सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलले जे सिकाउँछ, त्यही पालन गर्न अरूलाई मदत गर्नुहोस्‌

बाइबलले जे सिकाउँछ, त्यही पालन गर्न अरूलाई मदत गर्नुहोस्‌

बाइबलले जे सिकाउँछ, त्यही पालन गर्न अरूलाई मदत गर्नुहोस्‌

“असल जमीनमा पर्ने चाहिं ती हुन्‌, जसले वचन सुनेर असल र भला हृदयमा जोगाई राख्छन्‌, औ धीरजसित फल फलाउँछन्‌।”—लूका ८:१५.

१, २. (क) बाइबलले वास्तवमा के सिकाउँछ किताब तयार पार्नुको उद्देश्‍य के हो? (ख) चेला बनाउने काममा यहोवाले आफ्ना जनहरूलाई हालसालै कस्तो आशिष्‌ दिनुभएको छ?

 पूर्ण-समय अग्रगामी सेवामा लागेकी यहोवाका एक साक्षीले बाइबलले वास्तवमा के सिकाउँछ? a भन्‍ने किताबको विषयमा यसो भनिन्‌: “किताब अति राम्रो छ। मेरा बाइबल विद्यार्थीहरूलाई यो किताब असाध्यै मनपर्छ र मलाई पनि। यसबाट मानिसहरूको घर-दैलोमै बाइबल अध्ययन सुरु गर्न सकिन्छ।” परमेश्‍वरको राज्यबारे घोषणा गर्ने अर्का पाका भाइले चाहिं यही किताबबारे यसो भने: “सेवकाईमा सक्रिय भई काम गरेको ५० वर्ष भयो। अहिलेसम्म मैले धेरैलाई यहोवाको ज्ञान लिन मदत गरें। तर भन्‍नै पर्ने कुरा के छ भने, बाइबलले सिकाउँछ किताब गजबको छ! यस किताबका चित्रसहितका उदाहरणहरू मन छुने खालका छन्‌।” बाइबलले सिकाउँछ किताबबारे तपाईंले पनि यस्तै महसुस गर्नुभएको छ कि? बाइबलको कुरा बुझ्न मदत गर्ने यस किताबले तपाईंलाई येशूको यो आज्ञा पूरा गर्न मदत गर्छ: “यसकारण गएर सबै देशका जातिहरूलाई चेला बनाओ, . . . जे जे मैले तिमीहरूलाई आज्ञा गरें, तिनीहरूलाई ती सबै गर्नालाई सिकाओ।”—मत्ती २८:१९, २०.

चेला बनाउनू भनी येशूले दिनुभएको निर्देशन लगभग ६६ लाख साक्षीले खुसीसाथ पालन गरेको देख्दा यहोवाको हृदय आनन्दले गदगद्‌ हुन्छ। (हितोपदेश २७:११) आफ्ना जनहरूको प्रयासमा यहोवाले आशिष्‌ दिइरहनुभएको छ भन्‍ने कुरा छर्लङ्‌ग छ। उदाहरणको लागि, सन्‌ २००५ मा २३५ मुलुकमा सुसमाचार प्रचार गरियो र औसतमा ६०,६१,५०० भन्दा धेरै बाइबल अध्ययन सञ्चालन गरियो। फलस्वरूप, थुप्रैले ‘परमेश्‍वरको वचन सुन्‍न पाए, र मानिसको वचन गरी जस्तो होइन, तर परमेश्‍वरको वचन जस्तैगरी, जो साँच्चिनै हो पनि, ग्रहण गरे।’ (१ थिस्सलोनिकी २:१३) गएको दुई वर्षमा पाँच लाखभन्दा धेरै नयाँ चेलाले यहोवाको स्तरअनुरूप आफूलाई परिवर्तन गरेर आफ्नो जीवन उहाँलाई समर्पण गरेका छन्‌।

३. यस लेखमा बाइबलले सिकाउँछ किताब चलाउने विषयमा कस्ता प्रश्‍नहरू केलाएर हेर्नेछौं?

हालै कसैलाई बाइबल अध्ययन गराउन पाएकोमा तपाईं रमाइरहनुभएको छ कि? संसारभर अझै पनि “असल र भला हृदय” भएका मानिसहरू छन्‌, जसले परमेश्‍वरको वचन सुनेर त्यसलाई ‘जोगाई राख्नेछन्‌ र धीरजसित फल फलाउनेछन्‌।’ (लूका ८:११-१५) आउनुहोस्‌, चेला बनाउने काममा बाइबलले सिकाउँछ किताब तपाईं कसरी चलाउन सक्नुहुन्छ, विचार गरौं। अब गरिने छलफलमा हामी तीनवटा प्रश्‍न केलाएर हेर्नेछौं। ती प्रश्‍नहरू यस प्रकार छन्‌: (१) तपाईं कसरी बाइबल अध्ययन सुरु गर्न सक्नुहुन्छ? (२) कुन तरिकाले सिकाउँदा अझ प्रभावकारी होला? (३) तपाईं कुनै व्यक्‍तिलाई बाइबल विद्यार्थी मात्र होइन, परमेश्‍वरको लिखित वचन बाइबलको शिक्षकसमेत बन्‍न कसरी मदत गर्न सक्नुहुन्छ?

तपाईं कसरी बाइबल अध्ययन सुरु गर्न सक्नुहुन्छ

४. कतिपय व्यक्‍ति बाइबल अध्ययन गर्न किन अप्ठ्यारो मान्छन्‌ र यस्तो अप्ठ्यारोपन हटाउन तपाईं कसरी उनीहरूलाई मदत गर्न सक्नुहुन्छ?

कसैले तपाईंलाई ठूलो खोला एकै फड्‌कोमा तर्न लगायो भने तपाईं झट्ट भन्‍नुहोला, ‘कहाँ सक्नु!’ तर खोलाको बीच-बीचमा ढुंगाहरू राख्यो भने चाहिं तर्ने आँट आउन सक्छ। त्यसै गरी, फुर्सतै नहुने व्यक्‍ति पनि बाइबल अध्ययन गर्न हिचकिचाउन सक्छन्‌। तिनलाई बाइबल अध्ययन गर्न धेरै समय लाग्छ होला र मेहनत पनि उत्तिकै गर्नुपर्छ होला जस्तो लाग्न सक्छ। यस्तो अप्ठ्यारोपन हटाउन तपाईं कसरी तिनलाई मदत गर्न सक्नुहुन्छ? छोटो-छोटो तर जानकारीमूलक छलफल गरिराखेर तिनलाई परमेश्‍वरको वचन नियमित रूपमा अध्ययन गराउन तपाईं बाइबलले सिकाउँछ किताब चलाउन सक्नुहुन्छ। राम्रो तयारी गर्नुभएको छ भने, तिनको लागि हरेक पुनःभेट खोलाको बीच-बीचमा राखिएका ढुंगाहरूजस्तै हुनेछ। किनभने यस्तो पुनःभेटले तिनलाई यहोवासित मित्रता गाँस्न मदत गर्छ।

५. बाइबलले सिकाउँछ किताब राम्ररी पढ्‌नु जरुरी छ, किन?

तर, बाइबलले सिकाउँछ किताबबाट लाभ उठाउन कसैलाई मदत गर्नुअघि तपाईं आफैलाई यस किताबबारे राम्रोसँग थाह हुनु जरुरी छ। के तपाईंले यो किताब पहिलो पानादेखि अन्तिम पानासम्म पढिसक्नुभयो? छुट्टीमा घुम्न जाँदा एक दम्पतीले यो किताब पनि सँगै लिएर गए अनि समुद्री किनारमा आराम गर्दै पढ्‌न थाले। पर्यटकहरूलाई सामान बेच्ने एउटी स्थानीय महिला ती दम्पतीको नजिकै जाँदा बाइबलले वास्तवमा के सिकाउँछ? भन्‍ने शीर्षकमा तिनको आँखा पऱ्‍यो। त्यस महिलाले ती दम्पतीलाई भनिन्‌: ‘केही घण्टाअघि मात्र मैले यही प्रश्‍नको जवाफ दिनुहोस्‌ भनेर परमेश्‍वरलाई प्रार्थना गरेकी थिएँ।’ यो कुरा थाह पाएपछि ती दम्पतीले खुसीसाथ बाइबलले सिकाउँछ किताब तिनलाई दिए। कसैलाई भेट्‌न पर्खंदा अथवा काम गर्ने ठाउँ वा स्कूलमा एकछिन छुट्टी पाउँदा, अझै एक चोटि यो किताब पढ्‌न ‘समय किन्‍ने’ गर्नुभएको छ? (एफिसी ५:१५, १६, NW) यसो गर्नुभयो भने, बाइबलको कुरा बुझ्न मदत गर्ने यस किताबबारे तपाईंलाई राम्रोसँग थाह हुनेछ र यसमा भएका कुरा अरूलाई बताउने मौका पनि पाउनुहुनेछ।

६, ७. बाइबल अध्ययन सुरु गर्न बाइबलले सिकाउँछ किताब तपाईं कसरी चलाउन सक्नुहुन्छ?

क्षेत्र सेवकाईमा भेटिने व्यक्‍तिहरूलाई यो किताब दिंदा, पृष्ठ ४, ५ र ६ का दृष्टान्त, बाइबल पद अनि प्रश्‍नहरू प्रभावकारी ढङ्‌गमा चलाउनुहोस्‌। उदाहरणको लागि, प्रचारमा भेटिने व्यक्‍तिसित तपाईं यसरी कुरा थाल्न सक्नुहुन्छ: “हेर्नुहोस्‌ न, आज मानिसहरूलाई समस्यै समस्याले घेरेको छ। यस्ता समस्याहरूलाई पन्छाएर अघि बढ्‌न मदत गर्ने भरपर्दो डोऱ्‍याइ कहाँ पाउन सक्छौं होला?” त्यस व्यक्‍तिको जवाफ ध्यान दिएर सुनेपछि २ तिमोथी ३:१६, १७ पढ्‌नुहोस्‌ र मानिसलाई पिरोल्ने सबै समस्याको एक मात्र समाधान बाइबलमा बताइएको छ भन्‍नुहोस्‌। त्यसपछि घरधनीलाई पृष्ठ ४ र ५ को चित्र देखाएर सोध्नुहोस्‌: “यहाँ चित्रमा भएको कुन समस्या देख्दा तपाईंलाई साह्रै दुःख लाग्छ।” घरधनीले कुनै एउटा चित्र देखाएपछि तिनलाई किताब समाउन लाउनुहोस्‌ र चित्रसँगै भएको शास्त्रपद आफ्नो बाइबलबाट पढेर सुनाउनुहोस्‌। त्यसपछि पृष्ठ ६ पढ्‌नुहोस्‌ र घरधनीलाई सोध्नुहोस्‌: “यस पृष्ठमा भएका यी छवटा प्रश्‍नमध्ये तपाईं कुन प्रश्‍नको जवाफ जान्‍न चाहनुहुन्छ?” घरधनीले कुनै एउटा प्रश्‍न छानेपछि त्यस प्रश्‍नको जवाफ दिने अध्याय देखाएर तिनलाई किताब दिनुहोस्‌ र पुनःभेट गर्ने निश्‍चित समय तोक्नुहोस्‌। अनि पुनःभेट गर्दा त्यो प्रश्‍न छलफल गर्नुहोस्‌।

यो तरिका अपनाएर प्रचार गर्न त्यस्तै पाँच मिनेट जति लाग्छ। तर यो पाँच मिनेटभित्र घरधनीलाई पिरोल्ने कुरा थाह पाउन सक्नुहुन्छ, दुइटा बाइबल पद पढ्‌न र बुझाउन सक्नुहुन्छ। साथै, पुनःभेट गर्ने बाटो पनि तयार पार्न सक्नुहुन्छ। के थाह, तपाईंले गर्ने छोटो कुराकानी घरधनीको लागि प्रोत्साहनको स्रोत पो बन्‍ने हो कि? अथवा तपाईंको कुरा सुनेर धेरै दिनपछि तिनी प्रफुल्ल हुने हुन्‌ कि? यस्तो भयो भने, व्यस्त व्यक्‍तिसमेत तपाईंसित अझ धेरै कुरा गर्न चाहनेछन्‌ र ‘जीवनमा पुऱ्‍याउने बाटोमा’ अर्को एक पाइला अघि सार्न सक्नेछन्‌। (मत्ती ७:१४) घरधनीको इच्छा बढ्‌दै गएपछि बाइबल अध्ययन गर्ने समय पनि बढाउँदै लान सकिन्छ। यसको लागि, बसेरै अलि लामो समय अध्ययन गर्ने प्रस्ताव राख्न सकिन्छ।

कुन तरिकाले सिकाउँदा अझ प्रभावकारी होला

८, ९. (क) आफ्नो बाइबल विद्यार्थीले परिआउने बाधा अनि परीक्षाहरूको डटेर सामना गरोस्‌ भन्‍ने चाहनुहुन्छ भने, तपाईंले तिनलाई केद्वारा तयार पार्नुपर्छ? (ख) विश्‍वासलाई दरिलो बनाउने आगोले नखाने सामग्रीहरू कहाँ पाउन सकिन्छ?

जब बाइबल विद्यार्थीले बाइबलबाट सिकेअनुसार जीवन बिताउन थाल्छन्‌, तब प्रगति गर्नदेखि तिनलाई रोक्ने बाधाहरू पनि आइपर्न सक्छन्‌। प्रेरित पावलले भने: “ख्रीष्ट येशूमा भक्‍तिसँग जीवन बिताउन इच्छा गर्नेहरू ता सबै जना खेदोमा पर्नेछन्‌।” (२ तिमोथी ३:१२) पावलले यस्ता परीक्षाहरूलाई आगोसित तुलना गरे, जसले कमसल निर्माण सामग्रीलाई जलाएर खरानी बनाइदिन्छ तर सुन, चाँदी अनि बहुमूल्य पत्थरजस्ता सामग्रीलाई भने हानि गर्दैन। (१ कोरिन्थी ३:१०-१३; १ पत्रुस १:६, ७) आफ्नो बाइबल विद्यार्थीले परिआउने परीक्षाहरूको डटेर सामना गरोस्‌ भन्‍ने चाहनुहुन्छ भने, आगोले नखाने सामग्रीद्वारा तपाईंले तिनलाई तयार पार्नु आवश्‍यक छ।

भजनरचयिताले “परमप्रभुका वचनहरू” “सात पल्ट माटोको भट्टीमा खारेर शुद्ध पारिएको” चाँदीसित तुलना गरेका छन्‌। (भजन १२:६) हुन पनि हो, विश्‍वासलाई दरिलो बनाउन चाहिने सम्पूर्ण बहुमूल्य सामग्री बाइबलमा पाइन्छ। (भजन १९:७-११; हितोपदेश २:१–६) अनि प्रभावकारी ढङ्‌गमा बाइबल पदहरू चलाउने तरिका पनि बाइबलले सिकाउँछ किताबमा बताइएको छ।

१०. बाइबल विद्यार्थीको ध्यान बाइबलतर्फ खिच्न तपाईं के गर्न सक्नुहुन्छ?

१० अध्ययनको दौडान, छलफल गरिरहेको अध्यायका शास्त्रपदहरूतर्फ विद्यार्थीको ध्यान खिच्नुहोस्‌। मुख्य बाइबल पदहरूले भन्‍न खोजेको कुरा बुझ्न र व्यक्‍तिगत रूपमा ती कसरी लागू गर्न सकिन्छ, सो बुझाउन विद्यार्थीलाई प्रश्‍नहरू सोध्नुहोस्‌। ‘यसो गर्नुपर्छ/त्यसो गर्नु हुँदैन’ भनेर विद्यार्थीलाई नबताउनुहोस्‌। बरु, येशूको उदाहरण अनुसरण गर्नुहोस्‌। एक समयको कुरा हो, व्यवस्थाको राम्रो ज्ञान भएका व्यक्‍तिले येशूलाई प्रश्‍न सोद्धा उहाँले यस्तो जवाफ दिनुभयो: “व्यवस्थामा के लेखिएको छ? तिमी कसरी पढ्‌दछौ?” त्यस व्यक्‍तिले धर्मशास्त्रबाटै जवाफ दिएपछि येशूले तिनलाई शास्त्रपदको सिद्धान्त लागू गर्ने तरिका बुझ्न मदत गर्नुभयो। त्यस व्यक्‍तिले अब गर्नुपर्ने कामबारे बुझाउन येशूले दृष्टान्त पनि चलाउनुभयो। (लूका १०:२५-३७) आफ्नो विद्यार्थीलाई बाइबलका सिद्धान्तहरू लागू गर्न मदत दिन चाहनुहुन्छ भने, बाइबलले सिकाउँछ किताबमा भएका सजिला दृष्टान्तहरू चलाउनुहोस्‌।

११. हरेक अध्ययनमा कति विषयवस्तु ढाक्नुपर्छ?

११ येशूले जसरी गाह्रो विषयलाई पनि सजिलोसँग बुझाउनुभयो, त्यसै गरी बाइबलले सिकाउँछ किताबले पनि परमेश्‍वरको वचनलाई सजिलो र प्रस्टसँग बुझाएको छ। (मत्ती ७:२८, २९) येशूले बसालेको उदाहरण अनुकरण गर्नुहोस्‌ अर्थात्‌ किताबले भन्‍न खोजेको कुरालाई सजिलो र बुझ्ने गरी ठीक-ठीकसँग बताउनुहोस्‌। विषयवस्तु छलफल गरिसिध्याउने हतार नगर्नुहोस्‌। बरु, विद्यार्थीको परिस्थिति र क्षमताअनुसार हरेक अध्ययनमा कतिवटा अनुच्छेद छलफल गर्ने हो, निधो गर्नुहोस्‌। येशूलाई आफ्ना चेलाहरूको सीमितता थाह थियो र उनीहरूलाई जति जानकारी चाहिएको हो, त्योभन्दा बढी बताएर उहाँले चेलाहरूमाथि बोझ लाद्‌नुभएन।—यूहन्‍ना १६:१२.

१२. परिशिष्ट कसरी प्रयोग गर्न सकिन्छ?

१२ बाइबलले सिकाउँछ किताबमा १४ वटा विषय समेटिएको परिशिष्ट छ। तपाईं विद्यार्थीको शिक्षक हुनुहुन्छ। तिनको आवश्‍यकताअनुसार तपाईंले विषयवस्तुलाई ढाल्न सक्नुपर्छ। उदाहरणको लागि, विद्यार्थीलाई कुनै विषय बुझ्न गाह्रो लागेमा अथवा पहिलेदेखि मानिआएको विश्‍वासले गर्दा कुनै-कुनै विषय चित्त बुझेन भने, तिनलाई मिल्ने खालको परिशिष्ट देखाउनुहोस्‌ र ‘यो तपाईं आफै पढ्‌नुहोस्‌ है’ भन्‍नुहोस्‌। तर विद्यार्थीलाई मदत नगरी हुन्‍न भने तिनीसितै बसेर विषयवस्तु छलफल गर्न सक्नुहुन्छ। “ ‘प्राण’ र ‘आत्मा’—यी शब्दहरूको अर्थ वास्तवमा के हो?” र “ ‘महान्‌ बेबिलोनलाई’ चिन्‍ने” जस्ता बाइबलसम्बन्धी महत्त्वपूर्ण विषयहरू परिशिष्टमा दिइएका छन्‌। तपाईं यी विषय आफ्नो विद्यार्थीसित छलफल गर्न चाहनुहुन्छ होला। परिशिष्टका विषयहरूको लागि प्रश्‍नहरू दिइएका छैनन्‌। त्यसकारण, अर्थपूर्ण प्रश्‍नहरू बनाउन तपाईंले विषयवस्तु राम्रोसँग बुझ्नु आवश्‍यक छ।

१३. विश्‍वासलाई दरिलो बनाउन प्रार्थनाले कसरी मदत गर्न सक्छ?

१३ “परमप्रभुलेनै घर नबनाउनु भएता बनाउनेहरूले व्यर्थमा परिश्रम गर्छन्‌” भनी भजन १२७:१ बताउँछ। त्यसकारण, बाइबल अध्ययन सञ्चालन गर्न तयारी गर्दा मदतको लागि यहोवालाई प्रार्थना गर्नुहोस्‌। अध्ययनको सुरु र अन्तमा तपाईंले गर्ने प्रार्थनामा यहोवा र तपाईंबीच प्रगाढ सम्बन्ध छ भन्‍ने कुरा झल्किनु राम्रो हो। यहोवाको वचन बुझ्ने बुद्धि र यसले दिने सल्लाह लागू गर्न चाहिने बलको लागि यहोवालाई प्रार्थना गर्नुपर्छ भनी विद्यार्थीलाई प्रोत्साहन दिनुहोस्‌। (याकूब १:५) तिनले यसो गरे भने, परिआउने परीक्षाहरू सहन र आफ्नो विश्‍वासलाई दरिलो बनाइरहन विद्यार्थी सक्षम हुनेछन्‌।

बाइबल विद्यार्थीहरूलाई शिक्षक बन्‍न मदत गर्नुहोस्‌

१४. बाइबल विद्यार्थीहरूले कस्तो प्रगति गर्नुपर्छ?

१४ हाम्रा बाइबल विद्यार्थीहरू परमेश्‍वरको वचनका विद्यार्थीदेखि परमेश्‍वरको वचनका शिक्षक बन्‍ने हो भने, उनीहरूले प्रगति गर्नुपर्छ। नत्र, येशूले आफ्ना चेलाहरूलाई आज्ञा दिनुभएका “सबै” कुरा पालन गर्न गाह्रो पर्छ। (मत्ती २८:१९, २०; प्रेरित १:६-८) आफ्नो बाइबल विद्यार्थीले यस्तो आध्यात्मिक प्रगति गरोस्‌ भन्‍ने चाहनुहुन्छ भने, तपाईं के गर्न सक्नुहुन्छ?

१५. तपाईंले आफ्नो बाइबल विद्यार्थीलाई मसीही सभाहरूमा आउन किन प्रोत्साहन दिनुपर्छ?

१५ अध्ययन गर्न थालेदेखि नै आफ्नो बाइबल विद्यार्थीलाई मण्डलीका सभाहरूमा बोलाउनुहोस्‌। परमेश्‍वरको वचनको शिक्षक बन्‍न प्रशिक्षण दिइने ठाउँ सभाहरू हुन्‌ भनेर तिनलाई बुझाउनुहोस्‌। विभिन्‍न सभा तथा सम्मेलनमा पाइने आध्यात्मिक निर्देशनहरूबारे बताउन बाइबल अध्ययनको अन्तमा सधैं केही मिनेट छुट्याउनुहोस्‌। केही हप्तासम्म यसो गरिरहनुहोस्‌। यस्ता अवसरमा प्राप्त हुने लाभहरू उत्सुकतासाथ बताउनुहोस्‌। (हिब्रू १०:२४, २५) बाइबल विद्यार्थी सभाहरूमा नबिराई आउन थालेपछि भने, ‘तिनी अब परमेश्‍वरको वचनको शिक्षक बन्दैछन्‌’ भन्‍न सकिन्छ।

१६, १७. बाइबल विद्यार्थीले राख्न सक्ने र त्यसमा सफल हुन सक्ने केही लक्ष्य के-के हुन्‌?

१६ सजिला लक्ष्यहरू राख्न बाइबल विद्यार्थीलाई मदत गर्नुहोस्‌। उदाहरणको लागि, आफूले सिकिरहेको कुरा साथीभाइ अथवा आफन्तहरूलाई बताउन तिनलाई प्रोत्साहन दिनुहोस्‌। साथै, सम्पूर्ण बाइबल पढिसिध्याउने लक्ष्य राख्न पनि सुझाव दिनुहोस्‌। नियमित रूपमा बाइबल पढ्‌ने बानी बसाल्न र त्यसलाई कायम राख्न मदत गर्नुभयो भने, यस्तो बानीले तिनलाई बप्तिस्मा लिएको धेरैपछिसम्म पनि फाइदा पुऱ्‍याइरहनेछ। यसबाहेक, बाइबलले सिकाउँछ किताबको हरेक अध्यायलाई समेट्‌ने मुख्य प्रश्‍नको जवाफ दिने कम्तीमा एउटा बाइबल पद सम्झिने लक्ष्य राख्न विद्यार्थीलाई सुझाव दिनुभए कसो होला? यसो गर्नुभयो भने तिनी “सत्यको वचनलाई ठीकसँग प्रयोग गरेर शर्माउन नपर्ने खेताला” बन्‍नेछन्‌।—२ तिमोथी २:१५.

१७ आफ्नो विद्यार्थीलाई खालि बाइबलका पदहरू कण्ठ पार्न वा ती पदले भन्‍न खोजेको कुरा छोटकरीमा बताउन सिकाउनुभन्दा आफ्नो विश्‍वासबारे सोध्नेहरूलाई जवाफ दिंदा चलाउन सकिने बाइबल पदहरू व्याख्या गर्न प्रोत्साहन दिनुहोस्‌। यसको लागि छोटो अभ्यास गर्नु राम्रो हुन्छ। जस्तो कि: तपाईं विद्यार्थीको आफन्त वा सहकर्मी बनेर तिनको विश्‍वासबारे सोध्नुहोस्‌। विद्यार्थीले के भन्छन्‌, सुनिसकेपछि “नम्रता र श्रद्धासाथ” जवाफ दिने तरिका बताउनुहोस्‌।—१ पत्रुस ३:१५, NRV.

१८. बाइबल विद्यार्थी बप्तिस्मा अप्राप्त प्रकाश बन्‍न योग्य भएपछि तपाईं तिनलाई कस्तो थप मदत गर्न सक्नुहुन्छ?

१८ समयमा, क्षेत्र सेवकाईमा भाग लिन बाइबल विद्यार्थी योग्य हुन सक्छन्‌। यस काममा भाग लिन पाउनु ठूलो सुअवसर हो भनेर बुझाउनुहोस्‌। (२ कोरिन्थी ४:१, ७) तपाईंको बाइबल विद्यार्थी बप्तिस्मा अप्राप्त प्रकाशक बन्‍न योग्य छन्‌ भनेर प्राचीनहरूले पक्का गरेपछि तिनलाई सजिलो प्रस्तुति तयार पार्न मदत गर्नुहोस्‌ र क्षेत्र सेवामा सँगै काम गर्नुहोस्‌। क्षेत्र सेवकाईका विभिन्‍न पक्षमा तिनीसित नियमित रूपमा काम गर्नुहोस्‌ र प्रभावकारी ढङ्‌गमा पुनःभेट गर्न कस्तो तयारी चाहिन्छ, सिकाउनुहोस्‌। यस सम्बन्धमा तपाईंको असल उदाहरणले राम्रो छाप पार्न सक्छ।—लूका ६:४०.

‘आफ्नो र आफ्नो कुरा सुन्‍नेलाई समेत उद्धार गर्नुहोस्‌’

१९, २०. हामीले कस्तो लक्ष्य राख्नुपर्छ र किन?

१९ “सत्यको ज्ञान” लिन कसैलाई मदत गर्ने हो भने, निकै मेहनत गर्नुपर्छ। (१ तिमोथी २:४) तर बाइबलको शिक्षाअनुसार जीवन बिताउन अरूलाई मदत गर्दा जुन आनन्द मिल्छ, यस्तो आनन्द जीवनमा कमै मिल्छ। (१ थिस्सलोनिकी २:१९, २०) साँच्चै, विश्‍वभर भइरहेको यस शैक्षिक कार्यमा “परमेश्‍वरका सहकर्मी” हुन पाउनु ठूलो सुअवसर हो!—१ कोरिन्थी ३:९.

२० येशू ख्रीष्ट अनि शक्‍तिशाली स्वर्गदूतहरूलाई चलाएर यहोवाले अब छिट्टै “परमेश्‍वरलाई नचिन्‍नेहरूलाई, हाम्रा प्रभु येशूको सुसमाचार नमान्‍नेहरू[को]” न्याय गर्नुहुनेछ। (२ थिस्सलोनिकी १:६-८) हो, मानिसहरूको जीवन खतरामा छ। यसकारण, बाइबलले वास्तवमा के सिकाउँछ? किताब चलाएर एउटा भए पनि बाइबल अध्ययन सञ्चालन गर्ने लक्ष्य राख्नुभए कसो होला? यस काममा भाग लिनुभयो भने, तपाईंले ‘आफू र आफूलाई सुन्‍नेलाई समेत उद्धार गर्नुहुनेछ।’ (१ तिमोथी ४:१६) बाइबलले जे सिकाउँछ, त्यही पालन गर्न अरूलाई मदत गर्नु पहिलाभन्दा धेरै नै जरुरी भएको छ। (w 07 1/15)

[फुटनोट]

a यहोवाका साक्षीहरूद्वारा प्रकाशित।

तपाईंले के सिक्नुभयो?

• बाइबलले सिकाउँछ किताब तयार पार्नुको उद्देश्‍य के हो?

• बाइबलले सिकाउँछ किताब चलाएर तपाईं कसरी बाइबल अध्ययन सुरु गर्न सक्नुहुन्छ?

• कुन तरिकाले सिकाउँदा अझ प्रभावकारी होला?

• बाइबल विद्यार्थीलाई परमेश्‍वरको वचनको शिक्षक बन्‍न तपाईं कसरी मदत गर्न सक्नुहुन्छ?

[प्रश्‍नहरू]

[पृष्ठ १७-मा भएको चित्र]

के तपाईं यस किताबको सदुपयोग गर्दै हुनुहुन्छ?

[पृष्ठ १८-मा भएको चित्र]

छोटो-छोटो छलफल गर्दा बाइबलको ज्ञान लिने मानिसको चासो बढ्‌न सक्छ

[पृष्ठ २०-मा भएको चित्र]

बाइबल विद्यार्थीको ध्यान बाइबलतर्फ खिच्न तपाईं के गर्न सक्नुहुन्छ?

[पृष्ठ २१-मा भएको चित्र]

बाइबल विद्यार्थीलाई प्रगति गर्न मदत गर्नुहोस्‌