सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

कदर गर्न कहिल्यै नछोड्‌नुहोस्‌

कदर गर्न कहिल्यै नछोड्‌नुहोस्‌

कदर गर्न कहिल्यै नछोड्‌नुहोस्‌

“तपाईंका विचारहरू कति अमूल्य छन्‌। तिनीहरूको संख्याको सार कति ठूलो छ।” —भजन १३९:१७.

१, २. हामीले किन परमेश्‍वरको वचनको कदर गर्नुपर्छ र भजनरचयिताले आफ्नो भावना कसरी व्यक्‍त गरे?

 ओहो! कत्ति अनमोल कुरा फेला परेछ! यरूशलेममा यहोवाको मन्दिर मर्मत गर्दा पूजाहारी हिल्कियाहले “मोशाद्वारा दिएको परमप्रभुको व्यवस्थाको पुस्तक भेट्टाए!” यो त लगभग ८०० वर्षअघि मोशाले नै लेखेको व्यवस्थाको सक्कल प्रति थियो! यो पुस्तक परमेश्‍वरको भय राख्ने राजा योशियाहसामु राखिंदा तिनलाई कस्तो लाग्यो होला, तपाईं कल्पना गर्न सक्नुहुन्छ? तिनलाई त्यो क्षण निकै अनमोल लाग्यो र सचिव शापानलाई तुरुन्तै त्यो पुस्तक ठूलो स्वरले पढ्‌न लगाए।—२ इतिहास ३४:१४-१८.

आज पनि परमेश्‍वरको वचनको पूर्ण अथवा केही अंश अरबौं मानिसले पढ्‌न पाएका छन्‌। के यसको अर्थ परमेश्‍वरको वचनको मान घटेको हो? कदापि, होइन! वास्तवमा हाम्रै फाइदाको लागि परमेश्‍वरको वचनमा सर्वशक्‍तिमान्‌ परमेश्‍वरकै विचारहरू लेखिएका छन्‌। (२ तिमोथी ३:१६) भजनरचयिता दाऊदले परमेश्‍वरको वचनप्रतिको आफ्नो भावना यसरी पोखाए: “हे परमेश्‍वर, मेरो निम्ति तपाईंका विचारहरू कति अमूल्य छन्‌। तिनीहरूको संख्याको सार कति ठूलो छ।”—भजन १३९:१७.

३. परमेश्‍वरसितको आफ्नो सम्बन्धलाई दाऊद अत्यन्तै अनमोल ठान्थे भनेर केले देखाउँछ?

यहोवा परमेश्‍वर, उहाँको वचन अनि साँचो उपासनाको निम्ति उहाँले गर्नुभएको प्रबन्धप्रति दाऊदको कृतज्ञता कहिल्यै कम भएन। दाऊदले रचेका थुप्रै सुन्दर भजनहरूमा तिनको भावना व्यक्‍त भएका छन्‌। जस्तै: भजन २७:४ मा तिनले आफ्नो कृतज्ञता यसरी व्यक्‍त गरे: “एउटै कुरा म परमप्रभुसँग माग्दछु, मैले खोजेको यही हो, कि जीवनभरि म परमप्रभुको भवनमा रहन पाऊँ, र उहाँको सुन्दरतालाई हेरिरहन पाऊँ, र उहाँको मन्दिरमा [“कृतज्ञ भई ध्यान दिन सकूँ।” NW ] मूल हिब्रूमा “कृतज्ञ भई ध्यान दिन” भन्‍ने अभिव्यक्‍तिको अर्थ हुन्छ: चिन्तन-मनन गर्नु, नियाल्नु अनि रमाइलो मान्दै, खुसी हुँदै र प्रशंसा गर्दै हेर्नु। परमेश्‍वरसितको आफ्नो सम्बन्धलाई दाऊद अत्यन्तै अनमोल ठान्थे। त्यसैकारण, तिनी आफ्नो विश्‍वास बलियो पार्न यहोवाले दिनुभएको हर कुराको कदर गर्थे र स्वादिलो खाना मीठो मानेर खाएझैं परमेश्‍वरले प्रकट गर्नुभएको आध्यात्मिक सत्यलाई पनि स्वाद लिईकन मीठो मानेर लिन्थे। कदर गर्ने सम्बन्धमा तिनको उदाहरण अनुकरण गर्न लायकको छ।—भजन १९:७-११.

बाइबल सत्य बुझ्ने सुअवसर पाएकोमा कृतज्ञ हुनुहोस्‌

४. के कारण येशू ‘पवित्र आत्मामा रमाउनुभयो’?

घमन्ड बढाउने सांसारिक शिक्षा वा बुद्धिमा भर परेर परमेश्‍वरको वचन राम्ररी बुझ्न सकिंदैन। यहोवाले अपार दया गर्नुभयो भने मात्र उहाँको वचन राम्ररी बुझ्न सक्छौं। नम्र अनि आफ्नो आध्यात्मिक आवश्‍यकताप्रति सजग हुने निष्कपट मानिसहरूलाई मात्र यहोवा यस्तो दया देखाउनुहुन्छ। (मत्ती ५:३; १ यूहन्‍ना ५:२०) केही असिद्ध मानिसहरूले आफ्नो नाउँ स्वर्गमा लेखाए भन्‍ने कुरा विचार गर्दा येशू ‘पवित्र आत्मामा रमाउनुभयो।’ र भन्‍नुभयो: “हे पिता, स्वर्ग र पृथ्वीका परमप्रभु, म तपाईंमा धन्यवाद चढाउँदछु, तपाईंले यी कुरा बुद्धिमान र समझदारबाट छिपाएर बालकहरूलाई प्रकट गर्नुभयो। हे पिता, किनकि तपाईंको दृष्टिमा यही असल लाग्यो।”—लूका १०:१७-२१.

५. येशूका चेलाहरूलाई प्रकट गरिएको परमेश्‍वरको राज्यसम्बन्धी सत्यलाई उनीहरूले किन हल्का ठान्‍नु हुँदैन थियो?

हृदयदेखि यस्तो प्रार्थना गरेपछि येशूले चेलाहरूतिर फर्केर यसो भन्‍नुभयो: “तिमीहरूले देखेका यी कुराहरू देख्ने आँखा धन्य हुन्‌। किनकि म तिमीहरूलाई भन्दछु, धेरै अगमवक्‍ताहरू र राजाहरूले तिमीहरूले देखेका यी कुराहरू हेर्ने इच्छा गरेका थिए, तर देखेनन्‌, औ तिमीहरूले सुनेका कुरा सुन्‍नालाई, तर ती सुनेनन्‌।” हो, चेलाहरूलाई प्रकट गरिएको परमेश्‍वरको राज्यसम्बन्धी सत्यलाई हल्का नठान्‍नू भनेर येशूले उनीहरूलाई प्रोत्साहन दिनुभयो। परमेश्‍वरको सुरु-सुरुका सेवकहरूलाई समेत यस्तो सत्य प्रकट गरिएको थिएन अनि येशूको जमानाका ‘बुद्धिमान्‌ र समझदारहरूलाई’ समेत बताइएको थिएन!—लूका १०:२३, २४.

६, ७. (क) ईश्‍वरीय सत्यको कदर गर्नुपर्ने के-कस्ता कारण हामीसित छन्‌? (ख) अहिले साँचो धर्म र झूटो धर्मबीच कस्तो भिन्‍नता देख्न सकिन्छ?

अहिले हाम्रो समयमा पनि ईश्‍वरीय सत्यको कदर गर्नुपर्ने थुप्रै कारण हामीसित छन्‌। किनकि यहोवा परमेश्‍वरले ‘विश्‍वासी र बुद्धिमान्‌ दासमार्फत’ आफ्ना जनहरूलाई उहाँको वचनको अझै गहिरा कुराहरू बुझ्ने सुअवसर दिनुभएको छ। (मत्ती २४:४५; दानियल १२:१०) अन्तको समयबारे भविष्यवक्‍ता दानियलले लेखे: “धेरै जना यता र उता जानेछन्‌ र साँचो ज्ञान प्रशस्त हुनेछ।” (दानियल १२:४, NW) के तपाईंलाई अहिले परमेश्‍वरबारे ‘ज्ञान बढेको छ’ अनि परमेश्‍वरका सेवकहरूले प्रशस्त मात्रामा आध्यात्मिक खानेकुरा खान पाइरहेका छन्‌ जस्तो लाग्दैन?

एकातिर परमेश्‍वरका जनहरूको आध्यात्मिक फलिफाप भइरहेको छ भने अर्कोतिर महान्‌ बेबिलोनमा धार्मिक गन्जागोल भइरहेको छ। कत्ति ठूलो भिन्‍नता! त्यसैकारण, झूटो धर्मदेखि वाक्क र हतास भएकाहरूले झूटो धर्म छोडेर साँचो उपासना अँगालिरहेका छन्‌। यिनीहरू महान्‌ बेबिलोनको पापसँग केही “संगत” गर्न नचाहने अथवा ‘त्यसका विपत्तिहरू भोग्न नचाहने’ नम्र मानिसहरू हुन्‌। यहोवा अनि उहाँका सेवकहरू यस्ता मानिसहरूलाई साँचो मसीही मण्डलीमा स्वागत गर्छन्‌।—प्रकाश १८:२-४; २२:१७.

कदर गर्नेहरू परमेश्‍वरकहाँ ओइरिन्छन्‌

८, ९. हाग्गै २:७ का शब्दहरू आज कसरी पूरा हुँदैछन्‌?

उपासना गर्ने आध्यात्मिक मन्दिरको सम्बन्धमा यहोवाले यस्तो भविष्यवाणी गर्नुभयो: “सबै जातिहरूलाई हल्लाउनेछु, र सबै जाति जातिका धन-सम्पत्तिहरू आउनेछ, र म यस भवनलाई महिमाले परिपूर्ण पारिदिनेछु।” (हाग्गै २:७) परमेश्‍वरका बाँकी जनहरूले निर्वासनबाट फर्केपछि यरुशलेमको मन्दिर पुनःनिर्माण गर्दा हाग्गैको समयमा यो भविष्यवाणी अचम्मलाग्दो गरी पूरा भएको थियो। आज पनि यहोवाको महान्‌ आध्यात्मिक मन्दिरको सम्बन्धमा हाग्गैका यी शब्दहरू विस्तृत अर्थमा पूरा भइरहेका छन्‌।

“आत्मा र सत्यतामा” परमेश्‍वरको उपासना गर्न लाखौं मानिस यस लाक्षणिक मन्दिरमा ओइरिसकेका छन्‌। अनि वर्षेनी दुई लाखभन्दा धेरै मानिस अर्थात्‌ “सबै जाति जातिका धन-सम्पत्तिहरू” यसतर्फ ओइरिरहेका छन्‌। (यूहन्‍ना ४:२३, २४) उदाहरणको लागि, सन्‌ २००६ सेवा वर्षको विश्‍वव्यापी रिपोर्टअनुसार त्यस वर्ष २,४८,३२७ जनाले बप्तिस्मा लिएर परमेश्‍वरप्रतिको आफ्नो समर्पण देखाए। औसतमा हिसाब निकाल्दा प्रत्येक दिन ६८० जना नयाँ व्यक्‍तिहरूले बप्तिस्मा लिएछन्‌! यिनीहरूले सत्यलाई माया गर्नु अनि राज्य प्रचारकको रूपमा यहोवाको सेवा गर्न चाहनु नै परमेश्‍वरले यिनीहरूलाई खिच्नुभएको प्रमाण हो।—यूहन्‍ना ६:४४, ६५.

१०, ११. मानिसहरूले बाइबल सत्यको कदर कसरी गर्न थाले, एउटा उदाहरण बताउनुहोस्‌।

१० “धर्मी र दुष्ट, अनि परमेश्‍वरको सेवा गर्ने र उहाँको सेवा नगर्नेको भेद . . . छुट्याउनसक्ने” भएकोले नै यस्ता थुप्रै निष्कपट मानिसहरू सत्यप्रति आकर्षित भएका हुन्‌। (मलाकी ३:१८) प्रोटेस्टेन्ट चर्च जाने गरेका तर धर्मसम्बन्धी थुप्रै प्रश्‍नको चित्तबुझ्दो जवाफ नपाएका दम्पती वेइन र भर्जिनियाको अनुभव विचार गर्नुहोस्‌। तिनीहरूलाई युद्ध मन पर्दैनथ्यो तर पादरीले सिपाहीहरू र हात-हतियारमाथि आशिष्‌ दिएको देख्दा तिनीहरू एकदमै अलमल्लमा परेका र विचलित भएका थिए। भर्जिनियाले सन्डे स्कूलमा पढाउन थालेको वर्षौं भएको थियो। तैपनि यस विवाहित जोडीको उमेर ढल्कँदै जाँदा चर्चका अन्य सदस्यहरूले तिनीहरूलाई वास्ता गर्नै छाडे। तिनीहरू भन्छन्‌, “कोही पनि हामीलाई भेट्‌न आउँदैनथे। हाम्रो आध्यात्मिक अवस्था कस्तो छ, कसैलाई मतलब थिएन। चर्चलाई त हाम्रो पैसा मात्र चाहिएको थियो। हामीलाई त उकुसमुकुस भयो।” यसबाहेक, आफ्नो चर्चले समलिङ्‌गीहरूलाई मान्यता दिएको देख्दा तिनीहरू झनै रनभुल्लमा परे।

११ त्यतिखेरै वेइन र भर्जिनियाकी नातिनी अनि पछि छोरी पनि यहोवाको साक्षी भए। छोरी र नातिनी साक्षी भएकोले सुरुमा त वेइन र भर्जिनियालाई नमीठो लाग्यो तर पछि मन बदलेर तिनीहरूले साक्षीहरूसित बाइबल अध्ययन गर्न थाले। वेइन भन्छन्‌, “बाइबलबारे हामीले बितेको ७० वर्षमा थाह नपाएका थुप्रै कुरा हामीले तीन महिनाभित्रै थाह पायौं! परमेश्‍वरको नाउँ यहोवा हो भनेर हामीलाई थाहै थिएन। उहाँको राज्य र प्रमोदवनबारे पनि हामीलाई पत्तै थिएन।” केही समय पछि नै यस दम्पतीले यहोवाका साक्षीहरूको स्थानीय मण्डलीमा हुने सभाहरूमा जान अनि सेवकाईमा पनि भाग लिन थाले। भर्जिनिया भन्छिन्‌, “हामी सबैलाई बाइबल सत्यबारे बताउन चाहन्थ्यौं।” असी वर्ष नाघिसकेको भए तापनि दुवैले सन्‌ २००५ मा बप्तिस्मा लिए। तिनीहरू भन्छन्‌, “बल्ल हामीले साँचो मसीहीहरूको समाज फेला पाऱ्‍यौं!”

“हरेक सुकर्ममा . . . सुसज्जित” हुन पाएकोमा कृतज्ञ हुनुहोस्‌

१२. यहोवाले आफ्ना सेवकहरूलाई सधैं के दिनुहुन्छ र त्यसबाट फाइदा उठाउन हामीले के गर्नै पर्छ?

१२ यहोवा आफ्ना सेवकहरूलाई उहाँको इच्छा पूरा गर्न सधैं मदत गर्नुहुन्छ। उदाहरणको लागि, जहाज बनाउन नूहले सुस्पष्ट र विस्तृत निर्देशन पाएका थिए र त्यो जहाज पहिलो पटकमा नै भनेजस्तै हुनुपर्थ्यो! अनि हुन पनि त्यस्तै भयो। कसरी? नूहले “त्यसै गरे—परमेश्‍वरले तिनीलाई आज्ञा गरेबमोजिम तिनले सबै गरे।” (उत्पत्ति ६:१४-२२) आज पनि यहोवा आफ्ना सेवकहरूलाई उहाँको इच्छा पूरा गर्न पूर्णरूपले सुसज्जित पार्नुहुन्छ। हाम्रो मुख्य काम स्वर्गमा स्थापित परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्नु र योग्य व्यक्‍तिहरूलाई येशू ख्रीष्टको चेला हुन मदत गर्नु हो। अनि नूहजस्तै आज्ञाकारी भयौं भने हामी पनि सफल हुन सक्छौं। त्यसैकारण, यहोवाले आफ्नो वचन र संगठनमार्फत डोऱ्‍याउनुहुँदा हामी आज्ञाकारी भएर त्यसअनुसार चल्नै पर्छ।—मत्ती २४:१४; २८:१९, २०.

१३. यहोवाले हामीलाई कसरी तालिम दिइरहनुभएको छ?

१३ यो काम पूरा गर्न हामीले हाम्रो मुख्य हतियार परमेश्‍वरको वचनलाई “ठीकसँग प्रयोग” गर्न सिक्नै पर्छ। (२ तिमोथी २:१५) यो वचन “सिकाउनलाई, अर्ती दिनलाई, सच्याउनलाई, उचित जीवन यापन गर्नलाई उपयोगी हुन्छ,” ताकि, “परमेश्‍वरको जन हरेक सुकर्ममा पूर्णरूपले सुसज्जित भई सिद्ध भएको होस्‌।” (२ तिमोथी ३:१६, १७) प्रथम शताब्दीमा जस्तै अहिले पनि यहोवा हामीलाई मसीही मण्डलीमार्फत अति उपयोगी तालिम दिनुहुन्छ। हाम्रो सेवकाईमा सहयोग पुगोस्‌ भनेर आज विश्‍वभरि ९९,७७० मण्डलीहरूमा हरेक हप्ता ईश्‍वरतान्त्रिक सेवकाई स्कूल तथा सेवा सभा सञ्चालन हुन्छन्‌। यी महत्त्वपूर्ण सभाहरूमा नियमित उपस्थित भएर अनि सिकेको कुराअनुसार जीवन बिताएर के तपाईंले यी सभाहरूको कदर गरिरहनुभएको छ?—हिब्रू १०:२४, २५.

१४. यहोवाका सेवकहरूले उहाँको सेवा गर्ने सुअवसरप्रति कसरी कृतज्ञता देखाइरहेका छन्‌?

१४ विश्‍वभरि परमेश्‍वरका लाखौं जनहरूले प्रचारकार्यमा जोडतोडसित लागेर यी तालिमहरूप्रति कृतज्ञता देखाइरहेका छन्‌। उदाहरणको लागि, सन्‌ २००६ सेवा वर्षमा ६७,४१,४४४ राज्य प्रकाशकले सेवकाईको हर पक्षमा जम्मा १,३३,३९,६६,१९९ घण्टा बिताए र यसमा ६२,८६,६१८ वटा गृह बाइबल अध्ययन सञ्चालन गरेको रिपोर्ट पनि समावेश छ। यी त विश्‍वव्यापी रिपोर्टको प्रोत्साहनदायी विवरणहरूमध्ये केही मात्र हुन्‌। प्रथम शताब्दीमा प्रचारकार्य विस्तार भएको रिपोर्ट पाउँदा त्यतिखेर हाम्रा भाइबहिनीहरू प्रोत्साहित भएझैं हामी पनि यस्तो रिपोर्ट पाउँदा प्रोत्साहित हुन्छौं।—प्रेरित १:१५; २:५-११, ४१, ४७; ४:४; ६:७.

१५. यहोवालाई आफ्नो सारा प्राणले सकेजति सेवा चढाउँदा किन कोही पनि निराश हुनु पर्दैन?

१५ यसरी वर्षेनी परमेश्‍वरको प्रशंसा गर्ने यस कार्यमा जोडतोडले लागेर यहोवाका सेवकहरूले उहाँलाई चिन्‍ने अनि उहाँबारे साक्षी दिने सुअवसर पाएकोमा गहिरो कृतज्ञता व्यक्‍त गरिरहेका छन्‌। (यशैया ४३:१०) हो, हामीमध्येका वृद्ध, रोगी अनि अशक्‍त भाइबहिनीहरूले परमेश्‍वरको प्रशंसा गर्न गरेको त्यागलाई विधवाले चढाएको दुई पैसासित तुलना गर्न सकिन्छ। जे होस्‌, आफ्नो सारा प्राणले परमेश्‍वरको सेवा गर्न सकेजति गर्ने सबैको परमेश्‍वर र उहाँको पुत्र साँच्चै कदर गर्नुहुन्छ भनेर हामी कहिल्यै नबिर्सौं।—लूका २१:१-४; गलाती ६:४.

१६. परमेश्‍वरले हामीलाई के-कस्ता शिक्षण सामग्रीहरू दिनुभएको छ?

१६ यहोवाले हामीलाई सेवकाईमा निपुण बनाउन तालिम दिनुका साथै अरूलाई सिकाउन आफ्नो संगठनमार्फत सर्वोत्तम शिक्षण सामग्रीहरू पनि दिनुभएको छ। बितेका केही दशकभित्र हामीले द ट्रुथ द्याट लीड्‌स टु इटर्नल लाइफ, पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ, ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ पुस्तकहरू र हालसालै बाइबलले वास्तवमा के सिकाउँछ? जस्ता सर्वोत्तम शिक्षण सामग्री पाएका छौं। यस प्रबन्धको साँच्चै कदर गर्नेहरूले यी साधनहरू सेवकाईमा सकेसम्म प्रयोग गर्छन्‌।

बाइबलले सिकाउँछ पुस्तक सदुपयोग गर्नुहोस्‌

१७, १८. (क) सेवकाईमा जाँदा बाइबलले सिकाउँछ पुस्तकको कुन-कुन विषय तपाईं देखाउन चाहनुहुन्छ? (ख) बाइबलले सिकाउँछ पुस्तकबारे एक जना क्षेत्रीय निरीक्षकको अनुभव कस्तो रहेछ?

१७ जम्मा १९ वटा अध्याय भएको बाइबलले वास्तवमा के सिकाउँछ? पुस्तकमा विषयवस्तु विस्तृत रूपमा छलफल गरिएको परिशिष्ट छ। स्पष्ट अनि सरल भाषामा लेखिएको यो पुस्तक सेवकाईमा साँच्चै आशिष्‌ साबित भएको छ। उदाहरणको लागि, अध्याय १२ मा “परमेश्‍वरलाई प्रसन्‍न तुल्याउने तरिकामा जीवन बिताउने” विषय छलफल गरिएको छ। परमेश्‍वरको मित्र हुन सकिन्छ भनेर प्रायजसो मानिसहरूले कहिल्यै सोचेका हुँदैनन्‌ वा सम्भव होला भनेर कल्पनासमेत गरेका हुँदैनन्‌। तर बाइबल विद्यार्थी कसरी परमेश्‍वरको मित्र हुन सक्छन्‌ भनेर त्यस अध्यायमा बताइएको छ। (याकूब २:२३) बाइबल अध्ययन गर्न सहयोग गर्ने यो पुस्तक पाएर कसै-कसैले कस्तो विचार व्यक्‍त गरेका छन्‌?

१८ अस्ट्रेलियाका एक जना क्षेत्रीय निरीक्षकले दिएको रिपोर्टअनुसार बाइबलले सिकाउँछ पुस्तक “आकर्षक भएकोले घरधनी तुरुन्तै कुराकानी गर्न तयार भइहाल्छन्‌।” यो पुस्तक प्रयोग गर्न अत्यन्तै सजिलो भएकोले “थुप्रै प्रकाशकहरू नयाँ जोसका साथ प्रचारमा जान्छन्‌ र आनन्दित हुन्छन्‌” भनेर पनि तिनले बताए। तिनले अझै यसो भने: “त्यसैले पो कसै-कसैले यसलाई सुनको ढिक्का भनेका रहेछन्‌!”

१९-२१. बाइबलले सिकाउँछ पुस्तकको महत्त्व प्रकाश पार्ने केही उदाहरण बताउनुहोस्‌।

१९ प्रचार गर्न आएकी अग्रगामी बहिनीलाई गायनाकी एउटी महिलाले भनिन्‌: “परमेश्‍वरले नै तपाईंलाई पठाउनुभएको हो!” हालै मात्र तिनको पुरुष मित्रले तिनी र तिनीहरूका दुइटा नाबालक छोरा र छोरीलाई छोडेर हिंडेका रहेछन्‌। ती अग्रगामी बहिनीले बाइबलले सिकाउँछ पुस्तकको अध्याय १ खोलिन्‌ र “हामीले सामना गर्ने अन्यायहरूबारे परमेश्‍वर कस्तो महसुस गर्नुहुन्छ?” भन्‍ने उपशीर्षकमुनिको अनुच्छेद ११ ठूलो स्वरले पढिन्‌। “त्यहाँ लेखिएको कुराले तिनको मन छोयो,” अग्रगामीले भनिन्‌। “तिनी जुरुक्क उठिन्‌ र आफ्नो पसलपछाडि गएर बेस्सरी रोइन्‌।” ती आइमाईले त्यहींकी मसीही बहिनीसित नियमित तवरमा बाइबल अध्ययन गर्ने प्रस्ताव स्वीकारिन्‌ र अहिले उन्‍नति गर्दैछिन्‌।

२० स्पेनमा बस्ने होशेकी श्रीमतीको सवारी दुर्घटनामा दुःखद्‌ मृत्यु भएको रहेछ। लागूऔषधी खाएर तिनले आफ्नो दुःख बिर्सन खोजे। तिनले मनोचिकित्सकको पनि मदत लिए। तर होशेलाई साह्रै पिरोलिरहेको यस प्रश्‍नको जवाफ मनोचिकित्सकले दिन भने सकेनन्‌: “परमेश्‍वरले मेरी श्रीमतीलाई किन मर्न दिनुभयो?” एकदिन होशेले कम्पनीमा सँगै काम गर्ने फ्रान्चेस्कलाई भेटे। फ्रान्चेस्कले दुवै जना मिलेर बाइबलले सिकाउँछ पुस्तकको अध्याय ११ पढ्‌ने हो कि भन्‍ने प्रस्ताव राखे। उक्‍त अध्यायको शीर्षक थियो: “परमेश्‍वरले किन दुःखकष्ट रहिरहन दिनुहुन्छ?” बाइबलले दिएको व्याख्या अनि शिक्षक र विद्यार्थीको उदाहरणले होशेको मनमा गहिरो छाप पऱ्‍यो। त्यसपछि त तिनले लगनशील भई बाइबल अध्ययन गर्न थाले, क्षेत्रीय सम्मेलनमा गए र अहिले नजिकैको राज्यभवनका सभाहरूमा उपस्थित भइरहेका छन्‌।

२१ पोल्याण्डका ४० वर्षे रोमन व्यापारी हुन्‌। तिनी परमेश्‍वरको वचनलाई सधैं श्रद्धा गर्थे। तर व्यापारको कारण निकै व्यस्त भएकोले बाइबल अध्ययन गरे पनि तिनले खासै उन्‍नति भने गर्न सकेका थिएनन्‌। तैपनि तिनी जिल्ला अधिवेशनमा गए अनि बाइबलले सिकाउँछ पुस्तक लिए। त्यसपछि तिनले गरेको उन्‍नति प्रस्टै देखियो। अहिले रोमन नियमित तवरमा बाइबल अध्ययन गर्दैछन्‌ र राम्रो उन्‍नति गरिरहेका छन्‌।

कदर गर्न नछोड्‌नुहोस्‌

२२, २३. हाम्रोसामु राखिदिएको आशाको हामी कसरी कदर गरिरहन सक्छौं?

२२ “छुटकारा नजिकै छ!” विषयको रोमाञ्चक जिल्ला अधिवेशनमा बताइएअनुसार साँचो मसीहीहरू परमेश्‍वरले दिन्छु भनी प्रतिज्ञा गर्नुभएको अनि येशू ख्रीष्टले बगाउनुभएको रगतले गर्दा सम्भव भएको “अनन्त उद्धार” पाउने उत्कट चाहना गर्छन्‌। यस अनमोल आशाप्रति हाम्रो हार्दिक कृतज्ञता व्यक्‍त गर्न “जीवित परमेश्‍वरको सेवा गर्नालाई . . . शक्‍तिहीन कामहरूबाट” शुद्ध भइरहनुबाहेक अर्को सर्वोत्तम तरिका छैन।—हिब्रू ९:१२, १४.

२३ हो, जताततै आफ्नै स्वार्थ पूरा गर्ने होड चलेको यस संसारमा ६० लाखभन्दा धेरै साक्षीहरू परमेश्‍वरको सेवामा वफादार भई लाग्नु वास्तवमा एउटा चमत्कारै हो। अनि यो काम परमेश्‍वरका सेवकहरू उहाँको सेवा गर्न पाउने सम्मानलाई निकै कदर गर्छन्‌ भन्‍ने प्रमाण हो। यसबाहेक उनीहरूलाई आफ्नो “परिश्रम प्रभुमा व्यर्थ हुँदैन” भनेर पनि थाह छ। त्यसैले कदर गर्न कहिल्यै नछोड्‌नुहोस्‌!—१ कोरिन्थी १५:५८; भजन ११०:३. (w 07 2/1)

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• परमेश्‍वर र उहाँले गर्नुभएका आध्यात्मिक प्रबन्धहरूबारे भजनरचयिता हामीलाई के सिकाउँछन्‌?

हाग्गै २:७ का शब्दहरू आज कसरी पूरा हुँदैछन्‌?

• यहोवाले आफ्ना सेवकहरूलाई प्रभावकारी तरिकामा उहाँको सेवा गर्न कसरी सुसज्जित पार्नुभएको छ?

• यहोवाले गर्नुभएको भलाइको कदर गर्छु भनेर तपाईं कसरी देखाउन सक्नुहुन्छ?

[प्रश्‍नहरू]

[पृष्ठ २९-मा भएका चित्रहरू]

यहोवाको इच्छा पूरा गर्न हामीलाई उहाँले पूर्णरूपले सुसज्जित पार्नुभएको छ