथि वर्षात्‌, भल अनि हुरीजस्ता समस्याहरूले चित्रण गर्ने आपत्‌विपत्‌ आइपरेको कुरा याद गर्नुहोस्‌। आफ्ना चेलाहरूले जीवनमा कुनै समस्या भोग्नुपर्ने छैन र तिनीहरूलाई सधैं सुख-शान्ति हुनेछ भन्‍ने संकेत येशूले दिनुभएन। (भजन ३४:१९; याकूब ४:१३-१५) बरु, परमेश्‍वरका विश्‍वासी सेवकहरू यस्ता भयङ्‌कर आपत्‌विपत्‌ अनि समस्याहरूको डटेर सामना गर्न तयार हुन्छन्‌ भन्‍नुभयो।

यसो भन्दै येशूले दृष्टान्त सुरु गर्नुभयो: “यसकारण जसले मेरा यी वचनहरू सुन्छ र गर्छ, म एउटा बुद्धिमान मानिससित त्यसको तुलना गर्छु, जसले आफ्नो घर चटानमाथि बनायो।” हो, वास्तवमा येशू ढुंगा र माटोले घर बनाउने विषयमा होइन तर मसीही जीवन निर्माण गर्नेबारे कुरा गर्दै हुनुहुन्थ्यो। येशूको सल्लाह पालन गर्नेहरू समझदार अनि सही निर्णय गर्न सक्ने हुन्छन्‌। सिकेको कुरा प्रयोग गरेर तिनीहरू ख्रीष्टको शिक्षाको बलियो चट्टानमाथि आफ्नो मसीही जीवन निर्माण गर्छन्‌। अर्को शब्दमा भन्‍नुपर्दा, तिनीहरूले आफ्नो सम्पूर्ण उत्प्रेरणा र गतिविधिको आधार मसीही शिक्षालाई बनाउँछन्‌। रोचक कुरा के छ भने, यस दृष्टान्तमा बताइएको चट्टान सजिलै भेट्टाउन सकिंदैन। यस्तो चट्टान भेट्टाउन दृष्टान्तमा बताइएको मानिसले जमिनमा “गहीरो गरी” खनेको थियो। (लूका ६:४८) त्यसै गरी, येशूका चेलाहरू आफूलाई परमेश्‍वरसित नजिक बनाउने यस्ता स्थायी गुणहरू खेती गर्न अथक प्रयास गरिरहन्छन्‌।—मत्ती ५:५-७; ६:३३.

मसीही जगप्रतिको आफ्नो निष्ठा नै ढलपल हुने खालको हुरीबतास चल्दा येशूका चेलाहरू के गर्छन्‌? ख्रीष्टको शिक्षाअनुसार गर्ने इच्छुकता र मसीही गुणहरूले तिनीहरूलाई यस्तो कठिन अवस्थामा र आउँदै गरेको आरमागेडोनको हुरीबतासमा स्थिर रहन मदत गर्छ। (मत्ती ५:१०-१२; प्रकाश १६:१५, १६) हो, येशूको शिक्षा पालन गरेकोले थुप्रैलाई हुरीबताससरह समस्याहरूले ढाल्न सकेको छैन। अनि तपाईंलाई पनि ढाल्न सक्दैन।—१ पत्रुस २:२१-२३. (w07 1/1)