सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अरूले मात्र सत्य बोलोस्‌! यस्तो आशा गर्नु कत्तिको ठीक होला?

अरूले मात्र सत्य बोलोस्‌! यस्तो आशा गर्नु कत्तिको ठीक होला?

अरूले मात्र सत्य बोलोस्‌! यस्तो आशा गर्नु कत्तिको ठीक होला?

सोह्र वर्षे केटीले झोकिंदै भनिन्‌: “मलाई झूट बोलेको मनै पर्दैन, कसैले झूट बोल्यो कि झनक्क रिस उठ्‌छ!” हामीमध्ये धेरैलाई पनि यस्तै लाग्छ। हामी चाहन्छौं, हामीलाई दिइने जानकारी मौखिक होस्‌ वा लिखित, त्यो सत्य होस्‌। तर प्रश्‍न उठ्‌छ: हामीले अरूलाई दिने जानकारीचाहिं कत्तिको सत्य हुन्छ नि?

जर्मनीमा गरिएको सर्वेक्षणमा अधिकांश व्यक्‍तिले आफ्नो विचार यसरी व्यक्‍त गरे: “आफ्नो र अरूको इज्जत जोगाउन सानोतिनो झूट बोल्न त भइहाल्छ! अझ अरूसितको सम्बन्ध नबिगार्न त झूट बोल्नै पर्ने हुन्छ।” एउटी पत्रकारले लेखिन्‌: “सधैं सत्य बोल्नु भनेको आदर्श व्यक्‍ति बन्‍नु हो तर सत्य मात्र बोल्दा जीवन त्यत्ति रमाइलो हुँदैन!”

अरूले सत्य बोलोस्‌ भन्‍ने चाहनु तर आफूले चाहिं कहिलेकाहीं झूट बोल्दा पनि हुन्छ भन्‍ने सोच्नु कत्तिको ठीक होला? सत्य बोले पनि नबोले पनि के फरक पर्छ र? सत्य नबोल्दा कस्ता नतिजाहरू भोग्नुपर्छ?

झूट बोल्दा हुने हानि

झूट बोल्दा हुने हानि विचार गर्नुहोस्‌। श्रीमान्‌-श्रीमती र परिवारका सदस्यहरूबीच जुन भरोसा हुन्छ, झूट बोल्दा त्यो भरोसा गुम्छ। अरूको विषयमा भए-नभएको कुरा गर्दा उनीहरूको इज्जतमा दाग लाग्छ। कामदारहरूले चोरी गर्दा वा काममा ठग्दा उत्पादन खर्च बढ्‌छ र उत्पादित सामग्री महँगो हुँदा उपभोक्‍ताहरू मारमा पर्छन्‌। कर छल्दा सरकारी राजस्व सुक्खा-सुक्खी हुन्छ र सार्वजनिक सेवाहरूमा खर्च गर्नुपर्ने रकम नै हुँदैन। अनुसन्धानकर्ताहरूले भ्रामक जानकारी फैलाए भने उनीहरूले जागिरबाट त हात धुनुपर्छ नै, प्रतिष्ठित संस्थाहरूको नामसमेत बदनाम हुन्छ। बेइमानी गरेर राता-रात धनी बन्‍ने चक्करमा लाग्दा पसिना चुहाएर कमाएको रकम डुब्छ वा त्योभन्दा नमिठो नतिजा भोग्नुपर्ने हुन सक्छ। यसैकारण त यहोवा परमेश्‍वरले घृणा गर्नुहुने कुरामा “झूट बोल्ने जिब्रो” र “असत्य बोल्ने झूटा गवाही” पनि पर्छन्‌ भनेर बाइबलले बताउनु अचम्मलाग्दो कुरा होइन!—हितोपदेश ६:१६-१९.

हावाजस्तै व्याप्त झूटले व्यक्‍तिविशेषलाई मात्र होइन, सिंगो समाजलाई नै हानि गर्न सक्छ। यस विषयमा कसैको दुई मत नहुनुपर्ने हो। तर यो कुरा थाह हुँदाहुँदै पनि मानिसहरू किन जानाजानी झूट बोल्छन्‌? अनि के सत्य कुरा नबताउनुलाई पनि झूट भन्‍न मिल्छ? यी तथा अरू प्रश्‍नहरूको जवाफ अर्को लेखमा छलफल गर्नेछौं। (w07 2/1)

[पृष्ठ ३-मा भएको चित्र]

श्रीमान्‌-श्रीमतीबीच जुन भरोसा हुन्छ, झूट बोल्दा त्यो भरोसा गुम्छ