सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

किन सत्य बोल्ने?

किन सत्य बोल्ने?

किन सत्य बोल्ने?

अठार वर्षको हुँदा मोहन एउटा अफिसमा काम सिक्दै थिए। a तिनी काम गर्ने कम्पनीले तिनीलगायत अरू प्रशिक्षार्थीहरूलाई हप्ताको दुई दिन प्राविधिक शिक्षा दिने प्रबन्ध मिलाएको थियो। एक दिन, तोकिएको समयभन्दा अघि नै कक्षा सिद्धियो। कम्पनीको नियमअनुसार यस्तो बेला बाँकी समय काम गर्न प्रशिक्षार्थीहरू अफिस फर्कनुपर्थ्यो। तर उनीहरू त रमाइलो गर्न अन्तै पो लागे। काम गर्न मोहन मात्र अफिस फर्किए। संयोग नै भन्‍नुपर्छ, त्यतिखेरै प्रशिक्षार्थीहरूको इन्चार्ज टुप्लुक्क आइपुगे। मोहनलाई देखेपछि इन्चार्जले सोधे: “आज तिमी किन कक्षामा गएनौ, हँ? अरू साथीहरू खोइ?” मोहनले के जवाफ दिए?

मोहनलाई पऱ्‍यो फसाद! सत्य कुरा बताउने कि साथीहरूलाई जोगाउन झूट बोल्ने? सत्य कुरा बतायो भने अरू त समस्यामा पर्छन्‌ नै, तिनी आफै पनि साथीहरूको आँखाको कसिङ्‌गर बन्‍नेछन्‌। यस्तो स्थितिमा झूट बोल्नु ठीक होला कि नहोला? मोहनको स्थानमा तपाईं हुनुभएको भए के गर्नुहुन्थ्यो? मोहनले के जवाफ दिए, त्यो पछि बुझौंला तर अहिलेचाहिं सत्य बोल्ने कि नबोल्ने भनेर निर्णय गर्दा विचार गर्नुपर्ने कुराहरू बुझौं।

सत्य र झूट—एकअर्काको प्रतिद्वन्द्वी

मानव इतिहासको सुरुमा सबै कुरा सत्यमा आधारित थियो। साँचो कुरालाई बंग्याउने, सत्यलाई आफ्नो स्वार्थअनुकूल बनाउने अथवा सत्य कुराको गलत अर्थ लगाउने गरिंदैनथ्यो। सृष्टिकर्ता यहोवा “सत्य परमेश्‍वर” हुनुहुन्छ। उहाँको वचन सत्य छ। उहाँ झूट बोल्नुहुन्‍न अनि झूट र झूट बोल्नेहरूलाई सहनुहुन्‍न।—भजन ३१:५; यूहन्‍ना १७:१७; तीतस १:२.

कुरा यसो हो भने, झूटको सुरुवात कसरी भयो? येशूले यस प्रश्‍नको सटीक जवाफ दिनुभयो। येशूलाई मार्न खोज्ने धर्म गुरुहरूलाई उहाँले भन्‍नुभएको थियो: “तिमीहरू ता आफ्ना पिता, शैतानका तर्फबाटका हौ, औ आफ्नै पिताका अभिलाषा गर्ने इच्छा गर्छौ। त्यो ता शुरूदेखिनै हत्यारा थियो, र सत्यमा ठहरेन। किनभने त्यसमा सत्य छँदैछैन। त्यसले झूट बोल्दछ भने त्यो आफ्नैतर्फबाट बोल्दछ, किनभने त्यो झूट र झूटको पिता हो।” (यूहन्‍ना ८:४४) येशूले अदनको बगैंचामा घटेको घटनालाई संकेत गरिरहनुभएको थियो। त्यसबखत शैतानले पहिलो मानव जोडीलाई परमेश्‍वरको आज्ञा उल्लंघन गर्न उक्साएको थियो। त्यसरी शैतानको लहैलहैमा लागेर ती जोडी पाप र मृत्युको सिकार भए।—उत्पत्ति ३:१-५; रोमी ५:१२.

येशूले भनेको कुराबाट शैतान “झूटको पिता हो” अर्थात्‌ झूट सुरु गर्ने त्यही हो भनेर प्रस्ट हुन्छ। शैतानले अझै पनि झूटो कुरा फैलाउन छोडेको छैन। वास्तवमा, त्यसले “सारा संसारलाई” ठगिरहेको छ। जहींतहीं फैलिएको झूटले आज मानिसहरूलाई निकै हानि गरेको छ र यसको मुख्य दोषी शैतान हो।—प्रकाश १२:९.

शैतान अर्थात्‌ दियाबलले सुरु गरेको सत्य र झूटबीचको द्वन्द्व आज पनि कायम छ। यस द्वन्द्वले मानव समाजको हरेक तहलाई मात्र होइन, हरेक व्यक्‍तिलाई पनि असर गरेको छ। मानिसले जसरी जीवन बिताउने इच्छा गर्छ, त्यसले उसलाई सत्य र झूटमध्ये एकको पक्षमा खडा भएको देखाउँछ। परमेश्‍वरको पक्षमा खडा हुनेहरूले उहाँको वचन बाइबलको सत्य ज्ञानअनुसार जीवन बिताउँछन्‌। सत्यको बाटोमा हिंड्‌न नचाहनेहरू जानी-जानी होस्‌ वा अनजानमा, शैतानको वशमा परिरहेका हुन्छन्‌ किनकि “सारा संसार त्यस दुष्टको अधीनमा परेको छ।”—१ यूहन्‍ना ५:१९; मत्ती ७:१३, १४.

झूट बोल्ने झुकाव किन बढ्‌दैछ?

शैतानले ‘सारा संसारलाई’ आफ्नो अधीनमा पारेको छ भन्‍ने तथ्यबाट आज धेरै मानिसले झूट बोल्नुको कारण बुझ्न सक्छौं। तर हाम्रो मनले भन्‍न सक्छ, “झूटको पिता” शैतानले किन झूट बोल्नुपऱ्‍यो? कुरा के हो भने, पहिलो मानव जोडीलगायत सृष्टि गरिएका सब थोकको वैध मालिक यहोवा मात्र हुनुहुन्छ भनेर शैतानलाई थाह थियो। तर शैतानले त्यही उच्च र विशेष ओहदा अर्थात्‌ आफू मालिक बन्‍ने लालसा गऱ्‍यो, जुन त्यसको अधिकारबाहिर पर्थ्यो। त्यस्तो लोभ र स्वार्थी इच्छाले गर्दा त्यसले यहोवाको स्थान हडप्ने योजना बनायो। फलस्वरूप, आफ्नो कुटिल योजना फत्ते गर्न शैतानले झूट र छलको सहारा लियो।—१ तिमोथी ३:६.

आज स्थिति कस्तो छ? के तपाईंलाई लोभ र स्वार्थी इच्छा पूरा गरिछाड्‌ने हठले गर्दा धेरै मानिसले झूट बोलेका हुन्‌ जस्तो लाग्दैन? लोभी व्यापारी, भ्रष्ट राजनीतिज्ञहरू अनि झूटो धर्मले हाकाहाकी छल गर्छन्‌, झूट बोल्छन्‌, आफ्नो दुनो सोझ्याउन मनपरी गर्छन्‌ र ठग्नसम्म ठग्छन्‌। आखिर किन? अरूलाई उछिन्‍ने अथवा टन्‍न सम्पत्ति जोड्‌ने, आफ्नो अधिकारमै नपर्ने शक्‍ति अथवा ओहदामा पुगिछाड्‌ने लोभ र लक्ष्यले गर्दा नै हो नि, होइन र? तर प्राचीन इस्राएलका बुद्धिमान्‌ राजा सुलेमानले चेतावनी दिंदै भनेका थिए: “छिट्टै धनी हुन खोज्नेले दण्ड पाउनेछ।” (हितोपदेश २८:२०) अनि प्रेरित पावलले चाहिं यस्तो लेखे: “रूपियाँ-पैसाको प्रेमनै सबै किसिमका खराबीको जरा हो।” (१ तिमोथी ६:१०) शक्‍ति अथवा ओहदाको लागि मरिहत्ते गर्ने सम्बन्धमा पनि यसै भन्‍न सकिन्छ।

डरले गर्दा पनि मानिसहरू झूट बोल्छन्‌। नराम्रो परिणाम भोग्नुपर्ला अथवा सत्य कुरा भन्यो भने अरूले के सोच्लान्‌ भनेर मानिसहरू डराउँछन्‌। अरूले मन पराओस्‌ अथवा स्वीकारोस्‌ भन्‍ने चाहनु स्वाभाविकै हो। तर यस्तो चाहनाले गर्दा मानिसले आफ्ना कमजोरी ढाकछोप गर्न, सत्य-तथ्य लुकाउन अथवा राम्रो छाप पार्न सत्यलाई अलिकता भए पनि बंग्याइहाल्छ। यही कारण सुलेमानले लेखे: “मानिसको डर त्यसको निम्ति पासो हो, तर परमप्रभुमाथि भरोसा गर्ने मानिस सुरक्षित रहन्छ।”—हितोपदेश २९:२५.

सत्य परमेश्‍वरप्रति वफादार रहने

सुरुमा चर्चा गरिएको मोहनले प्रश्‍न सोध्ने इन्चार्जलाई कस्तो जवाफ दिए होलान्‌? मोहनले सत्य कुरा बताए। तिनले भने: “कक्षा छिट्टै सकिएकोले म अफिस फर्किएको हुँ। अरूको विषयमा चाहिं म केही भन्‍न सक्दिनँ। कृपया, आफै उनीहरूलाई सोध्नुहोला।”

मोहनले चाहेको भए चलाखीसाथ झुक्याउने जवाफ दिएर साथीहरूको प्रिय बन्‍न सक्थे। तर तिनले त्यसो गरेनन्‌ किनकि तिनी यहोवाका साक्षी हुन्‌। त्यसरी सत्य बोल्दा तिनले आफ्नो अन्तस्करण सफा राख्न सके। इमानदार भएकै कारण हाकिमले तिनीमाथि पूरा भरोसा गरे। प्रशिक्षणको क्रममा मोहनलाई गरगहना विभागमा सारियो, जहाँ साधारणतया प्रशिक्षार्थीहरूलाई काम गर्न दिइँदैन। त्यस्तै १५ वर्षपछि कम्पनीको जिम्मेवार पदमा मोहनको बढुवा हुँदा सुरुमा प्रश्‍न सोध्ने इन्चार्जले फोन गरेर तिनलाई बधाइ दिए र तिनले सत्य बोलेको त्यो क्षणबारे कुरा गरे।

यहोवा सत्य परमेश्‍वर हुनुहुन्छ। त्यसकारण, उहाँसित घनिष्ठ सम्बन्ध गाँस्न चाहनेहरूले ‘झूट त्यागेर सत्य बोल्नै पर्छ।’ परमेश्‍वरको सेवा गर्नेहरूले सत्यलाई प्रेम गर्नु आवश्‍यक छ। एक जना बुद्धिमान्‌ मानिसले भनेका थिए: “साँचो गवाहीले झूट बोल्दैन।” तर झूट भनेको के हो?—एफिसी ४:२५; हितोपदेश १४:५.

झूट के हो?

झूटो कुरा जेसुकै होस्‌, त्यो सत्य हुँदैन तर सत्य-तथ्य नबताउँदैमा त्यो झूट हुन्छ भन्‍ने छैन। किन? एउटा शब्दकोशअनुसार झूट भनेको “धोका दिने नियतले थाह भएको अथवा विश्‍वास गरेको कुरालाई पनि सत्य होइन भनी दाबी गर्नु” हो। स्पष्ट छ, झूट बोल्नुको पछाडि कसैलाई धोका दिने कुविचार हुन्छ। तर अनजानमा असत्य बोल्नु, जस्तो कि कसैलाई सही तथ्य वा तथ्यांक नबताउनुलाई झूट बोलेको भन्‍न मिल्दैन।

अर्को कुरा, हामीबाट जानकारी चाहने व्यक्‍तिलाई सबै कुरा बताइरहनु जरुरी छ/छैन, त्यो पनि विचार गर्नुपर्छ। उदाहरणको लागि, मानिलिनुहोस्‌ आफ्नो कम्पनीको इन्चार्जले मोहनलाई जुन प्रश्‍न सोध्यो, त्यस्तै प्रश्‍न अर्कै कम्पनीको इन्चार्जले पनि सोध्यो। के मोहनले तिनलाई बेलिविस्तार लाएर सबै कुरा बताइरहनु आवश्‍यक पर्थ्यो होला? पर्दैनथ्यो। त्यस इन्चार्जसित यस्तो जानकारी हासिल गर्ने अधिकार नभएको हुँदा मोहनले तिनलाई केही पनि नबताउने विचार गर्ने थिए होलान्‌। तर फेरि त्यसो भन्दैमा झूट बोल्नु पनि गलत हुने थियो।

यस सन्दर्भमा येशू ख्रीष्टले कस्तो उदाहरण बसाल्नुभयो? एक समयको कुरा हो, कुरै कुरामा केही यहूदीले येशूको यात्राबारे जान्‍न चाहे। तिनीहरूले यस्तो सुझाव दिए: “यो ठाउँ छाडेर यहूदिया जानुहोस्‌।” तर येशूले यसो भन्‍नुभयो: “तिमीहरू यस चाडमा [यरूशलेममा] जाओ। म यस चाडमा जान्‍नँ, किनभने मेरो समय अझ पूरा भएको छैन।” तर त्यसो भनेको केही समयपछि नै चाड मनाउन उहाँ यरूशलेम जानुभयो। जान त जानुभएछ नि, पहिलाचाहिं किन ‘म चाडमा जान्‍नँ’ भन्‍नुभएको? कारण के हो भने, येशू कहाँ जानुहुन्छ अनि के गर्नुहुन्छ भनेर तिनीहरूलाई एक-एक जानकारी दिनै पर्छ भन्‍ने थिएन। येशूले तिनीहरूसित झूटो कुरा गर्नुभएन तर तिनीहरूले गर्न सक्ने हानिबाट आफू र आफ्ना चेलाहरूलाई जोगाउन अपूरो जवाफ भने दिनुभयो। येशूले झूट बोल्नुभएको थिएन किनभने प्रेरित पत्रुसले ख्रीष्टको विषयमा यस्तो लेखे: “जसले नता कुनै पाप गर्नुभयो, न उहाँको मुखमा छलको कुरा पाइयो।”—यूहन्‍ना ७:१-१३, NRV; १ पत्रुस २:२२.

पत्रुसबारे चाहिं के भन्‍न सकिन्छ? येशू गिरफ्तार हुनुभएको रात के तिनले तीन-तीन चोटि येशूलाई ‘चिन्दै चिन्दिनँ’ भनेर झूट बोलेनन्‌ र? हो, मानिसको डरले गर्दा तिनले झूट बोले। तर झूट बोलेलगत्तै तिनी “धुरूधुरू रोए” र पश्‍चात्ताप गरे। तिनले गरेको पाप क्षमा भयो। यसबाहेक, आफूले गरेको गल्तीबाट तिनले पाठ सिके। केही दिनपछि सारा जनतासित येशूको बारेमा कुरा पनि गरे अनि यरूशलेमका यहूदी अधिकारीहरूले त्यसो नगर्नू भनेर धमक्याउँदासमेत दृढ भई बोल्न छोडेनन्‌। केही समय आध्यात्मिक रूपमा कमजोर भएर पनि पत्रुसले फेरि छिट्टै आध्यात्मिक प्रगति गरेको विवरण हामी सबैको लागि, त्यसमा पनि विशेष गरी कमजोरीको कारण गल्ती गर्ने र आफ्नो बोली वा काममा चुक्नेहरूका लागि ठूलो प्रोत्साहन हो।—मत्ती २६:६९-७५; प्रेरित ४:१८-२०; ५:२७-३२; याकूब ३:२.

सत्य सधैं स्थिर रहन्छ

हितोपदेश १२:१९ यसो भन्छ: “सत्य कुरा सधैंको लागि स्थिर रहन्छ, तर झूटा कुरा एक छिनको निम्ति मात्र रहन्छ।” हो, सत्य कहिल्यै डग्दैन। अनि जब मानिसहरू सत्य बोल्न र सत्यअनुसार चल्न कटिबद्ध हुन्छन्‌, तब मानिस-मानिसबीचको सम्बन्ध अझ बलियो र सन्तोषजनक हुन्छ। वास्तवमा, सत्य बोल्दा इनाम पनि तुरुन्तै मिल्छ। उदाहरणको लागि, अन्तस्करण सफा हुन्छ, राम्रो नाम कमाउँछौं, श्रीमान्‌-श्रीमती, परिवार, साथीभाइ अनि व्यापारिक कारोबार गर्ने मानिसहरूसितको हाम्रो सम्बन्ध सुमधुर हुन्छ।

तर झूट धेरै बेर टिक्दैन। झूट बोलेर केही समय त झुक्याउन सकौंला तर जुन कुरा सत्य होइन समयमा त्यो पर्दाफास भइहाल्छ। साथै, सत्य परमेश्‍वर यहोवाले झूटलाई बढवा दिने व्यक्‍तिहरूलाई सहने सीमा तोक्नुभएको छ। सारा संसारलाई ठग्ने झूटको पिता शैतान अर्थात्‌ दियाबलको असरलाई यहोवाले नामेट पार्नुहुनेछ भनी बाइबलमा प्रतिज्ञा गरिएको छ। हो, यहोवाले छिटै सब प्रकारका झूट अनि झूट बोल्नेहरूलाई सदाको लागि नामेट पार्नुहुनेछ।—प्रकाश २१:८.

“सत्य कुरा” सधैंको लागि स्थिर रहँदा हामी आरामको सास फेर्न सक्नेछौं! (w07 2/1)

[फुटनोट]

a तिनको वास्तविक नाउँ होइन।

[पृष्ठ ५-मा भएको ठूलो अक्षरको क्याप्सन]

लोभ र स्वार्थी इच्छा पूरा गरिछोड्‌ने हठले गर्दा धेरै मानिसले झूट बोलेका हुन्‌

[पृष्ठ ६-मा भएको ठूलो अक्षरको क्याप्सन]

झूटो कुरा जेसुकै होस्‌, त्यो सत्य हुँदैन तर सत्य-तथ्य नबताउँदैमा त्यो झूट हुन्छ भन्‍ने छैन

[पृष्ठ ६-मा भएको चित्र]

पत्रुसले ख्रीष्टलाई ‘चिन्दै चिन्दिनँ’ भनेको कुराबाट के सिक्न सक्छौं?

[पृष्ठ ७-मा भएको चित्र]

सत्य बोल्दा अरूसितको हाम्रो सम्बन्ध अझ बलियो र सन्तोषजनक हुन्छ